धेरै पहिले एउटा गीत….– रामेश्वर राउत ‘मातृदास’

धेरै पहिले एउटा गीत….– रामेश्वर राउत ‘मातृदास’


indreniधेरै पहिले एउटा गीत गाएकोथँे मैले
त्यही गीतमा ऐना बनी आयौ तिमी ऐले

वर–पीपलको छहारीमा छाया ओती–ओती
रातारात भएकाथे दुई कानका लोती
छाडी गए जवानीले बैँस पानी–पानी
पँधेरीमा धारा बग्छन् दुई नयनका नानी
धेरै पहिले एउटा गीत…

सम्झनाको बिहानीमा घाम उदाउँछन्
साउन–भदौ झरी परी सधैँ रुझाउँछन्
वनैभरि सम्झी–सम्झी मनको हिमाल धाउँछु
विपनाको नौलो रहर सपनामा आउँछु
धेरै पहिले एउटा गीत…
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती

जीवनको परिभाषा– भक्तराज न्यौपाने
जीवन घाटाको पनि हिसाब गर्छ
जीवनले नाफा मात्र नकमाउने रहेछ
जीवनले सधैंभरि उज्यालो मात्र नदेख्ने रहेछ
कहिलेकाहीँ जीवनको अँध्यारो ब्याकहोलमा
आफ्नो बाँच्नुको अध्याय लेख्दोरहेछ ।

जीवनलाई परिभाषामा बाँध्न
सहमति हिँडाउन
सहकार्यमा अंगालो मार्न
धेरै ठूलो सकस पर्ने रहेछ ।

कल्पना शक्तिको तापमा
जीवन हिँड्थ्यो भने
सोचाइको रेसमा
जीवन कुद्थ्यो भने
निराशाको बाक्लो हिलोमा
कोही पस्दैनथ्यो होला ।

जीवन एक दिन रमाउँदा
सधैं रमाइरहन सक्दैन रहेछ
जीवन एकदिन रोइरहँदा
सधैँ शोकमा नपर्ने रहेछ ।

जीवन चक्र रहेछ
जीवन त्याग र तपस्या रहेछ
सहनशील र सौहार्दता
जीवनका सजावट रहेछन्
उद्दण्डता र रिस
जीवनका घाउ रहेछन्
जीवनलाई सच्चाजीवन बाँच्न
जीवनकै निर्देशन मान्नुपर्ने रहेछ ।