काङ्ग्रेसले अब यसरी सोच्ने कि ?– अधिवक्ता दामोदर पौडेल

काङ्ग्रेसले अब यसरी सोच्ने कि ?– अधिवक्ता दामोदर पौडेल


nekaदोस्रो संविधानसभाको चुनावमा हिराको हार काङ्ग्रेसको नजिक–नजिक घुमेको थियो तर उसले समात्न सकेन । काङ्ग्रेसको हातमा आउन लागेको त्यो हिरा एमालेले केही, केही राप्रपा नेपाल र मधेसवादीहरूले केही लिए । विश्वको कम्युनिस्ट शक्ति धरासशी भएको युगमा छ । एमालेले कम्युनिस्टहरूसमक्ष ‘कम्युनिस्ट हुँ’ र लोतन्त्रवादीहरूसमक्ष ‘म लोकतन्त्रवादी नै हुँ’ भन्दै चुनावमा दोस्रो पोजिसन जित्यो । एमालेले कम्युनिस्टको मूलधारको रूपमा आफूलाई स्थपित त गरेको छ तर यसले गर्दा यो दलको लोकतान्त्रिक पक्ष अगाडि बढ्न कठिन हुने हो कि भन्ने सवाल भने पैदा भएको छ । किनभने, उसले लोतन्त्रवादी बन्ने पहलकदमी लिँदा कम्युनिस्ट मत पुनः माओवादीले तान्न सक्दछ भने लोकतन्त्रको पक्षमा नरहँदा विश्वसमक्ष साख गुम्ला भन्ने भय रहन्छ । यसबाट लोकतन्त्रको पक्षमा प्रस्ट वकालत गर्ने र लोकतन्त्रप्रति परिमार्जित व्यवहार प्रदर्शन गर्दै आएका एमाले नेताहरूलाई असजिलो पुग्न सक्छ । देशजस्तै वास्तवमा एमाले पनि सङ्क्रमणकालमै छ । यसै अवसरको फाइदा लिएर बाबुराम भट्टराईले एमालेको लिङ्ग कुन हो भन्ने सवाल उठाएका थिए । एमालेको लिङ्ग शाब्दिक अर्थमा जे भए पनि साङ्केतिक अर्थमा बाघबाट हात्ती बन्ने सङ्क्रमण हो, तर ध्रुवे हात्तीजस्तो भने होइन । एमालेको सङ्गठनलाई भने मान्नैपर्छ । सिद्धान्तको विवाद छ, तेङवादमा चलेको दलले तेङका विरोधी माओको फोटोलाई सम्मान गरेको छ । कम्युनिस्टहरूसँग वामपन्थी एकता भनेको छ, लोकतन्त्रवादीहरूसँग लोकतन्त्रवादी एक हौँ भनेको छ । भ्रातृ सङ्गठनको चुनावमा कम्युनिस्टहरूसँग मोर्चा बनाएर चुनाव लडेको छ । जितेपछि लोकतन्त्रवादीहरूसँग मिलेर काम गरेको छ । यो नाटक हो कि सङ्क्रमणकाल ? यो सङ्क्रमणकाल नै होस् ।
अर्कोतर्फ काङ्ग्रेस कस्तुरी मृगजस्तो भएको छ । विश्वकै अजय सिद्धान्त यसले बोकेको छ । यसको स्थापनाकालदेखि नै बहुलवाद, बहुदलीयता, आर्थिक र राजनीतिक समानता, विकास र शान्ति, न्यायिक स्वतन्त्रता, संविधानवादको पक्षमा यो दल उभिएको छ । यसको विचारले अहिले अझ सफलता हासिल गरेको छ । ‘काङ्ग्रेसले लिएको बाटो शोषकको बाटो हो, पुँजीवादी पथ हो, जनविरोधी हो’ भन्ने हौवा फैलाउँदै जनतालाई उचालेर, भ्रम दिएर मार्न र मर्न तयार गर्नेहरू अहिले त्यही बाटो ठीक हो भनेर लागेका छन् । एमालेले आफ्नो पूर्वअवस्थामा झापामा लोकतन्त्रविरोधी र हिंसात्मक बहुलवादविरोधी चरित्र देखाएकै हो । माओवादीले देखाएको चरित्र त हामीहरूका आँखाबाट पर जान सकेका छैनन् । मानिसका लास, पीडा, भत्केका खण्डहरहरू हाम्रा आँखासामुन्ने छन् जस्तो लाग्दछ । तर, यो दलले पनि लोकतन्त्र, स्वतन्त्र न्यायपालिका आदि भन्न थालेको छ । मानवअधिकारको नारा पुँजीवादीहरूको भ्रमजाल हो भन्नेले मानवअधिकारको पक्षमा वकालत गर्नु काङ्ग्रेसको जित त हो नै, तर यी सबैलाई सही बाटोमा ल्याएको काङ्ग्रेसले हो भन्ने सन्देश यसले जनतामा दिन सकेन । केवल चुनावमा मत माग्न जाँदा मात्र सबै कुराको क्रेडिट मिल्नेगरी प्रस्ट्याउन पनि सकिन्न, यसका लागि त पहिलेदेखि नै तयारी र अभ्यास हुनुपर्छ ।
काङ्ग्रेसमा भागवण्डाको राजनीति दलको चुनावमा, भ्रातृ सङ्गठनहरूको चुनावमा मात्र होइन संविधानसभाको प्रत्यक्षको उम्मेदवारीदेखि समानुपातिका लागि विजयी उम्मेदवार घोषणाका लागि पनि देखियो । यो फर्मुलाले प्रस्टै भन्छ कि चुनावमा आफ्नो गुटलाई ठूलो बनाउन र अर्कोपटक आफ्नो गुटको नेतालाई टिकट दिलाउन अन्तर्घात गर्नैपर्छ । अन्तर्घात भएको पनि छ । टिकट दिँदा नेताको अघिपछि गणेशभक्ति देखाउनेलाई दिइएको छ वा विरोध गर्नेलाई ठीक गर्न अर्कोलाई दिइएको छ । यिनै कारणले समेत टिकटमा भएको घातले गर्दा अन्तर्घात पनि भएका छन् । अब चोर चोर ‘मौसेरा भाइ’ भयो, ठीक छ । किन कारबाही गर्ने ? हिसाबकिताब मिलेको छ । सबैलाई मान्य हुने चरित्रको नेता बन्न नसक्नु र जनताभन्दा नेताको नजिक भएपछि राम्रो हुन्छ भन्ने सोच राख्नुले जित दिँदैन । कुनै पनि दलमा त्यस्तो अवस्थामा भएको जित मत दिन पर्ने एकप्रकारको अघोषित बाध्यतामा आएको खराबमध्ये कम खराबले पाएको जनमत हो, राम्रोले पाएको होइन ।
एउटा मात्र उदाहरण दिनुपर्दा, देशको कुनै ठाउँमा पनि उम्मेदवार दिए जित्ने सम्भावना भएका युवा र सक्षम नेता गगन थापालाई काङ्ग्रेसले सुप्रभा घिमिरेले चुनाव जितेको ठाउँमा उठायो । सक्षम महिलालाई प्रोत्साहन गर्नुपर्नेमा उनलाई लिङ्गभेदी र अधिनायकवादी शैलीले हटाइयो । उनले गरेको कुनै अपराध सुन्नमा आएको पनि थिएन । यो नेतृत्वतहको ठूलो गल्ती थियो । अर्कोतर्फ सुप्रभाले धैर्य गुमाइन् । उनले दलबाट बाहिरिएपछि आफ्नो हैसियत के हुन्छ भन्ने सोच्न सकिनन् । उनी चुनावमा खुला दिलले लागेको भए, आउँदा दिनमा उनी धेरै पदका लागि आवश्यक ठहरिने थिइन् । उनी भारतमा काङ्ग्रेसका नेताले सोनियालाई ‘आमा’ भनेजस्तै हुनसक्ने सम्भावनामा थिइन्, तर उनको हैसियत त्यो रहेनछ भन्ने उनैले व्यवहारमार्फत बोलिन् । काङ्ग्रेसमा दिने, लिने र लिन नपाउनेहरूले गरेका यस्ता गल्तीहरू धेरै छन् । बिनाआग्रह निष्पक्ष रूपमा टिकट पाउनैपर्ने खालकाले टिकट नपाएर पनि दलका लागि आफू उम्मेदवार भएजस्तो गरेर चुनावमा खटेका नेता काङ्ग्रेसमा कोही होलान् ? भए त्यस्ता नेताहरू औंलामा गन्न सकिने मात्र होलान् ।
भारतमा काङ्ग्रेस आइका उपसभापति भएपछिका एउटा भाषणमा राहुल गान्धीले भनेका थिए कि तपाईंहरूले मलाई उपसभापति भएकोमा बधाई दिनुभयो, तर राति मेरी आमा (सोनिया गान्धी) मेरो कोठामा आइन् र रुँदै भनिन् कि राजनीति जुनमा हामी लागेका छौँ यसले हामीहरूको कुन हालत बनाएको छ, तिमीलाई थाहा छ ? हो, सोनियाकी सासू इन्दिरा गान्धी, पति राजीव गान्धीसमेत राजनीतिक कारणले नै मारिए । सोनियाले पतिका हत्यारालाई पनि माफी दिइयोस् भन्ने आसय देखाएर ठूलो छाती देखाउन सकिन् । तर, उनको पीडा त छँदै छ ।
नेपालमा पनि काङ्ग्रेसहरूले लोकतन्त्र र जनताको हितका लागि, गरिब जनताको उत्थानका लागि ०७ साल, ०१७ सालपछि तथा माओवादीको हिंसात्मक गतिविधिमा ज्यानको बाजी लगाए । लाखौँ काङ्ग्रेसहरूले या ज्यान गुमाए या पीडित बने या सम्पत्ति गुमाए । यो उनीहरूले लोकतन्त्रका लागि र गरिब जनताको हितका लागि गरेका थिए । कुर्सीको भागबण्डाका लागि थिएन ।
अहिले उनीहरू पदको लागि राजनीति गरिँदै छ । तर, जनताको हेर्नेबाहेक विकल्प पनि त छैन । अरू दलहरूको विचारभन्दा यसको विचार राम्रो भएकाले तर्क र तथ्यको समायोजनमा विश्वास गर्नेहरूले यो दललाई आत्मसात् गर्ने अवस्था अहिले पनि छ । यसका लागि केही स्वार्थका समायोजन आवश्यक छ । यसले काङ्ग्रेसलाई बचाउनेछ । अहिले काङ्ग्रेसभित्र तीन नेताबीच प्रधानमन्त्रीको पद हत्याउन तँछाडमछाडको स्थिति छ । कसैलाई आफू नभए केही छैन तर फलानो त हुनै हुँदैन भन्ने छ । त्यसमा पार्टी समापतिकको पनि पद छ । हे स्वार्थीजन वा नेताहरू हो, तिमीहरू स्वार्थमा लाग, तर काङ्ग्रेसभित्र तीनजनाले नपाएकाबाट पाउने गरी सुरु गरेर तीनैजना प्रधानमन्त्री बन्ने सल्लाह गरेमा राम्रो हुन्छ । यसले दलमा एकता ल्याउनेछ । कार्यकर्ताहरूले कमसेकम हाम्रा नेता इमानदार छन् भन्ने भ्रम बोक्नेछन् । केहीलाई यो शिक्षा पनि हुनेछ । तीनैजना नेताहरू पालैसँग प्रधानमन्त्री बनेमा केही बिग्रने पनि छैन र यसले एक–अर्कामा विश्वास पनि बढ्नेछ । अन्यथा कुनै पनि समयमा फाइदा अरूले लिनेछन् । त्यसैले मिलेमा यसले दललाई नै फाइदा हुनेछ । त्यस्तै मन्त्रालयसमेतमा कुनै पनि मन्त्रीले एक्लै निर्णय गरेर पैसा कमाउने धन्दा गर्न नपाउनका लागि सबै मन्त्रालय एवम् विशेष स्थानमा पाँच–सातजना सांसदसमेत रहेको समितिको निर्णयबाट मात्र काम गर्न पर्ने व्यवस्था हुन सक्दछ । अब सांसद र मन्त्री पदलाई आर्थिक माध्यमबाट कम आकर्षक बनाउँदा पनि जनता र कार्यकर्ताको हितमा ध्यान जान सक्दछ कि ? घात–अन्तर्घात कम हुन्छ कि ? यसमा पनि सोचौँ ।
लोकतन्त्रको पक्षमा रहने, जनतालाई दलको लक्ष राम्रोसँग भन्ने, अन्तर्घात नगर्ने, यथासम्भव आर्थिक रूपमा समेत इमानदार भएकालाई टिकट दिने, केही अपवादबाहेक चुनावमा एकपटकभन्दा बढी जितेकालाई टिकट नदिने र हारेकालाई बढीमा अर्को एकपटक मात्र मौका दिनेजस्ता केही आधार बनाएको भए काङ्ग्रेसको बहुमतलाई कसैले रोक्न सक्ने थिएन । हिराको हार चुँडालेर थोरै दाना लिने काङ्ग्रेसले अब नै सोचे पनि केही त अवश्य राम्रै हुन्छ । अन्यथा हिजोसम्म लोकतन्त्र, समाजवाद, बहुलवाद, संविधानवादको विरोधमा हत्यामा समेत उत्रनेहरूले काङ्ग्रेस र जनतालाई यही पाठ सिकाउने दिन आउनेछन् । मुद्दाले जितेको नराम्रो होइन, तर जुत्ता शिरमा लगाउँदा घाम त छेक्छ, तर त्यो लगाउने खुट्टैमा हो, खुट्टामै लगाउन सजिलो र शोभनीय हुन्छ । ‘कम्युनिस्ट’ नामबाट लोकतन्त्र र जनहितको आशा पनि त्यस्तै हो ।