गुल्मीका विद्यार्थीलाई पढाउँदै सशस्त्र प्रहरी

गुल्मीका विद्यार्थीलाई पढाउँदै सशस्त्र प्रहरी


– रमेश विक, गुल्मी

केही दिनयता एउटा हातमा ८–१० वटा चकलेट लिएर सशस्त्र प्रहरी बल गुल्म (गुल्मी)का गुल्मपती डीएसपी दिनेश रायमाझी विद्यार्थी भएको कोठामा पुग्ने गर्दछन् । उनी शुरुमै भन्ने गर्छन्, ‘यो चकलेट तपाईंहरूकै लागि हो ।’ उनी अघि थप्छन्, ‘जसले हल्ला गर्दैन, जो कक्षामा निदाउँदैन र जसले सोधेको प्रश्नको जवाफ दिन्छ उसले चकलेट पाउँछ ।’ उनको अभिव्यक्तिसँगै विद्यार्थी चुपचाप हुन्छन् ।

माध्यमिक तहमा पढ्ने विद्यार्थीका लागि शुरु गरिएको जनचेतनामूलक लागूऔषध दुव्र्यसन तथा विपद् व्यवस्थापनसम्बन्धी स्कुल कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रायमाझीले यसरी प्रस्तुति दिन्छन् । उनले विद्यार्थीको ध्यान केन्द्रित गर्न चकलेटको सहारा लिए, जसका कारण विद्यार्थीहरू निकै चाख दिएर उनलाई सुन्ने गर्दछन् । यसरी सशस्त्र प्रहरी बल गुल्म (गुल्मी)ले गुल्मीका स्कुल तथा क्याम्पसहरूमा जनचेतना कार्यक्रम शुरु गरेको छ ।

लागूऔषध दुव्र्यसन तथा विपत् व्यवस्थापनसम्बन्धी स्कुल तथा क्याम्पसमा शुरु गरिएको जनचेतना कार्यक्रमअन्तर्गत प्रहरी नायव उपरीक्षक स्वयम् नै स्कुल–कलेजमा पुग्ने गरेका छन्, जो सराहनीय छ ।

विद्यार्थीलाई लागूऔषध दुव्र्यसन तथा विपत् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक प्रस्तुति दिन उत्साही भएर लागिपरेका उनले विद्यार्थी र प्रहरीबीच साथीत्वको भावना जगाउँदै समाज सुधार गर्न खटिने सुरक्षाकर्मीलाई सघाउनुपर्छ भन्ने भावना जागृत गराउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेे बताए ।

लागूऔषधको दुव्र्यसनीले समाजमा पार्ने नकारात्मक असर तथा विपत् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्नेजस्ता विषयमा सशस्त्र प्रहरीले जनचेतना अभियान शुरु गरेको हो । सशस्त्र प्रहरीले जिल्लाको सदरमुकाम तम्घासको रेसुङ्गा क्याम्पसबाट शुरु गरेको सचेतना अभियान सदरमुकाम तम्घासका अर्जुन आवासीय माध्यमिक विद्यालय, सिद्धबाबा माध्यमिक, रेसुङ्गा माध्यमिक विद्यालय र महेन्द्र नमुना माध्यमिक विद्यालयसम्म लगेको छ ।

सदरमुकामभित्रका विद्यालयमा अभियान सम्पन्न गरेपछि ग्रामीण भेगका विद्यालयमा पनि लगिने प्रहरी नायव उपरीक्षक रायमाझीले बताए । विद्यार्थीलाई जनचेतनामूलक प्रस्तुतिमा लागूऔषध दुव्र्यसन तथा विपत् व्यवस्थापनसम्बन्धी विभिन्न अवस्थामा केन्द्रित भएका कार्यक्रमहरू राख्ने गरिएको छ ।

स्कुल कार्यक्रमबाट स्कुल तथा क्याम्पसमा पढ्ने विद्यार्थीलाई लागूऔषध दुव्र्यसनमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उद्देश्यले जनचेतना कार्यक्रम थालिएको सशस्त्र प्रहरी बल गुल्म (गुल्मी)का सप्रनि देवराज मल्लले बताए ।

युवा तथा विद्यार्थी नै दुव्र्यसनमा फस्न सक्ने र विद्यार्थीले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरू प्रवाह गर्न मद्दत गर्न सक्ने भएकाले स्कुल तथा क्याम्पसमा जनचेतनामूलक कार्यक्रम राखिएको उनको भनाइ छ ।

लागूऔषधको प्रयोगबाट युवापिँढीमा पर्ने असरले समाज पार्ने नकारात्मक घटनाहरू तथा विभिन्न कानुनी जटिलताबारे पनि सचेतना कार्यक्रममा बुझाइने गरिएको छ । छात्रछात्रालाई लागूऔषध भनेको के हो, लागूपदार्थ सेवन गर्दाका बेफाइदा के–के छन्, समाजमा यसले कस्ता असर पार्छ र यसविरुद्धको अभियानले गरिबी निवारणमा कस्तो भूमिका निर्वाह गर्छ भन्नेसमेत जानकारी दिइन्छ ।

नेपालमा खासगरी युवापुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । प्रहरी नायव उपरीक्षक रायमाझीले विद्यार्थीलाई लागूऔषधको प्रभावले मानव शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पार्ने जानकारी गराउँदै प्रयोगको मात्रा बढ्दै गएपछि मानिसको मृत्यु हुनेसम्मको खतरा भएकाले सचेत रहन आग्रह गरे ।

सामाजिक संस्कार बिगार्ने, अपराध बढ्ने, दक्ष जनशक्ति कुलतमा फस्ने, अर्थ व्यवस्थालाई ध्वस्त बनाउनेजस्ता समस्या लागूऔषधको दुव्र्यसनद्वारा सिर्जित सामाजिक समस्या आइपर्ने जटिलता हुन् भन्नेमा उनले जोड दिए । जनचेतनामूलक कार्यक्रममा विपत् व्यवस्थापनसम्बन्धी सशस्त्र प्रहरीले गरेका विभिन्न उद्धार तथा सकारात्मक कामबारे पनि जानकारी गराइएको थियो ।