प्रचण्डलाई झुकाएरै छाडिने

प्रचण्डलाई झुकाएरै छाडिने


pcchandनिर्वाचनमा पार्टी पराजयको नैतिक जिम्मेवारी लिन एमाओवादी अध्यक्ष प्रचण्डले आनाकानी गरेपछि पूर्वउपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश प्रचण्डलाई तह लगाउन कस्सिएका छन् । भट्टराई र श्रेष्ठ चुनावमा पराजयको निम्ति प्रचण्डको कार्यशैली र नीति नै मुख्य कारण रहेको निष्कर्षमा पुगेका छन् र दुवै नेताले आफ्नो कमजोरी स्वीकार गर्दै सुध्रिन प्रचण्डमाथि दबाब दिइरहेका छन् । एमाओवादीका प्रमुख तीन नेता प्रचण्ड, बाबुराम र नारायणकाजीमध्ये विगतमा प्रचण्ड नारायणकाजीसँग निकट भए पनि पछिल्लो चरणमा दुईबीचको सम्बन्धमा समेत चिसोपन बढेको छ र प्रचण्डसँग भिड्न भट्टराई र श्रेष्ठ ‘एक’ हुन पुगेका छन् । ज्ञातव्य छ, भट्टराई र श्रेष्ठबीचको सम्बन्धमा यसअघि न्यानोपन कहिल्यै देखिएको थिएन । एकै जिल्ला (गोरखा) का दुई नेता दुई विपरीत ध्रुवमा देखापर्दै आएका थिए । तर, एक्लै प्रचण्डसँग लड्न नसकिने भएपछि यतिबेला दुई ‘एक’ हुन बाध्य भएका हुन् । तथापि भट्टराई र श्रेष्ठ वैचारिक रूपले नै एकताबद्ध भने भएका होइनन् । प्रचण्डलाई हेर्ने या बुझ्ने विषयमा पनि दुई नेताका आ–आफ्नै दृष्टिकोण छन् । नारायणकाजी श्रेष्ठले प्रचण्डमा राष्ट्रियता र वर्गीयताबारे विचलन आएको ठह-याएका छन् भने भट्टराईले प्रचण्डको आत्मकेन्द्रित एवम् गलत कार्यशैलीलाई प्रहार गर्ने सोच बनाएका छन् । त्यसो त बाबुराम भट्टराई पनि राष्ट्रियताबारे उदासीन र आत्मकेन्द्रित रहेको ठहर नारायणकाजी श्रेष्ठले गरेको बताइन्छ । वैचारिक अन्तरका कारण भट्टराई र श्रेष्ठले आगामी २ माघदेखि हुने पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्न बेग्लाबेग्लै प्रतिवेदन तयारी गरिरहेका छन् । प्रचण्डले आफ्नो प्रतिवेदनमा आत्मालोचनासहित कार्य व्यवहार परिवर्तन गर्ने प्रतिबद्धता जनाएमा भट्टराई र श्रेष्ठले आ–आफ्ना प्रतिवेदन प्रस्तुत नगर्ने बुझिएको छ ।
प्रतिवेदनमा आफ्ना माग र भावनाको उपेक्षा गरिएमा भने दुवैले ‘काउन्टर प्रतिवेदन’ तर, बेग्ला–बेग्लै प्रस्तुत गर्ने भएका छन् । श्रेष्ठ र भट्टराईको भावना समेट्न प्रचण्डले आवश्यक नठानेको बताइन्छ, तर पूरै उपेक्षा गर्दा चौतर्फी हमलाको सिकार होइने भएकोले प्रचण्ड कुनै न कुनै रूपले उपाध्यक्षद्वयको भावनासमेत समेटिने गरी प्रतिवेदन तयारीमा जुटेको प्रचण्डका निकटवर्तीहरूले बताएका छन् । भारतीय राजदूत रञ्जित रेसँगको औपचारिक भेटवार्तालगत्तै प्रचण्ड आफ्नो प्रतिवेदन लेखनमा जुटेका छन् । यता प्रतिवेदनलेखनमा केन्द्रित भए पनि प्रचण्डले बाबुरामको आक्रोश साम्य पार्न अनेक प्रयत्न भने गरिरहेका छन् । यसैबीच प्रचण्डले संसदीय दलका नेता बन्न भट्टराईलाई प्रस्ताव गरेको बुझिएको छ । प्रचण्डको उक्त प्रस्तावलाई बाबुरामले भने छलकपट मात्र हुनसक्ने ठानेको बताइन्छ । जे भए पनि केन्द्रीय समितिको आगामी बिहीबार (२ गते) बाट सुरु हुने बैठक प्रचण्ड र एमाओवादीका लागि चुनौतीपूर्ण हुने ठानिएको छ । प्रचण्ड झुक्न तयार नभएमँ पार्टीभित्रको विवादले उग्ररूप लिनसक्ने सम्भावना देखिएको छ ।

प्रजातान्त्रिक परम्परालाई चुनौती दिएपछि
संविधानसभा प्रारम्भमै अड्चन
राष्ट्रपति डा. रामवरण यादवले शपथग्रहणसम्बन्धी सरकारद्वारा प्रस्तुत अध्यादेश जारी गर्नुभएपछि संविधानसभाको बैठक कसले आह्वान गर्ने भन्ने मुद्दाको किनारा नलागेकोले संविधानसभा सुचारु हुन विलम्ब भएको छ । संविधानसभाको बैठक राष्ट्रपति या प्रधानमन्त्री कसले बोलाउने भन्ने विषयमा उत्पन्न विवाद सर्वोच्च अदालतमा पुगेकोले यतिबेला न्यायालयको निर्णयको प्रतीक्षा भइरहेको छ । संविधानको धारा ६९ मा संविधानसभाको पहिलो बैठक प्रधानमन्त्रीले आह्वान गर्ने व्यहोरा स्पष्ट रूपमा लेखिएको छ र संविधानको सोही प्रावधानका आधारमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको पहिलो बैठक आह्वान गर्ने रहर गर्नुभएकोले यस सम्बन्धमा विवाद उत्पन्न भएको हो । विश्वमा प्रचलित प्रजातन्त्रमा व्यवस्थापिकाको बैठक राष्ट्रप्रमुखले आह्वान गरेबमोजिम हुने परम्परा रहिआएको छ र व्यवस्थापकीय कार्यको अनुगमन तथा मार्गदर्शन गर्ने कार्य पनि राष्ट्रप्रमुखबाट नै हुने गर्दछ । कार्यपालिका प्रमुख या कार्यपालिकाबाट व्यवस्थापकीय कार्यमा अवलोकन, अनुगमन या मार्गदर्शन गर्ने कार्यलाई प्रजातन्त्रसम्मत मानिँदैन । जसले बैठक आह्वान गर्दछ व्यवस्थापकीय कार्यको अनुगमन या मार्गदर्शन पनि उसैले गर्ने परम्परा रहेकोले सोहीबमोजिम हुनुपर्ने धारणा प्रजातन्त्र पक्षधरहरूले राखेका छन् । अर्कोतर्फ नेपालको आन्तरिम संविधानले विशेष अवस्थामा प्रधानमन्त्रीले संविधानसभाको बैठक आह्वान गर्ने व्यवस्था गरेको पनि यहाँ स्मरणीय छ । त्यसबेला (२०६४) मा राष्ट्रप्रमुख राजा निलम्बित थिए र नयाँ राष्ट्रप्रमुख विधिवत् चुनिएका पनि थिएनन्, त्यसैले राष्ट्रप्रमुखको भूमिकासमेत प्रधानमन्त्रीले नै निर्वाह गरिरहेका थिए । संविधानको तेस्रो संशोधन (२०६४ पुस १३) पछिका प्रधानमन्त्री राष्ट्रप्रमुखको समेत भूमिकामा थिए र त्यस्तो अवस्थाको अन्त्य २०६५ मा राष्ट्रपतिको विधिवत् निर्वाचनपश्चात् स्वतः भएको छ । राष्ट्रपति चयन भइसकेपछि संविधानको धारा ‘६९’ संशोधन गरिनुपर्नेमा त्यसतर्फ कसैको पनि ध्यान पुग्न सकेन । संविधानअनुरूप आफूहरू चल्नेभन्दा पनि आफूअनुकूल संविधानलाई चलाउने अभ्यास दलका नेताहरूले गर्दै आएकोले अहिले वैधानिक एवम् राजनीतिक अवरोधको अवस्था पैदा भएको छ । तथापि सर्वोच्च अदालतको फैसलापश्चात् गतिरोध हट्ने विश्वास गरिएको छ ।
शपथग्रहण सम्बन्धमा उत्पन्न अस्पष्टता अध्यादेशमार्फत हटेपछि बैठक आह्वान सम्बन्धमा उत्पन्न विवाद गतिरोधको कारण बन्यो । बैठक आह्वान सम्बन्धमा उत्पन्न विवाद सुल्झिएपछि मन्त्रिमण्डलबाट नियुक्त हुने छब्बीस सभासद् चयनलाई लिएर थप केही दिन लम्बिनसक्ने सम्भावना छ । संविधानको धारा ६३ उपधारा (३) को खण्ड (ग) ले ‘राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु-याएका विशिष्ट व्यक्तिहरू र खण्ड (क) र (ख) बमोजिमको निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजातिमध्येबाट सहमतिका आधारमा मन्त्रिपरिषद्बाट छब्बीसजना सदस्य मनोनयन हुने व्यवस्था गरेको छ । खण्ड (क) ले दुई सय चालीस निर्वाचन क्षेत्रबाट निर्वाचित हुने व्यवस्था गरेको छ भने (ख) ले समानुपातिक निर्वाचन व्यवस्थाबारे स्पष्ट गरेको छ । उल्लिखित दुई (प्रत्यक्ष र समानुपातिक) निर्वाचनबाट चयन हुन कुनै जातिविशेषका व्यक्ति छुटेका रहेछन् भने तिनलाई पनि समेट्नु पर्छ भन्ने भावना खण्ड (ग) ले राखेको छ । मन्त्रिमण्डलले मनोनयन गर्ने भनिए पनि सरकार छब्बीस सभासद चयन गर्न स्वतन्त्र छैन । दलीय सहमतिका आधारमा दलहरूले उपलब्ध गराउने नामलाई अनुमोदन गर्ने काम मात्र सरकारले गर्नुपर्ने अवस्था छ । दलहरूले चयन गर्ने भन्नेबित्तिकै भागवण्डाका आधारमा निर्णय हुने बुझ्न सकिन्छ । काङ्गे्रस, एमाले, एमाओवादीबीच चाँडो सहमति बन्न सके मात्र मनोनयन प्रक्रियाले गति लिन सम्भव छ । दलहरूले अहिलेसम्म २६ सभासद् मनोनयनबारे छलफल नै गरेका छैनन् । उता केही मधेसकेन्द्रित दलहरूले पनि ‘छब्बीस’भित्र भाग पाउनुपर्ने दाबी गरिरहेका छन् भने प्रत्यक्ष निर्वाचनमा पराजित नेताहरू अनील झा, राजेन्द्र महतो र महन्थ ठाकुरलगायतले पनि मनोनयनमा पर्न प्रयास गरिरहेका छन् ।

डा. लेख्न चाहनेहरूको यस्तो रूप
काठमाडौं विश्वविद्यालयमा अङ्ग्रेजी विषयका सहप्राध्यापक लक्ष्मण ज्ञवाली चिउँडोमा दुवै हात राखी कापी र कलमका सामुन्ने बसिरहेका थिए । उनको अङ्ग्रेजीलेखन क्षमतामाथि पहिलो प्रश्न उठ्यो । प्राध्यापकहरूले उनका अशुद्ध वाक्य पढेर सुनाए । उनको पीएचडी शोधपत्रको संरचना देखाइयो र भनियो– थेसिसको सिलसिला लथालिङ्ग छ । अर्का विद्वान्ले भने– अङ्ग्रेजी शिक्षक सङ्घ (नेल्टा) को एकोहोरो प्रशंसा र भद्रगोल प्रस्तुतिको ठेली कसरी पीएचडीको थेसिस हुन सक्छ ?
प्रसङ्ग हो काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनमा अङ्ग्रेजी क्यालेन्डरको अन्तिम दिन डिसेम्बर ३१ तारिखमा भएको सार्वजनिक भाइभा (अन्तर्वार्ता) को, जहाँ विद्वान्हरू अङ्ग्रेजी भाषामै गरमागरम बहस गरिरहेका थिए । थेसिस पढेर टिप्पणी गर्न त्रिविका अङ्ग्रेजीका प्राध्यापक कृष्णचन्द्र शर्मा र अर्का प्राध्यापक वासुदेव काफ्लेलाई दिइएको थियो । पहिलो टिप्पणीकर्ता शर्माले प्रायोजित रूपमा सकेसम्मको तारिफ गरेका थिए भने अरू सबैले ज्ञवालीको पीएचडी तहको क्षमता थेसिसमा पटक्कै नदेखिएको भन्दै धज्जी उडाएका थिए । प्राध्यापक विद्यानाथ कोइरालाले त पढाइमा प्रस्ट भएको नदेखिई बधाई दिन नसकिने भन्दै ज्ञवालीलाई पीएचडीको विद्वान् भन्न नमिल्ने बताए । काफ्लेले थेसिस सुधार्न दिएका सुझावहरू त्रिवि र काविविमा पालना नभएकोमा चिन्ता जनाएका थिए ।
त्यसको अघिल्लो दिन डिसेम्बर ३० तारिखमा ग्वार्कोमा रहेको सोही कलेजमा भएको सार्वजनिक भाइभामा भोला दाहाल पनि निकै अप्ठ्यारोमा परेका थिए । उनले पनि बालअधिकारसम्बन्धी एनजीओको एकोहोरो बढाइचढाइ गरिएको थेसिस पेस गरेका थिए । उनको थेसिसको मौलिकतामाथि डा. किशोर श्रेष्ठ र डा. भवानीशङ्कर सुवेदीले ठाडै प्रश्न उठाएका थिए । दुवै विज्ञले दाहालको प्राज्ञिक क्षमतामा प्रश्न उठाएपछि डिन टंकनाथ शर्माले रिसर्च कमिटीका सदस्यहरूलाई कमिटीमै छलफल गर्ने भन्दै बोल्नै नदिई भाइभा टुङ्ग्याएका थिए । दाहाल र ज्ञवाली दुवैलाई थेसिसको शीर्षक लेख्ने क्षमता पनि नभएको भनी प्राध्यापकहरूले सजग गराएका थिए ।
त्यसअघिको प्रिलिमिनरी भाइभा पनि लटपट गरेरै सकेको र यो ह्रासोन्मुख शृङ्खला बढ्दै गएकोमा त्यहाँ अध्ययनरत पीएचडी विद्यार्थी समूहले चिन्ता व्यक्त गरेको छ । एमएको जति पनि क्षमता देखाउन नसक्नेलाई पीएचडीको उपाधि प्रदान गर्ने हो भने छोडेर हिँड्ने भनी सो समूहले डिन शर्मालाई चेतावनी दिएको छ ।
विद्यार्थीहरूका अनुसार आश्चर्यको कुरा त के भने गत वर्ष यसैगरी अन्तिम दिन भाइभामा बसेका मात्रिका शर्मालाई प्लेजारिज्म (बौद्धिक चोरी) को अभियोगमा सात वर्ष पढेको पीएचडीको दर्ता नै खारेज गरिएको थियो । त्यसरी खारेज गराएका डा. मनप्रसाद वाग्लेले यस वर्ष भने फरक व्यवहार देखाए । म्यादभित्र सक्नुपर्ने कर्मकाण्डअनुसार डिसेम्बरको अन्तिममा सार्वजनिक भाइभा गरेको तर अन्तिम भाइभासम्म दाहाल र ज्ञवालीलाई सुधार गराउने वचन सभालाई दिएका थिए ।
पैसा र पदको भरमा सीप र क्षमताबिनै उपाधि दिने हो भने आफूहरू रिसर्च कमिटीको बैठकमा नजाने चेतावनी बाहिरका प्राध्यापकले दिएका छन् भने विद्यार्थीले बहिष्कार कार्यक्रम अघि सार्ने चेतावनी दिएका छन् । केयुको स्कुल अफ एजुकेसनमा पीएचडीको अन्तिम भाइभाभन्दा पहिले सार्वजनिक भाइभा गर्ने चलन छ, त्यतिबेला अल्छी र ठग विद्वान्लाई नाङ्गेझार पारिन्छ । यो स्कुलमा १५ वर्षको अवधिमा लगभग दुई सयजना पीएचडीमा भर्ना भए पनि ३२ जना मात्र दीक्षित भएका छन् । गत वर्ष पाँचजना दीक्षित भएका थिए । नेपालमा अरू संस्थाको भन्दा राम्रो स्तर दिने भनेर महँगो शुल्क लिए पनि सुरेशराज शर्मालाई हटाएपछि त्यसका अङ्गहरू नियन्त्रणबाहिर जान लागिरहेकोमा जानकारहरूले पनि गम्भीर चिन्ता जनाएका छन् ।

घामको शरणमा झलनाथ
सूर्यलाई आफ्नो चुनावचिह्न बनाउने नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल नियमित रूपले साँच्चैको सूर्यको शरण लिनुपर्ने अवस्थामा पुगेका छन् । एमालेभित्र अल्छी नेताका रूपमा समेत चिनिने झलनाथमा स्वास्थ्य परीक्षणबाट भिटामिन डी–३ को कमी भएको पत्ता लागेपछि उनले दिनहुँ तेल लगाएर घाम ताप्ने मौका पाएका छन् । भिटामिन डी– ३ को कमीले अल्छीपन बढाउने, सुगर असन्तुलित हुने, निद्रा लाग्नेलगायतका समस्या देखापर्दछ । त्यसैले उनी अचेल आफ्नै घरको कौसीमा तेल मालिस गरी अनुहार र हात घाममा सेकाएर बस्न थालेका छन् ।
नेता झलनाथले आफूमा उत्पन्न नयाँ रोगबारे कसैलाई जानकारी नहोस् भन्ने चाहेका छन् । र, आफूलाई भेट्न आउने नेता तथा कार्यकर्तालाई समेत छलेर उनी घाम ताप्न बाध्य भएका छन् । जानकारीअनुसार उनी यतिबेला घाम ताप्ने कार्यमा कार्यकर्ताले ‘डिस्टर्ब’ गरेको महसुस गरिरहेका छन् ।

डा. नारायण खड्काको प्रश्न ‘त्यसो भए राष्ट्रपतिको के काम ?’
नेपाली काङ्ग्रेसका नेता एवम् संविधानसभाका नवनिर्वाचित सभासद् डा. नारायण खड्काले संविधानसभाको पहिलो बैठक आह्वान राष्ट्रपतिबाट नै हुनुपर्ने संवैधानिक र राजनीतिक आधार पर्याप्त रहेको विचार प्रकट गर्नुभएको छ । संविधानसभाको धारा उनान्सत्तरीमा उल्लिखित प्रधानमन्त्री भन्नाले २०६४ पुस १३ मा भएको तेस्रो संशोधनदेखि २०६५ जेठ १६ मा भएको चौथो संशोधनसम्मकोलाई बुझाउँछ भन्नुहुँदै डा. खड्काले त्यस अवधिका प्रधानमन्त्री राष्ट्रप्रमुखको भूमिकामा समेत रहेको रहेको स्पष्ट गर्नुभयो । संविधानसभाको तेस्रो संशोधनपश्चात् धारा १५९ मा प्रधानमन्त्री राष्ट्रप्रमुखको समेत भूमिका निर्वाह गर्ने व्यहोरा स्पष्ट रहेको, तर २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भइसकेपछि जेठ १६ गतेको चौथो संशोधनले धारा १५९ को व्यहोरा परिवर्तन गरी संशोधन गरिएकाले भ्रम उत्पन्न हुन पुगेको डा. खड्काको भनाइ छ । उहाँले भन्नुभयो, ‘धारा १५९, उपधारा (३)को खण्ड ‘ख’ मा गणतन्त्र कार्यान्वयन नभएसम्मका लागि राष्ट्रप्रमुखले गर्ने सम्पूर्ण काम प्रधानमन्त्रीद्वारा संविधानसभाको पहिलो बैठक आह्वान गरिएको थियो । तर, चौथो संशोधनले धारा १५९ को व्यहोरा परिवर्तन गरिसकेपछि धारा उनान्सत्तरीलाई पनि सोहीबमोजिम परिमार्जन नगरिनु गम्भीर भूल थियो । भूलमाथि भूल थप्दै जाने कि अब सच्याउने भन्ने प्रश्न हाम्रा अघिल्तिर उभिएको छ ।
नेता खड्काले शक्ति पृथकीकरणको सिद्धान्तलाई दृष्टिगत गर्ने हो भने विधायिका र कार्यपालिकाको काम एउटैले गर्दैन भन्नुहुँदै तटस्थ भूमिकामा रहने हुँदा राष्ट्रपतिले मात्र व्यवस्थापिकाको कामकारबाहीलाई सहज तुल्याउन सक्ने स्पष्ट गर्नुभयो । राष्ट्रपतिले बैठक आह्वान गरेर प्रजातान्त्रिक मूल्य, मान्यता, परम्परा र शक्ति पृथकीरणको सिद्धान्तको रक्षा गर्नुपर्ने डा. खड्काको धारणा छ । उहाँले अझ स्पष्ट पार्दै भन्नुभयो, ‘यही राष्ट्रपतिले पहिलो बैठक आह्वान नगर्ने हो भने राष्ट्रपति भन्ने संस्थाको आवश्यकता र औचित्यमाथि प्रश्न उठ्ने छ ।’ राष्ट्रपति भन्ने संस्थाको मानमर्दन गरेर अर्धअधिनायकवादको अभ्यास गर्ने प्रयासलाई कुनै पनि प्रजातन्त्रप्रेमीले समर्थन गर्न सक्दैन । राष्ट्रपति नामक संस्थाको उपेक्षा या अपमान अर्धअधिनायकवादको सूचक हो ।

दुई महिनादेखि खेतान बेपत्ता– रामहरि पाण्डे
मोहनगोपाल खेतान जीवित रहँदासम्म देशकै प्रतिष्ठित उद्योगी घराना मानिने खेतान समूहका प्रमुख हर्ताकर्ता राजेन्द्र खेतान करोडौँ ठगेर बेपत्ता भएका छन् । स्वच्छ लगानी र मिहिनेत गरेर कमाउनभन्दा छलछाम र ठगी गर्नमा माहिर भनी व्यापारिक समुदायबीच चिनिएका राजेन्द्र खेतानले बिमाको नाममा ६ करोडबराबरको रुपैयाँ ठगी गरेको फेला परेपछि ‘भूमिगत’ भएका हुन् । पछिल्लो समय नेपालमा कमाएको रकम भारतमा लगानी गर्ने कार्यमा केन्द्रित रहँदै आएका राजेन्द्र खेतान भागेर उतै हिन्दुस्थान पुगेका हुन् वा नेपालमा भूमिगत बसेका छन् भन्ने खुल्न सकेको छैन ।
राजस्व नतिर्ने, तिर्नु परे पनि विभिन्न शक्तिकेन्द्रमा धाएर कम गर्न लगाउने, नियमविपरीत विभिन्न बैंक तथा बिमा कम्पनीहरूमा लगानी गर्ने तथा त्यहाँ जम्मा भएको रकम विभिन्न शीर्षकमा दुरुपयोग गर्दै आएका खेतानलाई पछिल्लोपटक आफँै अध्यक्ष रहेको बिमा कम्पनीको रकम दुरुपयोग गरेको अभियोमा प्रहरीले खोजीकार्यलाई तीव्रता दिएपछि उनी बेपत्ता भएका हुन् । कम्पनीको रकम ठगी अभियोगमा कम्पनी व्यवस्थापन समितिको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)को नियन्त्रणमा रहेका कम्पनीका तत्कालीन सीईओ केवलकृष्ण श्रेष्ठ पक्राउ परेलगत्तै खेतान बेपत्ता भएका हुन् । सीआईबीका अनुसार नक्कली बिलहरू बनाई विभिन्न निकायमा भुक्तानी दिएको देखाएर निलम्बित सीईओ श्रेष्ठले दुई करोड ५० लाख रुपैयाँभन्दा धेरै अनियमितता गरेको देखिएको छ भने थप अनुसन्धान हुन बाँकी छ । त्यसरी अनियमितता गरेको रकम कम्पनीका तत्कालीन अध्यक्ष खेतान, सीईओ श्रेष्ठलगायतले बाँडीचुँडी लिएको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए । श्रेष्ठलाई बिमा समितिको निर्देशनमा ६ महिनाअघि नै निलम्बन गरिएको थियो ।
यता, प्रहरीले कम्पनीको आग्रहअनुसार श्रेष्ठसँगै उपमहाप्रबन्धक अनिल ढुङ्गेल, तत्कालीन लेखापरीक्षकहरू जगदीश अग्रवाल र गणेश अग्रवाललाई पनि गिरफ्तार गरेर अनुसन्धान सुरु गरिसकेको छ । एभरेस्ट सञ्चालक समितिले गत ११ पुसमा सीआईबीलाई पत्राचार गरी खेतानलाई ठगी आरोपमा कारबाही गर्न आग्रह गरेको थियो । यसअघि पक्राउ परेकाहरूले पनि आफूहरूले अध्यक्ष खेतानकै आग्रहमा काम गरेको भन्ने प्रारम्भिक बयान दिएको तथा सञ्चालक समितिले अध्यक्ष खेतानलाई पनि पक्राउ गरी कारबाही गर्न भन्दै पत्र लेखेलगतै सीआईबीले खेतानको खोजीकार्य तीव्र पारेको स्रोतको भनाइ छ । तर, प्रहरीले उनलाई अहिलेसम्म भेट्टाउन सकेको छैन । यद्यपि प्रहरी खेतानलाई जसरी पनि पक्राउ गर्ने अभियानमा छ । स्रोतका अनुसार खेतान भारतमा रहेको आशङ्का गर्दै उनलाई नियन्त्रणमा लिन भारतीय प्रहरीको समेत सहयोग लिने तयारी भइरहेको छ । कम्पनीका अनुसार एभरेस्ट प्रकरणमा खेतानले पाँच करोड १७ लाख रुपैयाँ ठगी गरेको देखिएको छ ।
नेपालकै विवादास्पद र बद्नाम व्यापारीको रूपम चिनिँदै आएका खेतानले सबैभन्दा ठूलो ठगी बनेपास्थित आफ्नो हिमालयन स्न्याक्स नामक मायोज चाउचाउ कम्पनीमा आगलागी भएको र त्यसबाट क्षति पुगेको भन्दै झुटो विवरण पेस गरी क्षतिको रिपोर्ट आउनुभन्दा पहिले नै एभरेस्ट इन्सुरेन्सबाट भुक्तानी गराएर गरेका हुन् । त्यसो त उनले त्यसअघि पनि विभिन्न बहानामा ठगी गर्दै आएका थिए । कम्पनीका एक अधिकारीले भने, ‘कम्पनीको हिसाबकिताब तथा विवरण सामान्य तलमाथि पर्नु स्वाभाविकै हो, तर यति धेरै हिसाब फरक पर्नु, गम्भीर प्रकृतिका झुटा विवरण पेस गरी रकम निकासी गर्नु गम्भीर आर्थिक अपराध भएकोले उनलाई नियन्त्रणमा लिई कारबाही गर्न प्रहरीको सहयोग लिइएको हो ।’ कम्पनीका अनुसार खेतानले आफू अध्यक्ष भएको फाइदा छोपी वास्तविक क्षतिभन्दा सयौँ गुणा बढी देखाएर अनुसन्धानको पूर्ण रिपोर्ट आउनुअगावै बिमा कम्पनी एभरेस्ट इन्सुरेन्सबाट रकम लिएका थिए । खेतानले बिमाको नाममा भुक्तानी लिएको रकम गैरकानुनी रहेको नियामक निकाय बिमा समितिले पनि स्पष्ट पारिसकेको छ । हिमालय स्न्याक्स कम्पनीमा २७ असार ०६८ मा आगलागी भएको थियो । सोही आगलागीमा आफ्ना सामान नष्ट भएको भन्दै अनुसन्धानको रिपोर्ट आउनु पहिल्यै यति धेरै रकम लगेपछि इन्सुरेन्स कम्पनीका अन्य सञ्चालहरूसमेत आश्चर्यमा परेका थिए । त्यसपछि उनीहरूले नियामक निकाय बिमा समिति गुहारेका थिए । अहिले एभरेस्ट इन्सुरेन्समा भएको अनियमितताको छानबिन र दोषीहरूलाई कारबाहीको प्रक्रिया बिमा समितिका विनोद अर्यालले अघि बढाइरहनुका साथै बिमा समितिले नै यसको व्यवस्थापन सम्हालिरहेको छ ।
स्रोतका अनुसार खेतानले इन्सुरेन्स कम्पनीबाट कति रकम कुन–कुन समयमा लगेका छन् भन्नेबारे कुनै हिसाब नै छैन । ती सबै अनुसन्धानपछि मात्र जानकारी हुने बताइन्छ । ‘एभरेस्ट इन्सुरेन्समा अनियमितताका दर्जनौँ घटना देखिएका छन्, त्यसैले अहिले नै यसै भन्न सकिन्न,’ बिमा समितिका एक अधिकारीले भने, ‘ती सबै घटनामा खेतानको प्रत्यक्ष संलग्नता रहेको देखिएको छ, हामी त्यसमा छानबिन गरिरहेका छौँ ।’
खेतानले यसअघि पनि ठूला–ठूला ठगी गर्दै आएका थिए । उनले ०६४ मा गोर्खा ब्रुअरी नामक बियर कम्पनीबाट असी करोडभन्दा बढी राजस्व छली गरेका थिए । तर, उनले एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई अर्थमन्त्री हुँदा दश करोड मात्र बुझाएर उन्मुक्ति लिएका थिए । त्यसबेला राजस्व अनुसन्धान विभागका भरत सुवेदीले निज खेतानले बियरमा कर छलेको प्रमाण फेला परेका थिए । उनले छली गरेको रकमबराबरको कर निकै पहिल्यै तिर्नुपर्ने भए पनि विभिन्न शक्तिकेन्द्रमा धाएर आफूले तिर्नुपर्ने रकम मिनाहा गराउन खेतानले आग्रह गरेका थिए । तर, अन्त्यमा केही जोड नलागेपछि दश करोड रकम मात्र तिरेर उनी चोखिएका थिए । साथै उनले एनसेल कम्पनीको सेयर बिक्रीबाट भएको फाइदाबापत तिर्नुपर्ने सात करोडभन्दा बढी राजस्व रकम पनि नतिरी सो रकम मिनाहा गराउने भन्दै विभिन्न शक्तिकेन्द्रमा धाएका थिए । खेतानले एनसेल कम्पनीको असी प्रतिशतभन्दा बढी सेयर प्रतिकित्ता नौ सय ५० का दरले बिक्री गरेका थिए । कम्पनीका नाममा विभिन्न बैंकबाट लिएको ऋणसमेत उनले अझै तिरेका छैनन् । उनले कतिपय बैंकबाट त ऋण लिँदा आफ्नै कार्यालयमा काम गर्ने कर्मचारीको नामबाट लिने गरेका थिए । यसो गर्दा सो ऋण तिर्न नसके कर्मचारी दोषी देखिने र आफू सजिलै उम्कन सकिने उनको पहिलेदेखि मानसिकता रहेको बताइन्छ । त्यस्तै विभिन्न फर्जी कम्पनीको नाममा समेत खेतानले बैंकबाट ऋण लिएका छन् । बैंकबाट लिएको ऋण अहिलेसम्म नतिरेको बताइन्छ ।
स्रोतका अनुसार खेतानले आफ्ना विभिन्न कम्पनीको धेरै सेयर बेचेका छन् । त्यसबापत तिर्नुपर्ने राजस्व पनि उनले राज्यलाई तिरेका छैनन् । खेतानले बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक, कुमारीलगायतका बैंकमा आफ्नो र आफन्तको नाममा रहेको सेयर पनि बिक्री गरिसकेका छन् । तर, उनले त्यसरी बिक्री गरेको सेयरको रकम कहाँ लगानी गरेका छन्, त्यसको जानकारी कसैलाई पनि छैन । सूत्रका अनुसार उनले विभिन्न कम्पनी तथा बैंकको सेयर बिक्री गरी हुण्डीमार्फत भारतमा लगानी गरिरहेका छन् भने उनले उतै बस्ने सोचाइसमेत बनाइसकेको बताइन्छ । त्यसैले उनले नेपालमा आफ्नो लगानी कटौती गरिरहेका छन् । सञ्चालनमा रहेको कम्पनीबाट पनि कर्मचारी कटौती गरी खेतानले आफ्नो पुँजीलाई साँघुरो बनाउँदै लगेका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा नेकपा मालेलाई मोटो रकम दिएर सभासद् बनेको खेतान त्यतिबेलादेखि नै आफ्नो लगानी विदेशमा थुपार्ने तथा मुलुकको महत्वपूर्ण सूचना बेच्ने काममा तल्लीन हुँदै आएका थिए भन्ने आरोप लागेको थियो ।
उनलाई यस विषयमा जानकारी लिन उनले प्रयोग गर्दै आएको मोबाइल नम्बर ९८४१७४५६६२, ९८०२०२०९९२, फोन नम्बरहरू ५५२१९९८, ४४४६४०२, ४४४६४०० मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उनले नेतृत्व गरेको खेतान समूहमा सम्पर्क गर्दा दुई महिनादेखि कार्यालय नै नआएको र अहिले नेपालबाहिर रहेको जानकारी कार्यालयका कर्मचारीले दिए । तर, खेतानले नेताहरूलाई फोन गरी आफ्नो मुद्दा मिलाइदिन आग्रह गरिरहेका छन् । यदि त्यसो हुन नसके प्रहरीले अदालतमा मुद्दा पेस गरेपछि अदालतमै उपस्थित भई छुटकारा पाउने सोचाइमा खेतान रहेको बुझिएको छ । यस घटनापछि सो समूहका अन्य सदस्यसमेत व्यापारीहरूसामु शिर उठाएर हिँड्न सकेका छैनन् भने खेतान समूहको व्यावसायिक भविष्यमाथि पनि प्रश्नचिह्न उठेको छ ।

यस्तो चाहन्छन् भारतीय नेताहरू– ऋषि धमला (नयाँदिल्लीबाट)
नेपालमा कस्तो र कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमा आमसहमति बन्न नसकिरहेको अवस्थामा प्रमुख दलका प्रभावशाली भारतीय नेताहरूले नेपालमा दलहरूबीचको आमसहमतिमै सरकार बन्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले निर्वाचनको जनादेश पनि सहमतिमै सरकार र एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु भएकोसमेत स्पष्ट पारेका छन् ।

राजनाथ सिंह अध्यक्ष, भारतीय जनता पार्टी
नेपाली जनताले निर्वाचनमार्फत दिएको जनादेशअनुसार सहमतिमा सरकार र एक वर्षभित्रमा लोकतान्त्रिक सरकार निर्माण हुनुपर्छ । नेपालमा अहिले आमसहमतिको सरकार बन्दँ नै हितकर हुने मैले देखेको छु । नेपाली नेताले निर्वाचनपछि संवादको प्रक्रिया अगाडि बढाएकाले सहमतिमै सरकार र संविधान निर्माण हुने आशा बढेको छ । नेपालले संविधान जारी गरेर राजनीतिक स्थायित्व प्राप्त गरोस्, विकास र सहमतिका लागि आवश्यक सहयोग गर्न भारतीय जनता पार्टी तयार छ । तर, एउटा कुरा के स्पष्ट छ भने अहिले नेपालको सङ्क्रमण अन्त्यका लागि सहमतिको विकल्प छैन ।

दिग्विजय सिंह, महासचिव, भारतीय कङ्ग्रेस आई
नेपालका सबै राजनीतिक दल मिलेर संयुक्त सरकार निर्माण गरी एक वर्षभित्र मुलुकलाई संविधान दिएर राजनीतिक स्थायित्वसँगै विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने आवश्यकता छ । चुनावी जनादेश नै सहमतिको साथ अघि बढ्ने भएकोले दलहरूबीचको सहमतिले मात्रै नेपालमा लोकतान्त्रिक संविधान बन्न सक्छ भन्ने हाम्रो ठम्याइ छ । नेपालमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने कुरा नेपालका राजनीतिक दलले नै निधो गर्नुपर्ने हो । हाम्रो चासो, नेपालको स्थायी विकास र लोकतान्त्रिक संविधान निर्माण हो । त्यसका लागि हामी जस्तोसुकै सहयोग गर्नसमेत तयार छौँ ।

डा. करण सिंह, विदेश विभाग प्रमुख, भारतीय कङ्ग्रेस आई
नेपालमा जनादेशअनुसार छिटोभन्दा छिटो नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्नुपर्छ । त्यस्तो सरकारमा एमाओवादी र मधेसवादी दलहरूको समेत समर्थन हुनुपर्छ । नेपालमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने आवश्यकता भए पनि त्यसले समय लिने भएकोले एमाओवादी र मधेसवादी दलहरूसँगको छलफलको आधारमा काङ्ग्रेस र एमालेले मिलेर तत्काल सरकार बनाउनुपर्छ । अब कुनै पनि हालतमा नेपाल एक वर्षभित्र लोकतान्त्रिक संविधान लेखेर विकास निर्माणको मार्गचित्रमा अघि बढ्नुपर्छ । यसमा ढिला भइसक्यो, यसका लागि दलहरूले दलगत स्वार्थलाई छाडेर मुलुकको बृहत्तर हितमा सोच्नुपर्छ । भारत र कङ्ग्रेस आई नेपालमा राजनीतिक स्थायित्व र विकाससहित सबै आवश्यकतामा सहयोग गर्न तयार छ । नेपालमा सहमतिमा सरकार र संविधान बन्नुपर्छ । नेपालको राजनीतिक गतिरोधको अन्त्यका लागि यो नै सर्वोत्तम विधि हो ।

विजय जोली, विदेश विभाग प्रमुख, भारतीय जनता पार्टी
नेपालका राजनीतिक दलहरूलाई नेपाली जनताले निर्वाचनमार्फत सहमतिका साथ अघि बढ्ने जनादेश दिएका छन् । विगतमा सहमतिको भावनाका साथ दलहरू अघि नबढ्दा दोस्रोपटक निर्वाचन गर्नुपरेको यथार्थलाई आत्मसात् गरेर नेपाली जनताले त्यस्तो जनादेश दिएका हुन् । त्यसैले अहिले दलहरूले सहमतिमा सरकार बनाएर एक वर्षभित्रमा लोकतान्त्रिक संविधान निर्माण गरी नेपालमा राजनीतिक स्थायित्वसँगै विकास र प्रगतिको अभियानलाई अघि बढाउनुपर्छ ।

शरद यादव, अध्यक्ष, जनता दल युनाइटेड
नेपालमा सबै राजनीतिक दलहरू मिलेर एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी नगरे जनताको जनादेशको अपमान हुन्छ । दलहरूले अन्तिमपटक पाएको यो अवसरको सदुपयोग गर्न नसके गम्भीर स्थिति उत्पन्न हुनसक्छ । यो कुरामा नेपालका दलहरू बढी नै सचेत हुनुपर्ने अवस्था आएको छ । सहमतिका साथ अघि बढ्नुपर्ने बेलामा नेपालका राजनीतिक दलहरू आन्तरिक द्वन्द्वमा फस्नु नेपालका लागि राम्रो सङ्केत होइन ।
सीताराम येंचुरी, स्थायी समिति सदस्य, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी लेनिनवादी
कम्तीमा पनि काङ्ग्रेस र एमालेले साझा धारणा बनाएर एमाओवादी र मधेसवादीलाई साथमा लिएर सरकार र संविधान निर्माण गर्नु अहिलेको आवश्यकता हो । नेपाली जनताको जनादेश पनि यही हो ।

डीपी त्रिपाठी, महासचिव, राष्ट्रवादी काङ्ग्रेस
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न लोकतान्त्रिक संविधान निर्माण आवश्यक छ । नेपाली जनताले दिएको जनमतअनुसार सहमतिका साथ सबै प्रक्रियालाई निष्कर्षमा पु-याउन दलहरू सहमतिका साथ अघि बढ्नुपर्छ । नेपालका राजनीतिक दलले अहिलेसम्म बुद्धिमत्तापूर्ण निर्णय गर्दै नेपाललाई यहाँसम्म ल्याइपु-याएकोले आगामी दिनमा पनि मुलुकलाई विकासको बाटोमा सफलतापूर्वक डो-याउनेमा म विश्वस्त छु ।

अन्तरिक्ष अभियानमा भारतलाई अर्को सफलता
क्रायोजेनिक इन्जिनको सफल प्रक्षेपण
भारतको अन्तरिक्ष कार्यक्रमले ठूलो सफलता हासिल गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)को जीएसएलबी सफलतापूर्वक प्रक्षेपण भएको छ । यसबाट भारत क्रायोजेनिक प्रविधियुक्त राष्ट्रको पङ्क्तिमा सामेल भएको छ । ‘जीएसएलबी डी–५’लाई गत आइतबार स्थानीय समयअनुसार अपराह्न ४ः१८ बजे श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपित गरिएको थियो । भारतको स्वदेशी क्रायोजेनिक इन्जिनयुक्त जीएसएलबी डी–५ ले जी–स्याट–१४ सञ्चार उपग्रहलाई सफलतापूर्वक त्यसको कक्षमा स्थापित गरिदिएको बताइएको छ ।
इसरोका अध्यक्ष राधाकृष्णनले सो प्रविधि लन्च गरेलगत्तै उक्त कार्य एक महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिए । आफूहरूलाई २० वर्षको मिहिनेतको फल प्राप्त भएको भन्दै उनले गर्वका साथ यो सफलता ठूलो उपलब्धि भएको उल्लेख गरे । यसअघि तीनपटकसम्म उक्त क्रायोजेनिक इन्जिन निष्क्रिय भएको थियो । पहिलोपटक क्रायोजेनिक इन्जिनको एक बुस्टर पम्प जाम भएको थियो भने दोस्रोपटक जब त्यसलाई लन्च गरिएको थियो, त्यसका केही कनेक्टरहरू फेल भएर रकेटलाई हावामै नस्ट गर्नुपरेको थियो । यस्तै, पछिल्लोपटक गत अगस्ट २०१३ मा इसरोलाई तब अत्यन्त ठूलो धक्का लाग्यो जब ७४ मिनेट पहिले नै सोही रकेटमा एक लिकेज रहेको जानकारी मिल्यो । यो प्रविधि भारतले रुसबाट हासिल गर्न चाहेको थियो, तर अमेरिकाको दबाबका कारण रुसले भारतलाई सो उपलब्ध गराएको थिएन । फलतः २० वर्षको अथक मिहिनेतपछि भारत आफैँले सो प्रविधिमा महारथ हासिल गरेको छ ।
भारतले आफ्नो सैन्यशक्ति बढाउन सो प्रविधि प्रयोग गर्न सक्ने तर्क गर्दै अमेरिकाले भारतलाई सो प्रविधि उपलब्ध गराउन रुसलाई रोक्दै आएको थियो । तर, भारतले पाँच हजार किलोमिटरभन्दा बढी दूरीको मारक क्षमतायुक्त आफ्नो अन्तरमहादेशीय प्रक्षेपास्त्र ‘अग्नि–५’ क्रायोजेनिक इन्जिनभन्दा पहिले नै विकसित गरेर देखाइसकेको थियो । फरक यत्ति मात्र थियो कि त्यसलाई क्रायोजेनिक इन्जिनबाट सञ्चालित गरिएको थिएन । स्मरण रहोस्, भारतले आफ्ना असैन्य जरुरतहरूलाई पूर्ति गर्नका लागि मात्र क्रायोजेनिक प्रविधि प्रयोग गर्ने बताउँदै आएको छ भने उसले गैरसैन्य अन्तरिक्ष कार्यक्रमसम्म मात्र त्यसलाई सीमित तुल्याएको छ ।
यस रकेटको सफल प्रक्षेपणबाट अन्य देशका सञ्चार उपग्रह पनि भारतकै लन्च प्याडद्वारा छोड्न सकिने भएको छ । बताइएअनुसार यो सफलता यसकारण पनि अहम् महत्वको रहेको छ कि पछिल्लो २० वर्षमा अन्य कुनै पनि देशले यो काम गर्न सकेका थिएनन् । यसको उच्च महत्व रहनुमा यो कारण छ कि दुई हजार किलोग्राम भारयुक्त उपग्रहहरूलाई प्रक्षेपित गर्नका लागि क्रायोजेनिक इन्जिनको सख्त आवश्यकता पर्दछ । यसको शक्तिले ३६ हजार किलोमिटर टाढा रहेको कक्षमा पु-याएर उपग्रहलाई सफलतापूर्वक स्थापित गर्न सकिन्छ । भारतको यस पछिल्लो सफलताले उसलाई अन्तरिक्ष विज्ञानको दुनियाँमा अब हरप्रकारको उपलब्धि दिलाएको छ ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले यस सफल प्रक्षेपणपछि इसरोका वैज्ञानिकलाई बधाई दिँदै भारतले विज्ञान र प्रविधिको क्षेत्रमा थप महत्वपूर्ण कदम उठाएको बताएका छन् । स्मरणीय छ, गत ५ नोभेम्बर २०१३ मा भारतको बहुप्रतीक्षित मंगलयान सफलतापूर्वक पृथ्वीको कक्षमा पुगेको थियो ।

सामाजिक कार्यमा अग्रसर चन्दननाथ गणका सेना
– मुक्तिनाथ भुसाल
अर्घाखाँचीमा रहेको चन्दननाथ गण केही समययता सामाजिक काममा लागिपरेको पाइएको छ । आर्मीहरूलाई गाउँमा देख्नेबित्तिकै कहाँ भयभित घटना भयो भनेर तर्सिने स्थानीय अहिले आफ्नो गाउँमा सेनालाई देखेमा कुन सामाजिक काम गर्न उनीहरू आए होलान् भन्दै कानेखुसी गर्न थालेको सञ्चारकर्मी वसन्त क्षेष्ठ छापालीको बुझाइ रहेको छ । किरण मावि खनदहको भवन निर्माणमा उल्लेखनीय योगदान पु-याएको चन्दननाथ गणका सेनाले जनज्योति उमावि सन्धिखर्कको पर्खाल लगाउने काममा सहयोग गर्दै शिक्षाप्रेमीहरूको हृदयमा सजिन पुगेका छन् । माओवादी द्वन्द्वकालमा यत्रतत्र छरिएर रहेका घातक वस्तुलगायत जमिनमुनि राखिएका बमद्वारा सर्वसाधारणको ज्यान नजाओस् भन्ने अभिप्रायका साथ गत वर्षको मङ्सिर अन्तिम सातामा जिल्लाका आधाजसो गाविसमा चलाइएको जनचेतना कार्यक्रम एउटा वैज्ञानिक र जिल्लावासीको हितमा भएको नेपाली काङ्ग्रेसका प्रभावशाली नेता श्यामनाथ काश्यपको भनाइ रहेको छ । उक्त कार्यक्रममा गाउँलेलाई एकै ठाउँमा राखी डेमोद्वारा खतरनाक वस्तुहरूको जानकारी गराउँदै यदि कसैले देखेमा वा फेला पारेमा नजिक नजान र आफूहरूलाई खबर गर्न चन्दननाथ गणले आह्वान गरेको कुरा पटौटी गाविसनिवासी नारायणप्रसाद घिमिरेले जानकारी गराए ।
माओवादी द्वन्द्वकै समयमा नापी र मालपोत कार्यालय ध्वस्त पारिएको कारण जिल्ला नक्साविहीन अवस्थामा पुगेको थियो । जसको फाइदा माटेकीराहरूले लिने क्रममा कुनै समयको डरलाग्दो बाँगी खोला हाल कुलोको रूपमा सीमित रहेको छ । वर्षात्को समयमा भयानक घटना घटाउने त होइन ? भन्ने स्थानीयको डरलाई मध्यनजर गर्दै गएको वर्षात्को बाढीबाट सन्धिखर्क चुत्रावेशी बजार बचाउन बाँगी खोलाको निगरानी चन्दननाथ गणका सेनाहरूले राखेका थिए । उनीहरूको निगरानीकै क्रममा वर्षात्को भेलसँगै आवश्यक पर्खाल लगाउने काममा नेपाली सेनाले पु-याएको योगदानको सम्झना सन्धिखर्कको अस्पताल लाइननिवासी डिलाराम पाण्डेमा रहेको छ । अन्य कार्यालयमा थोरै वा धेरै कार्य गर्ना साथ हामीले यसो ग-यौ भन्दै मिडियामा आउनैपर्ने र त्यसको कटिङ भएपछि आफ्नो मनोकाङ्क्षा पूरा हुने चलनबाट प्रभावित नबनेको चन्दननाथ गणले ठाडा गाविसको वाणगंगा पुग्ने मोटरबाटोको निर्माण गरेयता उनीहरूको शिर स्थानीयवासीबीच झनै माथि उठेको बुझिएको छ । ठाडा गाविसमा रहेको ऐतिहासिक स्थान वाणगंगासम्म मोटरबाटो पु-याउन सुरुवातमा उनीहरूले स्थानीय जनतालाई नगद ६० हजार दिएका थिए । सेनाबाट पाएको सहयोगद्वारा स्थानीयले सामान्य ट्रयाक खोलिदिएका भए पनि करिब १५० जना आर्मीको सक्रियतामा चार किलोमिटर मोटरबाटोको निर्माण भएको स्थानीय समाजसेवी महिला रेखा अधिकारीले जानकारी गराइन् ।
मेला पर्वको हिसाबमा दशैँको त्रयोदशीका दिन जिल्लाको सबैभन्दा ठूलो दोस्रो मेला लाग्ने खाँची मैदानमा करिब ४० हजारको भीडभाड लाग्ने गर्दछ । खाँचीकोटमा रहेको कालिका मन्दिरको दर्शन गर्न यातायातका साधन नपुगेका कारण पैदल यात्रीलाई सास्ती भोग्नुपरेको झन्झट पनि केही समययता चन्दननाथ गणले सहज बनाइदिएको छ । क्याप्टेनको कमान्डमा र ५० जना नेपाली सेनाको पैंतीसदिने खटाइमा ३५८ वटा सुन्दर सिँढीहरू निर्माण सम्पन्न भइसकेको छ । स्थानीय जनतासँग हातमा हात मिलाउँदै गरेको यो महान् कार्यले चन्दननाथ गण अर्घाखाँचीको नाता सर्वसाधारणसँग जोडिएको अनुभूति पाउन सकिन्छ । जिल्लाको वनक्षेत्रदेखि गाउँबस्तीमा हुने आगजनी र अचानक घट्ने दुर्घटना क्षेत्रमा अग्रस्थानमा पुग्ने आदत बसालेको चन्दननाथ गणले राष्ट्रपतिको जिल्ला आगमनमा सबैलाई ढुक्क हुन सक्ने गरी सुरक्षा प्रदान गरेको थियो । जसको कारण बालबच्चादेखि वृद्ध, जवानले समेत राष्ट्रपतिलाई चाहेजस्तो गरी देख्न सकेका थिए । मङ्सिर ४ मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचन अर्घाखाँचीवासीहरूका लागि इतिहास बन्न पुगेको श्रेय पनि नेपाली सेनालाई दिन मिल्दछ । किनकि यसभन्दा अगाडिसम्म भएका निर्वाचनहरू कहिल्यै पनि तोकिएको समयमा सम्पन्न हुन सकेका थिएनन् । कहीँ न कतै स्थगित हुने वा गाउँका वयोवृद्धहरूले हालसम्म आफ्नो मत दिन नसकेको इतिहासलाई चन्दननाथ गणका सेनाहरूले तोडिदिएको यथार्थ अविष्मरणीय बनेको छ । उनीहरूकै प्रयासमा एकै दिनमा निर्वाचन सम्पन्न भएको र गाउँबस्तीमा बसोबास गर्ने सबै सर्वसाधारणले आफ्नो पायक पर्ने स्थानमा पुगी निर्विकल्प मतदान गरेको चर्चा अहिले सुन्न सकिन्छ ।
आफू यात्रा गरिरहेको समयमा उमेरले सिनियर मानिस देख्नेबित्तिकै हजुर नमस्कार, सन्चै हुनुहुन्छ जस्ता नम्र शब्दहरू प्रयोग गर्दै सर्वे साधारणको रूपमा हिँड्न मन पराउने चन्दननाथ गणका गणपति रामकाजी रानामगर साधारण व्यक्तित्वका रूपमा जिल्लावासीको आँखाको नानी बन्दै गएका छन् । जताततै मित्रताको नाता जोड्न मन पराउने रानामगर मिडियामा आउन मन पराउँदैनन् । उनको कार्यकालमा अर्घाखाँचीवासीलाई पु-याएको सकारात्मक सन्देशको सुइँको हामीले प्राप्त गरेपछि गणपति रानामगरलाई चन्दननाथ गणले जिल्लाको विकासप्रति पु-याएको योगदानको कारणबारे टेलिफोनबाट जिज्ञासा राख्दा उनी भन्छन्– नेपाली सेना पनि नेपालीआमाका सन्तान हुन् । नेपाली सेनाको काम–कर्तव्य आफ्नो ठाउँमा भए पनि आमनेपाली जनतासँग सिभिल मिल्ट्रीको रिलेसन राख्ने हाम्रो प्रयासअनुरूप जिल्लामा केही उल्लेखनीय काम पूरा भइसकेका छन् । जनचेतनाको विकास सँगसँगै विकास निर्माणको कार्यमा जनताले चाहेमा उक्त कार्य पूरा गर्न आफूहरूले कन्जुस्याइँ नगरी सहयोग गर्न लालयित भएको जानकारी गराए । आफ्नो डयुटीको अलावा सामाजिक कार्यमा हात मिलाउने चन्दननाथ गण र जिल्लामा आफ्नो कार्यकालमा केही गरेर देखाउनुपर्छ भन्ने सकारात्मक सोचाइ राख्ने अनुभवी र ज्ञानका भण्डारको रूपमा परिचित चन्दननाथ गणका गणपति हालको समयमा साँच्चिकै सादुवादका पात्र बनेका छन् । जुन प्रशंसनीय छ र यो कार्यले अझै निरन्तरता पाओस् हाम्रो पनि शुभकामना ।

सङ्ग्लिएन वैदेशिक रोजगार विभागको विकृति
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीसँग च्यानल मिलाएका मानव तस्कर र एजेन्टहरूले दुबई लगायतका मुलुकमा सेटिङमार्फत सर्वसाधारणलाई वैदेशिक रोजगारीमा पठाउन थालेका बुझिएको छ । अध्यागमनका कर्मचारीसँग सिधा सम्पर्क नभएका ऐजेन्टको भने व्यक्तिगत श्रमस्वीकृति निस्कने हुनाले जनही २५ हजार विभागमा घुस बुझाएपछि तुरुन्तै व्यक्तिगत श्रमस्वीकृति निस्कने गरेको छ । यसरी घुस दिएर वैदेशिक रोजगारीमा जानेमा विभागले तोकेको मापदण्ड नपुगेका सोझासाझा सर्वसाधारण पर्ने गरेका छन् । संस्थागत रुपमा रकम लिएर व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा पठाएपछि म्यानपावर व्यवसायीले जिम्मेवारी बोक्नु नपर्ने भएकाले व्यवसायीहरूले संस्थागतभन्दा व्यक्तिगत श्रमस्वीकृति निकालेर रोजगारीमा पठाउने गरेका स्रोतको भनाई छ ।
३० वर्षमुनिका महिला घरेलु कामदारलाई फकर र व्यवसायिक भिजा बनाएर सेटिङमार्फत पठाउने गरिन्छ भने अधिकांश भिजिट भिजालाई समेत सेटिङ गर्न थालिएको छ । एजेन्टका टाउका गनेर, एसएमएसबाट पासपोर्ट नम्बर र नाम कर्मचारीलाई पठाएर, कागजमा चिट पठाएर समेत सेटिङ गर्ने एजेन्टले विभागका कर्मचारीलाई आफ्नो कब्जामा राखेका छन् । सेटिङको नयाँ ढङ्गका बारेमा प्रतिकृया बुभ्mन खोज्दा व्यक्तिगत शाखाका निर्देशक रामजीलाल श्रेष्ठको भनाई उद्धृत गर्दै श्रोतले दिएको जानकारी अनुसार निर्देशक श्रेष्ठले भने– ‘लौ न प्रभु त्यस्तालाई समातेर मकहॉ ल्याईदिनु प-यो म कार्वाही गर्छु ।’ व्यक्तिगत शाखामा शाखा अधिकृत विष्णुहरि उपाध्याय, रोशन ओझा लगायत आधा दर्जन बढी कर्मचारी कार्यरत छन् । दैनिक सरदर १ हजारदेखि १५ सयको हाराहारीमा व्यक्तिगत प्रयास र नवीकरणको माध्यमबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या रहेको विभाग श्रोतले जानकारी दिएको छ ।
विहान ३ बजेदेखि श्रम स्वीकृति निकाल्न लाइनमा बसेका सर्वसाधारणको काम नगरी नवीकरण शाखाका कर्मचारीहरूले मानव तस्कर र एजेन्टहरुले झोलामा ल्याएका पासपोर्टलाई पहिलो प्राथामिकता दिने गरेका छन् । सक्कली काम भए हप्तौँ दिन लाग्छ अनि नक्कली भए तुरुन्तै काम हुन्छ, नाम उल्लेख नगर्ने सर्तमा श्रम प्रतिनिधिहरुले गुनासो गरे । अर्कोतर्फ हप्तादिन अगाडिको मिति राखेर विभागले श्रमस्वीकृति दिने गरेको श्रोतले दाबी गरेको छ । भिजाको म्याद सकिएका पासपोर्टलाई हप्तादिन अगाडि वा भिजाको म्याद नसकिँदैको मिति राखेर श्रमस्वीकृति निकालेपछि अध्यागमन सेटिङमार्फत सर्वसाधारणलाई मानवतस्करले वैदेशिक रोजगारीमा पठाउने गरेका छन् । म्यानपावरका श्रम प्रतिनिधिको परिचयपत्र बनाएर एजेन्टहरुले व्यक्तिगत श्रम स्वीकृति निकालिरहँदा कर्मचारी स्वयम् घुसमै घुलिने गरेका छन् । कार्वाही गर्नुको सट्टा कर्मचारीहरू पासपोर्ट खोज्दै होटल–होटल धाउन थालेको र एजेन्टसँग पासपोर्ट माग्न थालेको विभाग श्रोतले जानकारी दिएको छ । व्यक्तिगत शाखाका कर्मचारी विष्णुहरि उपाध्याय र रोशन ओझाले श्रम प्रतिनिधि अमृत ढकाल, दीपक ढकाल, घनश्याम पौडेल, गोविन्द श्रेष्ठ, छविलाल साह, विलासलगायत दर्जन बढी एजेन्टसँगको मिलेमतोमा नक्कली कागजातका आधारमा दुबई, बहराईन, ओमनलगायतका मुलुकमा नेपाली घरेलु महिला कामदारहरुको पेसा परिवर्तन गरी व्यक्तिगत रुपमा श्रम स्वीकृति निकालेर वैदेशिक रोजगारीमा पठाउने गरेको शाखालाई उद्धृत गर्दै विभाग श्रोतले जानकारी दिएको छ । हाम्रो पनि काम गरिदिनु प-यो भनेर अरु एजेन्टहरू व्यक्तिगत शाखामा जाँदा ‘तपाईंहरुको अध्यागमनमा च्यानल नभएकोले काम गर्न सकिँदैन, बरु फलानो–फलानो एजेन्टमार्फत् आउनुस्’ भनेर कर्मचारीले खुल्लमखुल्ला सिकाउने गरेको श्रोतले दाबी गरेको छ ।

खेलजीवनबाट दीपकको सन्न्यास
ओलम्पिकमा छनोट हुने दोस्रो नेपाली तथा नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले खेलजीवनबाट सन्न्यासको घोषणा गरेका छन् । साफमा लगाचार चार स्वर्ण विजेता विष्टले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने फायरसाइड कार्यक्रममार्फत गत आइतबार सन्न्यासको घोषणा गरेका हुन् । विष्टले सन्न्यासको औपचारिक घोषणाका लागि विशेष कार्यक्रम गर्ने जानकारी पनि दिएका छन् ।
विष्टले आठौँ, नवौँ, दशौँ र पछिल्लोपटक बंगलादेशमा भएको एघारौँ साफमा लगातार स्वर्ण पदक जितेका थिए । साफमा चार स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् । ३७ वर्षीय विष्टले एसियाडमा दुई कास्य पदकसमेत जितेका छन् । स्मरण रहोस्, चोटका कारण विष्ट चार वर्षदेखि खेलबाहिर छन् ।

धनकुटामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी
धनकुटा/ अन्तर्राष्ट्रिय आमन्त्रण ‘सहिद भीमनारायण श्रेष्ठ गोल्डकप फुटबल प्रतियोगिता’ धनकुटामा आयोजना हुने भएको छ । सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय गोल्डकप आयोजक समितिको हालै सम्पन्न बैठकले अन्तर्राष्ट्रिय आमन्त्रण सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको दशौँ संस्करण आगामी फागुनको दोस्रो साता १५ गतेदेखि धनकुटा टुँडिखेलमा गर्ने निर्णय गरेको आयोजक समितिका सचिव रोशन श्रेष्ठले जानकारी दिए ।
अन्तर्राष्ट्रिय गोल्डकप आयोजक समितिका अध्यक्ष अशोकभगत श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले रोशन श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति, गोविन्द राईको संयोजकत्वमा खेलमैदान मर्मत समिति, नरेश श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति, रूपेश श्रेष्ठको संयोजकत्वमा स्वयम्सेवक समिति, विनय राईको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति र सुमन श्रेष्ठको संयोजकत्वमा टिम व्यवस्थापन समिति गठन गरी परिचालित गरेको आयोजक समितिका उपाध्यक्ष शम्भु प्रधानले बताए ।
भुटान, सिक्किम, बंगलादेशलगायत नेपालका ‘ए’ डिभिजन क्लबका टिम र पूर्वाञ्चलका उत्कृष्ट टिमहरू गरी जम्मा आठ टिमले भाग लिने उक्त अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि हात पार्ने टिमलाई एक लाख नगदसहित सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप मेडल र उपविजेतालाई ५० हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्रहरू प्रदान गरिनेछन् ।
आयोजक समितिका सचिव श्रेष्ठका अनुसार बेस्ट किपर, बेस्ट डिफेन्स, वेस्ट मिडफिल्ड, वेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी तथा प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कारसमेत प्रदान गरिने र अन्तर्राष्ट्रिय गोल्डकप सञ्चालन गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रहरी सेवालाई ‘पीडितमैत्री’ बनाइने
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ‘परिवर्तन आफैँबाट सुरु गरौँ’ भन्ने मूलमन्त्र आत्मसात् गरी चुस्त प्रहरीको अवधारणालाई मूर्तरूप दिन एक महिनाभित्रै प्रहरी प्रधान कार्यालयमा रहेका अधिक जनशक्तिलाई फिल्ड कार्यमा खटाई प्रहरीको काम–कारबाही छरितो बनाइने दाबी गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आईजीपी अर्यालले नेपाल प्रहरीका वर्तमान काम–कारबाही तथा भावी कार्यनीतिबारे जानकारी दिँदै गत १७ गते बारा भवानीपुर जितपुर–३ का अफताव अन्सारीको हत्यामा संलग्न अपराधीलाई ज्यानको बाजी लगाएर पक्राउ गर्ने अस्थायी प्रहरी पोष्ट इनरवासिरा, बारामा कार्यरत जिल्ला प्रहरी कार्यालय बारा दरबन्दीका प्रहरी सहायक निरीक्षक मातृका ठाकुर र प्रहरी चौकी बडकीफुलबरिया, बारा दरबन्दीका प्रहरी जवान शेष सम्जानलाई क्रमशः प्रहरी नायव निरीक्षक र प्रहरी प्रहरी हवल्दार पदमा पदोन्नति गरिएको दज्र्यानी चिह्न पनि प्रदान गर्नुभयो ।
प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको रणनीतिक योजना २०७०–०७२ को लक्ष्य प्राप्तिका लागि सेवा प्रवाहमा स्तरवृद्धि, सङ्गठन सुदृढीकरण, आन्तरिक शुद्धीकरण तथा प्रहरी छविमा सुधार, अनुगमन, मूल्याङ्कन व्यवस्थामा प्रणालीगत प्रयोग, अपराध अनुसन्धान तथा मानवअधिकारको संरक्षण र प्रवद्र्धन, कल्याणकारी कार्यक्रममा दर्जाको सुविधा एवम् हकहितको प्राथमिकताबारे जानकारी गराउनुभयो । उहाँले नेपाल प्रहरीको रणनीतिक लक्ष्यहरू नेपाल प्रहरीको संस्थागत विकास, पुनर्संरचना तथा नेतृत्व विकास, मानवस्रोतको संस्थागत विकास गर्न आवश्यक पर्ने प्रक्रिया र प्रणालीको स्थापना, आधुनिकीकरण, प्रविधि तथा भौतिक पूर्वाधार विकास, अपराध नियन्त्रण र अनुसन्धान, उद्देश्यमूलक तथा प्रभावकारी सेवाप्रवाह, जनसहभागितामूलक प्रहरी सेवाको विकास तथा विस्तार, प्रहरी कल्याणकारी सुविधा, स्वास्थ्य सेवा, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापको संस्थागत विकासबारे जानकारी दिनुभयो ।
उहाँले प्रहरी सेवालाई आमनागरिकको सहज पहुँच र पीडितमैत्री बनाउन विशेष गरी ‘एक्सेस टु जस्टिस’का लागि हाल भइरहेका हेल्प डेक्सलाई प्रभावकारी र विस्तारित बनाउने, प्रत्येक तीन महिनामा जिल्लास्तरसम्म नागरिक सुनुवाइ कार्यक्रम सञ्चालनमा ल्याइने, अपराध नियन्त्रण र तस्करी नियन्त्रणमा कडाइ गर्न उपत्यकाका चारवटै नाकामा डिजिटल चेकप्वाइन्टको स्थापना गरिने, विगतमा सञ्चालन गरिएका प्रभावकारी कार्यक्रमहरू पब्लिक–पुलिस हेन्ड इन हेन्डलगायतका कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गबाट विस्तार गर्दै लगिने बताउनुभयो ।
अपराध अनुसन्धानमा अनुचित दबाबलाई पूर्णरूपमा निरुत्साहित गरिनुका साथै फितलो अनुसन्धानमा संलग्न कुनै पनि कर्मचारीलाई कारबाहीको दायरामा ल्याइने प्रहरी महानिरीक्षकको भनाइ छ । उहाँले प्रहरी सङ्गठनले खरिद गर्ने कुनै पनि चिजवस्तुको गुणस्तरमा कुनै सम्झौता नगरिने जनाउँदैै खरिद प्रक्रियालाई पूर्ण पारदर्शी बनाइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । यसैगरी अपराध अनुसन्धानलाई पीडितमैत्री बनाइने र सावितीमुखी अनुसन्धानको दोष लाग्दै आएको आमधारणालाई चिर्न प्रविधियुक्त अनुसन्धान पद्धति र जनशक्तिको समेत व्यवस्थापन गरिने जानकारी दिँदै अपराध अनुसन्धानसँगै जोडिने मानवअधिकार हनन एवम् दुरुपयोगका घटनालाई न्यूनीकरण गर्न प्रहरी अधिकृत तथा जवानहरूलाई सोसम्बन्धी विभिन्न तालिममा सहभागी गराइने कार्यलाई निरन्तरता दिनुका साथै हाल भइरहेको संयन्त्रलाई अझ बढी प्रभावकारी बनाइने आईजीपी अर्यालले बताउनुभयो ।

सभासद्ले गरे प्रहरीको प्रशंसा
महानगरीय प्रहरी वृत्त स्वयम्भूले राजधानीका विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्ने र पाटपुर्जा बिक्री–वितरण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । राजधानीका विभिन्न सार्वजनिक स्थलमा पार्किङ गरी राखेका मोटरसाइकल चोरी गरी काठमाडौं महानगरपालिका–१५ किमडोलस्थित कालु घले गुरुङको घरमा डेरा गरी बस्ने नोर्बु छिरिङ लामाले चोरीका मोटरसाइकल किन्ने र ती मोटरसाइकललाई खोलेर पार्टपुर्जा विभिन्न स्थानमा बेच्ने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ ।
लामाको कोठाबाट मोटरसाइकलको एउटा–एउटा पाटपुर्जा खोलेर राखेको अवस्थामा स्कुटर फेला परेको र तीनवटा नखोली लुकाएर राखेको अवस्थामा स्कुटर फेला परेको थियो । वृत्तबाट खटिएको प्रहरी टोलीले लामाको कोठाबाट फेला पारेको बा. ४५प ४७६७ नम्बर डियो स्कुटर, बा. ४०प २६६२ नम्बरको एभेन्टर स्कुटर, बा.४४प ९४३५ नम्बरको डियो स्कुटर फेला परेको र नम्बर नखुलेको कालो रङ्गको एभेन्टर स्कुटर फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।
प्रहरीले लामासहित मोटरसाइकल चोरी गरी बिक्री गर्ने सेरापटासी लामा र सन्नी शाहीलाई समेत पक्राउ गरेको छ । उनीहरूले प्रहरीले बरामद गरेको मोटरसाइकल बौद्ध एरियाबाट चोरी गरेको र लामालाई बेच्ने गरेको बयान दिएका छन्् । ज्ञवालीले पक्राउ गरेको सो गिरोहले अन्य मोटरसाइकल पनि चोरी गरेको हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो ।
प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले स्वयम्भू वृत्तको कमाण्ड सम्हालेपछि त्यहाँ गुन्डागर्दी र अन्य अपराधकर्म गर्नेहरू त्राहिमाम भएका स्थानीयवासी बताउँछन् । डीएसपी ज्ञवालीको स्वयम्भू आगमनपछि एकप्रकारको रामराज्य नै छाएको भन्दै नवनिर्वाचित सभासद् नवीन्द्रराज जोशीले एक सार्वजनिक कार्यक्रममार्फत प्रशंसा गरेका थिए ।

दोघरे होमस्टेमा बढ्दो आकर्षण
दमक/ पूर्वक्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गर्ने क्रम बढेको छ । झापाको दमकमा तीन वर्षअघि यहाँका आदिवासी धिमाल समुदायको संस्कृतिलाई आधार बनाएर सञ्चालनमा ल्याइएको होमस्टेले दिन–प्रतिदिन बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ । अन्य क्षेत्रको तुलनामा दमक आसपासका क्षेत्रमा धिमाल समुदायको बाहुल्य भएकाले आफ्ना पहिचानलाई उजागार गर्न यो समुदाय सक्रिय भएको हो ।
दमक–७ स्थित दोघरेमा सञ्चालित प्रस्तावित दोघरे होमस्टेमा यसै साता एकैसाथ विभिन्न ६ मुलुकका संस्कृति अनुसन्धान तथा खोजकर्ताको टोली आएको छ । एसियन कल्चर डेभलपमेन्ट सेन्टरबाट आएका ६ वटा देशका संस्कृति संरक्षण तथा अनुसन्धानसम्बन्धी टोलीले तीन दिनसम्म बसेर धिमाल संस्कृति तथा परम्परागत खाना, भेषभूषा आदिका बारेमा अध्ययन गरेको थियो । नेपाल आदिवासी जनजाति महासङ्घ दमक नगर समन्वय परिषद्का अध्यक्षसमेत रहनुभएका मोहन धिमालका अनुसार वर्षेनी सो होमस्टेमा आउने अनुसन्धानकर्ताहरूको सङ्ख्या बढिरहेको छ । धिमालले भन्नुभयो, ‘पहिला–पहिला अलि प्रचारप्रसार र जानकारी गराउने काम पनि कमै भएको थियो, यसपालिचाहिँ धेरै समूहमा आउने क्रम देखिएको छ ।’
यसपालि दुईवटा समूहले आएर त्यहाँ केही दिन बस्नुका साथै विविध पक्षबारे जानकारी लिएको उहाँले बताउनुभयो । ‘पोहोर स्विटजरल्यान्ड, क्यानडा र न्युजिल्यान्डबाट आएका टोली यी होमस्टेमा बास बसेका थिए,’ उहाँले भन्नुभयो, ‘यहाँको होमस्टेलाई व्यावसायिक बनाउन पहल गरेका छौँ ।’ सो ठाउँका दशवटा धिमालका घरमा होमस्टे सञ्चालनमा रहेको छ । स्थानीय होमस्टे सञ्चालकहरूले रतन धिमालको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेर यसलाई विधिवत तरिकाबाट पर्यटन बोर्डमा पर्यटन उद्योगका रूपमा दर्ता गर्ने पहल भइरहेको बताइएको छ । छिट्टै यसलाई दमक होमस्टे नामाकरण गरेर उद्योगका रूपमा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको छ । विधान दर्ताका लागि काम भइरहेको अध्यक्ष धिमालले बताउनुभयो । महासङ्घले थप विभिन्न ऐतिहासिक महत्व बोकेका स्थलहरूमा पनि होमस्टे सञ्चालन गर्न आवश्यकता महसुस गरेको महासङ्घका दमक नगर समन्वय परिषद्का सचिव पदम जबेगुले बताउनुभयो । त्यस्तै दमक–१९ मा रहेको इन्द्रेणी ताललाई समेत लक्षित गरेर त्यहाँ धिमाललाई नै होमस्टे सञ्चालन गर्न प्रोत्साहन गरी राखिएको महासङ्घले जनाएको छ ।
सोदेखि बाहेक वडा नम्बर २, ९, ८, १६ लगायतका वडामा पनि होमस्टेको सम्भावनाबारे अध्ययन अनुसन्धान भइरहेको बताइएको छ । धिमालले परम्परागत रूपमा वर्षेनी पूजाआजा गर्ने गरेको धार्मिकस्थल ग्रामथानहरूको संरक्षणमा समेत महासङ्घले जोड दिएको छ । ‘हाम्रा पुराना ग्रामथानहरूको क्षेत्र जग्गा नै अतिक्रमणमा परेकाले यसको संरक्षणका लागि स्थानीय निकायको ध्यानाकर्षण गराएका छौँ,’ महासङ्घका नगर समन्वय परिषद् अध्यक्ष धिमालको भनाइ छ । दमक नगरपालिकाले समेत चालू वर्षमा नै विभिन्न ग्रामथानहरूको क्षेत्र संरक्षणका लागि घेराबारा गर्ने योजना रहेको जनाएको छ ।
उता, सुनसरीको इटहरी नगरपालिकाको सबैभन्दा उत्तरमा पर्ने खोसार्नेखाप नामको गाउँमा इटहरीको पहिचान झल्किने किसिमले होमस्टे सञ्चालनमा ल्याइएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०१४ को सुरुवातको अवसरमा त्यहाँ होमस्टेको उद्घाटन गरिएको हो । राई, लिम्बू तथा धिमाल जातिको सघन बसोबास रहेको गाउँमा होमस्टे सुरु भएपछि स्थानीयवासी दङ्ग भएका छन् । स्थानीय १० घरले आफ्नो घरमा होमस्टे सञ्चालनमा ल्याएका छन् । होमस्टेको व्यवस्थापनका लागि स्थानीयले पालो सिस्टम अपनाएका छन् । एक रात खाना र खाजासमेत पाँच सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म खर्च लाग्छ । इटहरी नगरपालिका तथा किप इटहरी क्लिनमा आबद्ध सदस्यलगायत विभिन्न सङ्घसंस्थाको सहयोगले होमस्टे थालिएको स्थानिय गंगाबहादुर रायले बताउनुभयो । उहाँले सो क्षेत्रमा आवतजावतका लागि एक ठाउमा पुल निर्माण गर्नुपर्ने खाँचो रहेको जानकारी दिनुभयो । ५५ घर रहेको खोसार्नेखापमा राई लिम्बू र धिमाल जातिको बाहुल्य छ । खोसार्नेखापको विकास पूर्वाधारमा इटहरी नगरपालिकाले जोड दिनुपर्ने धिमाल सङ्घ इटहरी नगर कमिटीका अध्यक्ष विश्वराज धिमाल बताउनुहुन्छ ।
– विष्णु सुब्बा

सचेतनाले बढायो महिला हिंसा !
रूपन्देही/ बुटवल–१२, देवीनगरस्थित एक घरमा घरेलु कामदारका रूपमा रहेकी ललिता खनाल (नाम परिवर्तन) यही पुस ५ गते दिदीसँग भेटघाट गर्न बुटवलकै चिडियाखोलातर्फ लागिन् । १५ वर्षीया किशोरी खनाल साँझ ७ बजेतिर देवीनगर चोकबाट रिक्सा चढेकी थिइन् । उनी चढेको रिक्साले निकै ढिला गरी गोकपार्क लिएर पु-यायो । साँझको समयमा राम्री केटी रिक्सा चढेपछि २२ वर्षीय रिक्साचालक दीपक रानाको मनमा कुनियत जाग्यो । उसले चिडियाखोला नलगी रिक्सा अन्यत्रै घुमाए ।
ललिता अर्घाखाँचीबाट बुटवल आएको केही दिनमै देवीनगरमा काम गर्न बसेकी हुँदा उनलाई दिदीको घर चिडियाखोला जाने बाटो पनि राम्रोसँग थाह थिएन ।
उनको अज्ञानता र सोझोपनको गलत फाइदा उठाउँदै चालक रानाले रिक्सा ग्यारेजमा लगेर राति अनेक धम्की दिँदै नाबालिकामाथि जबर्जस्ती करणी गरे । अर्को दिन बिहान बुटवल बसपार्कनजिकै लगेर बलात्कारी रानाले खनाललाई छाडेर हिँडे ।
यस्तो घटना घट्दासम्म ललिताकी घरमालिक्नी देवीनगरकी महिलाले इलाका प्रहरी कार्यालय बुटवलमा खनाल हराएकी भन्दै खोजिदिन आग्रह गरिसकेकी थिइन् । बसपार्कमा अलमल गरिरहेकी ललितामाथि प्रहरीको दृष्टि पुग्यो । प्रहरीले सोधखोज गरेपछि रिक्साचालकले आफूलाई जबर्जस्ती करणी गरेको उनले खुलाइन्, यसपछि घटनाले गम्भीर रूप लियो । तत्काल अभियुक्त रानालाई प्रकाउ गरी अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गराएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले बताए ।
जबर्जस्ती करणीका यस्ता घटना कैयन घटिरहेका हुन्छन्, कति प्रहरी आउँछन् कति आउँदैन । धेरैजसो घटना प्रकाशमा नआई बीचमै गुपचुप हुने गरेका छन् । रूपन्देहीमा दर्ता भएका मुद्दामध्ये घरेलु हिंसा र बलात्कारका घटना धेरै छन् । दुई वर्षअघि आठवटा बलात्कार केस भएकोमा गत वर्ष त्यो सङ्ख्या बढेर २६ जना महिला बलात्कृत भएका छन् । रूपन्देहीका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले कानुनअनुसार महिला हिंसा एवम् बलात्कारका केसलाई प्रहरीले अत्यन्तै गम्भीरतापूर्वक लिएर अभियुक्तलाई पक्राउ गर्ने, मुद्दा चलाउने काम गरेको बताए ।
रूपन्देहीमा मात्र नभई यस्ता घटना अन्य जिल्लामा पनि उत्तिकै रहेको प्रहरी तथ्याङ्कले देखाएको छ । नवलपरासीमा पनि चार बलात्कार र नौ यौन हिंसाका घटना भएका छन् । लुम्बिनी अञ्चलभर आर्थिक वर्ष ०६८/६९ मा भएका बलात्कारका २९ उजुरीमध्ये पाँचवटा सामूहिक बलात्कारका उजुरी छन् । त्यस्तै गत वर्षमा दर्ता भएका ६२ उजुरीमध्ये १२ वटा सामूहिक बलात्कारकै थिए । पछिल्लो तथ्याङ्कले सामूहिक बलात्कारका घटनामा वृद्धि देखाएको छ ।
महिलामाथिको हिंसाको दर बढेको देखिनुमा अधिकारप्रतिको सचेतनाले काम गरेको प्रहरी अधिकारी बताउँछन् । ‘हिंसा बढेको नभई हिंसा भएर पनि लुकाइएका घटना सचेतनाका कारण धमाधम बाहिर आएका हुन्, यसले गर्दा हिंसामा वृद्धि भएको आभास गराएको हो,’ लुम्बिनी अञ्चल प्रहरी प्रमुख मिङमार लामाको भनाइ छ । पहिलेदेखि नै घरेलु हिंसा एवम् बलात्कारमा परेका महिला अधिकार खोज्दै आउने प्रवृत्ति बढेपछि तथ्याङ्कमा घटना बढेको तर्क उनले दिए ।
अधिकारकर्मीले कानुनी सजायलाई कडाइ गर्नुपर्ने माग गर्दै आएका छन् । घरेलु हिंसा ऐनमा कम सजाय भएकाले पनि हिंसाका घटना बढ्दै गएको पाइन्छ । अदालती प्रक्रियाबाट पीडितले मुद्दा जिते पनि पीडा बढ्ने जस्तो कानुनी सजाय भएको अधिकारकर्मीहरूको भनाइ छ । कानुनमा सजायको कडा व्यवस्था भए हिंसाका घटनामा कमी आउन सक्ने भन्दै कडा व्यवस्था गर्न पटक–पटक विभिन्न सार्वजनिक कार्यक्रमको आयोजनाका साथ अधिकारकर्मीहरूले माग गरेका छन् । ओरेक नेपालकी पश्चिमाञ्चल क्षेत्रीय संयोजक इन्दिरा आचार्य पीडकलाई कानुनी सजाय नहुने भएकाले नै महिलामाथिको हिंसा बढेको बताउनुहुन्छ । कानुनमा सजाय कम छ, कानुनमा भएअनुरूपको सजाय पनि पीडकले पाउँदैन, यस्तो प्रवृत्तिले हिंसालाई बढवा दिएको छ । पहिलेको तुलनामा महिला सचेत भए पनि समाज नै पितृसत्तात्मक भएकाले महिला हिंसाको सिकार हुनुपरेको उहाँको भनाइ छ । कतिपय हिंसाका घटना सामाजिक रूपमा मेलमिलापका नाममा हराउने गरेका छन् । त्यसले गर्दा पीडितले न्याय पाउनुको सट्टा झन् पीडा पाउनुपर्ने अवस्था रहेको अधिकारकर्मीको भनाइ छ । बलात्कारसम्बन्धी कानुनमा १० वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरेमा १० देखि १५ वर्षसम्म कैद, १४ वर्षदेखि १६ वर्षसम्मका बालिका वा किशोरीलाई बलात्कार गरेमा आठदेखि १२ वर्षसम्म कैद, १६ देखि २० वर्षसम्मको युवतीलाई बलात्कार गरेमा पाँचदेखि आठ वर्षसम्म कैद र २० वर्षदेखि माथिका महिलालाई बलात्कार गरेमा पाँचदेखि सात वर्षसम्म कैद सजायको व्यवस्था गरिएको पुनरावेदन बार एसोसिएन बुटवलका अध्यक्ष बुद्धबहादुर थापाले जानकारी दिए ।
– चन्द्रकान्त खनाल

सम्पर्क समितिले ग-यो नेताको सम्मान
नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं. २ बाट संविधानसभा निर्वाचनमा निर्वाचित सभासद् चन्द्र भण्डारीले काङ्ग्रेसको काँधमा जिल्लाको विकास मात्र नभएर मुलुकलाई सही निकास दिने जिम्मेवारी आएको बताउनुभएको छ । नेता भण्डारीले नेपाली काङ्गे्रस गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित सम्मान कार्यक्रममा सम्मान ग्रहण गर्दै उक्त कुरा बताउनुभएको हो । मुलुकलाई सही निकास दिने लक्ष्य लिएर हिँड्ने जोकोही एउटा घेरामा सीमित हुन नहुने कुरासमेत भण्डारीले बताउनुभयो ।
जेष्ठ नागरिक चारजना आमाहरूबाट सम्मान ग्रहण गरेपछि नेता भण्डारीले आफू क्षेत्र नंं. २ बाट निर्वाचित सभासद् भए पनि गुमेको क्षेत्र नं. ३ का कार्यकर्ताको मात्र नभएर सिङ्गो जिल्लाका कार्यकर्ता शिर झुक्न नदिने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । नेता भण्डारीले निर्वाचनका बेला नजनतासँग गरेको बाचा अनुसार सालझुण्डी, खज्याङ्ग, ढोरपाटन जोड्ने बाटो निर्माण गर्ने संकल्प समेत गर्नुभयो ।
सभासद् भण्डारीले सम्पर्क समितिले छोटो अवधिमा ज्यादै रचनात्मक काम गरेको उल्लेख गर्दै वीरवास गाविसका मुटुका बिरामी जितबहादुर ढेंगाको अपे्रसनमा १६ पिन्ट साधारण चार पिन्ट सेतो र चार पिन्ट फ्रेस रगत दिएर मानवीय कार्य गरेको पनि उल्लेख गर्नुभयो । नेता भण्डारीको मुटुका बिरामी जितबहादुर ढेंगाको निःशुल्क अपे्रसन गरिदिने कार्य गर्नुभएको थियो । सम्मान समारोहमा नेता भण्डारीले अरूले गरेको देख्न नसक्ने एकथरी भँडुवाहरूप्रति इंगित गर्दै साँच्चिकै निद्रामा रहेकालाई उठाउन जति सजिलो हुन्छ मञ्चन गरेर निद्राको नाटक गर्नेलाई कठिन हुने पनि प्रस्ट्याउनुभएको थियो ।
समानुपातिकतर्फबाट निर्वाचित अर्का सभासद् विकासे आमाका नामले परिचित श्रीमती सुवर्ण ज्वारचनले आफूलाई सभासद् बनाउन धेरै साथी लाग्नुभयो त्यसमा पनि सम्पर्क समितिले रातदिन नभनेर नेताकहाँ डेलिगेसन जानुभयो त्यो मिहिनेतलाई आफूले खेर जान नदिने बताउनुभयो । नेतृ ज्वारचनले पहिलो संविधानसभाले संविधान दिन नसकेका कारण दोस्रो निर्वाचन गर्नुपरेको बताउँदै यसपटक जसरी पनि लोकतान्त्रिक संविधान जनतालाई दिनुपर्ने धारणा राख्नुभयो । विगतमा जस्तै सहमतिका नाममा समय थप गर्दै लैजाने परम्परा यसपटक पनि भए आफू त्यसको डटेर विरोध गर्ने र नयाँ संविधान निर्माणका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभयो । नेतृ ज्वारचनले आफूहरूलाई सम्पर्क समितिले गरेको यो सम्मानले काम गर्ने ऊर्जा मिलेको बताउनुभयो । आफ्नै पार्टी गरेको सम्मान कार्यक्रममा सहभागी नहुन केही साथीले आफूलाई दबाब दिएकोसमेत ज्वारचनले खुलासा गर्नुभयो । ‘आज दबाब दिने साथीको भनाइमा लागेको भए यो जनसागरले मलाई सराप्ने रहेछ, धन्न बचेँछु,’ नेतृ ज्वारचनले भन्नुभयो ।
सम्पर्क समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटाको सभापतित्व र नेपाल विद्यार्थी सङ्घ गुल्मीका पूर्वसभापति महेन्द्र पाण्डेयको सञ्चालनमा भएको सम्मान कार्यक्रममा नेविसङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा क्षेत्र नं. ३ का महाधिवेशन प्रतिनिधि महेन्द्रप्रसाद भण्डारीले जसले सम्मान ग्रहण गर्न जान्दैन त्यसले अरूको पनि सम्मान गर्न नसक्ने बताउनुभएको थियो । नेविसङ्घका केन्द्रीय सदस्य मोती भण्डारीले राजधानीमा भएका सबै प्रजातन्त्रवादीलाई सम्पर्क समितिले यस्तै जमघट गराइरहनुपर्ने कुरामा जोड दिनुभयो । क्षेत्र नं. १ का प्रभावशाली नेता एवम् महाधिवेशन प्रतिनिधि वेद थापामगरले जनताको मतको सबैले सम्मान गर्नुपर्ने बताउनुभएको थियो । समितिका सल्लाहकार विष्णुबहादुर केसीले समाजले छोटो अवधिमा गरेको क्रियाकलापको प्रशंसा गर्नुभएको थियो । सो अवसरमा नेपाली काङ्गे्रस गुल्मी क्षेत्र नं. १ का क्षेत्रीय सचिव गोपाल पाण्डे, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका केन्द्रीय अध्यक्ष जितेन्द्रसिंह थापा, विद्यार्थी नेता अमृत ज्ञवालीले शुभकामना दिनुभएको थियो । कार्यक्रममा नेपाल सरकारका उच्च तहका झन्डै एकदर्जन राष्ट्रसेवक कर्मचारीसहित सात सयको सङ्ख्यामा उपस्थिति रहेको थियो । सम्मान कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका नवनिर्वाचित अध्यक्ष जितेन्द्रसिंह थापालाई पनि सम्मान गरिएको थियो ।

सभासद् छन्तेललाई पचेन सम्मान
जिन्दगीभर जागिर खाएर बिताए पनि केही गलत मान्छेले शेरबहादुर देउवालाई दुर्नियतवश ब्रिफ्रिङ गरेका कारण टिकट हात पारेका गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सभासद् प्रा.डा. कृष्णबहादुर छन्तेललाई जिताउन ज्यानको बाजी लगाउने कार्यकर्ताको उहाँले सम्मान गर्न जान्नुभएन । नामका अगाडि प्रा.डा. भए पनि बुद्धिका भिखारी बन्दै उहाँ केही व्यक्तिको घेरामा परेर सम्मान ग्रहण गर्न नपुगेपछि उपस्थित सयौँको सङ्ख्याका कार्यकर्ताले आफैँलाई धिक्कारेका थिए । निर्वाचित भएर क्षेत्र डुल्न जाँदा बाटोमा माला लिएर बसेका कार्यकर्ताको सम्मान नलिएर गाडी कुदाएका छन्तेलले अर्लाङ्कोटमा त प्रहरीलाई निर्देशन दिएर कार्यकर्तामाथि लाठीचार्जसमेत गर्न लगाएका थिए । १९ वर्षपछि काङ्ग्रेस विजय भएकोमा कार्यकर्ताले ल्याएको फूलमाला ग्रहण नगर्ने ‘माननीय’ सदस्य छन्तेल शपथग्रहण नगर्दै कार्यकर्ताको तारो बन्न पुगेका छन् भने पार्टीको महाधिवेशनसम्म के हुने हुन् त्यो भने समयले देखाउने आँपचौरका एक काङ्गे्रसी कार्यकर्ता बताउँछन् । लिम्घाका पार्टी सभापतिलाई बोलेको कटु वचन र कार्यकर्ताले गरेको सम्मानमा केही व्यक्तिको लहलहैमा लागेर अनुपस्थित हुने छन्तेललाई सम्मान नपच्ने नेताका रूपमा कार्यकर्ताले लिएका छन् ।

नदीजन्य उत्पादनको दोहन बन्द गर्न सुझाव
रुपन्देहीको तिनाउलगायतका नदीनालाबाट नदीजन्य उत्पादनको निर्यात (निकासी) बन्द गर्नुपर्ने निष्कर्ष निकालिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार, कृषि एवम् पर्यटनमेलाको अवसरमा आयोजित ‘पश्चिमाञ्चल विकास क्षेत्रमा निर्यातजन्य उत्पादनको अवस्था, अवसर, समस्या र समाधान’ विषयक गोष्ठीले उक्त निष्कर्ष निकालेको हो । सो अवसरमा बोल्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले नदीजन्य उत्पादन ढुङ्गा–गिट्टी–बालुवा–छर्रीको निकासी बन्द गर्नुपर्ने बताए ।
उनले नदीको जथाभावी दोहनले चुरेपर्वत शृङ्खला जोखिममा परेको र तराई मरुभूमीकरण हुने खतरा बढेको एवम् राष्ट्रिय राजमार्गका पुलहरू भत्किएकाले निकासी बन्द गर्नुपर्ने अवस्था आएको स्पष्ट पारेका छन् । क्रसर उद्योगको क्षेत्रमा व्यवसायीको ठूलो लगानी भएको भन्दै नदीको जथाभावी दोहनलाई सामान्य ढङ्गले लिनु गल्ती भएको विश्लेषण गर्दै सचिव रेग्मीले राष्ट्रिय अर्थतन्त्रमा यसको गहिरो असर भएकोप्रति सबैलाई सचेतसमेत गराएका छन् । उनले नदीको बुद्धिमत्तापूर्ण ढङ्गले उपयोग गर्नुपर्ने तर दोहन गर्न नहुने आवश्यकतामाथि जोड दिएका छन् ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष भाष्करराज राजकर्णिकारले दीर्घकालीन जीवनलाई मध्यनजर राखी निर्यातजन्य उत्पादनको विकास र प्रवद्र्धन गर्नु अहिले आवश्यकता भएको बताए । सोही अवसरमा गोष्ठीको विषयवस्तुबारे तीनजनाले क्रार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्नेहरूमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तायनारायण ज्ञवाली, टीपीसीका निर्देशक डा. सुमनकुमार रेग्मी र पत्रकार महेन्द्र थापाले छुट्टाछुट्टै कार्यापत्र प्रस्तुत गरेका थिए । उनीहरूले यस क्षेत्रमा सम्भावना अत्यधिक रहेकोसमेत बताए ।
कार्यापत्र प्रस्तुत गर्दै पत्रकार महेन्द्र थापाले भन्सारको तथ्याङ्कले भारततर्फ निकासी हुने सामान ढुङ्गा–गिट्टी–बालुवा–छर्री मात्र हो कि भन्ने देखाएको बताए । उनले नदीजन्य उत्पादनको निकासीको असरबारे विश्लेषण गर्दै यसबाट पर्यावरणीय सन्तुलन खल्बलिएको र स्थानीय निकायले प्राप्त गर्ने राजस्वभन्दा बढी रकम नदीको तटबन्धमा र पुलहरूको मर्मतसम्भार एवम् पुनर्निर्माणमा खर्च गर्नुपरेको बताए । त्यस अतिरिक्त अत्यधिक भारवहनका कारण राजमार्गहरू शीघ्र जीर्ण बनेका, बाढीको असर उग्र भएको र चुरेपर्वत शृङ्खलाको संरचनामा समेत असर परेकाले निकासी बन्द गर्नुपर्ने आवश्यकताप्रति ध्यानाकर्षण गराएका थिए ।

विद्यार्थी घर छोड्न बाध्य
लमजुङ/ एक सय २० घरधुरी रहेको सिउरुङ गाउँमा माध्यमिक तहका विद्यार्थी घर छोड्न बाध्य भएका छन् । लमजुङको खुदी गाउँ विकास समिति– ८ र ९ मा पर्ने सिउरुङ गाउँमा माध्यमिक विद्यालय नभएपछि कक्षा आठ पास गर्ने विद्यार्थी घर छाडेर सदरमुकाम बेशीसहर पुग्नुपर्ने बाध्यता रहेको छ ।
एक सय २० घरधुरी रहेको सिउरुङमा एउटा माध्यमिक विद्यालयको आवश्यकता रहे पनि हालसम्म सम्बन्धित निकायले चासो नदिँदा विद्यार्थी घर छोड्न बाध्य भएका हुन् । खुदीको ८, ९ र ताघ्रिङ गाविसको वडा नम्बर ९ कालाघिरिङका बासिन्दालाई मध्यनजर राख्दै वि.सं. २०१२ मा सिउरुङमा एक निम्नमाध्यमिक विद्यालयको स्थापना गरिएको थियो । तर, त्यतिबेला स्थापना गरिएको लताकुञ्ज निम्नमाध्यमिक विद्यालयलाई मावि तहमा उकास्न स्थानीयले पटक–पटक सम्बन्धित निकायमा आग्रह गरे पनि हालसम्म मावि तहको पढाइ हुन सकेको छैन ।
गाउँमा माध्यमिक तहको पढाइ हुन नसस्दा कक्षा ९ र १० पढ्ने विद्यार्थी घर छोड्न बाध्य भएका सोही विद्यालयका प्रधानाध्यापक उमरबहादुर गुरुङ बताए । सिउरुङमा कक्षा आठसम्म पढेर स्थानीय विद्यार्थी माध्यमिक तह पढ्न सदरमुकाम वेशीशहर या खुदीमा आउनुपर्ने बाध्यता रहेको छ । अहिलेको समयमा पनि आधारभूत शिक्षाका लागि आफ्नै घरबाट माना–चामल भर्ने र कोठाभाडामा लिएर बस्नुपर्ने बाध्यता लज्जास्पद भएको प्रधानाध्यापक गुरुङको गुनासो छ ।
खुदी बजारबाट सिउरुङ पुग्न झन्डै पाँच घन्टाको उकालो हिँड्नुपर्ने हुँदा उनीहरू त्यहीँ नै कोठा भाडामा लिएर बस्न बाध्य भएका हुन् । विडम्बनाको कुरा स्थानीयले गाउँमै माध्यमिक तहको पढाइ हुनुपर्ने माग गर्दै आए पनि दरबन्दी मिलानको क्रममा लताकुञ्ज निमाविमा भएको शिक्षक दरबन्दी पनि काटिएको बताइएको छ । विद्यालयलाई माध्यमिक बनाउन सम्बन्धित निकायमा जति पहल गरे पनि झनै निमावि शिक्षकको पनि दरबन्दी काटिएको प्रअ गुरुङले बताए ।
othernewsशिक्षा कार्यालयले भने विद्यार्थीको अनुपात हेरी शिक्षक दरबन्दी राखिने बताएको छ । सिउरुङमा मावि तह सञ्चालनका लागि पहल भइरहेको शिक्षा कार्यालय स्रोतले जनाएको छ । खुदी गाविसको वडा नंं. ८ र ९ सिउरुङ गाउँ मात्र होइन, वडा नंं. ६ को काउले र ताघ्रिङ गाविसको कालाघिरिङलगायतका गाउँमा पनि विद्यालय छैनन् । जसका कारण त्यहाँका बासिन्दा निमाविसम्मको अध्ययनका लागि लताकुञ्ज निमावि पुग्ने गर्दछन् । हाल निमावि तहसम्म अध्यापन गराइरहेको सोही विद्यालयलाई आवश्यक दरबन्दी थप गरी मावि तहको पढाइ सुरु गर्न सके मात्र पनि गाउँलेलाई ठूलो राहत पुग्ने स्थानीय बताउँछन् ।