प्रधानमन्त्री बन्नेमा कोइराला ढुक्क

प्रधानमन्त्री बन्नेमा कोइराला ढुक्क


sushil-koirala-of-nepali-congressसंविधानसभा निर्वाचनको अन्तिम परिणाम आइसकेपछि देशवासीको ध्यान भावी सरकारतर्फ आकृष्ट भएको छ । ठूलो दलको रूपमा काङ्गे्रस स्थापित भएकोले काङ्गे्रसकै नेतृत्वमा सरकार गठन हुने निश्चित भए पनि काङ्गे्रसबाट कसले नेतृत्व गर्ने र सरकारमा कुन–कुन दलको सहभागिता रहने भन्नेबारे भने जिज्ञाशा कायम छ । आन्तरिक राजनीतिक सन्तुलनबारे अनभिज्ञ र शक्तिकेन्द्रहरूको चलखेलबारे जानकारी पाउन नसक्नेहरूले काङ्गे्रस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्नुहुनेमा शतप्रतिशत विश्वास गरेका छन् र सीधा हेर्दा कोइराला नै प्रधानमन्त्री बन्नुहुने राजनीतिक परिदृश्य पनि देखिन्छ । तर, कोइराला प्रधानमन्त्री बन्ने मार्ग वास्तवमा चुनौतीपूर्ण रहेको छ । पार्टीका उपसभापति रामचन्द्र पौडेललाई विश्वासमा लिनुपर्ने, अन्तर्राष्ट्रिय समुदायको सद्भाव प्राप्त गर्नुपर्ने र वरिष्ठ नेता शेरबहादुर देउवालाई मिलाउन या पराजित गर्न सक्नुपर्ने चुनौती कोइरालाका अघिल्तिर छन् । उल्लिखित चुनौतीहरू पार गर्न नसकेमा उहाँ प्रधानमन्त्री बन्नुहुने सम्भावना कम देखिँदै छ । निर्वाचनको पक्षमा वातावरण निर्माण गर्न विशेष सक्रियता दर्शाउनुहुने उपसभापति पौडेलले देशव्यापी रूपमा चुनावअघि नै चलाउनुभएको प्रशिक्षण अभियान र निर्वाचनमा देशका विभिन्न निर्वाचन क्षेत्रमा पुगी कार्यकर्तामा उत्साह भर्नुलाई उहाँको विशेष योगदान मानिन्छ । त्यस्तै, दुई वर्षअघि पार्टीको प्रतिष्ठा र प्रजातन्त्रको मूल्य–मान्यताका निम्ति प्रधानमन्त्रीको उम्मेदवार बनी सत्रपटकसम्म पराजित भइदिन तयार हुनुलाई पनि पौडेलको स्मरणीय कार्य ठानिन्छ । यतिबेला सुशील कोइरालासँग कुस्ती खेल्ने मानसिकतामा नभए पनि पौडेल काङ्गे्रस संसदीय दलको नेता बन्न इच्छुक देखिनुभएको छ । संसदीय दलको नेता नभई प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त नहुने भएकोले कोइराला पहिले संसदीय दलको नेता बन्नुपर्ने हुन्छ । रामचन्द्र पौडेलको समेत साथ नभई उहाँ दलको नेता बन्न मुस्किल पर्ने स्थिति छ । अर्कोतिर वरिष्ठ नेता शेरबहादुर देउवा पनि संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने सूक्ष्म तयारी गर्दै हुनुहुन्छ । कोइरालाले आफूलाई पार्टी सभापतिको जिम्मेवारी हस्तान्तरण नगरेसम्म दलको नेतामा उहाँलाई समर्थन नदिने, बरु आफैँ प्रतिस्पर्धामा उत्रने सोच देउवाले बनाउनुभएको छ । अहिलेसम्म कोइरालाले कसैलाई कार्यवाहक सभापति तोक्ने सोच बनाउनुभएको सङ्केतहरू देखिएका छैनन् । चुनाव लडेर पनि दलको नेता बन्ने निश्चितता रहेमा कोइरालाले देउवा वा अन्य कसैलाई जिम्मेवारी हस्तान्तरण गर्ने सम्भावना कम छ । अर्कोतर्फ सुुशील कोइरालाले चाहेकै भरमा देउवालाई कार्यवाहक सभापति बनाउन मिल्ने वैधानिक अवस्था पनि छैन । यदि कोइराला सभापति पद छोड्न तयार हुनुभयो भने विधानअनुसार उहाँले उक्त जिम्मेवारी उपसभापति रामचन्द्र पौडेललाई सुम्पनुपर्ने हुन्छ । सुशील कोइरालालाई संसदीय दलको नेता बनाउन पौडेल त्यसबेला मात्र तयार हुनुहुने सम्भावना छ जतिबेला उहाँले कार्यवाहक सभापतिको जिम्मेवारी प्राप्त गर्नुहुनेछ ।
नेताहरूबीच सम्झौताको अर्को बिन्दु मन्त्रिमण्डल गठन हो । पौडेल या देउवाको सिफारिसमा कतिजनालाई मन्त्री बनाइने भन्ने विषयमा सम्झौता भएको अवस्थामा पनि सुशील कोइराला संसदीय दलको सर्वसम्मत नेता र प्रधानमन्त्री बन्न सक्नुहुने अनुमान गर्न सकिन्छ । संसदीय दलको नेता पदमा तीनैजना नेता उम्मेदवार बनेमा त्रिपक्षीय टक्कर हुने र कसैलाई पनि स्पष्ट बहुमत हासिल नहुने स्थिति सभासद्हरूको मनस्थिति र तिनको सङ्ख्याले देखाएको छ । कदाचित तीनैजना नेता प्रतिस्पर्धामा उत्रिए र कसैले पनि स्पष्ट बहुमत ल्याउन सकेनन् भने कोइरालाले रामचन्द्र पौडेल या शेरबहादुर देउवामध्ये एकसँग सम्झौता गर्नैपर्ने अवस्था आउनेछ । तर, कोइराला सभापतिको जिम्मेवारी हस्तान्तरण गर्न राजी हुनुभएमा भने सर्वसम्मत या बहुमतीय आधारमा दलको नेता बन्ने अवसर उहाँलाई नै प्राप्त हुने निश्चित छ ।
सुशील कोइराला र रामचन्द्र पौडेल पद प्राप्तिकै लागि नगद खर्च गर्ने या आवश्यकताअनुसार मन्त्री पद वितरण गर्ने चरित्रका नेता मानिनुहुन्न । यस्ता मामिलामा शेरबहादुर देउवा धेरै अगाडि ठानिनुहुन्छ । अर्कोतर्फ पार्टीका अर्का प्रभावी नेता खुमबहादृुर खड्कालाई आफ्नो पक्षमा सहमत गराउन पनि कोइरालाले सक्नुभएको छैन । त्यसैगरी अन्तर्राष्ट्रिय समुदायको सद्भाव र साथ प्राप्त गर्ने सन्दर्भमा पनि कोइराला केही पछि पर्नुभएको छ । अहिले संविधानसभामा रहेका एक सय चौरानब्बे काङ्गे्रसका सभासद्मध्ये पचहत्तरदेखि एकासीजना कोइरालाको विपक्षमा जान सक्ने देखिन्छ । एक सयभन्दा बढी सभासद् कोइरालाको समर्थनमा भएको अनुमान गरिएको छ । तर, शक्ति सन्तुलन मिलाएर व्यवहार गर्न नसकेमा र अन्तर्राष्ट्रिय समुदायको विश्वास आर्जन गर्न नसकेको अवस्थामा भने विद्यमान स्थितिमा अनपेक्षित परिवर्तन नआउला भन्न सकिन्न । देउवासँग समझदारी बन्न नसकेमा र आफूले चुनाव जित्ने सुनिश्चितता नभएको अवस्थामा संसदीय दलको नेता पदका लागि सभापति कोइरालाले चुनाव लड्न नहुने तर्क कोइरालाका शुभचिन्तकले गर्न थालेका छन् । तीन नेताबीच सहमति बन्न नसकेको स्थितिमा नयाँ पुस्ताका डा. रामशरण महतलाई संसदीय दलको नेतामा चुनाव लडाएर देउवालाई पराजित गराउने नीति अवलम्बन गर्दा उपयुक्त हुने राय पनि कोइरालाका शुभचिन्तकले उहाँलाई दिएको बताइन्छ । तर, अहिलेसम्म सभापति कोइराला सर्वसम्मतिबाट नभए निर्वाचन गरेर भए पनि आफैँ संसदीय दलको नेता र प्रधानमन्त्री बन्नसक्नेमा विश्वस्त रहनुभएको छ ।