हाम्रो पुस्ता: भिक्टिमाइज्ड जेनेरेसन

हाम्रो पुस्ता: भिक्टिमाइज्ड जेनेरेसन


bichar– अधिवक्ता जीबी आचार्य
एमालेका पूर्वचर्चित नेता तथा व्यङ्ग्यकार नारायण ढकालले आफ्नो कृति ‘संवत्सर मलामीहरू’मा उनको पुस्तालाई ‘हङ्ग्री जेनेरेसन’ (भोको पुस्ता) भनी नामाकरण गरेका छन् । २० को दशक वा सोभन्दा अगाडि जन्मेको सो पुस्ताले आफूलाई हङ्ग्री जेनेरेसन भन्नुका पछाडि एउटा ठूलो राजनीतिक कारण छ । त्यतिबेला देशमा पार्टीविहीन पञ्चायती व्यवस्थाको रजगज चलेको थियो । दलहरूमाथि प्रतिबन्ध लागेको थियो र दलका कार्यकर्तामाथि चरम दमन, शोषण र धरपकड हुन्थ्यो । राजा, राजपरिवार र पञ्चायती व्यवस्थाको गुणगान गरिएका किताबहरू बजारमा प्रशस्त पाइए पनि इतर विचारहरूमाथि भने सङ्गीन रोपिन्थ्यो । जनतालाई पुस्तक अध्ययन र विचार–विमर्शबाट टाढा राखेपछि पञ्चायती विषवृक्ष लामो समय कायम रहन सक्छ भन्ने कुत्सित सोच बोकेको पञ्चायती व्यवस्थाले त्यो पुस्तालाई अध्ययनको अवसरबाट वञ्चित गर्न चाह्यो । किताब र विचारमाथिको निर्मम नियन्त्रणले त्यो पुस्तालाई हङ्ग्री जेनेरेसन बनायो । तर, पञ्चायती दमनले त्यो पुस्तालाई पढ्नबाट रोक्न सकेन बरु विद्युतीय गतिमा विचारको सम्पे्रषण भएको त्यो पुस्ता पञ्चायतविरोधी आन्दोलनको निर्णायक शक्ति बन्यो र अन्ततः पञ्चायती विषवृक्ष ढल्न बाध्य भयो ।
अब हामी अर्थात् तीसको दशकमा जन्मेको पुस्ताबारे केही अभिमत राखौँ । यो पुस्ता अहिले ३०/४० वर्षको उमेरमा हुर्किरहेको छ । मानव जीवनलाई विभिन्न खण्डमा बाँडेर अध्ययन गर्ने मनोवैज्ञानिकहरूले जीवनको यो कालखण्डलाई सबैभन्दा बढी उत्पादक सिर्जनशील, सक्रिय र जिम्मेवार जीवन–खण्ड मानेका छन् । यो पुस्ताले अध्ययन पूरा गरिसकेको छ । पेसा, रोजगारी वा व्यवसाय सुरु गरिसकेको छ । सामाजिक जीवनको प्रत्येक पक्षमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गरिरहेको र बुढ्यौलीको खग्रास रिक्तता र तिक्तता सुरुआत नभइसकेको यो पुस्ता वास्तवमा देशको मानव संसाधन हो । यो पुस्ता आफ्नोबारेमा के सोच्छ, परिवार र भविष्यबारे के सोच्छ, समाज र सामाजिक व्यवस्थाबारे के सोच्छ, राजनीतिबारे के सोच्छ, नेताहरूबारे कस्तो धारणा राख्छ, अवसर र समृद्धिबारे के सोच्छ ? यी र यस्ता थुपै्र प्रश्नको जवाफले नेपाली समाज र राष्ट्रको भविष्यलाई इङ्गित गर्छ । मुलुकमा भएका दुई ठूला आन्दोलनलाई नजिकबाट देखेको छ यो पुस्ताले । ०४६ को राजनीतिक आन्दोलनलाई बालसुलभ आँखाले हेर्दै समर्थन गरेको यो पुस्ता ०६२/६३ को आन्दोलनको सबैभन्दा निर्णायक शक्ति पनि हो । अघिल्लो पुस्ताजस्तो शिक्षाको सुविधाबाट वञ्चित नभएको र शिक्षाप्रति पूर्ण लगनशील यो पुस्ता दुई–तीनवटा डिग्री संगालेर पनि रोजगारीको अभावमा परित्यक्त वा अपमानितजस्तो जीवन बाँचेको छ । अथवा, रोजगारीमा पनि वृत्तिविकासको उचित अवसर नपाएर असन्तुष्ट बनेको छ यो पुस्ता । अझ भन्नुपर्दा वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीका दैला–दैला चहार्दै हिँडिरहेको यो पुस्ता अफगानिस्तानमा बिचल्लीमा परेको छ, इराकमा रेटिएको छ, अरबमा घोटिएको छ, मलेसियाका जेलमा थुनिएको छ । अब यो पुस्तालाई के नाम दिने ? उत्तर सजिलो छैन, तर पङ्क्तिकारले नाम जुराएको छ– भिक्टिमाइज्ड जेनेरेसन, अर्थात् पीडित बनाइएको पुस्ता ।
यो पुस्ता नेपाली इतिहासको सबैभन्दा पीडित बनाइएको पुस्ता हो । यो पुस्ताले पञ्चायती शासनको उत्तराद्र्धको समय देखेको छ, भोगेको र अनुभव गरेको छ । निरङ्कुश पञ्चायती कार्यशैली, त्यसपछि मनोमानीले भरिएको एकदशक लामो अराजकतापूर्ण बहुदलीय शासन व्यवस्था अनि ऐतिहासिक जनआन्दोलनपछि प्राप्त अहिलेको गाईजात्रे लोकतन्त्र अर्थात् गणतन्त्र अर्थात लामो अराजकता, अस्थिरता, सधैँको बन्द, हड्ताल, सङ्घर्ष चक्काजाम । यो पुस्ताले देखेको दुईवटा डरलाग्दा रहस्यमयी काण्ड, मदन भण्डारीको हत्याकाण्ड र दरबार हत्याकाण्ड । नेपाली इतिहासका यी दुई हत्याकाण्डपछाडिको रहस्य र त्यसमाथि भएको फोहोरी राजनीतिक खेल यो पुस्ताले प्रत्यक्ष देखेको छ । राजनीतिक आस्थाका आधारमा यो पुस्ता विभिन्न पार्टी अनि त्यसभित्रका गुट–उपगुट र समूहमा विभाजित पनि होला, तर सामाजिक र सांस्कृतिक हिसाबले यो पुस्ताको भोगाइ र आकाङ्क्षा समान छ । वैदेशिक रोजगारीका लागि भएभरको जेथा साहुको जिम्मा लगाएर एउटा झिनो सपना सजाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेटिङ लबिमा कोच्चिएर बसेका हुन् वा दुई–तीन वर्ष विदेशमा कामदारको रूपमा बिताएर स्वदेश फर्किंदै गरेकाहरूले आङ तन्काउँदै गरेको कामना, सबैको साझा चासो हो देश । सबैले एउटै कामना गरेका छन्– स्वदेशमै काम र माम पाए विदेश गइन्न ।
आर्थिक हिसाबले पनि यो पुस्ता चरम सङ्क्रमणकालमा हुर्केको छ । अघिल्लो पुस्ता चरम परम्परागत हिसाबले हुर्कियो । गोर्खा रेजिमेन्टमा भर्ना हुन जानेबाहेक अघिल्लो पुस्ताले गाउँमै सम्पूर्ण जीवन व्यतीत ग-यो । तर, जनसङ्ख्याको बनोटमा आएको परिवर्तन, उत्पादकत्वमा ह्रास, बजार पहुँचको सहजता र परम्परागत जीवनमा आएको विहंगम् ह्रासले गर्दा यो पुस्ता पूरै परम्परागत भएर बाँच्न सम्भव भएन भने उत्पादन र उत्पादकबीचको सम्बन्धमा खासै सुधार हुँदा पुरानो उत्पादन प्रणालीले यो पुस्तालाई आफूतिर आकर्षित गर्न पनि सकेन । विकासको तीव्र चाहना र समृद्धिको ठूलो मोह यो पुस्ताको आर्थिक लक्ष्य हो । बनिबुतो गरेर जीविका चलाउने अवस्थामा यो पुस्ता रमाउन सक्दैन । काम, पेसा वा व्यवसाय जे गरे पनि यो पुस्ता निपूर्णता चाहन्छ । व्यावसायिक निपूर्णता प्राप्त गर्न यो पुस्ता जहाँ छ त्यहीँ यसको अन्तर्विरोध बढिहाल्छ, किनभने नेपालको राज्यको जुन संरचना छ त्यो पूरै परम्परागत यथास्थितिवादी छ । सरकारी प्रशासन यति परम्परागत छ कि त्यहाँ अझै पनि हुकुमी शासनको अवशेष र प्रभाव बाँकी छ । नोकरी, सरकारी सुविधा र सेवाको कुरै छाडौँ सरकारी अस्पतालमा भर्ना हुन र बेड पाउनसमेत भनसुन गर्नुपर्ने बाध्यता छ । संस्थागत र नीतिगत भ्रष्टाचार उत्कर्षमा भएको बेलामा शिक्षा आयोगदेखि संस्थान तथा सरकारी कार्यालयमा भएका नियुक्ति विवादास्पद देखिएका र ‘हाम्रो मान्छे नै राम्रो मान्छे’ भन्ने कुसंस्कार बढिरहेका बेला यो पुस्ताले अस्तित्वको जुन सङ्घर्ष गर्नुपरिरहेको छ सायद त्यस्तो सङ्घर्ष अन्य कुनै पुस्ताले गर्नु परेको थिएन । स्थानीय आवश्यकता पूरा गर्न नसकिने र बाह्यसँग प्रतिस्पर्धा गर्न नसकिने सङ्क्रमणको यो अवस्था वर्तमान पुस्ताको अर्को सङ्क्रमण हो ।
राजनीतिक हिसाबले मुलुक अहिले सबैभन्दा सङ्क्रमणकालीन अवस्थामा छ । मुलुकको अस्थिर राजनीति र सधैँको राजनीतिक खिचलो, बन्द हड्ताल र अन्त्यहीन झगडा अनि साँघुरिँदै गएका जीविकोपार्जन रोजगारी र आयआर्जनका अवसरहरू यो पुस्ताका सबैभन्दा चुनौतीपूर्ण समस्या हुन् । मुलुकमा राजनीतीकरण बढेको छ । एकथरी मान्छे राजनीतिको खोल ओढेर आफ्नो कुत्सित मनसाय पूरा गरिरहेछन् । राजनीतिको अपराधीकरण भएको हो वा अपराधको राजनीतीकरण भएको हो छुट्याउनै नसकिने स्थिति देखापर्दै छ । काङ्गे्रस, एमाले वा माओवादी प्रत्येक पार्टीमा इमानदार र होनहार व्यक्तिहरू पछि पर्दै छन् । तर, मूल्य र मान्यताको राजनीतिमा गिरावट आएको छ । अवसरवादी र भ्रष्टहरू रातारात सलहको बथानझैं पार्टी प्रवेश गरिरहेका छन् । अब यस्तो अवस्थामा यो पुस्ता वर्तमान परिदृश्यबाट निस्पृह रहन सक्दैन न त राजनीतिलाई विश्वास नै गर्न सक्छ । आज पनि हामीकहाँ यस्ता युवाहरू प्रशस्त छन् कि ती चिकित्सा, कानुन, इन्जिनियरिङ वा सामाजिक जीवनका विभिन्न आयामसँग जोडिएका छन् र ती राजनीतिबाट निस्पृह हुन चाहन्छन् । आफ्नो पेसागत दक्षता र जिम्मेवारीयुक्त कामबाट सन्तोष मिलोस् भन्ने उनीहरू चाहन्छन् । उनीहरू राजनीतिमा गएर गलत सम्झौता गरी विवेक बन्धक राख्नुभन्दा शिर उचो राखेर बाँच्न चाहन्छन्, तर राजनीतिले उनीहरूलाई पनि सुखको जीवन बाँच्न दिएको छैन । कहिल्यै नसकिने सङ्क्रमणकालले यो पुस्ताको आधा जीवन खेर लगिसकेको छ । आखिर किन बिझाउँछन् फोहोर राजनीतिका कसिंगर हाम्रो जीवनमा ? अघिल्लो पुस्तालाई यो पुस्ताको सवाल हो यो । आखिर किन र कसका लागि भ-याङ बनिरहने युवापुस्ता ? कहिलेसम्म थापिरहने युवाले छातीमा तातो गोली ? प्रश्न अभेद्य छ ।
वैदेशिक रोजगारीमा तीन वर्ष बिताएर फर्केका एक युवाले आफ्ना भावना यसरी राखे, ‘सर त्यहाँ (मलेसियामा) विकास छ, उन्नति छ, प्रगति छ, अग्ला भवन र चिल्ला–फराकिला सडक छन्, तर ती सबै उनीहरूका लागि हुन्, हाम्रा लागि त त्यहाँ पनि अँध्यारा छिँडीहरू छन्, फोहोर, कमसल, बासी खानेकुरा र आत्मा मार्ने बेइज्जतिपूर्ण अपमानजनक जिन्दगी…, त्यसैले बरु मर्छु तर अब देश छाड्दिनँ ।’ के हामीलाई समृद्ध हुने अधिकार छैन ? सुपठित र सुसंस्कृत हुने अधिकार छैन ? के हाम्रो रगत कारगिलजस्ता अर्काको युद्धमैदानमा बग्नका लागि मात्र हो ? के हाम्रा पसिना अरबका मरुभूमि सिच्नका लागि मात्र हो ? आजका युवाको प्रश्न हो यो ।
युवा स्वाभावैले विद्रोही हुन्छ । विद्रोह युवाको नैसर्गिक चरित्र नै हो । यदि आजका युवाको आवाजलाई सम्बोधन भएन भने विद्रोह त अवश्य हुन्छ तर यो विद्रोह अमूक पार्टी, गुट वा व्यक्तिको स्वार्थका लागि नभएर समग्र समाजका लागि हुन्छ । अनि भ्रष्टाचारी, सुदखोर, कमिनखोर, दलाली र राष्ट्रघाती प्रवृत्तिका विरुद्ध हुनेछ । आत्मसम्मानका लागि अभिसापपूर्ण नियतिका विरुद्ध हुनेछ त्यो विद्रोह । हेक्का रहोस्, आजको युवा सधैँ भिक्टिमाइज्ड जेनेरेसन भएर बाँच्न किमार्थ सक्दैन ।