सहमतिको कवचमा युद्धप्रेम-देवप्रकाश त्रिपाठी

सहमतिको कवचमा युद्धप्रेम-देवप्रकाश त्रिपाठी


धर्तीका कुनै पनि मानिस युद्धका पक्षमा हुँदैनन् भनियो भने बिन लादेनहरू र ‘सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ’ भन्ने विचार-दर्शनबाट निर्देशित माओवादीहरूलाई मान्य नहुन सक्छ । कसैले यस्तो निष्कर्ष निकाल्यो भने उनीहरू आफूलाई ‘अन्डरमाइन्ड’ गरिएको ठान्न सक्दछन् । नेपाली माओवादीहरू आफूले जन थपेर सुरु गरेको युद्धका कथालाई सगौरव प्रस्तुत गर्दछन् र युद्ध लड्ने क्षमता राखेकै कारण आज देश चलाउन पाउनुपर्ने दाबी पनि उनीहरू गर्दै छन् । राष्ट्रका लागि, स्वाभिमानका लागि, स्वाधीनताका निम्ति, जनताका लागि या पहिचानका निम्ति, जे जुनसुकै नाममा लडे पनि युद्ध युद्ध नै हो र त्यहाँ मानिसकै रगत बग्छ । युद्ध मानिसको महत्त्वाकाङ्क्षाको वेगले सुरु गराउँछ, वर्तमानको वास्तविकता हो यो । तर, इतिहासमा न्यायका निम्ति पनि युद्ध रचिएका थिए । माओवादी युद्ध भने व्यक्तिगत महत्त्वाकाङ्क्षालाई जनआकाङ्क्षाको जलप लगाएर लडिने या लडिएको घातक युद्ध हो ।
माओवादीले लड्ने या लड्दै आएको युद्ध सत्ताका लागि हुने गर्छ । राज्यलाई शोषणको साधन ठान्ने उनीहरू र्सवहारा, गरिब र जनताको नाममा राज्यसत्तामाथि स्थायी तवरले पकड राख्न चाहन्छन् । निर्वाचनका माध्यमबाट प्राप्त सत्ता अस्थायी र कम प्रभावी हुने भएकोले बन्दुक, बल र हिंसाकै आडमा सत्ता प्राप्त गर्न खोज्नु संसारभरिका माओवादीहरूको विशेषतागत धर्म हो । हिंसात्मक युद्धबाट प्राप्त गरेको सत्ता स्थायी हुने विश्वास भएकोले प्रजातन्त्र या प्रजातान्त्रिक पद्धतिसँग दार्शनिक दृष्टिकोणले नै माओवादीहरूको साइनो हुँदैन । ०५२ सालमा नेपालमा बहुदलीय प्रजातान्त्रिक पद्धति क्रियाशील रहिरहेका बेला माओवादीले अर्को संसदीय निर्वाचन नपर्खीकन हिंसात्मक युद्ध सुरु गरेका हुन् । तिनलाई जनताका बीच जान कुनै पनि किसिमले नरोकिएको र चुनावमा भाग लिएर सरकार गठन गर्न पनि कुनै प्रकारले अवरोध सिर्जना नगरिएको समयमा माओवादीले युद्धमार्ग अवलम्बन गर्नुको पछाडि त्यस समूहका नेताको वेगवान महत्त्वाकाङ्क्षा र आफ्नो राजनीतिक हैसियतगत कुण्ठा कारणका रूपमा रहेको थियो । विधिसम्मत बाटोभन्दा बलगत पथ नै महत्त्वाकाङ्क्षा पूर्ति गर्ने प्रभावी साधन हुन सक्छ भन्ने नेपाली माओवादी नेतृत्वको त्यसबेलाको ठम्याई तिनका निम्ति सही थियो भन्न सकिने अवस्था माओवादीको वर्तमान राजनीतिक हैसियतले पुष्टि गरेको छ । नेपाली माओवादीमा मात्र होइन विश्वभरका माओवादीहरूमा युद्ध-प्रेमको भावना स्थायी र व्यापक रूपमा देखिन्छ ।
सन् १९११ मा डा. सन यात सेनको नेतृत्वमा प्रजातान्त्रिक आन्दोलन सम्पन्न भइसकेपछि चीनमा चुनावका माध्यमबाट सत्तामा जान पाउने अधिकार सबैका निम्ति खुला भएको थियो । तर, माओत्सेतुङ जनताबीच प्रिय भएरभन्दा बल र हिंसाको प्रयोगद्वारा नै सत्ता प्राप्त गर्न आतुर एवम् क्रियाशील रहे । भारतमा प्रजातान्त्रिक अभ्यासको उच्च प्रयोग भइरहेको भए पनि माओवादीहरू त्यहाँ युद्ध लड्दै छन् । त्यहाँ प्रजातन्त्र सुदृढीकरणका लागि युद्ध रच्नुपर्ने कुनै कारण र अवस्था छैन । तथापि माओवादीहरूको दृष्टिमा उनीहरूको गन्तव्य भेदन गर्न सकिने एक मात्र साधन युद्ध हो, त्यसैले उनीहरू लड्दै छन् । नेपालका माओवादीहरूले पनि युद्धमोह राखेकै कारण युद्ध नसकिएको हो र युद्ध नसकिएकै कारण पार्टीको नेतृत्व केन्द्रीकृत एवम् मजबुत तुल्याइएको हो । देश, जनता र प्रजातन्त्रका निम्ति युद्ध जतिसुकै हानिकारक भए पनि माओवादी स्वयम्का निम्ति लाभकारी भएकै कारण युद्धप्रति माओवादीको मोह सत्यवानका प्रति सावित्रीको या एक-अर्काका प्रति लैला-मजनुको भन्दा कम देखिएको छैन । युद्ध र माओवादी एक-अर्काका पर्याय हुन् भन्न सकिने आधारहरू विश्व घटनाक्रमहरूले दर्शाएका छन् । उनीहरू सत्तामा पुगिसकेपछि पनि युद्ध जारी राख्न चाहन्छन् । जतिसुकै गैरजिम्मेवार र अल्पज्ञानी व्यक्ति या समूह भए पनि सत्तामा पुगिसकेपछि आफ्ना देशवासीहरूको रक्षा गर्नु तिनको प्रमुख धर्म हुन्छ । तर, माओवादीको हकमा यो लागू हुँदैन । माओत्सेतुङ स्वयम्ले आफ्नो अक्षमता र नालायकी छोप्न तथा प्राप्त सत्तालाई दिगो तुल्याउन कथित सांस्कृतिक क्रान्तिका नाममा आफ्नै देशभित्र युद्ध छेडे । दस वर्ष लामो -१९६६-१९७६) उक्त युद्धमा पाँचदेखि सात करोड चिनियाँ जनताले ज्यान गुमाएको विश्वास गरिन्छ । कम्बोडियामा पोलपोटले पनि सत्ता प्राप्त गरिसकेपछि लाखौंलाई घरबारविहीन र छिन्नभिन्न तुल्याएका थिए भने हजारौंको हत्या गरेका थिए । रसियाका स्टालिनले आफ्नै पार्टीभित्रका आफ्ना विरोधी कार्यकर्ताहरूको समेत व्यापक हिंसा गरेर ‘युद्ध जारी छ’ भन्ने सन्देश दिएका थिए । भनिन्छ, स्टालिनले चौरानब्बे हजार त कार्यकर्ता मात्र मारेका थिए । स्टालिन माओवादी थिएनन् तर माओ स्टालिनवादी थिए र स्टालिनले भन्दा पनि बढी युद्ध र हिंसाप्रति प्रेम दर्शाउने व्यक्तिका रूपमा माओत्सेतुङ चिनिन्छन् । माओले आफ्नो शासन टिकाउन युद्ध रचे, हिंसा गरे र करोडौं चिनियाँ जनताको हत्या त गरे तर उनको निधनलगत्तै चीनले माओ मार्ग परित्याग गर्‍यो । आज पुँजीवादी आत्मा भएको ‘साम्यवादी’ चाइना हाम्रोसामु विश्वबजारमा आफूलाई नम्बर एकको दर्जा पाउन प्रयासरत छ । नेपालका माओवादीहरू पनि सच्चा माओवादी कम्युनिस्ट हुन् भने यिनले युद्ध र हिंसाबाट आफूलाई अलग गर्न कदापि सक्ने छैनन् । हिंसाबिना नै सत्ता प्राप्ति र सत्तामा आफ्नो दिगो आधिपत्य कायम राख्न सकेको अवस्थामा त माओवादीले हिंसात्मक दृष्टिकोण नत्यागे पनि युद्ध परित्याग गर्न सक्ला, होइन भने नेपाली माओवादी आन्दोलन पनि युद्ध र हिंसाबाट अलग्गिन असम्भवप्रायः छ । क्रान्तिको बाटो बाङ्गोटिङ्गो, घुमाउरो र उतारचढावयुक्त भए पनि एक दिन अवश्य गन्तव्यमा पुग्न सकिन्छ भन्ने विश्वासमा रहेका माओवादीहरूले करिब पाँच वर्षअघि -२०६२ सालमा) भारतको नयाँदिल्लीमा बाह्रबुँदे सम्झौता गर्नु, ०६२/०६३ को शान्तिपूर्ण जनान्दोलनमा सहभागिता जनाउनु, संसदीय प्रणालीअनुरूप सरकार गठन गर्न र परित्याग गर्न तयार हुनु आदि घुमाउरो यात्राका द्योतक हुन् । अब माओवादीले आफूलाई शक्तिसम्पन्न ठानेको छ र एक निर्णायक धक्का दिँदा पुरानो सत्ता जगैदेखि ढल्न सक्छ भन्ने विश्वास सायद उसले गरेको छ भने त्यो अनौठो होइन । माओवादीको ‘शाश्वत’ मान्यताअनुरूपको सोच हो यो ।
नेपाली माओवादीको घोषित गन्तव्य र्सवहारा वर्गको अधिनायकत्वको राज्यसत्ता अर्थात् ‘नयाँ जनवाद’ हो । तर, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूले संविधानसभा र गणतन्त्र मात्र उनीहरूको ‘अल्टिमेट गोल’ हो भन्ने बुझे । ०५२ साल फागुन १ गतेपछि युद्धको पहिलो चरणमा माओवादीहरू अत्यन्त टीठलाग्दो अवस्थाबाट गुज्रिरहेका थिए । ६ वर्षपछि २०५८ सालमा तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवाले संवादका लागि खुला आमन्त्रण गरेपछि माओवादीहरूले आफ्नो प्रभाव विस्तारको छलाङ मारे । ०६२ सालको बाह्रबुँदे सम्झौतापश्चात् उनीहरूले अर्को ठूलो छलाङ लगाउने मौका पाए भने संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा र सरकारको नेतृत्व गर्ने अवस्थासम्म आइपुग्दा माओवादीहरूमा उत्साह र अहंकारको बाढी नै आएको देखियो । साधारण जनतामा पनि माओवादी सम्पूर्ण रूपले विजयी भएको सन्देश प्रवाहित हुन थाल्यो । वास्तवमा उनीहरूले पूर्ण विजय प्राप्त गर्न अर्को एक खुड्किलो चढ्न बाँकी थियो र छ । निजामती सेवा, प्रहरी, न्यायपालिका, सशस्त्र प्रहरी र सञ्चारमाध्यमहरूमा आफ्नो पूर्ण नियन्त्रण र प्रभाव कायम गरिसकेका उनीहरूले नेपाली राष्ट्रिय सेनालाई आफ्नो काबुमा नलिईकन ढुक्क हुने स्थिति थिएन । प्रधानमन्त्रीका रूपमा प्रचण्डले राष्ट्रिय सेनालाई आफ्नो पूर्ण नियन्त्रणमा लिने सफलता प्राप्त गर्नुभएको भए देशमा झन्डै एक वर्षअघि नै जनगणतन्त्रात्मक संविधान जारी भई अन्य दलहरू भूमिगत हुनुपर्ने परिस्थति आउन सम्भव थियो । सेनालाई आफ्नो नियन्त्रणमा लिन गरिएको असफल प्रयाससँगै प्रचण्डले प्रधानमन्त्री पद त्याग गर्नुपर्ने परिस्थिति आएपछि नेपाली राजनीतिले नयाँ मोड लियो । आगामी कैयन वर्षका लागि आफू निर्विकल्प रहेको ठान्नुहुने प्रचण्डले आफूहरूलाई प्रतिपक्षमा राखेर सरकार बनाउने र चलाउने हिम्मत कसैले गर्ला भन्ने कहिल्यै सोच्नुभएको थिएन । प्रधानमन्त्री भएको केही दिनपछि नै राजनीतिक रूपले प्रचण्डको ओरालो यात्रा सुरु भएका सङ्केतहरू देखिन थालेका थिए । रुक्मांगद प्रकरणयता माओवादीको प्रतिकूलता दिनप्रतिदिन उत्कर्षतर्फ जाँदैछ । वैधानिक र गैरसंवैधानिक दुवै विकल्पहरूको जोडदार प्रयोगद्वारा सत्तामा पूर्ण नियन्त्रण बनाउने रणनीतिका साथ क्रियाशील माओवादीहरू वैधानिक अस्त्रको प्रयोगद्वारा गन्तव्य प्राप्त गर्ने दिशामा असफल हुँदै गएका छन् । आगामी जेठ १४ मा संविधानसभाको वैधानिक हैसियत अन्त्य भइसकेपछि राजनीतिक दृष्टिले त्यसको सर्वाधिक प्रतिकूल असर माओवादीलाई नै पर्ने देखिन्छ । नेपाली राजनीतिले माओवादी दबाबको चपेटबाट मुक्त हुने प्रयास गरिरहँदा माओवादीको सत्तारोहण मात्रको सपना पनि धेरै टाढिएको छ । माओवादीमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाब बढ्दो छ, यसले उनीहरूलाई बदलिने या लड्ने दुईमध्ये एक विकल्प रोज्न बाध्य बनाउँदै छ । आफ्नो गन्तव्य, विचार, सिद्धान्त, नीति, रणनीति, कार्यनीति र व्यवहार बदल्न माओवादी तयार हुँदैनन् भने उनीहरू लडाइँका निम्ति तयार भए भनेर स्वतः बुझनुपर्ने हुन्छ । शान्ति, सहमति र सहकार्यको शब्दाडम्बरभित्र माओवादीले युद्ध तयारी गर्नु र युद्धबाट नै गन्तव्य प्राप्तिको तत्परता लिनुले नेपाली राजनीतिको अर्को कित्तालाई पनि युद्ध तयारीका निम्ति अभिप्रेरित गराउँदै छ । माओवादीका र्सतमा उनीहरूसँग सम्झौता गर्दा कर्साईसँग जनावरले सहमति गरेजस्तो हुने परिस्थिति बनेकोले प्रजातन्त्र पक्षधर शक्तिहरू माओवादीसँगको मिलापलाई भन्दा एकप्रकारको तनावलाई नै स्वीकार गर्न राजी हुने स्थिति बनेको छ, जसले युद्धको पृष्ठभूमि बलियो बनाउन बल पुर्‍याएको महसुस गरिँदै छ । माओवादीसँग आत्मर्समर्पण गरेर देशको सम्पूर्ण भविष्य तिनको जिम्मेवारीमा छोड्नुभन्दा बरु लडेर भए पनि प्रजातन्त्र तथा प्रजातान्त्रिक मूल्य र मान्यता जोगाउनुपर्छ भन्ने चेत विकसित हुँदै गएको छ, जसले सम्भावित युद्धलाई निश्चित तुल्याएको छ । त्यसैले माओवादीहरू बदलिएको अवस्थामा मात्र युद्धको सम्भावना न्यून हुन सक्ने, होइन भने युद्ध अनिवार्य भइसकेको निष्कर्ष निकाल्न सकिन्छ । शान्ति, सहमति र सहकार्यको आवरणभित्र तनाव र युद्धको त्रासबाट देश गुज्रनुभन्दा बरु युद्धका माध्यमबाट शान्ति, स्थिरता र विकास खोज्नु छिटो, छोटो र जायज हुने विश्वास जसरी बढाउँदै लगेको छ यसले अन्ततः प्रजातन्त्र र शान्तिका पक्षधरहरूमा पनि युद्ध-प्रेम बढाएको सङ्केत गर्दछ । विश्वको कुनै पनि मुलुकमा र्सार्थक हुन नसकेको राज्य-माओवादी सम्झौता नेपालमा हुँदा विश्वको ध्यान यहाँ आकृष्ट भएको थियो र नेपालमा विकसित घटनाक्रमहरूलाई एउटा प्रयोगका रूपमा पनि लिइएको थियो । कथित सहमति र सहकार्यको चार वर्ष लामो अभ्यासपश्चात् युद्धको तयारी परिपक्व भएपछि माओवादीसँग संवाद र सम्झौतामार्फतत समस्याको समाधान खोज्न सकिँदैन भन्ने पूर्वस्थापित धारणाको पुर्नर्पुष्टि हुन पुगेको छ । देशमा बेरोजगार युवाहरूको ताँती लागेको छ, राज्यका निम्ति बेरोजगारी प्रमुख समस्या बन्न पुगेको छ । लाखौं युवा रोजगारीका निम्ति भड्किरहेको यो समयमा माओवादीहरूचाहिँ आफ्नो पार्टीका केही हजारलाई सेना र प्रहरीमा जागिर दिलाउनुपर्‍यो भनेर बखेडा सुरु गर्दै छन् । माओवादीले क्यान्टोनमेन्टमा जम्मा गरेका केही हजार युवालाई सरकारी जागिर मिल्दैमा देशको विद्यमान समस्याको अन्त्य हुनेछैन भन्ने कुरामा माओवादी पनि स्पष्ट छ । तर, उनीहरूलाई युद्ध चाहिएको छ, त्यसैले आफ्ना लडाकु कार्यकर्ताप्रतिको हमदर्दी देशको भविष्यप्रतिको चिन्ताभन्दा पनि ठूलो बनेको छ । सम्पूर्ण सत्ताको मालिक आफैं नभएसम्म माओवादीहरू हिंसात्मक धारणा र युद्धको मानसिकताबाट मुक्त हुन सक्दैनन् । नेपालमा सम्पूर्ण सत्ता कब्जा गर्ने चरणमा आफूहरू प्रवेश गरेको ठम्याइ माओवादीको छ, त्यसैले माओवादी अन्तिम युद्धमा उत्रेका छन्, प्रजातान्त्रिक धु्रवले आत्मर्समर्पण गरेन भने या माओवादी आफैं पछि हटेनन् भने भीषण युद्ध अवश्यंभावी छ ।
[email protected]