अन्तरविचार

अन्तरविचार


antarbicharपार्टीमै नदेखिएकाहरूको विरोधको के तुक ?– कमल थापा (अध्यक्ष, राप्रपा नेपाल)
० समानुपातिक सभासद् चयनको विषयमा तपाईंको पार्टीमा तीव्र विवाद र असन्तुष्टि देखियो, किन यस्तो अवस्था निम्त्याउनुभएको ?
– हाम्रो पार्टीमा त्यस्तो तीव्र विवाद र असन्तुष्टि पैदा भएको छैन जति आमसञ्चारमाध्यममा प्रकट गराइयो । तर, राप्रपा नेपालप्रति चासो दिएर यसरी प्रचारप्रसार गरिदिनुभएकोमा म आमसञ्चारका माध्यमहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
० तपाईंले करोड–करोड मूल्यमा सभासद्को कोटा बिक्री गर्नुभयो भन्ने आरोप तपाईंकै केन्द्रीय सदस्यहरूले लगाइरहेका छन्, उनीहरूलाई पनि धन्यवाद भन्नुहुन्छ कि ?
– मैले भनिहालँे कि यस्ता कुरा सबै आमसञ्चारमाध्यममा मात्रै छ, न राप्रपा नेपालको पार्टी कार्यालयमा न त मसमक्ष यस्ता गुनासो र आरोप आइपुगेका छन् । कुनै पनि औपचारिक या अनौपचारिक उजुरी या पत्र मलाई या पार्टीलाई प्राप्त भएको छैन । कसैसँग पैसा लिएर सभासद् बनाउने भन्ने कुरा त सम्भव नै छैन नि । यस्तो बेतुकको कुरा हल्ला गराएर हुने हो र ?
० गैरराजनीतिक पृष्ठभूमिका व्यापारी–उद्योगपतिहरू पनि सभासद् त बने नि तपाईंको पार्टीबाट ?
– विभिन्न क्षेत्रका व्यक्ति–व्यक्तित्वहरूको नाम सिफारिस भएको थियो, सिफारिस नाममध्येबाटै छानिएका छन् ।
० पार्टीको सदस्यता नै नलिएका व्यक्तिसमेत छनोटमा परे भन्ने कुरा आएको छ त ?
– हो, मिडियाको कुरा पत्याउने हो भने पार्टीको साधारण सदस्यसमेत नरहेका व्यक्ति सभासद्मा सिफारिस भएका छन्, यथार्थमा चाहिँ यस्तो काम भएको छैन । यस्तो थियो भने त पार्टीभित्र असन्तुष्टि, उजुरी दर्ता गर्न सकिन्थ्यो, खै कुनै सदस्यबाट यस्तो गरिएको छैन । बैठकमा आएर विरोध गर्ने अधिकार छ पार्टीका मानिसलाई । आकाङ्क्षा राख्ने थुप्रै थिए होलान्, त्यो पूरा गर्न सकिने कुरा भएन । त्यस्तैमध्येका एकाध व्यक्तिले सडकमा हल्ला पनि गरे होलान् । त्यो गर्नुको साटो वैधानिक रूपले पार्टीमै कुरा राखेको भए हुन्थ्यो । तर, यो नगरी बाहिर–बाहिर चियापसलमा कसले के भन्छ भन्ने कुराको पछि लागेर हिँड्न सकिन्न र हिँड्ने कुरा पनि भएन । चौथो शक्तिको रूपमा उदाइरहेको पार्टीलाई कमजोर पार्न खोज्ने, यसको भूमिकालाई निस्तेज तुल्याउन खोज्ने प्रयासको यो एउटा कडी मात्र हो यस्ता प्रोपोगण्डा भन्ने मलाई लाग्छ । जनताले महŒवपूर्ण वैकल्पिक प्रजातान्त्रिक शक्तिको रूपमा खडा गरेको पार्टीलाई सुरुमै यसरी हतोत्साहित बनाउन खोज्नुले प्रजातन्त्रलाई नै कमजोर पार्छ ।
० नेपाली राजनीतिमा लेनदेन र रकमको खेल त हुन थाल्यो नि, तपाईंलाई यस्तो लाग्दैन ?
– होला । तर, राप्रपा नेपालमा यस्तो सम्भव छैन ।
० कुनै मापदण्डबिना नै सभासद् छान्नुभएको त हो नि तपाईंले ?
– फजुल कुरा । निर्वाचन आयोगले नै मापदण्ड बनाइदिएको छ । पार्टीभित्र पनि हामीले आन्तरिक मापदण्ड बनाएका थियौँ र त्यसअनुरूप वैधानिक तवरमा नाम सिफारिस गरी पठाइएको छ । सम्पूर्ण विधि र प्रक्रिया पूरा गरिएको छ नाम पठाउने मामलामा ।
० तपाईं पार्टीमा विरोध भएको छैन भन्नुहुन्छ, तर पार्टी कार्यालयमै ताला लाग्यो नि ?
– खै कहाँ ताला लाग्यो ? म त नियमित रूपले पार्टी कार्यालय आउने–जाने गरिरहेको छु, गर्नुपर्ने काम सुचारु रूपले गरिरहेकै छु । अन्य साथीहरूले पनि निर्वाध आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकै छन् ।
० त्यसो भए तपाईं नाम सिफारिसको निर्णय परिवर्तन गर्नुहुन्न हो ?
– पार्टीले विधि पु-याएर औपचारिक रूपमा गरेको निर्णय पनि जथाभावी फेरबदल गर्दै हिँड्न मिल्छ र ? यही निर्णय कार्यान्वयन हुन्छ ।
० निर्वाचन आयोगले त सच्याएर पठाउन तपाईंलाई पत्र नै लेख्यो क्यारे ?
– निर्वाचन आयोगलाई चित्त बुझ्ने जवाफ केही दिइसकियो, आवश्यक परे फेरि दिइनेछ । तर, पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी विधिवत् गरेको निर्णय कार्यान्वयन हुन्छ । केही व्यक्तिविशेषले चित्त दुखाएर के गर्ने ? तीन सय ३५ वटा नाम सिफारिस भएकोमा हामीले जम्मा २४ वटा मात्र सिट पायौँ त के गर्नु ? पार्टीका साथीहरूले के बुझ्नुपर्छ भने हिजो ०६४ को चुनावमा जम्मा चारजनाले मौका पाएका थिए, अहिले चौबीसले पाएका छन्, राम्रोसँग एकताबद्ध भएर हामीले काम गर्ने हो भने अर्को चुनावमा डेढ सयजनाले मौका पाउन सक्छौँ । यो मनन गर्नुप-यो नि !
० पुराना असफल अनुहारलाई दोहो-याउनुभयो भन्ने गुनासो छ ?
– पार्टीको निर्णय हो, को ठीक परे को परेनन् भन्नेमा पार्टीभित्रै छलफल चलाउन सकिन्छ ।
० बालकृष्ण न्यौपाने र विष्णु भट्टराईहरूले त तपाईंप्रति कडा टिप्पणी गरे, के भन्नुहुन्छ ?
– विष्णु भट्टराईले त्यसरी उग्र रूपमा कहीँ केही गर्नुभएकै छैन । जहाँसम्म बालकृष्णजीको सवाल हो, उहाँ पार्टीमा आउनुभएको पनि धेरै समय भएको छैन । भन्ने नै हो भने त उहाँलाई मैले अहिलेसम्म पार्टीमा देखेकै पनि थिइनँ । केशर विष्टजी सँगसँगै एकपटक पार्टीमा लामो लिस्टमा चाहिँ देख्या’हो, त्यसबाहेक बालकृष्ण हाम्रो पार्टीमा छन् भन्ने कुराको अनुभूति कसैलाई पनि छैन ।
० पूर्वराजाका निकट व्यक्तिहरूलाई पनि लत्याउनुभयो रे तपाईंले, हो कि होइन ?
– यी सब कुरा हावादारी हुन् । कसलाई कसको निकट भन्ने, कसलाई दूर ठान्ने ? पार्टीका निकट भएका, अनुशासित, पार्टीले आवश्यक ठानेका व्यक्तिहरू नै छनोटमा परेका छन् । त्यस्ता व्यक्ति हाम्रो पार्टीमा धेरै छन्, तर २४ मात्र सिट प्राप्त भएकाले तीन सय पैँतीसमा को परे को परेनन् भनी कोकोहोलो मच्चाउनु निरर्थक हुन्छ । कैयनलाई चाहेर पनि कोटाको अभावमा सिफारिस गर्न सकिएन ।
० आजको परिवेशमा तपाईंको पार्टीले खेल्ने भूमिकाचाहिँ के हो नि थापाजी ?
– संविधानसभाको निर्वाचन सम्पन्न भएको डेढ महिना बित्न लाग्दा पनि संविधानसभाले पूर्णता पाउन सकेको छैन । केही दलको अनावश्यक हठ बाधक बनिरहेको छ । विगतमा आफूलाई प्रमुख भन्ने दलहरू संविधानसभाभन्दा बाहिर गएर आफूखुसी निर्णय गर्ने र उक्त निर्णय लाद्ने गर्दथे, त्यो रोग अझै कायम रहेजस्तो छ । यस्तो रोगको पुनरावृत्ति हुन नदिन हाम्रो पार्टीले भूमिका निर्वाह गर्नुपर्ने देख्छु । जनता अहिले नै निराश बन्न लागिसके । चाँडोभन्दा चाँडो संविधानसभालाई पूर्णता दिएर यथाशीघ्र संविधान निर्माण गर्नु नै पहिलो आवश्यकता हो । यसैका लागि हामी कटिबद्ध छौँ । एउटा सशक्त प्रतिपक्षका रूपमा गुण–दोषका आधारमा सरकारलाई सहयोग वा आलोचना गर्ने र संविधान निर्माण कार्यमा राप्रपा नेपालले अत्यन्त रचनात्मक भूमिका निर्वाह गर्नेछ । सनातन हिन्दूराष्ट्र, राजासहितको प्रजातन्त्र, जातीय आधारमा सङ्घीयता हुन नहुनेलगायतका हाम्रा केही मौलिक एजेण्डाहरू छन्, तिनलाई संवैधानिक तवरमा स्थापित गराउन पनि हामी लागिपर्नेछौँ ।
० उच्चस्तरीय समिति आवश्यक छैन भन्न खोज्नुभएको हो तपाईंले ?
– यत्रो चुनाव भएर संविधानसभा गठन भएपछि त्यो गैरसंवैधानिक, गैरप्रजातान्त्रिक निकाय खडा गर्नु जनताको सर्वोच्चता र म्यान्डेटको खिलाफ हुन्छ भन्ने हाम्रो दृढ भनाइ छ । त्यस्तो समिति कायम गरेर जन–सर्वोच्चताको अपमान गर्नुहुँदैन ।

अन्तरविचार–२

शान्ति र सुरक्षाका लागि चीनको चासो बढेकै हो– राजेश्वर आचार्य (कूटनीतिज्ञ एवम् चीनका लागि पूर्वराजदूत)
० नेपालको राजनीतिमा चिनियाँ चासो निकै बढ्न थाल्यो नि, किन होला ?
– नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमै चीनको चासो बढेको छ । शक्तिमान एक ठूलो मुलुक हो चीन, जसले गर्दा अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार गर्नु उसको बाध्यता नै हुन आउँछ । भेटघाटका कार्यक्रमले सम्बन्ध विस्तारमा महŒवपूर्ण भूमिका खेल्ने भएकाले पनि विभिन्न तहका चिनियाँ नेता तथा प्रतिनिधिमण्डलको नेपाल भ्रमणको क्रममा केही रफ्तार आएको होला । विश्वमा शान्ति र स्थिरता कायम होस्, खासगरी छिमेकका देशहरूमा शान्ति र स्थिरता कायम रहोस् भन्ने चीनको पहिलेदेखिकै विदेशनीतिको एउटा प्रमुख अङ्ग हो । यो कुरा उसको हकमा नेपालको सन्दर्भमा पनि लागू हुन्छ ।
० सक्रियता त अलिक बढेकै हो नि चीनको यहाँ होइन र ?
– यहाँ मात्र होइन सक्रियता त संसारभर नै बढेको छ उसको । भनिहालँे नि यो उसको सकारात्मक बाध्यता नै हो । हामीले बुझ्नुपर्ने कुरा के हो भने विश्व शान्ति या क्षेत्रीय शान्ति र स्थिरताको निमित्त चीन मात्र होइन अमेरिका र अन्य मुलुकको पनि उत्तिकै चासो र चिन्ता देखिन्छ । यसलाई अन्यथा रूपमा लिइहाल्नुपर्ने देख्दिनँ म ।
० तैपनि, चिनियाँ उच्च तहका प्रतिनिधिमण्डल महिनामा एकपटकजसो नै नेपाल आउने रणनीति रहेको भन्ने बुझिन्छ, यस्तो के जरुरी छ र ?
– शक्तिशाली मुलुकका लागि आन्तरिक शान्ति र सुरक्षाको जति महŒव छ त्यसभन्दा कम महŒव हुँदैन उसका लागि छिमेकको शान्ति र सुरक्षा पनि । ठूला मुलुकले आफ्नो सुरक्षाका लागि पनि छरछिमेकका मुलुकको शान्ति र स्थिरता चाहन्छन्, त्यही सिलसिलामा चिनियाँ उच्च प्रतिनिधिको भ्रमण भएको या हुने गरेको हो । दोस्रो संविधानसभाको निर्वाचनभन्दा पहिले नेपाल आएका चिनियाँ स्टेट काउन्सिलरले पनि यो कुरा इङ्गित गर्नुभएकै थियो । त्यसकारण यसलाई स्वाभाविक प्रक्रियाकै रूपमा लिनुपर्छ भन्ने मलाई लाग्छ । र, यहाँनेर के एउटा कुरा थपौँ भने नेपालमा यतिबेला शान्तिप्रक्रियामा केही अवरोध पो आउन लाग्यो कि ? संविधान निर्माण प्रक्रिया अवरुद्ध पो हुन लाग्यो कि ? भन्ने चिन्ताचाहिँ भएकै जस्तो लाग्छ चीनलाई । त्यसैले संविधान निर्माणको प्रक्रिया नरोक, मिलेर संविधान बनाऊ भन्ने सन्देश दिनका लागि पनि यसपटकको उच्चस्तरीय टोलीको भ्रमण भएको हुन सक्छ ।
० मोहन वैद्य समूहलाई मूलधारको राजनीति नछोड भनेर प्रस्ट शब्दमा भनेको कारण यही होला त ?
– हो भन्न सकिन्छ । नेपालको स्थिरता र शान्तिसँग दक्षिण एसियाकै शान्ति र स्थिरता निर्भर रहने परिवेशका आधारमा यहाँको शान्ति नखल्बलियोस् भनेर चीनले विद्रोही मूडमा रहेका शक्तिहरूलाई यस्तो सुझाव दिनु स्वाभाविक नै हो । राजनीतिक मूलधारबाटै निप्ट्याउन सकिने मुद्दाहरूलाई किन विद्रोही रूपमा अघि बढ्न दिने भन्ने सोच असान्दर्भिक हुन सक्दैन । वैद्य मात्र होइन यस्तो सुझाव प्रत्यक्ष या परोक्ष रूपमा प्रचण्ड या एमाओवादीलाई दिएको हुनुपर्छ चीनले ।
० माओवादी र एमाओवादी दुई पार्टी एक होऊ पनि भन्यो होला नि चीनले ?
– पार्टीको नामै तोकेर भन्ने कुरा त आउँदैन, तर मिलेर अघि बढ्दा सबैको भलो हुन्छ भनेर त भनेकै हो नि ! सदासयता हो त्यो कि मिलेर जानु नै त राम्रो हुन्छ । कूटनीतिमा त्यत्तिले नै धेरै अर्थ राख्छ । कुनै पनि पार्टी होस्, मिलेर जाँदा राम्रो हुन्छ, फुट्न हुँदैन, नेपाल र नेपालीको हितमा सबैले मिलेर काम गरून् भनेर त हामी पनि भन्छौँ नि, होइन र ? हाम्रो भित्री चाहना पनि यही हो र बाह्य मित्रहरूले त्यस्तो सुझाव दिनु पनि स्वाभाविक कुरा हो ।
० चीनको सुझाव बुझेर ती दुई पार्टी एक हुन सक्लान् त, के लाग्छ तपाईंलाई ?
– सुझाव मान्ने–नमान्ने भन्दा पनि उहाँहरूको आफ्नै हिसाबकिताब होला । हामी यत्ति मात्रै भन्न सक्छौँ कि मिलेर जानु उत्तम हुन्छ । नेपालमा दुई–चारवटा मात्रै पार्टी रहनु वेश हुन्छ ।
० यतिबेला नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको छ, अब काङ्ग्रेसलाई हेर्ने चिनियाँ दृष्टिकोणमा केही फेरबदल होला ?
– यसमा धेरै माथापच्ची गर्नुपर्ने कुरा केही छैन । चीन र अन्य मुलुकहरूले पनि यहाँका सबै ठूला दलसँग मित्रवत् र सुमधुर सम्बन्ध पहिले पनि राखेको थियो र अहिले पनि राख्छ र पछि पनि त्यो रहन्छ । हाम्रो यहाँको राजनीतिक चकाचुलीमा कहिले को माथि आउला कहिले को तल पर्ला, यसले केही फरक पार्दैन ।
० तै पनि काङ्ग्रेस, एमाले र माओवादीमध्ये कुनचाहिँलाई बढी ‘आफ्नो’ ठान्ला भन्ने एउटा अनुमान त होला नि तपाईंभित्र पनि ?
– यो रूपमा भन्न त गाह्रो छ । वास्तवमा चीनले योचाहिँ दल मेरो खास नजिकको हो भन्ने हिसाबले व्यवहार गरेको छैन । हामीले त्यस रूपमा अथ्र्याउने गरेका छौँ भने सायद त्यो अपरिपक्व कुरा हुनेछ । हुन त घर–परिवारमै पनि मानिसले आफ्ना छोराहरूमध्येमै कसैसँग अलिक बढी आत्मीय र कसैसँग अलिक चिसो–टर्रो सम्बन्ध निर्वाह गरिरहेका हुन्छन्, व्यवहार र परिस्थितिले त्यस्तो पारेको हुन्छ । तर, उसका लागि छोरा त सबै समान नै हुन्, सबैलाई एक बाबुका रूपमा गर्नुपर्ने कर्तव्य निर्वाह गर्नैपर्छ र यथार्थमा माया त सबै सन्तानको उत्तिकै लागेकै हुन्छ । छिचोलेरै भन्नुपर्दा आफ्नो राष्ट्रिय हित महŒवपूर्ण हुन्छ, तसर्थ चीनको राष्ट्रिय हितका निमित्त जुन शक्ति अनुकूल हुन्छ त्यही शक्तिसँग ऊ नजिक हुन्छ । योचाहिँ मेरो आफ्नो हो भनेर कुनै दलविशेषलाई च्याप्ने परिवेशमा मैले बुझेसम्म छैन चीन ।
० त्यसो भए आजका दिनमा चीनका लागि सबभन्दा अनुकूल दल कुन होला त ?
– नेपालका सन्दर्भमा सबै प्रमुख दलहरूसँग चीनले आत्मीय सम्बन्ध राखेको थियो, राखेको छ र राखिराख्छ । यसमा कसैले म ज्यादा नजिक छु या कसैले हामीलाईचाहिँ टाढा पा-यो भन्ने सोच राख्छ भने त्यो सही मूल्याङ्कन हुँदैन ।
० नेपालको विकासका लागि चीनको सहयोग के–कस्तो हुनसक्छ होला ?
– चीनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरूमा प्रस्टैसँग भन्दै आएको छ र नयाँ राष्ट्रपतिले अझै जोड दिएर भन्नुभएको छ कि चीनको विकासबाट हाम्रा छिमेकी मुलुकले पनि अधिकतम् लाभ लिऊन् भन्ने हामी चाहन्छौँ । अब हामीले कति लाभ उठाउन सक्छौँ, कस्ता प्रोजेक्टमा चीनलाई आकर्षित गर्न सक्छौँ र दुईपक्षीय हितका निमित्त के–कति अनुकूल वातावरण बनाउन सक्छौँ, कति शान्ति र स्थिरताको वातावरण बनाउन सक्छौँ– यसमै चीनले दिने सहयोग या लगानी निर्भर रहन्छ । त्यसैले बलचाहिँ हाम्रै कोर्टमा छ ।