अवसर र चुनौतीको कसीमा काङ्गे्रस– इन्द्रबहादुर बराल

अवसर र चुनौतीको कसीमा काङ्गे्रस– इन्द्रबहादुर बराल


bicharनेपाली जनताको अपार सहभागितामा भर्खरै सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचन परिणामसँगै मुलुकको राजनीति अप्रत्यासित रूपमा तरङ्गित हुन पुग्यो । दिनपछि रात र रातपछि दिन आउँछ भन्ने शाश्वत सत्यलाई बिर्सेर पराजयको पीडामा ऐया आत्थु गर्दै भौँतारिएर हिँड्नेहरूलाई पनि राज्यको मूल प्रवाहमा डो-याउनु ठूला बनाइएका दलहरू र खास गरेर नेपाली काङ्गे्रसको काँधमा आएको छ । आज ठूला बनेका दलहरूले पहिलो संविधानसभाको चुनावमा सर्मनाक पराजय नभोगेका पनि होइनन् । त्यसकारण लोकतन्त्रमा गरिने आवधिक निर्वाचन र निर्वाचनले दिने निर्णयलाई मान्दिनँ भन्नु अर्को बेइमान हो । फरक–फरक रूपका बेइमानीले जनताले चाहेको र खोजी गरिरहेको परिवर्तनलाई संस्थागत गर्र्न कठिनाइ हुन जानेछ । जसका कारण भन्ने गरिन्छ दशवर्षे जनयुद्धको जगमा टेकेर गरिएको जनआन्दोलन ०६२/६३ को उपलब्धिलाई आफ्नै असहिष्णुता र असमझदारीले गुमाउनु ‘सौताको रिसले पोइको काखमा…’ जस्तै हुनेछ । यो यथार्थलाई एकीकृत माओवादीले आत्मसात् गर्न सकेन भने दुर्भाग्य हुनेछ, स्वयम् एमाओवादी र मुलुककै लागि पनि । यसर्थ सबै राजनीतिक दलले मनन गर्नैैपर्ने सत्य के हो भने यसपटकको निर्वाचनमा नेपाली जनताले लहडमा होइन एजेण्डाकेन्द्रित भएर मताधिकार प्रयोग गरेकोमा अन्यथा लिनुहुँदैन । त्यसैले जित्न र हार्ने दुई पक्षले जनमतको उचित कदर गर्न आत्मसमीक्षा वस्तुनिष्ठ भएर गरेको अवस्थामा उक्त आत्मसमीक्षाले सही दिशाबोध गर्नेछ । यदि त्यसो गर्न सकियो भने मात्रै भविष्यको गन्तव्य सुनिश्चित र सुविधाजनक हुनेछ ।
दोस्रो संविधानसभाको निर्वाचनले दिएको जनादेशको परिपालनाले नेपाली काङ्गे्रसलाई सुधारिने अवसर र कठोर चुनौतीको घेरामा राखिदिएको छ । धेरै थिलथिलिएको मुलुकको राजनीति अर्धमूर्छित अवस्थाबाट पूर्ण होसमा ल्याउनु त्यत्तिकै जटिल र कठिन छ । यदि सतर्कतापूर्वक पुनः ट्रयाकमा ल्याउन सकिएन भने अक्षम्य भूल हुनेछ । मुलुकको राजनीतिमा देशी–विदेशी प्रतिक्रियावादी शक्तिको चलखेल पारदर्शी रूपमै छ भन्नेमा कतै विवाद नै देखिँदैन । त्यसकारण नेपाली काङ्गे्रस सबैभन्दा ठूलो पार्टी भएकाले ठूलो जिम्मेवारी वहन गर्न ठूलै छातीका साथ लाग्नुपर्छ । मुलुकको समस्या समाधान लोकतान्त्रिक विधि र प्रक्रियाबाट मात्र सम्भव छ भन्ने तथ्य चुनावी परिणामले प्रमाणित गरेको छ । चुनावी परिणामलाई अब पनि अपव्याख्या गर्ने कुचेष्टा भयो भने नेपाली जनताले क्षमा दिनेछैन । राजनीतिक निश्चित आदर्श र निष्ठाको निम्ति गर्ने कुरा हो । निष्ठा र आदर्शको राजनीति अविचलित रूपमा रहिरह्यो भने अवश्य पनि सही गन्तव्यमा पुग्न कुनै दुरुहको कुरा होइन । एउटा जितबाट मात्तिने र अर्को हारबाट आत्तिनेहरूबाट राज्यले कुनै अपेक्षा राख्न सक्दैन । नेपाली काङ्गे्रस पार्टी आफैँ एउटा उदाहरण बनेको छ । जुन पार्टी इतिहासमै ठूला–ठूला ऐतिहासिक र परिवर्तनकारी आन्दोलनको सफल नेतृत्व लिन सफल भए पनि नराम्रोसँग पराजित नभएको होइन । तथापि आफ्ना आदर्शहरू राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको अगाध र अटुट आस्था र विश्वासका कारण फेरि पनि नेपाली जनताको समर्थनले पूर्ण बहुमत नदिए पनि सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुन सक्यो । यदि नेपाली काङ्गे्रसले जनताको भावना र आवश्यकतालाई व्यावहारिक कसीमा उतार्न खोजेका हो भने त्यस्ता पुनीत कार्यभार पूरा गर्न जुनसुकै कुनाबाट सकिन्छ भन्ने सन्देश दिन आवश्यक छ । राजनीति ठूलो हुनका लागि नभई आदर्शका निम्ति हो । यही तथ्यलाई ध्यानमा राखी भावी कार्यदिशा निर्माणमा लाग्यौँ भने भविष्यको गर्भमा सम्मानित स्थान पाइने खुसीका दिनहरूको पर्खाइमा हुनेछौँ । यदि ‘तातै खाऊँ जल्दी मरौँ’ भनियो भने दुःख र पीडाका दिनले छाड्ने छैन । यसर्थ हिजोका ठूला दलले धैर्यधारण गर्नैपर्छ र सकारात्मक भूमिका निर्वाह गर्न चुक्नुहुँदैन ।
वर्तमानमा नेपाली काङ्गे्रस सबैभन्दा ठूलो पार्टीको हैसियतमा स्थापित हुनु अवसर हो भने भविष्यमा जनअपेक्षाअनुरूप लोकतान्त्रिक संविधान र आर्थिक समृद्धिको जग बसाउनु चुनौतीको रूपमा हेरिएको छ । नेपाली जनताको लोकतान्त्रिक संविधान बनाउने उत्कट इच्छालाई जतिसक्यो छिटो सम्पन्न गरेर त्यही संविधानमा टेकेर नयाँ नेपाल निर्माणको बाटोमा लाग्न सबै नेपाली आतुर छन् । यस्तो चिरप्रतीक्षित र व्यग्रतापूर्ण रूपले हेरिएका आकाङ्क्षालाई कहीँकतैबाट व्यवधान खडा गरिन्छ भने त्यस्तो निकृष्टता नेपाली जागरुक र सचेत जनताका लागि सह्य हुनेछैन । आखिरी जनता सत्य हो, सत्यसँग खेलवाड भयो भने खेलवाड गर्ने शक्तिलाई अहिले त केही पाखा लगाएका मात्र हुन्, धोका भयो भने रछ्यानमा पनि पु-याउन सक्छन् । उत्तेजना र भावनामा मात्र बगेर मुलुकको यावत् समस्याको समाधान दिन सकिँदैन । समाधानको निम्ति त यथार्थतामा सही धरातलमा टेकेरै गर्नुपर्दछ । त्यसको निम्ति व्यावहारिक राजनीतिमा अडिएर लाग्नुको विकल्प छैन । कतिपय सन्दर्भमा माक्र्सवादका ठेलीहरू असान्दर्भिक भइसकेका छन् । त्यसैले माक्र्सवाद विज्ञान हो भने विज्ञानसम्मत् बुँदाहरूलाई लोकतन्त्रका मूल्य र मान्यतासँगै समायोजन गर्दै लैजाने आदर्श भनेकै राष्ट्रियता, लोकतन्त्र र समाजवाद हो । यही आदर्शले नेपाली काङ्गे्रस पार्टीलाई रक्तसञ्चार गराएको छ र वर्तमानमा महŒवपूर्ण र गहन जिम्मेवारीको अवसर प्राप्त भएको छ । यस्तो अवसरलाई सावधानीपूर्वक सदुपयोग गर्न सकिएन भने चुनौतीका पहाडहरूले थिच्नेछ र अस्तित्वको छटपटीले भौँतारिन पनि बेर हुँदैन । त्यसकारण दोस्रो संविधानसभामा ठूलो पार्टी हुनुको नाताले यथासम्भव सहमतिकै आधारमा अघि बढ्ने उपाय खोजिनुपर्छ । किनकि जनादेश नै त्यस्तै प्रकृतिको छ । हरसम्भव गणितीय खेलमा नलागी सहमतिको बाटो खोजिनुपर्छ । तर, सहमतिका नाममा नेपाली जनताको महान् बलिदानीबाट भएको सफल जनआन्दोलन ०६२/६३ ले प्राप्त गरेका उपलब्धिका विरुद्ध जान भने सकिँदैन । तसर्थ परिवर्तनका पक्षधर शक्तिहरू (दलहरू) कम्तीमा पनि अग्रगामी संविधान निर्माणमा एउटै थलोमा उभिनुपर्नेछ । जनआन्दोलन ०६२/६३ का सहयात्री दलहरू एक–आपसमा आरोप–प्रत्यारोप गर्न तल्लीन भएका अवस्थामा तेस्रो शक्ति अर्थात् जसलाई पुनरुत्थान एवम् पश्चगामी भनिएकाहरूले बाजी मार्नेछन् । अप्रत्यासित रूपमा नसोचेको सफलता प्राप्तिबाट उत्साहित भएकाहरू निकै हौसिएका छन् । परिवर्तनका पक्षधरलाई उचाल्ने र पछार्ने काममा खप्पीसहरूले त्यस्ता खेलहरू नखेल्लान् भन्न सकिँदैन । त्यसैले पनि संविधानसभाको निर्वाचन ०७० ले लिएको म्याण्डेट अवसर हो भने सँगसँगै चुनौतीका चाङलाई त्यत्तिकै ध्यान दिनुपरेको छ । अवसरको सदुपयोग गर्दै चुनौतीका पहाड वा चाङलाई पन्छाउँदै हिँड्न सके पुनप्र्राप्ति गरेको काङ्गे्रसी साख जोगाउन सकिनेछ । अन्यथा फेरि पनि अस्तित्व रक्षाका लगि रक्षात्मक पङ्क्तिमा नपुगिएला भन्न सकिँदैन । अतः अहिले जुन अवसर र चुनौतीका सामु काङ्गे्रस उभिएको छ, यो एउटा परीक्षाको घडी पनि हो र नेपाली जनतामाझ कसीमा राख्दा खरो उत्रन आफ्ना मतदाता र शुभेच्छुकहरूको भावनालाई आत्मसात् एवम् समीक्षा गर्दै अवसर र चुनौतीको कसीमा सक्कली (जेनुइन) प्रामाणित गरिनुपर्दछ । जातिवाद र क्षेत्रयतावाद एवम् धर्मका आडमा गरिने राजनीतिलाई भने निरुत्साहित गर्दै अगाडि बढ्नुपर्छ । अनि मात्र मुलुकको राजनीतिले सही दिशाबोध गर्दछ र नेपाली काङ्गे्रस पार्टी पनि इतिहासमा सुवर्ण अक्षरले टल्कनेछ । अन्तमा चन्द्रसँग चाँदनी र मानिससँग छाया भनेजस्तै अवसरसँगै चुनौती रहेका हुन्छन् । त्यसका बाबजुद पनि अवसरको सदुपयोग गर्दै चुनौतीको सफलतापूर्वक सामना गर्नु नेतृत्व वर्गको कार्यक्षमताको परीक्षण पनि हुनेछ ।