कोइरालालाई सर्वसम्मत नेता बनाउन कसरत

कोइरालालाई सर्वसम्मत नेता बनाउन कसरत


bpकाङ्गे्रसमा भित्रभित्रै भिड्ने तयारी
संसदीय दलको नेता भएपछि प्रधानमन्त्री बन्न सजिलो हुने भएपछि ‘नेता बन्ने जोड–घटाउका कारण’ काङ्गे्रस र एमालेभित्र समानुपातिकतर्फको सभासद्बारे अन्तिम निर्णय लिन ‘रस्साकस्सी’ चलिरहेको छ । आफ्नो दलभित्र उत्पन्न तनावले सभासद् चयन गर्न नसकेपछि ‘एमाओवादीलाई भित्याउनुपर्ने’ कारण दर्शाउँदै निर्वाचन आयोगसँग नामावली बुझाउने म्याद थपको माग गर्न काङ्गे्रस–एमाले सहमत भएका हुन् । आयोगबाट समानुपातिकतर्फ ‘विजयी’ सभासद्हरूको नाम पठाउन दलहरूलाई मङ्सिर २५ गतेसम्मको समयसीमा दिइएकोमा कम्तीमा पाँच दिन थप गर्न माग भए पनि आयोगले दलहरूलाई पुस ३ गतेसम्मको समय दिने निर्णय गरेको छ । थपिएको समयभित्र काङ्गे्रस–एमालेले समानुपातिकतर्फका सभासद्हरूको टुङ्गो लगाउने विश्वास गरिएको छ ।
नेपाली काङ्गे्रस संसदीय दलको नेतामा सभापति सुशीलको चयन हुनसक्ने आशा र अनुमान गरिएको छ । तर, प्रत्यक्षतर्फ विजयी एक सय पाँच सभासद्मध्ये कम्तीमा ५५ जना कोइरालाको प्रतिकूल हुनसक्ने ठानिन्छ । त्यस्तै नेकपा एमालेमा अध्यक्ष झलनाथ खनाल र माधव नेपाल दुवै नेता संसदीय दलको नेता बन्न आतुर छन्, तर प्रत्यक्षतर्फ विजयी एकान्नब्बे (९१) मध्ये बाउन्न (५२) सभासद्हरू लोकप्रिय नेता केपी शर्मा ओलीको समर्थनमा छन् । त्यसैले काङ्गे्रस र एमालेको संस्थापन पक्षले समानुपातिकतर्फबाट आफ्नो कमी पूर्ति गर्ने योजना बनाएको बुझिन्छ । संसदीय दलको नेताबारे निर्णायक मत आफ्ना पक्षमा पार्न काङ्गे्रस र एमालेभित्र रमाइलो स्पर्धा सुरु भएको छ । एमाले अध्यक्ष झलनाथ खनाल माधव नेपाल र केपी ओलीबीच तनाव पैदा गराएर आफैँ दलको नेता बन्ने कसरत गर्दै हुनुहुन्छ भने माधव नेपाल पनि झलनाथ र केपीबीच द्वन्द्व बढाएर नेता बन्ने दाउमा देखिनुहुन्छ । तर, ओलीले संसदीय दलको नेता बन्न खासै रुचि लिनु नभएको बताइन्छ । पार्टीको महाधिवेशन ओलीको प्राथमिकतामा परेको छ र अबको पार्टी अध्यक्ष बन्ने कसरतमा उहाँ जुट्नुभएको छ । यसरी ओलीले दलको नेता बन्न ‘मरिहत्ते’ नगर्ने भएपछि नेता नेपाल र अध्यक्ष खनाल दुवैले चाहेजस्तो स्थिति बन्न सकिरहेको छैन । तथापि संसदीय दलमा आफू सुरक्षित रहने गरी सभासद् चयन गर्ने चिसो प्रतिस्पर्धा एमालेभित्र चलिरहेको छ । समानुपातिकतर्फ एमालेलाई प्राप्त चौरासी (८४) स्थानमा ओली समर्थकको सङ्ख्या कम गराउन झलनाथ र माधवबीच मतैक्य भए पनि आफ्नो मान्छे बढी राख्ने प्रतिस्पर्धा भने खनाल र नेपालबीच तीव्र भएको देखिँदै छ । एमालेका तीन नेताबीच अठ्ठाइस–अठ्ठाइसजना सभासद् भाग लाग्नु उपयुक्त हुने सुझाव कतिपयले दिइरहेका भए पनि अध्यक्ष खनाल आफूले बढी सदस्य पाउनुपर्ने सोच राख्नुहुन्छ । माधव र झलनाथ मिलेर केपी ओलीलाई दलको नेता बन्न रोक लगाए भने पनि ओलीको सहयोगबिना माधव र झलनाथ दुवैको इच्छा पूरा हुन असम्भव मानिन्छ । त्यसैले अन्तत: ओलीसँगकै सहमतिका आधारमा एमालेभित्रको राजनीति अघि बढ्ने सम्भावना बढेको छ ।
सरकारको नेतृत्व गर्ने करिब निश्चित भइसकेको हुनाले काङ्गे्रसमा संसदीय दलको नेता झनै आकर्षणको केन्द्र बन्न पुगेको छ । संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने अभ्यास गर्दै आएको काङ्गे्रसमा सभापति सुशील कोइरालालाई दलको सर्वसम्मत नेता बनाइनुपर्छ भन्ने आवाज जोडका साथ उठेको छ र कोइरालालाई सर्वसम्मत नेता बनाउन महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला तथा नेता डा. रामशरण महत विशेष रूपले क्रियाशील हुनुभएको छ । काङ्गे्रसले सर्वसम्मत ढङ्गले दलको नेता चयन गर्दा त्यसको राम्रो सन्देश जाने र सर्वदलीय सरकारको नेतृत्व गर्ने नैतिक बलसमेत कोइरालालाई प्राप्त हुने डा. महतको भनाइ छ । महामन्त्रीद्वय सिंह र सिटौला तथा नेता डा. महतले विशेष पहलकदमी लिनुभएको भए पनि काङ्गे्रस संसदीय दलको नेतामा सर्वसम्मति बन्ने सम्भावना अहिलेसम्म देखिएको छैन । दलको नेता प्रजातान्त्रिक र विधिसम्मत ढङ्गले चयन हुनुपर्ने नेता शेरबहादुर देउवाको भनाइ रहेको छ । देउवाले दलको नेतामा उम्मेदवारी दिन आन्तरिक गृहकार्यसमेत सुरु गरिसक्नुभएको छ । समानुपातिकतर्फको पैंतालीस (४५) सभासद्मा आफ्ना समर्थकलाई चयन गर्न सकेमा सजिलै दलको नेता बन्ने विश्वास देउवा पक्षमा देखिन्छ । तर, देउवालाई बढीमा सैंतीस (३७) सभासद् दिने सोच काङ्गे्रसको संस्थापन पक्षले बनाएको छ । काङ्गे्रसको आन्तरिक शक्ति सन्तुलनको स्थिति हेर्दा समानुपातिकतर्फको सबै सिट (९१) कोइराला र देउवाले मात्र बाँडचुँड गरी लिनसक्ने स्थिति छैन । दुवै पक्षले उपसभापति रामचन्द्र पौडेल र नेता खुमबहादुर खड्कासँगसमेत सम्झौता गर्नुपर्ने अवस्था छ । उपसभापति पौडेल आफैँ संसदीय दलको नेता बन्न इच्छुक हुनुहुन्छ र यसअघि पार्टी र प्रजातन्त्रको निम्ति प्रधानमन्त्रीको उम्मेदवार बनेर सत्रपटकसम्म पराजित भइदिन तयार भएकोले पौडेलप्रति सहानुभूति राख्ने सभासद् तथा अन्य नेताहरू पनि देखिएका छन् । कोइराला नै दलको नेता र प्रधानमन्त्री बन्नुभएको अवस्थामा पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुपर्छ भन्ने धेरैको भनाइ छ । तर, कोइरालालाई प्रधानमन्त्री बनाउनुपरेमा कार्यवाहक सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने दाबी नेता देउवाको हुनसक्ने प्रबल सम्भावना छ । चुनावअघिसम्म देखिएको काङ्गे्रसका तीन नेताबीचको ‘एकता’ अब सतहमा आउने स्थिति बनेको छ । कार्यवाहक सभापति नपाएसम्म आफूले कोइरालालाई दलको नेतामा समर्थन नगर्ने अडान देउवाले लिनुभयो भने सो जिम्मेवारी देउवालाई दिने या उपसभापति रामचन्द्र पौडेललाई सुम्पने या कसैलाई पनि नदिने तीनमध्ये एउटा विकल्प रोज्न कोइराला बाध्य हुनुहुनेछ । यही विषयलाई लिएर तीन नेताबीच विवाद र तनाव उत्पन्न भएमा नयाँ पुस्ताका कुनै नेतालाई संसदीय दलको नेता बनाएर पार्टीको एकता कायम गर्ने उपयुक्त विकल्प हुनसक्छ । नयाँ पुस्ताका नेताहरू प्रकाशमान सिंह, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायतलाई भावी प्रधानमन्त्रीका रूपमा हेर्न थालिएको छ । लामो समय अर्थ मन्त्रालय चलाएर गहन अनुभव हासिल गर्नुभएको र वैचारिक एवम् राजनीतिक दृष्टिकोण र व्यवहार पनि स्पष्ट भएकोले नयाँ पुस्ताबाट प्रधानमन्त्री चयन गर्नुपरेमा डा. रामशरण महत नै उपयुक्त हुने मत काङ्गे्रसमा बलवान छ । २०५१ सालमा पनि प्रधानमन्त्री अर्थात् संसदीय दलको नेतासम्बन्धी विवाद उत्पन्न हुँदा तात्कालिक तीन शीर्षस्थ नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टाराई र गिरिजाप्रसाद कोइराला त्यसबेलाको नयाँ पुस्ताको नेता शेरबहादुरलाई पहिले दलको नेता र पछि प्रधानमन्त्री बनाउन सहमत भएका थिए । अहिले पनि तीन नेताबीच सहमति बन्न नसकेमा नयाँ पुस्तालाई जिम्मेवारी दिएर पार्टीमा एकता, समझदारी र गतिशीलता पैदा गर्नु उपयुक्त हुने आम काङ्गे्रसजनको ठम्याइ छ । तर, नेता तीनको स्वेच्छाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने विश्वास भने कसैले पनि गरेका छैनन् ।