महिलाले पाएको मत

महिलाले पाएको मत


nisedhहालै सम्पन्न संबिधानसभाको निर्वाचनअघि महिला प्रतिनिधित्वको जुन प्रकारले चर्चा–परिचर्चा भएको थियो, त्यसअनुसारको परिणाम प्राप्त हुन नसकेपछि कतिले अहिले प्रश्न गर्न थालेका छन्, खै त अभियानअनुसारको परिणाम त आएन नि ? प्रत्यक्षतर्फ धेरै कम महिलाहरूले बिजय हाँसिल गरेपछि यस प्रकारको प्रश्नले ठाउँ लिएको हो । पहिलाको संविधानसभामा भन्दा यो पटकको संविधानसभामा महिला जिताउ अभियानका लागि धेरै संघ–संस्था र अधिकारकर्मीहरू सक्रिय भएका थिए । जो जहाँ जस्तो ठाउँमा भएपनि महिलाले जित्नुपर्छ भन्ने मान्यता राख्नेहरूको संख्या विगतमाभन्दा बढि देखिएको थियो । खुल्लामञ्चदेखि मिडियासम्म अभियानहरूले स्थान पाएका थिए । ति अभियानहरूको एक मात्र उद्देश्य महिला उम्मेद्वारहरूलाई नैतिक समर्थन थियो, यहाँहरूका पछि हामी छौ’ है, हाम्रो जमात छ, यहाँहरू एक्लै हुनुहुन्न भन्ने ढाडस थियो । र यसो गर्नुपर्ने अवस्थाका पछाडी धेरै लामो पृष्ठभूमिसहितका कारणहरू थिए । पुरुषलाई किन यस प्रकारका अभियान नचाहिने र महिलालाइ नै किन चाहिने ? के सबै पुरुषहरू सक्षम छन् ? उनीहरूलाई यस प्रकारका समूहहरूको साथको आवश्यक्ता छैन ? यस्ता प्रश्न पनि यदाकदा नसुनिने होइन । कुनै पनि मानिस जन्मेको स्थान, पारिवारिक पृष्ठभूमि लगायतले फरक पारे पनि हाम्रो जस्तो समाजमा पुरुष हुनु आफैमा एउटा योग्यता मानिन्छ । महिलालाई त्यही कुरा गर्न पटक–पटक आफुलाई प्रमाणित गर्नुपर्छ भनें पुरुषलाई त्यति गाह्रो पर्दैन । कुनै पदमा पुगेका महिलाले भनें जस्तो काम गर्न सकेनन भने समग्र रुपमा भन्ने गरिन्छ, महिलाहरू यस्तै हुन्…सोही काम पुरुषले गर्दा पुरुषहरू यस्तै हुन कसैले भन्दैन, यो मान्छे ठिक छैन भनिन्छ । यसको अर्थ हो महिला अझै मान्छेमा गनिन सकेका छैनन्, महिलामा सीमित छन् । जबसम्म महिलालाई मानवका रुपमा हेरि’दैन र त्यसअनुरुपको ब्यवहार गरि’दैन तबसम्म समानताको कुरा टाढाको लक्ष्य मात्र रहनेछ ।
राजनीतिमा महिलाको सहभागिताका लागि वकालत गर्नुका केही कारणहरू छन् । पूर्वसभासद् उषाकला राईको भनाईमा प्राय: राजनीतिमा चारवटा ‘एम’ले भूमिका निर्वाह गरि रहेको हुन्छ– मनी, मसल, माफिया र मापसे । यी चारवटै कुरामा महिलाको पहुँच र प्रयोग कम हुन्छ र भइहाल्यो भने पनि राम्रो मानि’दैन । आर्थिक कुराले मानिसको समग्र जीवनमा प्रभाव पारिरहेको हुन्छ त्यसमा पनि राजनीतिमा यसको बढि नै महत्व देखिन्छ । दुइ–चारजना मानिस अघि–पछि लाउनेदेखि धेरै कुरामा यसले भूमिका खेल्छ । राजनीतिमा गएपछि खै के के गरेर हो प्राय: पुरुषहरूले दुईचार पैसा कमाइहाल्ने, आधारभुत आवश्यक्ताका कुराहरू जोडिहाल्ने, सवारी साधन किनीहाल्ने गरेको देखिन्छ । महिलाहरू बर्षौंदेखि लिफ्ट मागेको माग्यै हुन्छन् । कहिले कोस’ग कहिले कोस’ग लिफ्ट माग्ने गरेका कारण उनीहरूको चरित्र हत्या गर्न पनि आफ्नै सहकर्मीहरूलाई सहज हुने गरेको छ । धेरै कुरा भन्नै पर्दैन, हेर न हिजो एउटास’ग आज अर्कैस’ग…भनिदिए पुग्छ, के कारणले ? किन ? भनी सोधीखोजी गर्नु पर्दैन न त सम्बन्धका बारेमा प्रमाणित नै गर्नुपर्छ । चुनावको बेला त झन् परिस्थिति फरक हुने गर्छ । एक्लै हि’डेर चुनाव लड्न सकि’दैन दलबल बढाउनका लागि त्यही चारवटा ‘एम’ले काम गरिदि’दा धेरैजसो परिस्थितिमा महिलाहरूलाई अफ्ठ्यारो नै पर्ने गरेको छ ।
यस पटकको चुनावमा कोही महिला अत्यन्त थोरै मतले पराजय भोगेर चर्चामा आए भनें कोही चाहि’ सोच्दै नसोचेको थोरै भोट ल्याएर चर्चामा आए । प्रमिला राई (नेका) उदयपुर, लीलादेबी बोखिम (नेका) ताप्लेजुङ्ग, भगवती चौधरी (एमाले) सुनसरी, सुरिता कुमारी साह (सद्भावना), सरला कुमारी यादव (एमाले) रौतहट, मैना कुमारी भण्डारी (एमाले) गुल्मीलगायतका अन्य केही यस्ता महिलाहरू चर्चामा आए जो अत्यन्त झिनो मतले पराजित भएर चर्चामा आए । यता सुप्रभा घिमिरे लगायतका केही महिलाहरू सय भोट पनि नल्याएर चर्चामा रहे । यी माथि उल्लिखत नामहरू र सुप्रभा घिमिरेबीचको बौद्धिक दुरी ठुलै थियो होला, कहाँ प्राध्यापक संघको अध्यक्ष भइसकेकी सुप्रभा कहाँ आफ्नै संघर्षले राजनीतिमा टिकेका यी महिलाहरू…तर भोट सुप्रभाले होइन, उनीहरूले नै पाए । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले निर्वाचनका दिन मतदाताहरूबीच गरेको सर्बेक्षणका क्रममा ‘तपाई भोट महिलालाई दिनु हुन्छ कि पुरुषलाई ?’ भनेर सोधिएको प्रश्नमा अधिकांशले ‘यसमा महिला वा पुरुषको कुरै छैन, पार्टीले जसलाई उठाउ’छ÷उठाएको छ त्यसैलाई दिन्छौं’ भनेका थिए । यसको अर्थ भोट ब्यक्तिले भन्दा पनि पार्टीले नै पाउने रहेछन् । सुप्रभा घिमिरेको सवालमा पनि त्यही भयो, उहाँले पहिला राम्रो मतले जित्नु भएका कारण आफैले उक्त मत पाएको भ्रम भयो उहाँलाई र परिस्थितिको आंकलन नगरी स्वतन्त्र उम्मेद्वारी दिनु भो । फलत: परिणाम लज्जास्पद हुन पुग्यो । यस प्रकारको परिणाम उहाँले महिला भएर पाउनु भएको होइन दल छोडेर स्वतन्त्र भएका कारणले पाउनु भएको हो । भरत बहादुर बिसुराल र सुप्रभा घिमिरेकाबीच फरक नदेख्ने जनताको यो निर्णयबाट मतदाता ब्यक्ति भन्दा दलप्रति नै आकर्षित छन् भन्ने बुझ्नुपर्ने हुन्छ । जियोकको उक्त सर्वेक्षण र यो परिणामले ठ्याक्कै मेल खाएको छ । यसको अर्थ के हो भने अब महिलालाई माथि उठाउनका लागि दलहरूले नै बिशेष नीति बनाएर अघि बढ्नु पर्छ । जबसम्म राजनीतिक दलहरू यो बिषयमा संबेदनशील हु’दैनन् तबसम्म महिलाको सहभागिता न्युन नै रहन्छ । अभियानहरूले फरक नपार्ने होइन पार्छन्, यसपटकको निर्वाचनमा महिलालाई भोट दिनुपर्छ भन्ने एक प्रकारको माहौलनै बनेको थियो नबनेको होइन, झिनो मतको अन्तर त्यसैको परिणाम हो । प्रतिस्पर्धामा उत्रिएपछि हारजित स्वभाविक हो, धेरै महिलाहरूले पराजित भएपनि सम्मानित भोट ल्याए त्यो नै ठुलो कुरा हो । कतिपय चुनाव लड्न चाहेका महिलाहरूलाई लड्न दिइएन, पार्टीभित्रकै ब्यापक प्रतिस्पर्धाले महिलालाई ठुलो असर ग-यो, यदि दलहरूले समानताका आधारमा टिकट वितरण गरेका भए अहिले जितेर संविधानसभामा आउने महिलाहरूको संख्या ठुलो हुने थियो । त्यसैले राजनीतिमा महिलालाई अघि बढाउनका लागि राजनीतिक दलहरूमै उनीहरूको भूमिकालाई सक्रिय बनाउनु आवश्यक देखिएको छ न कि बाहिर बसेर । प्रजातान्त्रिक राजनीतिक अभ्यासमा महिला या पुरुषभन्दा पनि दलहरू महत्वपूर्ण हुने भएकाले दलहरूलेनै राजनीतिमा महिलालाई अगाडी बढाउनका लागि बिशेष पहल गर्नु आवश्यक छ ।