तपाईं कस्ती आमा ?

तपाईं कस्ती आमा ?


– बबिता बस्नेत

नेपाली समाजले परापूर्वकालदेखि नै महिलालाई दुई भागमा विभाजित गरिदिएको छ, असल स्वास्नीमान्छे र खराब स्वास्नीमान्छे । समाजले परिभाषित गरेका असल स्वास्नीमान्छे ती हुन् जो सुन्दर, सुशील र सहनशील हुन्छन् । खराब महिला ती हुन् जो कुनै विषयमा फ्याट्टै बोलिहाल्छन्, श्रीमान् या घरका सदस्यहरूले भनेको मान्दैनन्, आफैँ निर्णय गर्छन्, घरबाहिर बढी समय बिताउँछन् या यस्तै केही…लेख्दै गयो भने सूची लामो हुन सक्छ । यसलाई यसरी पनि भन्न सकिन्छ, विगतमा पुरुषले जुन काम गर्दा सामान्य मानिन्थ्यो ती काम महिलाले गरे भने खराब महिलामा गणना हुन्थ्यो । पुरुषलाई हाम्रो समाजले असल र खराब भनी दुई भागमा विभाजित गरेन । कुनै पुरुषलाई खराब भन्न मादक या लागूपदार्थ खाएर पुग्दैन, नालीमै ढल्नुपर्छ । असल महिला जे–जे गुणले भरिपूर्ण हुन्छन् भनी व्याख्या गरियो, त्यही आकारमा महिलाहरूलाई राख्नका लागि अनेक अलिखित नीति–नियमहरू बने । पुरुष र महिलालाई हेर्ने मापदण्ड फरक बन्यो । अहिलेसम्म यसप्रकारका मापदण्ड र दृष्टिकोणहरू जारी छन् । उदाहरणका लागि धुम्रपान, मद्यपान जसले गरे पनि राम्रो होइन, तर महिलाले गर्दा खराब महिलामा गनिन्छ, पुरुषले गर्दा सामान्य कुरा मानियो, मानिन्छ ।

एकपटक विराटनगरमा हिँडिरहेका बेला केही युवाहरूले यस्ती केटी गतिली होला र ? को शैलीमा कुरा गर्दै चिहाइचिहाई हेरेको देखेँ । एउटी युवती घरको भित्तामा छलिएर चुरोट खाँदै रहिछन् । त्यही ठाउँमा सोही उमेरको युवाले त्यस्तै काम गरेको भए कसैले मतलब पनि गर्ने थिएन । तर, ती युवाहरूले त गतिली होला र ? को शैलीमा कुरा मात्र गरेनन्, ऊ त्यहाँबाट निस्किएर कता जान्छे भनेर कुरेरै बसे । यो धेरै वर्षअघिको कुरा पनि होइन । पहिलेका मानिसको त महिलालाई हेर्ने दृष्टिकोण फरक थियो नै, अहिलेका युवाहरूले समेत त्यसप्रकारको व्यवहार देखाउँदा दुःख लाग्यो । चुरोट, रक्सीको सम्बन्ध मानिसको स्वास्थ्यसँग छ, चरित्रसँग होइन । महिला या पुरुष जसले खाए पनि यसले उत्तिकै असर गर्छ ।

अहिलेका युवाहरूले समेत त्यसप्रकारको व्यवहार देखाउँदा दुःख लाग्यो । चुरोट, रक्सीको सम्बन्ध मानिसको स्वास्थ्यसँग छ, चरित्रसँग होइन । महिला या पुरुष जसले खाए पनि यसले उत्तिकै असर गर्छ ।

महिला–पुरुष बहसमा सबै महिला राम्रा र पुरुष नराम्रा भन्ने मान्यता म राख्दिनँ । व्यक्तिपिच्छे मानिसका स्वभाव र प्रवृत्ति फरक हुन्छन् । एउटै परिभाषामा समेट्न नसकिने यो दुनियाँमा केही छ भने त्यो मानिस नै हो । विगतमा जे भयो भयो, तर अहिले पनि मानव सभ्यताभन्दा तल झरेर महिला–पुरुष भन्दै समानताको बहस गर्नुपर्दा कहिलेकाहीँ आत्मग्लानि पनि हुन्छ । ‘पुरुष’ भनेर पनि कसलाई भन्नु ? आफ्नै बुबा, पति, मामा, काका, प्रेमी, साथीहरू, दाजुभाइ, छोरा, भतिजा, भान्जा आफू वरिपरिकै निकटवर्ती त हुन् । ‘महिला’ भन्नु पनि आफ्नै आमा, सानिमा, दिदी, बहिनी, पत्नी, प्रेमिका, साथीहरू, छोरी कसलाई, कहाँ, किन विभेद गर्नु ? या कसैले किन विभेद भोग्नु ? कुनै कारण देखिँदैन । तर, यही कारण बिनाको विभेदले मानव सभ्यताभन्दा निकै पर अनेक प्रकारका असमानताहरू हाम्रा परिवार, समाज र देशमा विद्यमान छन् । मानिसका दृष्टिकोण र व्यवहार मात्र होइन राज्यका नीति र कानुनहरूसमेत असमान भएपछि अहिले पनि हामी महिला–पुरुषबीचको समानताका लागि समय खर्च गर्नुपर्ने परिस्थितिमा छौँ ।

आमाको नाममा नागरिकता अहिले बहसमा छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक छलफलका लागि संसद्मा दर्ता भएपछि बहस चुलिएको हो । नागरिकता राज्यले आफ्ना नागरिकलाई ‘तिमी यो राज्यको नागरिक हौ’ भनेर दिने दस्ताबेज हो । विगतलाई हेर्दा हाम्रा धेरै हजुरआमाहरू यो दस्तावेज हात नपारी बितेर गए । खै कसरी हो, सुरुदेखि नै नागरिकतामा पुरुषहरूलाई विशेष हकदार मानिएको छ । हजुरबुबा, बुबाहरूले विवाह गरेर ल्याएपछि तिनका श्रीमती (जति जना विवाह गरे पनि) छोराछोरीले सजिलै नागरिकता पाए । समय नै यस्तो थियो कि हजुरआमाहरूलाई नागरिकताको आवश्यकता नै परेन । उहाँहरूको नाममा जग्गाजमिन थिएन । पाले पुन्य मारे पाप भन्दै जिम्मा लगाइदिएका उहाँहरूको सम्पत्तिको नाममा आफूसँग खासै केही थियो भन्न सक्ने आधारहरू छैनन् । सार्वजनिक रूपमा दर्ता गर्नुपर्ने केही पनि हुँदैनथ्यो ।

समयक्रममा महिलाहरू आफ्नै खुट्टमा उभिन थाले, आफ्नै संसारको परिकल्पना गर्न थाले, महिलाको सार्वजनिक जीवन हुन थाल्यो । जग्गाजमिन, घर मात्र होइन, सवारीसाधनदेखि बैंक ब्यालेन्स हुँदै जीवन बिमासम्म आफ्नै हुन थाल्यो । अनि कसैले चाहेर कसैले नचाहेर पारिवारिक जीवन पनि आफ्नै प्रकारको हुन थाल्यो । अहिलेका पुस्ता हजुरआमाहरूले झैँ ‘भइहाल्यो नि, तिमीहरूका हजुरबुबा बाँचिरहेका छन् र पो मलाई कुटिरहेका छन्’ भनेर शारीरिक हिंसा सहेर बस्न छाडे । आमाहरूले झैँ ‘आरोप त सीतालाई पनि लागेको थियो, भइहाल्यो सहेर बसौँ’ भनेर चारीत्रिक लाञ्छना सहन छोडे । आफूले जन्माएको सन्तानलाई आफँैले हुर्काउन, बढाउन र शिक्षा दिन सक्छु भन्ने हिम्मत गर्न थाले । जसका कारण राज्यले अपनाउँदै आएका नीतिनियमहरू फरक गर्नुपर्ने अवस्थाको सिर्जना भयो । त्यसैले हिजो हजुरआमा, आमा पुस्तालाई खासै चासो नभएको नागरिकता नेपाली महिलाका लागि अहिले नभइनहुने दस्तावेज बन्न पुग्यो ।

टेष्टट्युब बेबीलाई वैद्यता दिने राज्यले बाबुको पुष्ट्याइँ नपुगेर नागरिकता नदिने कानुन ल्याउनु आफैँमा अनौठो हो । संविधानमै आमाका प्रकार उल्लेख भएकाले कानुनमा त्यो सम्भव छैन भन्न सकिएला । तर, अहिले पनि विभेदकारी कानुन बनाइयो भने समयक्रममा संयोगले कानुन पास गर्ने ठाउँमा पुगेकाहरूलाई इतिहासले माफ गर्ला जस्तो लाग्दैन ।

आमाको नाममा सहज रूपमा नागरिकता पहिलो र दोस्रो संविधान सभामा निकै छलफल भएको विषय हो । अचम्म त के छ भने महिलाका सवालमा प्रगतिशील मानिएको संविधान २०७२ ले नागरिकताका सवालमा आमालाई तीन भागमा विभाजित गरिदिएको छ । परापूर्वकालदेखि समाजले दुई भागमा विभाजित गरेका नेपाली महिलालाई आमाको रूपमा अहिलेको संबिधानले तीन भागमा विभाजित गरिदियो— बाबु पहिचान नभएकी नेपाली आमा, विदेशी बाबु भएकी नेपाली आमा, नेपाली बाबु भएकी नेपाली आमा । बाबुको रूपमा पुरुषको कुनै प्रकार छैन । जसलाई विवाह गरेर सन्तान जन्माए पनि ऊ बाबु मात्रै हो । जुन राम्रो कुरा हो, यसमा हुनुपर्नेचाहिँ आमा पनि यस्तै नै थियो । जोसँग विवाह गरेर सन्तान जन्मिए पनि आमा मात्रै हुनुपर्ने थियो । अहिले संसद्मा छलफल भइरहेको कानुन जस्ताको तस्तै पास हुने हो भने यी अलगअलग परिभाषामा बाँधिएका नेपाली आमाले आफ्नो सन्तानलाई नागरिकता दिन निकै ठूलो हीनताबोधबाट गुज्रिनुपर्नेछ । यदि बाबु पहिचान भएको छैन भने त्यस्ता सन्तानलाई नागरिकता दिन नेपाली आमाले पहिचान नभएको बाबुको पुष्ट्याइँसहितको पहिचान खोज्नुपर्नेछ । प्रेमिका गर्भवती भएपछि छोडेर हिँड्ने पुरुषले पाउनुपर्ने सजाय महिलाले भोग्दै आएका छन् नै, त्यसैले निरन्तरता पाउनेछ ।

यसप्रकारका विभेदको कुरा गर्दा महिलाले अब जे पनि गर्न पाउनुपर्छ भन्न थाले भन्ने अर्थ लाग्छ, लगाउँदै आइएको छ । जे पनि गर्न त कसैले पनि पाउनुहुँदैन । आफ्नो सीमामा बसेर उत्तरदायित्व बहन गर्ने हो भने यतिका युवाहरू अनागरिक बन्नुपर्ने अवस्था नै आउने थिएन । आमाका कारणले होइन, बाबुले धोखा दिएका कारण धेरै नेपाली सन्तान नागरिकताबाट वञ्चित छन् । कतिले आमाको नामबाट नागरिकता दिने कुरालाई राष्ट्रियतासँग जोडेर पनि हेर्ने गरेका छन् । यो देश आमाहरूको पनि त्यत्तिकै हो जति बाबुहरूको हो । भूगोल, जनता, संविधान मिलेर देश बन्छ । प्रकृतिले बिनाभेदभाव देश बनाउन र जोगाउनका लागि बराबरीको सङ्ख्यामा महिला र पुरुषलाई जन्म दिने गरेकी छिन् ।

देशको सीमाना जोगाउने, संविधान बनाउने र पालना गर्ने मानिसहरूको जन्म आमाबाटै हुन्छ । देश जोगाउने जिम्मा मेरो हो भन्ने भावना भएका सन्तान जन्माउने आमाहरूबाट राष्ट्रियताको खतरा के होला र ? अबको कानुनमा आफ्ना सन्तानलाई नागरिकता दिन जाँदा तपाईं कस्ती आमा ? भनेर प्रशासनले सोध्ने अवस्था नआउने व्यवस्था हुनुपर्छ । टेष्टट्युब बेबीलाई वैद्यता दिने राज्यले बाबुको पुष्ट्याइँ नपुगेर नागरिकता नदिने कानुन ल्याउनु आफैँमा अनौठो हो । संविधानमै आमाका प्रकार उल्लेख भएकाले कानुनमा त्यो सम्भव छैन भन्न सकिएला । तर, अहिले पनि विभेदकारी कानुन बनाइयो भने समयक्रममा संयोगले कानुन पास गर्ने ठाउँमा पुगेकाहरूलाई इतिहासले माफ गर्ला जस्तो लाग्दैन ।