मान्छे किन खुसी भए ?

मान्छे किन खुसी भए ?


nisedhमुलुकमा बेरोजगार, महँगी, घट्दो व्यापार–व्यवसाय, लोडसेडिङलगायतका अनेकौँ कारणले मान्छेको जिन्दगीमा खुसीको अभाव छाइरहेको बेला संविधानसभाको निर्वाचन परिणाम आउँदै गर्दा भने धेरैमा अकस्मात् खुसी छाएको देखियो । नेकपा माओवादीले नसोचेको परिणाम पाउँदै गर्दा धेरैले एक–अर्कालाई बधाई दिँदै बिहानको तातो चिया वा साँझको चिसो चियाका लागि आग्रह गरेको सुनियो, देखियो । कसैले भनको सुनिन्थ्यो, यस्तो हुँदा त यसो जमघट गर्नैपर्ने हो, कतिको भनाइ हुन्थ्यो, अरू केही नभए पनि यसो एक कप कफी त यही अवसरमा सँगै बसेर खाउँ न यार । गाउँ, सहर जो जहाँ छन् त्यहीँ आफ्नै प्रकारले मानिसहरूले ‘सेलिब्रेसन’ गर्दा लाग्यो कतै हाम्रा सोचहरू परपीडक बन्दै गइरहेका त छैनन् ? नत्र किन अर्काको दु:खमा मानिसहरू यसरी खुसी भइरहेका छन् ? गल्ली, चोक, बाटा, सामाजिक सञ्जाल जताततै खुचिङको भाषामा मानिसहरू रमाएको देखियो । यसअघिको संविधानसभामा माओवादीलाई भोट दिनेहरू पनि यसपटक भनिरहेका थिए, के–के नै गर्लान् भनेर दिएको भोट त्यसै नास भयो, यसपटक त दिइएन । हामीले हेलिकोप्टर चढ्नका लागि भोट दिएका थिएनौँ भन्नेहरू पनि प्रसस्तै भेटिए । आफूले भोट नदिएर हराएको ठान्नेहरूदेखि लिएर राजनीतिमा खासै चासो नदिने तर मुलुकमा अब के होला भनेरचाहिँ ख्याल गर्नेहरूसम्मले आ–आफ्नै स्तर र स्थानबाट यसपटकको चुनावी परिणामलाई फरक–फरक तवरले व्याख्या गरे, गरिरहेका छन् । एमाओवादी आफूले मात्र नभएर प्रतिस्पर्धीहरूले समेत कहीँ कतै नसोचेको परिणामले स्वाभाविक रूपमा एमाओवादी नेता वा कार्यकर्तालाई दु:खी बनाए पनि सर्वसाधारणमा भने एकप्रकारको खुसी नै छाएको देखियो । ता कि गत निर्वाचनमा माधव नेपाल, केपी ओली, वामदेव गौतमलगायतका नेताहरू हार्दा पार्टीपङ्क्तिले मात्र नभएर फरक राजनीतिक आस्था राख्नेहरूले पनि दु:ख मानेका थिए । जे भए पनि यस्ता नेताहरू त संविधानसभामा जानैपर्ने… भन्ने मानिस धेरै थिए । तर, यसपटक एनेकपा माओवादीका नेताहरू प्रचण्ड र बाबुरामले आफूहरूले उम्मेदवारी दिएका दुई स्थानमध्ये एकबाट ठूलो मतको अन्तरले हार्दा सर्वसाधारणले यी नेताहरू त संविधानसभामा जानैपर्ने थियो भनेर कसैले सहानुभूति राखेको पाइएन ।
जनताका लागि राजनीति गरिरहेको भन्ने र पटक–पटक जनताको नाम लिने एवम् जनताकै नाममा ‘जनयुद्ध’ गरेर आएका यी नेताहरूप्रति यति छोटै समयमा मानिसको मोहभङ्ग किन भयो त ? शायद अहिलेका लागि यो एक आमप्रश्न हो । जसको जवाफमा बुँदाहरू निकै हुन सक्छन्, तीमध्ये सबैभन्दा अग्रपङ्क्तिमा चाहिँ उनीहरूको भनाइ र गराइबीचको दूरीलाई नै लिन सकिन्छ । एउटा कुरा भन्ने अर्को गर्ने, बोलेको कुरा पूरा नगर्ने, आज एउटा कुरा बोल्ने भोलि आफैँले खण्डन गर्ने, जनताको नाम लिने तर कामचाहिँ आफ्नो लागि मात्र गर्ने यस्तो प्रवृत्तिले एनेकपा माओवादीका नेताहरूप्रति मानिसको विश्वास टुट्दै गयो र यी पनि कुनै गतिला रहेनछन् भनेर निष्कर्ष निकाल्ने अवस्थामा पु¥यायो । कुनै बेला थियो– बाबुराम र प्रचण्डलाई एक झल्को हेर्न पाउनुलाई मात्र पनि कतिपय मानिस आफ्नो जिन्दगीको निकै ठूलो उपलब्धि ठान्थे । शान्तिप्रक्रियापछि खुला राजनीतिमा आउँदा, यो मुलुकका नायकझैँ मानेका थिए सर्वसाधारणले । तर, त्यो नायकीपनलाई उहाँहरूले जोगाएर राख्न सक्नुभएन । यद्यपी त्यो आगमनको विगत हिंसापूर्ण थियो । हजारौँको जिन्दगी उजाडिएर त्यहाँसम्म पुगेको यात्रालाई जे भयो भयो अब राम्रो होस् भनेर नेपालीले सहर्ष स्वीकार गरेका थिए । तर, त्यसपछिका क्रियाकलापबाट नेताहरूको भनाइ र गराइबीच फरक पर्दै गयो । फरक मात्र होइन धरातल नै बिर्सिएर अगाडि बढेका घटना पनि बढ्दै गए । संविधान निर्माणका लागि बनेको संविधानसभालाई सत्ता अभ्यासको थलो बनाइयो । विगतमा गरेका वाचाहरू बिर्सिएर कतिपय अवस्थामा आफ्नै कार्यकर्ताहरूलाई पराइको व्यवहार गरियो । राजालाई फालेपछि आफू नै राजाझैँ गरी बदलिएको जीवनपद्धतिले पनि सर्वसाधारणमा घृणा फैलाउन मद्धत ग¥यो । युद्धका बेला शोकमा डुब्नेहरू डुबि नै रहे, अरू त अरू बेपत्ताको छानबिनका लागि समेत कुनै प्रयास गरिएन । सत्य निरूपण आयोगको नाम मात्रै जपियो तर बनाउनका लागि कुनै पहल गरिएन । आयोग बन्यो भने कतै आफँै परिने हो कि भनेर नबनाइएको यो आयोगको नाम आगामी दिनमा पनि पटकपटक सुन्न पाउने सम्भावना देखिन्छ ।
पछिल्लो चरणमा नेता प्रचण्डको हेलिकोप्टर यात्रा र विभिन्न स्थानमा कार्यकर्ता प्रशिक्षणका नाममा उहाँले दिनुभएका ‘चुनाव जित्न जे पनि गर्ने’ निर्देशन पनि यो पराजयको कारकतŒव बन्न पुग्यो । त्यसो त उहाँले ‘जनता’सँग साक्षात्कार गर्नकै लागि हेलिकोप्टर यात्रा गर्नुभएको थियो तर जिन्दगी बाँच्ने आधारभूत कुराहरूमै कठिन परिस्थितिको सामना गरिरहेका सर्वसाधारणलाई चुनावका नाममा हेलिकोप्टरसँगै उडेको पैसा कहाँबाट आयो होला ? भन्ने प्रश्नले घेरा हाल्यो । उहाँको वैभवशाली लाइफ स्टाइलको चर्चा त छँदै थियो त्यसमा परिवारवाद पनि त्यत्तिकै हावी भएर आएको जनतालाई मन परेको देखिएन । उहाँले ठाउँठाउँमा व्यक्त गर्नुभएका अभिव्यक्ति प्रत्युत्पादक बन्न पुगे । रक्सी, राँगा बाँडिँदै छ रे तपाईंहरू तिनलाई लुट्नुस् र आफूले बाँडेजस्तो गरेर बाँडिदिनुस् भन्नेसम्मका कुरा उहाँको स्वरमा जस्ताको तस्तै सार्वजनिक भए । नेता प्रचण्डको यो अभिव्यक्तिलाई लिएर ‘हामीलाई रक्सी र राँगामा बिक्ने देख्यौ ?’ भनी काठमाडौंको नेवार समुदाय निकै आक्रोशित बन्न पुग्यो । साम, दाम, दण्ड, भेद जे गर्नुपर्छ गर्नुस् तर हामीले हार्न मिल्दैन भन्ने भनाइले लौ त भोट हाल्ने हामी हौँ कसरी हार्न नमिल्ने रहेछ भन्ने भावना सर्वसाधारणमा जागृत गराइदियो । विगतमा सयौँपटक संविधानसभाको बैठक बस्दा जनताका एजेण्डा प्राथमिकतामा नपारेर आफूहरूकेन्द्रित राजनीति गरेको कुरा त जनमानसले बिर्सन सकेको थिएन नै त्यसमा पनि यसप्रकारका अभिव्यक्ति थपिएपछि तिनले झनै इरिटेट बनायो । यता बाबुराम भट्टराई प्रधानमन्त्री बने त यो मुलुकमा के–के नै हुन्छ होला भन्ने भ्रम पनि यसबीचमै टुटिसकेको थियो । त्यसमा पार्टी फुटको कुरा त छँदै थियो । यी विविध कारणले जनताले एमाओवादीलाई काङ्ग्रेस–एमालेभन्दा राम्रो मान्न नसकेको देखिन्छ । पराजयमा मान्छेहरू खुसी हुनुको कारण पनि नेताहरूका क्रियाकलापहरू नै हुन् । एमाओवादीका ठूला नेता मात्र नभएर मधेसवादी भनिएका विजय गच्छदार र उपेन्द्र यादवले पनि अर्को स्थानबाट नजितिदिएका भए खुसी मान्नेहरू धेरै हुने थिए । एमाओवादीले मात्र होइन, मधेसवादी दलहरूको पराजयमा पनि मान्छेहरू त्यत्तिकै खुसी भएका छन् । जनताको यो खुसीलाई टिकाएर राख्नका लागि विजय हासिल गरेकाहरूले मुलुक र जनताको हितमा काम गर्नुपर्नेछ नत्र अर्कोपल्ट यसैप्रकारको खुसी आफूले लिँदै जनताले फेरि अहिले जितेकाहरूलाई दु:खी बनाउन सक्छन् । त्यसैले यसपटकको चुनावको परिणामलाई जित्ने–हार्ने दुवैले ‘लेसन लर्न’ का रूपमा लिनु आवश्यक छ ।