अन्तरविचार

अन्तरविचार


antarbicharचुनाव हार्दैमा प्रचण्डलाई उपेक्षा गर्न मिल्दैन– राजन केसी (काठमाडौं–१० बाट निर्वाचित नेका सभासद्)
संविधानसभा चुनावमा सबैको दृष्टि गाडिएको निर्वाचन क्षेत्र थियो– काठमाडौंको क्षेत्र नम्बर १० । यो क्षेत्र देशकै सबैभन्दा चासोको क्षेत्र बन्नुको कारण थियो मुलुकको ठूलो दल एमाओवादीका अध्यक्ष प्रचण्डको उम्मेदवारी र यसअघि त्यति नाम नसुनिएका काङ्ग्रेसका स्थानीय नेता राजेन्द्र केसीद्वारा आफूले प्रचण्डलाई हराएरै देखाउने उद्घोष । काङ्ग्रेस महासमिति सदस्यको मात्र हैसियत रहेका केसीले त्यस्तो चुनौती दिनु एकप्रकारको दुस्साहस नै थियो । कीर्तिपुरलगायत काठमाडौंका ऐतिहासिक नगरी रहेको सो क्षेत्रमा पहिलो संविधानसभा निर्वाचनमा प्रचण्डले भारी मत ल्याएर जितेका थिए । त्यतिबेला उनले २३ हजार दुई सय ७७ मत ल्याएका थिए भने केसीले १२ हजार एक सय ५४ मत प्राप्त गरेका थिए । तर, अनपेक्षित रूपमा राजेन्द्र केसीले काठमाडौं–१० बाट प्रचण्डलाई तेस्रो स्थानमा घच्याट्दै विजयमाला पहिरिन सफल भए । उनको विजयलाई सिङ्गो राष्ट्रले चासोका साथ नियाल्यो ।
छयालीस सालको आन्दोलनसँगै पूर्णकालीन राजनीतिमा प्रवेश गरेका केसी ०४७ सालमा नेपाली काङ्ग्रेस चोभार गाविसको इकाइ सभापति भए भने ०४९ को स्थानीय निर्वाचनमा चोभार गाविस वडा नम्बर २ को वडाध्यक्ष निर्वाचित भएसँगै काठमाडौं जिल्ला विकास समितिको इलाका सदस्य बने उनी । उनी ०५४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको नगर समिति सदस्यमा निर्वाचित भएका थिए भने सोही वर्ष काङ्ग्रेसको क्षेत्रीय समितिको सभापतिमा उनी निर्वाचित भएका थिए । अहिले निर्वाचनमा प्रचण्डलाई पराजित गर्दा उनी काङ्ग्रेस महासमिति सदस्य तथा केन्द्रीय समितिअन्तर्गतको स्थानीय निकाय विभागको सदस्य पनि हुन् । प्रस्तुत छ, नवनिर्वाचित सभासद् केसीसँग गरिएको कुराकानीको मुख्य अंश :

० प्रचण्डलाई चुनाव हराएर तपाईं एक्कासि चर्चित बन्नुभएको छ, तपाईंको योजना के छ अब ?
– यो चुनाव संविधान बनाउन संविधानसभाका लागि भएको चुनाव हो । नेपाली काङ्ग्रेसले एक वर्षभित्र मुलुकमा लोकतान्त्रिक संविधान बनाएर जारी गर्ने जुन प्रतिबद्धता जनाएको छ, यसलाई सफल सिद्ध गराउन पार्टीको एक अनुशासित सिपाहीका रूपमा म प्रतिबद्ध रहनेछु । संविधान बनाउने सभासद्का साथै विकास तथा नीति–निर्माण तहका काम गर्ने सांसदको भूमिकामा समेत रहेको नाताले मेरो क्षेत्र र समग्र देशकै निम्ति विकास र निर्माणका काममा पनि दिलोज्यान दिएर म लागिपर्नेछु । जनताको सेवा नै मेरा भावी कर्म हुनेछन् ।
० एक वर्षभित्र मुलुकलाई संविधान दिनसक्नेमा तपाईं ढुक्क हुनुहुन्छ ?
– निश्चय नै । ०४६ सालको प्रजातन्त्र पुनस्र्थापना आन्दोलनको सफलतापछि हाम्रा स्वर्गीय सन्तनेता कृष्णप्रसाद भट्टराईलाई पनि यस्तै चुनौती आइपरेको थियो । तर, उहाँको नेतृत्वमा मुलुकमा लोकतान्त्रिक संविधान सहजताका साथ बनेर जारी भएकै हो । नेपाली काङ्ग्रेसका लागि स्वर्गीय भट्टराईले गर्नुभएको उक्त काम एउटा ठूलो पुँजीसरह भएको छ । त्यो अनुभवका आधारमा पनि अहिलेको ऐतिहासिक जिम्मेवारी र चुनौती चिर्दै काङ्ग्रेसले अबको एक वर्षभित्र लोकतान्त्रिक संविधान बनाएर जारी गर्नमा महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ भन्नेमा म आमनेपाली दाजुभाइ–दिदीबहिनीलाई आश्वस्त तुल्याउन चाहन्छु ।
० चुनौती त ठूलै देखिएको छ, एमाओवादी पार्टी या त्यसका शीर्ष नेता प्रचण्डलाई मनाएर लैजानुपर्ने चुनौती पनि थपिएको छ नि ?
– चुनौती र अवसर भन्ने कुरा हरदम रहिरहन्छ । सबै पार्टीलाई साथ लिएर सर्वसम्मत तरिकाले संविधान बनोस् भन्ने हाम्रो चाहना हो, यसै सोचका आधारमा इमानदार प्रयास गर्नेछ काङ्ग्रेसले । तथापि, सर्वसम्मत हुन सकेनछ कुनै मुद्दामा भने पनि लोकतान्त्रिक शक्तिहरूको दुईतिहाइ बहुमतका आधारमा पनि संविधान जारी हुन सक्ने अवस्था छ ।
० संविधान त सबैको साझा दस्तावेज हो नि, यसरी दुईतिहाइ बहुमत छ भन्दैमा पेलेर बनाउन मिल्ला र ?
– हो, मुलुकको संविधान भनेको सबै जनताको साझा दस्तावेज नै हो र हुनुपर्छ । सर्वसम्मत हुनसके यसप्रति विश्वास बढ्छ र यसको दिगोपनमा विश्वस्त हुन पनि सकिन्छ । हामीले कसैलाई जबर्जस्ती ठेलपेल गरेर संविधान बनाउने कुरा गरिरहेका छैनौँ । कथम्, सहमति जुट्नै नसकेको अवस्थामा अन्तरिम संविधानमा भएको व्यवस्थाबमोजिम दुईतिहाइ मत प्रयोग गरेर भए पनि संविधानचाहिँ अब एक वर्षमा जारी गरेरै छोड्छौँ भन्न मात्र खोजेको मैले । किनकि, अब पनि संविधान नबनाएर झगडा गरी बसे यो देशमा लोकतन्त्रको भविष्य नै धरापमा पर्नेछ भन्ने हामी सबैले मनन गर्नुपर्छ ।
० अबको सरकार कसको नेतृत्वमा भन्ने बहस पनि सुरु भएको छ, सहमतीय सरकार बनाउन काङ्ग्रेस समर्थ होला ?
– एकदम ! सहमतीय सरकार बनाउने राम्रो अनुभव नेपाली काङ्ग्रेससँग छ । लोकतान्त्रिक संविधान निर्माणको अगुवाइ गर्ने सामथ्र्य काङ्ग्रेससँग मात्र रहेकाले पनि सरकारको अगुवाइ काङ्ग्रेसले गर्नुपर्छ । सबभन्दा ठूलो दलका रूपमा जनताले अभिमत दिएर यस पार्टीप्रति दर्शाएको विश्वासले पनि यही भन्छ ।
० काङ्ग्रेसका कुन नेताले गर्छ नि सरकारको नेतृत्व ?
– संसदीय बोर्डको नेता जो हुनुहुन्छ उहाँले ।
० अन्त्यमा, तपाईंले चुनाव जितेपछि प्रचण्डले बधाई दिनुभयो कि भएन ?
– उहाँसँग मेरो प्रत्यक्ष या टेलिफोनमा पनि कुराकानी भएको छैन ।
० प्रचण्डले पनि बधाई दिऊन् भन्ने चाहना भएन तपाईंमा ?
– मैले चाहने–नचाहने के कुरा भयो र ? त्यो एउटा राजनीतिक संस्कारभित्रै पर्ने कुरा पनि होला । मैले मलाई बधाई दिनुहोस् भनेर उहाँसँग आग्रह गर्ने कुरा त आएन नि !
० प्रचण्डलाई यतिखेरको परिवेशमा के सन्देश दिन चाहनुहुन्छ तपाईं ?
– चुनावको परिणामलाई सहर्ष स्वीकार गर्दै मिलेर संविधान निर्माणमा अघि बढ्नुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै चुनाव हो । यस्तो लोकतान्त्रिक अभ्यासमा कहिले हार्ने कहिले जित्ने कुरा स्वाभाविक हुन्छ । चुनाव हारे पनि संविधान निर्माणकार्यमा उहाँ र उहाँको पार्टीको भूमिका आवश्यक छ । परिणामलाई सहज रूपमा लिँदै मुलुकको समस्या निकासमा सहभागी हुनुहोस् भन्न चाहन्छु ।

कारण त धेरै हुन सक्छन्,-जेपी गुप्ता (मधेसवादी नेता)
० मधेसमा मधेसी दलहरूले निर्वाचनमा नराम्रो पराजय भोग्नुप¥यो, यसको कारण के हो जस्तो लाग्छ तपाईंलाई ?
– कारण त धेरै हुन सक्छन्, तर सङ्क्षेपमा भन्नुपर्दा मधेसका पार्टीहरू ०६४ सालको संविधानसभामा आएपश्चात् उनीहरूले सत्ताको स्वादमा मधेसी मुद्दाको विसर्जन गर्ने मार्ग अवलम्बन गरे । अर्थात्, ज्वलन्त मधेसी मुद्दामा केन्द्रित नरही उनीहरू विभिन्न राजनीतिक दलहरूलाई सत्तामा पु¥याउने भ¥याङको भूमिकामा मात्रै देखापरे । यो कुरा मधेस वा मधेसी जनताले प्रस्टसँग अनुभूत गरे कि मधेसी पार्टीहरूको ध्यान मधेसी मुद्दामा नभई सत्ताका लागि रहेको छ । यस्तै केही संवैधानिक र कानुनी कुराहरू पनि रहेका छन् जसमा मधेसी पार्टीहरूले प्रारम्भदेखि नै ध्यान दिएनन् । जस्तो कि मतदाता नामावलीमा नागरिकताको अनिवार्यता, निर्वाचन क्षेत्र वृद्धिबारे निरपेक्ष भाव राख्नु र त्यसपछिको सबैभन्दा महŒवपूर्ण कारण मधेसी पार्टीहरू एक भएर चुनावमा जानसक्ने अवस्था हुँदाहुँदै विभिन्न जातीय आधार निर्माणतिर लागेर आफू–आफूबीच नै थप वैमनश्यता बढाउनु । एकता भाव प्रदर्शन गरी एउटै मुद्दामा केन्द्रित रही चुनावमा जानुपथ्र्यो, त्यसो हुन सकेन । यस्ता अनेक कारण छन् जसले मधेसी पार्टीलाई यस्तो नराम्रो परिणाम भोग्न विवश तुल्यायो ।
० मधेसी नेता वा दलहरूले अपनाएको एजेण्डा असफल भएको त होइन ?
– मधेसका मुद्दा असफल या नेपाली जनताले मधेसका मुद्दालाई अस्वीकार गरेको भन्दा पनि मधेसवादी पार्टी र मधेसी नेताहरूले तत्कालीन समयमा राखेको दृष्टिकोण वा उनीहरूको कार्यनीतिको पूर्णरूपेण असफलता हो ।
० यतिबेला आएर मधेसी जनता सङ्घीयता चाहँदैनन् जस्तो पनि देखियो नि, काङ्ग्रेस र एमालेलाई मात्रै विश्वास गरेका किन होला ?
– यो प्रश्नको आशय त काङ्ग्रेस र एमाले सङ्घीयता चाहँदैनन् भन्ने रहेको बुझिन्छ, तर काङ्ग्रेस र एमालेले पनि सङ्घीयताको कुरामा त जोड दिइरहेकै छन् नि । काङ्ग्रेस र एमालेले पनि पहिलेको सङ्घीयताविरोधी छविबाट आफूलाई बाहिर निकालेको छ । यसपटकको निर्वाचन प्रचारका क्रममा उनीहरूले व्यक्त गरेका प्रतिबद्धताका आधारमा हामीले यो स्पष्टै अनुभूति गरेका छौँ । यथेष्ट जोड दिएका छन् सङ्घीयताको मुद्दामा उनीहरूले । अपितु, मधेस र माओवादीले चाहेकोभन्दा सङ्घीयताको स्वरूपमा उनीहरूको फरक दृष्टिकोण देखिन्छ । तसर्थ, उनीहरूको विजयलाई सङ्घीयताको विरोधको जनादेशका रूपमा लिनु वा बुझ्नु सही हुँदैन ।
० एक मधेस प्रदेशको मुद्दा मधेसले छोडेजस्तो छ नि, यसले पनि मत–परिणाममा फरक पा¥यो कि ?
– अँ ! यसपटक अर्को एउटा विडम्बनापूर्ण कुरा यो पनि भयो कि जसरी मधेसले मधेसको बारेमा एउटा निश्चित धारणा राख्दै आएको थियो, मधेसी दलहरू उक्त धारणामा अडेर रहन नसकेझैँ देखियो । उपेन्द्र यादव, विजय गच्छदार, राजेन्द्र महतो र महन्थ ठाकुरहरूले पनि मधेसमा विविध प्रदेशको कुरा ल्याए । यसले गर्दा मधेसवादी दल र अन्य दलहरूले अघिसारेका एजेण्डामा आममधेसी जनताले खास अन्तर पाएनन् । मैले भन्न खोजेको के भने मधेसवादी पार्टीहरूले यसपटकको निर्वाचनमा मुद्दाका हिसाबले आफ्नो मौलिक पहिचान नै देखाउन सकेनन् । यसको नकारात्मक असर सोझै मतपरिणाममा देखिएको छ ।
० यसपटकको निर्वाचनको परिणाम हेर्दा त क्षेत्रीय दलहरूको औचित्य पनि सकियो जस्तो छ नि ?
– चुनावी राजनीतिमा यस्तो देखिएला, हो, चुनावी राजनीतिमा यस्ता कुराहरू भइराख्छ । हिजो नेपाली काङ्ग्रेसले कमजोर जनादेश पाउँदा काङ्ग्रेसको औचित्य समाप्त भयो भन्ने मानसिकता केही मानिस वा केही समुदायमा थियो । तर, पाँच वर्षपछि भएको चुनावले त्यस धारणालाई गलत सावित गरिदियो । यस हिसाबले मलाई लाग्छ कि सङ्घीयताको कुरा, भाषाको कुरा र यस्तै अन्य मुद्दाहरू सर्वकालिक कुराहरू हुन् । पार्टीहरू बितेर गए पनि यसका बारेमा वस्तुपरक दृष्टिकोण कायम रहन्छ । यो दायित्व आजका दिनमा काङ्ग्रेस र एमालेको काँधमा गएको छ । सङ्घीयता, राज्यको रूपान्तरणको विषयलाई व्यवस्थित गर्न उनीहरूले सकेनन् भने आगामी दिनमा उनीहरूको असफलता छरप्रस्ट रूपमा देखिने नै छ ।
० यसपटकको चुनावी परिणामले मधेसमा नयाँ शक्तिको आवश्यकता औँल्याएको हो कि होइन ?
– यो सत्य या तथ्यलाई स्वीकार गर्न म कत्ति पनि हिच्किचाउँदिनँ । मधेसी जनताको भावनालाई मौजुदा मधेसी दल र नेताहरूले प्रतिनिधित्व गर्न नसकेको स्पष्टै छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र उपेन्द्र यादवहरूको मधेसी मोर्चाको सम्पूर्ण रूपकै असफलता हो । मधेसी पार्टीहरूले अब पुरानै दृष्टिकोणबाट अगाडि बढ्न खोज्नुको साटो या मधेसका सवाललाई अनुत्तरित राख्नुभन्दा पनि यी सवालको समाधानका लागि मधेसी जनताको निम्ति उन्नत दृष्टिकोणका साथ सोचेर अगाडि बढ्नु अपरिहार्य छ । मलाई लाग्छ कि आफ्ना मुद्दाहरूको शान्तिपूर्ण तवरले समाधानका लागि नयाँ रूपमा अघि बढ्नुपर्छ भन्ने मधेसमा धेरै ठूलो जनमत छ । जो नेता असफल भए, जनताबाट तिरस्कृत भए, उनीहरूको विकल्पचाहिँ खोजिनुपर्दछ भन्ने चुनावको परिणामको सन्देश हो भन्ने मलाई लाग्छ ।