सुर्खेतको बुलबुले उद्यान लोपोन्मुख

सुर्खेतको बुलबुले उद्यान लोपोन्मुख


bichar – मुक्तिनाथ भुसाल
‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ बोलको गीतले कुनै समय देशभर प्रसिद्धि पाएको थियो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण बुलबुले तालकै कारण जसरी उक्त लोकगीतले प्रसिद्धि पाएको हो । गीतजत्तिकै चर्चा र महŒव त्यस समयमा बुलबुले तालले पनि नपाएको होइन । तर, विडम्बना सुर्खेत उपत्यकाको बीचभागमा करिब २४ बिगा क्षेत्रफलमा फैलिएको बुलबुले उद्यान विगत डेढ दशकयता कन्तविजोग हालतमा परिणत भएको छ । बुलबुले जीर्ण अवस्थामा मात्रै होइन तालको पानी पूर्णरूपमा फोहोर पानीमा परिणत भएको छ । सुर्खेतको प्रमुख पर्यटकीय स्थलको रूपमा परिचित बुलबुले उद्यानमा एकदशक अघिसम्म स्वदेशी मात्र नभई विदेशी पर्यटकहरूको समेत घुइँचो लाग्ने गरेको स्मरण गर्दै स्थानीय कुलबहादुर खड्का वर्तमान हालतप्रति दु:ख र चिन्ता व्यक्त गर्छन् । उद्यान जीर्ण बन्दै गएपछि हालका दिनमा बुलबुले तालमा स्थानीयले नुहाउने र लुगा धुनेबाहेक पर्यटक गतिविधि शून्य हुन पुगेको छ । तर, सरोकारवालाहरूले भने सबै देखे–बुझेर पनि नदेखेजस्तो गरेको स्थानीयवासीको कथन छ ।
सुर्खेत उपत्यकाको दर्शनीय स्थलमा सबैभन्दा पहिले बुलबुले तालकै नाम आउने गर्दछ । ०३० मा राजा वीरेन्द्र सुर्खेत आउने क्रममा बुलबुले उद्यानको विकास, संरक्षण र सम्बद्र्धन गर्ने जिम्मासहितको निर्देशन सुर्खेत उपत्यका नगर विकास समितिलाई दिएका थिए । तर, नमिल्दो कार्यशैली र लापरबाहीको कारण उद्यानको दुर्गति हुन पुगेको छ । उद्यानवरिपरिको तारबार जीर्ण मात्र होइन पानीको तालसमेत फोहोर बनेको छ । मनोरञ्जनका लागि बनाइएका पानीको फोहोरा निस्कने तलैया पनि सुख्खा बनेको छ । त्यहाँ राखिएका ढुङ्गासमेत अहिले हराएका छन् । प्रख्यात बुलबुले उद्यानको अवस्था दिनदिनै विजोग बन्दै गएपछि त्यहाँका बासिन्दा चिन्तित हुन अस्वाभाविक पनि होइन ।
एक दशक अघिसम्म बुलबुले तालमा पाँचवटा डुङ्गा सञ्चालनमा रहेको कुरा अहिले एकादेशको कथाजस्तो बनेको छ र त्यसयता एउटा डुङ्गासमेत सञ्चालनमा छैनन् । फोहोर पानीका कारण तालमा झार झाँगिएर चलाउन नमिलेपछि डुङ्गा सञ्चालनमा ल्याउन अझै पनि नसकिएको बुझिन्छ । उद्यानभित्र रहेका पानीको फोहोरा फाल्ने मेसिन मात्र होइन, पर्यटकहरू विश्राम गर्ने घर र बगैँचाहरूसमेत अहिले लथालिङ्ग अवस्थामा रहेका छन् । समितिले कहिले आफँैले त कहिले भाडामा दिई बुलबुले उद्यानको संरक्षण, सम्बद्र्धन र सञ्चालन गरेको कारण यो रमणीय स्थलको दुर्दशा भएको सुर्खेतवासीहरू उल्लेख गर्छन् । यसको संरक्षण, सम्बद्र्धन तथा विकास गर्नुपर्छ भन्ने स्थानीय जनताको पनि चासो नहुनु, केन्द्र र स्थानीय सरकारले बेवास्ता गर्नु र मुलुकमा देखापरेको राजनीतिक अन्योलका कारण उचित संरक्षण र सम्बद्र्धन हुन नसक्दा यसको अस्तित्व नै अबको केही वर्षभित्रै लोप हुन सक्ने खतरा बढ्दै गएको छ । करिब २४ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले उद्यानलाई संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारतर्फ राज्यको ध्यान पुग्ने हो भने यो क्षेत्रले मनग्य मात्रामा स्वदेशी र विदेशी पाहुना भिœयाउँदै सो क्षेत्रको कायाकल्प गर्न सक्छ । यसबाट मुलुककै शोभा बढ्ने पक्ष त अलग छँदै छ । यो तथ्यप्रति सरकारी निकायको गम्भीर ध्यान कहिले पुग्ने हो ? प्रतीक्षाको विषय बनेको छ ।