इन्द्रेणी

इन्द्रेणी


indreniचुनाव महिमा !– नरेन्द्रराज पौडेल
महिमा नम्बर एक
आयो चुनाव गयो चुनाव, शान्तिपूर्ण रह्यो चुनाव
निर्धाहरूले टाउको फुटाऊ, बलियाहरूले बुथ लुटाए
हात भाँचिए, मुख च्यातिए, केस भुत्लिए, दाँत छिरलिए
कान काटिए, तैपनि बुथ कब्जा नहुँदा अन्धकारमा बाकस साटिए

गुण्डाराज गयो रामराज्य आयो,
मुखका छुरा अल्छी बबुरा
भाइ फुटाउन खप्पिस चतुरा
घर बालेर आगो ताप्ने, सधैँ आफूलाई सागर नाप्ने
आधा–अधुरा बिचरा–बबुरा !
भीरबाट लडेर भयो चुनाव
आयो चुनाव गयो चुनाव, शान्तिपूर्ण रह्यो चुनाव !

महिमा नम्बर दुई
आयो चुनाव गयो चुनाव शान्तिपूर्ण रह्यो चुनाव
लोकतन्त्रको बन्ध्याकरणमा काँटाछरी पो भयो चुनाव
सुहागरातमै पति वियोगिनी विधवा आँचल भिज्यो चुनाव
बाला–बैँसको कलिलो मुटुमा मैदल काँडा बिझ्यो चुनाव
नकटाहरूले नाक कटाए रैथानाहरूले जुत्ता फटाए
बाकसभित्र बन्द भएर भोट बनेर आयो चुनाव
घरमा पुगेर खल्ती छाम्दा नोट बनेर गयो चुनाव
नआउँदा त थरीथरी आशामा मोटर भएर गुड्यो चुनाव
आएपछि चाहिँ हावा बन्दै कानबाट पो उड्यो चुनाव

महिमा नम्बर तीन
आयो चुनाव सधैँ टल्किने समुद्रतलको मोती भएर
गयो चुनाव लाजै नछोप्ने तुलिगाँडाको धोती भएर
लेबी उठाई ग्यास सुँघेर कमिसनरूपी डिजेल पिएर
चन्दारूपी पेट्रोल घिचेर, आयो चुनाव घाउ बनेर
कालोबजारी छल तस्करको मुखबोलीको भाउ बनेर
महँगीरूपी अन्धोराक्षस, टोक्दै चिथोर्दै मैमत्त हिँड्यो
प्रगतिपथमा पाउ अल्झियो, खिल पल्टियो काँडो पसेर
अकिन्चनताको घाउ बल्झियो कहिल्यै नसुक्ने उकुस बनेर
नेता नायक मोटाइरहने, जनता चरीचाहिँ दुब्लाइरहने
इन्द्रजालीको खेल–तमासा चलिरहेछ हरहमेसा
बलिको बोको कराइरहेछ कालदेखि डराइरहेछ
बिचरो जनता बलिलाई मात्रै मार हान्न पो भयो चुनाव
आयो चुनाव गयो चुनाव, बिनाधाँधली बिनागडबडी
विश्व इतिहासमै पहिलोपल्ट शान्तिपूर्ण रह्यो चुनाव !

महिमा नम्बर चार
हे चुनाव ! हाय चुनाव !! फर्की–फर्की आउ चुनाव
दिउँसै कस्तो अन्धकार भो तिमी नहुँदा हाय चुनाव
तन थरथर भई काँपिरहेछ, आँत हरहर भई जलिरहेछ
मन धरमर गर्छ यताउता
बरबर–बरबर झरे परेलीका
दिनरात गयो छिन वर्ष भयो
मनको सुख–चयन किन आज गयो ?
आऊ चुनाव फेरि आऊ
तिमी नआए घरै शून्य भयो चुनाव !
चाँडै आऊ चाँडै आऊ, नशा लगाऊ, भोज लगाऊ,
माड लगाऊ, जाँड लगाऊ, मझेरीको माझ नचाऊ,
पजेरोमा साँझ घुमाऊ, सुरासुन्दरी गजल मेहफिल –
स्वदेश–विदेशका सबै डुलाऊ, भत्ता मिलाऊ, सत्ता दिलाऊ ।
आऊ चुनाव बरमाला लिई
बालिका–बधु भई आऊ, मल्हम लगाऊ
यो बबुराको चह¥याइरहेको घाउ
हे चुनाव हाय चुनाव फर्किफर्की आउ चुनाव !

महिमा नम्बर पाँच
हे चुनाव हाय चुनाव कसरी मैले हारो चुनाव ?
के साँच्चिकै मैले हारेँ चुनाव ?
बिनाबादल वर्षा बिजुली चट्याङ बनेर चड्क्यो चुनाव
मेरै मात्र कन्चट ताकी अणुबम बनेर पड्क्यो चुनाव
नीलकण्ठले गह पिएथे सायद जित्न नसकेर चुनाव
जनादेश भन्नु बकवास रहेछ कि ?
मुण्डा मुडुला शिखण्डी बकुला सबको तानातान चुनाव
झिँगा भुसुना लडाउने तर काग गिद्दले हड्डी उडाउने
झिँगा वर्षने सागर तर्सने
इन्द्रजालीको जाल पो हो कि ?
डमरु डमडम घुँघरु छमछम
सर्पखेल या बाँदर नाच
ढ्वाङ खाली छन् मतपत्र उडे, बन्दुक पड्किए
खुकुरी चम्किए, छुरी वर्षिए
मजस्ता बहादुर देख्दै तर्सिए
आँधी आयो असिना आयो युद्ध मैदानझैँ
चुनाव केन्द्रमा जानेजतिको पसिना आयो
गाई–भैँसी कराए, खग्रास परी सूर्य ग्रहण पो लाग्यो
दिउँसै हुनगो अन्धकार, मजस्ता नेताको चुनावमा हार !?
अहो… कत्रो हाहाकार !!
हे चुनाव हाय चुनाव कसरी मैले हारँे चुनाव ?

आकाशले मुहार धोएको….– रामेश्वर राउत मातृदास
यो जन्मभूमि नेपाल संसारको मुक्ति दुवार
घामले यहीँ आएर पखाल्छन् आफ्नो मुहार

ए ऽ होइन आँसु रोएको आकाशले मुहार धोएको
हृदय पत्थर कठोर नबोली संसार धोएको
म अंश सृष्टि सिङ्गै हुँ बालुवामा पानी सुक्दिन
आँधीले बाटो छेके नि अनन्त यात्रा रुक्तिन

राम र कृष्ण बुद्धले त्रिनेत्र दर्शन पाएको
अठासी हजार ऋषिले अजम्बर मन्त्र गाएको
यही माटो कणकण जागेर ब्युँझाई सृष्टि बोल्नेछ
पत्थरले मुग्ध कण्ठ भई हृदय एकदिन खोल्नेछ

हिमालचुली अग्लँदै समुद्र सातै घोल्नेछ
यही माटो टेकी सत्यले न्यायको वाणी बोल्नेछ
मौन आकाश अनन्त जून तारा घामलाई नचाउँछन्
रोएका आत्मा करोडौँ बुद्धले शान्ति बोलाउँछन्
यो जन्मभूमि नेपाल…
वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती