कलाकर्मीहरूको जमानत जफत

कलाकर्मीहरूको जमानत जफत


funtimeकुनै बेला आफूलाई राजनीतिक पार्टीको कार्यकर्ता, नेता वा त्यस पार्टीसँग आबद्ध भएको कुरा बताउन धक मान्ने कलाकर्मी अहिले खुलेर राजनीतिक मैदानमा आउन थालेका छन् । राजनीतिक पार्टीसँग उनीहरूको आबद्धता कार्यकर्ता वा समर्थकको रूपमा मात्र सीमित छैन अहिले । मुलुकको दोस्रो संविधानसभाको चुनावमा त ‘नम्बर वन’ पार्टीका नेताहरूसँग प्रतिस्पर्धा गर्न चुनावको मैदानमा नै उत्रिए उनीहरू ।
तर, अपशोच चुनावी प्रतिस्पर्धामा अधिकांश कलाकर्मीले नमिठो र लज्जास्पद हार व्यहोर्नुपरेको छ । यतिसम्म मात्र होइन कि उम्मेदवारको निम्ति इज्जतको रूपमा लिइने जमानतसमेत जफत भयो उनीहरूको । चलचित्रकर्मी उद्धव पौडेल, सङ्गीतकार सञ्जय श्रेष्ठ, गायिका मीरा राणा अनि चरित्र अभिनेत्री शैलजा पाण्डे सबैले हार व्यहोरेका छन् । यी सबैलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रत्यक्षतर्फ टिकट दिएको थियो । बरु यता नेकपा एमालेको समानुपातिकमा नाम रहेका भुवन केसीको अवस्था भने यतिबेला सुरक्षित रहेको देखिन्छ । पहिले प्रत्यक्षतर्फ टिकट पाएर पनि खोसिएका केसी यदि प्रत्यक्षतर्फ उठेका भए नराम्रो हार हुनसक्ने अनुमान अहिले लगाउन थालिएको छ ।
प्रत्यक्षतर्फको चुनावमा उम्मेदवारी दिएका कलाकर्मीको अवस्था जे–जस्तो रहे तापनि परिणामलाई आँखा चिम्लने हो भने यसपटक चुनावमा कलाकर्मीको चासो र उपस्थितिका कारण बजार भने गरम भएकै थियो ।

रामवीर रमाउंदा हिसिला हिस्स
काठमाडौं क्षेत्र नं. ७ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका रामवीर मानन्धरले भने गौरवपूर्ण विजय हासिल गरेका छन् । पूर्वमन्त्री हिसिला यमीलाई शानदार मत ल्याएर हराएका रामवीर मानन्धर चलचित्र विकास बोर्डका पूर्वसदस्य हुन् । काठमाडौंको अत्यधिक चल्ने बालाजुमा रहेको अष्टनारायण हलका सञ्चालकसमेत रहेका रामवीर मानन्धर नेपाली चलचित्रका राम्रा प्रशंसक र नेपाली चलचित्रको विकास अनि विस्तार चाहने चलचित्रकर्मी हुन् । अब उनले संविधानसभामार्फत नेपाली सिनेमाको आवाजलाई बुलन्द पार्ने कुरा बताएका छन् ।

‘कर्कट राशि मुरलीधर’
‘कर्कट राशि हो चाल अलि टेढो छ…’ चलचित्र सम्पत्तिमा खलनायक मुरलीधरले बोलेको यो संवाद आज पनि उत्तिकै चर्चित छ । नेपाली चलचित्रको पर्दामा खुँखार खलनायकको रूपमा प्रस्तुत हुँदै आएका मुरलीधर एक कुशल गायक र सङ्गीतकार पनि हुन् ।
अब भने बहुप्रतिभाशाली यिनै कलाकार मुरलीधरको परिचयले अर्को विधा पनि समेट्ने भएको छ । मुरलीधर अब चलचित्र क्षेत्रमा अभिनय होइन, चलचित्रको निर्देशकको रूपमा देखापर्ने भएका छन् । भारतमा बस्दै आएका मुरलीधर यतिबेला आफूले निर्देशन गर्न लागेको नेपाली चलचित्रको गृहकार्यका लागि काठमाडौं आएका छन् । ‘अब म अलग पहिचान बनाऊँ कि भन्ने सोचले निर्देशन विधामा हात हाल्न लागेको हुँ । हेरौँ कति सफल भइन्छ,’ उनले घटना र विचारसँग भने । सपना–सपना, पृथ्वी, तृष्णा, साइनोजस्ता उत्कृष्ट चलचित्रका सफल अभिनेता मुरलीधर चलचित्र निर्दशन गरे तापनि गायन तथा साङ्गीतिक क्षेत्रलाई भने नछाड्ने कुरा बताउँछन् ।

सुधाको ‘सुधा’
द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीले बनाएको चलचित्र ‘नथिङ इम्पोसिबल’मा गीत गाएपछि चर्चामा आएकी नवोदित गायिका सुधारत्नलाई यतिबेला भ्याई–नभ्याई छ । चलचित्रहरूमा गीत गाउन निकै व्यस्त रहेकी सुधाले यसै हप्ता आफ्नो एकल आवाज समेटिएको एल्बम ‘सुधा’ बजारमा ल्याएकी छिन् ।
आफ्नै नामबाट एल्बम निकालेकी सुधाले एल्बममा सबैखाले गीत समेटिएको कुरा बताएकी छिन् । चर्चाका लागि चलचित्रको गीतको हात रहने कुरा बताउने सुधा निरन्तरता र आत्मसन्तुष्टिका लागि भने सुगम सङ्गीतकै नाम लिन्छिन् ।