निर्वाचन परिणामका रोचक पक्षहरू

निर्वाचन परिणामका रोचक पक्षहरू


electionसंविधानसभा निर्वाचन परिणामलाई विभिन्न कोणबाट हेर्दा यसको बहुआयामिक चरित्र देखिएको छ । निर्वाचनले राजनीतिक दल तथा अन्तर्राष्ट्रिय समुदायले अपेक्षा गरेभन्दा भिन्न नतिजा प्रस्तुत गरेपछि यसले बहुआयमिक चरित्र प्रस्तुत गरिदिएको छ । अहिले संविधानसभा निर्वाचनले दिएको नतिजाअनुसार अघिल्लो संविधानसभामा उठाइएका पहिचानसहितको सङ्घीयता, धर्मनिरपेक्षतालगायतका मुद्दामाथि प्रश्नचिह्न नै खडा गरिदिएको छ । किनकि पहिचान तथा आत्मनिर्णयसहितको सङ्घीयता र धर्मनिरपेक्षताको मुद्दामा आफ्नो राजनीति केन्द्रित गराउँदै आएका एमाओवादी तथा मधेसकेन्द्रित राजनीतिक दल र ती दलका नेतालाई जनताले पाखा लगाइदिएका छन् ।
प्रचण्डको पराजय : पार्टी अध्यक्ष प्रचण्ड काठमाडौं क्षेत्र नम्बर दशबाट पराजय भएसँगै एकीकृत माओवादीले अघिल्लो संविधानसभा निर्वाचनमा एकलौटी जित हासिल गरेका निर्वाचन क्षेत्र पनि गुमाएको छ । एमाओवादी अध्यक्ष प्रचण्डलाई काङ्ग्रेसका महासमिति सदस्य राजेन्द्र केसीले पराजित गरिदिए भने माओवादीको आधार इलाकाको रूपमा चिनिएका जिल्लाहरू पनि काङ्ग्रेसले भत्काउँदै आफ्नो बनाएको छ । अघिल्लो निर्वाचनमा एमाओवादीले गोरखा, दाङ, सल्यान, रोल्पा, रुकुम, प्युठान, ललितपुर, धादिङ, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा आफ्नो वर्चश्व कायम गरेको थियो । तर, अहिले रोल्पा, रुकुम र गोरखाबाहेक सबै क्षेत्रको वर्चश्व गुमाएको छ । अघिल्लो निर्वाचनमा एकलौटी कब्जा गरेको दाङ र ललितपुरमा काङ्ग्रेसले वर्चश्व जमाएको छ भने धादिङमा एमालेले एमाओवादीलाई बढारिदिएको छ ।
खर्च एमाओवादीको प्रचार काङ्ग्रेसको : संविधानसभा निर्वाचन प्रचारप्रसार लागि भन्दै एमाओवादीका नेताहरूबाट खर्च लिएर नेपाली काङ्ग्रेसको प्रचार गरेको भन्दै एकीकृत माओवादी पार्टी मुख्यालय पेरिसडाँडा कोटेश्वरमा आफ्नै कार्यकर्ताविरुद्ध उजुरीसमेत परेको छ । निर्वाचनमा पराजय व्यहोरेका नेताहरूले पार्टीको केन्द्रीय बैठकमा बोल्दै आफ्नै कार्यकर्ताबाट पनि धोखा भएको, पार्टीको खर्चमा काङ्ग्रेस–एमालेको प्रचारप्रसार गरेको तथा विपक्षी नेताहरूबाट मोटो रकम लिएर पार्टीको गोप्य सूचना लिक गरेकोजस्ता आरोप लगाएका छन् । उनीहरूले काठमाडौं क्षेत्र नम्बर एक, चार, पाँच, दश, रामेछाप एक, ललितपुर एक र दुईका पार्टीकै जिम्मेवार व्यक्तिले पार्टीबाट पैसा लिएर काङ्ग्रेसको प्रचार गरेको भन्दै पार्टी कार्यालयमा उजुरी दर्ता गराएका छन् । पार्टी कार्यालयका एक सचिवालय सदस्यले दिएको जानकारीअनुसार पचासभन्दा बढी जिल्लामा यस्ता घटना भएको भन्दै मौखिक तथा लिखित उजुरी परेका छन् । अनुशासित र प्रतिबद्ध कार्यकर्ता भएको मानिने एमाओवादीमा समेत अन्तर्घात हुनुलाई रोचक मानिएको छ ।
मधेस मसिहाको पराजय : आफूलाई मधेसका मसिहा ठान्दै आएका मधेसकेन्द्रित दलहरूलाई अहिलेको संविधानसभा निर्वाचन अफाप भएको छ । जनताले उनीहरूलाई पाखा लगाइदिएका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक चार, फोरम नेपाल दुई र तराई मधेस लोकतान्त्रिक पार्टीले चार गरी तीन मधेसकेन्द्रित दलले प्रत्यक्षतर्फ जम्मा दश सिट मात्र जितेका छन् । यसअघि चौथो शक्तिको रूपमा रहेर सरकार निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गरेका मधेसकेन्द्रित दलहरू अहिले छैटौँ–सातौँ स्थानमा पुगेका छन् । मधेसकेन्द्रित दलहरूले यसअघि मधेसका अधिकांश निर्वाचन क्षेत्रबाट विजय हासिल गरेका थिए । तर, अहिले ती स्थानमा काङ्ग्रेस र एमालेले पकड जमाएका छन् ।
निर्वाचन परिणामअनुसार सद्भावना अध्यक्ष महतोलाई अर्का मधेसकेन्द्रित नेताले नै निर्वाचनमा हराएका हुन् । दुई मधेसकेन्द्रित पार्टीबीचकै भिडन्तका कारण सर्लाही चार चर्चामा थियो । अध्यक्ष महतोलाई पराजित गर्दै तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव विजयी भए भने एमाओवादीका केन्द्रीय नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले भण्डारीलाई पराजित गरे । त्यस्तै ०४८ सालदेखि नवलपरासीबाट निरन्तर चुनाव लड्दै आएका तमलोपाका नेता हृदयेश त्रिपाठीलाई काङ्ग्रेसका देवकरण कलवारले पराजित गरे । मधेस आन्दोलनका चर्चित नेता विजयकुमार गच्छदार र उपेन्द्र यादवलाई पनि मधेसकै जनताले पराजित गराए । यद्यपि उनीहरू दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकोले एक–एक स्थानबाट विजय हासिल गरेका छन् । यसरी मधेसका जनताले मधेसीकै चर्चित मानिएका नेतालाई हराएपछि मधेसका जनताका नाममा उनीहरूले उठाएका मुद्दालाई समेत चुनौती दिएको देखिन्छ ।
काङ्ग्रेसको किल्ला : अघिल्लो निर्वाचनमा काङ्ग्रेसले दाङका पाँचवटै क्षेत्र गुमाएको थियो, तर यसपटक दाङका सबै क्षेत्रमा कब्जा जमाएको छ । यस्तै अघिल्लो चुनावमा एमाओवादीले कब्जामा लिएको कञ्चनपुर जिल्लाका चारवटै क्षेत्र नेपाली काङ्ग्रेसले खोसेको छ । यसअघि कञ्चनपुरका चारवटै क्षेत्र एमाओवादीले कब्जा गरेको थियो । यसअघि माओवादीले बाजी मारेको ललितपुर र नुवाकोटका सबै निर्वाचन क्षेत्रमा काङ्ग्रेस विजयी भएको छ । अघिल्लो निर्वाचनमा गुमाएको साख एमालेले अहिलेको निर्वाचनबाट बचाएको छ । अघिल्लो निर्वाचनमा एमाओवादीले वर्चश्व कायम गरेका ६ जिल्लालाई एमालेले आफ्नो पक्षमा पारेको छ । उसले धादिङ, भोजपुर, खोटाङ, ताप्लेजुङ, अछाम, र प्युठानबाट एमाओवादीलाई पराजय गर्दै बाजी मारेको छ ।
जमानत नै जफत : संविधानसभा निर्वाचनमा प्रमुख तीन दल काङ्ग्रेस, एमाले र एमाओवादीकै ७१ जनाको जमानत जफत भएको आयोगले जारी गरेको नतिजामा उल्लेख छ । आयोगका अनुसार एमाओवादीका ४०, एमालेका २३ र काङ्ग्रेसका आठजनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा एमाओवादीका वैकल्पिक केन्द्रीय सदस्यहरू काठमाडौं ५ बाट महेन्द्रकुमार श्रेष्ठ, सप्तरी ५ बाट सरस्वतीकुमारी चौधरी, सुनसरी २ बाट रामकुमारी चौधरी र कपिलवस्तु दुईबाट रामलौट तिवारी छन् । त्यसैगरी बारा एकबाट पूर्वराज्यमन्त्री ज्वालाकुमारी साह, एमाओवादीबाटै काठमाडौं आठमा उम्मेदवारी दिएका पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान र भक्तपुर दुईमा उम्मेदवारी दिएका पूर्वमन्त्री वर्षमान पुनका स्वकीय सचिव देवीप्रसाद ढकालको पनि जमानत जफत भएको छ ।
एमाले–काङ्ग्रेसबीच नै प्रतिस्पर्धा : संविधानसभा निर्वाचनमा एक सय ४४ स्थानमा एमाले र काङ्ग्रेसले मात्र प्रतिस्पर्धा गरेका थिए भने ठूलो दल एमाओवादी एक सय छब्बीस स्थानमा तेस्रो नम्बरमा प्रतिस्पर्धा गरेको निर्वाचन परिणामले देखाएको छ । चुनावी परिणामअनुसार काङ्ग्रेस र एमालेबीच मात्र प्रतिस्पर्धा भएको देखिन्छ । यसअघिको ठूलो दललाई धेरैजसो स्थानमा तेस्रो स्थानमा पु¥याएर काङ्ग्रेस र एमाले पहिलो र दोस्रो भएका हुन् । काङ्ग्रेसले जितेको एक सय पाँच सिटमध्ये ६९ क्षेत्रमा एमालेलाई हराएको देखिन्छ भने एमालेले जितेका ९१ मध्ये ७५ सिटमा काङ्ग्रेसलाई पराजित गरेको देखिन्छ । त्यस्तै काङ्ग्रेसले ३५ र एमालेले ३१ वटा सिटमा एमाओवादी र अन्य दलहरूसँग प्रतिस्पर्धा गरेका छन् । यता एमाओवादी भने जम्मा एक सय २६ क्षेत्रमा तेस्रो स्थानमा खुम्चन बाध्य भएको छ ।

उद्दण्डलाई दण्ड, राष्ट्रवादी तथा प्रजातन्त्रवादीहरू पुरस्कृत
काङ्गे्रस नेतृत्वमा सर्वदलीय सरकार
नेपाली काङ्गे्रसले सरकारको नेतृत्व गर्न पाउने वैधानिक एवम् राजनीतिक स्थिति बनेपछि भावी सरकारको स्वरूप र नेतृत्वको विषयलाई लिएर विभिन्न अड्कलबाजी गर्न थालिएको छ । निर्वाचनको अन्तिम परिणाम नआउँदै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्न तत्पर र इच्छुक रहेको स्पष्ट सङ्केत गर्नुभएको थियो । तर, अब तत्कालका लागि माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना टरेको छ र नेपाली काङ्गे्रसकै नेतृत्वमा सरकार गठन हुने पक्कापक्की भएको छ । काङ्गे्रस आफूले सरकार गठन गर्नुपर्ने भएपछि प्रमुख विपक्षीका रूपमा पनि जिम्मेवार र परिपक्व राजनीतिक दल रहोस् भन्ने चाहन्छ । त्यसनिम्ति एनेकपा माओवादीलगायत अन्य सानातिना दलहरूलाई मिलाएर सरकार गठन गर्ने र नेकपा एमालेलाई जिम्मेवार विपक्षको भूमिकामा एकलौटी मैदान छोडिदिने सोच काङ्गे्रसभित्र बलवान देखिएको छ । तर, सत्ताभन्दा बाहिर बसेको अवस्थामा एमालेको भूमिका रचनात्मक, सकारात्मक र सहयोगात्मक हुने ठानिएको छैन । एमालेको नकारात्मक भूमिका लोकतान्त्रिक संविधान निर्माणको निम्ति प्रत्युत्पादक हुने भएकोले काङ्गे्रसको उच्च नेतृत्वमा सर्वदलीय सरकार गठनबारे गम्भीरतापूर्वक विचार–विमर्श चलिरहेको छ । कम्तीमा पनि नयाँ संविधान निर्माण भई जारी नहुँदासम्म सर्वदलीय सरकार आवश्यक पर्ने काङ्गे्रसका उच्च नेताहरूको ठम्याइ छ । त्यसैले अन्तत: देशमा सर्वदलीय सरकार गठनको सम्भावना प्रबल भएको छ । काङ्गे्रसले संविधान निर्माणमा सबै राजनीतिक पक्षको सहभागिता खोजेको भए पनि एमालेबिना नयाँ संविधान निर्माणको सम्भावना छैन र काङ्गे्रसले एमालेको साथ छोडेर अघि बढ्ने सोच बनाएको पनि देखिँदैन । तथापि भावी राजनीतिमा एमालेसँगको निरन्तर प्रतिद्वन्द्वितालाई भने काङ्गे्रसले राम्ररी आत्मसात् गरेको छ । प्रतिस्पर्धात्मक राजनीतिमा एमाले निरन्तर चुनौतीका रूपमा रहने देखिएकोले सत्ता साझेदारीका निम्ति काङ्गे्रस नेतृत्व अत्यन्त सचेत भएको छ । तत्काल सत्ताबाट बाहिर राख्दा संविधान निर्माणमा असर पर्ने भएकोले मात्र काङ्गे्रस एमालेलाई बोकेर हिँड्ने निष्कर्षमा पुग्न बाध्य हुने स्थिति बनेको छ ।
एमाओवादीको विमति र विरोधलाई विश्लेषणको बेग्लै विषय बनाउने हो भने काङ्गे्रस र एमालेबीच केही विषयमा मतभिन्नता र विवाद हुने देखिएको छ । एमाले तत्काल राष्ट्रपति परिवर्तन हुनुपर्छ भन्ने पक्षमा छ । राष्ट्रपति र प्रधानमन्त्री एउटै दलको हुन नहुने एमालेको धारणा छ, जब कि काङ्गे्रस संविधान जारी नभएसम्म राष्ट्रपतिको बारेमा कुनै छलफल गर्न पनि आवश्यक नभएको ठान्दछ । त्यस्तै, सभामुख र संवैधानिक परिषद्को प्रमुख कसलाई बनाउने भन्नेबारेमा पनि काङ्गे्रस–एमालेबीच वादविवाद हुनसक्ने सम्भावना छ । प्राप्त जानकारीअनुसार नेपाली काङ्गे्रस एमालेलाई सभामुख दिन तयार छ, तर सुवास नेम्वाङबाहेक अरू कोही स्पष्ट विचार–दृष्टिकोण भएका नेतालाई एमालेले प्रस्तुत गरोस् भन्ने काङ्गे्रसको चाहना भएको बुझिन्छ । नेम्वाङको ज्यादा भद्रपन र आवश्यकताभन्दा बढी सन्तुलित बन्न खोज्ने व्यवहारले संविधान निर्माण प्रक्रियामा प्रतिकूल प्रभाव पर्ने ठहर काङ्गे्रस नेताहरूको छ । संवैधानिक परिषद्को अध्यक्षमा कुनै विज्ञ र वरिष्ठ व्यक्तिलाई चयन गरिने बुझिएको छ । संविधानसभामा पहिले माधवकुमार नेपाल र पछि नीलाम्बर आचार्यले सम्हाल्नुभएको सो जिम्मेवारी काङ्गे्रस, एमाले र एमाओवादीभन्दा बाहिरकालाई दिइनसक्ने सम्भावना छ । साना दलका कुनै वरिष्ठ सभासद्लाई संवैधानिक परिषद्को प्रमुख बनाउने धारणा काङ्गे्रसको भए पनि सुवास नेम्वाङ सभामुख नबनेको अवस्थामा नेम्वाङले नै उक्त जिम्मेवारी प्राप्त गर्ने सम्भावनालाई पनि इन्कार गर्न सकिन्न ।
एमाले–काङ्गे्रसबीच ‘पावर सेयरिङ’का विषयमा मतभिन्नता र प्रतिस्पर्धा भए पनि संविधान निर्माणका बारेमा दुई दलबीच धेरै विषयमा समान धारणा छ । निर्वाचन परिणामबाट आहत बनेको एमाओवादी विभिन्न सर्तहरू तेस्र्याउँदै काङ्गे्रस–एमालेलाई आफ्नो एजेण्डामा ल्याउने प्रयास गर्दै छ । कमजोर उपस्थिति रहेको संविधानसभाभित्र आफ्नो एजेण्डाहरूको ‘सम्मान’ नहुने देखिएपछि एमाओवादीले घुर्की र धम्कीको राजनीति सुरु गरेको छ । काङ्गे्रस–एमालेलाई आफ्ना एजेण्डाहरूमा सहमत गराउन एमाओवादीले राजनीतिक दलहरूबीचको सहमतिबाट निकास खोज्नुपर्ने कार्यनीति अवलम्बन गर्न खोजेको छ । यसो गर्दा संविधानसभाको भूमिका कमजोर हुने ठम्याइ एमाओवादीको छ । काङ्गे्रस र एमालेका नेताहरूले प्रचण्डलाई भेटेर अनुनयविनय गर्न थालेपछि प्रचण्डको आत्मविश्वास पुन: बढेको छ । अहिले जे–जस्ता घुर्की र धम्की दिए पनि अन्तत: एमाओवादी संविधानसभाभित्र प्रवेश गर्न बाध्य हुने विश्वास गरिएको छ । निर्वाचन परिणामलाई स्वीकार गरेर संविधानसभामा सहभागी नभएमा निर्वाचन आयोगले पत्र लेखी ‘अल्टिमेटम’सहित रिक्त स्थानमा पुनर्निर्वाचन गराइने चेतावनी दिनसक्ने सम्भावना भएकोतर्फ एमाओवादी गम्भीर भएको छ । संविधानसभामा सहभागिता जनाउन अरू केही दिन विलम्ब गरेमा निर्वाचन आयोगले औपचारिक रूपमै पत्र लेखेर एमाओवादीलाई आग्रह गर्ने र त्यसको सकारात्मक जवाफ प्राप्त नभए रिक्त स्थान घोषणा गरी पुन: निर्वाचन गराउन सक्ने अधिकार निर्वाचन आयोगमा रहेको छ । कदाचित त्यस्तो अवस्था आएमा एमाओवादी झनै सङ्कटमा पर्ने देखिन्छ । त्यसैले अन्तत: प्रचण्डहरू संविधानसभामा सहभागी भई संविधान निर्माण प्रक्रियामा सहभागी हुने सम्भावना प्रबल छ ।

चुनाव परिणामको सकारात्मक सन्देश
संविधानसभा निर्वाचन (दोस्रो) को परिणामले देशका लोकतन्त्रपे्रमीहरूलाई उत्साहित तुल्याएको छ भने अन्तर्राष्ट्रिय जगत्मा नेपालको सकारात्मक सन्देश गएको छ । नेपालमा प्रजातन्त्रवादी शक्तिको विजयले नेपालका शुभचिन्तक मुलुकलाई प्रसन्न बनाएको र यसले वैदेशिक लगानी वृद्धिको सम्भावना बढाएको छ । मित्रराष्ट्रहरूले अब नेपालमा लोकतान्त्रिक संविधान बन्ने, शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त हुने विश्वास गरेका छन् । चुनाव परिणामले नेपाली अर्थतन्त्रमा सुधारका सङ्केतहरू देखाउन पनि थालिसकेको छ । यसपटकको निर्वाचनमा काङ्गे्रस प्रमुख शक्ति बन्ने र एमाओवादी सबभन्दा बढी क्षति व्यहोर्दै तेस्रो स्थानमा पुग्ने अनुमान राजनीतिक विश्लेषकहरूले केही साता अघिदेखि नै गरेका थिए । त्यस्तै कमल थापा नेतृत्वको राप्रपा नेपाल समानुपातिकतर्फ करिब तीन दर्जन स्थान हात पारेर चौथो शक्तिका रूपमा उदाउने अपेक्षा र अनुमान पनि गरिएको थियो । तर, पूर्वानुमान गरिएभन्दा एमाओवादी धेरै नै कमजोर देखियो भने एमालेले अनपेक्षित उपलब्धि हासिल ग¥यो । तर, राप्रपा नेपालले चाहिँ पूर्वानुमान गरिएजति उपलब्धि गर्न सकेन । अखण्ड नेपाल, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि अपेक्षा गरिएजस्तो परिणाम ल्याउन सकेनन् । चुनाव परिणामले काङ्गे्रसलाई पहिलो, एमालेलाई दोस्रो र एमाओवादीलाई तेस्रो शक्तिका रूपमा स्थापित गरिदिएको छ । पहिलो संविधानसभा निर्वाचन परिणामले कम्युनिस्टहरूलाई बलवान बनाएपछि नेपालप्रति विकसित एवम् समृद्ध मुलुकहरूको धारणा बदलिएको थियो । जनताले परम्परावादी कम्युनिस्टहरूलाई अस्वीकार गरेपछि नेपालप्रतिको अन्तर्राष्ट्रिय धारणामा सकारात्मक परिवर्तन आएको र यसबाट नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्री को ?
काङ्गे्रसको नेतृत्वमा सरकार गठन हुने निश्चित भए पनि काङ्गे्रसका तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयचाहिँ अझै स्पष्ट हुन सकेको छैन । सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीचको सम्भावित टक्करको परिणामबारे अहिले नै निष्कर्षमा पुग्न सकिने स्थिति छैन । अप्ठ्यारो स्थितिमा प्रधानमन्त्री पदको उम्मेदवार बनेर सत्रपटकसम्म पराजित भइदिन तयार भएकोले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाइनुपर्छ भन्ने तर्क कतिपय काङ्गे्रस नेताहरूको छ । स्वयम् रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको जिम्मेवारी आफैँले पाउनुपर्नेमा दृढ हुनुहुन्छ । पराजित हुने निश्चित भएका बेलामा आफूलाई उम्मेदवार बनाउने र प्रधानमन्त्री बन्ने निश्चित हुँदाचाहिँ अरू–अरू नै अघि सर्ने कुराले नेता पौडेललाई दु:खी बनाएको छ । पौडेलका तर्क र अभिव्यक्ति जायज भए पनि भावी प्रधानमन्त्रीको टुङ्गो काङ्गे्रस संसदीय दलको बैठकले लगाउने निश्चित छ । विजयी सभासद्हरूमध्ये अभिकांश कोइराला या देउवाका समर्थक भएकोले दुईमध्ये एक संसदीय दलको नेता बन्ने विश्वास गरिन्छ । काङ्गे्रसमा प्रत्यक्षतर्फ विजयी सभासद् (१०५) मध्ये करिब चार दर्जन शेरबहादुर देउवा पक्षका रहेको बताइन्छ । खुमबहादुर खड्काको साथ देउवालाई भएको अवस्थामा प्रत्यक्षतर्फको ‘बहुमत’ देउवाको पक्षमा हुने देखिन्छ । पार्टीभित्र आफ्नो बेग्लै टिम बनाउन नसक्ने या नचाहने नेता रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउन पहिले कोइराला पक्षले सघाएको हो । तर, यसपालि सुशील कोइराला आफैँ प्रधानमन्त्री बन्न इच्छुक भएकोले उहाँको समर्थन रामचन्द्र पौडेललाई प्राप्त हुन मुस्किल छ । त्यस्तो अवस्थामा ‘स्वतन्त्र’ लडेर पौडेल संसदीय दलको नेता बन्न कठिन मानिन्छ । यद्यपि कसलाई दलको नेता बनाउने भन्ने विषयमा पौडेलको भूमिका निर्णायक बन्नेचाहिँ निश्चित छ । कोइराला र देउवाबीच सहमति नभई प्रतिस्पर्धाको स्थिति बनेमा पौडेलको समर्थन जसलाई हुन्छ उही संसदीय दलको नेता बन्न सक्नेछन् । तीन शीर्षस्थ नेताहरूबीच टक्करको स्थिति रहेमा नयाँ पुस्ताका कुनै नेतालाई दलको नेता र प्रधानमन्त्री बनाइनुपर्छ भन्ने आवाज पनि सशक्त छ । नयाँ पुस्ताबाट डा. रामशरण महत र महामन्त्री प्रकाशमान सिंहलाई सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएको छ । लामो समय अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव र वैचारिक स्पष्टता एवम् राजनीतिक अडानमा दृढ डा. महतलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दा त्यसको सकारात्मक सन्देश जाने ठम्याइ काङ्गे्रसभित्र धेरैको छ । त्यस्तै प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नु उपयुक्त हुने मत पनि बलवान देखिन्छ । तर, तत्कालको स्थितिचाहिँ सुशील कोइराला र शेरबहादुर देउवामध्ये एक संसदीय दलको नेता तथा प्रधानमन्त्री बन्ने छ । कोइराला र देउवामध्ये जसलाई रामचन्द्र पौडेलले समर्थन दिनुहुन्छ उही व्यक्ति संसदीय दलको नेता बन्ने भएकोले पौडेलको मन जित्न दुवै नेताले प्रयास गर्ने स्थिति छ । हालसम्म पौडेलको साथ सुशील कोइरालालाई रहँदै आएको छ । यदि कोइरालाले ‘विश्वासघात’ गरेको ‘इम्पे्रसन’ पौडेललाई प¥यो भने पौडेल देउवाको पक्षमा उभिन पनि सम्भव मानिएको छ । तर, कोइरालाले पार्टीको कार्यवाहक सभापति पौडेललाई बनाएको अवस्थामा भने उहाँको समर्थन कोइरालातिरै हुने देखिन्छ । समानुपातिकतर्फ साठी प्रतिशत उम्मेदवार कोइरालाको र चालीस प्रतिशत मात्र देउवाको रहेकोले दुई नेताबीच चुनावी प्रतिस्पर्धा भएमा कोइराला नै विजयी बन्नुहुने सम्भावना छ । तर, राजनीतिक चालबाजीमा कोइरालाभन्दा देउवा अगाडि रहनुभएकोले देउवाले नै बाजी मार्ने सम्भावनालाई पनि इन्कार गर्न सकिन्न ।

ठूला टाढिएपछि सानासँग सहकार्य !
संविधानसभा निर्वाचनबाट तेस्रो दल बनेको एकीकृत नेकपा माओवादीले साना दलका नेताहरूसँगको संवादलाई तीव्रता दिएको छ । उसले मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीको सल्लाहअनुसार नै साना दलका नेताहरूसँगको संवादलाई अघि बढाएको हो । संविधानसभामा सहभागी हुँदा या नहुँदा पनि आफ्नो प्रतिनिधित्व बलियो बनाउन भन्दै उसले साना दलहरूसँगको संवादलाई अघि बढाएको एमाओवादीका एक नेताले जानकारी दिए । एमाओवादी केन्द्रीय कमिटी बैठकले पनि साना दलका नेताहरूसँगको वार्तालाई अघि बढाउने र यसको जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई दिएको थियो । सोहीअनुसार उनीहरूले माओवादीका अध्यक्ष मोहन वैद्यलगायत तोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी पार्टीका नेताहरूसँग बेग्लाबेग्लै भेट गरिसकेका छन् । भेट संविधानसभाको निर्वाचन परिणाम तथा आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा केन्द्रित थियो । आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा पार्टी नेतृत्वले अन्य दलहरूसँगको संवादलाई अघि बढाएको एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले भने, ‘सबैसँगको छलफलपछि पार्टी कसरी अघि बढ्ने भन्नेमा छलफल केन्द्रित छ ।’
एमाओवादीले यसअघि निर्वाचनमा पराजय भएका साना दलका नेताहरूसँग सामूहिक छलफल गरिसकेको छ । सामूहिक छलफलमा उठेका विषयवस्तुमाथि पार्टीको आधिकारिक धारणा बनाई दलका नेताहरूसँग एमाओवादीले छुट्टाछुट्टै छलफल अघि बढाएको हो । एमाओवादी निर्वाचनमा पराजय व्यहोरेका सङ्घीय समाजवादीका अध्यक्ष अशोक राई, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायत दश साना दलका नेताहरूसँग संयुक्त बैठकमा बसेको थियो । सोमबार बसेको संयुक्त बैठकले संविधानसभा निर्वाचनको परिणाम धाँधलीपूर्ण भएको भन्दै उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको थियो । बैठकले निर्वाचन धाँधलीपूर्ण भएको प्रमाणसहित बुधबार निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
स्रोतका अनुसार एमाओवादीले मोहन वैद्यले नेतृत्व गरेको पार्टीसँग संवाद र छलफल प्रक्रियालाई पहिलो प्राथमिकतामा राखेको छ । माओवादीसँगको संवाद सफल भए संविधानसभाभित्र वा बाहिर जहाँ रहँदा पनि आफ्नो प्रभाव र पार्टीले उठाएका एजेण्डाले स्थान पाउने उनीहरूको ठहर छ । त्यसैले चुनावको पूर्ण नतिजा नआउँदै उनीहरूले नेकपा–माओवादीका अध्यक्ष वैद्य तथा अन्य नेताहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भेटी संवादका प्रक्रिया अघि बढाएका हुन् । दुई माओवादीबीच गत आइतबार ललितपुरस्थित कृष्णबहादुर महरानिवासमा भेटवार्ता भएको थियो । भेटमा एमाओवादीका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई र कृष्णबहादुर महरा सहभागी थिए भने वैद्य माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा बादल र सचिव देव गुरुङको सहभागिता रहेको थियो ।
सचिव गुरुङका अनुसार भेटमा अध्यक्ष प्रचण्डले संविधानसभामा सहभागी हुने–नहुनेबारेमा वैद्यसँग छलफल गरेका छन् । प्रचण्डको भनाइ उद्धृत गर्दै गुरुङले भने, ‘यो संविधानसभाबाट जनताका एजेण्डा स्थापित गर्न सकिने सम्भावना देखिएन, यो कसैको डिजाइनका आधारमा चुनाव भएको रहेछ, त्यसैले अब एक भएर हाम्रा एजेण्डा स्थापित गर्नुप¥यो ।’ छलफलमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारप्रमुख बनाउनु कमजोरी भएको र त्यहीँबाट एमाओवादीलाई एक्ल्याउन सुरु भएको निष्कर्ष निकालिएको थियो । छलफलमा निर्वाचनको पुनरावलोकनको माग गर्दै देशव्यापी आवाज उठाउने र सङ्घर्ष गर्ने एमाओवादी नेताहरूले वचन दिएको गुरुङले जानकारी दिए । यसका लागि चुनावमा पराजय भएका सबै दललाई समेट्ने जानकारी प्रचण्डले गराएका थिए ।

भोटसँगै सभासद्लाई चोटिलो चिठी
‘संविधान नलेख्ने भए रुमालले मुख छोपेर घरमै बस्नु’
अघिल्लो संविधानसभाका सभासद्हरूलाई विभिन्न जिल्लाका व्यक्ति, समूह, सङ्घ–संस्थाहरूले कहिले कलम, डायरी त कहिले चस्मा कोसेलीको रूपमा पठाएका थिए । यसपटकको संविधानसभा निर्वाचनमा लमजुङका मतदाताले नेताहरूलाई प्रत्यक्ष भेटेर संविधान निर्माण गर्न सुझाव मात्रै दिएनन्, आफ्नो अमूल्य मतसँगै मतपेटिकामा चिठीको खोस्टो पनि खसालेर संविधान निर्माणमा ध्यान दिन आग्रह गरेका छन् । लमजुङ क्षेत्र नम्बर १ ताघ्रिङ गाउँ विकास समिति वडा नम्बर १, जगतको सरस्वती निमावि मतदान केन्द्रको मतपेटिकामा एक मतदाताले आफ्नो मतसँगै चिठी पनि खसालेका भेटिएको छ । मतपेटिका खोल्ने क्रममा भेटिएको सो चिठीबारे राप्रपा लमजुङका युवा सङ्गठनका अध्यक्ष सुमन गुरुङले सञ्चारकर्मीलाई जानकारी गराएका हुन् ।
लमजुङ निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचित हुने संविधानसभा सदस्यलाई एक मतदाताले मतपेटिकामै चिठी खसालेर जनताको संविधान बनाउन नवनिर्वाचित हुने सभासद्हरूलाई आग्रह गरेका छन् । कुनै पनि परिचय र ठेगाना उल्लेख नगरिएको सो पत्र दोस्रो संविधानसभा निर्वाचन शीर्षकमा लेखिएको छ । संविधानसभा सदस्य नमस्कार भनी सम्बोधन गरी लेखिएको यो चिठी जम्मा ८ हरफको मात्रै रहेको छ । ती मतदाताले पहिलो संविधानसभामा कमजोरी भई संविधान नबनेकाले यसपटक बन्नेमा जनता विश्वस्त रहेको सो चिठीमा लेखेका छन् । चिठीमा ती मतदाताले, संविधानसभाका सदस्यलाई नमस्कार । संविधानसभा निर्वाचित योग्य उम्मेदवारलाई जनताले संविधान निर्माण पक्का हुन्छ भनी विश्वास राखेका होलान् । जनता विश्वास पक्का दिनेछ । ती मतदाताले चिठीमा, अघिल्लोे निर्वाचनमा कुनै कमजोरी भएकोले संविधान नभएको देखिन्छ । २०७०/८/४ निर्वाचनमा पक्का निर्वाचन भई संविधान कानुन पक्का हुनेछ तर नेताहरूले यदि संविधान बनाउन सकेनन् भने नेताहरू रुमालले मुख छोपी घरै बस्नु’ भनेर पत्रमा लेखिएको छ । एक जुगमा एकपटक आउने भनिएको संविधानसभा निर्वाचन नेपालमा दुईपटक भएको छ । माओवादी जनयुद्ध, ०६२/६३ को जनआन्दोलन, मधेस आन्दोलनलगायतका कारणले ०६४ साल चैत २८ मा पहिलोपटक संविधानसभा निर्वाचन सम्पन्न भयो । नेपाली जनताद्वारा नै संविधान निर्माणको पक्षमा २००७ सालमै आवाज उठे पनि त्यसले मूर्तरूप लिन सकेन जसका कारण देशले द्वन्द्व र आन्दोलन मात्रै भोगेन हजारौँको बलिदानी पनि भोग्नुप¥यो । निकै कठिनका साथ प्राप्त संविधानसभाले संविधान दिन नसकेपछि निराश बनेका जनता पुन: भएको संविधानसभाले संविधान दिन सक्ला कि नसक्ला भन्नेमा अन्योलमा परेका छन् ।
१४ उम्मेदवारको जमानत जफत
संविधानसभा सदस्य निर्वाचनमा खसेको मतको १० प्रतिशत पनि सदर मत प्राप्त गर्न नसक्दा लमजुङमा रहेका १४ उम्मेदवारको धरौटी जफत भएको छ । पहिलो हुने निर्वाचन प्रणालीको उम्मेदवारी दर्ता गराउँदा तीन हजार धरौटी राखेका साना दलका सबै उम्मेदवारको धरौटी जफत भएको हो । कुनै पनि उम्मेदवारले आफ्नो धरौटी बचाउनका लागि खसेको मतको १० प्रतिशत सदर मत प्राप्त गर्नुपर्ने हुन्छ । तर, जिल्लामा रहेका साना दलका १४ उम्मेदवारले भने धरौटी बचाउन नसकेको निर्वाचनमा प्राप्त गरेको मतले देखाएको छ । ०५६ को निर्वाचनमा पाँच हजारभन्दा बढी मत ल्याएका राप्रपाका हेमजंग गुरुङले यसपटक जित्ने दाबी गरे पनि धरौटी बचाउन सकेनन् । राप्रपाका उम्मेदवारको यसअघि ०६४ को संविधानसभा निर्वाचनमा पनि धरौटी जफत भएको थियो ।
आफू उम्मेदवार हुँदा राखेको धरौटी बचाउन नसक्नेमा राप्रपा नेपाल, राप्रपा, सङ्घीय गणतान्त्रिक समाजवादी, सङ्घीय समाजवादी, नेकपा माले, अखण्ड नेपाल, परिवार दल, जनप्रजातान्त्रिक पार्टी र स्वतन्त्र गरी १४ उम्मेदवारले धरौटी बचाउन नसकेका हुन् । निर्वाचनको मुखैमा आएर सङ्घीय गणतान्त्रिक समाजवादी पार्टीका क्षेत्र नम्बर २ का उम्मेदवार गमबहादुर तामाङको उम्मेदवारी नै खारेज भएर धरौटी जफत भयो भने अन्य उम्मेदवारहरूले धरौटी बचाउने मत प्राप्त गर्न नसकेका हुन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा साना दलहरूमा राप्रपाका हेमजंग गुरुङले दुई हजार दुई सय ५३, नेकपा मालेका रामकाजी दुतराजले आठ सय ३५, राप्रपा नेपालका शंकरराज विष्टले एक सय ८१, अखण्ड नेपालका रामबहादुर रानाभाटले एक सय २४, सङ्घीय गणतान्त्रिक समाजवादीका गिरबहादुर तामाङले एक सय २३, सङ्घीय समाजवादीका पृथ्वीमान घलेले एक सय २१ र स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद ओझाले २२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै क्षेत्र नम्बर २ मा सङ्घीय समाजवादीका खेमजंग गुरुङले तीन सय ६, राप्रपाका चतुर्भुज घिमिरेले दुई सय ५०, राप्रपा नेपालका रामबहादुर थापाले दुई सय ३१, अखण्ड नेपालका गोपालबहादुर कुँवरले एक सय ३१, जन प्रजातान्त्रिक पार्टीका आनन्द परियारले ६३ र परिवार दलका दानबहादुर गुरुङले ६३ मत प्राप्त गरेका थिए ।
– छविलाल बगाले

लोडसेडिङ घटाउन भारतले सघाउने
हिउँदमा लोडसेडिङलाई १२ घन्टामा सीमित गर्ने योजना गरिरहेको नेपाल विद्युत् प्राधिकरणलाई सघाउन छिमेकी मित्रराष्ट्र भारतले दुई सय ४० मेगावाट बिजुली प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा प्राधिकरण र भारतको नर्थ बिहार स्टेट इलेक्ट्रिसिटी कम्पनी लिमिटेडबीच खरिद सम्झौता भएको छ । भारतबाट गत वर्ष एक सय ७० मेगावाटसम्म विद्युत् आयात भएकोमा यस वर्ष थप ७० मेगावाट आयात गरेर लोडसेडिङलाई १२ घन्टामा राख्ने योजनाअनुरूप यस्तो सम्झौता गरिएको प्राधिकरणले जनाएको छ । प्रसारणलाइन क्षमता बढाउन नसक्दा भारत सहयोग गर्न तयार भए पनि नेपालले बिजुली आयात गर्न नसकेको परिवेशबीच कटैया–कुसाह १३२ केभी प्रसारणलाइनको क्षमता बढाएपछि थप ४० र बाँकी अन्य नाकाबाट भारतले उपलब्ध गराउने बिजुली आयात हुने प्राधिकरणका एक उच्चाधिकारीले बताए । कटैया–कुसाहअन्तर्गत भारततर्फ तीन किलोमिटर लामो प्रसारणलाइनमा तार फेर्ने तयारी प्राधिकरणले गरेको छ । प्रसारणलाइन क्षमता बढाउन भारतको विदेश मन्त्रालयले अनुमति दिइसकेको बुझिएको छ । नेपालतर्फ भने १२ किलोमिटर लामो प्रसारणलाइनको तार फेरेर क्षमता बढाउने काम सकिएको बताइएको छ ।
प्राधिकरणले हाल एक सय २० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ भने बिहार, उत्तरप्रदेश र पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया (पीटीसी)बाट विद्युत् खरिद गर्दै आएको छ । महाकाली सन्धिअनुुसार टनकपुर आयोजनाबाट नेपालले वार्षिक सात करोड युनिट बिजुली नि:शुल्क पाउँदै आएको छ ।

‘कन्भर्सेसन्स’मा स्रष्टा बराल
भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको आयोजनामा गत सोमबार ‘कन्भर्सेसन्स’को एघारौँ शृङ्खला सम्पन्न भएको छ । नेपाल वायुसेवा भवनस्थित नेपाल–भारत पुस्तकालयमा आयोजित सो कार्यक्रमको सञ्चालन गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका प्राध्यापक एवम् समालोचक तथा साहित्यकार डा. नेत्र एटमले प्रसिद्ध गीतकार, समीक्षक एवम् नेपाली साहित्यका बहुआयामिक सर्जक डा. कृष्णहरि बरालको व्यक्तित्व तथा कृतित्वबारे सारगर्वित मन्तव्य दिनुभयो । समालोचक एटमले गीतकार प्राध्यापक बराललाई नेपाली लेखन क्षेत्रका सीमित सशक्त सर्जकमध्येका एक व्यक्तित्वका रूपमा चित्रित गर्दै उहाँको गीत सरल एवम् रोमान्टिक हुनुका साथै सामाजिक तथा राजनीतिक रूपान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने कोटिका रहेको उल्लेख गर्नुभयो । बरालका रचनामा देखिने विविधताको चर्चा गर्दै एटमले उहाँद्वारा रचित कतिपय गजलका हरफसमेत उपस्थित श्रोतासमक्ष प्रस्तुत गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा मुख्य अतिथि डा. बरालले आफूलाई मायाप्रेमको गीत लेख्दा सहज महसुस हुने बताउँदै आत्मसन्तुष्टिका लागि लेखेका र व्यावसायिक कोणबाट लेखाइएका रचनामा फरकपन रहने उल्लेख गरे । आफूले यी दुवै हिसाबबाट गीत–गजल सिर्जना गर्ने गरेको उहाँको भनाइ थियो । कतिपय व्यक्तिले जीवनमा आफूले भोगेका वियोग र व्यथा सुनाउँदै गीत लेखिदिन आग्रह गर्ने गरेका र त्यतिबेला आफूलाई असहज महसुस हुने पनि सर्जक बरालले श्रोतासमक्ष सेयर गर्नुभयो । विम्बलाई पात्रको चरित्रअनुसार ढाल्न सकियो भने मन छुने सिर्जनाको जन्म हुने बताएका बरालले फिल्मी गीत लेखनमा आफूलाई बलिवुडको प्रभाव परेको पनि स्वीकार गर्नुभयो ।
अन्तरक्रियाको अन्त्यमा दूतावासका कन्सुलर एवम् बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले अन्तरक्रियामा पाहुनाहरूको सहभागिताले आफूलाई खुसी तुल्याएको अभिव्यक्तिका साथ मायाको चिनो प्रदान गर्नुभएको थियो । भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानद्वारा नियमित आयोजना हुँदै आएको ‘भ्वाइसेस’को सातौँ शृङ्खलामा आगामी बिहीबार विश्व सुन्दरी प्रतियोगितामा समेत सहभागिता जनाइसकेकी मिस नेपाल इशानी श्रेष्ठ उपस्थित हुने जानकारी पनि कार्यक्रममा दिइयो ।

काङ्ग्रेसी अन्तर्घातीमाथि कारबाहीको तयारी
धनकुटा/ नेपाली काङ्ग्रेस धनकुटाको प्रचारप्रसार समितिको बैठकले निर्वाचनमा अन्तर्घात गरी पार्टीका उम्मेदवारलाई पराजित तुल्याउन भूमिका निर्वाह गर्ने नेता तथा कार्यकर्तालाई कारबाहीको सिफारिस गरिने निर्णय गरेको छ । अन्तर्घातीहरूको छानबिन गरी नामावली सार्वजनिक गर्ने निर्णय बैठकले गरेको हो ।
मुलुकभर नेपाली काङ्ग्रेसको पक्षमा जनलहर आउँदा धनकुटाका दुवै क्षेत्रमा अन्तर्घात भएकोले दुवै निर्वाचन क्षेत्रमा नराम्रोसँग पराजय भोग्नुपरेको निष्कर्ष निकाल्दै नेपाली काङ्ग्रेस धनकुटाको प्रचारप्रसार समितिको बैठकले निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्न केन्द्रमा सिफारिस गर्नुका साथै अन्तर्घातीहरूको नाम सार्वजनिक गर्ने निर्णय गरेको नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष खगेन्द्र घिमिरेले जानकारी दिए । धनकुटा काङ्ग्रेसका प्रचारप्रसार समितिका प्रमुख विजयसन्तोषी राईको सभापतित्वमा सम्पन्न समीक्षा बैठकमा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष महोन बान्तवा, समानुपातिक उम्मेदवार अञ्जना ताम्ली, नेपाल प्रेस युनियनका पदाधिकारीहरू र प्रचार विभागका सदस्य एवम् सल्लाहकारहरूले पार्टीलाई निर्वाचनमा असहयोग गर्नेहरूलाई कारबाही गरी पार्टीलाई शुद्धीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
यसैबीच नेकपा एमाले परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका पत्रकार नगेन्द्र राईलाई नेपाली काङ्ग्रेस धनकुटाको प्रचार विभाग सदस्यमा मनोनयन गरिएको छ । एमाले धनकुटाका प्रचार विभाग सदस्य रहेका पत्रकार राईलाई नेपाल प्रेस युनियनको सदस्यता प्रदान गरी नेपाली काङ्ग्रेसको प्रचार विभाग सदस्यमा मनोनयन गरिएको नेपाली काङ्ग्रेस प्रचार विभाग धनकुटाले जनाएको छ ।

ज्युँदा सहिद रहेनन्
काङ्ग्रेसभित्र जिउँदा सहिदका रूपमा चर्चित अरबिन्द ठाकुरको निधन भएको छ । ढाडको समस्याबाट पीडित ठाकुरको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा गत आइतबार निधन भएको हो । दिवंगत ठाकुरका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनभर सक्रिय स्वर्गीय ठाकुर ०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्र अपदस्थ गरेपछि पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्षको मैदानमा होमिनुभएको थियो । ०१८ साल माघ ९ गते तत्कालीन राजा महेन्द्रको जनकपुर भ्रमणका समयमा राजाको भ्रमणको विरोध गर्दै प्रदर्शनमा रहेका स्वर्गीय ठाकुर जनकपुर बमकाण्डको घटनाको कसुरदारीको आरोपमा जनकपुर एयरपोर्टमै पक्राउ पर्नुभएको थियो । तत्कालीन पञ्चायती व्यवस्थाले राजकाज मुद्दाअन्तर्गत फाँसीको सजाय सुनाए पनि पछि उहाँलाई आजीवन काराबासको सजाय दिने निर्णय गरेको थियो । चरम शारीरिक यातना दिई जेलमा राखिएका अरबिन्द ठाकुर ०३४ मा रिहा हुनुभएको थियो । स्वर्गीय ठाकुरलाई ०५६ सालमा नेपाली काङ्ग्रेसले राष्ट्रिय सभाको सदस्य बनाएको थियो भने यस वर्षको बीपीजयन्तीको अवसरमा बीपी सङ्ग्रहालयले उहाँलाई ‘बीपी राजनीतिक पुरस्कार’ प्रदान गरेको थियो । एक लाख राशिको उक्त पुरस्कार पाई सम्मानित हुने उहाँ पहिलो राजनीतिकर्मी हुनुहुन्छ । ज्युँदा सहिद ठाकुरको निधनप्रति नेपाली काङ्ग्रेसले गहिरो दु:ख प्रकट गरेको छ ।