चालु आर्थिक बर्षमा ७ सय ३७ मेगावाट विद्युत थपिने

चालु आर्थिक बर्षमा ७ सय ३७ मेगावाट विद्युत थपिने


विद्युुत केन्द्रीय प्रणालीमा चालु आर्थिक बर्षमा मात्रै ७ सय ३७ मेगावाट विद्युत थपिने प्रक्षेपण गरिएको छ । सरकारी र नीजि क्षेत्रका आयोजनाहरु निर्माणको अन्तिम चरणमा पुुगेकोले नेपाल विद्युत प्राधिकरणले यस्तो तथ्यांक निकालेको हो ।

विद्युत प्राधिकरणका अनुसार राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निर्माणको विभिन्न चरणमा रहेका १७ आयोजना यसै वर्ष पूरा हुँदैछन् ।

प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले माथिल्लो तामाकोसी, ४० मेगावाटको खानी खोला१, २७ मेगावाटको दोर्दी खोला, २३.५ मेगावाटको सोलु खोला, २२.२ मेगावाटको माथिल्लो चाकुबाट विद्युत उत्पादन हुने बताए । उनका अनुसार माथिल्लो तामाकोसीबाट आगामी पुसमा विद्युत उत्पादन सुरु गर्ने तयारी छ । यस्तै, २२ मेगावाटको बागमती, २५ मेगावाटको दोर्दी ‘ए’, २५ मेगावाटको काबेली बि–१, २२ मेगावाटको तल्लो हेवा, २० मेगावाटको तल्लो मोदी र ८ मेगावाटको माथिल्लो नौगाडले पनि चालू आवमा उत्पादन थाल्ने आयोजना हुन् ।

निर्मणको अन्तिम चरणमा पुगेका ८.८ मेगावाटको रुदी खोला ‘ए’ ९.९ मेगावाटको इवा खोला, ३.३ मेगावाटको गेलुङ खोला र ३.३३ मेगावाटको कापडीगाड यसै वर्ष पूरा हुँदैछन् । ६.४२ मेगावाटको माथिल्लो मैलुङ, १४.८ मेगावाटको माथिल्लो साञ्जेन राष्ट्रिय प्रसारणमा जोडिने भएका छन् । यी आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि विद्युतको माग व्यवस्थापन सहज भई भारतमाथिको परनिर्भरता घट्ने प्राधिकरणको दाबी छ ।

प्राधिकरणसँग पिपिए (विद्युत खरिद सम्झौता) भएका २३ सय ५६ मेगावाटका १ सय ७ आयोजना निर्माणाधीन छन् । १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी, ८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, ५२ मेगावाटको लिखु –५, ४२ मेगावाटको मिस्ट्री खोला, ११ मेगावाटको नर्माजुन मादी, ३० मेगावाटको खानी खोला प्रमुख निर्माणाधीन आयोजना हुन् ।

प्राधिकरणका प्रवक्ता अधिकारीले पिपिए गरेका २३ सय ५६ मेगावाटका स्वदेशी लगानीमा निजी क्षेत्र र प्राधिकरणका सहायक कम्पनीले अघि बढाएका १ सय ७ आयोजना निर्माणाधीन रहेको बताउ । उनका अनुसार यो सँगै अन्य १ हजार ६ सय ५८ मेगावाटका आयोजना पिपिए भई निर्माणको तयारीमा रहेका छन् ।