चिना हराएको मान्छेस‘ग हराउ‘दा…

चिना हराएको मान्छेस‘ग हराउ‘दा…


bichar– भरत कोइराला
‘चिना हराएको मान्छे’ प्रख्यात हास्यकलाकारका रूपमा नेपालभित्र मात्र नभई संसारभर रहेका अधिकांश नेपालीले जानेका, सुनेका, बुझेका र चिनेका व्यक्तिको कृति प्रकाशित भएको समाचार सुन्ने व्यक्ति कसलाई त्यो किताब पढ्ने मन नलाग्ला र ? मलाई पनि त्यस्तै नहुने कुरै भएन । त्यसमाथि मभन्दा अघि नै पढ्ने केही मित्रहरूले तेरो नाम–प्रसङ्ग पनि त्यो किताबभित्र रहेछ भनिदिएकाले खुल्दुली लागिरहेकै थियो । हरिवंशजीले सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीसँगको प्रसङ्गलाई लिएर मलाई ‘कोट’ गर्नुभएको सन्दर्भ रहेछ त्यो ।
किताब हात परेपछि सकाउन आधा दिन पनि लागेन । पढ्दै जाँदा १२ देखि १५ पटकसम्म एक्लै मरिमरी हाँसेँ हु‘ला ठाउँठाउँमा । त्यसरी नै उहाँको बाल्यकाल गुजारेका दिन र समय तथा उहाँले पाएका दु:खका कथा र व्यथा पढ्दा मन अमिलो, आफँैलाई परेकोजस्तो ठान्दै किताबका पाना पल्टाउँदै अघि बढ्थेँ । किताबको अन्ततिर पुग्दा त घरिघरि आफ्नै आँखामा आँसु भरिन्थ्यो भने घरिघरि त बाहिरै आउँथ्यो ।
कलाकारले अभिनय गर्छ, अभिनय गरेरै उसले अरूलाई पेट मिचिमिची ह‘साउन सक्दछ मात्र होइन, आफ्नो पेसामा ऊ सफल कलाकार भएर पनि समाजमा बाँच्न सफल भएको हामी देखेका–भोगेका छौँ । हरिवंश आचार्य मैले जानेदेखि नै मदनकृष्ण श्रेष्ठसहित गाउँखाने कथा अथवा चुट्किला सुनाएर हराउने मात्र नभई समाजमा देखिने–सुनिनेदेखि शासन–प्रशासनबाट भएको अत्याय–अत्याचार, थिचोमिचोमाथि कसिलो र चोटिलो रूपले व्यङ्ग प्रहार गर्ने व्यक्ति हुनुहुन्छ ।
आफ्नो आजसम्मको जीवनका यात्रा दिनहरूमा त्यतिबिघ्न दु:खका दिनहरू उहाँमाथि आइलागेका रहेछन् कि त्यस्तो मानिसको कस्तो सोचाइ र कति ठूलो छाती होला जसले आफ्नो मन–मुटुभित्र दु:ख, पीर र चोट हुँदाहुँदै पनि बाहिर दर्शकलाई पेट मिचिमिची हसाउन सक्ने क्षमता । कतिपय यसरी नै ठूलाबडा भएका वा हुन पुगेका व्यक्तिहरूले आफ्ना विगतका कमी–कमजोरी, आफ्नो दु:खका क्षणहरू प्राय: लुकाउने गरेको मैले सक्रिय पत्रकारिता गर्दाका बखत त्यस्ता ठूलाबडाहरूसँग अन्तर्वार्ता लिने क्रममा बुझेको थिएँ । तर, हरिवंशजीले आफ्नो जीवनमा घटेका त्यस्ता घटनादेखि लिएर अल्लारे जोवनमा गरेका गल्तीहरू नढाँटी, नलुकाई प्रस्तुत गरेको देख्दा पर्दामा जेसुकै अभिनय गरे पनि व्यवहारमा यथार्थवादी व्यक्तिको रूपमा अघि बढेको पाएँ । प्रस्तुत किताबबाट मलाई पनि धेरै कुराको जानकारी लिने मौका मिल्यो । हुन त उहाँका प्राय: सबैजसो प्रस्तुतिहरू मैले कतिपय हेरेर र कतिपय सुनेर जान्ने मौका पाएको थिएँ । तर, यो किताब पढेपछि त उहाँका आफन्त, छरछिमेकी, इष्टमित्र, नातागोता, घरपरिवार सबैको जानकारी अर्थात् कलाकारको व्यक्तित्व र हामीजस्तै घरपरिवारको व्यक्तिमा कति अन्तर रहेछ भन्ने कुरा पनि किताब पढ्ने जोसुकैले बुझ्न सकिने रहेछ ।
कुनै पनि घटना वा प्रस्तुतिलाई हामी सोझो भाषामा भन्छौँ वा लेख्छौँ भने उहाँले त्यही कुरा वा विषयमा पनि हास्यव्यङ्ग्यात्मक शैलीमा किताबको विभिन्न ठाउँमा प्रस्तुत गरेको पाउँदा हरिवंश हास्यकलाकार मात्र नभई हास्य व्यक्ति, हास्य लेखक पनि हुनुहँुदोरहेछ । मह दुवैले पञ्चायतविरुद्धको आन्दोलन होस् वा निरङ्कुश राजाशाहीविरुद्धको आन्दोलन सबैमा सक्रिय सहभागी भई योगदान पु¥याएको पाइए तापनि कुनै एक पार्टी वा व्यक्ति (नेता)को पछि लागेको कतै सुनिएको पनि थिएन र किताबमा पढ्न पनि पाइएन । एक ठाउँमा उहाँले लेख्नुभएको रहेछ कि पञ्चायतमा दश खाए भने बहुदलमा सय त गणतन्त्रमा हजार खाए । जसले खाए, तिनले पचाए । कसले हिसाब भाग्ने ? हिसाब माग्नेले पनि खाए, हिसाब बुझाउनेले पनि खाए । दुवै मिलेर खाएपछि कसले समाउने ? पुस्तकमा हरिवंशजीको व्यक्तिगत, हास्यव्यङ्गसँग सम्बन्धित मात्र नभएर ०४६ सालदेखि आजसम्मकै राजनीतिभित्र नेताहरूले गरेको विकृति पनि चाखलाग्दो रूपमा ठाउँठाउँमा प्रस्तुत गरिएको रहेछ । हुन त राजनीतिबाट अलग रहेर महले प्रस्तुत गरेका कार्यक्रम आधाजसो छन् होला भने आधाजसोचाहिँ राजनीति घुसाएकै भेटिन्छन् । तसर्थ प्रस्तुत पुस्तक पढ्दा राजनीतिभित्रका विसङ्गतिका कुरा पनि पढ्न पाइँदो रहेछ ।
महका प्रायजसो प्रहसन वा टेलिशृङ्खलामा राखिएको व्यङ्ग्यात्मक मनोरञ्जनका साथै सन्देश पनि पाइन्छन् । शासन–प्रशासनमा बस्नेहरूलाई तीखो व्यङ्ग्यवाण हुन्छ भने शोषितपीडितलाई मनोरञ्जनात्मक व्यङ्ग्यवाण । यतिका वर्षसम्म ‘मह’ सँगै जोडिएर आजसम्म मात्र नभई भविष्यसम्म जोडिएरै अघि बढी यस्तै प्रकारका भोलि घट्ने घटनालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्दै जानु उहाँहरूको विशेषता नै हुन पुगेको छ । महको नयाँ प्रहसन वा टेलिशृङ्खला आयो भने मनोरञ्जनात्मक, व्यङ्ग्यात्मक हास्य कार्यक्रम हेर्न पाइने भयो भनी दर्शकको मनले पहिले सोचाइ बनाइसकेको हुन्छ । देशका विभिन्न ठाउँमा मात्र नभई विदेशका प्रमुख शहरहरू, जहाँ नेपालीको घना बसोबास हुन्छ, त्यहाँसम्म पुगेर आफ्नो कृति प्रदर्शन गर्दै हिँड्न सफल भएका मह जोडीलाई मन नपराउने सायदै कोही होलान् । अचम्म त के देखियो भने जुन नेता वा प्रशासकलाई व्यङ्ग्य गरी बनाइएको कार्यक्रम छ, त्यसले मनमनै मन नपराए तापनि बाहिर भने हाँसेजस्तो गरेर खिस्स दाँत देखाएकै हुन्छ । कार्यक्रमस्थलमा गएर हेर्न नभ्याए पनि घरमै क्यासेट लगेर हेर्छन् नै होला त्यस्ताहरूले ।
पत्नीवियोगको अपूरणीय चोटपछि उहाँले आफ्नी श्रीमती मीराका बारेमा लेख्नुभएका कतिपय दैनिकी, घटना र संवादले एक–अर्काबीच कति गहिरो आत्मियता रहेछ भनेर किताबमा झल्काइएको रहेछ । यसै सन्दर्भका एकपटक महजोडीको टोलीसँग सिक्किम गान्तोकको उहाँहरूको कार्यक्रमपश्चात् म पनि सँगै नेपाल फिरेको थियो । बाटोमा उहाँले मलाई भन्नुभएको थियो– ‘मेरी श्रीमतीले घरमा धेरै लुगा धुने काममा दु:ख पाएकी छिन् । हामी सिलगढी हुँदै फिर्ने हुँदा मलाई एउटा वासिङ मेसिन किन्न मद्दत गर्नोस् है भरतजी ।’ मैले ‘भइहाल्छ नि’ भने‘ । त्यसबखत सिलगढी नै मेरो मार्केटिङ गर्ने ठाउँ भएकाले केही व्यापारी पनि चिनजानका थिए । राम्रो र उचित मूल्य तिरेर किन्न सकिन्छ भनेर मैले आश्वस्त तुल्याएको थिएँ । मेरो कुरा सुनेर उहाँ खुसी हुँदै एउटा दु:खबाट श्रीमतीलाई मुक्त गर्न सकिने भइयो भनेर मख्ख पर्नुभएको थियो । गान्तोकबाट हामी यथासमयमै सिलगढीतर्फ लागे पनि बाटोमा हामी चढेको गाडी बिगे्रर दुई/तीन घन्टा नै समय खेर गयो । पछि सिलगढी आइपुग्दा त्यो मेसिन खरिद गर्ने समय नै भएन । कारण चाँडै काँकडभिट्टा आइपुगेर काठमाडौं जाने रात्रिबस उहाँहरूको टिमले भेट्टाउनु थियो । त्यो मसँग गरिएको त्यसबखतको योजना त्यतिखेर अधुरै रहे पनि पछि काठमाडौं आएर पूरा गर्नुभयो नै होला । श्रीमतीले पाउने स–साना दु:खको पनि ख्याल गर्ने हरिवंशजीलाई त्यो वियोगान्तको घटनाले कति मर्माहत बनायो होला, सोच्नै सकिँदैन ।
किताब एकदमै पढ्न लायक छ, रहेछ । अत्यन्त सरल भाषामा लेखिएको मात्र नभई कतिपय ठाउँमा मनोरञ्जन व्यङ्ग्यात्मक शैली घुसाएकाले पढ्न थालेपछि छोड्न मन नलागेको हो । उहाँको एकतिहाइ सक्रिय जीवन जिउनै बाँकी समय भएकाले भविष्यमा यी र यस्तै किताब प्रहसन, टेलिशृङ्खला आदि कृतिहरू पढ्न, जान्न र सुन्न पाउने आशा एवम् विश्वासका साथ प्रहसन, टेलिशृङ्खलाबाट मात्र नभई किताबबाट पनि त्यो मौका प्रदान गर्नुभएकोमा मुरीमुरी धन्यवाद ।