सम्भावित प्रधानमन्त्रीहरू को कति सुरक्षित ?

सम्भावित प्रधानमन्त्रीहरू को कति सुरक्षित ?


othernewsमङ्सिर चार गतेको निर्वाचनपश्चात् प्रधानमन्त्री बन्न सक्ने सम्भावित दश नेताहरूमध्ये चुनावी मैदानमा पाँचजना सर्वाधिक सुरक्षित देखिएका छन् भने बाँकी पाँचमध्ये चार नेताहरूले आफ्नो स्थान सुरक्षित गर्न ठूलै मिहिनेत गर्नुपर्ने अवस्था रहेको पाइएको छ । सम्भावित प्रधानमन्त्रीका रूपमा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र नेता डा. रामशरण महत, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली एवम् एमाओवादीका अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई लिइन्छ । उहाँहरूमध्ये सुशील कोइराला, शेरबहादुर देउवा, डा. रामशरण महत, माधवकुमार नेपाल र केपी शर्मा ओलीको स्थिति सर्वाधिक सुरक्षित देखिएको छ भने रामचन्द्र पौडेलले विद्रोही उम्मेदवारका कारण केही कठिनाइको सामना गर्नुपरेको छ । डा. बाबुराम भट्टराई, झलनाथ खनाल, प्रचण्ड र नारायणकाजी श्रेष्ठको स्थिति अपेक्षाकृत कमजोर मानिएको छ । इलाम र सर्लाहीबाट उम्मेदवारी दिनुभएका झलनाथ खनालले आफ्नो स्थितिमा खासै सुधार ल्याउन सक्नुभएको छैन भने प्रचण्डले काठमाडौं दशमा पराजय व्यहोर्ने निश्चित मानिन्छ । सिरहाको पाँच नम्बर क्षेत्रबाट चुनाव जित्न पनि प्रचण्डले धेरै कडा मिहिनेत गर्नुपर्ने अवस्था छ । बाबुराम भट्टराईले रूपन्देहीमा विष्णु पौडेललाई पराजित गर्ने स्थिति बनाउन अझै सक्नुभएको छैन भने गोरखामा काङ्ग्रेसका किरणबाबु श्रेष्ठले भट्टराईलाई निकै ठूलो टक्कर दिइरहनुभएको छ । नारायणकाजी श्रेष्ठलाई निर्वाचनमा पराजित नै गर्ने नियतले मकवानपुरमा चुनाव लड्न पठाएको ठानिन्छ । श्रेष्ठले पहिलेको अवस्थामा निकै सुधार गरेको भए पनि उहाँको विजय सुनिश्चित हुन अझै सकिरहेको छैन । तनहुँमा लोकप्रिय मानिनुहुने नेता रामचन्द्र पौडेल बागी उम्मेदवार पूर्णबहादुर गुरुङका कारणभन्दा काङ्ग्रेसकै अर्का नेता गोविन्दराज जोशीका कारण सकसमा पर्नुभएको छ । तथापि, थोरै मतान्तरले पौडेल विजयी बन्नुहुने आशा र अनुमान तनहुँवासीले गरेका छन् । शेरबहादुर देउवा कैलाली र डडेलधुराबाट उम्मेदवार बन्नुभएकोमा दुवै जिल्लाबाट उहाँ विजयी बन्नुहुने देखिएको छ । तर, डडेलधुरामा एमाओवादी उम्मेदवारसँग देउवाको मुकाबिला कडा हुने अवस्था छ । काठमाडौं र रौतहटबाट उम्मेदवार बन्नुभएका माधवकुमार नेपाल काठमाडौं क्षेत्र नम्बर दुईमा काङ्ग्रेसले कमजोर उम्मेदवार बनाएका कारण बलियो देखिनुभएको छ । रौतहटमा भने नेपालको स्थिति कमजोर मानिन्छ । चितवन र बाँकेबाट उम्मेदवार बन्नुभएका सुशील कोइरालाले चितवनमा बागी उम्मेदवारको सामना गर्नुपरे पनि अहिलेसम्म उहाँ विजयको नजिक मानिनुहुन्छ भने यसपटक बाँकेबाट पनि कोइराला विजयी बन्नुहुने देखिएको छ । डा. रामशरण महतलाई नुवाकोटको दुई नम्बर क्षेत्रमा सर्वाधिक बलियो उम्मेदवारका रूपमा लिइन्छ । उहाँको मुख्य प्रतिस्पर्धा एमाओदी उम्मेदवारसँग रहेको छ । संविधानसभाको गत निर्वाचनमा झिनो मतान्तरले विजयी बन्नुभएका डा. महत यसपालि एमाओवादी कमजोर भएकोले पनि जित सुनिश्चित गर्ने स्थितिमा हुनुहुन्छ । झापामा केपी ओलीको स्थिति निकै बलियो देखिएको छ । एमाओवादीका गोपाल किराती उम्मेदवार रहेको सात नम्बर क्षेत्रबाट यसपटक ओली भारी मतान्तरले विजयी बन्नुहुने विश्वास सम्बन्धित क्षेत्रका मतदाताहरूले गरेका छन् ।
अन्य शीर्षस्थ नेताहरूमध्ये भक्तपुरमा नारायणमान बिजुक्छे प्रतिस्पर्धामा यसपालि पनि अगाडि देखिनुभएको छ । एमालेका वामदेव गौतमले बर्दिया र प्युठानबाट उम्मेदवारी दिनुभएकोमा उहाँ प्युठानमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारसँग कडा मुकाबिला गर्नुपर्ने अवस्थामा हुनुहुन्छ भने बर्दियामा गौतमको स्थिति केही सुदृढ मानिएको छ । सर्लाही ६ मा उम्मेदवार बन्नुभएका तमलोपाका महन्थ ठाकुर काङ्ग्रेसका डा. अमरेशकुमार सिंहसँग प्रतिस्पर्धामा पछाडि पर्नुभएको छ । सद्भावनाका राजेन्द्र महतो सर्लाहीमा कडा प्रतिस्पर्धामा रहनुभएको भए पनि महेन्द्र राय यादव भने कमजोर देखिनुभएको छ ।

०००

चामत्कारिक परिणाम हुने
संविधानसभा निर्वाचन २०७० ले संविधानसभा निर्वाचन–२०६४ को परिणामलाई उल्टाइदिने सम्भावना बढेको छ । २०६४ को निर्वाचनले एमाओवादी र मधेसकेन्द्रित दलहरूलाई आश्चर्यजनक ढङ्गले नेपाली राजनीतिको नयाँ शक्तिका रूपमा स्थापित गरेको थियो भने पहिलेका शक्तिशाली राजनीतिक दलहरू काङ्गे्रस र एमालेलाई अनपेक्षित साइजमा पु¥याइदिएको थियो । तर, यसपालिको निर्वाचनमा नेपाली काङ्गे्रस सबभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित हुने सम्भावना देखिएको छ भने दोस्रो ठूलो शक्ति बनेर नेकपा एमाले उदाउने स्पष्ट सङ्केतहरू देखिएका छन् । यसअघि सबभन्दा ठूलो दलको रूपमा रहेको एमाओवादीले तेस्रो स्थानमै चित्त बुझाउनुपर्ने स्थिति छ । उपेन्द्र यादवको नेतृत्वमा संविधानसभाभित्रको चौथो शक्ति बन्न सफल मधेसी जनअधिकार फोरम तथा सबै आकारप्रकारका मधेसकेन्द्रित समूहहरूले पनि यसपालि गम्भीर क्षति व्यहोर्ने देखिन्छ । बरु चौथो शक्तिका रूपमा राप्रपा नेपालको उदय हुनसक्ने सम्भावना बढेको छ । राप्रपा नेपालले प्रत्यक्षतर्फ खासै उपलब्धि हासिल गर्न नसके पनि समानुपातिकतर्फ कम्तीमा पच्चीसदेखि चालीस स्थानसम्म हात पार्न सक्ने अवस्था बनेको छ । मधेसकेन्द्रित दलहरूको मोर्चा बनेको अवस्थामा चाहिँ उनीहरू नै चौथो शक्ति बन्न सम्भव मानिएको छ । संविधानसभामा अखण्ड नेपाल पार्टी र सङ्घीय समाजवादी पार्टीले नयाँ शक्तिको रूपमा प्रवेश पाउने सम्भावना छ भने राष्ट्रिय जनमोर्चा र नेमकिपाले आफ्नो हैसियत बढाउन सक्ने सम्भावनालाई इन्कार गर्न सकिने स्थिति छैन ।
निर्वाचनमा नेपाली काङ्गे्रसले प्रत्यक्षतर्फ कम्तीमा पचहत्तर (७५) देखि बढीमा सय (१००) स्थानसम्म हासिल गर्ने सम्भावना देखिएको छ भने नेकपा एमाले बाउन्नदेखि बढीमा सत्तरी स्थानमा विजयी बन्नसक्ने देखिन्छ । त्यस्तै एनेकपा माओवादीले भने चवालीस (४४) देखि बढीमा पचपन्न (५५) स्थान प्राप्त गर्ने सम्भावना रहेको छ । तर, मधेसकेन्द्रित दल, जातिवादी समूहहरू र माओवादीबीच अन्तिम अवस्थामा चुनावी तालमेल भएमा भने निर्वाचन परिणाममा केही अन्तर आउने निश्चित छ । हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको वकालत गर्ने राप्रपा नेपालले काङ्गे्रस, एमाले र अन्य केही दलसमर्थक मतदाताहरूको समेत मत प्राप्त गर्ने स्थिति बनेको छ । त्यसैले उक्त दलले कम्तीमा पच्चीसदेखि बढीमा चालीस सभासद् पाउने सम्भावना देखिएको हो । अखण्ड नेपाल पार्टी, राष्ट्रिय जनमोर्चा, सङ्घीय समाजवादी पार्टी र नेमकिपाले प्रभावकारी साना दलको हैसियत बनाउन सम्भव मानिएको छ ।
संविधानसभा निर्वाचन २०७० मा उपलब्धि हासिल गर्ने दलहरू :
(क) नेपाली काङ्गे्रस (ख) नेकपा एमाले (ग) राप्रपा नेपाल (घ) अखण्ड नेपाल पार्टी (ङ) सङ्घीय समाजवादी दल (च) राष्ट्रिय जनमोर्चा
क्षति व्यहोर्ने दलहरू :
(क) एनेकपा माओवादी (ख) मधेसी जनअधिकार फोरम (यादव) (ग) मधेसी जनअधिकार फोरम (गच्छदार) (घ) तराई मधेस लोकतान्त्रिक पार्टी (ङ) राष्ट्रिय प्रजातन्त्र पार्टी (च) अन्य केही साना दलहरू

०००

भूमिगत हुँदै माओवादी नेताहरू
छापामार शैलीमा लड्ने तयारी
नेकपा–माओवादीले आह्वान गरेको एकदिने नेपाल बन्दको प्रभाव देशैभरि परे पनि नौ दिनसम्म गर्ने भनिएको यातायात बन्दको प्रभाव भने आंशिक मात्र परेको छ । राज्यले सम्पूर्ण शक्ति परिचालन गरेर केही सार्वजनिक सवारीसाधनहरू सञ्चालनमा ल्याए पनि निजी तथा सरकारी गाडीहरूको आवागमनमा भने निकै कमी आएको छ । बन्दले निर्वाचनलाई पूरै बिथोल्ने स्थिति देखिएको छैन, तर न्यून मतदानको सम्भावना भने बढाएको छ । न्यून मतदान भएमा चुनाव परिणाममा समेत त्यसको गम्भीर असर पर्नेछ । नेकपा–माओवादीले बन्दको आह्वान गरेपछि उक्त पार्टीका नेता–कार्यकर्ताहरू सडकमा खासै देखिएका छैनन् । तर, माओवादीले बन्दका निम्ति लगाएको भन्दा कैयन गुणा बढी शक्ति सरकारले बन्दविरुद्ध प्रयोग र परिचालन गरेको छ । सरकारी प्रयासले बन्द तोड्ने केही सफलता प्राप्त गरेको भए पनि जनतामा उत्पन्न भय र त्रास हटाउन भने सरकार पूरै असफल भएको छ । विद्यमान भय र त्रासको स्थिति यथावत् रहेमा मङ्सिर चार गते मतदानमा सहभागी हुन चाहनेहरूको सङ्ख्यामा कमी आउने र मतदान न्यून हुँदा त्यसको असर सीधै परिणाममा पर्ने देखिन्छ । खासगरी प्रजातन्त्र पक्षधर शक्तिहरूलाई यसले क्षति पु¥याउने निश्चित छ ।
नेकपा–माओवादीले बन्द आह्वान गरेपछि चुनावको विपक्षमा कुनै शक्ति रहेछ भन्ने सन्देश देशैभरि गएको छ । कुनै तरिकाले निर्वाचन गराए पनि संविधानसभाले सबैलाई मान्य हुने संविधान निर्माण गर्न सक्नेमा थप अविश्वास पैदा गरेको छ । प्राप्त जानकारीअनुसार नेकपा–माओवादीले निर्वाचन बहिष्कार कार्यक्रमलाई क्रमश: आन्दोलनको रूपमा विकास गर्ने र सरकारी दमन बढ्दै गए पुन: सशक्त युद्धमा जाने तयारी गरेको छ । सम्बद्ध सूत्रले जनाएअनुसार पार्टीलाई अर्धभूमिगत हुँदै भूमिगत बनाउने तयारी पनि भइसकेको छ । माओवादी पोलिटब्युरोको पछिल्लो बैठकले देव गुरुङ र पम्फा भुसालबाहेक सबै नेताहरू भूमिगत जाने निर्णय गरेको पनि सम्बद्ध पक्षले जनाएको छ । माओवादीका एकथरि नेताहरू राजनीतिक सङ्घर्षको पक्षमा उभिएका र उनीहरू तत्काल भूमिगत जाने सोचमा पनि नरहेको बताइन्छ । मोहन वैद्य किरण, सीपी गजुरेल, देव गुरुङ, पम्फा भुसाल, हरिभक्त कँडेल र हितमान शाक्यलगायतका नेताहरू तत्काल भूमिगत हुने र सशक्त सङ्घर्षमा जाने पक्षमा नरहेको बुझिन्छ । तर, नेत्रविक्रम चन्द ‘विप्लव’, कुलबहादुर केसी, सोनाम र खड्ग विश्वकर्मालगायतका नेता तथा कतिपय स्थानीय नेता र कार्यकर्ताहरू भने भूमिगत भइसकेको बताइन्छ । निर्वाचन बहिष्कार आन्दोलनका क्रममा सरकारले चर्को दमन गरे दमनकै स्तरको प्रतिरोध गर्ने तयारी भइसकेको माओवादी सूत्रले जानकारी दिएको छ । आफूहरूले छापामार शैलीमा लड्ने तयारी गरेको र लडाइँको प्रारम्भिक चरणमा देशघाती तथा विदेशी दलालविरुद्धको कारबाहीलाई प्राथमिकतामा राखेको पनि उनीहरूले बताएका छन् । भूमिगत शैलीमा काम गर्नुपरेकै कारण नेता नेत्रविक्रम चन्दले बारम्बार टेलिफोन नम्बर परिवर्तन गर्ने गरेको बुझिएको छ । तर, खुला रहेका मोहन वैद्यलगायतका नेताहरूले भने जेल जाने तर भूमिगत नजाने सोच बनाएको बताइन्छ । महासचिव रामबहादुर थापा बादल पनि भूमिगत भई सशस्त्र सङ्घर्षमा जाने पक्षमा रहेका, तर थापाकी पत्नीको तीव्र दबाबका कारणले मात्र उनी भूमिगत हुन नसकेको माओवादी सूत्रले बताएको छ ।

०००

प्रचण्ड जिताउने जिम्मा उपेन्द्रलाई
काठमाडौं क्षेत्र नम्बर दशमा विजयको सम्भावना देख्न छोडेपछि एमाओवादी अध्यक्ष प्रचण्ड सिरहाबाट विजयी बन्नका निम्ति कुनै पनि हथकण्डा अपनाउन तयार भएका छन् । कुनै समय जनवादी क्रान्तिको निम्ति भन्दै ‘प्रचण्डपथ’ नामको ‘मार्गदर्शन’ प्रादुर्भाव गराउने प्रचण्ड चुनावमा विजय हासिल गर्नका लागि जेसुकै गर्न पनि तयार हुनुले उनी सम्पूर्ण रूपले आत्मकेन्द्रित व्यक्ति भएको पुष्टि गरेको छ । प्राप्त जानकारीअनुसार प्रचण्डले आफूलाई जिताउने जिम्मा उनैका व्यापारिक साझेदारसमेत भनेर चिनिएका उपेन्द्र महतोलाई दिएका छन् । जतिसुकै रकम खर्च गरेर भए पनि मतदाता किन्ने र चुनाव जित्ने प्रचण्डको योजनाका मुख्य सारथि उपेन्द्र महतो बनेका छन् ।
सिरहाको पाँच नम्बर क्षेत्रबाट उपेन्द्र महतोका भाइ वीरेन्द्र महतोले चुनाव लड्ने तयारी गरेका थिए । उपेन्द्र यादव नेतृत्वको फोरमबाट उम्मेदवारी दिने तयारीमा रहेका वीरेन्द्रले गाउँगाउँमा आफ्नो अभियान सुरु गरेका थिए र त्यसक्रममा काङ्ग्रेस, एमाले र एमाओवादीलगायतका दलसम्बद्ध सैयौँ कार्यकर्तालाई उनले आफ्नो समूहमा प्रवेश पनि गराइसकेका थिए । तर, प्रचण्डले उपेन्द्र महतोसमक्ष सिरहा पाँचबाट चुनाव लड्ने इच्छा जाहेर गरेपछि उपेन्द्रले आफ्ना भाइ वीरेन्द्रलाई सिरहाबाट अचानक बेपत्ता बनाइदिएका छन् । रातारात मैदानबाट फिर्ता बोलाइएका वीरेन्द्रलाई विदेश लगेर लुकाएको चर्चा सिरहामा चलिरहेको छ । यसरी वीरेन्द्र महतो अचानक गायव भएपछि विभिन्न पार्टी छोडेर महतोको पछि लाग्न आएकाहरू बिचल्लीमा परेका छन् र प्रचण्डका लागि वीरेन्द्रलाई मैदानबाट भगाएको जानकारी पाएपछि जसरी भए पनि प्रचण्डलाई पराजित गराइछाड्ने अठोटसहित उनीहरू क्रियाशील भएका छन् । प्रचण्डलाई पराजित गराउन एकातिर त्यस क्षेत्रका लोकप्रिय नेता मातृका यादव आफैँ सक्रिय भएका छन् भने अर्कोतिर मैदानमा उत्रिएका दलहरूको मुख्य प्रहार पनि प्रचण्डमाथि नै भइरहेको छ । सो क्षेत्रमा अपरिचित प्रचण्डभन्दा एमाले उम्मेदवार लीला श्रेष्ठ निकै लोकप्रिय मानिन्छन् । विचार र विश्वासका आधारमा चुनाव जित्ने स्थिति नबनेपछि प्रचण्डले जतिसुकै रकम खर्च गरेर भए पनि विजय हासिल गर्ने योजना बनाएका छन् र नगद वितरण अभियानको नायक उपेन्द्र महतोलाई तोकेका छन् । महतोले विभिन्न च्यानलहरूमार्फत विपक्षी पार्टीका प्रभावकारी कार्यकर्ता एवम् समाजका अगुवा व्यक्तिहरूको नाम सङ्कलन गरी तिनको मूल्य निर्धारण भएबमोजिमको नगद उपलब्ध गराउने भएको चर्चा सिरहामा व्यापक चलिरहेको छ । यसरी उपेन्द्र महतोलाई नगद परिचालनको जिम्मेवारी दिएका प्रचण्डले फोरम नेता उपेन्द्र यादवसँग चुनावी तालमेल मिलाउने भएका छन् । उता उपेन्द्र यादव पराजित हुने स्थितिमा रहेकोले उनलाई एमाओवादीको साथ चाहिएको र यता सिरहामा पनि प्रचण्डको स्थिति कमजोर भएकोले फोरमको साथ आवश्यक हुन गएको छ । उपेन्द्र यादवका समर्थकहरूको बलियो साथ र उपेन्द्र महतोको नगद वितरण अभियान प्रभावी भएमा प्रचण्डले एमालेका लीला श्रेष्ठसँग प्रतिस्पर्धा गर्न सक्ने विश्वास गरिएको छ ।

०००

काङ्गे्रस–एमाले तर्साउन बम विस्फोटको तयारी
चुनाव जित्नका लागि जुनसुकै हथकण्डा अपनाउन पनि पछि नहट्ने एनेकपा माओवादीको नेतृत्वले काङ्गे्रस–एमालेलगायत प्रजातन्त्रसमर्थित मतदाताहरूलाई तर्साउन आतङ्क मच्चाउने गुप्त योजना बनाएको जानकारी प्राप्त भएको छ । जहाँ एमाओवादी कमजोर र विपक्षीहरूको बाहुल्य छ त्यस्ता ठाउँ र मतदान केन्द्र आसपास बम विस्फोट गराउनेसम्मको योजना एमाओवादीले बनाएको जानकारी एक विश्वस्त सूत्रले घटना र विचारलाई दिएको छ । सूत्रका अनुसार बारा जिल्लामा एमाओवादीको डीसीएम रहेका जीवन कालिकोटे पनि ‘त्यस्तो’ जिम्मेवारी पाउनेमा परेका छन् । हाल सिमरामा रहेका कालिकोटे विस्फोटक पदार्थ सङ्ग्रहको तयारीमा लागेपछि त्यसको रहस्योद्घाटन भएको हो । कालिकोटेले कहाँ–कहाँ काङ्गे्रस–एमालेको बाहुल्य छ त्यसको पहिचान गरी बम विस्फोट गराउने तयारी गरिरहेको बताइएको छ । ज्ञातव्य छ, बाराको क्षेत्र नं. चारमा काङ्गे्रसका कृष्ण यादव र ६ नं. क्षेत्रमा देवी तिमिल्सिनाको स्थिति अत्यन्त राम्रो रहेको छ । अन्य क्षेत्रमा काङ्गे्रस–एमाले र एमाओवादी तथा मधेसकेन्द्रित उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ ।

०००

अमरेशविरुद्ध षड्यन्त्रमा ठाकुर
सर्लाहीको ६ नम्बर निर्वाचन क्षेत्रमा सबभन्दा बलिया उम्मेदवारका रूपमा नेपाली काङ्गे्रसका युवा नेता डा. अमरेशकुमार सिंह देखिनुभएपछि उहाँका विरुद्ध प्रतिस्पर्धी उम्मेदवार महन्थ ठाकुरलगायतले षड्यन्त्रमूलक गतिविधि सुरु गरेका छन् । यसअघि पनि सो क्षेत्रबाट पराजित ठाकुरले चुनाव जित्न महिलाहरूलाई साडी र युवाहरूलाई नगद वितरण गरिरहेका छन् । ठूलो धनराशि खर्च गरेका भए पनि उक्त क्षेत्रमा महन्थ ठाकुर प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेका छन् । २०६४ को निर्वाचनमा फोरमबाट विजयी भएका शिवपुजन राय अमरेशभन्दा पछाडि दोस्रो स्थानमा देखिएका छन् । यसपटक फोरमले त्यस क्षेत्रमा रामबाबु यादवलाई उम्मेदवार बनाएको छ भने पासपोर्ट काण्डमा परेका शिवपुजन राय महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् । सत्जन र भद्र मानिएका नेता महन्थ ठाकुरले यसपालि चुनाव जित्न नाम चलेका अपराधी र नगदको सहारा लिएपछि स्थानीय मतदाताले ठाकुरले सक्कली रूप देखिएको भनी टिप्पणी गरेका छन् । महन्थले ‘मोस्ट वान्टेड’ सूचीमा परेका सन्तोष झा र सुशील मिश्र नामका अपराधीहरूलाई आफूसँगै लिएर हिँड्ने गरेका छन् । केही दिनअघि महन्थ ठाकुरले आफूलाई मार्न अमरेशले हतियार ल्याएको भनी चुनाव क्षेत्रमा व्यापक प्रचार गराएका थिए । त्यस निम्ति ठाकुरले एक षड्यन्त्र रची अमरेशलाई फसाउने प्रयास गरेका थिए । प्राप्त जानकारीअनुसार महन्थ ठाकुरको चुनाव प्रचारको जिम्मा लिएका केदार चौधरी (जो आपराधिक पृष्ठभूमिका हुन् र नयाँदिल्ली बस्ने गर्छन्) ले एउटा चोरीको मोटरबाइकमा नेपाली काङ्गे्रसको स्टिकर टाँसी सो बाइकमा भारतबाट हतियार ल्याइँदै छ भनेर भारतीय सीमा सुरक्षा बलका प्रमुख नीरज चन्दलाई एसएमएस पठाएका थिए । मोबाइल नम्बर ९१८५२११७९५१४ बाट काङ्गे्रस कार्यकर्ता सुरेश सिंह र वैद्यनाथ स्वामीले महन्थ ठाकुरलाई मार्न हतियार ल्याउँदै छ भनी चौधरीले पठाएको एसएमएसका आधारमा खोजी गर्दा भारतीय प्रहरीले ननकार भन्ने ठाउँमा उक्त मोटरसाइकल र केही हतियार फेला परेको थियो । तर, त्यहाँ कोही पनि मानिस फेला परेका थिएनन् । वास्तवमा उक्त बाइकमा हतियार राख्ने व्यवस्था केदार चौधरीले मिलाएका थिए । र, त्यस कामका लागि महन्थकै कार्यकर्ता नुनु झा उर्फ हरिनारायण झा (मधुवनी) लाई खटाइएको थियो । त्यसरी बाइक र हतियार फेला पर्नेबित्तिकै नेपाल प्रहरी र भारतका सञ्चारमाध्यमहरूमा सन्देश पठाउने काम निज केदार चौधरीले नै गरेका थिए । अमरेशप्रति बढ्दो जनलहरबाट आत्तिएका महन्थ ठाकुरले आफूप्रति सहानुभूति लिन गरेको प्रयास ‘एक्स्पोज’ भएपछि ठाकुरको स्थिति झनै नाजुक बनेको छ ।

०००

महानिर्वाचनको शुभकामना
संविधानसभाको महानिर्वाचनको पुनीत अवसरमा हामी समस्त देशवासीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ । मङ्सिर ४ गते निर्वाचनका दिन मंगलबार परेको र यस पत्रिकाका सबै सदस्यहरू मतदान कार्यमा सरिक हुनुपर्ने भएकोले आगामी बुधबार (मङ्सिर ५ गते) अखबारको प्रकाशन सम्भव नभएको र आगामी प्रकाशन मङ्सिर १२ गतेदेखि नियमित हुने जानकारी गराउँछौँ । यसबाट पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।
– सम्पादक

०००

वीर गोर्खालीको सम्झनामा स्मारक बन्दै
नेपालीहरूले प्रथम विश्वयुद्धमा बेलायतको पक्षमा लडेर बेलायतको साम्राज्य बचाउन ठूलो योगदान पु¥याएको तथ्य इतिहासमा पढ्न पाइन्छ । सन् १९१४ देखि १९१७ सम्म भएको प्रथम विश्वयुद्धमा गोर्खालीहरू बेल्जियमसम्म पुगेर लडेका थिए भन्ने कुराको जानकारी भने धेरै कमलाई मात्र हुनसक्छ । बेल्जियमको इपरस्थित स्मारकमा पुग्ने हो भने उक्त तथ्य स्पष्ट हुन आउँछ । उक्त स्मारकको भित्तामा लडाइँमा वीरगति प्राप्त गर्ने नेपालीको नाम सगौरव सूचीबद्ध गरिएको छ । सो लडाइँका क्रममा वीरगति प्राप्त नायक मानबहादुर गुरुङ र रतिभान पुन, लेन्स नायकहरू आइमानसिंह गुरुङ, हर्कसिंह गुरुङ र रनजित गुरुङ, राइफलम्यानहरू बलेसुर राना, बेलबहादुर गुरुङ, बुद्धिबल गुरुङ, धनवीर गुरुङ, दिलु पुन, दुर्गराज गुरुङ, करनसिंह गुरुङ, केशवीर पुन, लोहसुर राना, मनवीर थापा, मानिकरन गुरुङ, मनराज गुरुङ, मोतीलाल थापा, पहलसिंह गुरुङ, रणबहादुर बुरा, रत्नवीर राना, सरुगे थापा, तुलाराम पुन र बजिरसिंह गुरुङ तथा बग्लर देउखाइ रानाले वीरगति प्राप्त गरेको भनी स्मारकको भित्तामा उल्लिखित छ । उक्त स्थानमा वीरगति प्राप्त गर्ने अन्य मुलुकका हजारौँ योद्धाको नाम पनि भित्तामा लेखिएको छ । त्यस स्थानमा हरेक साँझ आठ बजे ब्रिटिस नागरिक, पूर्वब्रिटिस सैनिक अधिकृत तथा जवानहरू उपस्थिति भई वीरगति प्राप्त गर्ने सैनिकको स्मरण गर्ने र श्रद्धाञ्जली अर्पण गर्ने गर्दछन् । उक्त स्मरणका क्रममा सैनिक विगुल बजाई सम्मान अर्पण गर्ने र पुष्पगुच्छा चढाई उनीहरूलाई सम्मान गर्ने गरिन्छ । करिब एक सय वर्षदेखि चलिआएको उक्त परम्परालाई बेलायतीहरूले अहिलेसम्म धानिरहेका छन् । स्मरण समारोहको बेला स्मारक भएर चल्ने सवारीसाधनसमेत करिब प्रन्ध मिनेटसम्म रोकिने गर्दछन् ।
यसरी नेपालीहरूको नाम स्मारकमा उल्लेख गरिएको भए पनि त्यहाँको सरकारी रेकर्डमा नेपालीलाई भारतीय भनी जनाइएको थियो । यस कुराको जानकारी भएपछि बेल्जियममा व्यवसाय गरी बस्नुभएका अर्जुनकुमार श्रेष्ठलगायतका नेपालीको सक्रियतामा वीरगति प्राप्त गर्ने नेपालीलाई नेपालको नागरिकका रूपमा रहने गरी सरकारी रेकर्डमा सुधार गर्ने कार्य केही अघि मात्र सम्पन्न भएको छ । त्यति मात्र नभई अर्जुनकुमार श्रेष्ठलगायतको सक्रियतामा स्मारक क्षेत्रभित्र नेपाली वीरहरूको सम्मानमा छुट्टै स्मारक निर्माण गर्न जमिनसमेत उपलब्ध भएको छ । नेपाल र नेपालीको गौरव वृद्धि हुने गरी सो स्थानमा नेपाली स्मारक निर्माण गर्ने तयारी अर्जुन श्रेष्ठलगायतका नेपालीले गरिरहेका छन् ।

०००

पूर्वप्रहरीद्वारा प्रहरीलाई दन्तचिकित्सा सामग्री उपहार
नेपाल पूर्वप्रहरी परिवार मञ्च, बेलायतले नेपाल प्रहरीले नेपाल प्रहरी अस्पतालको दन्त विभागमार्फत नेपालको दुर्गम क्षेत्रमा दन्त शिविर सञ्चालन तथा सामुदायिक प्रहरी कार्यक्रम गर्ने कार्यमा सहयोग पु¥याउने उद्देश्यले रु. तीन लाख २४ हजार ६ सय ४९ मा खरिद गरिएको दन्त चिकित्सासम्बन्धी सामग्री प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई मञ्चका अध्यक्ष शिवजी श्रेष्ठले हस्तान्तरण गर्नुभयो । सो अवसरमा नेपाल पूर्वप्रहरी परिवार मञ्चप्रति आभार प्रकट गर्दै महानिरीक्षक रानाले परदेशमा रहेर पनि पूर्वप्रहरीहरूले यस किसिमको सदासयता देखाउनु प्रशंसनीय कार्य रहेको बताउनुभयो । त्यसैगरी मञ्चका अध्यक्ष शिवजी श्रेष्ठले परदेशमा रहे पनि राष्ट्र र आफ्नो मातृसंस्थाप्रतिको दायित्व नभुलेका उल्लेख गर्दै अबको प्रहरी भनेको सामुदायिक तवरले परिचालित हुनुपर्ने हँुदा त्यस कार्यलाई सहयोग पुगोस् भनेर नै सामग्री प्रदान गरिएको कुरा बताउनुभयो ।
नेपाल प्रहरीका महानिरीक्षक एवम् अस्पतालका मेडिकल डाइरेक्टर तथा प्रहरी अतिरिक्त महानिरीक्षक डा. रामनाथ सिंहले कार्यक्रमको सञ्चालन गर्नुहुँदै प्रहरी अस्पतालले मञ्चका सदस्यहरूले विगतमा पनि गरेका सहयोगको यस निरन्तरतालाई उच्च मूल्याङ्कन गरेको जनाउँदै मञ्चका सदस्यहरूको सेवाभावको खुलेर प्रशंसा गर्नुभयो । महानगरीय प्रहरी आयुक्त नवराज ढकाललगायत एआईजीहरू तथा अन्य वरिष्ठ प्रहरी अधिकृत तथा पूर्वप्रहरी कर्मचारी परिषद्का केन्द्रीय सदस्य जित राईको समेत उपस्थिति रहेको सो कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट मञ्चका अध्यक्ष श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।
स्मरण रहोस्, गत वर्ष पनि उक्त मञ्चले नेपाल प्रहरी अस्पताललाई घाइते तथा अपाङ्गहरूले पाउने गरी ह्विलचियर तथा सुविधाजनक क्लचहरू प्रदान गर्नुका साथै प्रहरी अस्पताल तथा नेपाल प्रहरी स्कुललाई छुट्टाछुट्टै दुईवटा अक्षय कोष स्थापना गरिदिएको थियो । साथै हेल्प नेपालले दश करोडको कोष खडा गर्ने क्रममा सो मञ्चले बेलायतमा सङ्कलन गरेको एक करोड सात लाखको च्यारिटीमा समेत सक्रिय सहयोग प्रदान गरेको थियो ।

०००

राजनीतिमा रमिता
आर्थिक क्षेत्रमा कार्यरत रमिता महर्जन राई अकस्मात् राजनीतिमा लागेपछि आफ्नो दललाई कसरी बढीभन्दा बढी मत ल्याउने भनेर सक्रिय मात्र भएकी छैनन् महिला, वृद्धवृद्धालगायतले किन भोट हाल्ने भनेर मतदाता शिक्षा पनि दिइरहेकी छिन् । पहिला राजनीतिमा पटक्कै रुचि नभएकी रमिता अहिले शिव सेना नेपालको तर्फबाट समानुपातिक उम्मेदवार हुन् । २०३७ सालमा पाटनको धपगालमा जन्मिएकी उनी हाल वागडोलनिवासी हुन् । सबै धर्मप्रति उत्तिकै आदरसम्मान राख्ने उनी हिन्दूधर्म–संस्कृति विश्वमै उच्चस्तरीय भएकाले यसको रक्षा गर्नुपर्छ भन्ने मान्यता राख्छिन् । घटना र विचारसँग कुरा गर्दै उनले भनिन्, ‘म समतामूलक समाजमा विश्वास राख्छु, अरू क्षेत्रमा जे–जे गरे पनि नीतिगत तहमै परिवर्तन नभई केही नहुने रहेछ, त्यसैले राजनीतिमा आएकी हुँ ।’ राजनीतिमा महिला र युवाहरूको व्यापक सहभागिता भए मात्रै यो मुलुकमा परिवर्तन सम्भव रहेको उनले बताइन् ।
अहिले चुनावका बेला धेरै दलहरूले धेरै कुरा गरिरहेको बताउँदै उनले भनिन्, ‘म जातजातिलाई छुट्याएर हेर्ने कुराको विरोधी हुँ । जातीय र लैङ्गिक समानता मेरो प्रमुख मुद्दा हो ।’ एक सयभन्दा बढी जातजाति र भाषाभाषी भएको मुलुकमा जातीय नारा दिएर नहुने तर सबै जातजातिले समान अवसर प्राप्त गर्नुपर्ने उनको विचार छ । ‘म महर्जनकी छोरी राईसँग विवाह गरेँ, घरपरिवारमा कुनै भेदभावको महसुस गरेकी छैन । यसको एक मात्र कारण परिवारमा जातीय भावना नहुनु नै हो । जबसम्म हामी जातपातमा अल्झिन्छौँ, तबसम्म मुलुकको समग्र विकास सम्भव छैन,’ उनले भनिन् । पाटन र वागडोल क्षेत्रमा मात्र नभएर उनका नातेदारहरू रहेका विभिन्न जिल्लामा पनि उनको उपस्थितिले शिव सेनाप्रति नै एकप्रकारको माहौल बनेको छ । आफ्नो व्यावसायिक काममा मात्रै फोन उठाउने उनी हिजोआज विभिन्न जिल्लाबाट आएका फोनहरू उठाउँदै भनिरहेकी हुन्छिन्, ‘शिव सेनाले राम्रो मत ल्यायो भने हामी सबैभन्दा पहिला सामाजिक सुरक्षा भत्ता बढाउने पहल गर्छौं, पाँच सयले अहिले के हुन्छ र ? संविधान निर्माणसँगै अरू काम पनि त गर्नुप¥यो, भ्रष्टाचार नियन्त्रण, कृषिमा नयाँ प्रविधि हामीजस्ता बुझेकै मान्छेले त गर्ने हो नि ।’ राजनीतिमा प्रवेशले आफूलाई मुलुक र जनता बुझ्न मद्दत गरेको रमिताले बताइन् ।

०००

संविधान निर्माणमा सूचनाको हक
संविधान निर्माण प्रक्रियामा सूचनाको हकको प्रयोगलाई लिएर सम्बन्धित विभिन्न सरोकार पक्षबीच अन्तक्र्रिया सम्पन्न भएको छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग) र यूएनडीपीको सहभागितामूलक संविधान निर्माणका लागि सहयोग कार्यक्रमको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा सहभागीहरूले संविधान निर्माणका हरेक चरण र प्रक्रियामा सूचनाको हकलाई प्रयोग गर्न सकिने र प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए । पूर्वगृहसचिव उमेशप्रसाद मैनालीले कार्यपत्र प्रस्तुत गर्दै सूचनाको हकको अवधारणा, विगतको संविधानसभा र आगामी संविधानसभामा यसको प्रयोगबारे उल्लेख गर्नुभयो । राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्त वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले गत संविधानसभाले गरेका कामकारबाहीलाई लिएर थोरै मात्र निवेदनहरू सूचना आयोगमा परेको जानकारी गराउनुभयो । वरिष्ठ अधिवक्ता तथा पूर्वसभासद् राधेश्याम अधिकारीले संविधान निर्माण प्रक्रियामा सूचनाको हक महत्वपूर्ण भएकाले यसलाई कहाँ कति बेला कसरी प्रयोग गर्ने भन्नेबारेमा जनमानसमा जानकारी गराउनुपर्ने बताउनुभयो । यूएनडीपीका अन्तर्राष्ट्रिय कार्यक्रम व्यवस्थापक रोहन इड्रिसिन्हाले दक्षिण अफ्रिका र श्रीलंकाको शान्तिप्रक्रियाको उदाहरण दिँदै नेपाल बहुजाति, बहुभाषी मुलुक भएकाले चुनौती र अवसर दुवै भएको बताउनुभयो ।
निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सूचनाहरू सञ्चारमाध्यममार्फत शृङ्खलाबद्ध रूपमा जनमानसमा पु¥याइरहेको बताउनुभयो । राष्ट्रिय सूचना आयोगका सचिव श्रीराम पन्तले सूचना आयोगलाई प्रभावकारी रूपले काम गर्न थप साधन स्रोत आवश्यक रहेको बताउनुभयो । म्यागकी अध्यक्ष बबिता बस्नेतले सूचनाको हकसम्बन्धी कानुन सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि महत्वपूर्ण संयन्त्र भएकाले संविधान निर्माणका हरेक चरण र प्रक्रियामा यसको प्रयोग गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसी, सशस्त्र प्रहरी प्रवक्ता सिंहबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलका पूर्वप्रहरी महानिरीक्षक सनत बस्नेत, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्मा, अधिवक्ता सविन श्रेष्ठ, देवप्रकाश त्रिपाठी, सीमा खान, सरु जोशी श्रेष्ठ, आरती चटौत, दुर्गा खतिवडा, टंक अर्याल, अरुणा थापा राणालगायतले संविधान निर्माणको महत्वपूर्ण कडी निर्वाचन र सूचनाको हकका बारेमा मन्तव्य राख्नुभएको थियो ।

०००

‘सिनेमाण्डू’मा ‘मौन’ प्रदर्शन
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय राजदूतावासको आयोजनामा गत शनिबार नेपाल वायुसेवा भवनस्थित नेपाल–भारत पुस्तकालयमा ‘सिनेमाण्डू’को आठौँ शृङ्खलाको आयोजना भयो । सो कार्यक्रममा यसपटक अर्पण र नम्रता श्रेष्ठद्वारा अभिनीत तथा सुरज भुसालको निर्देशन रहेको नेपाली चलचित्र ‘मौन’ प्रदर्शन गरिएको थियो । चलचित्रको प्रदर्शनीपश्चात् उपस्थित दर्शकहरूले फिल्मका निर्देशक भुसाल एवम् कलाकारद्वय अर्पण र नम्रतासँग फिल्मको बारेमा अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा सिनेमा निर्माणमा देखापरेको बदलिँदो धार, यस क्षेत्रका चुनौती, मौनको कथा चयन तथा त्यसको निर्माणको अन्तरकथा, सिनेमाभित्रको यथार्थपाटो र कथात्मक पक्ष, व्यापारका हिसाबले नेपाली फिल्मको अवस्था आदिबारे दोहोरो छलफल भएको थियो । निर्देशक भुसालले मौन आफ्नो पहिलो चलचित्र भएको जानकारी दिँदै आगामी दिनमा निर्देशन विधालाई अझै खार्दै लैजाने बताए भने अर्को सिनेमामा पनि अर्पण र नम्रतालाई नै रिपिट गर्ने आफ्नो अभिलाषा पनि उनले खुलस्त गरे ।
सो अवसरमा भारतीय दूतावासका प्रेस, सूचना र संस्कृति विभागका प्रमुख अभयकुमारले मौनजस्तो मनछुने चलचित्र निर्माण र अभिनयका लागि निर्देशक तथा कलाकारहरूलाई बधाई दिएका थिए ।
यसैगरी, भारतीय राजदूतावास तथा बीपी कोइराला भारत–नेपाल फाउन्डेशनद्वारा सञ्चालित पोएमाण्डुको आठौं शृङ्खला गत १३ गते सम्पन्न भएको छ । प्रसिद्ध कविहरू रामप्रसाद पहारी, डा. काशीराज पाण्डे, लई कुमार दास, अर्खना खातुन, उदयचन्द्र दास, प्रकाशमणि दाहाल, रञ्जना पौडेल, नीरा राना भट्ट, तेजेन्द्र सुब्बा, प्रमोद स्नेही, जया चौलागाईं र स्वरूप आचार्यले नेपाली, हिन्दी तथा अङ्गे्रजी भाषामा आ–आफ्ना सिर्जना प्रस्तुत गरेका सो कार्यक्रममा फाउन्डेशनका सचिव कूटनीतिज्ञ तथा कवि अभय कुमारले कविता कुनै पनि साहित्यको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यसले विचारहरूको अन्तरात्माको आवाज प्रतिध्वनित गर्ने र तिनलाई सबल रूपमा प्रस्तुत गर्ने बताउनुभयो । नेपाल प्रसिद्ध र होनहार कविहरूले भरिएको स्वीकार गर्दै यस्ता कविहरूलाई प्रोत्साहित गर्न तथा उनीहरूका लागि उपयुक्त मञ्च प्रदान गर्न प्रतिष्ठानले विगत आठ महिनादेखि प्रत्येक महिना पोएमाण्डुको आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

०००

अर्याल आईजीपीमा बढुवा
केही दिनअघि मात्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक पदमा बढुवा भएका छन् । सोमबार मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक आईजीपी पदमा अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी उपेन्द्रकान्त अर्याललाई बढुवा गर्ने निर्णय ग¥यो । अर्याल डेढ साताअघि मात्र एआईजीमा बढुवा भएका थिए । मन्त्रिपरिषद्ले मङ्सिर १ गतेबाट लागू हुने गरी अर्यालको बढुवा गरेको छ । हालका आईजीपी कुबेरसिंह राना कात्तिक २९ गतेबाट अवकाश पाउने भएको र चुनाव पनि मुखैमा आएको कारण सरकारले आईजीपी बढुवा गर्न हतार गरेको हो । अवकाशको मुखमा रहेका आईजीपी राणा र उनीसँगैका पाँचजना एआईजीहरू गत सोमबारबाटै बिदामा बसेका छन् । सरकारको यो निर्णयले आईजी बन्ने पार्वतीलगायत अन्य डीआईजीको सपना तुहिएको छ । अर्याल एकल रूपमा एआईजीमा बढुवा भएर सिनियर हुँदा पनि यत्रतत्र आईजीपी बढुवामा चलखेल भएर अर्कै पनि आउन सक्ने चर्चा चलेको थियो । तर, सरकारको यो निर्णयले आगामी तीन वर्षका लागि अर्यालको ब्याजका अन्य सबै डीआईजीको आईजीपी बन्ने सपना सपनामै सीमित भएको छ । तर, अन्तत: डीआईजी ब्याचमा एक नम्बरमा रहेका अर्याललाई नै चुनावी मन्त्रिपरिषद्ले आईजीपीमा बढुवा गरेको छ । १ गतेबाट आईजीपीको कार्यभार समाल्ने भनिए पनि राना बिदामा बस्ने भएकाले अर्यालले सोमबारबाटै कामु प्रहरी प्रमुखको भूमिका निर्वाह गर्ने भएका हुन् ।
०००
ग्लोबलमा गाभियो कमर्ज एन्ड ट्रस्ट बैंक
वित्तीय क्षेत्रमा नाम कमाएको ग्लोबल आईएमई बैंकमा कर्मज एन्ड ट्रस्ट बैंक लि. गाभिने भएको छ । यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । ग्लोबल आईएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र कर्मज एन्ड ट्रस्ट बैंकका अध्यक्ष शोभाकर न्यौपानेद्वारा हस्ताक्षरित समझदारीपत्रमा उल्लेख भएअनुसार ग्लोबल आईएमई बैंकमा कर्मज एन्ड ट्रस्ट बैंक लि. गाभिएपछि बैंकले ग्लोबल आईएमई बैंकको नामबाटै कारोबार गर्नेछ भने बैंकका कार्यकारी अधिकृत रत्नराज बज्राचार्य नै रहनेछन् । दुई बैँक गाभिएपछि बैंकको कुल चुक्ता पुँजी रु. चार अर्ब ४१ करोड, कुल निक्षेप रु. ४८ अर्ब, कर्जा लगानी रु. ३९ अर्ब, ८७ वटा शाखा कार्यालय, सातवटा एक्सटेन्सन काउन्टर, १७ वटा शाखारहित बैंकिङ सेवा र ८० वटा एटीएममार्फत सर्वसाधारणमाझ सेवा पु¥याइने जनाइएको छ । मर्जरपछि बैंकको ग्राहक सङ्ख्या चार लाख ५१ हजार पुग्ने र कर्मचारी सङ्ख्या एक हजार ५० हुने पनि ग्लोबल बैँकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्मरण रहोस्, गत ०६९ असारमा ग्लोबल आईएमई बैंक लि.मा आईएमई फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड तथा लर्डबुद्ध फाइनान्स लि. र गत साउनमा सोसियल डेभेलपमेन्ट बैंक लि. र गुल्मी विकास बैंक पनि गाभिएका थिए ।
०००

नवलपरासीका उम्मेदवारबीच काँटाको टक्कर
नवलपरासी/ संविधानसभाको निर्वाचन मिति निकट बन्दै जाँदा नवलपरासीको चुनावी माहोल तात्तिएर गएको छ । राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो र कोणसभाको माध्यमबाट पार्टीको नीति र उद्देश्य अघिसार्दै मतदाताको मन जित्ने चेष्टा गरिरहेका छन् । नवलपरासीको सन्दर्भमा यसपटकको निर्वाचनमा लोकतान्त्रिक संविधानलेखनभन्दा पनि विकास–निर्माणका कार्यलाई उम्मेदवारहरूले बढ्ता उछालेका देखिन्छन् । मतदाताहरूले बाटो, पुल, विद्यालय र तटबन्धजस्ता विकासमूलक माग उम्मेदवारसमक्ष राखेका छन् ।
नवलपरासी क्षेत्र नं. १ बाट बीपीपुत्र एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइराला, एमालेका दीपक अधिकारी, एकीकृत माओवादीका धनप्रसाद सापकोटाको बीचमा त्रिकोणीय प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका महेन्द्रध्वज जीसी, एमालेका जीवन श्रेष्ठ, एकीकृत माओवादीका मोती रिजालको बीचमा प्रतिस्पर्धा भइरहेको छ ।
यस्तै, क्षेत्र नं. ३ बाट एकीकृत माओवादीकी सीता बौडेल, एमालेका कृष्ण पौडेल र नेपाली काङ्ग्रेसका कृष्णचन्द्र नेपालीबीच काँटाको टक्कर हुने राजनीतिक वृत्तमा चर्चा छ भने क्षेत्र नं. ४ मा नेपाली काङ्ग्रेसका देवेन्द्रराज कँडेल, एकीकृत माओवादीका चिनक कुर्मी र एमालेका वैद्यनाथ चौधरीबीच प्रतिस्पर्धा हुँदै छ ।
क्षेत्र नं. ५ मा एमाओवादीका राजुप्रसाद हरिजन, एमालेका दीपेन्द्र अधिकारी र नेपाली काङ्ग्रेसका विक्रम खनाल चुनावी परिणाम आफ्नो पक्षमा पार्न तीव्र कसरतमा छन् भने क्षेत्र नं. ६ मा तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी पाँचौँपटक आफ्नो भाग्यको पाटो नियाल्दै छन् । यस क्षेत्रमा नेपाली काङ्ग्रेसका उम्मेदवार देवकरण जयसवाल (सन्तु) दोस्रोपटक चुनावी मैदानमा उत्रिएका छन् । ०६४ सालको संविधानसभा निर्वाचनमा एक सय ७४ मतले त्रिपाठीसँग पराजित भएका सन्तु यसपटकको निर्वाचनमा अझै सशक्त रूपले प्रतिस्पर्धामा उत्रिएका विश्लेषकहरूको बुझाइ छ । यस्तै, क्षेत्र नं. ६ को चुनावी प्रतिस्पर्धामा मधेस समाजवादी पार्टीका अजय शाही, फोरम लोकतान्त्रिक पार्टीका अशोकजंग राणा, एकीकृत माओवादीका रामधनी केवट पनि दह्रो प्रतिस्पर्धीका रूपमा उत्रिएका छन् । चुनावी माहोलबीच आ–आफ्नै दाबी हुनु कुनै नौलो कुरा होइन, यथार्थ धरातलमा को कति पानीमा र को जमिनमा रहेछ भन्ने हेर्नका लागिचाहिँ चुनावको नतिजा नै कुर्नुपर्ने परिवेश नवलपरासीको चुनावी माहोलले पैदा गरिदिएको छ ।
– आरपी उपाध्याय

०००

डा. भट्टराईका कारण रुपन्देही चर्चामा
रुपन्देही/ सात पदका लागि २ सय ३९ जना उम्मेदवार रहेको रुपन्देही जिल्लामा जनताको अदालतबाट को–को उत्तीर्ण होलान् ? यसपटक पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई यहाँबाट उम्मेदवार भएकाले राष्ट्रकै ध्यानाकर्षण भएको छ ।
४० दलका १ सय ८४ जना र ५५ स्वतन्त्र उम्मेदवार भएको यो जिल्लामा जित्ने व्यक्ति किटान गर्न गाह्रो भए पनि समग्रमा मुख्यतया नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र तराई मधेशवादी दलवीच प्रतिष्पर्धा हुने देखिन्छ । मानव विकास सूचकाङ्कमा अग्रणी मानिएको, जातीय र साँस्कृतिक विविधतापूर्ण ८ लाख ८० हजार जनसंख्या र ३ लाख ८८ हजार ३ सय ७ जना मतदाता रहेको यो जिल्लामा के कस्तो परिणाम आउला ? राष्ट्रिय रुपमा चाखको विषय हो ।
देवदह, बोदवार, छिपागढ, छोटकीरामनगर, केरवानी, मक्रहर, सिक्टहन, धकधई, पटखौली, पोखरभिन्डि, गंगोलिया र पजरकट्टीलगायत १२ गाविसमा ५७ हजार ४ सय १२ जना मतदाता भएको क्षेत्र नम्वर १ मा कुल ३३ जना उम्मेदवार मैदानमा जुधेका छन् । यहाँबाट ०६४ को चुनावमा एमाओवादीका घनश्याम यादव चुनिएका थिए । यसपटक काङ्ग्रेसले पार्टी जिल्ला सभापति अब्दुल रज्जाक, एमाओवादीले देवेन्द्र पाण्डे, एमालेले पोलिटव्यूरो सदस्य छविलाल विकलाई प्रस्तुत गरेको छ । पहाडी र मधेसीको बराबरजस्तो बसोवास भएको यो क्षेत्रमा यसपटक जनजाति, सुकुम्वासी र चलायमान मतदाताहरू निर्णायक हुने देखिन्छन् ।
चिलिया, बगाहा, वसन्तपुर, पड्सरी, मधवलीया, हाटीफर्साटिकर, हाटिवनगाई र मैनहिया गाविस एवं सिद्धार्थनगर नगरपालिकाका ५६ हजार ९ सय ४४ मतदाता भएको क्षेत्र नम्वर २ मा ३८ जनावीच भिडन्त छ । गत चुनावमा मधेसी जनअधिकार फोरमका ओमप्रकाश यादव गुल्जारी चुनिएका थिए । यसपटक काङ्ग्रेसका केन्द्रिय सदस्य रामकृष्ण ताम्राकार, एमालेका क्षेत्रिय अध्यक्ष भरत पोख्रेल र राप्रपाका महामन्त्री दिपक बोहरावीच प्रतिष्पर्धा देखिन्छ ।
यस्तै, दयानगर, अमुवा, आनन्दवन, शंकरनगर, सौराहा फर्साटिकर, सेमलार, हर्नैया, मानपकडी, टिकुलीगढ, करहिया र खडवा वनगाई ११ गाविसमा ६३ हजार ९ सय ९० मतदाता भएको क्षेत्र नम्वर ३ मा ३५ जना उम्मेदवार मैदानमा छन् । गत चुनावमा काङ्ग्रेसका बालकृष्ण खाँड चुनिएका थिए । यसपटक पनि काङ्ग्रेसका केन्द्रिय सदस्य खाँड र एमालेका केन्द्रिय सदस्य घनश्याम भूसालबीच टक्कर छ । विकासप्रेमी नेता खाँड र सैद्धान्तिक व्याख्याकार भूसालवीचको टक्कर रोचक पनि छ ।
जिल्लामा सबैभन्दा वढी मतदाता रहेको र ९९ प्रतिशत पहाडियाको बसोबास भएको क्षेत्र हो रुपन्देही चार । यसपटक एमाओवादीका डा. बाबुराम भट्टराई यहाँबाट उम्मेदवार छन् । बुटवल नगरपालिका र पर्रोहा एवम् मोतिपुर गाविसका गरि ६५ हजार २ सय ४ मतदाता भएको यो क्षेत्रमा ३१ जना उम्मेदवार छन् । गत चुनावमा एमालेका विष्णु पौडेल चुनिएका थिए भने यसपटक पनि एमालेका केन्द्रिय सचिव पौडेल, काङ्ग्रेसका पूर्वसांसद सूर्यप्रसाद प्रधान र एमाओवादीका डा. भट्टराईबीच कडा प्रतिष्पर्धा छ । एमालेको संगठन राम्रो, काङ्गे्रसको मतदाता राम्रो र एमाओवादीको संगठन कमजोर रहेको यो क्षेत्रमा भट्टराईको उच्च व्यक्तित्वले चलायमान मतदातालाई प्रभावित बनाउने हो कि भनेर एमाले–काङ्ग्रेस त्रसित देखिन्छन् ।
यसैगरी, ५२ हजार ७ सय ८९ मतदाता रहेको क्षेत्र नम्वर ५ मा २८ जना मैदानमा छन् । गत चुनावमा एमालेका रामनाथ ढकाल चुनिएका थिए । यो क्षेत्रमा अहिले एमालेका ढकाल र काङ्ग्रेसका भरतशाहबीच प्रतिष्पर्धा देखिन्छ । यस्तै क्षेत्र नंबर ६ मा ४९ हजार ५ सय ४२ मतदाता छन् । गत चुनावमा फोरमका ओमप्रकाश यादवले तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ललाई जितेका थिए । उनी अहिले तराई मधेश समाजवादीका उम्मेदवार छन् । गत चुनावमा क्षेत्र नम्वर दुईबाट जितेका गुल्जारी पनि राजेन्द्र महतोको सद्भावना पार्टीबाट उम्मेदवार छन् । यो क्षेत्रमा सर्वेन्द्रनाथ शुक्ल, काङ्ग्रेसका अष्टभुजा पाठक र फोरम नेपालका बसिउद्धीन खाँ पनि चर्चित छन् । ७ नंबर क्षेत्रमा गत चुनावमा फोरमका मोहमद वकिल मुसलमान चुनिएका थिए । अहिले उनी फोरम लोकतान्त्रिकका उम्मेदवार छन् । मधेसी दल विभाजित भएकाले तमलोपाका कमलेश्वर पुरी र काङ्ग्रेसका दिनेश त्रिपाठीले लाभ उठाउन सक्छन् ।
०००
ठूला मधेशी नेताहरुले चुनाव हार्ने !
रुपन्देही/ तराई मधेश सदभावना पार्टी नेपालका प्रवक्ता एवम् केन्द्रिय युवा कमाण्ड इन्चार्ज सञ्जय गुप्ता (कौटिल्य)ले मधेशको नाममा राजनीति गर्ने मधेशवादी पार्टीका ठूला नेताहरुलाई जनताले पहिचान गरिसकेकाले यो निर्वाचनमा ठूला मधेशी दलका नेताहरूले पराजय ब्यहोर्ने दाबी गरेका छन् । सशस्त्र समुह परित्याग गरी राजनीतिक मुलधारमा आएका कौटिल्यले विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, शरद सिंह भण्डारीलगायतका मधेसवादी शीर्ष नेताहरूको नाम लिँदै उनले मधेश आन्दोलनका क्रममा ५३ मधेशी युवाहरुले बलिदान दिँदासमेत ठूला भनाउँदा दलका नेताहरुले मधेश र मधेशीको सत्ता प्राप्त गर्न मतदाताको रुपमा मात्र हेरेको आरोप लगाए । रुपन्देहीको क्षेत्र नं. ६ मर्चवारमा पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रथम मधेशी शहिद रमेश महतोको हत्यारालाई कार्यवाही गर्नुको साटो उपेन्द्र यादवलगायत अन्य मधेशी नेताहरुले सत्ताको लागि महतोको हत्यारालाई नेपाली राज्यसत्तासँग सम्झौता गरेको र कारवाही गर्नुको साटो माफी दिएको गुनासो समेत गरे ।
०००