तेक्वान्दोका ‘सुपरम्यान’ कमल क्षेत्री

तेक्वान्दोका ‘सुपरम्यान’ कमल क्षेत्री


sport‘निडरता’ उनको वास्तविक परिचय हो । गाउँमा कुनै साहसी र बहादुरीको कार्य गर्न उनको खोजी हुन्थ्यो । आँट, साहस र बहादुरीका विभिन्न साहसिक कार्य गर्दा गाउँमा उनको चर्चामा निकै हुन्थ्यो । त्यसबेला उनी गाउँका ‘हिरो’ थिए, अहिलेको ‘सुपरम्यान’जस्तो । समय बित्दै गयो, आफ्नो स्वाभाविक छविलाई सही साँचोमा ढाल्न उनले मार्शल आर्टस्लाई आत्मसात् गरे । मार्शल आर्टस्मा पनि तेक्वान्दोलाई रोजेका उनको निर्णय सही सावित भएको छ । आज उनी तेक्वान्दोका सफल र उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । राष्ट्रियस्तरमा सफलताको झण्डा गाड्दै अन्तर्राष्ट्रियस्तरमा धाक जमाएका उनी अहिले राष्ट्रकै ‘हिरो’ बन्न सफल भएका छन् । चितवनदेखि काठमाडौं र आर्मी प्रवेशसम्मको यात्रामा उनले निकै उतारचढावको सामना गर्नुपरे पनि हिम्मत भने कहिल्यै हारेनन् । परिणाम आज उनी तेक्वान्दो खेलका उत्कृष्ट खेलाडीको रूपमा परिचित छन्, उनी हुन्– कमलबहादुर क्षेत्री ।
स्कुल पढ्दा फुटबलमा रुचि राख्ने क्षेत्रीले १४ वर्षको उमेरमा तेक्वान्दोमा हामफालेका थिए । अग्रजहरूले लुकिछिपी तेक्वान्दो खेलेको देखेर प्रभावित भएका क्षेत्रीले शुभारम्भमा आत्मरक्षाका लागि तेक्वान्दोलाई आत्मसात् गरेका थिए । खेल्दै जाँदा तेक्वान्दोको नसाले यतिसम्म गाँज्यो कि उनी तेक्वान्दोबिना आफ्नो जीवन अधुरो देख्ने थाले । त्यसपछि उज्ज्वल भविष्यको सपना देख्दै काठमाडौं हानिएका क्षेत्री सोझै रंगशालामा ठोक्किएका थिए । तर दुर्भाग्य, त्यहाँ उनलाई प्रशिक्षण गर्ने अवसर प्राप्त भएन । पहिलो प्रयासमा निसारा हात लागे पनि साहसी क्षेत्रीले हिम्मत भने हारेनन् । बरु तेक्वान्दोको प्रशिक्षणको विकल्प खोज्न थाले । ‘के खोज्छस् कानो आँखा’ भनेझैं सोही समयमा खुलेको सेनाको भर्ना उनका लागि कोसेढुङ्गा सावित भयो । त्यसबेला सेनामा तेक्वान्दोको प्रशिक्षण गराउने भएकाले तेक्वान्दो खेल्न पाउने विश्वासका साथ ०४७ सालमा क्षेत्री सेनामा प्रवेश गरेका थिए । यहीँबाट उनको खेलजीवनले नयाँ मोड लिएको थियो । १८ वर्षको युवा, त्यसमाथि तेक्वान्दोको भूत सवार, यो नै उनको सफल खेलाडी बन्ने लक्षण थियो । यही सकारात्मक सोचलाई आत्मसात् गर्दै तेक्वान्दोको प्रशिक्षणमा होमिएका क्षेत्री आफ्नो ब्याज (सातौँ) को उत्कृष्ट खेलाडी बन्दै त्रिभुवन क्लबका लागि छनोट भएका थिए । क्षेत्रीलाई यहाँसम्म पु-याउन प्रशिक्षक शङ्कर तामाङ र शेरबहादुर थापाको विशेष भूमिका रहेको थियो । प्रशिक्षकद्वय नै क्षेत्रीका प्रेरणाका स्रोत थिए ।
०५२ सालमा त्रिभुवन क्लबमा प्रवेश गरेका क्षेत्रीलाई सोही साल पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेल्ने साइत जुरेको थियो । हेटौँडामा भएको उक्त चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा क्षेत्रीले फेदरवेटमा प्रतिस्पर्धा गर्दै पहिलो सहभागितामै दोस्रो स्थान हासिल गरेर सम्भावनाका बाटाहरूलाई सहज बनाएका थिए । त्यसको लगत्तै काठमाडौंमा भएको राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेपछि उनको चर्चाले शिखर छुनुको साथै तेक्वान्दोका सफल र उदीयमान खेलाडीको रूपमा देखापरेका थिए । ०५६ सालमा शान्ति सेनाका लागि लेवनान जानुपर्दा अलि खल्लो महसुस भएको थियो । यसर्थमा कि त्यसबेला क्षेत्रीकोे खेलजीवन चरमबिन्दुमा पुगेको थियो । केही गरेर देखाउने बेलामा लेवनान यात्रा उनको लागि पीडादायक बने पनि उनले धैर्य भने गुमाएनन् । त्यहाँ ६ महिना बसेर फर्केपछि पुन: तेक्वान्दो प्रशिक्षणमा जुटे । परिणाम, सोही साल नेपालगन्जमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा त्रिभुवन क्लबलाई स्वर्ण पदक दिलाएपछि क्षेत्रीको खेलजीवनमा नै कायापलट भएको थियो । त्यसपछि उनले पछि फर्केर हेर्नुपरेन । राष्ट्रिय प्रतियोगिताको सफलतासँगै उत्कृष्ट खेलाडीको कोटामा परेका क्षेत्री त्यसपछि आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) को बन्द प्रशिक्षणका लागि आर्मी क्लबबाट छनोट भएका थिए । यो उनको खेलजीवनको दोस्रो टर्निङप्वाइन्ट थियो । उनलाई यहाँसम्म पु-याउन पुन: शेरबहादुर थापाले महत्वपूर्ण भूमिका निभाएका थिए ।
पहिलोपटक बन्द प्रशिक्षण पर्दा उनको खुसीकोे कुनै ठेगाना थिएन । मानौँ उनको खुट्टाले भुइँ छोडेका थिए । अझ पाँच महिना बन्द प्रशिक्षणमा बस्दा र आफ्नो समूह (लाइटवेट) मा छनोट हुँदा उनलाई संसार जितेकोजस्तो लागेको थियो । यसर्थमा कि उनी बल्ल आठौँ साफमा प्रतिस्पर्धा गर्नका लागि योग्य ठहरिएका थिए । यसपछि डेढ महिना कोरियामा वैदेशिक प्रशिक्षण लिएका क्षेत्रीले ०५८ मा काठमाडौंमा सम्पन्न आठौँ साफमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । स्वर्ण पदक जित्दा र राष्ट्रिय धुनसँगै राष्ट्रको झण्डा फहराउन पाउँदा आफू निकै भावविभोर भएको क्षेत्रीले बताए । ‘म खुसीले गद्गद् थिएँ, आँखाबाट आँसु झरेका थिए, मेरो सपना पूरा भएको थियो, मेरो वर्षौंको मिहिनेतले रङ देखाएको थियो, त्यो क्षण साँच्चिकै अविष्मणीय थियो, मैले सगरमाथाको चुचुरोमा पुगेको अनुभव गरेको थिएँ,’ क्षेत्रीले भने । स्मरण रहोस्, आठौँ साफमा आर्मीलाई स्वर्ण पदक दिलाउने क्षेत्री पहिलो व्यक्ति थिए । त्यसपछि क्षेत्रीले पाएको सफलतालाई आर्मीले उच्च मूल्याङ्कन गर्दै ‘त्रिपल प्रमोसन’ एकैसाथ गरेको थियो । उनलाई सिपाइबाट जमदार बनाइएको थियो । त्यस्तै सरकारले सुप्रबल गोर्खा दक्षिणबाहु र नगद पुरस्कारबाट सम्मानित गरेको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले स्वर्ण पदक विजेतालाई जग्गा दिने घोषणा गरे पनि त्यसको बदलामा दुई किस्तामा नगद प्रदान गरिएको थियो ।
आठौँ साफलगत्तै हङकङमा भएको १४औँ एसियन तेक्वान्दो च्याम्पियनसिपमा राष्ट्रिय छनोट हुँदै क्षेत्रीले सहभागिता जनाएका थिए । तर दुर्भाग्य, एक दिन पछि हुनुपर्ने गेम पुगेको एक घन्टामै खेल्नुपर्दा उनले स्वाभाविक प्रदर्शन गर्न सकेनन् । परिणाम उनी पहिलो चरणमै पराजित भए । अर्को वर्ष ०५९ मा चीनमा आयोजना भएको सेन्जेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तर्फवाट कमल क्षेत्री र कुमार कार्कीले सहभागिता जनाएका थिए । यी दुवै खेलाडीले हङकङका सिनियर मास्टर नम्बरजंग गुरुङको क्लबबाट उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । उक्त च्याम्पियनसिपमा दुवै खेलाडीले स्वर्ण पदक जितेका थिए । विजयपश्चात् क्लबले नगदसहित पुरस्कृत गरेको थियो । यो क्षेत्रीको दोस्रो अन्तर्राष्ट्रिय सफलता थियो । यो विजयसँगै उनले हङकङमा भोगेको पराजयको केही हदसम्म मल्हमपट्टी गर्न सफल भएका थिए ।
सफलताले चुम्दै जाँदा ०६० सालमा क्षेत्री नवौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट भएका थिए । स्वदेश र विदेशमा भएका बन्द प्रशिक्षणमा खुबै मिहिनेत गरे पनि नवौँ सागको मिति सरेपछि उनलाई निकै कुठाराघात भएको थियो । यसरी थाइल्याण्डमा प्रशिक्षण गर्दागर्दै उनी स्वदेश फिर्ता भएका थिए । नवौँ सागमा पनि स्वर्ण पदक जित्ने विश्वासका साथ प्रशिक्षणमा जुटे पनि पटक–पटक सागको मिति परिवर्तनले गर्दा उनको सपनामा तुषारापात भएको थियो । सागको अनिश्चितता र अन्तर्राष्ट्रिय प्रतियोगिताको अभावले नियमित प्रशिक्षण गर्न नपाउँदा उनले सोही साल सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए । त्यसपछि आर्मीको सिनियर प्रशिक्षक भएका क्षेत्रीले आठौँ ब्याजका खेलाडीलाई प्रशिक्षण दिँदै राष्ट्रिय खेलाडी उत्पादन गर्नमा दिनरात खटेर लागेका थिए । क्षेत्री छोटो समयमा उत्कृष्ट खेलाडी पैदा गर्न सफल भए पनि सन् २००३ मा उनलाई अमेरिका जाने सुअवसर प्राप्त हुँदा आर्मी प्रशिक्षकको जिम्मेवारीलाई छोडेर उतै लागेका थिए ।
खेलाडी, प्रशिक्षक किन विदेश पलायन हुन्छन् त्यो खेलकुद क्षेत्रले आत्मसात् गरेकै कुरा हो । मुलुकको जर्जर आर्थिक अवस्था प्रमुख कारण भए पनि खेलकुदप्रति सरकारको दृष्टिकोण अर्को दु:खद् पाटो हो । खेलाडीप्रति राज्यको स्पष्ट नीतिकै अभावले गर्दा अन्तर्राष्ट्रियस्तरमा पदक जितेर मुलुकको प्रतिष्ठा बढाएका खेलाडीलाई विदेश भासिन बाध्य पारिएको छ । जुन नेपाली खेलकुद क्षेत्रका लागि दुर्भाग्य बन्दै गएको छ । त्यसैको एक पात्रको रूपमा कमल क्षेत्रीले पनि पलायनको बाटोलाई रोज्नुपरेको थियो । तर, नसानसामा दौडिएको खेलाडीको रगतले आफ्नो खेल र मातृभूमिलाई विश्वको जुनसुकै कुनामा पुगे पनि बिर्सन सक्दोरहनेछ । क्षेत्री अमेरिका पुगे पनि तेक्वान्दोसँगको साइनोलाई सधैँ प्रगाढ राखे । विदेशमा बसेर पनि नेपाली तेक्वान्दोको समग्र विकासका लागि अहम् भूमिका निभाएका थिए । तेक्वान्दोका चर्चित खेलाडी यमबहादुर पुन, विधान लामा, नारायण गुरुङ, सविता राजभण्डारी, किशोर श्रेष्ठ र जगन श्रेष्ठ (विपिन)सँग एन्टामा हातेमालो गर्दै तेक्वान्दोको विकासमा यद्यपि होस्टेमा हैंसे गर्दै आएका छन् । जो भविष्यमा पनि जारी रहनेछ ।
क्षेत्रीलाई तेक्वान्दोका अनगिन्ती खेलाडी र प्रशिक्षक मनपर्ने भए पनि त्यो भीडमा उनले आर्मीका तेक्वान्दो प्रशिक्षक शङ्कर तामाङ र सहकर्मी साथी दीपक विष्टलाई उच्च स्थानमा राखेका छन् । तामाङको प्रेरणा, विष्टको मित्रता तेक्वान्दोमा क्षेत्रीको सफलताको राज हो । त्यसैले यी दुवै क्षेत्रीका आइकन बनेका छन् । आठौँ साफमा स्वर्ण पदक जित्दाको क्षणलाई आफ्नो अविष्मरणीय क्षण बताउने क्षेत्रीले स्वर्ण पदक जित्दाको आनन्दसँगै आफ्नो सपना पूरा भएको बताएका छन् । आठौँ साफमा स्वर्ण पदक जित्नुअघिको छटपटी र बेचैनी अहिले पनि उनको मानसपटलमा ताजै छ । त्यसबेला भोग्नुपरेको मानसिक पीडाले अहिले पनि उनलाई घचघच्याइरहन्छ । आठौं साफका दौरान क्षेत्री र किशोर श्रेष्ठ रुममेट थिए । किशोरको खेलअगाडि पर्नु र उसले स्वर्ण पदक जितेर खुसियाली बाँड्नु क्षेत्रीका लागि ठूलो चुनौती बनेको थियो । अझ सुत्नुअघि सिरानीमा स्वर्ण पदक राखेर किशोरले सुत्दा क्षेत्रीको निद हराम भएको थियो । आफूले स्वर्ण पदक जित्न सक्छु कि सक्तिनँ भन्ने चिन्ताले ग्रस्त पारेको थियो । मनमा अनेक प्रकारका प्रश्न उब्जे पनि क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेपछि राहतको सास फेरेका थिए । त्यसपछि उनले स्वर्ण पदकसँगै खुसियाली साट्ने मौका पाएका थिए ।
अहिले अनुशासनको कमी देख्ने क्षेत्रीले डेढ दशकअघिको तेक्वान्दोलाई उत्कृष्ट भएको बताएका छन् । त्यसबेला खेलाडीहरू गुरुहरूले भनेकोे मान्थे, अनुशासित थिए । तर, अहिलेको अवस्था त्यस्तो छैन । खेलाडीलाई समयानुकूल खेल्ने वातावरण छैन, एक–अर्काप्रति अविश्वास छ । खेलाडी र प्रशिक्षकबीचको तालमेल मिल्न सकेको छैन भने मिलाउने कोसिस पनि कसैले गरेको छैन । तसर्थ खेलाडी र प्रशिक्षकमै अविश्वासको खाडल देखिएको छ । यो अविश्वासको खाडललाई पुर्ने काम नेपाल तेक्वान्दो सङ्घको भए पनि त्यसप्रति सङ्घ उदासीन देखिएको छ । परिणाम खेलाडी र प्रशिक्षकबीचको दूरी बढ्दै छ । सङ्घले यो कुरामा समयमै हस्तक्षेप नगरे नेपालको नम्बर एक खेल भोलि इतिहासको पानामै सीमित नरहला भन्न सकिन्न । तसर्थ दुवै पक्ष अनुशासन र लगनताका साथ खेलाडी अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको छ ।

खेल समाचार
‘अक्षम’ क्यानलाई ८३ लाख जरिवाना
सन् २०१२ को अन्तिम चौमासिक र सन् २०१३ को पहिलो आर्थिक प्रतिवेदन समयमा नबुझाउँदा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसीले) नेपाल क्रिकेट सङ्घ (क्यान)लाई ८३ लाख रुपैयाँ जरिवाना गरेको छ । आईसीसीले दुई महिनाअघि नै प्रतिवेदन बुझाउन क्यानलाई पत्राचार गरे पनि क्यानले आर्थिक प्रतिवेदन बुझाउनुको सट्टा आईसीसी र एसीसीलाई कारबाही रोक्न पत्रचार मात्र गरेको थियो । क्यानले आर्थिक प्रतिवेदन बुझाउन आलटाल र ढिलो गरेपछि आईसीसीले कारबाही गरेको हो ।
नियमअनुसार २०१२ को अन्तिम चौमासिक प्रतिवेदन २०१३ को जनवरीको अन्त्यसम्ममा बुझाउनुपर्नेमा क्यानले चार महिना ढिलो गरी मेमा मात्र पठाएको थियो । २०१३ को पहिलो चौमासिक प्रतिवेदनसमेत बुझाउनुपर्ने बेलामा क्यानले नबुझाएपछि आईसीसीले कारबाही गरेको हो । यो कारबाहीपछि अब आईसीसीले क्यानलाई प्रशासनिक खर्च र विकास खर्चबापत प्रदान गर्दै आएको रकमबाट उक्त रकम कट्टा गर्नेछ । स्मरण रहोस्, आईसीसीले प्रशासनिक खर्च र विकास खर्चबापत क्यानलाई वर्षेनी तीन लाख ३५ हजार डलर प्रदान गर्दै आएको छ ।
हालै क्यानलाई आईसीसीले कारबाही गरेपछि क्यानका पदाधिकारी एक–अर्कालाई दोषारोपण गरिरहेका छन् । उनीहरूले यो घटनाको सम्पूर्ण दोषी क्यानका महासचिव अशोकनाथ प्याकु-याल भएको बताएका छन् । समस्या आएपछि समस्याको समाधानका लागि महासचिव प्याकु-याललाई बोर्ड बैठकले सम्पूर्ण जिम्मेवारी दिएको बताउँदै ती पदाधिकारीहरूले महासचिवको लापरबाही र गैरजिम्मेवारीले गर्दा आईसीसीले कारबाही गरेको बताएका छन् । आवरणमा यस्तो चर्चा चले पनि राजनीतिक शक्तिको आडमा क्यानको वागडोर सम्हालेका अध्यक्ष टंक आङबुहाङको अक्षमता नै प्रमुख कारण हो । क्रिकेटको विकासभन्दा पनि व्यक्तिगत र राजनीतिक विकासलाई बढी प्राथमिकता दिँदै आएका आङबुहाङलाई यो कारबाहीले त्यति फरक नपारे पनि क्रिकेटलाई भने निकै फरक पार्ने पक्का छ । भर्खरै वामे सर्न लागेको क्रिकेटमाथि क्यानका पदाधिकारीहरूको देखाएको यो रवैयाले भोलि अन्य सुविधामा पनि कटौती नहोला भन्न सकिँदैन ।

थापाले माफी मागे
विभिन्न हर्कत गरेर विवादमा तानिएका अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष गणेश थापाले अन्त्यमा माफी मागेका छन् । हालै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको उपस्थितिमा भएको वार्तामा थापाले सञ्चारकर्मी र राखेप कर्मचारी सङ्घका पदाधिकारीसँग माफी मागेका हुन् । वार्ताको क्रममा थापाले आफ्नो मपाइँत्व देखाउँदै दुवै पक्षलाई धम्क्याउँदै आफ्नो शक्ति प्रदर्शन गरेका थिए । थापाको यस्तो रवैयाबाट चिढिएका सञ्चारकर्मी र कर्मचारीले यसको प्रतिवाद गर्दै अन्त्यमा थापालाई झुकाउन सफल भएका थिए । तत्पश्चात् थापाले आफूले गम्भीर भूल गरेको स्वीकार्दै आँखाभरि आँसु पार्दै अबदेखि यस्तो घटना नदोहोरिने भन्दै माफी मागेका थिए ।
पहिले गल्ती गर्ने त्यसपछि माफी माग्ने थापाको पहिलेदेखिकै रोग हो । उनले अहिले त्यही कुरालाई दोहो-याउँदै यो कुरालाई प्रमाणित गरेका छन् । पहिले तथानाम गालीगलोज र दुव्र्यवहार गर्ने त्यसपछि बाघ मारेको फुर्ती गर्ने थापा यो घटनालाई दबाउन विभिन्न शक्तिकेन्द्र धाएका थिए । शक्तिकेन्द्रबाट यो तपाईंको व्यक्तिगत समस्या हो, आफैँ सुल्झाउनुहोस् भनेपछि उनी वार्तामा आउन बाध्य भएका थिए । यसपछि पनि थापाले राखेपका सदस्यसचिव लामासँग गोप्य वार्ता गर्दै समस्याको समाधान गर्नुभन्दा पनि विवाद सामसुम पार्न असफल प्रयास गरेका थिए । यो कुरामा सदस्यसचिव लामाले असहमति जनाएपछि थापा पराजित मानसिकताका साथ वार्तामा बस्न बाध्य भएका थिए ।
थापाले घरमै गएर माफी मागेका घटना प्रसस्त छन् । उनी यसरी नै पटकपटक विवाद समाधान गर्न सफल पनि भएका छन । विवाद बढ्दै गएपछि यसपटक पनि उनले यस्तै गर्ने मानसिकता बनाएका थिए । तर, विवादको आगोले डडेलोको रूप धारण गरेपछि थापा पछि हटेका थिए । थापाका विरुद्धमा महिला आयोग र राखेपमा एकैपटक दुव्र्यवहार गरेको उजुरी परेपछि स्थिति उनको कावुबाट बाहिरिएको थियो । अहिले सञ्चारकर्मी र कर्मचारी सङ्घसँग माफी मागेर थापा उम्किए पनि महिला आयोगमा परेको उजुरी उनका लागि भालुको कम्पट बन्ने पक्का छ ।
राखेप कर्मचारीसँग माफी मागेको कुरा बाहिर नल्याउन थापाले सङ्घका पदाधिकारीसँग अनुरोध गरेको सूत्रले बताएको छ । जे हुनु भइहाल्यो अब विवाद बढाएर वा प्रचारबाजी गरेर केही फाइदा नहुने भन्दै थापाले यो विवादलाई सदाका लागि समाप्त गर्नुपर्ने अनुरोध गरेको सूत्रको दाबी छ । थापा भिजेको मुसो बनेपछि कर्मचारी सङ्घले आइन्दा यस्तो घटना नदोहोरियोस् भन्दै थापाको माफी स्वीकार गर्दै प्रेस विज्ञप्ति प्रेसित नगरेको बुझिएको छ ।

सिनियरमा प्रहरी र जुनियरमा काठमाडौं टिम च्याम्पियन
चौथो कोटेश्वर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियरमा नेपाल प्रहरी क्लब र जुनियरमा काठमाडौं जिल्ला च्याम्पियन बनेका छन् । कोटेश्वर तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा प्रहरीले पाँच स्वर्ण, एक रजत र दुई कास्य जित्दै टिम च्याम्पियनको उपाधि जितेको हो । दुई स्वर्ण, तीन रजत र तीन कास्यका साथ आयोजक ‘ए’ दोस्रो भयो भने तेस्रो बनेको एपीएफ क्लबले दुई स्वर्ण र दुई कास्य हात पारेको थियो ।
जुनियरमा च्याम्पियन बनेको काठमाडौंले तीन स्वर्ण र एक कास्य जितेको थियो । दोस्रो भएको पूर्वाञ्चलले एक स्वर्ण, दुई रजत र दुई कास्य जितेको थियो भने एक स्वर्ण, एक रजत र चार कास्यका साथ आयोजक ‘ए’ तेस्रो स्थानमा रहेको थियो । सिनियरको पुरुषमा रञ्जन श्रेष्ठ र महिलामा निमा गुरुङ उत्कृष्ट खेलाडी चुनिए । दुवै प्रहरी क्लबका खेलाडी हुन् । जुनियरको पुरुषमा आयोजक ‘ए’ का कृष्ण लामा र महिलामा काठमाडौंकी सन्दीपा आमगाईं उत्कृष्ट खेलाडी ठहरिए । उत्कृष्ट चारैले जनही पाँच हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिताको अन्तिम दिन १४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । नरेफाँटमा भएको प्रतियोगिताको सिनियरतर्फ पुरुषको ५४ केजीमुनि एपीएफका चन्द्र रानामगरले स्वर्ण जिते । उनले फाइनलमा प्रहरीका विशाल श्रेष्ठलाई पराजित गरेका थिए । ५८ केजीमुनि प्रहरीका रञ्जन श्रेष्ठले बाजी मारे । फाइनलमा उनले पश्चिमाञ्चलका जोर्डनविक्रम श्रेष्ठको चुनौती समाप्त पारे । ६३ केजीमुनिको फाइनलमा आयोजक ‘ए’का रोहित तामाङले आफ्नै ‘बी’ टिमका विवश श्रेष्ठलाई निराश पार्दै स्वर्ण जितेका थिए ।
सिनियरकै पुरुष ६८ केजीमुनि आयोजक ‘ए’का मोहम्मद वेशले स्वर्ण जितेका थिए । उनले फाइनलमा पूर्वाञ्चलका पवन अगस्तीलाई पाखा लगाएका थिए । ७४ केजीमुनि प्रहरीका अनोज पुजारीले आयोजक ‘ए’का सक्षम कार्कीलाई निराश पार्दै शीर्ष स्थान हात पारेका थिए । त्यस्तै सिनियर महिलाको ४६ केजीमुनि प्रहरीकी रेजिना कार्कीले आयोजक ‘ए’की काजोल श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् । ४९ केजीमुनिको उपाधि भिडन्तमा प्रहरीकी सीता तामाङले मध्यमाञ्चलकी सोममाया तामाङलाई हराउँदै पहिलो स्थान हात पारिन् । प्रहरीकी निमा गुरुङ पश्चिमाञ्चलकी तारा जीसीलाई पाखा लगाउँदै ५३ केजीमुनि च्याम्पियन बनेकी थिइन् । ५७ केजीमुनि एपीएफकी संगीता बस्याल शीर्ष स्थानमा रहिन् । सङ्गीताले फाइनलमा आयोजक ‘ए’की सुष्मा श्रेष्ठलाई पाखा लगाएकी थिइन् ।
जुनियर महिलाको ४२ केजीमुनिमा पूर्वाञ्चलकी विनिका जोशी र ३८ केजीमुनिमा काठमाडौंकी सन्दीपा आमगाईंले स्वर्ण पदक जितेका थिए । त्यसैगरी जुनियर पुरुषको २५ केजीमुनिमा काठमाडौंका विधान श्रेष्ठ, ४६ केजीमुनिमा मध्यमाञ्चलका प्रशन्न कायस्थ तथा ५० केजीमुनिमा आयोजक ‘ए’का कृष्ण लामाले स्वर्ण जितेका थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालगायतले पुरस्कार प्रदान गरेका थिए । दुईदिने प्रतियोगितामा सिनियर र जुनियरमा १२ टिमका एक सय ५३ खेलाडीले १५ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले जनाएका छन् । प्रतियोयिगताको युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले कुनै पनि जिल्ला कभर्डहलविहीन नहोस् भन्नेतर्फ मन्त्रालय अगाडि बढिरहेको बताएका थिए । प्रतियोगिताको समापन प्रतियोगिताका संयोजक विक्रम लामाले गरेका थिए ।

ओलम्पियन विधानसहित १२ सम्मानित
चौथो कोटेश्वर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा दक्षिण कोरियाको सिओलमा भएको २४औँ ओलम्पिक खेलकुदअन्तर्गत तेक्वान्दोको प्रदर्शनी खेलमा नेपाललाई कास्य दिलाएका विधान लामासहित १२ जना सम्मानित भएका थिए । सम्मानित हुने अन्यमा विश्व पारा तेक्वान्दोका कास्य विजेता यादव कुँवर, ओलम्पियन नारायण गुरुङ र वरिष्ठ तेक्वान्दो प्रशिक्षक नमरजंग गुरुङ रहेका छन् । त्यस्तै क्योकुसिन खेलाडीद्वय उमेश गुरुङ र प्रकाश राउत, टेबलटेनिस खेलाडी इन्दिरा गुरुङ, फुटबल खेलाडी राजकुमार घिसिङ तथा तेक्वान्दो खेलाडी रञ्जन श्रेष्ठ, ताराकुमार रायमाझी, सक्षम कार्की र वसन्त राउत पनि सम्मानित भएका थिए । यी आठै खेलाडी काठमाडौं महानगरपालिका ३५ वडाका हुन् । सम्मानित हुनेलाई खेलकुदमन्त्री रामकुमार श्रेष्ठले प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए ।