लोकतन्त्र सपना – अधिवक्ता जीबी आचार्य

लोकतन्त्र सपना – अधिवक्ता जीबी आचार्य


bicharपञ्चायती निरङ्कुशताको जग हल्लाउन होस् कि राजाको स्वेच्छाचारी पखेटा काट्न होस् नेपाली जनताको अभूतपूर्व शौर्य र वीरताको प्रदर्शन गरे लोकतन्त्रका लागि । के नारी के पुरुष लोकतन्त्र सबैको आदर्श सपना बनेको थियो त्यतिबेला । त्यसैले ती आन्दोलन राजनीतिक पार्टीले आयोजना गरेका सीमित राजनीतिक आन्दोलन थिएनन्, ती त समग्र सामाजिक आन्दोलन बनेका थिए । शिक्षक, विद्यार्थी, चिकित्सक, कानुनकर्मी सबै पेसाका मानिसको ऐक्यबद्धतापूर्ण ती आन्दोलनको अभीष्ट के थियो । किन चिकित्सकहरूले हातमा कालोपट्टी बाँधे ? किन लेखक–कलाकारले सडकमा धर्ना दिए ? किन कानुनकर्मीले आमगिरफ्तारी दिए ? किन विद्यार्थी आन्दोलनका अग्र मोर्चामा उपस्थित थिए ? ती सबैले चाहेको सपना एउटै थियो, लोकतन्त्र सपना । लोकतन्त्र सपना देख्ने हक सबैलाई छ । सबैले देखेको सपना शान्ति र समानाताका लागि थियो । अकाल मृत्युबाट छुटकारा र मान्छेले मान्छेलाई गर्ने विभेदको अन्त्य लोकतन्त्र सपना हुन् । विकास र अग्रगमन पनि लोकतन्त्र सपना हुन्, त्यसमा सामाजिक न्याय पनि समावेश हुनैपर्छ, समानता र कानुनी राज्य पनि ।
पञ्चायत अनुभव गरेकाहरूलाई थाहा छ– पञ्चायतमा एकथरी मानिस मात्रका लागि देश थियो । उनीहरू दिनदहाडै अपराध गर्ने छुट पाउँथे, त्यसैले त नारी अस्मिता सुरक्षित थिएन । अर्काथरी मानिस जेलमा कोचिन्थे वा तिनीहरूको कत्लेआम हुन्थ्यो । सबै पञ्च नेपाली सबै नेपाली पञ्च’ को सङ्कीर्ण नाराभित्र सारा नेपाली मन अटाउन सक्ने कुरै थिएन । विचारको विविधता, विचारको उत्कृष्टता र उत्कृष्टताको प्रतिस्पर्धाबाट सामाजिक विकास लोकतान्त्रिक आन्दोलनको अभीष्ट यस्तै थियो । मान्छे–मान्छेबीच व्याप्त विभेदीकरण चाहे त्यो जन्मको आधारमा होस् वा जाति, धर्म, वर्ण वा लिङ्गको आधारमा होस् त्यसको समूल अन्त्य पनि आन्दोलनको अभीष्ट थियो ।
आन्दोलनसँग अपेक्षा जोडिएका हुन्छन् र ती अपेक्षाहरू सपनामा बदलिन्छन् र सपनाहरू जीवन पद्धतिमा । तर, आममान्छेका सपनाहरू साना र सीमित हुन्छन् । आममान्छे न त कुनै सत्ताप्रति आशक्त हुन्छ न त कुनै सत्ताको उग्र विरोधी नै हुन्छ न त ऊ विद्रोह नै गर्ने सामथ्र्य राख्दछ । उसको सपनाभित्र पर्छन् सामान्य रोजीरोटी, दुःखजिलो, जीवन जिउने मेलो । ऊ न त शक्तिको आकाङ्क्षी हुन्छ न त शक्तिको अधिकार गुमेको अवस्थामा आत्मश्लाघा नै पाल्दछ । प्रधानमन्त्री, मन्त्री, जीएम, राजदूत वा अधिकृतजस्ता अन्य शुभलाभका पदका लागि मरिहत्ते गर्दछ । घर र खेतबारीको साँघुरो परिधिमा बाँचेको आममान्छे न त कुनै वाद बुझ्दछ भने न त प्रतिवाद नै । उसको स्वार्थ परिधि नै उसको जीविकोपार्जन र सन्तानको साँघुरो भविष्यको कल्पनामा सीमित छ । घन र छिनो खेलाउँदा हत्केलामा उमे्रका ठेलाले जर्जर बनाएका मुठ्ठीहरू, डोकोको चोयाले पिठ्युँभरि लेखेका किरमिर कथाहरू, जर्जर, ढुङ्गा र काँडाका ठोसाले छियाछिया पारेका पैतालाहरू आममान्छेको जीवनको साझा जीवनकथा यही हो । आफूलाई मरेतुल्य सम्झेर गरिएका तमाम विभेदपूर्ण व्यवहारलाई साँझ–बिहानको सिस्नुको खोले र ढिँडो सम्झेर हार्दिकतापूर्वक पचाएका यी आममानिसलाई जीवनबोध हुने गीत गाउन कसले सिकायो । ज्योतिविहीन तिनीहरूका शून्यशून्य चिम्सा आँखामा उज्ज्वल सपना कसले भ-यो ? केवल जोड्ने नियतिका लागि बनेका तिनका लुला हातहरूलाई जुझारु मुठीमा कसले फे-यो ? दासताको प्रशस्ती गाउन अभ्यस्त स्वरहरूमा विद्रोहको बारुद कसले मिलायो ? उनीहरूलाई जिउनुको अर्थ र ताप्पर्य सिकायो कसले ? उत्तर सजिलो छ । नेपालका राजनीतिक पार्टीहरूले, त्यसका नेताहरूले, तिनका कार्यकर्ताहरूले, तिनका राजनीतिक दस्तावेजहरू र कार्यक्रमहरूले खुलामञ्चमा उर्लने भाषणहरूले ।
लोकतन्त्र जीवनप्रतिको विश्वास हो, आफैँप्रतिको सम्मान हो, अरूप्रतिको आस्था हो र नयाँ चेत र मूल्यप्रतिको सद्भाव हो । नत्र किन मानिसहरू मृत्युसँग पौंठेजोरी खेल्न तम्सिन्थे । गोलीका बौछारको पर्वाह नगरी कसरी मृत्युमय कफ्र्युका काला आदेशहरूलाई निस्तेज बनाउन सक्थे, किमार्थ सक्दैनथे । त्यसैले लोकतन्त्रको सपना एउटा फितलो सपना किमार्थ होइन, बरु यो त सयौँ चेलीले सिन्दुर पुछेपछि हजारौँ बालबालिका मातृत्व–पितृत्व गुमाएर टुहुरा बनेपछि साकार भएको सपना हो । सैयौँ घाइतेको मुुुटको चसक लोकतन्त्रको रापिलो गरिमा बन्नुपर्छ । तर, लोकतन्त्र प्राप्तपछि नेपाली राजनीतिक जुन मोडबाट अगाडि जानुपथ्र्यो, जान सकेन । त्यसले गर्दा आममानिसलाई लोकतन्त्रप्रति वितृष्णा बढाएको छ ।
मानिसहरू हिजो र आजको तुलना गर्न थालेका छन् । अझ आजभन्दा हिजो राम्रो थियो भन्नेहरू पनि प्रशस्त छन् । यसो हुनु लोकतन्त्रका लागि शुभ होइन । नेपालका राजनीतिक पार्टीहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दा लोकतन्त्रको साख गिरेको छ । आर्थिक अनियमितताले नेपालका सबैजसो दल गाँजिएका छन् । नेताहरूको अपारदर्शी जीवनशैली जनताको आँखामा सुईझैं बिझाएको छ । नेताका छोराछोरीहरू सहरका सबैभन्दा महँगा र सुविधासम्पन्न निजी विद्यालय र कलेजामा निःशुल्क अध्ययन गर्छन् भने सरकारी छात्रवृत्तिमा पनि नेताकै आफन्त र भनसुनका मानिसले अवसर पाउनाले योग्य तर पहुँचविहीन मानिसका लागि यो देश हिजो पनि नरकजस्तै थियो र आज पनि त्यो बदलिएको छैन । सरकारी अस्पतालदेखि सरकारी सुविधाका सबै ठाउँमा बढेको यो अपारदर्शिता र मनोमानीले देशलाई कहाँ पु-याउँदै छ ? के यस विषयमा कसैलाई हेक्का छ ? आजको बीस वर्षपछि देशको अवस्था कस्तो हुनेवाला छ, कसैले हेक्का राखेको पाइँदैन ।
देशमा राष्ट्रिय योजना आयोग त छ तर योजना छैन । योजना बनाए पनि त्यसको कार्यान्वयन हुँदैन । राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न सक्ने र पहुँचवाला नेताहरू नीति मिचेर भए पनि आफ्नो क्षेत्रमा अधिक बजेट पारिरहेका छन् । अन्यत्रका जनता त्यसको घोर मारमा परेका छन् । पञ्चायतकालमा पनि यस्तो विभेदपूर्ण बजेट विनियोजनबारे सुनिन्थ्यो, त्यसैले त लोकतन्त्र चाहिएको हो । तर, लोकतन्त्रमा पनि न्यायपूर्ण बजेट विनियोजन हुन सकेन सामाजिक न्यायको स्तर खस्कँदै गयो । पार्टीभित्र गुट र गुटभित्र उपगुटले प्रश्रय पाउँदै जाँदा विधि सर्वेसर्वा हुन पाएन, व्यक्तिकै हालिमुहाली चलिरह्यो । व्यक्तिवाद लोकतन्त्रको दुश्मन हो र लोकतन्त्रको सपनाको सबैभन्दा ठूलो ऐंजेरू ।
राष्ट्रियताको सवाल नेपाली राजनीतिमा सबैभन्दा जटिल र संवेदनशील सवालको रूपमा रहिआएको छ । त्यसो त गणतन्त्रको सवाल पनि २००६ सालदेखि नै नाराको रूपमा लाग्दै आएको छ । राष्ट्रियता वा गणतन्त्र नेपाली जनताको प्रमुख आवश्यकता के हो, यसको पहिचान मूर्तरूपले हुन सकेन भने के राष्ट्रियता बाँकी रहन्छ ? राष्ट्रियता नै बाँकी नरहेपछि गणतन्त्र वा लोकतन्त्रको भविष्य बाँकी रहँदैन । तर, नेपालमा अहिले जे–जस्तो परिस्थिति विकास भएको छ त्यसले नेपाली मानसमा ठूलो संसय पैदा गरिदिएको छ । नेपाली गणतन्त्र वा लोकतन्त्र राष्ट्रियतासँग साटिएको हो भन्ने संसयले नेपाली राजनीतिक माहोल तातिएको छ । राष्ट्रियतासँग साटिएको लोकतन्त्र नेपाली जनतालाई किमार्थ स्वीकार्य हुनुहुँदैन । त्यस्तो लोकतन्त्र त भ्रष्टतन्त्र, मनपरीतन्त्र मात्र हुन सक्छ अनि यस्तो भ्रष्टतन्त्रले नेपाली जनताको आशा र आवश्यकता पूरा गर्न सक्दैन ।
यो मुलुकमा लोकतन्त्रका लागि भीषण आन्दोलन र क्रान्तिहरू भएका छन् । निकै कम समयमा उलटपुटलपूर्ण राजनीतिक आन्दोलन हुने देशहरूको सूचीमा अग्रपङ्क्तिमा रहने यो देशमा भएका राजनीतिक परिवर्तन कहिल्यै दीर्घ र टिकाउ हुन सकेनन् । सात सालदेखि त्रिसठ्ठी सालसम्मका राजनीतिक परिवर्तनलाई सफलतापूर्वक व्यवस्थापन गर्न नसक्नु नेतृत्वको चरम असफलता हो । सधैँ शिशु प्रजातन्त्रको दुहाइ दिएर जनतालाई गरिबी, अभाव र पछौटेपनयुक्त जिन्दगी दिन किमार्थ मिल्दैन, बरु जनताको लोकतन्त्र सपनालाई साकार पार्न अब नेतृत्वले त्याग गर्नुपर्छ । व्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि उठेर देशलाई निकास दिन सक्नुपर्छ । तर, आजसम्मको परिस्थितिलाई विश्लेषण गर्दा नेताहरू स्वयम् लोकतन्त्र सपनाप्रति प्रतिबद्ध भएको पाइँदैन । लोकतन्त्र सपनाको भोलि अपहरण भयो भने त्यसको दोषी स्वयम् यही नेतृत्व मात्र हुनेछ ।