कस्ता महिला ?

कस्ता महिला ?


nisedhमायाकुमारी शर्माका नामबाट गुगल सर्च गर्ने हो भने अहिले दर्जनौँ शीर्षकमा उनका बारेमा समाचार र टिप्पणी पढ्न पाइन्छ । डेढ वर्षअघिसम्म गुमनाम यो नाम अहिले राष्ट्रभर मात्र नभएर विश्वभर नै फैलिएको छ । कसैकी छोरी, बुहारी, श्रीमती, आमालगायतका नामबाट चिनिदै आएका नेपाली महिलाका लागि आफ्नै नाम र पहिचान हुनु आफैँमा राम्रो कुरा हो । तर, मायाकुमारी शर्माको नाम चर्चित बन्दै गर्दा उनको बद्नामी पनि सँगसँगै बढ्यो । नेपाल देशको प्रतिनिधि महामहिम राजदूतजस्तो गरिमामय पदमा बसेर पदको मर्यादा नराखी बोलेका कारण मात्र नभएर नेपाली कामदारलाई मौखिक दुव्र्यवहार गरेका कारण उनको नाम माया भएर पनि कसैले अलिकति पनि सहानुभूति राख्न नसक्ने अवस्थामा पुगेको हो । केही महिनाअघिदेखि नै उनी विवादमा तानिँदै गएर अन्तत: सरकारले बर्खास्त नै गर्नुपर्ने अवस्थाको सिर्जना भयो । सम्बन्धित मुलुकको सरकारले जथाभावी बोलेको आरोपमा राजदूतलाई फिर्ता बोलाउन सरकारलाई आग्रह गरेको सम्भवत: यो पहिलो घटना हो । कतारजस्तो लाखौँ नेपाली कामदार रहेको मुलुकको राजदूत हुनु कुनै पनि कूटनीतिक व्यक्तित्वका लागि अवसर र चुनौती दुवै हो । अन्य मुलुकमा भन्दा आफ्ना देशका कामदार धेरै रहेका मुलुकमा चुनौती मात्र नभएर जोखिम पनि त्यत्तिकै हुन्छन् । ती सब कुरालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा राजदूतको भिजन र कार्यकुशलतामा भर पर्छ । मायाकुमारी शर्माले यी सबै कुरातिर ध्यान नदिई आफ्नै प्रकारको व्यवहार प्रस्तुत गरेका कारण चौतर्फी आलोचनाको पात्र मात्र हुनुपरेन बर्खास्तीसम्मको बेइज्जतीसमेत खेप्नुप-यो । आफ्नो पार्टीको कार्यकर्ता र माओवादी सरकारले नै नियुक्त गरेका कारण फेस सेभिङको मौका दिनका लागि नेता प्रचण्डले राजीनामा दिन आग्रह गर्दासमेत नमानेपछि सरकारले बाध्य भएर उनलाई बर्खास्त गरेको थियो । यसबीचमा धेरै कुरा भए, दु:ख पाएका कामदारले नेपाली दूतावास अर्थात् आफ्नो घरमा आफ्नोपनको महसुस गर्न पाएनन् । नेपाली–नेपालीबीच जे–जे भएको भए पनि सबैभन्दा ठूलो कुरा त कतार सरकारले नै आफ्नो राजदूत फर्काउनका लागि सरकारसँग आग्रह ग-यो । यो प्रकरणले अन्तर्राष्ट्रिय जगत्मा नेपालको बिगँ्रदो छविलाई थप धमिल्याउन मद्दत ग-यो ।
मायाकुमारीको कुरालाई लिएर कतिपयले महिला यस्तै त हुन् नि, महिलाको किलकिले हँुदैन भन्थे साँच्चिकै हो रै’छ, मायाले जे पायो त्यही बोलेरै आफू र आफ्नो देशको छविलाई ध्वस्त पारिन्, महिलालाई त्यस्तो संवेदनशील ठाउँमा पठाउनै नहुनेलगायतका टिप्पणी गरेको पनि पाइयो । यो प्रकरणाई हल्काफुल्का रूपमा नलिईकन गहिरिएर विश्लेषण गर्ने हो भने समस्या महिला या पुरुष भएका कारणले नभएर कूटनीतिक निकायमा कस्तो मान्छे पठाउने भनेर सोच्दै नसोची सम्बन्धित मान्छेको पृष्ठभूमिलाई ख्यालै नगरी सीधै राजनीतिक नियुक्ति गरिएका कारण आएको हो । यदि उनको ठाउँमा सोही पृष्ठभूमिको कुनै पुरुष नै भएको भए पनि उसले गर्ने व्यवहार त्यस्तो नै हुने थियो । कसलाई कस्तो व्यवहार गर्ने र आफू कुन कुरामा कस्तो भएर प्रस्तुत हुने भन्ने कुरा व्यक्तिको एटिच्युडमा भर पर्छ । एटिच्युड खराबै भएको व्यक्तिले पनि यदि कूटनीतिक मर्यादालाई बुझेको छ भने उसले त्यसलाई मेन्टेन गर्ने कोसिस गर्छ । कूटनीति के हो, आफ्नो हैसियत के हो भन्ने कुरा थाहा नपाएकै कारण मायाकुमारीले यसप्रकारको परिस्थिति झेल्नुपरेको हो । आफ्नो दलका नेताले जतिबेला पनि जे पायो त्यही बोलेको देखेकी, सुनेकी मायाकुमारीका लागि दायाँबायाँ नसोची बोल्नु ठूलो कुरा भएन । तर, यदि कूटनीतिक क्षेत्रकै पृष्ठभूमिकी महिला भएकी भए उनले अवश्य नै आफ्नो हैसियतअनुसारको भूमिका निर्वाह गर्ने थिइन् । बिन्देश्वरी शाहले त्यतिबेलाको जमानामा भारतजस्तो मुलुकमा सफल राजदूतको भूमिका निर्वाह गरेकै हुन् । त्यसैले यस्ता कुराहरू महिला या पुरुषभन्दा पनि तिनको पृष्ठभूमि र विषयगत विज्ञतामा भरपर्ने कुरा हुन् । राजनीतिदेखि सुरक्षा हुँदै कूटनीतिसम्म यस्तो कुरा जुनसुकै क्षेत्रमा पनि लागू हुन्छ । आफ्नो मुलुकमा बसेर जीवन गुजारा गर्ने काम गर्दै गालीगलौजको राजनीति गर्नु र कुनै पनि मुलुकमा गएर आफ्नो देशको प्रतिनिधित्व गर्नु नितान्त फरक कुरा हुन् । कर्मचारी सङ्गठनमा बसेर माओवादीलाई समर्थन जनाएकै कारण उनलाई राजदूतजस्तो गहन जिम्मेवारी दिनु माओवादीको भूल थियो । सोही प्रकृतिको काम गरेका, उस्तै प्रवृत्तिका जसलाई त्यसप्रकारको जिम्मेवारी दिएको भए पनि अन्तत: परिणाम उस्तैउस्तै हुने थियो भन्न सकिन्छ ।
यो घटना संयोग मात्र हुन सक्छ तर सहभागिताको सवालमा धेरैजसो राजनीतिक दलले यसप्रकारको अभ्यास योजनाबद्ध रूपले नै गरेजस्तो पनि लाग्छ । महिलालाई राख्दा यस्तै हुन्छ या महिला राखेकै त हो नि खै के भयो त… भन्ने प्रकारका कुराहरू गर्न यसप्रकारका नियुक्तिले राम्रै मद्दत गरेका छन् । वास्तवमा भन्ने हो भने राजनीतिक नियुक्तिका सवालमा व्यावसायिकभन्दा आफ्ना मान्छेको खोजी गरिएका कारण यस्तो भएको हो । राजनीतिक नियुक्तिमा मात्र नभएर विगतको संविधानसभामा पनि यस्तो भएको थियो । आफूनजिकका महिलालाई नेताहरूले सभासद् बनाइदिँदा लामो समयदेखि राजनीतिमा सङ्घर्षरत कतिपय महिला डिप्रेसनमै गएका थिए । अब फेरि चुनाव आउँदै छ, समानुपातिकमा के–कस्ता महिला राखिन्छ भनेर अहिलेदेखि नै चर्चा–परिचर्चा सुरु भएको छ । हाम्रोजस्तो मुलुकको राजनीतिमा अलिकति भए पनि फरक ल्याउन सक्ने महिलालाई यसपटक समानुपातिकबाट ल्याउन पाए त्यसको फरक अर्थ लाग्न सक्थ्यो । तर, खासै त्यस्तो होला जस्तो भने देखिएको छैन । महिलाको मात्र होइन, विभिन्न जातजातिको सवालमा पनि यही कुरा लागू हुने गरेको छ । दलितलाई राख्यो यस्तै त हो नि… मधेशीको ताल यही त हो नि… जनजाति भएका कारणले यस्तो भएको हो… भन्ने प्रवृत्तिलाई टाढा पु-याउनका लागि ठीक ठाउँमा ठीक व्यक्तिको चयन आवश्यक छ, चाहे ती जुनसुकै वर्ग र क्षेत्रलाई प्रतिनिधित्व गर्ने किन नहुन् । महिलाको सवालमा केही समयका लागि सकारात्मक विभेदको नीति जरुरी छ, तर उक्त नीतिको अवलम्बनमा पनि सम्बन्धित पृष्ठभूमिलाई भने ध्यान दिनुपर्छ । जहाँसम्म राजदूतको सवाल छ, राजदूतहरू कुनै दलका नभएर देशका प्रतिनिधि हुने हुनाले कुनै पार्टीविशेषलाई भन्दा मुलुकलाई केन्द्र मानेर हेर्ने व्यक्तिको नियुक्ति हुनुपर्छ । कुटनीतिक अनुभव नभएका र त्यस प्रकारको भूमिका निर्वाह गर्न नसक्ने व्यक्तिलाई छनोटभन्दा बाहिरै राखे मुलुकले बेइज्जती खेप्नुपर्दैन न त सम्बन्धित व्यक्ति नै अनावश्यक तनावबाट गुज्रिनुपर्छ ।