यस्तो छ माओवादीको बहिष्कार–कार्यक्रम

यस्तो छ माओवादीको बहिष्कार–कार्यक्रम


prachanda-kiranमाओवादीले निर्वाचनविरोधी कार्यक्रम सशक्त पार्दै विरोधका कार्यक्रमको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । पहिले तय गरिएको आन्दोलनको कार्यक्रम निर्वाचन आयोगले चुनावी कार्यतालिका परिवर्तन गरेपछि उसले असोज १३ देखि मङ्सिर ५ सम्मको नयाँ आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । माओवादी सम्बद्ध ३३ दलीय मोर्चाले सार्वजनिक गरेको आन्दोलन कार्यक्रमअनुसार असोज १३ गते सबै जिल्लाका निर्वाचन आयोगका कार्यालयमा मङ्सिर ४ को निर्वाचनको कार्यक्रम कार्यान्वयन नगर्न र नगराउन सचेतता पत्र बुझाउने, १६ गते निर्वाचन बहिष्कारसम्बन्धी पर्चा वितरण गर्ने, १७ गते सबै जिल्ला सदरमुकामहरूमा प्रमुख चार दलका शीर्ष नेताहरूको पुतला जलाउने, १७ गतेदेखि भारतीय नम्बर प्लेटका सरकारी तथा निजी क्षेत्रका मालवाहक तथा यात्रुवाहक गाडीहरूलाई नेपाल प्रवेशमा रोक लगाउने, १९ गतेदेखि कार्तिक १ गतेसम्म घरदैलो अभियान, सांस्कृतिक अभियान सञ्चालन गर्ने र उम्मेदवारहरूको घर–घरमा उम्मेदवारी फिर्ताका लागि पत्राचार गर्ने, कात्तिक २ गतेदेखि उम्मेदवारहरूलाई जिल्ला तथा गाउँ प्रवेशमा रोक लगाउने कार्यक्रम तय भएको जनाइएको छ । यस्तै, उम्मेदवारहरूको घरअगाडि कालो झण्डा गाड्ने तथा सामाजिक बहिष्कार अभियान सञ्चालन गर्ने, शीर्ष नेता पुगेका जिल्ला बन्द गर्ने, बुथ–बुथमा युवाहरूको बहिष्कार टोली गठन गरी बहिष्कार कार्यक्रमलाई प्रभावकारी बनाउने तथा कात्तिक २५ गतेदेखि मङ्सिर ५ गतेसम्म १० दिन देशव्यापी आमहड्ताल र नेपाल बन्द गरी मङ्सिर ४ को निर्वाचनलाई बिथोलेरै छोड्ने रणनीति माओवादीले तय गरेको छ ।
०००
निर्वाचन बिथोल्न तल्लो तहमा तयारी
पछिल्लो चरणमा लचकदार रूपले प्रस्तुत भए पनि प्रचण्डको चालबाजीमा परेर संविधानसभाको निर्वाचन प्रक्रियाबाट जबर्जस्ती बाहिरिनुपरेको निष्कर्षमा पुगेको नेकपा–माओवादीले निर्वाचनको विरोध र बहिष्कार कार्यक्रमलाई केन्द्रबाट स्थानीयस्तरमा पु-याउँदै विरोध कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ । यसका लागि माओवादीले निर्वाचनविरोधी आन्दोलनको रणनीति बनाउने तथा आन्दोलनको जिल्लास्तरीय नेतृत्वलाई प्रशिक्षण दिने कार्य सुरु गरेको छ ।
संविधानसभा निर्वाचनका लागि पार्टी अत्यन्त लचक हुँदा पनि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलगायतका कतिपय नेता तथा दलहरूले वातावरण बिगारेको तथा आफूहरूलाई दमन गर्न सेना परिचालन गर्न खोजेको भन्दै वैद्य नेतृत्वको माओवादीले आन्दोलनको तयारी तीव्र पारेको हो । निर्वाचनको विरोध कार्यक्रमका लागि माओवादीले बहिर्गमित तथा स्वेच्छिक अवकाश लिएका लडाकु र वाईसीएलमा आबद्ध भएका युवा तथा मजदुरलाई विशेष प्राथमिकता दिएर प्रयोग गर्ने रणनीति बनाएको बुझिएको छ । माओवादीका एक नेताका अनुसार आन्दोनलको अग्र मोर्चामा उनीहरूलाई नै सहभागी गराउने तयारीसमेत भएको छ । उनीहरूले निर्वाचनमा सहभागी नहुन जनसाधारणलाई अपिल गर्ने, निर्वाचन अधिकृतहरूलाई गाउँमा पस्न नदिने, गाउँ प्रवेश गरे पनि गाउँमा उनीहरूलाई बास नदिने तथा उम्मेदवारलाई नियन्त्रणमा लिनेजस्ता कार्यक्रम अघि बढाउने तयारी गरेको बुझिाएको छ । नियन्त्रणमा लिइएका उम्मेदवारमाथि कस्तो कारबाही गरिन्छ भन्ने माओवादीले प्रस्ट पारिनसकेको भए पनि यसका लागि माओवादीले विभिन्न जिल्लामा प्रशिक्षणका कार्यक्रम भने सुरु गरिसकेको दाबी गरिएको छ ।
आफ्ना सर्तहरू पूरा भएको अवस्थामा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको माओवादीका निम्ति ठूला दलले वार्ताको ढोका बन्द गरी उल्टै सेना परिचालन गरेर दमन गर्न खोजेकाले प्रतिकारका लागि अहिलेदेखि नै स्थानीयस्तरबाटै आन्दोलनका कार्यक्रम अघि बढाउन लागेको माओवादी नेताहरूको भनाइ छ । सो पार्टीसम्बद्ध अर्का एक नेताका अनुसार स्थानीय तहको प्रशिक्षणमा सहभागी हुनेहरूको छनोट कार्य भइरहेको छ । सरकारपक्षीय दलका नेताहरूले माओवादीसँग खास शक्ति नरहेको भन्ने अभिव्यक्ति दिने गरेकोप्रति लक्षित हुँदै ती नेताले विरोध गर्न धेरै कार्यकर्ता र ठूलो मास नचाहिने तर्क गरे । उनले भने, ‘हामी चुस्त र बलियो टिम बनाएर निर्वाचन बहिष्कार कार्यक्रमलाई देशव्यापी तवरमा सफल पार्नेछौँ ।’ माओवादी पार्टीसम्बद्ध दलीय मोर्चाले आगामी कात्तिकको अन्तिम सातादेखि कठोर प्रकृतिको सङ्घर्Èका कार्यक्रम घोÈणा गरिसकेको र त्यसलाई सफल पार्न मोर्चामा आबद्ध अन्य दलसँग छलफल भइरहेको बुझिएको छ । माओवादी सचिव देव गुरुङले आन्दोलनलाई प्रभावकारी बनाउन विभिन्न पक्षहरूसँग छलफल भइरहेको जानकारी दिँदै भने, ‘हामी शान्तिपूर्ण आन्दोलनबाटै निर्वाचन बहिष्कारका कार्यक्रम सफल पर्छौं, तर कतैबाट दमन गर्न खोजिए कडा प्रतिवाद हुन्छ र त्यसबाट जस्तो पनि परिणाम आउन सक्छ ।’ उनले आन्दोलनका खाका अझै परिष्कृत रूपले कोर्ने काम भइरहेको पनि जनाए । घोषित आन्दोलनको तयारी र वार्ता सँगसँगै लैजाने सचिव गुरुङको कथन छ ।
यता, माओवादी अध्यक्ष मोहन वैद्यले पनि आफ्नो पार्टीले अझै पनि निर्वाचनमा आउन चाहेको तर ठूला दलले बेवास्ता गरेको भन्दै आन्दोलनको विकल्प नभएको निष्कर्षमा पुगेको पुष्टि गरे । पार्टी निर्वाचनमा जान तयार छ भन्दाभन्दै पूर्ण रूपमा बेवास्ता गरिएको आरोप लगाउँदै वैद्यले चार दलले लचकता नअपनाए त्यसबाट जस्तोसुकै परिणाम आउन सक्ने चेतावनी दिएका छन् ।
०००
झा र यादवको द्वन्द्व, पेलाइ खाने प्रचण्ड
पार्टी नछोड्न शीर्ष नेतृत्वद्वारा गरिएको आग्रह र अनुरोध लत्याउँदै केही समयअघि एमाले पार्टीबाट एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा र पहिलो संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ६ मा तत्कालीन एमाले नेता झाबाटै झिनो मतले पराजित एमाओवादीका प्रणव यावद (जीवन)बीचको आपसी द्वन्द्वका कारण एमाओवादीका सुप्रिमो पुष्पकमल दाहाल धनुषा ६ त्याग्न बाध्य भएका छन् । यसअघि उक्त क्षेत्रबाट प्रत्यक्षतर्फ प्रचण्डले उम्मेदवारी दिने लगभग निश्चित गरिएको थियो । तर, हाल एकै पार्टीमा रहँदा पनि मधेसका उल्लेखित दुई नेताबीचको पुरानो द्वन्द्वले उग्र रूप लिएपछि पार्टीले सुरक्षित ठानेर अध्यक्षका निम्ति चयन गरिएको उक्त क्षेत्र त्याग्न प्रचण्ड विवश भएका हुन् । मधेससँग लभ प-यो, चुनाव पनि मधेसबाटै लड्छु भनी सार्वजनिक अभिव्यक्ति दिएर सस्तो चर्चा कमाएका प्रचण्ड अब काठमाडौं १० का अलावा सिरहाको क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने भएका छन् ।
धनुÈा ‘माओवादी शहीद’ रामवृक्ष यादवको जिल्लाको रूपमा चिनिन्छ भने धनुषा ६ बाट अघिल्लो संविधानसभा निर्वाचनमा उनै शहीद रामवृक्षकी पत्नी रामकुमारी निर्वाचित भएकी थिइन् । सभासद् रहेकै बेला खाना पकाउने ग्यास पड्किएर उनको निधन भएको थियो । उक्त क्षेत्रबाट प्रचण्डले उम्मेदवारी दिँदा शहीदकोे सम्मान हुने र सजिलै विजय पनि हासिल गर्न सकिने विश्वासका साथ प्रचण्डले सो क्षेत्र रोजेका थिए । तर, सो क्षेत्रमा प्रचण्ड उम्मेदवार बन्ने भएपछि प्रणवका लागि सहज निर्वाचन क्षेत्र नै बाँकी नरहने अवस्था देखापरेको एमाओवादी स्रोतले जनायो । प्रणव यादवका निम्ति सिट खाली गरिदिने उद्देश्यले प्रचण्ड सिरहा सर्नुपरेको स्रोतको भनाइ छ ।
यसरी प्रचण्ड धनुषाबाट सिरहा स्थानान्तर भए पनि झा र यादवबीचको द्वन्द्व भने अझै साम्य हुन नसकेको स्रोतको कथन छ । रामचन्द्र झा एमाओवादी प्रवेश गरेको विषयलाई लिएर सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका यादव झालाई पुरानै (धनुषा १) क्षेत्र दिइएपछि मुर्मुरिएका छन् । यसले उनीहरूबीचको द्वन्द्व झन् चर्किएको स्रोतको दाबी छ । बताइएअनुसार यसअघि नै आफूले निर्वाचन जितेको क्षेत्र हुनाले रामचन्द्र झाले सो क्षेत्र रोजेका हुन् भने त्यतिबेला झासँग झिनो मतले मात्र पराजित हुनुपरेको भए पनि यतिबेला आफ्नो जित सुनिश्चित रहेकाले प्रणव आफँैले उक्त क्षेत्र पाउनुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए । दुवैको रोजाइ एउटै क्षेत्र भएकाले एमाओवादी नेतृत्वमाथि कसलाई टिकट दिने भन्ने विषयमा चर्को दबाब परेको थियो । तर, रामचन्द्र झालाई पार्टी प्रवेश गराउँदा अनेक वचन दिएका र झाको आफ्नै पनि विशेष दर्बिलो ‘ब्याकिङ फोर्स’ रहेकाले झाले नै बाजी मारे । प्रणवलाई खुसी पार्न ६ नम्बर क्षेत्र त्यागेर अर्को जिल्ला गए पनि प्रचण्डले यादवको चित्त बुझाउन नसकेको बताइन्छ । यसप्रकार झा र यादवबीचको व्यक्तिगत द्वन्द्वका कारण धनुषाका उल्लेखित दुवै क्षेत्रबाट यसपटक एमाओवादीले हात धुनुपर्ने परिस्थिति निम्तन सक्ने आँकलन गरिएको छ ।
०००
छोरालाई राजदूत बनाउन प्रचण्डस‘ग बिन्ती
‘ए ! तपाईं छोरालाई राजदूत बनाउन पो यहाँ आउनुभएको ? हुन्छ नि, म हेरौँला ।…हा…हा…हा…!’
सिङ्गो मुलुक संविधानसभा निर्वाचनको चटारोमा परेको बेला छोरालाई राजदूत बनाउने खेलमा को लाग्यो र ‘हेरौँला’ भन्ने वचन कसले दिएछ भन्ने जिज्ञासा पैदा हुनु अस्वाभाविक नहोला । यसरी पुत्रको पदोन्नतिको चिन्ता गर्दै शक्तिकेन्द्र धाउने र दायाँबायाँ विचारै नगरी ‘हेरौँला’ भन्दै अट्टहास गर्ने महानुभावहरू अरू कोही नभई चिन्नेजान्नेहरूले असाध्यै मौकापरस्त व्यक्तिका रूपमा चित्रित गर्ने शाहीकालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे र यतिबेला आफूलाई राष्ट्रपतिभन्दा कम नठान्ने व्यक्तिका रूपमा आलोचित माओवादी सुप्रिमो प्रचण्ड हुन् । प्रचण्डनिवासभित्रबाट प्राप्त जानकारीअनुसार आफ्ना एक मात्र पुत्र निश्चलनाथलाई राजदूत बनाउनुपर्ने एकसूत्रीय आग्रह बोकी पाण्डे प्रत्येक साताजसो प्रचण्डको दरबारमा बिन्ती बिसाउन पुग्ने गर्दछन् ।
सूत्रका अनुसार पटक–पटक फोन गरेर प्रचण्डसँग भेट्ने समय मिलाइदिनुप-यो भन्दै पाण्डे प्रचण्डका स्वकीय सचिव टीकाराम खड्कालाई हायलकायल तुल्याउँछन् । पटक–पटक फोन गरेर आजित पारेपछि दिक्क मान्दै नाकमुख खुम्च्याएर खड्का प्रचण्डसम्म पाण्डेको आग्रह पु-याइदिन्छन् । त्यसपछि झर्को लागेको शैलीमा ‘बोलाइदिए हुन्छ नि’ भनिदिन्छन् प्रचण्ड । हरेकपटक लाजिम्पाट दरबार प्रवेश गर्ने मेलो यसैगरी जुर्छ पाण्डेलाई, र बोलाउनेबित्तिकै पुगेर प्रचण्डको ‘दर्शन’का निम्ति घन्टौँ कुर्ने धैर्य प्रदर्शन गर्छन् । यसरी, आफ्नै योजना र अगुवाइमा ‘सामन्तीतन्त्र’ फालेर ‘गणतन्त्र’ स्थापना ग-यौँ भनी दाबी गर्ने सबभन्दा ठूलो दलका सबैभन्दा उच्च नेताकहाँ छोरालाई राजदूत बनाइदिने बिन्ती बोकेर राणाकालीन शैलीमा चाकडी बजाउन पुग्ने पाण्डे सुरुमा अन्तर्राष्ट्रिय मामला बुझेको मुलुककै आफू एक मात्र मूर्धन्य व्यक्ति भएको भ्रम दिने कोसिसमा आकाश–पाताल जोडेर प्रचण्डसँग गफिने प्रयास गर्छन् । चाप्लुसे लवजले भरिपूर्ण उनका रसिला कुरा प्रचण्ड पनि चाख दिएर सुनेझैँ गर्छन् । त्यसपछि सिलसिला मिलाएर पाण्डे आफ्नो एजेण्डा अघि सार्छन्, ‘हैन हजुर, निश्चललाई भारत अथवा बेलायतको राजदूत त बनाइहाल्नुप-यो ! हजुरहरूलाई एकदम सहयोग पुग्छ ।’ उनको यस्तो प्रस्ताव सुनेपछि प्रचण्ड कहिले सामन्तीकालीन शासकीय अन्दाजमा ‘भैहाल्छ नि’ भनेर टारिदिन्छन् त कहिले जोडको हाँसो निकाल्दै ‘ए…! त्यसोभए तपाईं छोरालाई राजदूत बनाउन पो मकहाँ आउनुभएको ? भैहाल्छ नि, म हेरौँला’ भनिदिन्छन् ।
एमाओवादी त्यागेर यतिबेला निष्क्रिय रहेका प्रचण्डनिकट एक व्यक्तिका अनुसार एमाओवादी पार्टीको आन्तरिक परिस्थिति यतिबेला प्रचण्डले जे चाह्यो त्यो गर्न सक्ने किसिमको छैन । कसैलाई कुनै पद दिलाउनै परे पनि पार्टीमा छलफल चलाएर सहमति जुटाउनुपर्ने हुन्छ । तथापि, कसैले मिलाएर नगदको अफर गरेमाचाहिँ उनी व्यक्तिको पृष्ठभूमिलगायत दायाँबायाँ विचारै नगरी भनेको स्थानमा नियुक्ति दिलाइदिने पहलकदमी उठाउँछन् । स्रोतका अनुसार मोहन वैद्यहरूले संशोधनवादी भनेर आरोपित गरेजस्तै प्रचण्ड पूरै फेरिइसकेका छन्, यस्तोमा प्रचण्डको सिफारिसमा कल्पना नगरिएका व्यक्तिहरू मुलुकका महत्वपूर्ण ओहोदामा पुगेछन् भने आश्चर्य नमाने हुन्छ ।
यसैबीच, प्रचण्डले भन्दैमा आफूले राजीनामा नदिने जवाफ दिएर थप चर्चामा आएकी कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मा ओहोदाबाट बर्खास्तगीमा परेकी छिन् । योग्यता–क्षमतामाथि प्रश्नचिह्न खडा हुँदाहुँदै प्रचण्ड–बाबुरामहरूको धाप पाएर राजदूत बनेको डेढ वर्षमै भुलेकी शर्मालाई कतारबाट फिर्ता बोलाउन प्रचण्डले नै पहलकदमी लिनुपरेको थियो । शर्मासँग कूटनीतिक क्षमता पटक्कै नरहेको आरोप उनको पछिल्ला हर्कतले पुष्टि गरेको छ । महत्वाकाङ्क्षी र अख्खड स्वभावकी शर्मामा कूटनीतिक खुबी हुँदो हो त झर्रा शब्दहरूको वर्षा गरेर आफैँमाथि आपत पक्कै निम्त्याउने थिइनन् । ‘कतार त नेपाली कामदारको खुला जेल’ भनेर कहिले कतारी सरकारको रगत तताउने त कहिले ‘एमाओवादी र प्रचण्ड–बाबुराम जान्दिनँ, म त खिलराजको आदेश पालन गर्ने स्थानमा पो छु त’ भन्दै बेसुरा अभिव्यक्ति दिने मायाकुमारी यतिबेला आफूमाथि अन्याय परेको फिराद बोकेर सर्वोच्च अदालतको चक्कर काटिरहेकी छिन् ।
०००
भुवनले देखाए कमललाई कला
आमदर्शकलाई पर्दामा कला देखाउँदै आएका कुनै बेलाका सर्वाधिक चर्चित सिनेनायक भुवन केसीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई वास्तविकतामै गजबको कला देखाइदिएका छन् । सिनेमा हेर्ने खासै सोख नभएका कमल थापा केही दिनअघि उनको वास्तविक कला देखेर आश्चर्यचकित नै बन्न पुगे । कुरा यही असोज ८ गतेको हो, सिनेमा निर्माता तथा निर्देशक उद्घव पौडेलले कमल थापालाई फोन गरी भुवन केसीलाई लिएर आफू थापालाई भेट्न आउन लागेको जानकारी दिए । अध्यक्ष थापा पार्टी कार्यालयमै रहेकाले दिउँसो २ बजेका लागि भेटघाटको समय तय भयो । दुई बज्नै लाग्दा उद्घव पौडेलसँगै राप्रपाको कार्यालय पुगेका भुवन केसी निकै प्रफुल्ल मुद्रामा देखिन्थे । भेटघाटको सामान्य औपचारिकता चल्दै गर्दा अध्यक्ष थापाको कार्यकक्षमा पुग्नासाथ उद्घव पौडेलका बुबाको निधनको खबर आयो । केही दिनदेखि अस्पतालमा रहेका आफ्ना बुबाको देहान्त भएको कुराले पौडेल विचलित देखिए र भुवनलाई त्यहीँ छोडी उनी अस्पतालतिर दौडिए ।
प्राप्त जानकारीअनुसार त्यसपछि भुवनले अध्यक्ष थापासँग संविधानसभा निर्वाचनको टिकटका लागि सुरुमै राम्रो भूमिका बाँधे । म काठमाडौं क्षेत्र नं. १ बाट भारी मत ल्याएर जित्छु भन्दै उनले भने, ‘वास्तवमा मलाई एमाले पार्टी सुट गरेकै थिएन, साथीहरूले पनि तिमीलाई राप्रपा नेपाल नै सुहाउँछ भन्थे, आइ थिङ्क म बल्ल राइट प्लेसमा आएको छु ।’ भुवनको कुरा सुनेपछि कमल थापाले पनि ‘यस, यु आर इन राइट प्लेस’ भन्दै उनका हरेक वाक्यलाई खुसीका साथ स्वागत गरे । आधा घन्टाको भेटमा दुईजनाबीच नेपालको राजनीति र निर्वाचनका बारेमा कुराकानी भयो । हिँड्ने बेलामा उनले कमललाई ‘दाइ, म आजै सदस्यता लिएर जाउँ कि ?’ भनेरसमेत सोधे । भुवन पार्टीप्रवेश गर्न लागेको कुराले गद्गद् बनेका थापाले जवाफमा ‘के कुरा गर्नुभएको ? तपाईंजस्तो मान्छेलाई म त्यसै सुटुक्क भित्याउँछु र ?’ भन्दै पिठ्यँुमा हातले धाप मारेर सारा मिडिया बोलाएर फूलमाला लगाएर मात्र सदस्यता दिइने जनाए । अध्यक्ष थापाले सँगै रहेका पार्टीका मिडिया संयोजक मोहन श्रेष्ठलाई भोलिपल्टका लागि मिडियालाई खबर गर्न तत्काल निर्देशनसमेत दिए । पदम ठकुराठी, जनार्दन आचार्यलगायतका वरिष्ठ पूर्वपत्रकारहरूको पार्टी प्रवेशका लागि भोलिपल्ट १ बजेलाई समय तय गरिएको थियो । सोही कार्यक्रममा भुवन केसीले पनि पार्टी प्रवेश गर्ने भनी मिडियालाई खबर गरियो ।
तर, अघिल्लो दिन पार्टी कार्यालयमा सबैसँग हात मिलाएर ‘सी यू टुमरो’ भन्दै बिदावारी भएका भुवनले भोलिपल्ट ११:३० बजे अध्यक्ष थापालाई फोन गरी आफू बिरामी परेकाले कार्यक्रममा आउन नसक्ने जानकारी दिए । स्रोतका अनुसार फोनमा उनले ‘आज मलाई सन्चो छैन दाइ, पछि मिलाएर आउँछु’ भनेका थिए । उनकै लागि भनेर मिडिया बोलाइसकिएको थियो, फेसबुकलगायत सामाजिक सञ्जालमा उनको पार्टी प्रवेशलाई लिएर व्यापक चर्चा भइसकेको थियो । यी सब कुराको जानकारी दिँदै थापाले उनलाई तपाईं आजै आउनुस् भन्ने आग्रह गरे । त्यसैबीच उनको फोन काटियो । १ बजे पार्टी प्रवेश गर्ने र मिडिया सबै जम्मा भइसकेपछि पनि भुवन आइहाल्ने पो हुन् कि भनेर केही क्षण सबैले प्रतीक्षा गरे, तर भुवन पार्टी प्रवेश कार्यक्रम आयोजना स्थलमा पुगेनन् ।
अघिल्लो दिन भुवनले अध्यक्ष थापालाई भेटेर गएपछि बसेको राप्रपा नेपालका केही महत्वपूर्ण सदस्य तथा अध्यक्षको अनौपचारिक बैठकले भुवनलाई काठमाडांै क्षेत्र नं. १ बाट टिकट दिने निश्चित गरेको थियो । भुवन केसी लोकप्रिय नायक भएको र आफ्नो दलले लोकप्रियता हासिल गरिरहेको परिवेश पनि भएकाले सो क्षेत्रमा सहजै जित्ने निष्कर्षसमेत राप्रपा नेपालले निकालेको थियो । तर, उनले यसरी धोका दिएपछि अब उनले चाहे पनि पार्टीमा प्रवेश नदिनेबारेमा छलफल भएको बताइएको छ । यता भुवन केसी राप्रपा नेपालमा जाने चर्चा चलेपछि एमालेले चाहिँ ‘हामी नै तपाईंलाई सभासद् बनाउँछौँ अन्यत्र जानुपर्दैन’ भन्दै अल्झाएको बुझिएको छ । स्मरण रहोस्, भुवन केसीले उठ्न चाहेको काठमाडौं क्षेत्र नं. १ बाट एमालेले काठमाडौंका पूर्वमेयर विदुर मैनालीलाई उम्मेदवार बनाउने भएको छ ।
०००
पूर्वराजाको रहस्यपूर्ण मौनता
धनगढीमा भव्य स्वागत पाएर राजधानी फर्कनुभएका पूर्वमहाराजाधिराज ज्ञानेन्द्र विगत दुई महिनादेखि कसैसँग कुनै संवादसमेत नगरी चुपचाप बसिरहनुभएको छ । पूर्वराजालाई भेट्नका लागि निजी सचिवालयमा निवेदनका चाङ परेको जानकारी प्राप्त भएको छ । भेटका लागि सचिवहरूसँग टेलिफोनबाट पनि त्यत्तिकै आग्रह गर्ने गरिएको छ तर उहाँले भेटघाटबारे कुनै प्रतिक्रिया दिनुभएको छैन । यसअघि पूर्वराजाले हप्तैपिच्छे कसै न कसैलाई भेट दिने गर्नुहुन्थ्यो ।
प्राप्त जानकारीअनुसार मङ्सिरमा हुने संविधानसभाको निर्वाचन र अन्य राजनीतिक विषयलाई लिएर भेटघाट गर्न चाहने नेताहरूको सूची निकै लामो छ, तर उहाँले उनीहरूलाई भेट्छु या भेट्दिनँ केही भन्नुभएको छैन । अरू त अरू संवैधानिक राजतन्त्रलाई मुख्य एजेण्डा बनाएर चुनाव लड्न लागेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्म पनि पूर्वराजालाई भेट्न पाएका छैनन् । राजेश्वर देवकोटा हुँदै पूर्वमन्त्रीहरू, नेपाली काङ्ग्रेस तथा माओवादीका केही नेताहरूले पनि भेटघाटका लागि आग्रह गरेका छन् तर उनीहरूले पनि कुनै जवाफ पाउन सकेका छैनन् । नेताहरूलगायत केही प्राज्ञिक व्यक्तित्व, पत्रकार, कलाकार, सामाजिक कार्यकर्ता तथा युवाहरूले उहाँसँग भेट्नका लागि अनुरोध गरेका बुझिएको छ । राजधानी तथा अन्य जिल्लावासी केही सर्वसाधारणले निवेदन हालेरै ‘दर्शन भेट पाऊँ’ भनेका छन् तर भेटघाटलाई लिएर दुई महिनादेखिको राजाको मौनता तोडिएको छैन ।
स्रोतका अनुसार यसअघि प्राय: विभिन्न व्यक्तित्वहरूसँगको भेटघाटमा रमाउने पूर्वराजाको भेटघाटबाहेक अन्य दिनचर्यामा भने परिवर्तन आएको छैन । शारीरिक अभ्यास, लेखपढ, इन्टरनेट सर्चिङ, नाति–नातिनीसँग बिताउने क्षण सब नै उस्तै छ । बिहानै प्राय: सबै अखबार पढ्ने र आफूलाई महत्वपूर्ण लागेका समाचार तथा लेखमा चिह्न लगाउने उहाँको पुरानै आदत हो । निर्मलनिवास प्राय: सबै दैनिक र मुख्य साप्ताहिकहरूको ग्राहक पनि हो । ‘टेलिभिजनमा भन्दा इन्टरनेटमा बस्न मन पराइबक्सिन्छ,’ स्रोतले भन्यो । इन्टरनेटमा बसे पनि अखबार भने छोएरै पढ्नुपर्छ भन्ने उहाँको मान्यता रहेको पनि बुझिएको छ । पूर्वराजालाई पुस्तक पनि इ–पुस्तकभन्दा किताब नै किनेर पढ्नमा रुचि भएको बताइन्छ । अन्य सबै कुरामा सक्रिय पूर्वराजाले चुनावको नजिक भेटघाटका लागि देखाएको मौनताले सम्बन्धित सबैलाई आश्चर्यचकित बनाएको छ । जिल्लास्थित नेताहरूले काठमाडौं आएर पटक–पटक ताकेता गर्दा पनि भेट नपाएपछि ‘सरकार.., यस्तो मौनता किन ?’ भन्ने प्रश्न गर्दै भेटघाटका लागि आग्रह गरेका बताइन्छ ।
पूर्वराजपरिवारका निकटवर्तीहरूका अनुसार पूर्वयुवराज्ञी हिमानी पति पारसलाई लिन बैंकक जानुभएको हल्ला गरिए पनि उहाँ पारसलाई लिन नभएर पारस बसेको पुनस्र्थापना केन्द्रको पैसा तिर्न जानुभएको थियो । अस्पतालबाट डिस्चार्ज गरी पुनस्र्थापना केन्द्रमा राखेपछि परिवारका सदस्यहरू पूर्वयुवराजलाई हेर्न गएका थिएनन् । खानपान र भेटघाटको कडा बन्देजका बीच केन्द्रमा बसेका पूर्वयुवराजले अझै केही समय उक्त केन्द्रमा बस्नुपर्ने अवस्था रहेको बताइएको छ । पूर्वयुवराज्ञी हिमानीले केन्द्रको अहिलेसम्मको हिसाबकिताब चुक्ता गरेर आउनुभएको र विगतको भन्दा स्वास्थ्य स्थितिमा धेरै नै सुधार आएको पनि बुझिएको छ । एउटी पत्नीका लागि आफ्नो पतिलाई पुनस्र्थापना केन्द्रमा राखेर पैसा तिर्दै हिँड्नु कतिसम्मको पीडादायी कुरा हो भनेर यत्तिकै पनि अन्दाज गर्न सकिन्छ । तथापि, पारसको स्वास्थ्यस्थितिलाई लिएर उहाँ खुसी हुनुभएको बताइन्छ । पूरै स्वस्थ नभई पारसलाई काठमाडांै आउन प्रोत्साहित नगरिने पनि थाहा भएको छ । उहाँको पासपोर्ट थाई प्रहरीसँगै भएकाले पनि अहिले काठमाडौं आउने कुनै सम्भावना देखिँदैन । लागूऔषध प्रयोग गरी पुनस्र्थापना केन्द्रमा बस्ने कुनै पनि मुलुकका नागरिकको पासपोर्ट थाई प्रहरीले लिने गरेको छ । पूर्णत: स्वस्थ नभईकन पासपोर्ट प्राप्त गर्न नसक्ने प्रावधान रहेको छ । पुनस्र्थापना केन्द्रले डिस्चार्ज गर्ने सल्लाह नदिएसम्म त्यहीँ राख्ने सोच पूर्वराजपरिवारको रहेको पनि बुझिएको छ ।
०००
शीर्ष नेताहरू को कहाँ ?
पुरानाहरू अभिभावकका रूपमा रहेर युवालाई मौका दिनुपर्ने चौतर्फी आवाज उठिरहेको परिप्रेक्ष्यमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले युवाहरूको चिन्ता गर्नुको साटो आफ्नै सिट सुरक्षित गरेको देखिएको छ । यसअघि पार्टीलाई विजय हासिल भएका र पार्टीको राम्रो भोट सङ्ख्या रहेको स्थान छानी–छानीकन शीर्ष नेताहरूले आफ्नो उम्मेदवारी पक्का गरेका छन् । पार्टी गतिविधि राम्रो रहेको तथा पार्टीका सामान्य नेताले पनि सजिलै जित्ने पक्का भएका स्थानबाट उम्मेदवारी दिन माथिल्लो नेतृत्वपङ्क्ति उद्यत् देखिएबाट नेपाली नेताहरूको पदमोह उजागर भएको छ । यद्यपि, केही नेताहरूले भने अघिल्लो निर्वाचनमा पराजित भएको स्थानबाट पुन: उम्मेदवारी दिने भएका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले अघिल्लो निर्वाचनमा जितेको काठमाडौं १० र नयाँ क्षेत्रका रूपमा सिरहा–५ लाई रोजेका छन् । सिरहा–५ बाट पहिले पनि तत्कालीन माओवादीबाट महेन्द्र पासवानले १२ हजार एक सय १० मत ल्याएर जितेका थिए । त्यस्तै, बाबुराम भट्टराई गोरखा १ र रूपन्देही ४ बाट उठ्ने भएका छन् । यो दुई क्षेत्रमा माओवादीको राम्रो पकड रहेको क्षेत्रको रूपमा लिइन्छ । पोष्टबहादुर बोगटी नुवाकोट–३ बाट उठ्दै छन् ।
यसैगरी नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला बाँके–३ र चितवन–४ बाट प्रत्यक्षबाट उठ्ने भएका छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट काङ्ग्रेसले पराजय व्यहोरेको थियो । त्यसैले कोइराला दुईवटा निर्वाचन क्षेत्रबाट उठ्न खोजेका हुन् । यस्तै, काङ्ग्रेस वरिष्ठ शेरबहादुर देउवाले डडेल्धुरा र कैलाली रोज्नुभएको छ भने रामचन्द्र पौडेल तनहुँ–२ नम्बरबाट उठ्ने भएका छन् ।
एमालेका अध्यक्ष झलनाथ खनालले भने इलामको क्षेत्र नं १ रोजेका छन् । खनालले इलाम–१ बाटै ०६४ मा चुनावमा जितेका थिए । यस्तै, एमाले नेताहरू माधव नेपाल काठमाडौं–२ र रौतहट–१ र वामदेव गौतमले बर्दिया–१ र प्युठान–१ रोजेका छन् । अर्का प्रभावशाली नेता केपी ओलीले भने अघिल्लो निर्वाचनमा पराजित भएको स्थान झापा–७ लाई नै रोजेका छन् ।
त्यसैगरी, मधेसकेन्द्रित दलका नेताहरूले भने मधेसलाई नै केन्द्रबिन्दु बनाएका छन् । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सुनसरी–५ र सप्तरी–२, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सुनसरी–५ र मोरङ–७ बाट चुनाव लड्ने भएका छन् । तमलोपा नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादव सर्लाही–४, सद्भावना अध्यक्ष राजेन्द्र महतो सर्लाही–४, शरत्सिंह भण्डारी महोत्तरी–६ बाट लड्ने छन् । तमलोपाका अध्यक्ष महन्थ ठाकुर भने समानुपातिकमा बसेका छन् । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव सिरहा–६, सङ्घीय सद्भावना अध्यक्ष अनिल झा रौतहट–१ बाट चुनाव लड्ने भएका छन् । उनीहरूले आफ्ना अन्य नेताहरूलाई पनि मधेसबाट उठाएका छन् ।
यसैबीच, यता निर्वाचन आयोगमा दल दर्ता गराएका एक सय ३० दलमध्ये एक सय २४ दलले समानुपातिक उम्मेदवारीका लागि निवेदन दिएका छन् । उनीहरूले दश हजार रुपैयाँ धरौटीसहित समानुपातिकका लागि उम्मेदवारी दिने जानकारी आयोगलाई गराएका हुन् । निर्वाचनमा भाग लिन आयोगमा दलहरूले निवेदन दर्ता गर्ने कार्यक्रम पूरा भएकाले तोकिएकै मितिमा निर्वाचन हुनेमा आयोग विश्वस्त रहेको आयुक्त दोलखबहादुर गुरुङले बताए । आगामी बिहीबार प्रत्यक्षतर्फको दुई सय ४० निर्वाचन क्षेत्रका लागि प्रत्येक जिल्ला सदरमुकाममा उम्मेदवारी दर्ता हुनेछ । आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलको अन्तिम नामावली प्रकाशन र चिह्न दिने काम पनि बिहीबार नै गर्दै छ । निर्वाचन चिह्न प्रदान गरेलगत्तै आयोगले मतपत्रको ढाँचालाई अन्तिम रूप दिएर छपाइको काम थाल्नेछ ।

पूर्वयुवराज्ञीको ‘बर्थ डे’मा अनाथ र वृद्धलाई राहत
पूर्वयुवराज्ञी हिमानीको ३८औँ जन्मोत्सव हिजो मंगलबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । विगतमा विभिन्न मन्दिरमा गएर पूजाआजा गरी जन्मोत्सव मनाउँदै आएका राजपरिवार सदस्यले केही वर्षदेखि सेवामूलक काम गरेर जन्मोत्सव मनाउँदै आएका छन् । यो वर्ष पूर्वयुवराज्ञीले अनाथालय र वृद्धाश्रममा रहेका असहायलाई सहयोग गरी आफ्नो जन्मोत्सव मनाउनुभएको छ । प्राप्त जानकारीअनुसार ललितपुर हात्तीवनमा रहेको ‘नवीकिरण अनाथ असहाय बाल उत्थान समाज’लाई पूर्वयुवराज्ञी हिमानीले ४५ जना विद्यार्थीका लागि एक महिनाको रासनका लागि नौ सय केजी चामल, एक सय केजी दाल, २० केजी आयो नुन र ९० केजी क्वाँटी हस्तान्तरण गर्नुभएको छ । हिजो दिउँसो आफ्ना केही सहयोगीका साथ उहाँ आफँै उक्त असहाय केन्द्रमा गई सहयोग उपलब्ध गराउनुभएको हो ।
यसैगरी मातातीर्थ वृद्धाश्रममा रहेका १८ जना वृद्धावृद्धाका लागि दुई सय ७० केजी चामल, ९० केजी दाल, १० केजी नुन र ३० केजी क्वाँटी उपलब्ध गराइएको छ । राजधानीको मातातीर्थमा रहेको उक्त वृद्धाश्रममा पनि पूर्वयुवराज्ञी हिमानी आफैँ जानुभएको थियो । ती दुवै स्थानमा उहाँको भव्य स्वागत गरिएको थियो ।
०००
चुनाव सार्न बाह्य समुदायसँग गुहार
निर्वाचन बहिष्कारको कार्यक्रमलाई तीव्रता दिएको नेकपा–माओवादीले अन्तर्राष्ट्रिय समुदायसमक्ष भने पार्टी शान्ति र निर्वाचनका पक्षमा रहेकाले निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गरिदिन आग्रह गरेको छ । निर्वाचन बहिष्कारका योजनालाई सशक्त बनाउँदै लगेको माओवादीले आफूहरू निर्वाचनको पक्षमा रहे पनि अन्य दल तथा सरकारको हेपाहा प्रवृत्तिले गर्दा विरोधमा उत्रन बाध्य भएको स्पष्टीकरण दिँदै निर्वाचनमा सहभागी हुने वातावरण निर्माणका लागि सहजकर्ताको भूमिका खेलिदिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको हो ।
‘हामी निर्वाचनविरोधी होइनौँ, तर निर्वाचनमा सहभागी हुने वातावरण बन्नुप-यो,’ माओवादी उपाध्यक्ष तथा पार्टी अन्तर्राष्ट्रिय ब्युरो प्रमुख सीपी गजुरेलले नेपालस्थित अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिहरूसँग गोप्य भेट गरी निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका माओवादीका एक केन्द्रीय नेताले जानकारी दिए । स्रोतका अनुसार उनीहरूले संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधि जेमी म्याकगोडरिक, युरोपियन युनियनका नेपाल तथा अन्य अन्तर्राष्ट्रिय दातृ निकायका प्रतिनिधि तथा विभिन्न मुलुकका नेपालस्थित राजदूतहरूसँग भेट गरेर यस्तो आग्रह गरेका हुन् । उनीहरूले चार दल र सरकारसँग राखेका मागका बारेमा समेत जानकारी गराएका छन् । उनीहरूले निर्वाचनका नाममा सेना परिचालन गरेर नेपालमा सैनिक शासन लागू गर्न खोजिएको भन्दै त्यो तत्काल रोकिनुपर्नेमा माओवादीले जोड दिएको छ ।
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीमाथि अघिल्लो संविधानसभा निर्वाचन विघटन गराउन महत्वपूर्ण भूमिका खेलेका आरोप लगाउँदै बाह्य शक्तिहरूको सक्रियतामा सैनिक शासन लागू गर्न खोजिएकाले यसलाई तत्काल रोक्नुपर्ने माग माओवादीले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको छ । माओवादी नेता देव गुरुङले राष्ट्रिय अस्मितालाई समाप्त पार्ने खेल सुरु भएकाले यसबारेमा स्वदेशी तथा विदेशी सबै निकायलाई जानकारी गराइएको बताए । ‘नेपालमा हुने निर्वाचन नेपालीका लागि नभई विदेशीका लागि गर्न खोजिएकाले पनि विरोध गरेका हौँ,’ गुरुङले भने, ‘मङ्सिर ४ गते हुने निर्वाचन पूर्ण रूपमा बहिष्कार गर्ने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी माओवादीले नलिने पनि सबैलाई जानकारी गराइसकेका छौँ ।’
यसरी निर्वाचनकै पक्षमा रहेको भन्दै माओवादीले अन्तर्राष्ट्रिय समुदाय गुहार्नुलाई कतिपयले चुनाव बिथोल्ने माओवादीको ‘शालीन चाल’का रूपमा टिप्पणी गरेका छन् ।

०००

०००
गणेशको ताण्डवले खेलकुदमा आगो !
अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’का अध्यक्ष गणेश थापाका विभिन्न हर्कतले अहिले खेलकुदमा सन्त्रास फैलिएको छ । खेलाडी, पदाधिकारी, कर्मचारी र सञ्चारकर्मीलाई समेत आफ्नो निशाना बनाएका थापाले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको समेत उछित्तो काड्न बाँकी राखेका छैनन् । साफ च्याम्पियनदेखि चलेको थापाको उपद्रो यू–१६ सम्म जारी छ । यो अवधिमा थापाले मच्चाएको आतङ्कको विरुद्धमा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र महिला आयोगमा उजुरीसमेत परिसकेको छ । राखेप कर्मचारी सङ्घ र नेपाल खेलकुद पत्रकार मञ्चले सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाइसकेका छन् भने नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घले पनि विरोध जनाएको छ । तर, थापालाई यी कुनै निकायले कारबाही भने गर्न सकेको छैन । उल्टै एन्फाले खेलाडी र पदाधिकारीको दलबलसहित राखेपमा ज्ञापनपत्र बुझाएको छ । परिणामत: थापा अहिले पनि खेलकुदमा साँढे बनेर डुक्रिरहेका छन् ।
एन्फाले युवा तथा खेलकुद मन्त्रालयसँग दशरथ रंगशालाको आम्दानी खाने तर सरकारसँग एकसुको रकम पनि नलिने भनी सम्झौता गरेको छ । सोहीअनुरूप एन्फाले वर्षैभरि रंगशालामा ताण्डप मच्चाउँदै आएको छ । रंगशाला सरकारको सम्पत्ति भएको जगजाहेर छ, तर आश्चर्य के छ भने त्यसको प्रयोग गर्नुपर्दा राखेपले नै एन्फासँग सोध्नुपर्ने बाध्यता पैदा गराइएको छ । स्मरणीय छ, एन्फाले रकम नलिने सर्तमा रंगशालामाथि धाक जमाए पनि राखेपबाट सबैभन्दा बढी रकम लिने सङ्घमा एन्फा नै नम्बर एकमा पर्छ । प्राप्त जानकारीअनुसार एन्फाले प्रत्येक वर्ष राखेपबाट तीन करोडभन्दा बढी रकम लैजाने सूत्रको दाबी छ । तर, थापा आफूले सरकारबाट एकसुको रकम नलिएको दाबी सार्वजनिक रूपमै गर्ने गर्छन् ।
हालै सम्पन्न साफ च्याम्पियनसिपको आयोजना गर्न एएफसीले एन्फालाई चार करोड रुपैयाँ प्रदान गरेको थियो । यति रकमले नपुग्ने भन्दै एन्फाले मन्त्रालयसँग थप ६० लाख लिएको थियो । सम्झौतामा प्रस्ट रूपमा लेखिए पनि मन्त्रालयले एन्फालाई यत्रो रकम किन उपलब्ध गरायो त्यो रहस्यमय बनेको छ । त्यस्तै एन्फाले टिकट बिक्रीबाट मात्रै थप तीन करोडभन्दा बढी रकम उठाएको थियो । यसर्थ सोझै भन्दा पनि साफ च्याम्पियनमा सात करोड ६० लाख रुपैयाँ आएको देखिएको छ । अझ यहाँ प्रायोजकको आम्दानीलाई जोडिएको छैन । तर, विडम्बना ! थापाले अहिलेसम्म यसको हिसाब किताब सार्वजनिक गरेका छैनन् । भविष्यमा पनि देखाउने हुन वा होइनन् त्यो त्यसै भन्न सकिने अवस्था छैन ।
एन्फा अध्यक्ष गणेश थापा रकम लुकाउन र खानमा माहिर भएको कुरा कसैबाट छिपेको छैन । गत वर्ष आठ करोड रुपैयाँको बेरुजु देखिनु यसको उदारहण हो । अघिल्लो वर्षको साधारणसभा थापाले आठ करोड रुपैयाँ बेरुजु देखाउँदै उक्त रकम आफूसँग भएको खुलासा गरेका थिए । अहिले त्यो रकम कहाँ कसैले प्रश्न गर्न सकेको छैन । ब्याजमै राखिएको भए पनि त्यसलाई कुन बैंकमा कति प्रतिशत ब्याजमा राखिएको छ त्यसबारे समेत कसैलाई जानकारी छैन । त्यस्तै, गत वर्ष एक लाख डलर काण्डमा गणेश थापा र उनका पुत्र गौरव थापाको प्रत्यक्ष संलग्नता देखिए पनि राखेप व्यक्तिगत कारोबार भन्दै मौन बसेको छ । गौरवलाई आर्थिक अनियमियता गरेकैै कारणले एएफसीले निकालेको थियो । यसरी थापाले राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरसम्म करोडौँ रुपैयाँको हिनामिना गर्दासमेत खेलकुद मन्त्रालय, राखेप, राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग आयोग चुप लागेर बस्नु रहस्यको विषय बनेको छ ।
एएफसीले आर्थिक अनियमिता गरेको गम्भीर आरोप लगाउँदै निकालेका गौरव थापालाई अध्यक्ष थापाले एन्फामा जागिर दिएका छन् । गौरव एन्फामा कुन पदमा कार्यरत छन् त्यो कसैलाई जानकारी नभए पनि उनको आदेशबिना एन्फाको कुनै कार्य नहुने सूत्रको दाबी छ । गणेश थापाको छोरा हुनु नै गौरवको एक मात्र मुख्य ‘योग्यता’ रहेको र सोही कारणले एन्फामा विराजमान भएका गौरवलाई अब एन्फाको सीईओ बनाउन लागेको एन्फा सूत्रको दाबी छ । यस्तो विवादास्पद मान्छेलाई एन्फामा जागिर दिन मिल्छ कि मिल्दैन, चौतर्फी प्रश्न उठ्न पुगेको छ ।
०००
समानुपातिक सभासद् बिक्रीमा !
नजिकिँदै गएको दशैँका लागि आवश्यक सामग्रीको खरिद–बिक्रीमा सर्वसाधारण व्यस्त हुन थालेका बेला प्रमुख राजनीतिक दलका नेतृत्वलाई बेग्लै दशैँ लागेको छ । राजनीतिक दलका शीर्ष नेतृत्व तथा उनीहरूनिकट उद्योगी–व्यवसायीचाहिँ संविधानसभाको समानुपतिक कोटा खरिद–बिक्रीमा माथापच्ची गर्न उद्यत् देखिएका छन् । तोकिएको रकम ‘चन्दा’ दिए समानुपातिक प्रणालीमार्फत पार्टीका तर्फबाट आगामी संविधानसभामा सभासद् बनाइदिने भन्दै रकम नै तोकेर ‘सभासद् पद’ खरिदकर्ताको खोजी सुरु भएको पाइएको छ । समानुपातिक सभासद् खरिद–बिक्री गर्न यसरी बिचौलियाहरू सक्रिय बनेको कुरा पत्याउन मुस्किल भए पनि यस कार्यका लागि ठूलो समूह सशक्त रूपमा सक्रिय रहेको भेटिएको छ । प्रमुख दलका केही शीर्ष नेताहरू नै यस्ता समूहमा सक्रिय देखिएका छन् भने केहीले उद्योगी तथा आफूनिकट व्यक्ति परिचालन गरेको बुझिएको छ ।
विशेष स्रोतबाट प्राप्त जानकारीअनुसार यसरी सभासद् पद खरिद तथा बिक्री कार्यमा पुराना गाडीलाई नयाँ बनाई बिक्रीको धन्दा गर्ने एक व्यापारी विशेष सक्रिय भएर लागिपरेका छन् । आफूलाई एआर बतासको रूपमा चिनाउँदै आनन्दराज बतास नामका ती व्यवसायीले चिनजानका उद्योगी एवम् आफूनिकट व्यक्तिहरूलाई गोप्य एसएमएस पठाउँदै ‘दुईदेखि तीन करोड रुपैयाँ दिने भए आगामी संविधानसभामा समानुपातिकतर्फबाट सभासद् बनाइदिन्छु’ भन्ने वचन दिँदै हिँडेको तथ्य फेला परेको छ ।
नेपाल टेलिकम सूत्रबाट प्राप्त गोप्य सूचनाअनुसार बतासले झण्डै दर्जन उद्योगी–व्यापारीलाई फोन तथा एसएमएसबाट उक्त सन्देश सम्प्रेषण गरिसकेका छन् । समानुपतिकतर्फको सभासद् बनाउने वचन दिँदै हिँडेका उनले प्राय: सबैलाई सभासद्को मूल्य दुईदेखि तीन करोड रुपैयाँ तोकेको स्रोतको कथन छ । रकम तिर्न तयार हुनेलाई ग्यारेन्टीका साथ सभासद् बनाइने दाबी गर्ने बतासले समय भड्किन लागेकाले ढिलो गरे अवसर गुम्न सक्ने भन्दै लोभ्याउने प्रयत्न गरेकोसमेत पाइएको छ । बतासले पटक–पटकको भेटघाटपछि सभासद् पद खरिद गर्न तयार देखिएका तथा सकारात्मक जवाफ दिएका व्यक्तिलाई एमएमएसमार्फत छिटो निर्णयमा पुग्न चेतावनी दिएको पनि स्रोतले दाबी ग-यो ।
बतासनिकट एक व्यवसायीका अनुसार उनले आफू नेपाली काङ्ग्रेसलगायत अन्य प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताउने गरेका छन् । आफूले भनेजति रकम दिए कुनै पनि पार्टीबाट समानुपतिकतर्फको सभासद् बनाउन सक्ने उनको दाबी रहने गरेको छ । यसरी बतासले प्रमुख दलका शीर्षनेताहरूको नाम जोडेर समानुपातिक सभासद् पदको मोलमोलाई गरी बिक्रीका लागि ‘खुल्ला टेन्डर’ आह्वान गर्दै हिँड्न थालेपछि सभासद् पदकै गरिमामाथि आँच आउन लागेको र राजनीतिक दलकै बद्नाम गराएको भन्दै केही व्यवसायी नेपाली काङ्ग्रेसका शीर्ष नेतासँग गुनासोसमेत गर्न पुगेको एक उद्योगीले जानकारी दिए ।
तत्कालीन काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा ज्ञानेन्द्रबहादुर कार्की तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको प्रधानमन्त्रीत्वमा प्रकाशशरण महत ऊर्जामन्त्री रहँदा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यसमेत बनेका आनन्द बतास काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवानिकट व्यक्तिका रूपमा चिनिन्छन् । बतासनिकट एक व्यापारीले भने, ‘बतासजीले देउवालाई नै आफूनिकट खास नेता भन्ने देखाएर सभासद् पद बिक्रीमा रहेको प्रस्ताव वा सन्देश प्रवाहित गरेका हुन सक्छन् ।’ तर, बतासले भने आफूले नभई अरूले नै आफूलाई यस्तो प्रस्ताव गरेको जनाए । घटना र विचारसँग उनले भने, ‘काङ्ग्रेस या अन्य कुनै पनि दलका नेताहरूसँग मेरो सीधा सम्पर्क नभएकाले समानुपातिकतर्फको कोटामा मलाई पार्न सम्पर्क गरिदिनुप-यो, यति रकम खर्च गर्न सक्छु, लौ नेताहरूकहाँ जानुप-यो भन्दै प्रस्तावहरू आएका थिए, मैले यो काम म गर्न सक्दिनँ भन्दै सीधै इन्कार गर्दै आएको छु । समानुपातिक सभासद कोटा बिक्रीमा रहेको खबर सबैजसो प्रमुख पार्टीसुत्रबाट आएकोले इच्छुक र हैसियत भएका साथीहरूलाई जानकारी गराइदिउ‘ भन्ने आशयले मात्र मैले एसएमएस गरेको हु‘, यसमा मेरो कुनै लाभ लिने नियत वा दुराशय छैन ।’ उनले अगाडि थपे, ‘कतिपयको प्रस्तावलाई सीधै इन्कार गर्न अप्ठ्यारो परेकोले अलिक डिप्लोम्याटिक तरिकाबाट गर्नुपर्छ, यस विषयमा भेटेर कुरा गरौँला भन्दै कसैलाई एसएमएस गरेँ पनि हुँला …!’ आफू समानुपातिक सभासद्को पद खरिद–बिक्रीमा रत्तिभर संलग्न नरहेको प्रमाण पेस गर्ने प्रयत्न गर्दै बतासले भने, ‘मैले यति रकम दिए सभासद् बनाउँछु भनेर कसैलाई प्रस्ताव गरेको छैन, यो मविरूद्ध गरिएको हल्ला मात्र हो ।’ उनले आफू यस्तो खेलमा कहिल्यै नलागेको र नलाग्ने पनि बताए । उनले उपदेश दिने शैलीमा भने, ‘सभासद् बन्न राजनीतिमा निकै त्याग गरेको हुनुपर्छ, कसैले पैसा खर्च गर्दैमा सभासद् बन्न र बनाउन मिल्दैन ।’
त्यसो त यसरी समानुपतिकतर्फका सभासद् पद बिक्रीमा पेसाले गाडी व्यापारी बतास मात्र नभएर नेकपा एमाले, एकीकृत माओवादी, नेकपा माल, मधेसीलगायतका अन्य दल र ती दलका शीर्ष नेतानिकट उद्योगीहरू पनि सक्रिय भएर लागेका छन् । एमाले उच्च स्रोतका अनुसार एमालेबाट समानुपतिक सभासद् बिक्रीका लागि स्थायी समिति सदस्य भरतमोहन अधिकारी र उद्योगी विनोद चौधरी सक्रिय भएर लागेका छन् । उनीहरूले समानुपातिक सभासद् बन्न यति नै रकम चाहिन्छ भनेर नतोके पनि अन्य उद्योगीहरूले ‘यति’ आर्थिक सहयोग गरेको र तपाईंले यसभन्दा धेरै सहयोग गरे तपाईं वा तपाईंले चाहेको व्यक्तिलाई सभासद् बनाउन सकिने प्रस्ताव गर्ने गरेका छन् । स्रोतका अनुसार यस विषयलाई लिएर अधिकारी र चौधरीले एमालेनिकट सबैजसो उद्योगीसँग भेट गरिसकेका छन् । एमालेबाट आफूलाई समानुपतिकतर्फको सभासद् बन्न प्रस्ताव आएको जानकारी दिँदै एक व्यापारीले भने, ‘तर, मैले उनीहरूले भनेजति आर्थिक सहयोग गर्न नसक्ने भएकाले म सभासद् बन्दिनँ भन्दै पन्छिएँ ।’ उनले कति रकम अफर गरेको हो भन्नेबारेमा भने खुलस्त बताउन चाहेनन् । उनका अनुसार ठूलो रकम खर्च गर्न सक्ने हो भने समानुपातिकतर्फको सभासद् बन्न कुनै समस्या छैन । उनले थपे, ‘पैसा र च्यानल भयो भने सभासद् बन्न कुनै गाह्रो छैन ।’
यस्तै एकीकृत माओवादीले पनि समानुपातिक सभासद्को पद बिक्रीमा राखेको छ । स्रोतका अनुसार एमाओवादी अध्यक्ष प्रचण्डले नै यसको अगुवाइ गरेका छन् । उनले आफूनिकट उद्योगीहरूलाई आफ्नै निवासमा बोलाएर पैसाको बार्गेनिङ गरेको एक उद्योगीले बताए । हैसियतभन्दा बढी आर्थिक सहयोग माग गरेको विषयलाई लिएर एमाओवादी अध्यक्षसँग छलफल गर्न पुगेको ती व्यापारीका अनुसार प्रचण्डले आफूले भनेजति आर्थिक सहयोग दिए समानुपातिकतर्फको एउटा सभासद्को पदसमेत उपलब्ध गराउन सकिने आश्वासन दिएका थिए । यसपटकको निर्वाचन पार्टीका लागि निकै महत्वपूर्ण रहेकोले चर्को आर्थिक समस्या पर्ने भन्दै प्रचण्डले त्यसका लागि सहयोग गरे तपार्इं स्वयम् वा तपाईंले चाहेको व्यक्तिलाई समानुपातिकतर्फबाट सभासद् बनाउन सकिने प्रस्ताव राखेका थिए । केही उद्योगीले भने प्रचण्डको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै पार्टीलाई आर्थिक सहयोग गर्न सक्ने तर सिटचाहिँ सुरक्षित हुनुपर्ने सर्त तेस्र्याएका थिए । अघिल्लो संविधानसभामा पनि उद्योगी राजेन्द्र खेतान, विनोद चौधरीलगायत उद्योगी पार्टीका प्रमुख नेतालाई ‘दह्रो’ आर्थिक सहयोग गरेर समानुपातिकतर्फबाट सभासद् बनेका थिए । यसपटक पनि त्यही खेलको पुनरावृत्ति भएको देखिएको भन्दै काङ्ग्रेसका एक केन्द्रीय नेताले चिन्ता व्यक्त गरे । यसरी नगदको भरमा संविधानसभामा पुग्ने सभासद्ले कसरी कस्तो संविधान निर्माण गर्लान्, उदेकपूर्ण चिन्ताको विषय बनेको छ ।

कोसीपीडितलाई सर्तअनुसार क्षतिपूर्ति दिइएको दाबी
कोसीको डुबान तथा कटानमा परेर जग्गा गुमाएकाहरूलाई क्षतिपूर्ति नदिइएको भनी केही मिडियाले समाचार प्रकाशित गरेको विषयमा छिमेकी मित्रराष्ट्र भारतले एक विज्ञप्ति प्रकाशित गरी आफ्नो धारणा प्रस्ट्याएको छ । जग्गा क्षतिपूर्ति विषय सन् १९५० को दशकसँग सम्बन्धित रहेको र त्यतिबेला तटबन्ध, बाँध र एफ्लक्स बण्ड निर्माणका लागि जग्गा अधिग्रहण गरिएको जनाउँदै विज्ञप्तिमा उक्त समयपश्चात् आजसम्मको अवधिमा तटबन्ध भूक्षरण वा भत्किएको कुनै अभिलेख नरहेकाले दुवै तटबन्धको बीचमा रहेको जग्गाका लागि क्षतिपूर्ति माग गरिएकोजस्तो देखिएको उल्लेख गरिएको छ । यसप्रकारको क्षतिपूर्तिको विषय सन् १९६४ देखि विभिन्न चरणमा सम्पन्न भएका द्विपक्षीय बैठकहरूमा छलफल भएको पनि प्रस्ट्याइएको छ ।
कोसी बाँधसँग सम्बन्धित क्षतिपूर्तिको विषयलाई २० फेब्रुअरी १९६७ मा सम्पन्न कोसी समन्वय समितिको १४औँ बैठकले नै अन्तिम समाधान निकालिएको जिकिर गर्दै सोही बैठकमा भएको छलफलका क्रममा कोसी समन्वय समितिले तटबन्धनजिक जग्गा भएका जनतालाई क्षेत्रविक्रम राणा आयोगले सिफारिस गरेको ५० हजारको सट्टा राहतको रूपमा विगत र वर्तमानमा भएको तथा भविष्यमा हुनसक्ने क्षतिका लागि एक लाख ९५ हजार दिनुपर्ने भारतीय पक्षले बताएको विज्ञप्तिमा जनाइएको छ । सम्झौताको धारा ८ मा भारतले क्षतिपूर्ति प्रदान गर्ने र नेपाल सरकारले प्रभावित जनतालाई वितरण गर्ने व्यवस्था रहेको उल्लेख गर्दै सोअनुरूपको रकम परियोजना प्रशासनले नेपालको कोषमा जम्मा गरिदिइसकेको स्मरण पनि गराइएको छ ।
यसैगरी, कोसी सम्झौतामा डुबानमा परेको वा कटानमा भएको जग्गाका लागि क्षतिपूर्ति दिने प्रावधान नहुँदानहुँदै पनि भारत सरकारले सन् १९६७ मा क्षतिपूर्तिको सम्पूर्ण मागलाई समेटी रकम प्रदान गरेको तथ्यमाथि विचार पु-याउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

०००

वारेन्टेड डाँकुहरूद्वारा आत्मसमर्पण
नवलपरासी कुडिया गाविसमा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय मूलका तीन दस्यु (डाँका)हरूले भारतीय सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका छन् । विगत ३० वर्षअघिदेखि कुडियाको सखुवाना गाउँमा बसोबास गर्दै आएका राधेमल्लाहसमेत तीन दस्युले गत साता भारतीय सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका हुन् । सूत्रका अनुसार राधे मल्लाह, चुमन विन र रमाकान्त राजभरले गोप्य तवरमा भारत बिहारको सुरक्षा निकायसँग सम्पर्क गरी त्रिवेणीस्थित गण्डक ब्यारेजपारि वाल्मीकिनगर थानामा आत्मसमर्पण गरेका थिए । मल्लाह, विन र राजभर भारत बिहार सरकारबाट डकैती तथा लुटपाटको आरोपमा वारेन्टेड रहेकाले उनीहरूले सुरक्षित वासस्थानको रूपमा कुडियालाई अपनाउँदै आएका थिए । तीनै दस्युका भारतमा रहेका आफन्तजनले आत्मसमर्पणको चाँजोपाँजो मिलाएपछि कुडियाबाट सात किलोमिटरको दूरीमा रहेको बिहारको वाल्मीकिनगर थानामा आत्मसमर्पण कार्य गराएका थिए । नेपालभूमिमा बसोबास गर्ने भारतीय मूलका डाँकाहरू आत्मसमर्पण गर्दा बिहारका सांसद विधायक, बगहा एस्पी र भारतीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । महत्वका साथ खोजी गरिएका डाँकाहरूको आत्मसमर्पणलाई भारतीय पक्षले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बुझिएको छ । यसैबीच सीमावर्ती गाविसबाट अझै थप केही भारतीय दश्युहरूले आत्मसमर्पण गर्ने सङ्केत देखाएको स्रोतले बताएको छ । सीमावर्ती पकलिहवा, नर्सही र त्रिवेणी सुस्तालाई भारतीय वारेन्टेड व्यक्तिहरूले सुरक्षित बसोबास स्थलका रूपमा अपनाउँदै आएका छन् ।

०००

०००

‘भ्वाइसेस’मा प्रतीक र गुणराजको प्रतिबद्धता
बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सक्रियतामा काठमाडौंस्थित भारतीय दूतावासद्वारा सञ्चालन हुँदै आएको ‘भ्वाइसेस’ कार्यक्रमको पाँचौँ संस्करण गत साता नेपाल–भारत पुस्तकालय भवनमा सम्पन्न भयो । ख्यातिप्राप्त सञ्चारकर्मीद्वय नागरिक दैनिकका सम्पादक प्रतीक प्रधान र अन्नपूर्ण पोष्टका सम्पादक गुणराज लुइँटेललाई निम्त्याइएको सो कार्यक्रममा अतिथिद्वय प्रधान र लुइँटेलले ०४६ देखि हालसम्मको सञ्चारमाध्यमका अनुभवहरूको तुलनात्मक छलफल गरे ।
‘भ्वाइसेस’मा प्रतीक प्रधानले ०४६ अघि स्वतन्त्र पत्रकारिताभन्दा पनि मिसन पत्रकारिता रहेकोमा निजीकरणले सञ्चारजगत्लाई जनयुद्ध, निरङ्कुशता र व्यक्तिगत अधिकारका बारेमा स्वतन्त्र धारणा राख्न सहयोग गरेको धारणा राखे । यस्तै, पत्रकारको रूपमा आफूहरूले जनयुद्ध, राजतन्त्र र अस्थिरताका चरण नजिकबाट भोगेको उल्लेख गर्दै प्रधान र लुइँटेल दुवैले समाजमा रहेका विकृति र विसङ्गतिविरुद्ध सदैव आफ्नोतर्फबाट लडिरहने प्रतिबद्धता व्यक्त गरे । दुवैले जोड दिँदै भने, ‘पत्रकारको रूपमा हामीले जनयुद्ध, राजतन्त्र र अस्थिरता नजिकबाट भोगेका छौँ र सामाजिक विकृति र विसङ्गतिका विरुद्धमा सदैव आफ्नोतर्फबाट लडिरहन कटिबद्ध छौँ ।’ यतिबेला सञ्चारजगत् निस्क्रिय भएको उल्लेख गर्दै उनीहरूले यस परिवेशबाट आफूहरूलाई दु:ख लागेको पनि बताए । अझै पनि धम्की, राजनीतिक प्रभाव र हिंसाले सञ्चारजगत् आक्रान्त रहेको तथापि पत्रकारहरू जनतामाझ ती कुराहरू सूचित गर्ने क्रममा आइपर्ने कैयौँ धम्की र त्रासका कारण मौन रहन बाध्य भएको सम्पादकद्वयले उल्लेख गरे । श्रोता र अतिथिबीच रोचक छलफल चलेको उनीहरूले नेपालमा पत्रकारले भोगेका समस्याबारे थप प्रकाश पारेका थिए ।

कन्र्भसेसन्सको नवौँ शृङ्खलामा प्राध्यापक राकेश र पत्रकार पराजुली
यसैगरी, गत शुक्रबार नेपाल वायुसेवा भवनको नेपाल–भारत पुस्तकालयमा भारतीय राजदूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको संयुक्त आयोजनामा ‘कन्र्भसेसन्स’ कार्यक्रमको नवौँ संस्करण आयोजना गरियो । कार्यक्रमका सञ्चालकको भूमिकामा रहेका लेखक तथा पत्रकार राजेन्द्र पराजुलीले प्राध्यापक रामदयाल राकेशलाई नेपाली साहित्य क्षेत्रका एक प्रख्यात समालोचक तथा मैथिली भाषालाई नेपालमा चिनाउने महान् योगदानकर्ताका रूपमा परिचय गराउँदै कार्यक्रम सुरु गरेका थिए ।
नेपाली कविता र साहित्यका विभिन्न आयाम, मैथिली संस्कृति, मिथिलाञ्चल लोकसंस्कृति, ‘फोक कल्चर अभ नेपाल एन्ड नेप्लिज कल्चर इन अ नटसेल’जस्ता गहन पुस्तकका सर्जक प्राध्यापक राकेशले साहित्यमा समालोचनात्मक समीक्षाको महत्वसहित समालोचनालेखनका विभिन्न पक्षबारे प्रकाश पार्नुभयो ।
दुवै लेखकले नेपाली र हिन्दी साहित्यको अन्तर्सम्बन्ध, लेखन संस्कृतिमा हालको अवस्थासम्म आइपुग्दा देखिएका परिवर्तन र नेपाली तथा हिन्दी साहित्य संरक्षण तथा सम्बद्र्धनको महत्वबारे प्रकाश पारेका थिए ।

०००