नेपाली मन किन फाट्यो त प्रवासमा ?

नेपाली मन किन फाट्यो त प्रवासमा ?


देश–परदेश– प्रकाश के.सी.
लन्डन÷ गैरआवासीय नेपाली सङ्घ बेलायतले यही सेप्टेम्बर १५ तारिख दुई छुट्टाछुट्टै स्थानमा पाँचौँ अधिवेशन सम्पन्न गरेको छ । करिब एक लाख पचास हजारजति नेपाली बसोबास गर्ने बेलायतमा लगभग आधाआधा अर्थात् पाँच–छ सय, पाँच–छ सय सदस्य बटुलेर औपचारिक रूपमा गैरआवासीय नेपाली सङ्घ बेलायत दुई चिरा भएको छ । व्यापारी योगेन क्षेत्री र अर्का व्यापारी महेन्द्र कँडेलले नेतृत्व दिने उक्त दुई गैरआवासीय नेपाली सङ्घलाई संस्थापन पक्ष र विद्रोही पक्ष भनेर प्रचार गरिएका छन् । गैरआवासीय नेपाली सङ्घको केन्द्रले अझै सहमति नदिएको उक्त विद्रोही पक्षले आफ्नो छाप यसपटकको काठमाडौं सम्मेलनमा राख्ने र सोहीअनुरूप मान्यता प्राप्त गर्ने वा कुनै किसिमको केन्द्रको मध्यस्थतामा एकीकृत हुने र त्यसरी बाटो नपहिल्याइए अर्को छुट्टै केन्द्रको अवधारणालाई यथार्थ रूप दिनेमा सञ्चालित हुने देखिएको छ ।
‘एकपटकको नेपाली सदाका लागि नेपाली’ भन्दै दोहोरो नागरिकताको माग राख्दै आएको गैरआवासीय नेपाली सङ्घमा खासगरी तर्कशील प्रबुद्ध वर्गको कमी देखिएकोे अवस्थामा विगत केही समयदेखि यस सङ्घ र यसका विभिन्न राष्ट्रिय शाखाहरूका संस्थाहरूमा हुँदै आइरहेको विचलनले गर्दा झन् एकप्रकारले खडेरीजस्तै पर्दै गएको छ । विभिन्न वहाना वा किसिमले विदेशिएका र विभिन्न किसिमले पैसा कमाई सम्भ्रान्त मानिएका आप्रवासी नेपाली ‘पैसावाल’हरू नै एकोहोरिएर गैरआवासीय नेपाली सङ्घतिर लागिरहेका छन् ।
गैरआवासीय नेपालीको सङ्घमा सङ्घले परिभाषित गर्ने २७ लाख नेपालीका धेरै ठूलो भाग आफ्नो श्रम बेच्नेहरूमा पर्दछ । तिनको ध्येय भनेको कमभन्दा कम खर्च गरी नेपालमा रहेको आफ्नो परिवारको जीवनस्तर उकास्न पैसा पठाउने नै हुन्छ । आफ्नो परिवारको आर्थिक स्थितिलाई सुधार्न आउनेहरूले रेमिट््यान्सको माध्यमले अर्थ भिœयाए पनि गैरआवासीय नेपाली सङ्घले भन्ने गरे जसरी लगानी भिœयाएका हुँदैनन् । अर्काे ठूलो समूह भनेको विद्यार्थीहरू नै हुन् । पढ्नुबाहेकको सीमित समय बेचेर अर्थोपाजन गर्नेहरूसँग आफूलाई विदेशी भूमिमा लायकसँग उभ्याउने क्रममा उल्झेका तिनका एकाग्रताले हासिल गरेको प्रविधि तथा विज्ञानले नेपालकै स्तरीय शैक्षिक निकायबाट हासिल गरिएका प्रविधि तथा विज्ञानलाई पछार्न सक्दैनन्, ग्यारेन्टी हो यो । जीवनको लामो अवधि विदेशी भूमिमा गुजार्नेहरू विविध कारणले मूल नेपाली परिवेश र संस्कार तथा दैनिकीदेखि पिछडिएका हुन्छन्, तिनलाई नेपालमुखी आवासीय रूपले बनाउन मुस्किल पर्दछ र तिनीहरू जसरीतसरी आफूलाई विदेशमा नै स्थानीयसरह उभ्याउन विवश हुन्छन्, लालायित हुन्छन् र समूलतः पलायन हुन्छन् । तिनलाई यसरी पलायन हुनका लागि तिनको सोच मात्र होइन, तिनका आम्दानीको भर हुनुपर्ने हुन्छ । ‘मोर्गेज’लगायतका दैनिक खर्चहरूलाई धान्दाधान्दा मुस्किलले बचत गर्न सक्ने अर्को ठूला परिमाणमा त्यस्ता गैरआवासीय नेपाली छन्, जसले हरेक वर्ष, नेपालमा रहेका आफ्ना बाबाआमालगायत नातागोताहरूलाई भेट्न जानसम्म सक्दैनन्, ती व्यक्तिहरूबाट नेपालमा लगानी तथा प्रविधि भित्रिने कुरा स्वेरकल्पना मात्र हो । यस्ता लाखौँ नेपालीका नाममा संस्थाको विशालताको बखानमा लिप्त, औँलामा गन्न सकिने सङ्ख्यामा गैरआवासीय नेपाली सङ्घभित्र व्यक्तित्वहरू छन् तर तिनको साथमा आमगैरआवासीय नेपाली पटक्कै छैनन् ।
बेलायतको गैरआवासीय नेपाली सङ्घहरूलाई नेतृत्व दिने दुई नेताहरू क्रमशः योगेन क्षेत्री र महेन्द्र कँडेल अधिवेशन हुने दिनको आखिरी रातसम्म पनि आ–आफ्नो अडानबाट लचकदार हुन नसकी सङ्घलाई दुई चिरा पार्ने धुन्धुकारी भूमिकामा देखिए । वास्तवमा गैरआवासीय नेपाली सङ्घ खासगरी बेलायतमा कुनै हदले पनि प्रभावशाली होइन । आमजनसमुदायमा लगभग ‘गैर’ रहेको यस संस्थामा संस्थाको मूल मर्मको विपरीत राजनीति व्याप्त छ । नेपालका विभिन्न राजनीतिक पार्टीहरूका भ्रातृसंस्थाको कोटामा भाग गरी कार्यसमितिका पदहरूको बाँडफाँड हुन्छ, अथवा नेपाली शैलीको टिकट बाँडिन्छ र त्यसपछि भोटरहरू किन्न थालिन्छ यहाँ । नेतृत्व गर्नेलगायत चुनावमा उठ्नेहरूले आफ्नै पैसा लगाएर प्रतिव्यक्ति दश पाउन्डका दरले साधारण सदस्यहरू जम्मा गरिन्छ र त्यसैको आधारमा चुनावमा परिणामको घोषणा गरिन्छ । हरेक दान वा पुन्यलगायतका सहयोग आदिका काममा धनीहरूको संस्था कहलिएकोले पैसाले सहयोगी देखाउनेलगायत विविध प्रकृतिका प्रायोजित कार्यक्रम गर्नु र नेपाली नेतृत्वसँगको उठबसमा बाँकी समय खर्चिनु नै गैरआवासीय नेपाली सङ्घ बेलायतको कार्यपद्धति हो । तर पनि किन यसरी यस संस्थाको नेतृत्व गर्न यहाँ व्यक्तिहरू त्यसरी एकोहोरिएका हुन्छन् त ? यो वास्तवमा सर्वसाधारणहरूको आमजिज्ञाशा हो ।
योगेन क्षेत्रीले सरसफाइ गर्ने कम्पनी चलाउँछन् । राम्ररी भाषण गर्न नसक्ने क्षेत्रीले आफ्नो कम्पनीबाट हजारौँ नेपालीलाई काम दिइरहेका छन्, त्यसबाट उनले लाखौँ कमाउँछन् । उनी एक सफल तर तुलनात्मक रुपमा कम पढेलेखेका एक व्यापारीको रूपमा गनिन्छन् । त्यस्तै अर्का नेता महेन्द्र कँडेल एक व्यवसायी हुन्, नेपाली विद्यार्थीलाई बेलायतमा पढाउनका लागि आफ्ना दाजुभाइको साथ लिएर कँडेल कलेज चलाउँछन्, नेपालबाट नेपाली करेन्सीमा रकम असुल गरी विद्यार्थीलाई बेलायतमा भीसालगायत अध्यापन गराउन सक्षम कँडेल परिवारको सपिङ सेन्टर पनि छ । लगातार दुई समितिसम्म संस्थाको उपाध्यक्ष भएका कँडेललाई एक बुद्धिमान व्यक्ति मानिन्छन् । यो कार्य समितिको दुईवर्षे अवधिमा एक–एक वर्ष गरी नेतृत्व गर्नेलगायत चार–चारजना उपाध्यक्ष राख्ने भन्ने सर्तहरू राखिएको तर नमानिएको अवस्थापछि आखिरमा गैरआवासीय नेपाली सङ्घ दुईवटा भएका हुन् बेलायतमा । आखिर किन त ?
विश्व अहिले साँघुरिएको छ र त्यसैले व्यावसायिक रूपमा सम्भावनाहरू बाक्लिएका छन् । त्यसैले त, एक देशमा हुने अर्थतन्त्रको परिवर्तशीलताले अर्को अर्थतन्त्रलाई गहिरो प्रभाव पार्दछ । यो अवस्थामा विदेशमा सानोतिनो व्यवसाय गर्नेले त्यसको हाँगो नेपालमा फैलाउन सजिलै सक्दछ । दुई वा दुईभन्दा बेसी देशलाई आफ्नो व्यापारको कडीले जोड्न ती व्यवसायीहरू त्यसैले सफल हुन्छन् र तिनलाई गैरआवसीय नेपालीको परिभाषा र त्यसलाई निमित्त गर्ने सुविधाहरूले निक्कै नै साथ दिएको हुन्छ । नत्र, अर्काे हिसाबमा, नेपाल कुनै ठूलो मार्केट होइन, मल्टी–मार्केटिङ गर्नेहरूका लक्ष्य भारत तथा चीनमा ज्यादा हुन्छ, नेपालको अनुपातमा । खासगरी विदेशमा आयव्ययउपर सरकारीतर्फबाट एकदम मिहिन रूपले खोजतलास हुन्छ, हरेक वर्ष अडिटिङ गराउनका लागि चार्टर्ड एकाउन्टेन्टहरूको अकथनीय अनि अघोषित सेवाको खरिद त्यसैले भरमार रूपमा भइरहेका हुन्छन् । मुनाफाको विशेष अंश ट्याक्सको रूपमा सम्बन्धित देशको सरकारलाई बुझाउन बाध्य हुने व्यवसायीहरूले, सक्षम एकाउन्टेन्टको मद्धतले कम मुनाफा र धेरै खर्च देखाई, ट्याक्सबाट एक ठूलो परिमाणमा रकमहरू बचाइरहेका हुन्छन् र त्यसरी बचाइएका रकमहरू अपारदर्शी रूपमा उक्त व्यवसायीहरूसँग सङ्कलित हुन्छन् अनि यहाँ नै त्यस्ता रकमहरूको लगानी खासगरी गैरआवासीय नेपाली व्यापारीहरूले नेपालमा लगाउन चाहन्छन्, जहाँ रकमलाई कालोबाट सेतो बनाउन ठूलो मिहिनेत गर्नुपर्दैन । गैरआवासीय नेपाली व्यापारीहरूलाई विदेशी मुद्दामा रकमहरू विदेश ल्याउन वा लैजान पाउने सुविधाको प्रयोग यो बेला ती गैरआवासीय नेपाली व्यापारीलाई अधिक हुने गर्दछ, यो व्यापारको एक रूप हो भने अर्को प्रत्यक्ष रूपको प्रभाव तिनको सामाजिकतामा पर्दछ । यस्तै, अप्रत्यक्षतः त्यही सामाजिक रूपले तिनको व्यवसायलाई बढोत्तरी दिएको हुन्छ ।
लगभग दुई दशक समय बित्दै छ, नेपालमा प्रजातन्त्रको उदय भएको छ । त्यसको साथ–साथमा नेपाली एकीकृत हुने वहानामा बिस्तारै–बिस्तारै छुट्टिएका छन्, फरक भएका छन् । हरेक नेपाली जातिगत, वर्गीय, वादी, क्षेत्रीय आदिमा यसरी खण्डखण्डमा विभाजित भएका छन् कि समूलतः एक नेपाली भनेर खोज्न गाह्रो भइसकेको छ । विदेशी नागरिकता वहन गर्नेहरूदेखि शोख र शोकले विदेशिएकाहरू नेपाली सोही धङधङी बोकेर सो हालतमा बाँच्न बाध्य छन्, लालायित छन् ।