चाँदीमा सुनको पाता बेरेर ठगी

चाँदीमा सुनको पाता बेरेर ठगी


अपराध– विपन भण्डारी
ठगी गर्ने नयाँ–नयाँ शैलीको विकास भइरहेको छ । आपराधिक मानसिकता भएकाहरूले आमसर्वसाधारणलाई ठग्न विभिन्न नयाँ उपायहरू अपनाउने गरेको पाइन थालेको छ । महानगरीय अपराध महाशाखाले नक्कली गहना धितो राखी रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाले सुनले मोडिएको चाँदीका गर गहना घितो राखी ठगी गर्ने विभिन्न ६ जनालाई पक्राउपछि आइतबार सार्वजनिक गरेको हो । ठगी गर्ने गिरोहले सुनको पाताभित्र चाँदी हालेर गहना बनाउने र त्यसलाई बिक्री गर्ने गरेको थिए । सुनलाई पासा आकारको बनाउने र त्यसभित्र राख्न चाँदीको भारी वजनको भित्री आकार बनाई त्यसलाई सुनको पाताले वरिपरि बेर्दै केही व्यक्तिहरूले ठगी गरिरहेका थिए ।
सुदन गहतराज र थमबहादुर भण्डारीका बीचमा वैदेशिक रोजगारको क्रममा १० वर्षअघि साउदी अरबमा चिनजान भएको थियो । त्यही चिनजानको भरमा थमबहादुर भण्डारीले सुदन गहतराजले सञ्चालन गरेको नयाँबानेश्वरस्थित भोजपुर देउराली सुनचाँदी पसलमा आर्थिक समस्या देखाई सुनका गहना धितो राखी पटकपटक रकम ऋण लिएका थिए । गत जेठदेखि अहिलेसम्म भण्डारीले पटक–पटक गहना राखेर रकम दिने गरेका थिए । सुदन गहतराजले पनि १० वर्षे पुरानो सम्बन्धलाई विश्वास गरेर ऋण दिने गरेका थिए । तर, भण्डारीले धितो सुन उकास्न नआएपछि गहराजलाई शङ्का लाग्यो र उसले त्यो धितो सुनबारे थप जानकारी लिने क्रममा भण्डारीले आफूलाई ठगेको फेला पा-यो । भण्डारीले धितो राखेको सबै गहना मात्र सुनको पाताले मोडिएको मोडिएको चाँदीको गहना भएको खुलासा भएपछि उनि प्रहरीसमक्ष पुगेका थिए । गहतराजले जेठदेखि हालसम्म पटक–पटक गरी ४८ लाख ५० हजारबराबरको रकम धितो राख्दै भण्डारीलाई दिएका थिए । गहतराजको उजुरी पर्नासाथ थमबहादुर भण्डारीलगायतका व्यक्तिहरूलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले असोज ४ गते पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ जिल्ला सेरदुङ–६ घर भई ललितपुर हरिसिद्धि बस्ने २८ वर्षीय पिल्चा लामा, नैकाप बस्ने ३४ वर्षीय बुदु तामाङ, बाग्लुङ अधिकारीचौर–६ घर भई मनमैजु–७ बस्ने ५५ वर्षीय थमबहादुर भण्डारी, २८ वर्षीय नवीन भण्डारी, धादिङ सेरजुङ घर भई मैहपी बस्ने २४ वर्षीय टेकबहादुर तामाङ, बालाजु बस्ने ३५ वर्षीय ढकबहादुर तामाङ र २७ वर्षीय तर्चेल तामाङ रहेका छन् । ठगीका मुख्य योजनाकार थमबहादुर भण्डारीले काठमाडौं नयाँबानेश्वरस्थित भोजपर देउराली सुनचाँदी पसलबाट सुनले मोडिएका चाँदीका गहना घितो राखी ४८ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरी भनाइ छ ।
प्रहरीले उनीहरूबाट मोबाइल सात थान, भित्र चाँदी राखेर बाहिर सुनले मोडेको चुरा ४४ थान, औंठी ३ थान, नवीन भण्डारीको मनमैजुस्थित कोठाबाट नगद एक लाख रुपैयाँ, देउराली सुनचाँदी पसलमा सुन बन्दकी राखेको निस्सा पाना ११, गणेश हिमाल सुनचाँदी पसलको बिल पाना १, सरस्वती सुनचाँदी पसलको बिल पाना १, नमो बुद्ध सुनचाँदी पसलको बिल पाना १, गहना बनाउन प्रयोग गरिने एयर पम्प, नाइटिङक एसिड, कैची, चिम्टी तथा बुद्ध तामाङको कोठाबाट चाँदीजस्तो देखिने धातु ४ ताला २६ लालसमेत बरामद गरेको छ ।
आमउपभोक्ता यस्तो ठगीबाट बच्न चनाखो बन्ने समय आएको छ । गहना हेर्दा र परीक्षण गर्दा पूरै सुनकै हुने, भित्र कमजोर धातु राखेको थाहा नहुने भएको यस्तो ठगको जालोमा आमजनता सहजै फस्ने देखिएको छ । त्यसैले नेपाल प्रहरीले आफ्नो अनुगमनलाई तीव्र र बलियो बनाएर आमसर्वसाधारणलाई गठिने अवस्थाबाट उन्मुक्ति दिन जरुरी छ । त्यसैगरी उपभोक्ता पनि यस्तो ठगीको विषयमा जानकार र चनासो हुने अहिलेको आवश्यकता बनिसकेको छ । अनि मात्र यस्ता ठग गर्ने अपराधीको जालो कम गर्न सकिन्छ ।

मापसे चेकजाँच झन् कडा पारिने
ट्राफिक प्रहरीले नजिकिँदै गएको दशैँ–तिहारको समयमा मापसे चेकजाँचलाई अझै कडा पार्ने तयारी गरेको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएको ट्राफिक महाशाखाले अन्य समयभन्दा दशैँ–तिहारमा दुर्घटना बढी हुने भएकाले मादक पदार्थ सेवन चेकजाँचलाई सशक्त बनाउने तयारी गरेको हो । ट्राफिक महाशाखा प्रमुख डीआईजी केशव अधिकारीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई कडा कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले दशैँको समय मापसे चेकिङ दिउँसोबाटै गर्ने तयारी गरिएकोसमेत जानकारी गराउनुभयो । चाडबाडको नाममा दिउँसै नसाजन्य मदिरा पिएर सवारी चलाउने परिपाटी देखिएको, यस्तोबाट हुन सक्ने दुर्घटना कम गर्न दशैँ–तिहारको बेला ट्राफिक दिउँसैबाट मापसे चेकिङमा उत्रने अधिकारीको भनाइ छ । प्रमुख अधिकारीले उपत्यका आसपासका क्षेत्रमा दशैँको समयमा अन्य समयभन्दा ६० प्रतिशत बढी सवारीसाधनको आवतजावत बढ्ने भएकाले महाशाखा विशेष योजनासहित ट्राफिक व्यवस्थापनामा जुट्ने जानकारीसमेत दिनुभयो । दशैँ–तिहारका समयमा अरूबेलाभन्दा बढी ट्राफिक पेट्रोलिङ गर्ने तयारी गरेको डीआईजी अधिकारीले खुलासासमेत गर्नुभएको छ । दशैँको समयमा आमसर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुईजना चालक राख्न सबै यातायात समितिलाई निर्देशन दिएको अधिकारीले दाबी गर्नुभयो । ट्राफिक प्रहरी, यातायात कार्यालय, जनपथ प्रहरीसहितका विभिन्न संस्थाहरूको संयोजनामा दशैँ, तिहार र छठ पर्वमा सर्वसाधारणलाई सहयोग पुगोस् भन्ने उद्देश्यकासाथ काठमाडौंका विभिन्न १२ वटा स्थानमा नागरिक सहायता डेस्क स्थापना गरिएको छ । नागरिक सहायता डेक्सले भरपर्दो काम गरे–नगरेकोबारे अनुगमन गर्न सबै स्थानमा ट्राफिक प्रहरीसहितको अनुगमन समिति बनाइएको छ । यसले दशैँ–तिहार र छटमा हुनसक्ने दुर्घटनालाई केही कम गर्न सकिने ट्राफिकले आशा लिएको छ । तर, एक्लो नेपाल प्रहरी र ट्राफिकको पहलमा मात्र दशैँ–तिहारमा काठमाडौं र काठमाडौंबाहिर हुन सक्ने ट्राफिक दुर्घटना कम हुन भने सक्दैन । यसका आमनागरिकले नियम र कानुनको पालना गरेर नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई उत्तिकै सहयोग गर्न जरुरी छ ।
उमाको हत्यारा उमेश पक्राउ
रेडियो टुडे जनकपुरकी तात्कालिक समाचारवाचिका एवम् पत्रकार उमा सिंहको हत्या गरेको अभियोगमा प्रहरीले धनुषा बालासाघारा–१ बस्ने ३५ वर्षीय स्वामीजी भनिने उमेश यादवलाई पक्राउ गरेको छ । ०६५ पुस २७ गते पत्रकार सिंहलाई यादवलगायत १०÷१५ जनाको समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । घातक हतियार प्रयोगका कारण गम्भीर घाइते बनेकी पत्रकार सिंहको जनकपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडांै लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उक्त घटनामा मृतक सिंहकै भाउजू ललिता सिंह पनि संलग्न रहेकी थिइन् । उनी अर्का अपराधी नेमलाल पासवानसहित यतिबेला जेल सजाय भोगिरहेकी छिन् । ती दुवैलाई जन्मकैदको फैसला भएको थियो भने अन्य अभियुक्तबारे फैसला हुन बाँकी रहेको बताइएको छ ।
प्रहरीले जनाएअनुसार अभियुक्त उमेश यादव ०६४ फागुन २ गते धनुषा धनुषा भरतपुर–६ बस्ने २५ वर्षीय रमेश दाहाल र ४० वर्षीय लक्ष्मीकान्त राईलाई धारिलो हतियार प्रहार गरेर घाँटी रेटी हत्या गरेको घटनामा समेत संलग्न रहेका व्यक्ति भएको रहस्य खुलेको छ ।
यति मात्र नभई अनुसन्धानबाट ०६९ पुस १३ गते धनुषा रमदैया–३ बस्ने ४५ वर्षीय किशोरी यादवलाई महोत्तरीबाट अपहरण गरी सर्लाहीमा हत्या गरेको र ०६९ जेठ २८ गते हातहतियार खरखजाना तथा अवैध चन्दा असुली कार्यमा समेत निज यादव संलग्न रहेको खुलेको छ । यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले कैलालीको धनगढीबाट पक्राउ गरेको थियो ।