खेलकुदका हस्ती मैदानमा

खेलकुदका हस्ती मैदानमा


sportआगामी मङ्सिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन हुने पक्का भएपछि राजनीतिक सरगर्मी निकै बढेको छ । योग्य, शिक्षित र चुनाव जित्नसक्ने युवाहरूलाई राजनीतिक दलहरूले उम्मेदवार बनाउने घोषणा गरेपछि चियापसलदेखि चौतारासम्म निर्वाचनकै गफ र चर्चा भइरहेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ राजनीतिक दलले कस्ता व्यक्तिको सिफारिस गर्नुपर्छ त्यसको गम्भीर टीका–टिप्पणी र विश्लेषण हुन थालेको छ । वर्तमान अवस्थामा युवालाई प्रत्यक्ष र बूढालाई समानुपातिकमा सिफारिस हुनुपर्छ भन्ने आमधारणा रहेको बुझिएको छ । यस्तो अवस्थामा खेलकुदलाई कर्मथलो बनाउँदै राजनीतिमा होमिएका व्यक्तिहरूको नाम पनि अग्रपङ्क्तिका देखिएको छ । उनीहरूलाई जिल्लाका विभिन्न क्षेत्रबाट सिफारिस गरेर केन्द्रमा पठाइएको छ । नेपाली काङ्ग्रेस, एमाले, एमाओवादी, राप्रपा र मधेसवादी खदलहरूले पार्टीमा प्रतिबद्ध रहेका र खेलकुदमा लोकप्रियता कमाएकाहरूलाई निर्वाचनमा होम्ने तयारी गरिरहेको अवस्थामा अहिले खेलकुदका थुप्रै चिरपरिचित अनुहारहरू आवरणमा देखिएका छन् ।
आसन्न संविधानसभा निर्वाचनमा काङ्ग्रेसबाट मीनकृष्ण महर्जन, देवेन्द्रराज कँडेल, रञ्जन थापा, कुमारजंग थापा, किशोर राई, उपेन्द्र यादव र नन्दु सरदारलाई प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । त्यस्तै एमालेबाट जीवनराम श्रेष्ठ, एमाओवादीवाट इन्द्रबहादुर थिङ, गणेशबहादुर पुन, टंक आङबुहाङ, दीपक कोइराला, दीपक सावद र पुष्पा घर्तीलाई प्रत्यक्षतर्फ सिफारिसमा परेका छन् । यसैगरी राप्रपाबाट ध्रुवबहादुर प्रधान, जगत गौचन, कर्णबहादुर बुढा, राप्रपा नेपालबाट कमल थापा र मधेसवादी दलबाट हरिबाबु चौधरीको सिफारिसमा परेका छन् । त्यस्तै समानुपातिकतर्फ काङ्ग्रेसबाट दाबा गुरुङ, कर्माछिरिङ शेर्पा, मोहनकुमार राई, एमालेबाट टेन्टी शेर्पा, पीताम्बर तिम्सिना, खड्कबहादुर रानाभाट, उमेशलाल श्रेष्ठ, एमाओवादीबाट दीपक महर्जन, किरण राई, अक्कलबहादुर बम, किरण गिरीलाई सिफारिस गरिएको छ ।
काङ्ग्रेसको प्रत्यक्षतर्फ ललितपुर क्षेत्र नम्बर १ वाट सिफारिस गरिएका मीनकृष्ण महर्जनलाई आगामी संविधानसभाको निर्वाचनका लागि उक्त क्षेत्रको प्रमुख दाबेदारको रूपमा हेरिएको छ । हाल नेका महासमितिको सदस्य रहेका महर्जन खेलकुद विभागका सदस्य पनि हुन् । विभिन्न सामाजिक कार्य गरेर वाहवाही बटुलेका महर्जन उक्त क्षेत्रका युवाहरूका ढुकढुकी बनेका छन् । हजारौँ युवा माझ लोकप्रिय महर्जनले ०६२÷६३ को जनआन्दोलनमा निभाएको भूमिका अविष्मणीय रूपमा रहेको छ । उक्त समयमा उपत्यका युवा परिचालन कमिटीको युवा कमान्डरको रूपमा कार्य गर्दा महर्जनले ज्यानको समेत बाजी लगाएका थिए । ज्यानको समेत पर्वाह नगरी जनआन्दोलन सफल पार्न अहम् भूमिका निर्वाह गरेका महर्जनलाई यतिबेला पार्टीले टिकट नदिने कुनै कारण देखिँदैन । महर्जनको चयनले उनको क्षेत्रमा मात्र नभई ललितपुरका तीनै क्षेत्रमा प्रभाव पार्ने पक्का देखिएको छ । तसर्थ महर्जनको उम्मेदवारीसँगै ललितपुरमा काङ्ग्रेसको उपस्थिति प्रभावशाली बन्ने स्थानीय युवाहरूको ठम्याइ छ । पार्टीले टिकट दिएको खण्डमा महर्जनको जित निश्चित छ । त्यसैले उनी पार्टीले सकारात्मक मूल्याङ्कन गर्ने कुरामा ढुक्क छन् ।
करातेका पूर्व राष्ट्रिय च्याम्पियन र अन्तर्राष्ट्रियस्तरमा मुलुकलाई स्वर्ण पदकसमेत दिलाइसकेका महर्जनले खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्षको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरिसकेका छन् । विगत थुप्रै वर्षदेखि ललितपुरमा खेलकुद, धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटन विकासका लागि विशेष योगदान दिँदै आएका महर्जनले लाखौँ निजी खर्च गरेर धारा, पाटी, पौवा र मन्दिर निर्माण गरेर एक कुशल राजनीतिज्ञको भूमिका निर्वाह गर्दै आएका छन् । प्रतिभाशाली युवालाई खेलाडी बनाउन होस् या शिक्षा आर्जन गर्न उनको जहिले पनि विशेष सहयोग रहँदै आएको छ । महर्जनले आफ्नो क्षेत्रका जेहेनदार गरिब विद्यार्थीलाई शिक्षाको उज्यालोबाट वञ्चित हुन नदिन चालेको कदमले उनको लोकप्रियता निकै बढेको छ । उनले आफ्नै प्रयासमा विभिन्न विद्यालयमा गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गराएका थिए । स्थानीयवासीलाई स्वच्छ पानी पिउनका लागि खानेपानीको उचित प्रबन्ध गरेका महर्जन सडक निर्माणमा पनि त्यत्तिकै खटेका थिए । कारण अहिले उनको गाउँगाउँ टोलटोलमा पक्की र कच्ची सडक पुगेको छ । तसर्थ एक कुशल नेतामा हुनुपर्ने सम्पूर्ण गुण महर्जनमा भएकाले उनलाई नै ललितपुर क्षेत्र नं. १ को प्रमुख दाबेदारको रूपमा हेरिएको छ ।
काठमाडौं क्षेत्र नं. ८ बाट एमालेका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठको प्रत्यक्षतर्फ सिफारिससँगै आगामी संविधानसभाको निर्वाचनमा उनको उम्मेदवारी पनि निश्चित भएको छ । दुईपटक राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव भइसकेका श्रेष्ठ काठमाडौं महानगरपालिका वडा नं. १६ का पूर्वअध्यक्ष पनि हुन् । लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका श्रेष्ठ एमाले अध्यक्ष झलनाथ खनालनिकट मानिन्छन् । वर्तमान अवस्थामा नेपाल ओलम्पिक कमिटीको महासचिव रहेका श्रेष्ठले युवा सङ्गठनको जिम्मवारी पनि सफलतापूर्वक निभाइसकेका छन् । त्यस्तै, राप्रपाबाट म्याग्दी क्षेत्र नं. १ बाट क्योकुसिन करातेका संस्थापक जगत गौचन प्रत्यक्षबाट सिफारिस भएका छन् । क्योकुसिन कराते खेलकुदको सबैभन्दा अनुशासित करातेको रूपमा चिनिन्छ । पूर्व आवास तथा भौतिकमन्त्रीसमेत रहिसकेका गौचनले एसियन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेर नेपालको प्रतिष्ठालाई विश्वसामु उचो पारेका थिए । उनी अहिले राप्रपाका केन्द्रीय सदस्य पनि हुन् । यसअघि पनि गौचनले सोही क्षेत्रबाट उम्मेदवारी दिएका थिए ।
पूर्व राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन ध्रुवबहादुर प्रधान प्रत्यक्षतर्फ सिफारिस भएका छन् । प्रधानलाई राप्रपाले नवलपरासी क्षेत्र नंं. ४ र ५ बाट सिफारिस गरेको हो । राप्रपाको महामन्त्रीसमेत रहिसकेका प्रधान पार्टीमा एक शक्तिशाली नेताको रूपमा चिनिन्छन् । पूर्वप्रहरीमहानिरीक्षक प्रधानले यसअघि पनि नवलपरासीबाट उम्मेदवारी दिएका थिए । वर्तमान अवस्थामा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष रहेका प्रधान खेलकुदको समग्र विकासमा सधैँ लागिपरेका छन् । त्यस्तै एमाओवादी नेता तथा नेपाल ट्राइयाथलन सङ्घका अध्यक्ष गणेशमान पुन पनि प्रत्यक्षतर्फ सिफारिस भएका छन् । उनी वाईसीएल कमान्डर हुन् । पुन प्रत्यक्षबाट कहाँबाट लड्ने भन्नेबारे अहिलेसम्म टुङ्गो नलागे पनि आफ्नो गृहजिल्ला रुकुम या मधेसबाट उठ्ने चर्चा छ । यसैगरी राप्रपा नेपालका अध्यक्ष तथा पूर्वमन्त्री कमल थापाले संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिने पक्कापक्की भइसकेको छ । फुटबल, ब्याडमिन्टन तथा टेनिसका पूर्वखेलाडीसमेत रहिसकेका थापाले आफ्नो गृहजिल्ला मकवानपुर र काठमाडौंबाट उम्मेदवारी दिने चर्चा छ ।
पूर्वगृहराज्यमन्त्रीसमेत रहेका काङ्ग्रेसका देवेन्द्रराज कँडेललाई रूपन्देही क्षेत्र नं. ४ बाट सिफारिस गरिएको छ । उनी हक्कीका अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनले हक्कीलाई नेपालमा स्थापना गराउन महŒवपूर्ण भूमिका निभाएका थिए । स्मरणीय छ, भारतको राष्ट्रिय हकी टिमबाट खेल्ने कँडेल पहिलो नेपाली खेलाडी हुन् । त्यस्तै नेकाबाट प्रत्यक्षमा फुटबलका चर्चित खेलाडीद्वय किशोर राई सुनसरी क्षेत्र नं. १ र कुमारजंग थापा सुनसरी क्षेत्र नं. ३ बाट सिफारिस भएका छन् । राई एन्फा उपाध्यक्ष र राखेपको सदस्यसमेत भइसकेका छन् । थापा पूर्व एन्फा महासचिव हुन् । यसैगरी मोरङ क्षेत्र नं. २ बाट पूर्व अन्तर्राष्ट्रिय हकी खेलाडी रञ्जन थापा सिफारिसमा परेका छन् । वर्तमान अवस्थामा राखेप कर्मचारी सङ्घका अध्यक्ष रहेका थापा काङ्ग्रेसका सक्रिय कार्यकर्ताको रूपमा चिनिन्छन् । सिरहाबाट प्रत्यक्षमा सिफारिस भएका उपेन्द्र यादव भलिबलका राष्ट्रिय खेलाडी हुन् । यादव काङ्ग्रेस महासमितिको सदस्य र जिल्ला कमिटीका सचिव हुन् । त्यस्तै, नेकाको तर्फबाट सिफासिमा पर्ने अर्का राष्ट्रिय भलिबल खेलाडी नन्दु सरदार हुन् । उनलाई मोरङ क्षेत्र नं. ३ बाट सिफारिस गरिएको छ ।
खेलकुदका खेलाडी र पदाधिकारीको रूपमा संविधानसभाको निर्वाचनको उम्मेदवारका लागि सिफारिस भएका यी व्यक्तिहरूमा केही विशुद्ध राजनीतिकर्मी छन् । राजनीतिक प्रभावका कारणले खेलकुदमा भित्रिए पनि खेलाडीको रूपमा उनीहरूको योगदान प्रायः शून्य छ । त्यसमा जीवनराम श्रेष्ठ, गणेशमान पुन, इन्द्रबहादुर थिङ, कर्माछिरिङ शेर्पा, टेन्डी शेर्पा र दीपक कोइराला प्रमुख रूपमा छन् । विडम्बना, करातेका खेलाडी भएकै नाताले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवसमेत बनेका युवराज लामालाई एमाओवादी पार्टीले प्रत्यक्ष र समानुपातिक कतैबाट पनि सिफारिस गरेको छैन । लामा सिफारिस नहुनुलाई खेलकुद क्षेत्रले अर्थपूर्ण रूपमा हेरेको छ ।

खेल समाचार

काठमाडौं म्याराथनमा आर्मीको दबदबा
सातौँ रियल काठमाडौं म्याराथनको उपाधि नेपाल आर्मीका उत्तम खत्रीले जितेका छन् । गत वर्षको विजेता आर्मीकै कृष्ण बस्नेतलाई केही सेकेन्डले पछि पार्दै उत्तमले उपाधि जितेका हुन् । उत्तमले निर्धारित दूरी २ घन्टा ३२ मिनेट १ सेकेन्डमा पूरा गर्दै उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । २००८ का विजेतासमेत रहेका उत्तम गत वर्ष भने तेस्रो भएका थिए । साबिक विजेता कृष्ण बस्नेतले दुई घन्टा ३२ मिनेट ४० सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थानमा रहेका थिए । त्यस्तै तेस्रो भएका राजन खत्रीले २ घन्टा ३३ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गरेका थिए । पुलिसका भूमिराज राई चौथो भए भने गत वर्षका उपविजेता लेटरसिंह खत्रीले भने दौड पूरा गर्न सकेनन् ।
सातौँ रियल काठमाडौं म्याराथनमा शीर्ष १० मध्ये आर्मीले आठ स्थान कब्जा गरेको थियो । पुलिसका भूमिराज राई चौथो र नारायण देसारले दशौँ स्थान हासिल गरे पनि बाँकी सबै आठ स्थानमा आर्मीले कब्जा जमाएको थियो । त्यस्तै महिलातर्पm एपीएफकी सोनुजया राईले काठमाडौं म्याराथनको उपाधि जितेकी थिइन् । राईले ३ घन्टा ३६ मिनेट ४४ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । दशरथ रंगशालाबाट सुरु भएको दौड कलंकी, सातदोबाटो, कोटेश्वर, बानेश्वर हुँदै पुनः दशरथ रंगशालामा आएर समाप्त भएको थियो ।
यसैगरी हाफ म्याराथनको पुरुषतर्फ पनि आर्मीको वर्चश्व रह्यो । आर्मीका राजकुमार विष्ट बाजी मारेको हाफ म्याराथनमा आर्मीकै होमलाल श्रेष्ठ दोस्रो र तीर्थबहादुर तामाङ तेस्रो भएका थिए । राजकुमारले १ घन्टा ११ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरेका थिए । त्यस्तै दोस्रो हुने होमलालले १ घन्टा १२ मिनेट ८ सेकेन्ड र तेस्रो भएका तामाङले एक घण्टा १२ मिनेट २४ सेकेन्डमा दूरी पूरा गरेका थिए । हाफ म्याराथनमा महिलातर्फ एपीएफकी बरिन्दा श्रेष्ठले उपाधि जितिन् । उनले १ घन्टा ३१ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । आर्मीकी सरिता बासी दोस्रो तथा नारायणदेवी सिंह तेस्रो भइन् । सरिताले एक घन्टा ४३ मिनेट ५४ सेकेन्ड तथा नारायणदेवीले एक घन्टा ४५ मिनेट ३० सेकेन्डमा दूरी पूरा गरेकी थिइन् ।
पुरुष ५ किलोमिटर दौडमा आर्मीका कल्याण बानियाँ १६ मिनेट ४६ दशमलब १ सेकेन्डमा दूरी पू्रा गर्दै पहिलो भएका थिए । त्यस्तै, दोस्रो भएका एपीएफका लक्ष्मण मल्ल १६ मिनेट ४७ दशमलब ५ सेकेन्ड र तेस्रो भएका एपीएफका किरण मल्लले १६ मिनेट ४८ दशमलब ३ सेकेन्डको दूरी निकालेका थिए । यसैगरी महिला पाँच किलोमिटर दौडको उपाधि आर्मीकी विश्वरूपा बुढाले जितेकी थिइन् । उनले २० मिनेट ७ दशमलब २ सेकेन्डको दूरी पार गरेकी थिइन् । एपीएफकी कान्छीमाया कोजूले २० मिनेट २१ दशमलब ६ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन् । त्रिभुवन आर्मीकी लक्ष्मी पाण्डेले २० मिनेट ३५ दशमलब ८ सेकेन्डमा दूरी पूरा गरेर तेस्रो स्थान हासिल गरेकी थिइन् ।
ह्विलचियरतर्फ पुरुषमा भरत अधिकारी र महिलामा ज्योति अर्यालले उपाधि जितेका थिए । भरतले ११ मिनेट ५७ दशमलब १ सेकेन्डको दूरी निकाल्दै उपाधि जितेका थिए । त्यस्तै कृष्णराज अधिकारी दोस्रो भए । उनले १२ मिनेट १४ दशमलब ५ सेकेन्डको दूरी निकालेका थिए । राजु कटुवालले १२ मिनेट १८ दशमलब २ सेकेन्डको दूरी निकाल्दै तेस्रो स्थानमा दौड टुंग्याए । महिलातर्पm ज्योति अर्यालले १६ मिनेट ४ दशमलब ९ सेकेन्डको दूरी कायम गरिन् । यानी झाँक्रीमगरले १६ दशमलब ३१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन् भने सोनिका ढकालले १८ मिनेट १८ दशमलब २ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भएकी थिइन् ।
५ किलोमिटर स्कुल ब्वाइजतर्पm डीएभीका शरद साहले १७ मिनेट २२ दशमलब ६ सेकेन्डको दूरी निकाल्दै उपाधि जितेका थिए । त्यस्तै संखुवासभाका विकास राई दोस्रो र श्री चन्डी हाइस्कु्ल नुवाकोटका बाबुराम माझी तेस्रो भएका थिए । स्कुल गल्र्सतर्पm विजेश्वरी स्कुलकी सङ्गीता खड्का पहिलो भएकी छिन् । उनले २० मिनेट ५७ दशमलब ४ सेकेन्डको दूरी निकाल्दै उपाधि जितेकी थिइन् । त्यस्तै सीतापाइला हाइस्कुलकी हुमी बुढामगर दोस्रो र ग्ल्याडस्टोन एकेडेमीकी समिला क्षेत्रीले तेस्रो स्थान हात पारेकी थिइन् ।

अन्तर्राष्ट्रिय झझल्को दिँदै अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन सम्पन्न
अन्तर्राष्ट्रिय प्रतियोगिताको झझल्को दिँदै अन्नपूर्ण कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । उत्कृष्ट व्यवस्थापन र उत्कृष्ट खेलाडीको सहभागिताले प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको बनेको थियो । लिग चरणदेखि फाइनलसम्मका भिडन्त निकै रोमाञ्चक र सनसनीपूर्ण बनेका थिए । प्रतिस्पर्धा गर्दा खेलाडीमा जोस भरिएको थियो भने दर्शकले आनन्दको अनुभूति गरेका थिए । अन्नपूर्णले यो प्रतियोगितालाई जसरी प्रस्तुत ग-यो त्यो हेर्न लायक र प्रशंसा गर्न लायक थियो । तसर्थ अब ब्याडमिन्टन प्रतियोगिता गर्नेहरूका लागि यो चुनौती र प्रेरणाको स्रोत बन्ने पक्का भएको छ ।
नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रा.लि. र काठमाडौं जिल्ला ब्याडमिन्टनद्वारा संयुक्त रूपमा आयोजित उक्त प्रतियोगिताको पुरुष सिंगल्स ब्लुतर्फ कास्की फाइनान्सका विशाल खड्काले उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसरको कभर्डहलमा भएको फाइनलमा विशालले नेपाल एसबीआईका नवराज जोशीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरेका थिए । ब्लु डबल्समा बाग्लुङ उद्योग वाणिज्य सङ्घका उमेशकुमार राजभण्डारी र रजिन खड्काको जोडीले उपाधिमाथि कब्जा जमाएको थियो । उक्त जोडीले फाइनलमा माछापुच्छ«े बैंकका नारायण केसी र कास्की फाइनान्सका विशाल खड्काको जोडीलाई सीधा सेटमा २१–१२ र २१–१५ ले पराजित गरेको थियो ।
ग्रिन डबल्सको उपाधि सिल्वर सिटीका सुरेन्द्रबहादुर सिंह र नेपाल प्रहरीका हेमन्त पालको जोडीले जितेको थियो । उपाधि भिडन्तमा उनीहरूले प्रहरीका रमेश खरेल र ज्ञानविक्रम शाहको जोडीमाथि २१–१८ र २१–१६ को सोझो सेटमा पराजित गरेका थिए । त्यस्तै प्लेट च्याम्पियनसिपको ब्लु सिंगल्समा बाग्लुङ उद्योग वाणिज्य सङ्घका रजिन खड्का, ब्लु डबल्समा आईटीईसीओका राजकुमार गुरुङ र किरणशमशेर जंगबहादुर राणाको जोडी तथा ग्रिन डबल्समा यूटीसीका हेमन्त अग्रवाल र हरिओम गुप्ताको जोडी पहिलो भएका थिए ।
विजेता खेलाडीलाई सूचना तथा सञ्चारमन्त्री माधव पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र न्युज नेटवर्क इन्टरनेसनल प्रा.लि. का प्रबन्ध–निर्देशक राजेन्द्रबहादुर सिंह र अध्यक्ष क्याप्टेन रामेश्वर थापालगायतले पुरस्कृत गरेका थिए । असोज १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा विभिन्न ६५ संस्थाका एक सय ७८ प्रतिस्पर्धी खेलाडीले सहभागिता जनाएका थिए ।

माचुसिमा राजकुमार निर्विरोध
नेपाल माचुसिमा क्योकुसिन कराते सङ्घको अध्यक्षमा राजकुमार गुरुङ चार वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् । हालै सम्पन्न सङ्घको प्रथम साधारणसभाले गुरुङको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ । सङ्घको प्रथम उपाध्यक्षमा नारायण खड्का तथा उपाध्यक्षद्वयमा कृष्ण रञ्जितकार र श्याम अधिकारी रहेका छन् । मनोज बुढाथोकीले महासचिव, जयराम अधिकारीले सचिव तथा राजु सुवेदीले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । त्यस्तै, नानीबाबु थापा, दिलबहादुर भण्डारी, सोनाम शेर्पा, कञ्चन खरेल, पासाङ लामा, धमान तामाङ, विरेनकुमार राई र प्रकाश भण्डारी सदस्यमा चुनिएका छन् । साधारणसभाको राखेप सदस्य देवकुमार लामाले उद्घाटन गरेका थिए । साधारणसभामा केन्द्र र विभिन्न २० जिल्लाका जम्मा ४६ प्रतिनिधिको उपस्थिति रहेको थियो । सङ्घको सल्लाहकारमा भूतपूर्व एआईजी रविराज थापा, प्रकाशसिंह कार्की, मनबहादुर न्यौपाने, भवानीप्रसाद खरेल र गोपाल कर्माचार्यलाई चयन गरिएको सङ्घका अध्यक्षले जानकारी गराएका छन् ।

खेलकुद इन्चार्जमा नन्दकिशोर पुन
एनेकपा माओवादीका युवा ब्युरो वाईसीएल तथा खेलकुद इन्चार्ज नन्दकिशोर पुनले खेलुकदमा रहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । अखिल नेपाल खेलकुद सङ्घले पुनले खेलकुद इन्चार्जको जिम्मेवारी पाएकोमा आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । पुनले वर्तमान बोर्ड खेलकुद परिषद्मा आएपछि खेल क्षेत्रमा प्रगति भइरहे पनि थप विकास गर्न अझ पहल गर्नुपर्ने औंल्याएका थिए । उनले अन्य क्षेत्रसँगै खेलकुदलाई पनि सँगै विकास गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । राखेप सदस्यसचिव युवराज लामाले एनेकपा माओवादीको नीति खेलाडी र सिङ्गो खेलकुदको रूपान्तरणको पक्षमा रहेको बताउँदै यो पक्षलाई सफल बनाउन परिषद् प्रतिबद्ध रहेको बताए । अखिल नेपाल खेलकुद सङ्घका अध्यक्ष अर्जुनबहादुर केसीले पुनको खेलकुद इन्चार्ज सम्हालेपछि खेलकुदको विकासले अझ गति लिने विश्वास व्यक्त गरेका थिए ।