रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailoबोरामा पोको परेर तालपारि
गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउनका लागि व्यक्तिहरू अनेक विधि अपनाउँछन् । नौला र अनौठा काम गरेर रेकर्ड दर्ता गराउनेहरूको भीडमा बुल्गेरियाका एक व्यक्ति थपिएका छन् । जेन पेत्कोव नामक ५९ वर्षीय ती बुल्गेरियनले गिनिजमा नाम राख्नकै लागि आफ्नो हात–खुट्टा डोरीले बाँध्न लगाए । त्यसरी डोरीले बाँधेको शरीरलाई उनले प्लास्टिकको बोरामा प्याक गराए र पानीमा आफूलाई मिल्काउन लगाए । म्यासेडोनियाको आरिड तालमा त्यसरी बोरामा पोको पारेर फ्याँकिएका जेन हात–खुट्टा बाँधिएकै हालतमा खुरुखुरु पानीमाथि तैरन थाले । पिठ्युँको भरमा पानीमा पौडिने यही अनौठो खुवीका कारण उनले पौने तीन घन्टा लगाएर दुई किलोमिटर दूरी रहेको ताल पार गरे । उनको पौडीको औसत गति ०.७ किलोमिटर प्रतिघन्टा थियो । बाँधिएर गहिरो तालमा दुई किलोमिटर पौडिसकेपछि पेत्कोवले पहिलो एक किलोमिटर तैरिउन्जेल आफूलाई निकै चिसो अनुभूति भए पनि त्यसपछि कुनै समस्या नपरेको प्रतिक्रिया दिए । तालको पानी चिसोको साटो तातो भइदिएको भए दुईको ठाउँमा दश किलोमिटर पौडन सक्ने पनि उनले दाबी गरे ।

लामखुट्टे अलमल्याउने विचित्रको विधि
लामखुट्टेको टोकाइबाट निम्तिने घातक रोगबाट बच्न अनुसन्धानकर्ताहरूले नयाँ उपाय पत्ता लगाएका छन् । शरीरमा एकप्रकारको औषधीय रसायन लगाएर लामखुट्टेलाई झुक्याउने विधि फेला परेको वैज्ञानिकहरूको दाबी छ । अमेरिकन केमिकल सोसाइटीको बैठकमा शोधकर्ताहरूले एक यस्तो पदार्थबारे जानकारी दिए जसलाई मानव–छालामा दलेपछि लामखुट्टेजस्ता कीराले मान्छेको शरीरबाट आउने गन्ध नै चाल नपाउने दाबी गरिएको छ । एकप्रकारले उक्त रसायनको प्रयोगपछि मानव शरीर लामखुट्टेका लागि ‘अदृश्य’ नै बन्न पुग्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१० मा विश्वका ६ लाख ६० हजार मानिसको ज्यान मलेरियाकै कारण गएको थियो, जसका लागि लामखुट्टे नै प्रमुख जिम्मेदार थियो । यसरी मलेरिया, डेङ्गुजस्ता रोग फैलाउने सबभन्दा खतरनाक लामखुट्टेलाई तह लगाउने उपाय पत्ता लागेकोमा स्वास्थ्य क्षेत्रमा अनुसन्धान गरिरहेकाहरूले सन्तोष प्रकट गरेका छन् ।

छोरी बलि चढाएर मतदानको चिन्ता
भारत मध्यप्रदेशका एक व्यक्तिले आफ्नी छोरीलाई देवीको नाममा बलि चढाएर पागलपन प्रस्तुत गरेका छन् । उक्त कुकृत्य गर्ने मध्यप्रदेशको सिवनी जिल्लास्थित तुरगा गाउँनिवासी सन्तलाल यतिबेला प्रहरी हिरासतमा छन्, तर आफ्नो जघन्य अपराधप्रति उसलाई कुनै पछुतो छैन । सपनामा दुर्गा देवी आएर बलि मागेकीले आफ्नै छोरीको बलि चढाएको सन्तलालले प्रहरीलाई दिएको बयानमा बताएको छ । साताअघि घटेको उक्त घटनाअनुसार स्थानीय एक मन्दिरमा ४० वर्षीय सन्तलालले ६ वर्षीया छोरी ऋतुलाई बञ्चरो प्रहार गरी हत्या गरेपछि छोरीको शवनजिकै राखेर पूजा सुरु गरे । प्रहरी घटनास्थल पुग्दा सन्तलाल पूजाआजाको नौटङ्की गरिरहेको थियो । गाउँको पञ्चायतमा सदस्य चुनिएका व्यक्तिसमेत रहेका सन्तलालले घरी उक्त घटना बलि नै हो भन्ने र घरी प्रमाण मेरो डायरीमा छ भन्ने बयान दिएबाट उसको मानसिक अवस्था ठीक नभएको प्रहरीले ठहर गरेको छ । प्रहरीले उनको डायरी पल्टाउँदा त्यहाँ लेखिएको पाइयो– ‘मरेका मानिस मत हालिरहेका छन् तर जिउँदा मानिसलाई मतदानको अवसर प्राप्त भइरहेको छैन ।’

मोटाइ घटाउन सफ्ट ड्रिङ्कमा कर
देशका नागरिक मोटोपनको सिकार बन्ने क्रममा तीव्रता आएपछि मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोले हल्का पेयपदार्थमा भारी मात्रामा ट्याक्स लगाउने योजना अघि बढाएका छन् । सफ्ट ड्रिङ्कको बढ्ता उपभोगकै कारण मानिस मोटोपनको सिकार भएका र बेलैमा हल्का पेयको उपभोगमा नियन्त्रण नगरे परिस्थिति गम्भीर बन्ने ठहर गर्दै उनले पेयपदार्थमा कर ठोक्ने प्रस्ताव अघिसारेका हुन् । मोटा व्यक्तिको सङ्ख्या अत्यधिक भएका देशको सूचीमा मेक्सिको विश्वमै दोस्रो स्थानमा पर्दछ ।

चालकको मुटुको चासो राख्ने स्मार्ट घडी
कार निर्माण गर्ने कम्पनी निसानले एक यस्तो स्मार्ट घडी बजारमा ल्याएको छ जसले कारका साथै कारचालकको स्वास्थ्य अवस्थामाथि पनि ध्यान पु-याउँछ । हेर्दा परम्परागत स्मार्ट वाचजस्तै देखिने उक्त ‘निसान निस्मो’ले सवारीचालकको मुटुको धड्कन र शरीरसँग जोडिएका अन्य गतिविधिमाथि निगरानी राख्ने कम्पनीको दाबी छ । यति मात्र नभई कारमा सवार हुनुअघि नै त्यसभित्रको तापमानको सूचना दिने र मौसमबारे जानकारी प्रदान गर्ने खुबी उक्त घडीमा रहेको छ । कारको औसत गति र इन्धन खपतका विषयमा पनि चालकलाई मद्दत गर्ने उक्त स्मार्ट वाचले कारको कनेक्टिभिटी बढाउनमा महत्वपूर्ण भूमिका खेल्ने विशेषज्ञहरूको अनुमान छ ।