बकमफुस्से विजयोत्सव -श्रीविक्रम भण्डारी

बकमफुस्से विजयोत्सव -श्रीविक्रम भण्डारी


आखिर नेपाली फुटबल टिमले त्यस्तो के उपलब्धि हासिल गर्‍यो र त्यसरी विजयोत्सव मनायो त्यो अहिले चर्चाको विषय बनेको छ । । एएफसी च्यालेन्ज कपमा नेपाली फुटबल टिमको प्रदर्शनको विश्लेषण गर्दा ‘साधारण’ शब्दको प्रयोग गर्दा नै उचित होला । तर, विडम्बना, तीन खेलमा एक गोल गर्ने खेलाडीहरूले विश्वकप फुटबल जितेसरि विजयोत्सव मनाउनु अहिले …लाई भन्दा देख्नेलाई लाज भएको छ । ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेझैं खेलाडीहरूले अन्तिम आठमा पुग्दा देखाएको जात्रा ‘गाईजात्रा’ भन्दा पक्कै कम थिएन । अहिले काठमाडौंमा जात्रैजात्राको उत्सव चलिरहेको अवस्थामा खेलाडीहरूले पनि फुटबलको जात्रा निकालेका हुन् भने त ठीकै छ, अन्यथा यो हर्कत भविष्यमा ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै नहोला भन्न सकिँदैन ।
जितपछि खुसियाली मनाउनु स्वाभाविकै हो । तर, नेपालले कसलाई जित्यो र त्यत्रो खुसी मनायो, सोचनीय कुरो बनेको छ । हो, अन्तिम खेलमा उत्तरकोरियालाई पराजित गरेर अन्तिम आठमा पुगेको भए पनि यसबारेमा सोच्न सकिन्थ्यो । श्रीलंकाको दोस्रो दर्जाको अर्थात् अन्डर-१९ टिमसँग बराबरी खेल्नु नेपालको ऐतिहासिक सफलता हो त – प्रश्न उठ्नु स्वाभाविकै कुरा हो । उक्त खेलमा नेपालले गोलको वर्षा गरेको र श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेको भए पनि एक-आपसमा खुसी साट्न सकिन्थ्यो । तर, बल्लतल्ल खेल बराबरीमा रोक्न सफल भएका नेपाली खेलाडीहरूले बाघ मारेकोभन्दा पनि ठूलो फर्ुर्ती देखाउनु अहिले हास्यास्पद भएको छ । उनीहरूले प्रशिक्षक ग्राहम रोबर्ट र सहायक प्रशिक्षक मेघराज केसीलाई काँधमा राखेर रंगशालाको परिक्रमा गराउनुको उद्देश्यप्रति नै शङ्का उत्पन्न भएको छ । प्रशिक्षकको भूमिकामा समेत खरो उत्रिन नसकेका उनीहरूलाई खेलाडीहरूले दिएको यो सम्मानको मूल्याङ्कन र खोजीनिती हुनु जरुरी भइसकेको छ ।
नेपाली खेलाडीहरूको यो हर्कतप्रति असहमति जनाउँदै काठमाडौं विश्वविद्यालयका अमोल आचार्यले यसलाई ‘अनाश्यक खुसियाली’को संज्ञा दिएका छन् । आचार्यले के भएको छ र यहाँ – किन यत्रो खुसियाली मनाएका नेपाली खेलाडीहरूले – ग्राहम रोबर्ट वा मेघराज केसीले के त्यस्तो उपाधि दिलाए – एसीसी च्यालेन्ज कपको अन्तिम आठमा छनोट हुनु त्यस्तो ठूलो सफलता हो र – नेपाल च्यालेन्ज कपमा अन्तिम आठमा पुगेको यो पहिलो पटक हो र – भनेर प्रश्न गरेका छन् । आचार्यले नेपाली खेलाडीहरूले प्रशिक्षकहरूलाई बोकेर रंगशालाको परिक्रमा गराउनु विश्वकप क्रिकेटको फाइनलको नक्कल हो भन्दै भारतीय खेलाडीहरूले विश्वकप जितेपछि उक्त उत्सव मनाएको नेपाली खेलाडीहरूलाई याद गराएका छन् ।
घरेलु मैदान, घरेलु दर्शकको समर्थनमा नेपाली फुटबल खेलाडीहरूले गरेको प्रदर्शन पक्कै पनि गर्व गर्न लायक थिएन । वास्तविक रूपमा भन्नुपर्दा च्यालेन्ज कपमा खेलाडीहरूले साधारण खेलको प्रदर्शन मात्र गरेका थिए । तर, सञ्चारमाध्यमहरूले अनाहकमा वास्तविकताभन्दा माथि उठेर नेपाली टोलीको प्रशंसा गरे । फुटबल खेलाडीहरूले झिंगो मार्न नसके पनि बाघ मारेकोझंै प्रचारप्रसार गरे । उनीहरूले किन त्यसो गरे त्यो आफ्नो ठाउँमा भए पनि नतिजा हेर्दा फुटबल खेलाडीहरू कति पानीमा छन् त्यो प्रस्ट भएको छ । अफगानिस्तानलाई एक गोलले पराजित गर्नुबाहेक नेपालले यो प्रतियोगितामा केही गर्न सकेको छैन । उत्तरकोरियासँग एक गोलले पराजित हँुदा सम्मानित हार भन्ने सञ्चारकर्मीहरूले श्रीलंकासँगको बराबरीलाई किन ढाकछोप गरे त्यो अहिलेसम्म बुझ्न सकिएको छैन । आफूभन्दा कमजोर र दोस्रो दर्जाको टिमसँग नतिजा निकाल्न नसक्नु नेपाली खेलाडीको कमजोर पक्ष हो कि होइन – त्यो सम्बन्धित निकाय अखिल नेपाल फुटबल सङ्घ -एन्फा)ले बुझ्नु आबश्यक भइसकेको छ ।
नेपाल दोस्रो चरणमा पुग्नु राम्रो कुरा भए पनि यस्तै प्रदर्शन अन्तिम आठमा दोहोरियो भने अहिले मनाएको खुसीको अर्थ के रहला – त्यसबारेमा गम्भीर हुनु आवश्यक भइसकेको छ । घरेलु मैदान र घरेलु दर्शकका सामु एक गोल मात्र गर्न सफल भएका फुटबल खेलाडीले विदेशी भूमिमा कस्तो प्रदर्शन गर्लान् सोझै अड्कल काट्न सकिन्छ । गोलबिना जित्न नसकिने खेलमा गोल गर्न सकिँदैन भने विजय पनि पाउन सकिँदैन । तर्सथ सर्वप्रथम फुटबल खेलाडीहरूलाई गोल गर्न सिकाउनुपर्‍यो । खाली पोस्टमा हजारौँपटक गोल हान्न लगाउनुपर्‍यो । गोलको अर्थ फुटबलमा के हुन्छ – त्यो सिकाउनुपर्‍यो । गोल गर्न नसक्दा जति राम्रो खेले पनि त्यो अर्थहीन हुने भएकोले कसरी गोल गर्न सकिन्छ त्यसलाई आत्मसात् गर्नुपर्‍यो । सञ्चारमाध्यमहरूले उचालेकै भरमा नेपाली टोलीको वास्तविकतालाइ छिपाउन सकिने भए अहिलेसम्म नेपाली टोली विश्वको नम्बर एक भइसक्थ्यो । तर्सथ नेपाली टोली कति पानीमा छ त्यो कसैबाट छिपेको छैन । बरियता क्रममा नेपालले ठूलो फड्को मारे पनि नेपाली फुटबलको स्तर भुटानको जत्तिकै छ भन्दा अतिसयोक्ति नहोला । जुन केही समय पहिले भुटानसँग भएको खेलमा नेपालले गरेको प्रदर्शनले देखाइसकेको छ । पहिले सात-आठ गोलको अन्तरले पराजित हुने भुटानले अहिले उक्त अन्तरलाई दुई-एकमा पुर्‍याइसकेको छ । यो नेपालको लागि चिन्ताको विषय मात्र नभई भुटानले फुटबलमा गरेको प्रगतिलाई आत्मसात् गर्नुपर्छ ।
मुलुकभित्र फुटबलले वाहवाही बटुलेको डेढ दशक बितिसकेको छ । सो अवधिमा फुटबलको विकास र विवाद चरमोत्कर्षमा पुगेको पनि कहीँबाट छिपेको छैन । यही समयमा फुटबलमा नयाँ नयाँ कीर्तिमानी व्यापारिक सम्झौता र पुरस्कार राशिको व्यवस्था गरिएको छ । तर विडम्बना, यति गर्दा पनि नेपाली फुटबलको ग्राफमाथि लाग्नुको साटो तलतिर झर्दै गएको छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा एउटै पनि प्रतियोगिता जित्न सकेको छैन । एन्फा अध्यक्ष गणेश थापाले नेपाली फुटबललाई एन्फा एकेडेमीमार्फत नयाँ उचाइ र नयाँ मार्गमा दौडाउने सपना पनि अहिले तुहिसकेको छ । नेपालमा उपेन्द्रमान सिंह पछि भन्न लायक एउटा पनि हिरो जन्मन सकेको छैन । अपेक्षाकृत केही खेलाडीहरूले छनक देखाए पनि उनीहरू सफलचाहिँ हुन सकेनन् । एन्फा र व्यापारिक केन्द्रहरूले फुटबलको विकासका लागि अहिले लाखौँ-लाख लगानी गरिरहेको अवस्थामा केही आशा गर्न सकिने भए पनि जबसम्म नेपाली खेलाडी नेपाल आमाको कसम खाएर युद्धमा लड्न गएको गोर्खाली सिपाहीझैं लड्दैनन् तबसम्म नेपालको फुटबल कछुवाकै तालमा हिँड्ने कुरामा दुईमत छैन । ‘वेस्ट अफ लक गणेश जी ।’ खेलाडी, पदाधिकारी, व्यापारी र सञ्चारकर्मीझैं भगवान्ले पनि तपाईंलाई साथ दिऊन् ।

खेलकुदमा सशस्त्रको गर्जन
खेलकुदमा नयाँ आयाम थप्ने क्रममा हालै सशस्त्र प्रहरी बलले उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रमको आयोजना गरेको थियो । उक्त बृहत् कार्यक्रममा पुरुष तथा महिला क्रिकेट टिमको घोषणासँगै विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कारबाट सम्मान गरिएको थियो । उक्त अवसरमा एपीएफ क्रिकेट टिम र एनसीएलबीच सम्झौतापत्रमा हस्ताक्षर हुनुको साथै एपीएफ क्लबको नयाँ पोसाकको प्रदर्शन गरिएको थियो ।
खेलकुद र खेलाडीहरूको वृत्ति विकासका लागि यस वर्षदेखि एपीएफले उत्कृष्ट प्रशिक्षक तथा एपीएफ क्लबसँग आबद्ध विभिन्न खेलका खेलाडीहरूबाट उत्कृष्ट खेलाडी छनोट गरी सर्वोत्कृष्ट खेलाडीको पुरस्कार प्रदान गरेको थियो । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाउने खेलाडीहरूमा गणेशकुमार लावती पुरुष फुटबल, जमुना गुरुङ महिला फुटबल, पारस खडका क्रिकेट, कैलाशदत्त भट्ट भलिबल, इन्द्रकुमार महत पुरुष ब्याडमिन्टन, पूजा श्रेष्ठ महिला ब्याडमिन्टन, सुनिल लामा पुरुष कराते, गंगादेवी अधिकारी महिला कराते, आशीष महर्जन तेक्वान्दो, सुशील घिमिरे पुरुष बक्सिङ, सञ्जु लामा महिला बक्सिङ, अर्जुनप्रसाद ढकाल पुरुष एथलेटिक्स, प्रमिला रिजाल महिला एथलेटिक्स र किरण थापा रहेका थिए । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले आपसी भाइचारा एवम् सद्भाव कायम गर्न खेलकुद महत्त्वपूर्ण माध्यम भएको बताउँदै खेलकुदको विकासले व्यक्तिविशेषलाई मात्र नभई सम्पूर्ण समाजको बृहत्तर हितका लागि समेत अति महत्त्वपूर्ण हुने बताउनुभएको थियो । बस्नेतले सशस्त्र प्रहरी बलले मुलुकको शान्तिसुरक्षा र अमनचयन कायम गराउने कार्यमा दिनरात परिचालन हँुदै खेलकुदको क्षेत्रमा समेत आफ्नो सक्रिय सहभागिता जनाउँदै आएको स्मरण गराउनुभएको थियो । बस्नेतले सशस्त्र प्रहरी बलको स्थापना भएदेखि नै विभिन्न खेलको विकासमा लागेको स्मरण गराउँदै हालसम्म राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र कास्यपदक जितेर मुलुकको गौरव अन्तराष्ट्रमा बढाएको उल्लेख गर्नुभएको थियो । खेलाडीहरूको हौसला बढाउने क्रममा महानिरीक्षक बस्नेतले अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा समावेस भई पदक जितेमा उनीहरूले प्राप्त गरेको पदकको आधारमा नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गर्नुभएको थियो ।
सोअनुसार ओलम्पिकमा स्वर्ण रजत र कास्य पदक जित्नेलाई क्रमशः २५, १५ र १० लाख, एसियाली खेलकुदमा स्वर्ण, रजत र कास्य जित्नेलाई क्रमशः १०, ५ र २ लाख, साग खेलकुदमा स्वर्ण, रजत र कास्य पदक जित्नेलाई १ लाख, ५० र २५ हजार, सामूहिकतर्फ पदक जित्नेलाई क्रमशः ५०, २५ र १५ र राष्ट्रियस्तरमा पदक जित्नेलाई १०, ५ र ३ हजार रुपैयाँ प्रदान गरिने बताउनुभएको थियो । एपीएफको यो योजनाले खेलाडीहरूमा सकारात्मक भावना पैदा हुने र खेलाडीहरूले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्ने बस्नेतले बताउनुभएको थियो । बस्नेतले एपीएफको यो दूरदर्शी योजनालाई साकार पार्न सबैको सहयोगको आवश्यकता पर्ने भएकोले सबैका लागि सहयोगको ढोका खुला गरिएको बताउनुभएको थियो ।