कालो नियत, सफा विचार र कानुनभन्दा ठूलाहरू

कालो नियत, सफा विचार र कानुनभन्दा ठूलाहरू


bichar– वीरेन्द्रमणि पौडेल
प्रजातन्त्रको घाँटीमा तरबार हान्ने व्यक्तिको रूपमा प्रचारित राजा महेन्द्रले आफूलाई कानुनले कतैबाट पनि नछुने व्यवस्था गरे । राजा महेन्द्रलाई कानुनले नछुने भएपछि तत्कालीन बडामहारानी रत्नलाई कानुनले छुने कुरै आएन । त्यस्तै उनका छोराहरू वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रलाई पनि परिवारको नाताले कानुनले छुन सक्ने अवस्था रहेन । महेन्द्रका छोरीहरूलाई छोरी भएका कारणले कानुनले नछुने अवस्था रह्यो । राजाको मन्त्रिमण्डलमा सामेल मन्त्रीहरूलाई राजाको मन्त्री भएका कारणले कानुन तोडे पनि माफी हुने अवस्था आयो । त्यो बेलाका मन्त्रीलाई माफी हुने अवस्था भएपछि मन्त्रीका छोराछोरी, नातापातालाई माफ हुने स्थिति देखाप-यो । मन्त्रीको गाडी हाँक्ने ड्राइभरलाई गाडीले जानेर वा नजानेर मान्छे मार्दा सजाय मिनाहा भयो । मन्त्रीको ड्राइभरको नातापाताका मान्छेले गैरकानुनी काम गरेको अवस्थामा ड्राइभर, मन्त्री र राजासम्म कनेक्सन जोडिएको हुँदा ड्राइभरका नातेदारसम्मले सजाय मिनाहा पाए । राजा महेन्द्रको मृत्युपछि वीरेन्द्रको पालामा पनि स्थिति त्यही रह्यो । रानी ऐश्वर्यलाई कानुन लागेन । मन्त्रिमण्डलका सदस्यहरूलाई कानुन लागेन । युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन र अधिराजकुमारी श्रुति मात्रै होइन ज्वाइँ गोरखशमशेरको घरमा भाँडा माझ्न बसेकी महिलाको मीतछोरालाई समेत उपद्रो गर्दा कानुनले नछुने अवस्था रह्यो । कुल मिलाएर नेपालमा राजतन्त्र रहुन्जेल, शक्तिशाली रहुन्जेल दरबारियाहरूसँग टाढाभन्दा टाढाको साइनो पर्नेलाई सम्म कानुनले छोएन । यो कानुनले नछुने अवस्थाले विस्तारविस्तार अराजकता सिर्जना गरिरहेकै थियो । यसैबीच दरबारियाहरूबीचको झगडाको चरम नमुनास्वरूप दरबार हत्याकाण्ड भएर वीरेन्द्रवीरविक्रम शाहदेव नामले चिनिने त्यतिबेलाका राजासहित उनको वंशै नास भएपछि व्यापारमा खुवी भएका राजकाजका लागि ट्रेनिङ नलिएका व्यक्ति त्यो बेलाका अधिराजकुमार ज्ञानेन्द्रको टाउकाले श्रीपेच बोक्यो । ज्ञानेन्द्रका टाउकाले श्रीपेच मात्र के बोकेको थियो विदेशमा निदाएर बसिरहेका डा. तुलसी गिरीदेखि दुर्गा श्रेष्ठसम्मलाई कानुनले नछुने स्थिति सिर्जना भयो । कसैले नपत्याएको अवस्थामा राजगद्दीमा बस्न पुगेका तत्कालीन राजा ज्ञानेन्द्रका बालसखा, व्यापारिक साझेदार प्रभाकरशमशेर मात्रै होइन प्रभाकरका नातापातादेखि नातापाताका पनि अर्का नातापातालाई समेत कानुन नलाग्ने अवस्था सिर्जना भयो । सत्ताको वागडोर जसले समात्यो उसले मन पराएका र नाता पर्नेहरूलाई कानुनले नछुने अवस्था सिर्जना गरिएर अराजकता मौलाइरहेकै अवस्थामा थुप्रै कारणले नेपालबाट राजतन्त्र हट्न पुगेपछि नेपाली जनताले सोचेका थिए, ‘अब त नेपालमा कानुनी शासन प्रारम्भ हुन्छ ।’
घोर दुर्भाग्य ! खतरनाक राजनीतिज्ञ गिरिजाप्रसाद कोइरालाले राजा ज्ञानेन्द्रको रिसले नेपाललाई गणतन्त्र घोषणा गरिदिएपछि एक्कासि राजाहरूको सङ्ख्या ह्वात्तै बढ्यो । राजाहरू र तिनका नातापाता आसेपासेहरूलाई कानुनले नछोएर अराजकता मौलाउँदै गर्दा अकस्मात् ठूलो सङ्ख्यामा देखिएका राजाहरू र तिनका आसेपासेहरूलाई समेत कानुनले नछुने अवस्था सिर्जना भयो । सर्वेसर्वा अग्ला खतरनाक श्री ५ गिरिजाप्रसादका अलावा नयाँ राजाहरू श्री ५ प्रचण्ड, श्री ५ सुशील, श्री ५ झलनाथ, श्री ५ विजयकुमार, श्री ५ उपेन्द्रलगायत दर्जनका दर्जन राजाको जन्म भयो । यिनले पहिलेका राजाहरूका आनी–बानी र सोचचिन्तनलाई अनुकरण गरे । यिनलाई कानुनले सीधा छोएन घुमाएर पनि छोएन । गिरिजाप्रसादलाई कानुनले नछुने भएपछि छोरी सुजातालाई कानुनले छुने कुरा आएन । सुजातालाई नछुने कानुनले उनकी छोरी र बंगलादेशी ज्वाइँ रुबेल चौधरीलाई छुने कुरै थिएन । श्री ५ प्रचण्डलाई कानुनले नछुने भएपछि सीता म्याडमलाई छुन कानुन आफैँ डराउने नै भयो । झन् एकमात्र पुत्र प्रकाशलाई छुने आँट कानुनले कसरी गर्न सक्थ्यो र ! यो नियम सबै राजाहरूले एकनासले प्रयोगमा ल्याए । यसकारणले श्री ५ प्रचण्डको पार्टीका कुनै कार्यकर्ताले कानुनविपरीत काम गर्दा र प्रहरीले पक्रँदा ती कार्यकर्तालाई कानुनले छोएन । श्री ५ सुशील कोइरालाका कार्यकर्ताले सार्वजनिक अपराध गर्दा कानुनले छोएन । हरेक श्री ५ का हरेक कार्यकर्ताले कानुनविपरीत काम गर्दा कानुनले छोएन र यतिबेला मुलुकमा अपवादलाई छाडेर हरेक नागरिक एउटा–एउटा राजा श्री ५ का सदस्य भएको हुँदा मुलुकभरि कसैलाई पनि कानुनले छोएको छैन । अराजकता फैलिएको छ र हरेक नागरिक बिहान उठ्दा ‘हिजो त बाचँे आज बाँच्छु कि बाँच्दिनँ’ भनिरहेका छन् ।
यो स्थिति ल्यायो कसले ? यो स्थिति सिर्जना गर्न नेपाली जनताको कुनै दोष छैन । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कुनै पनि नेपाली नागरिकको रत्तिभर दोष छैन, दोष छ भने अदूरदर्शी, खतरनाक, देशप्रति माया नभएका, गैरजिम्मेवार, लोभी, पापी, नालायक, हाँडीघोप्टे, आफ्नो अस्तित्व जबर्जस्ती स्थापित गर्न खोज्ने अरूको अस्तित्वलाई नामेट पार्न खोज्ने, कालो आत्माका, कालो नियतका नेताहरूको दोष छ । छिमेकी मुलुक भारतको जनसङ्ख्या झन्डै एक सय २२ करोड छ । तर, त्यो देशको सांसद संख्या पाँच सय ४५ छ । नेपालको कुल जनसङ्ख्याको सक्कली नागरिक र पैसामा नागरिकता बेचेर थपिएका नक्कली नागरिक जोड्ने हो भने जम्मा दुई करोड ६५ लाख छ । तर, यही देशमा कालो नियतका राजनीतिक दलका नेताहरूले सबैलाई भाग पु-याउने हेतुले ६ सय १ जना सभासद् रहने व्यवस्था गरे । पवित्र नियतले संविधान नै बनाउने सोच यदि राखिन्थ्यो भने देशैभरिमा जम्मा सयजना सभासद् निर्वाचित गर्दा नै काफी हुने स्थितिमा अनावश्यक आर्थिक भार नेपाली जनतालाई बोकाएर ठूलो सङ्ख्यामा सभासद् निर्वाचित गर्ने व्यवस्था गर्नैपर्ने थिएन । राजनीतिक दलको सङ्ख्याको कुरा गर्दा कुरा गर्नेलाई भन्दा सुन्ने र पढ्नेलाई लाज लाग्ने अवस्था छ । जम्माजम्मी १,४७,१८१ वर्गकिलोमिटर क्षेत्रफल भएको, दुई करोड ६५ लाख जनसङ्ख्या भएको सानो मुलुक नेपालमा सके दुई दल, त्यति कम हुन्छ भने तीन दल रहने व्यवस्था गरे पर्याप्त हुन्छ । राजनीतिक दल विचार र सिद्धान्तको आधारमा जन्माइन्छ र सञ्चालनमा ल्याइन्छ । एउटै विचार र सिद्धान्तका अनेकौँ पार्टी निर्माण गर्न आवश्यक छैन । अब यो अवस्थाको तुरुन्तै अन्त्य गर्नुपर्छ । यतिबेला जल्दाबल्दा दुई कम्युनिस्ट पार्टी एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी र एमाले एक–आपसमा सबै कोणबाट नकारात्मक प्रतिस्पर्धा गरिरहेका छन् तर सैद्धान्तिक भिन्नता कहीँकतै देखिँदैन । नेकपा एमालेले जनताको बहुदलीय जनवादलाई आफ्नो सिद्धान्त भन्छ । एकीकृत नेकपा माओवादीले २१औँ शताब्दीको जनवाद भन्छ, तर भन्न खोजेको कुरा प्रस्ट छैन । घुमाइफिराइ सिद्धान्तको नाम जे दिए पनि यिनीहरू लोकतान्त्रिक पद्धतिमा, जनताको मतलाई विश्वास गर्ने अवस्थामा आइसकेका छन् । एउटै चरित्र र विचार छ तर अलगअलग पार्टी बनाएर बसेका छन् । एकीकृत नेकपा माओवादी र नेकपा एमालेमा कुनै पनि कोणबाट भिन्नता छुट्याउन सकिन्न । तर जुँगाको लडाइँ भने प्रचण्ड र झलनाथका बीच गतिलैसँग भइरहेको छ । अन्य आफूलाई कम्युनिस्ट पार्टी जस–जसले भनिरहेका छन् सम्पूर्ण रूपले लोकतान्त्रिक पद्धतिमा लुटपुटिएका छन् र पनि कम्युनिस्ट भन्न छाड्दैनन् । अब आफूलाई कम्युनिस्ट भन्ने र लोकतान्त्रिक प्रक्रियामा सम्पूर्ण रूपले भित्रिएका पार्टीहरू मिलेर एउटै ठूलो पार्टी बनाए हुन्छ । नेपाली काङ्ग्रेस, मधेसवादी दल, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत आफूलाई लोकतन्त्रवादी बताउनेहरू अब एउटै पार्टीमा रूपान्तरित भए हुन्छ । कम्युनिस्ट भन्नेहरूको नाइके पुष्पकमल दाहाल बन्दा हुन्छ भने लोकतन्त्रवादी बताउनेहरूले नाइकेको रूपमा सुशील कोइरालालाई अघि सार्दा हुन्छ । तेस्रो दलको रूपमा कमल थापा आउन सक्छन् । यिनले पनि यो मुलुकमा संवैधानिक राजतन्त्र राख्नुपर्छ, हिन्दू राज्य घोषणा गर्नुपर्छ भन्ने नयाँ विचार अघि सारेका छन् । कमल थापाको माग पूरा हुन सक्ला–नसक्ला, तर यिनले अघि सारेको माग मननयोग्य छ । प्रक्रिया पूरा नगरी फ्याँकिएको राजतन्त्र फेरि ल्याउनुपर्छ भन्नु आफैंमा तर्कपूर्ण छ यद्यपि यो मागलाई जनताले स्वीकार्ने–नस्वीकार्ने जनताकै हातमा छ । उनको नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ भन्ने माग पनि कमजोर राजनीतिक माग हुँदै होइन । ८५ प्रतिशत हिन्दू धर्म मान्नेहरू बसेको देशमा अरू धर्म मान्नेहरूलाई हामीले पहिले पनि सम्मान गरेका थियौँ अब पनि सम्मान गर्छौं, तर हिन्दूराष्ट्र घोषणाचाहिँ गर्नुपर्छ भन्ने उनको माग विश्वमानव समुदायको धार्मिक अवस्था र आस्थालाई हेर्दा मननयोग्य देखिन्छ । यो कोणबाट व्याख्या गर्दा अब नेपालमा बढीमा तीनवटा पार्टी सञ्चालनमा ल्याउँदा उपयुक्त हुने देखिन्छ । एउटा पार्टी प्रचण्डको नेतृत्वमा सबै कम्युनिस्ट बताउने पार्र्टीहरू । अर्को पार्टी जस–जसले आफूलाई लोकतन्त्रवादी बताउँदै आएका छन् र तेस्रो पार्टीको रूपमा कमल थापाले नेतृत्व गरेका राप्रपा नेपाल ।
यदि वर्तमान नेपालका जल्दाबल्दा देखिएका नेताहरूको नियत कालो छैन भने अब थोरै दल बनाउन राजी हुनेछन् । नेतृत्व प्राप्तिमा द्वन्द्व नै हुन्छ भने त्यसका लागि पनि पार्टीको आन्तरिक विधान तयार बनाएर नेतृत्वको पदावधि कम र एकपटकका लागि मात्रै अध्यक्ष वा सभापति बन्न पाउने प्रावधान राख्न सकिन्छ । यो खालको परिस्थिति सिर्जना होस् भन्ने कामना एउटा सदीक्षा हो । नेपालमा यतिबेला थुप्रै कम्युनिस्ट पार्टी र कम्युनिस्ट नेता छन् । तर, पवित्र मनका, सफा विचारका मदन भण्डारी छैनन् । पुष्पलाल र मनमोहन अधिकारी पनि छैनन् । नेपाली काङ्ग्रेस पार्टी आफूलाई लोकतन्त्रको पहिलो नम्बरको मगमग वासना आउने पार्टी भन्छ तर त्यहाँ सुजाता र कृष्ण सिटौलाहरू छन्, दूरदर्शी विश्वेश्वरप्रसाद कोइराला छैनन् । त्यागका उच्च नमुना वीर गणेशमान छैनन् । निजी स्वार्थ तिलाञ्जली दिएर राष्ट्रिय स्वार्थलाई अघिसार्ने कृष्णप्रसाद भट्टराई छैनन् । त्यसैले अबको राष्ट्रिय आवश्यकभा यही हो– सफा विचारका नेता जन्माउने प्रयास हुनुप-यो । यतिबेला जिम्मेवारी बोक्न आइपुगेकाहरूको नियत सफा हुनुप-यो । कानुनका अगाडि हरेक नागरिक बराबर हुनुप-यो ।