धर्तीको बोझ कसैले नठानुन् : वसन्त चौधरी

धर्तीको बोझ कसैले नठानुन् : वसन्त चौधरी


basanta-chaudhariनेपाली उद्यम र व्यवसायका क्षेत्रमा विशिष्ट उचाइ हासिल गर्नुभएका वसन्त चौधरीको साहित्यिक यात्राले पछिल्लो समयमा निकै ठूलो छलाङ मारेको छ । ०१३ साल चैत १३ गते काठमाडौंमा जन्मनुभएका वसन्तले अरुण इम्पोरियम (खिचापोखरी) मा सेल्सम्यान भएर आफ्नो व्यावसायिक जीवन सुरु गर्नुभएको थियो । वाणिज्यशास्त्रका स्नातक उहाँले विज्ञापन एजेन्सी गु्रप थ्रीबाट स्वतन्त्र व्यवसायको आरम्भ गर्नुभएको हो । वसन्तले समुदायसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रमा ठूलो लगानी गर्नुभएको छ, प्रतिष्ठित नर्भिक अस्पताल उहाँकै लगानीको एउटा अंश हो । व्यवसायसँगै सिर्जनाका क्षेत्रमा समेत क्रियाशील वसन्तले अढाइ दशकयता साहित्यमा पनि विशेष योगदान पु-याउँदै आउनुभएको छ । हालसम्म उहाँका पाँच गीति एल्बमसहित दर्जन कीर्ति सार्वजनिक भइसकेका छन् । प्रकाशित पुस्तकमध्ये ‘संवाद र ‘राष्ट्रियता नदुखोस्’ विशेष पठनीय मानिन्छ भने काव्यसग्रह ‘मेघा’लाई एक मार्मिक र वजनदार कीर्तिका रूपमा लिइन्छ । वसन्तले सन् २०१२ मा न्युयोर्कबाट सुरु गर्नुभएको विश्व काव्ययात्रा ब्रिटेन, दुबई र भारतको सिक्किम हुँदै अमेरिकाको मेरिल्यान्ड तथा डलाससम्म पुगेको छ । उहाँलाई काव्ययात्राको निम्ति वस्टन, ह्युस्टन, डेनभर र सनफ्रान्सिस्कोबाट समेत निमन्त्रणा आइसकेको छ । यसै क्रममा उहाँ आगामी डिसेम्बरको २९ तारेखमा हङकङ जानुहुने बुझिएको छ । यसरी व्यापार, व्यवसाय र साहित्यिक यात्रालाई सँगसँगै अघि बढाउन सक्ने एक मात्र नेपालीका रूपमा वसन्त चौधरीको पहिचान बनेको छ ।
तपार्इंका सिर्जनामा चञ्चलता र पीडा सरोबरी भेटिन्छन्, तपाईंको आफ्नै लगावचाहिँ केमा बढी छ भन्ने जिज्ञाशामा वसन्तको मत छ– ‘साहित्य सिर्जना संसारभन्दा टाढा छैन, संसार भन्नु नै अलिकति पीडा–दु:ख, अलिकति हाँसो–खुसी र धैर्य–प्रतीक्षाको सङ्गम हो । हामी पोख्छौँ, पोखिन्छौँ यिनै परिवेशभित्र । मेरो सिर्जनामा पनि व्यथा र रोमान्सको झलक देखिनु स्वाभाविक छ । मेरो सिर्जनामा कति आफ्ना भोगाइ प्रतिविम्बित भएका छन्, कति अरूका र केही बाह्य परिस्थितिबाट उत्पन्न पे्ररणा समेटिएका छन् । मेरा जति सिर्जना छन् ती सबै आफ्नै कथाव्यथाचाहिँ होइनन् ।’
० तपार्इंले अहिलेसम्म गर्नुभएका सिर्जनामध्ये आफ्नै मनमा जरा गाड्ने सफलता कुनचाहिँलाई प्राप्त भएको छ ?
– ‘मेघा’ मेरी छोरीको नाम । यही नाममा मैले एउटा कविता लेखेँ । जब मेरी छोरी ‘टिनएज’ पार गर्दै थिइन् र एक जिम्मेवार एवम् सुझबुझपूर्ण व्यक्तिमा रूपान्तरित हुँदै थिइन्, त्यसबखत छोरीलाई सम्झेर मैले ‘मेघा’ शीर्षकमा कविता लेखेँ, यसले मेरो मनमै जरा गाडेको छ ।
० धन कमाउनु र नाम कमाउनुबीचको अन्तर के रहेछ ?
– सन्तुष्टिको अन्तर । नाम कमाउनुमा जति सन्तुष्टि मैले केहीमा पनि पाउन सकिनँ । समाजले–मानिसले गर्ने पे्रमको मूल्य पैसामा तुलना गर्न सकिँदैन । मुम्बैका नगरबधूसँग जति नगद अन्यसँग सायदै होला, तर त्यहाँ नामको अस्तित्व कहाँनेर छ ? बिनानाम सन्तुष्टि असम्भव छ । म साहित्यमा आउनुअघि वसन्त चौधरी भनेको को हो मानिसलाई थाहै थिएन, अहिले मैले बेग्लै ‘रेस्पोन्स’ पाएको छु ।
० जीवनमा कसैको साथ चाहिएको महसुस कहिले भयो तपाईंलाई ?
– पैंतीस वर्षअघि मेरो मागीविवाह भएको हो । हामीले सोचको उतार–चढावबीच पैंतीस वर्ष गुजा-यौँ । छोरीको विवाहका क्रममा हामीबीचको मतभिन्नता एउटा बेग्लै उत्कर्षमा थियो । उनको विचार मेरोभन्दा भिन्न थियो । अन्तत: छोरीकै चाहनाबमोजिम विवाह सम्पन्न भयो । जीवनसङ्गिनीको आवश्यकता मैले छोरीको विवाहपछि बुझेँ । अहिले जति सौहार्दता सायद बितेका बत्तीस वर्षमा थिएनन् । साथको महत्व राम्ररी बुझ्दै छु ।
० जीवनको अन्तिम लक्ष्य के बनाउनुभएको छ ?
– मर्दाखेरि धर्तीको बोझ कम भएको महसुस कसैले नगरिदिऊन्, ‘हत्तेरी एकजना सत्जन मानिस बिदा भए’ भन्ने मलाई चिन्नेहरूले ठानून्, योबाहेक अर्को कुनै लक्ष्य मेरो छैन ।
० राजनीतिमा जाने इच्छा छ कि ?
– छैन, जाँदिनँ । मेरो स्वभावले नै दिँदैन । आश्वासन बाँडेर हिँड्न मलाई आउँदैन । झुट र बेइमानी मेरो डायरीमा छँदै छैन । फट्याइँ कहिल्यै गर्नु नपरोस्, भगवान्को प्रार्थना गरिरहेको हुन्छु । अनि मजस्तो मानिस राजनीतिमा फिट हुन कसरी सक्ला ? जाँदिनँ राजनीतिमा, बरु समाजसेवा मेरो रुचिको क्षेत्र हो । कलमका माध्यमबाट सेवा गर्न पाइरहुँ, यसैमा मेरो सन्तुष्टि छ ।

मलाई टिकटकोभन्दा पार्टीको चिन्ता छ – रामकृष्ण चित्रकार (पूर्वसभासद् एवम् काङ्ग्रेस नेता)
० मुलुकभरि उम्मेदवार सिफारिसमा किचलो उठेको अवस्थामा तपाईंको नाम ललितपुर– २ बाट सजिलै सिफारिस भएछ, कत्तिको खुसी लागेको छ ?
– खुसी नलाग्ने त सवाल नै भएन । तर, म सभासद्, मन्त्री बन्छु या ठूलाठूला ओहोदा हत्याउँछु भनेर राजनीतिमा लागेको होइन । आफ्नो पारिवारिक विरासतका रूपमा म सानैदेखि राजनीतिक क्षेत्रमा होमिएको हुँ । आस्था र विचारका आधारमा म काङ्ग्रेसप्रति समर्पित बनेको हुँ । मेरो समर्पण, पार्टीप्रति लगाव र कामको मूल्याङ्कन गरेर पार्टीका साथीहरूले व्यापक छलफल र अन्तरक्रिया गरेर, विषद् रूपमा विचार गरीकन क्षेत्रीय समितिले सर्वसम्मत रूपमा उम्मेदवारको नाम सिफारिस गरेको छ । मूल्याङ्कनको प्राथमिकता क्रममा एक नम्बरमा राखेर साथीहरूले सिफारिस गर्नुभएको छ । यसबाट म मात्र नभई सबै साथी खुसी छौँ । यो निर्वाचनमा रामकृष्ण चित्रकारले टिकट पाउँछ या पाउँदैन भन्ने विषयलाई गौण ठान्दै नेपाली काङ्ग्रेसले जसरी पनि जित्नैपर्छ भन्ने सन्देश लिएर म निर्वाचन अभियानमा होमिएको छु भन्ने प्रस्ट पार्न चाहन्छु ।
० काङ्ग्रेसले कार्यकर्ता तहबाटै सिफारिस भएका व्यक्तिलाई उम्मेदवार बनाउने प्रक्रिया अवलम्बन गरेको छ, यो देखावटी मात्रै होला कि व्यवहारै पनि उतार्ला ?
– निश्चय पनि नेपाली काङ्ग्रेसले यसरी गाउँ–वडातहकै कार्यकर्ताबीचबाट उम्मेदवारको नाम मागेर नयाँ र वास्तविक लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरेको छ । पहिलोपटक यस्तो विधि अपनाएको हुँदा अनुभवको अभाव भएर कतिपय कमजोरी रहनु अस्वाभाविक नहोला । तर, यसले पार्टीमा इमान र निष्ठाका साथ प्रतिबद्ध भई खट्ने नेता–कार्यकर्तालाई उत्साहित पारेको छ । माथिल्ला तहका नेताको वरिपरि घुम्नेले मात्र टिकट पाउँछ भन्ने मानसिकता रहेको काङ्ग्रेसमा ‘त्यस्तो होइन है, जनतामा भिजेर कार्यकर्ताबाट रुचाइएरै आउनुपर्ने रहेछ, जनता र कार्यकर्तामा भिजेर काम गर्नेलाई अवसर प्राप्त हुनेरहेछ’ भन्ने सन्देश प्रवाहित भएको छ । काङ्ग्रेस भनेको जनताको पार्टी हो, कार्यकर्ताको जगमा उभिएको पार्टी हो भन्ने मान्यतामा बल पुगेको छ । जहाँसम्म काङ्ग्रेसले उम्मेदवार छान्दा यस विधिलाई अवलम्बन गर्ला या नगर्ला भन्ने सवाल छ, यसमा शङ्का गरिरहनु पार्टीनेतृत्वप्रति फजुलमा अविश्वास गर्नु मात्र हो भन्ने लाग्छ ।
० क्षेत्रबाट त एक नम्बरमा सिफारिस हुनुभएछ, टिकट पाउनेमाचाहिँ कति आशावादी हुनुहुन्छ नि ?
– टिकटका लागि मरिहत्ते गर्नेभन्दा पनि पार्टीलाई जिताउन मरिमेट्ने पक्षमा उभिएको व्यक्ति हुँ म । त्यसैले पार्टीले टिकट नदिए पनि विस्मात गरेर बस्ने र टिकट दियो भने जमिन छोडेर उफ्रिँदै हिँड्ने छैन म । जसले टिकट पाए पनि पार्टीले ललितपुरमा यसपटक जित्नैपर्छ भन्ने मेरो एक मात्र अभीष्ट छ । लोकतन्त्रका लागि, संविधानसभाबाटै संविधान बनाउने नेपाली काङ्ग्रेसको एजेण्डा पूरा गर्नका लागि र ललितपुरलाई एउटा उदाहरणीय र समग्र हिसाबबाट समृद्ध जिल्लाको रूपमा उभ्याउनका लागि पनि यसपटक काङ्ग्रेसको चारतारे झण्डा ललितपुरमा फहराउनुपर्छ भन्ने लक्ष्यका साथ म अगाडि बढेको छु । हिजोका दिनमा चार वर्षसम्म संविधानसभाको सदस्यका रूपमा अनुभव हासिल गरेको व्यक्ति हुनुको नाताले पनि र देशव्यापी रूपमा युवाहरूलाई मौका दिइनुपर्छ भनेर आवाज उठेको यथार्थका आधारमा पनि पार्टीले यसपटक मलाई उम्मेदवारका रूपमा अघि सार्नेछ भन्ने विश्वास मैले बोकेको छु ।
० पार्टी उम्मेदवार सिफारिस गर्ने विषयमा मुलुकभर खिचलो उत्पन्न भएको खबर छ, यस्तोमा पार्टीनेतृत्वले कसरी निश्पक्ष रूपमा उम्मेदवार खडा गर्न सक्ला त ?
– पार्टीका शीर्ष नेताहरू नेपाली काङ्ग्रेसको एजेण्डा स्थापित गर्दै पार्टीलाई संविधानसभामा अत्यधिक बहुमतका साथ विजयी तुल्याउनका लागि यसपटक अत्यन्त सचेत र सजग ढङ्गमा काम गरिरहनुभएको छ । तसर्थ, यसपटक भागबण्डा, नातावाद, कृपावाद, पूर्वाग्रहजस्ता विकारबाट मुक्त रहेर उम्मेदवारी चयन हुनेछ भन्ने आमकाङ्ग्रेसजनको अपेक्षा छ । कार्यकर्ताको पार्टीमा लगानी, योग्यता, क्षमता, लोकप्रियता, जनताबीच उसको पकड, सङ्गठन निर्माणमा उसको सक्रियताको मूल्याङ्कन गरेर नै उम्मेदवार छान्ने काम हुनुपर्छ र हुन्छ पनि । यसरी उम्मेदवार छनोट भएमा हाम्रो विजयलाई कसैले रोक्न सक्ने छैन । आमनेपाली जनता नेपाली काङ्ग्रेसलाई बहुमतका साथ संविधानसभामा उपस्थित भएको हेर्न आतुर छन् ।
० तपाईं जनता काङ्ग्रेसको जित हेर्न आतुर छन् भन्नुहुन्छ, तर एमाओवादीले हिजोकै शैलीमा चुनाव जित्ने तयारी गरिसकेको छ, वाईसीएललगायतका उसका भ्रातृ सङ्गठनहरूलाई विभिन्न बहानामा सक्रिय तुल्याइरहेको छ, के भन्नुहुन्छ ?
– ०६४ सालकै पुनरावृत्ति गर्न एमाओवादी उद्यत् देखिएकोमा दुईमत छैन । तर, यही प्रवृत्तिका कारण जनताबीच त्यो पार्टी नाङ्गिइसकेको छ । माओवादीप्रतिको वितृष्णा जनताको हृदयमा उच्च भइसकेको छ । मान्छे मार्ने हत्यारालाई कारबाही गर्न लाग्दा कारबाही गर्नुहुँदैन भन्दै पूर्वसूचनाबिना नै चाडबाड पनि नभनेर ‘बन्द’को घोषणा गर्ने र जनतालाई दु:ख दिने उसको रवैया भर्खरै पनि सबैले देख्न र भोग्न पाए । देश र जनताप्रति एमाओवादी कति संवेदनहीन र असहिष्णु छ भन्ने सिद्ध गर्न यस्ता धेरै उदाहरण छन् । जनतामा दिनानुदिन उसको छवि अत्यन्त नकारात्मक र वितृष्णा जगाउने खालको भएर गएको छ । यही रवैया कायम रहे उसकै अस्तित्व कायम नरहला, निर्वाचनबाट विजयी बन्ने कुरा त परै रहोस् । जहाँसम्म नेपाली काङ्ग्रेसको तयारीको कुरा छ, काङ्ग्रेस जहिले पनि शान्तिपूर्ण तवरमा, लोकतान्त्रिक पद्धति अंगालेर अघि बढ्न चाहन्छ । तर, कथंकदाचित अलोकतान्त्रिक विधि अवलम्बन गर्दै, बाहुबल र गुण्डागर्दीको भरमा कसैले चुनावको नतिजा आफ्नो पक्षमा पार्ने दुस्साहस गर्न खोज्छ भने त्यस्तो विसङ्गतिको मुकाबिला गर्न काङ्ग्रेस सक्षम छ । त्यस्तो अवस्थामा काङ्ग्रेसले हातमा दही जमाएर बस्दैन । काङ्ग्रेसका लाखौँ युवा कार्यकर्ताले जमेर त्यसको प्रतिवाद गर्नेछन् र गलत क्रियाकलापलाई परास्त गर्नेछन् ।
० तपाईं पुन: सभासद्को जिम्मेवारी हासिल गर्न लागिपरिरहनुभएको छ, हिजो चार–चार वर्ष संविधानसभामा रहेर पनि संविधान बनाउन नसकेको कुराले लज्जा र ग्लानिबोध गराउँदैन ?
– हिजो संविधानसभाबाट संविधान बन्न नसकेको कुनै सभासद्को व्यक्तिगत कारणले होइन । मुलुकको राजनीतिक परिवेश नै त्यस्तै निर्माण हुन पुग्यो । राजनीतिक पार्टीहरू संविधान निर्माणका लागि संविधानसभामा आफू प्रस्तुत हुनुपर्ने आवश्यकताबाटै चुक्न पुगे । त्योभन्दा पनि महत्वपूर्ण त राज्य पुनर्संरचना, शासकीय स्वरूपजस्ता एजेण्डाहरूमा दलहरूबीच सहमति जुट्न नसकेर संविधानसभा असफल भएको हो । व्यक्तिगत रूपले कुनै सभासद्ले धेरै काम ग-यो होला र कसैले कम, तर जिम्मेवारीको हिसाबले सभासद्हरूभन्दा राजनीतिक दलहरू नै बढी जिम्मेवार छन् । सभासद्ले त आफ्नो दलले अह्राएबमोजिमको भूमिका निर्वाह गर्ने न हो । यस हिसाबले म पनि कुनै न कुनै मात्रा या रूपमा जिम्मेवार भए पनि दलीय नेतृत्वले जवाफ दिने कुरा हो यो । तर, एकपटक एउटा कुनै निकाय वा व्यक्ति असफल हुँदैमा फेरि पनि त्यो असफल नै हुन्छ भन्ने ठान्नुहुँदैन । हिजो संविधानसभाले संविधान दिन नसके पनि अब संविधानसभाबाहेक अन्य विकल्पबाट संविधान बन्न नसक्ने भएकाले आशा र विश्वासका साथ हामी अघि बढ्नुपर्छ कि दोस्रो संविधानसभाले मुलुकलाई संविधान पक्कै दिनेछ ।
० तपाईं संविधानसभाको विकल्प छैन भन्नुहुन्छ, तर नेकपा–माओवादीले त गोलमेच सम्मेलनबाहेक अरू विकल्प छैन भनिरहेको छ त, के भन्नुहुन्छ ?
– नेकपा–माओवादीले आफ्ना राजनीतिक माग वा मुद्दालाई अघिसार्नेभन्दा पनि चुनावको तिथि–मितिलाई प्रतिष्ठाको विषय बनाएर सविधानसभा चुनावको विरोध गरिरहेको छ । यसले संविधानसभा तथा मुलुकले चाहिरहेको संविधान निर्माणप्रतिको उनीहरूको निष्ठाप्रति नै आशङ्का पैदा गराएको छ । ऊ राजनीतिक निकासका लागि प्रतिबद्ध नभई अवरोधका लागि अग्रसर देखिनु विडम्बनाको विषय हो । तथापि, माओवादीलगायतका असहमत पक्षलाई पनि निर्वाचनमा समेटेर लैजाने प्रयत्न गर्नु आवश्यक छ भन्ने मलाई लाग्छ ।
० त्यो आवश्यक भए पनि उनीहरू चुनावमा आउलान् जस्तो छाँटकाँट देखिन्न, यस्तो परिवेशमा चुनाव होला ?
– उपेन्द्र यादव, अशोक राईहरू चुनावमा सहभागी हुन तयार भएपछि अब चुनाव हुनेमा बाधा पुग्दैन भन्ने आमजनतामा विश्वास पैदा भएको अवस्था छ । यसबाट माओवादीलाई पनि चुनावमा सहभागी हुन दबाब बढेको अनुभूति गर्न सकिन्छ । उसले मुलुक र जनताप्रति इमानदार भएर राजनीति गरिरहेका छन् या गलत अभीष्ट छैन भने उनीहरू पनि चुनावमा आउनेछन् ।
० माओवादीले चुनाव बिथोल्न चाह्यो भने सक्ला कि सक्दैन भन्ने लाग्छ तपाईंलाई ?
– दश–पन्ध्र वर्षअघिका जनता र आजका जनताको चेतनास्तरमा आकाश–जमिनको अन्तर आइसकेको छ । हतियार देखाएर तर्साउँदैमा जनता अब तर्सिंदा पनि तर्सिंदैनन् र हतियारको भरमा राजनीतिक मुद्दा स्थापित गर्न पनि सकिन्न । बहिष्कार नै गर्ने हो भने शान्तिपूर्ण रूपले पनि गर्न सकिन्छ, तर नेकपा–माओवादी चुनावमा सहभागी भएर आफ्ना राजनीतिक मुद्दाहरू जनतामा स्थापित गर्न खोज्नुमै उहाँहरू र मुलुककै पनि हित हुन्छ । यो कुरा माओवादी नेतृत्वले पनि बुझिसकेको छ भन्ने मलाई लाग्छ ।