गणेश थापाको दादागिरी

गणेश थापाको दादागिरी


sportराखेपका कर्मचारी आन्दोलनमा उत्रिँदै– श्रीविक्रम भण्डारी
अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष गणेश थापाको बढ्दो दादागिरीविरुद्ध राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी आन्दोलनमा उत्रिने भएका छन् । सो कुराको जानकारी सङ्घका अध्यक्ष रञ्जन थापा, वरिष्ठ उपाध्यक्ष सरस्वती केसी र सहमहासचिव कुमार बस्नेतले गराएका हुन् । एन्फा अध्यक्ष थापाले सङ्घका उपाध्यक्ष सरस्वती केसीलाई दुव्र्यवहार गरेको, अश्लील शब्दहरूको प्रयोग गरेको र सङ्घको हैसियतबारे प्रश्न गर्दै मनपरी बोलेको आरोप कर्मचारी सङ्घले लगाएको छ । सङ्घका पदाधिकारीहरूले अहिले मुलुकले नै आयोजना गरेको साफ च्याम्पियनसिप सञ्चालन भइरहेकाले आफू चुप लागेको बताउँदै यो प्रतियोगिताको समापनसँगै थापाको विरुद्धमा आन्दोलन छेडिने बताएका छन् । खेलकुदमा थापाको दादागिरी चलेको धेरै भो, पहिले निकै सहियो, अब सहिँदैन भन्दै थापालाई नाकमा रस्सी लगाएर उसको स्थान के हो ? त्यो देखाइदिने सङ्घका पदाधिकारीले उद्घोष गरेका छन् । सबै कुराको सीमा हुन्छ, अहिले थापाले सबै सीमा नाघिसकेका छन्, थापाको दुव्र्यवहार र अनैतिक हर्कतले पानी नाकभन्दा माथि आइसकेको छ, तसर्थ थापालाई उनको हैसियत देखाउन जरुरी भइसकेको छ ।
प्राप्त जानकारीअनुसार हाल सञ्चालन भइरहेको साफ च्याम्पियनसिप फुटबल शुभारम्भ हुनु एक दिनअघि फुटबल हेर्ने प्रबन्ध मिलाउन राखेप कर्मचारी सङ्घका अध्यक्ष, उपाध्यक्ष र सहमहासचिव निवेदन लिएर एन्फा अध्यक्ष थापालाई भेट्न रंगशाला पुगेका थिए । कर्मचारीलाई कुनै पनि फुटबल खेल हेर्न दिइँदैन, हामीलाई सम्मानजनक रूपमा साफ च्याम्पियनसिप हेर्न ठाउँको व्यवस्था होस् र कर्मचारीले राखेपको परिचयपत्रको आधारमा फुटबल हेर्न पाउने व्यवस्था मिलाउन निवेदनमा अनुरोध गरिएको र यही कुरो आफूले थापासमक्ष राखेको सहमहासचिव बस्नेतले बताएका छन् । तर, दुर्भाग्य थापाले सङ्घको निवेदनमा के लेखेको छ त्यो कुरा हेर्नुको सट्टा उल्टै सङ्घका पदाधिकारीको झाँको झारेका थिए । थापाले तिमीहरू यति धेरै किन आएको, एकजना आएको भए हुन्थ्यो, मलाई फुर्सद छैन भन्दै पन्छिएका थिए । त्यसपछि बस्नेतले हामी राखेप कर्मचारी सङ्घबाट आएका हौँ, भन्दै एकपटक निवेदन हेर्न अनुरोध गरेका थिए । प्रतिउत्तरमा थापा म कुनै सङ्घलाई चिन्दिन, मलाई कुनै सङ्घको मतलब छैन भन्दै गैरजिम्मेवारी रूपमा प्रस्तुत भएका थिए ।
थापाले निवेदन हुर्नुको साटो लगातार सङ्घका पदाधिकारीलाई दुई कौडीको पनि नठानी दुव्र्यवहार गरिरहँदा सङ्घकी उपाध्यक्ष सरस्वती केसीले एकपटक पत्र त हेर्नुहोस् अध्यक्षज्यू भन्दा थापा एक्कासि पड्किएर केसीमाथि खनिएका थिए । त्यसपछि थापाले सीधै ‘तँ को होस्, कुन पार्टीबाट आएको होस्, तँ गैहाल, तँ किन बोलिराखेकी, तैंले मलाई चिनेकी छेस्, म को हुँ, ए दानव (राजेशलाई सम्बोधन गर्दै) यसलाई घोक्र्याएर बाहिर निकाल’ भनेका थिए । थापाले छुद्ररूप धारण गर्दै तथानाम मनपरी गाली गर्न थालेपछि कर्मचारी सङ्घका पदाधिकारी र थापाबीच भनाभन र चर्काचर्की भएको थियो । सो अवसरमा थापाले केसीलाई अपशब्दसमेत प्रयोग गरेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि स्थिति तँ–तँ र म–ममा पुगेको थियो । असह्य भएपछि केसीले पनि ‘कमिलाको प्वाँख पलाएपछि के हुन्छ’ डलरले मातेको साँढे भन्दै थापालाई चुनौती दिएको बुझिएको छ । यसरी विवादले चर्को रूप लिएपछि एन्फाका सीईओ इन्द्रमान तुलाधरले विवादको समाधान गरेका थिए ।
पहिले उत्तेजित भएर बोल्ने पछि माफी माग्ने एन्फा अध्यक्ष गणेश थापाको नानीदेखिको बानी हो । थापाले आफ्नो यो उत्कृष्ट बानीलाई अहिले पनि जारी राखेका छन् । तसर्थ भोलि थापाले उपाध्यक्ष सरस्वतीको घरमै गएर माफी मागे भने पनि नौलो कुरो हुने छैन । किनकि सबैलाई थाहा भएकै कुरा हो–‘नकचरोको औषधि हुदैन ।’ यसो भन्दैमा थापालाई ‘खेलकुदको साँढे’को रूपमा त्यसै खुला छोड्न अवश्य मिल्दैन । उसलाई उसको सीमाबोध गराउँदै नाकमा रस्सी लगाएर किलोमा बाँध्नुपर्छ । अन्यथा भोलि उसले अरूलाई पनि हानि र नोक्सानी गर्नसक्छ । एएफसीको उपाध्यक्ष, एन्फाको अध्यक्षजस्तो सम्मानित पदमा विराजमान थापाले आफूलाई चिन्न नसकेको आरोप केसीले लगाएकी छिन् । कुर्सीमा बसेपछि कुर्सीको महत्वबारे ज्ञात हुनुपर्छ र त्यसको मूल्याङ्कन गर्ने क्षमता राख्नुपर्छ । तर, थापामा यस्तो व्यक्तित्व नै नभएको केसीको ठहर छ । अन्यथा उनी होसले नभई जोसले कदापि कार्य गर्ने थिएनन् । अध्यक्षजस्तो मान्छेले बिनाकारण गाली–गलौजमा उत्रिनु आफँैमा नसुहाउँदो कुरो हो । थापाको यो चरित्रले कतै उनी मानसिक रोगी त होइनन्– प्रश्न उठेको छ ।
एउटा जिम्मेवार महिलामाथि जुन रूपमा थापा खनिएका छन् त्यसको साँवा–ब्याज उनले बुझाउनुपर्ने पक्का भएको छ । केसीले मेरो अपमान भनेको राष्ट्रिय खेलकुद परिषद्को अपमान हो भन्दै त्यसको बदला लिने बताएकी छिन् । २६ गते साफ च्याम्पियन फुटबल सकिएपछि थापाविरुद्ध राखेपमा कर्मचारी सङ्घले कारबाहीका लागि निवेदन दिने बताइन् । राखेपले थापालाई कारबाही नगरे न्यायका लागि महिला आयोग जाने केसीले बताएकी छिन् । त्यहाँ थापालाई महिला हिंसाविरुद्धमा कारबाही चलाएर फुटबलको अध्यक्ष पदमै उठ्न नदिने र म को हुँ भनेर देखाइदिने बताएकी छिन् । त्यस्तै राखेप कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापाले गणेश थापालाई श्रम नबुझेको मान्छेको रूपमा विश्लेषण गरेका छन् । जसले पसिनाको महत्व बुझ्दैन त्यसले श्रमको महत्व पनि बुझ्दैन । त्यस्ताको नेतृत्वमा रहेको संस्था कहिल्यै अगाडि बढ्न र उपलब्धि हासिल गर्न सक्तैन । अर्काको सम्मान गर्न नसक्नेले आफूले पनि सम्मान पाउन सक्दैन । खेलकुदका केही व्यक्तिहरू निरङ्कुश र अतिवादी चिन्तनवाट ग्रसित छन्, त्यस्ताका विरुद्धमा खेलकुदलाई सही दिशानिर्देश गर्न राखेप कर्मचारी सङ्घ जस्तोसुकै कदम उठाउनुपरे पनि पछि पर्ने छैन ।
यो घटनाबारे राष्ट्रिय खेलकुद परिषद्सँग सम्पर्क राख्दा राखेपका प्रेस सल्लाहकार दिवस गुरागार्इंले यहाँ शरीरले पुच्छर हल्लाउनुभन्दा पुच्छरले शरीर हल्लाएको अवस्था छ भने । अब त्यस्तो हुँदैन, पुच्छर झरे पनि खेलकुदलाई फरक पर्दैन । साफ गेममा कुनै पनि किसिमको धक्का नपुगोस् भनेर राखेपले केही समय मौनता साँधेको हो, तर अब चुप लागेर बस्दैन । गेम सकिएपछि कर्मचारीमाथि गरेको दुव्र्यवहारका विरुद्धमा तुरुन्त कारबाही चलाइन्छ । थापा राखेपले छोडेको साँढेजस्तो भएको टिप्पणी गर्दै गुरागाईंले अब खेदकुदमा कसैको तानाशाही नचल्ने बताएका छन् । ‘दशरथ रंगशाला राखेपले एन्फाको सुविधाका लागि प्रदान गरेको हो, एन्फाको पेवा होइन । अहिले रंगशाला प्रयोग गर्दा थापालाई सोध्नुपर्ने बाध्यता रहेको छ, त्यसैले राखेपले रंगशालाको विषयमा पुनर्विचार गर्ने भएको छ । अब एन्फालाई कति पास चाहिन्छ त्यो राखेपले दिने हो । राखेपका कर्मचारी, खेलाडी तथा पदाधिकारीलाई दुव्र्यवहार गर्ने अन्तर्राष्ट्रिय फटाहा हो, त्यो गणेश थापा नै किन नहोस्,’ गुरागाईंले भने ।
हाल सञ्चालन भइरहेको साफ च्याम्पियनसिपमा थापाले कर्मचारीलाई मात्र नभई खेलकुदका पदाधिकारीको पनि मानमर्दन गरेका छन् । सदस्यसचिव फुटबल हेर्न जाँदा खुला रहेको रंगशालामा पनि थापाका गार्डहरूले प्रवेश गर्न दिएनन् । लामाले आफू परिषद्को सदस्यसचिव भएको जानकारी गराउँदै कार्ड देखाउँदासमेत ती गार्डहरूले प्रवेश गर्न नदिएपछि लामा रातो अनुहार पारेर गेम नहेरी फर्केका थिए । पछि यो कुराको जानकारी थापाले पाएपछि उनी सदस्यसचिव लामासँग माफी माग्न अन्नपूर्ण होटेल पुगेका थिए । त्यहाँ लामाले थापालाई नराम्रोसँग हपार्दा उनी भिजेको मुसोजस्तै बनेका थिए । थापाको यस्तो हर्कत देखेर कराते महासङ्घका अध्यक्ष दावा गुरुङ खित्का छोडेर हाँसेको एक प्रत्यक्षदर्शीले बताएका छन् । लामा रिसाएको थाहा पाएपछि भोलिपल्ट नेपाल र भारतको गेममा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जितेका अनिल गुरुङलाई पुरस्कार प्रदान गर्न लगाएर थापाले लामाको दु:खेको घाउमा मल्हलपट्टी गरेका थिए । यस्तै पीडा चर्चित म्याराथन धावक वैकुण्ठ मानन्धर र राखेपका कोषाध्यक्ष इन्द्रबहादुर थिङले पनि भोग्नुपरेको थियो । मानन्धरमाथि गरिएको दुव्र्यवहारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले विरोध गरेको छ । सङ्घले थापा पनि सङ्घको सल्लाहकार रहेको स्मरण गराउँदै यो कार्यको घोर भत्र्सना गरेको छ । सङ्घले हामी त्यसै छोड्नेवाला छैनौँ भन्दै भोलि त्यही व्यक्ति खेलाडी कार्ड बोकेर रंगशाला पस्नुपर्ने बिर्सिएको आरोप लगाएको छ ।

कुकिवानद्वारा गणेश गुरुङलाई ‘नवौँ डान’ प्रदान
हालै विश्व तेक्वान्दो प्रमुख कार्यालय कुकिवानले विश्व तेक्वान्दो हामादाङ च्याम्पियनसिपको आयोजना गरेको थियो । उक्त च्याम्पियनसिप २८ देखि ३१ अगस्तसम्म दक्षिण कोरियाको देजोङ चुङ्मो स्पोर्टस्मा आयोजना भएको थियो । विश्वका ४३ मुलुकले सहभागिता जनाएको उक्त च्याम्पियनसिपमा दश हजारभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा नेपालको तर्फबाट टप माउन्टेन तेक्वान्दो सङ्घका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक मास्टर गणेशबहादुर गुरुङले सहभागिता जनाएका थिए । प्रतियोगितामा गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको राष्ट्रिय झन्डालाई अन्तर्राष्ट्रियस्तरमा फहराउन सफल भएका थिए । हामदाङ च्याम्पियनसिप कुकिवानले तेक्वान्दोको प्रवद्र्धन गर्न हरेक वर्ष आयोजना गर्दै आएको छ ।

-याङकिङ राष्ट्रिय ब्याडमिन्टन भोलिदेखि
नेपाल खेलकुद महासङ्घ र महासङ्घअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा तेस्रो लि–निङ पुष्पलाल स्मृति -याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराएका छन् । पुरुष/महिला सिंगल्स र डबल्स, डबल्स, यू–१५ ब्वाइज/गल्र्स सिंगल्स, भेट्रान्स डबल्स (४५ वर्षमाथि), सुपर भेट्रान्स डबल्स (५५ वर्षमाथि) तथा यू–१९ ब्वाइज/गल्र्स सिंगल्समा खेल हुनेछ ।
पुरुष सिंगल्समा शीर्ष १६ र महिला सिंगल्समा शीर्ष आठ बरियताका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा पहिलो हुनेले ३९ हजार, दोस्रोले ३१ हजार र तेस्रोले १४/१४ हजार नगद पुरस्कार पाउनेछन् । महिलामा शीर्ष तीन स्थानमा आउनेले क्रमश: ३१ हजार, २४ हजार र १४/१४ हजार नगद पुरस्कार जित्नेछन् । योसहित अन्य विधामा गरी कुल पुरस्कार राशि तीन लाख ६५ हजार रुपैयाँ रहेको छ । उमेर समूहमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई डाक्टरबाट परीक्षण भएपश्चात् मात्र सहभागी गराइने बताइएको छ । नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोग रहने पाँचदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न अनुमानित ११ लाख १६ हजार दुई सय रुपैयाँ खर्च हुनेछ ।

राणा निर्वाचन अधिकृतमा मनोनीत
नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा एसियाली तेक्वान्दो सङ्घको आगामी २७ नोभेम्बरमा हुने मध्यावधि निर्वाचनका लागि निर्वाचन अधिकृतमा मनोनीत भएका छन् । अध्यक्ष राणा इन्डोनेसियामा भएको निर्वाचनमा पनि निर्वाचन समितिमा रहनुभएको थियो । यसअघि इन्डोनेसियामा भएको एसियाली तेक्वान्दो सङ्घको निर्वाचनबाट Dr. Dai Soon Lee अध्यक्षमा विजयी भएका थिए । राणा हाल एसियाली तेक्वान्दो सङ्घका कार्यकारी सदस्य छन् ।

जुडो सङ्घलाई आउट स्टेन्डिङ अवार्ड
अन्तर्राष्ट्रिय जुडो महासङ्घ (आईजेएफ) ले नेपाल जुडो सङ्घलाई ‘आउट स्टेन्डिङ’ अवार्ड प्रदान गरेको छ । नेपालमा जुडो खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पु-याएको र जुडो फर पिस कार्यक्रमअन्तर्गत विभिन्न अनाथालयलाई लक्षित गरी जुडो कार्यक्रम सञ्चालन गरेकोमा नेपालले अवार्ड पाएको जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन् । बज्राचार्य दक्षिण एसियाली जुडो सङ्घका अध्यक्ष, एसियाली जुडो सङ्घका उपाध्यक्ष र आईजेएफअन्तर्गत जुडो फर पिस कमिसनका सदस्यसमेत हुन् ।
गत अगस्ट २३ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न आईजेएफको एक्स्ट्रा ओर्डिनरी काङ्ग्रेसका दौरान उक्त अवार्ड आईजेएफका अध्यक्ष मारिअस भाइजरले अध्यक्ष बज्राचार्यलाई प्रदान गरेका थिए । काङ्ग्रेसमा एक सय ३५ राष्ट्र सहभागी थिए । अवार्ड पाउनेमा भने नेपाल एक्लो थियो । कामको मूल्याङ्कन गरेर आईजेएफले अवार्ड प्रदान गरेकोमा खुसी छु । यसले आगामी दिनमा अझ सक्रिय भएर जुडोमा निरन्तर लागिपर्न थप हौसला प्रदान गरेको छ । अवार्ड विजेता जुडो सङ्घका अध्यक्ष बज्राचार्यले भने, ‘यो उपलब्धि जुडोका साथै सिङ्गो राष्ट्रका लागि गौरवको विषय हो ।’

सडकदौडमा विशाल र सङ्गीतालाई स्वर्ण
राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा आयोजित उपत्यकाव्यापी विद्यालयस्तरीय छात्र/छात्रा सडकदौड प्रतियोगिताको छात्रमा जेम्सका विशाल बानियाँ र छात्रामा विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयकी सङ्गीता खड्काले स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पाँच किलोमिटर दूरी पार गर्न विशालले २० मिनेट १७:७ सेकेन्ड समय लगाएका थिए । नमुना इंग्लिस बोर्डिङ स्कुलका हस्ती बुढा दोस्रो (२० मिनेट २३:९ सेकेन्ड) र बालकुमारी उमाविका विदुर भुजेल (२० मिनेट ४८:३ सेकेन्ड) तेस्रो भएका थिए ।
छात्रामा पहिलो भएकी सङ्गीताले तीन किलोमिटर दूरी तय गर्न १५ मिनेट ३१:८ सेकेन्ड समय खर्चिन् । सीतापाइलाकी हुभी बुढामगर दोस्रो तथा ग्ल्याडस्टोन एकेडेमीकी शर्मिला क्षेत्री तेस्रो भए । दुवै समूहमा पहिलोदेखि चौथो हुनेले क्रमश: १५, १०, पाँच र चार हजारका दरले नगद पुरस्कार पाउनेछन् । त्यस्तै पाँचौँदेखि दशौँ स्थानमा दौड पूरा गर्ने प्रत्येकलाई समान तीन–तीन हजार नगद पुरस्कार दिइने राखेपअन्तर्गत जनसम्पर्क अधिकृत मीनकुमार शर्माले जनाएका छन् । कुल पुरस्कार राशि एक लाख चार हजार रुपैयाँ रहेको छ ।

विश्व तेक्वान्दो दिवस मनाइयो
विश्वमा तेक्वान्दो स्थापना भएको उपलक्ष्यमा विश्व तेक्वान्दो महासङ्घ र एसियन तेक्वान्दो युनियनको आह्वानमा सेप्टेम्बर ४ का दिन संसारभरि नै Kick today change tomorrow (Kicking for Miracles)ायच :ष्चबअभिक० भन्ने नाराका मनाइएको विश्व तेक्वान्दो दिवस नेपालमा पनि नेपाल तेक्वान्दो सङ्घ, भक्तपुर जिल्ला कार्यसमितिको आयोजनामा भक्तपुर नगरपालिकास्थित दरबारस्क्वायरमा तेक्वान्दोको डेमोस्ट्रेसन कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाइयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । उक्त कार्यक्रमको सभापतित्व भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष द्वारिकानाथ खयरगोलीले गरेका थिए भने नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा र महासचिव दीपराज गुरुङ, केन्द्रीय सदस्य एवम् वरिष्ठ सहायक मुख्य प्रशिक्षक अर्जुनबहादुर विक, सानका पूर्वनिर्देशक केशवराज गौतमलगायतको उपस्थिति थियो । कार्यक्रममा नेपाल पौडी सङ्घका महासचिव एवम् भक्तपुर जिल्लाका प्रहरी प्रमुख जगतमान श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपालको च्याम्पियन बन्ने सपना अधुरै
सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएपछि नेपालको साफ च्याम्पियन बन्ने सपना अधुरै रहेको छ । फाइनलमा पुग्न दर्शकसहित १२ खेलाडी लिएर मैदानमा उत्रिएका नेपाली खेलाडीले सोचेअनुरूपको प्रदर्शन गर्न नसक्दा पराजयको मुख देख्नुपरेको थियो । गोलकिपर किरण चेम्जुङको अक्षम्य गल्तीका कारण शुभारम्भको ११औँ मिनेटमा गोल खान पुगेको नेपाल त्यसपछि दबाबमा परेको थियो । खेलाडीले गोल फर्काउन निकै प्रयास गरे पनि अफगानिस्तानका गोलकिपर मन्सुर फागियारको अगाडि असफल भएका थिए । खेल अवधिभर नै विपक्षीउपर धाक जमाएको नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजयको मुख देख्नुपरेको थियो ।
खेलमा पकड जमाए पनि गोल गर्न नसकेका कारण दबाबमा परेको नेपालले खेलको अन्तिममा पेनाल्टी पाएको थियो । खेलमा फर्कन र बराबरी गर्न पाएको अवसरलाई रोहित चन्दले खेर फाल्दा नेपालको यात्रा सेमिफाइनल टुङ्गिएको थियो । चन्दले दुईपटक पेनाल्टी हान्ने अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेका थिएनन् । पराजयपछि नेपाली फुटबल टोलीका अमेरिकी प्रशिक्षक ज्याक स्टेफानोस्कीले यसको सारा दोष खेलाडीलाई लगाएका छन् । स्टेफानोस्कीले खेलाडीले राम्रोसँग नखेलेको, पाएको थुप्रै अवसरलाई गुमाएको बताएका थिए । उनले नेपालले साफ च्याम्पियनसिप जित्न नेपाली खेलाडीले भविष्यमा निकै मिहिनेत गर्नुपर्ने बताएका थिए । अहिलेसम्म सेमिफाइनलबाट अगाडि बढ्न नसकेको नेपाल यसपटक पनि सेमिफाइनलमै अड्किएको छ ।