म त पहिले अनुहार नै हेर्छु -राजन घिमिरे

म त पहिले अनुहार नै हेर्छु -राजन घिमिरे


कुनै समय पोखराका एफएमहरूमा मात्र सीमित थिए राजबल्लभ कोइराला । उनी त्यतिबेला एफएममा कार्यक्रम प्रस्तोताका रूपमा काम गर्दथे । तर, आज राजबल्लभको चर्चा र नाम फराकिलो भएको छ । उनी यतिबेला बनेका छन् सिनेमाको नायक ।
चलचित्र परि्खबसेँ बाट अभिनय यात्रा सुरु गरेका राज अहिले व्यस्त छन् चलचित्र अपवादमा । यसबीचमा उनले तीन दर्जनभन्दा बढी सिनेमामा आफूलाई प्रस्तुत गरिसकेका छन् । चकलेटी नायक राजबल्लभसँग यसपटक गरिएको कुराकानी ।
० तपाईं त खुवै युवतीप्रेमी हुनुहुन्छ रे नि हो ?
– गलत † कसले सुनायो यो कुरा ।
० किन चर्चा छ त बजारमा ?
– मेरा केटीसाथीहरू पनि धेरै छन् । तर, केटीसाथी हुनु नै गलत सोच गर्नु राम्रो होइन । अहिलेको जमानामा केटा वा केटीसाथी सबै सामान्य हुन्छन् ।
० राजबल्लभलाई दैनिकीजसो प्रेम-प्रस्ताव आउँछ, होइन ?
– आउँछन्, तर म सबैलाई स्वीकार्न सक्छु र ?
० एउटा त स्वीकार गरेर घरजमतिर लाग्नु नि ?
– सुझावका लागि धन्यवाद । अहिले यतातिर नसोचौँ ।
० राजबल्लभले जो केटीलाई हेर्‍यो त्यो बित्यो भन्छन् नि ?
– म दिनमा सयौँ केटीलाई देख्छु । ती सबैसँग नाता गाँस्ने हो भने त २४ घन्टाले पनि पुग्दैन ।
० युवतीहरू भन्छन् कि राजबल्लभको आँखै सेक्सी छ ।
– म सार्वजनिक मान्छे हुँ । कसले मेरो के-के सेक्सीपन देख्छन् मलाई नै थाहा छैन । त्यो त उहाँहरूको हेर्ने दृष्टिमा भर पर्छ ।
० तपाईं केटी भएको भए ?
– म हिरोइन हुन्थेँ होला । अनि हिरोइनलाई सोध्ने प्रश्न तपाईंले यतिबेला सोधिरहनुभएको हुन्थ्यो होला ।
० तपाईं पोखराको मान्छे घरजमचाहिँ कता गर्ने ? काठमाडौं कि पोखरामा ?
– त्यो त भन्नै सकिन्न नि । जन्म, विवाह र मृत्यु योजनामा भर पर्ने कुरा होइनन् ।
० अकस्मात् कुनै केटी देख्नुभयो भने पहिले उसको के हेर्नुहुन्छ ?
– अरूहरूले के-के हेर्छन् त्यो म भन्न सक्दिनँ । तर मचाहिँ पहिले अनुहार नै हेर्छु ।
० अनुहार नै किन ?
– मानिसको अनुहारमा नै सबै पढ्न सकिन्छ त्यो मान्छे कस्तो हो भनेर ।
० धेरै हिरोको नाम हिरोइनहरूसँग मुछिएको सुनिन्छ, तपार्इंको नाम मुछिँदैन नि, किन होला ?
– हिरोइनहरूले नपत्याएर होला (लामो हाँसो)

सुष्मिता पाखा लागेपछि
भुवन नयाँ गर्लफ्रेण्डको अंगालोमा
महिलाहरूसँगको सम्बन्धमा निकै ‘फरवार्ड’ मानिन्छन् नायक भुवन केसी । कन्या राशिका भुवन महिलाहरूसँगको सम्बन्धका कारण पनि धेरैपटक धेरै अवसरमा आलोचित मात्र होइन, बद्नाम पनि हुने गरेका छन् । तर, यस्ता कुराको कहिले पनि पर्वाह गरेनन् उनले । ‘यदि म खत्तम हुँदो हो त किन बारम्बार महिलाहरू मसँग नजिकिन्छन् त -‘ भुवनको प्रश्न छ । उमेर पनि भुवनको मामिलामा कहिले पनि बाधक बनेन । मानिसले यसो भन्लान् वा उसो भन्लान् भन्ने कुराको कुनै पनि वास्ता नगर्ने भुवन आफू अरूहरूले जस्तो लुकेर होइन खुलेर नै प्रेम गर्ने र आफू ‘छुपे रुस्तम’ नभएको दाबी गर्छन् । ‘मसँग जे छ र म जस्तो छु, सबैले खुलस्त थाहा पाउँछन्,’ भुवनले भने ।
यस्तै आफ्नो विशेषताअनुरूप नै भुवनले शुक्रबार साँझ नायिका रेजिना उप्रेतीले निर्माण गर्न लागेको चलचित्र ‘वरदान’को शुभसाइत समारोहमा आफूलाई प्रस्तुत गरे । हरसमय कुनै न कुनै युवतीको साथमा रहिरहने भुवन त्यस दिन एउटी अधबैंसे सेतो कुर्तावाली एक महिलासँग देखिए । सबैमा कुतूहल जाग्यो- भुवनसँग आउने ती महिला को होलिन् – सिनेमाको मुहूर्तभन्दा भुवनसँग मुहूर्तभरि टाँसिएर हिँड्ने ती युवतीको बारेमा पो चर्चा चल्न थाल्यो । यो देखेपछि भुवनले पहिले नायिका करिश्मा मानन्धरलाई भेटेर भने, ‘करिश्माजी † यिनी मेरी गर्लफ्रेण्ड ।’ करिश्माले हाई भनिन् । त्यसपछि भुवन गए अर्का नायक शिव श्रेष्ठतिर- ‘शिव † यी मेरी गर्लफ्रेण्ड ।’ शिवले पनि औपचारिकता निभाए । उनी भन्दै थिए, ‘भुवन पनि के गर्छ के गर्छ । कुरा बुझिसक्नु छैन ।’
करिश्मा र शिवपछि भुवन हानिए राजेश हमालतिर । ‘राजेश यिनी मेरी गर्लफ्रेण्ड,’ भुवनले परिचय गराए । तर, राजेशको रेस्पोन्स खासै थिएन । उनी मुसुक्क मुस्कुराए मात्र । कार्यक्रम अवधिभर भुवन र ती महिलाको उठबस साँच्चै हेर्न लायकको थियो । यसरी भुवनले खुलेर आफ्नी प्रेमिकाको परिचय त गराए तर तिनको नाम वा पेसा अनि स्थानको बारेमा भने केही बताएनन् । उनी को हुन् र कहाँबाट आइन् – यो प्रश्न भने अनुत्तरित नै रह्यो ।
त्यसो त भुवन र सुष्मिता केसीबीचको डिभोर्सको कुरा हल्ला मात्र हो । भुवन चर्चाका लागि जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा बजारमा आइरहँदा सुष्मितासँग आफ्नो सम्बन्ध साँच्चिकै बिग्रिएको हो भन्ने प्रमाण देखाउनका लागि भुवनले सार्वजनिक कार्यक्रममा आफ्नी ‘गर्लफ्रेण्ड’को परिचय गराएको वास्तविकता पनि छर्लङ्गिएको छ ।
तर, भुवनले आफ्नी गर्लफ्रेण्डको नाम भने बताएका छैनन् । उनले यति मात्र भनेका छन्, ‘सी इज विजनेश पर्सन ।’ केही महिनाअगाडि मात्र एमालेमा प्रवेश गरेका भुवन त्यतिबेला मन्त्री बन्ने हल्ला पनि नचलेको होइन । तर, त्यतिबेला भुवनलाई पार्टीले नै तपाईं महिलाहरूसँगको सम्बन्धमा ‘लुज’ हुनुहुन्छ । त्यसतर्फ र्सतर्क रहनुहोला । तपाईंको क्रियाकलापले पार्टीलाई पनि असर पर्न सक्छ भनेर एमालेले भुवनलाई सजग गरेको थियो र भुवनले त्यतिबेला भनेका थिए- बजारमा आएजस्तो म लुज छैन । मिडियाले बढाएका मात्र हुन् । यस्तो अभिव्यक्ति दिएकै केही हप्तापछि नै भुवन फेरि अर्की युवतीसँग नाम जोडिएर बजारमा छाएका छन् । अब यसमा को दोषी – भुवन कि मिडिया –

सबैथोक भएर पनि रित्तै
के छैन झरना बज्राचार्यसँग – एउटी सफल नायिकामा हुनुपर्ने सुन्दरता, उचाइ, अभिनय शैली अनि राम्रो व्यवहार । सबै छ उनीसँग । उसो भए किन चल्दिनन् उनी सिनेमामा – जवाफ अनुत्तरित नै छ । ‘आफ्नोबारेमा म आफैंले कसरी भनौँ । यो त दर्शकहरूले गर्नुपर्ने मूल्याङ्कन हो,’ यसै भन्छिन् नायिका झरना बज्राचार्य ।
एउटी झरना थापालाई भ्याइनभ्याई छ तर अर्की झरना बज्राचार्य भने यतिबेला हात खाली छिन् । पछिल्लोपटक उनले अभिनय गरेको चलचित्र ‘कोही मेरो…’ उठ्नै नसक्ने गरी व्यावसायिक रूपमा थला परेपछि बिस्तारै झरनाको अभिनय-यात्रा पनि थला पर्दै जान थालेको छ । कोही मेरो… हेर्ने जो-कोही पनि झरनाको तारिफ गरेर थाकेनन् तर जो हलमा आउनुपर्ने हुन् ती नआएपछि सिनेमा डुब्यो । एउटा सिनेमा असफल भएमा त्यसको दोष पूरा टिमलाई जानुपर्ने थियो तर कोही मेरोमा सम्पूर्ण दोषको भागीदार बन्न पुगिन् झरना बज्राचार्य ।
यसबाट झरनाका फ्यानहरूको चित्त साहै्र दुखेको छ । ‘म्युजिक भिडियोकी सफल मोडल फिल्ममा चलिनन् । कारण पत्ता लगाउनै गाह्रो भो,’ उनीहरू यसै भन्छन् । झरना बज्राचार्यसँग अभिनय गर्न आतुर मोडल अनि आफ्नो गीतमा खेलाउन लालायित थुपै्र म्युजिक भिडियोका निर्देशक लाइनमा रहेका छन् । तर, सिनेमामा भने उनका सबै चलचित्र एकपछि अर्को गरेर असफल हुँदै गइरहेका छन् ।
राम्रा निर्देशकको फिल्ममा खेलिन् उनी । कथा पनि रामै्र हो । लगानीकर्ताले पनि खर्च दिल फुकाएरै गरेका छन् । त्यसपछि झरनाको रोल अनि अभिनय पनि तारिफ गर्न योग्य नै थियो । उसो भए के थियो त कमजोरी – ‘म यसलाई मेरो दिन नआएको भन्छु । काम त ज्यान दिएरै गरेकी छु नि । कर्म गर्दै जाने हो, एक दिन फल खान कसो नपाइएला,’ झरनाको सटिक जवाफ छ ।

फेसन डिजाइनिङ प्रवर्द्धन गर्न क्रिएटिभ एवार्ड
नेपालमा भर्खरै वामे सर्दै गरेको फेसन डिजाइनिङ व्यवसायलाई प्रवर्द्धन गर्दै यसमा संलग्नहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक क्रिएटिभ एवार्ड नामको फेसन डिजाइनिङहरूको प्रतियोगिता हुने भएको छ । आगामी १७ गते होटल एभरेस्टमा हुने प्रतियोगितामा नेपाली राष्ट्रियता झल्कने, सूचना प्रविधि, प्राकृतिक, आधुनिक फेसन र इभिनिङ पार्टी वेयरको थिममा अलग-अलग रूपमा डिजाइनिङ प्रस्तुत गरिने र ६ विधामा हुने प्रतिस्पर्धाबाट विजेता, फस्र्ट रनर अप र सेकेन्ड रनरअफ छनोट गरिने आयोजकले जानकारी दिएको छ । नेपालमा वामे सर्दै गरेको फेसन डिजाइन व्यवसायलाई प्रोत्साहित गर्दै प्रतिभा प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गर्न लागिएको निलीमा फेसन होमकी सञ्चालिकका निलीमा शर्माले जानकारी दिइन् । नेपाली मोडललाई नेपाली फेसन डिजाइनरहरूले तयार पारेको डिजाइन पहिर्‍याई र्‍याम्पमा प्रदर्शन गरिने योजना आयोजकको छ ।

उपयोगी मालपोत डायरी
कानुनसम्बन्धी सैद्धान्तिक पढाइ हुने तर व्यावहारिक जानकारीका लागि अड्डा-अदालतमा काम गरी पोख्त भएका व्यक्तिहरूको पछि नलागे त्यसरी सैद्धान्तिक ज्ञान हासिल गरेकाले पनि मात खानुपर्ने अवस्था मालपोतमा काम गर्ने लेखनदासहरूको रहेको छ । यसरी काम जानेका वा सिनियरहरूको पछि लागेर काम सिक्नुपर्दा कति हण्डर खेप्नुपर्छ भन्ने भुक्तभोगीले मात्र बुझेका छन् । यसरी मालपोतमा लेखापढीको काम गर्नेले भुक्तमानी व्यहोर्नु नपर्ने र कानुनी झमेलामा फसेका आमनागरिकले पनि लेखापढीको ढाँचा या प्रक्रिया सरलसँग बुझ्नेगरी एउटा पुस्तक प्रकाशित भएको छ । ‘मालपोत डायरी’ नाम दिइएको यस उपयोगी पुस्तक लामो समय कानुनी सेवाको क्षेत्रमा गुजारिसक्नुभएका अधिवक्ता पवित्रबहादुर खड्का -एलएलएम)ले प्रकाशनमा ल्याउनुभएको हो ।
‘अड्डा-अदालतसम्बन्धी व्यावहारिक लिखतको सामान्य जानकारी’ भनी लेखकले ‘मालपोत डायरी’लाई परिभाषित गर्न खोजे पनि उपयोगिताको दृष्टिमा पुस्तकले व्यापक दायरा ओगटेको छ । अड्डा-अदालत, अंश, बकस पत्र, करार, मुलुकी ऐन, कपाली तमसुक, दृष्टिबन्धक तमसुक, वारेस, प्रहरी कार्यालय, श्रम कार्यालय, वन, कम्पनी, जिल्ला प्रशासन कार्यालय, धर्मपुत्र, बैंक, राजीनामासम्बन्धी र अन्य विविध विषय वा क्षेत्रसँग सम्बन्धित निवेदनका ढाँचासमेत यस पुस्तकमा समेटिएको छ । चार सयभन्दा बढी पृष्ठको यस पुस्तकको मूल्य जम्मा दुई सय पचास मात्र रहेको छ ।