काङ्ग्रेसको उम्मेदवार सिफारिसमा बेग्लै रेकर्ड

काङ्ग्रेसको उम्मेदवार सिफारिसमा बेग्लै रेकर्ड


othernewsमङ्सिर ४ मा हुने भनिएको दोस्रो संविधानसभाको निर्वाचन हुने–नहुने आशङ्का कायम रहे पनि निर्वाचनको माहोल भने बढेर गएको छ । प्रमुख राजनीतिक दलहरूमा उम्मेदवार सिफारिसको लहर चलिरहेको अवस्था छ । दलहरूमध्ये मुख्यगरी नेपाली काङ्ग्रेसको उम्मेदवार सिफारिसका विषयमा व्यापक चर्चा–परिचर्चा चलेको पाइयो । काङ्ग्रेसले मुलुकभरका निर्वाचन क्षेत्रबाट प्रत्यक्षका लागि तीन र समानुपातिकका लागि पाँचजनासम्मको नाम सिफारिस गरी पठाउन क्षेत्रीय एवम् जिल्ला समितिहरूलाई निर्देशन दिए पनि उम्मेदवार आकाङ्क्षीहरूको बढ्दो सङ्ख्या र विवादका कारण एउटै क्षेत्रबाट दर्जनका दर्जनसम्म नाम केन्द्रमा पठाइएकोसमेत पाइएको छ । तोकिएको सीमामा रही नाम सिफारिस भएका स्थान बिरलै मात्र छन् ।
यस्तोमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह, युवा नेता अमरेशकुमार सिंह, पूर्वमन्त्री पूर्णबहादुर खड्कालगायत केही नेताहरूले पृथक रेकर्ड कायम गरेका छन् । उल्लेखित नेताहरूको नाम प्रत्यक्षतर्फको उम्मेदवार सिफारिसमा एकल (प्रतिस्पर्धीविहीन) रूपमा सम्बन्धित क्षेत्रबाट सिफारिस भएको छ । यही पङ्क्तिमा धादिङ काङ्ग्रेसका नेता हरि अधिकारी पनि पर्नुभएको छ । समानुपातिक उम्मेदवारका लागि धादिङ क्षेत्र नम्बर ३ बाट अधिकारीको मात्र नाम सिफारिस भएको छ । धादिङ ३ नम्बर क्षेत्रजस्तो आकाङ्क्षीहरूको भीड रहेको क्षेत्रबाट अधिकारी एकको मात्र नाम सिफारिस हुनुलाई एकप्रकारले आश्चर्य नै मान्नुपर्छ ।
यसै सन्दर्भमा धादिङ क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फको नाम सिफारिसमा नेता अधिकारी तटस्थ बसिदिनाले सिफारिस नाम र नामक्रममा विवाद उत्पन्न भएको भनी सो क्षेत्रका नेता–कार्यकर्ताले गुनासो गरेका छन् । १४ गाविसका सभापतिहरूले दिएको लिखित सुझावलाई बेवास्ता गर्दै क्षेत्रीय सभापति जीवनाथले पूर्वाग्रही बनेर आफ्नो स्वार्थमा निर्णय गरेको उनीहरूको आरोप छ । यस विषयमा महाधिवेशन प्रतिनिधि विश्व अर्यालसँग सम्पर्क गर्दा उहाँले कुनै मापदण्डविहीन तौरतरिकाबाट हचुवा शैलीमा क्षेत्रीय सभापतिले मनोमानीपूर्ण सिफारिस पठाएको प्रतिक्रिया दिनुभयो । यसप्रति व्यापक असहमति रहेकोले पार्टीमा छलफलको आवश्यकता रहेको र केन्द्रले पनि स्पष्टीकरण माग्नुपर्ने अर्का नेता तिलक रुवालीको धारणा छ । धादिङ काङ्ग्रेसका अर्का पुराना नेता देवीप्रसाद सिलवालले पनि क्षेत्रको नाम सिफारिस प्रक्रियाप्रति असन्तोष व्यक्त गर्नुभयो ।
यसैगरी महासमिति सदस्य मधुकुमार श्रेष्ठले पनि भोटको आधारमा सिफारिस गर्नुपर्ने कुरालाई लत्याएर क्षेत्रीय अध्यक्षले व्यक्तिविशेषमाथि पूर्वाग्रही व्यवहार गरेको दाबी गर्नुभयो । प्रत्यक्षतर्फबाट उम्मेदवारमा नाम सिफारिस गरिएका देवप्रकाश त्रिपाठीमाथि अत्यन्त पूर्वाग्रही बनेर उहाँको नाम रोलक्रममा जबर्जस्ती पछाडि धकेल्ने षड्यन्त्र गरेको उहाँको भनाइ छ । धादिङ क्षेत्र नम्बर ३ मा हरि अधिकारीपछिका सर्वाधिक लोकप्रिय नेताका रूपमा स्थापित त्रिपाठीको लोकप्रियतासँग तर्सिएर नाम सिफारिसमा गोलमाल गरिएको हुनसक्ने क्षेत्रका कार्यकर्ताहरूको भनाइ छ ।
यसैबीच बाढीपीडितको नाममा उठाइएको एक लाख ८६ हजार रकम हालसम्म पनि बाढीपीडितको नाममा जम्मा नगरी आफँैसँग राखेको भन्दै स्थानीय कार्यकर्ताले क्षेत्रीय सभापति जीवनाथको आलोचना गर्न थालेपछि सोबारेमा कुरा गर्नेहरूको फोनसमेत उनले उठाउन छोडेको सन्दर्भ यतिबेला धादिङ क्षेत्र नम्बर ३ का कार्यकर्तामाझ चर्चाको विषय बन्ने गरेको बताइन्छ ।
प्रकाशले ‘अनलाइन’ चलाएपछि ‘कृष्णसेन’को विजोग
प्रचण्डपुत्र प्रकाश (साकार) दाहालले आफ्नो बेग्लै अनलाइन पत्रिका ‘काठमाडौं टुडे डट कम’ चलाउन थालेपछि त्यस विषयलाई लिएर विभिन्न टीका–टिप्पणी र विरोध सुरु भएको छ । प्रकाशले अनलाइन पत्रिका सुरु गरेपछि कृष्णसेन अनलाइन ओझेलमा परेको र यस क्रममा प्रकाशले गलत मानिसहरूबाट आर्थिक सहयोग लिने गरेकोले पार्टी पङ्क्तिभित्र यसको विरोध सुरु भएको छ । युद्धकालमा मैदान छोडेर बाग्लुङबाट भागेका बेलु थापा, (जसमाथि जापानमा बसेर हुण्डीलगायतका अवैध कारोबारमा संलग्न रहेको आरोप छ) र बेल्जियमनिवासी अर्का विवादास्पद व्यापारी दधि घिमिरेलगायतसँग प्रकाशले अनलाइन पत्रिका चलाउन आर्थिक सहायता लिएको प्रसङ्ग यतिबेला पार्टीसमर्थक पत्रकारका निम्ति चिन्ताको विषय बनेको छ । सञ्चालनमा रहेका अनलाइन पत्रिकालाई बलियो बनाउनुको साटो यसरी मूल नेताका छोरा आफैँले पत्रिका चलाउन थालेपछि त्यसले पार्टीभित्र विग्रहको स्थिति निम्त्याउने स्थिति बनेको छ । कृष्णसेन अनलाइनमा काम गर्ने दयानिधि भट्टलगायतका केही सञ्चारकर्मीले तलब ‘कृष्णसेन अनलाइन’बाट खाने गरे पनि काम भने नेतापुत्रकै अनलाइनमा गर्न थालेका छन् । बेलु थापा र दधि घिमिरेको मुख्य लगानी रहेको काठमाडौं टुडे डट कममा अग्नि सापकोटाको समेत भित्री सहयोग रहेको बताइन्छ । आफ्नो सुपुत्र दीपक सापकोटालाई नयाँ पत्रिका र पार्टीको विदेश विभाग दुवैतिरबाट मोटो रकम बुझ्ने व्यवस्था मिलाएका अग्नि सापकोटाले प्रचण्डपुत्रलाई अनलाइन चलाउन सघाउनुको कारण खोजी भइरहेको छ । प्रकाशले अनलाइन पत्रिका सुरु गरेपछि कृष्णसेन अनलाइनमा ‘न्युज अपडेट’ हुन छोडेको र काठमाडौं टुडेले ‘कृष्णसेन’लाई धेरै पछाडि पार्ने अवस्था सिर्जना भएको बताइएको छ ।

एमआरपीमा सुधार कसले गर्ने ?
अध्ययन, भ्रमण तथा वैदेशिक रोजगारीका लागि विदेशिने नागरिकले आवश्यक कागजातका साथ सम्बन्धित राष्ट्रको भिसा (प्रवेशआज्ञा) लागेको राहदानी बोक्नुपर्ने हुन्छ । तर, नेपालीले विदेश यात्राका लागि यी कागजपत्र र राहदानीका साथ आफू गरिब र गरिब देशको नागरिक भएको प्रमाणपत्र पनि अनिवार्य बोक्नुपर्छ, भिसा लगाएको राहदानीमा म स्पष्ट उल्लेख हुने गरी । गरिब देशहरूको सूचीभित्र रहेको नेपाल र नेपालीलाई गरिबको परिचयपत्र बोकाएर विदेश यात्रा गराउने काममा राज्य नै लागिपरेको छ । विश्वका कुनै पनि मुलुकमा नभएको चलन बसाल्दै राज्यले बैंकमा डलर साटेपछि राहदानीमै बैंकको स्ट्याम्प लगाएर कति डलर साटेको हो उल्लेख गर्ने गरेको छ । यसले राहदानीबाहक नागरिकको मात्र नभएर देशकै गरिबीलाई अन्तर्राष्ट्रियकरण गरी रहेको भन्दै उद्योगी तथा वैदेशिक अध्ययनमा जानेहरूले आपत्ति प्रकट गरिरहेका छन् ।
कम पृष्ठको राहदानी त्यसमा पनि बैंकको स्ट्याम्प लगाउनुपर्नेजस्ता कारणले अन्तर्राष्ट्रिय स्तरमै नेपालको बेइज्जत भएको भन्दै उनीहरूले राहदानीमै बैंकको स्ट्याम्प लगाउने कार्य रोक्न सरकारसँग माग गर्दै आएका छन् भने राहदानीको पृष्ठसङ्ख्या पनि बढाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष भाष्करराज राजकर्णिकारले भने, ‘पासपोर्टका पृष्ठ कम भएकोले तीन महिना पनि बित्न नपाउँदै अर्को पासपोर्ट बनाउनुपर्ने हुन्छ ।’ पासपोर्टको क्याटगोरी छुट्याउनुपर्नेमा जोड दिँदै उनले पासपोर्टमा डलर साटेको बैंकको स्ट्याम्प लगाउने कार्य पनि बन्द हुनुपर्नेमा जोड दिए । यसले पासपोर्ट फोहोर देखिनुका साथै ‘अनप्रोफेसनल’ भएको बताए । यसबारेमा औपचारिक रूपमै सरकारसँग कुरा गरी सच्याउन लगाउने उनले जानकारी दिए । ‘यस विषयमा अनौपचारिक कुरा भएको छ,’ उपाध्यक्ष राजकर्णिकारले भने, ‘अब औपचारिक रूपमै कुरा गर्नुपर्ने भएको छ ।’
नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली यसले कुनै समस्या नदेखिएको र नेपालको इज्जत पनि नजाने दाबी गर्छन् । उनले भने, ‘नेपालमा जति चाहियो त्यति मात्रामा ‘डलर एक्सचेन्ज’ गर्न सकिँदैन, त्यसैले अफिसियल प्रमाणका लागि यस्तो व्यवस्था गरिएको हो ।’ मनी एक्सचेन्ज कन्ट्रोल भएका अन्य मुलुकमा पनि यस्तो व्यवस्था भएको जानकारी दिँदै उनले थपे, ‘यो पैसा लिएको प्रमाण हो, कतिपय मुलुकले पैसा लिएको अफिसियल प्रमाण खोज्ने भएकोले पनि यस्तो व्यवस्था गरिएको हो ।’ उनले बैंकको स्ट्याम्प लगाउँदा केही स्थान ओगटे पनि पासपोर्ट फोहोर नदेखिने र पेज पनि धेरै खेर नजाने जिकिर गरे । ‘नेपालीहरू कति न बाहिर जान्छन् र । पासपोर्टमा जति पेज छ, त्यतिले काफी पुग्छ,’ उनले थपे, ‘केही केहीलाई भने समस्या परेको देखिन्छ, केही व्यक्तिलाई समस्या प-यो भनेर आपत्ति मान्नुपर्ने अवस्था देखिँदैन ।’
यसअघि हस्तलिखिल पासपोर्ट ६० पृष्ठको थियो । तर, मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाएपछि यसको पृष्ठ झन्डै आधा घटाएर ३२ पृष्ठको बनाइएको छ । पासपोर्ट ३२ पृष्ठको भए पनि भिसा भने २५ पृष्ठमा मात्र लगाउन सकिन्छ । पासपोर्टमा उल्लिखित विभिन्न सूचनाले त्यसको धेरै स्थान ओगटेकाले पनि भिसा लगाउने पेज कम भएको हो । यसले नियमितजसो विदेश गइरहने उद्योगी/व्यापारी, एनजीओ, आईएनजीओका प्रतिनिधि तथा कर्मचारी, कूटनीतिक क्षेत्रका व्यक्ति र पत्रकारलगायतलाई समस्या परिरहेको देखिन्छ । एकपटक विदेश जाँदा पासपोर्टको दुई पेज खर्च हुन्छ । त्यसमा पनि बैंकको अनावश्यक रूपमा स्ट्याम्प लगाउनुपर्ने भएकोले नियमितजसो विदेश यात्रा गर्नेहरूले वर्षमा तीनपटकभन्दा बढी नयाँ पासपोर्ट बनाउनुपर्ने हुन्छ ।
परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापाले राहदानीको पेज कम भएको महसुस भएको र यसबारे के गर्ने भन्ने छलफल भइरहेको जानकारी दिए । पेज बढाउनुपर्छ भन्ने कुरा चौतर्फी रूपमा उठे पनि तत्काल पेज थप गर्नेबारे केही योजना नबनेको जानकारी उनले दिए । प्रत्येक नागरिकले सजिलै राहदानी पाउने व्यवस्था परराष्ट्रले गरेको जानकारी दिँदै उनले भने, ‘अहिले देखिएको भनेको पुरानै समस्या भएकोले यसलाई समाधान गर्न आवश्यक व्यवस्था गरिनेछ ।’
डलर साटेपछि पासपोर्टमै बैंकको स्ट्याम्प हान्नाले पनि समस्या देखिएको जानकारी गराउँदै उनले भने, ‘डलर साटेको रसिद भएपछि त्यसैलाई मान्यता दिनुपर्ने, पासपोर्टमा स्ट्याम्प हान्ने कार्य रोकिनुपर्छ ।’ ‘अन्य देशमा डलर साटेपछि स्ट्याम्प हाल्ने चलन छैन, नेपालबाट डलर लैजाने व्यवस्था कडा भएकोले यसो गरिएको हुनसक्छ,’ उनले भने, ‘तर, राष्ट्र बैंकले रसिदलाई मान्यता दिने व्यवस्था गरे केही सजिलो हुने देखिन्छ ।’
परराष्ट्र मन्त्रालय राहदानी विभाग प्रमुख रमेश खनालले भने कम पृष्ठको पासपोर्ट हुँदा धेरैलाई समस्या परेकाले पृष्ठसङ्ख्या बढाउने विषयमा अध्ययन गर्नुपर्ने बताए । उनले भने, ‘कम पृष्ठ भएकोले धेरैलाई समस्या परेको देखिन्छ, गुनासो पनि आएको छ, ती गुनासोलाई सम्बोधन गर्दै के गर्न सकिन्छ, अध्ययन गरी अघि बढ्नुपर्ने देखिन्छ ।’
एमआरपी लिनका लागि नेपालमा दक्षिण एसियाली मुलुकहरूकै तुलनामा सबैभन्दा चर्को शुल्क तिर्नुपर्छ । यद्यपि पुरानै शुल्कमा एमआरपी दिएको परराष्ट्रको भनाइ छ । अहिले नेपालीले ३२ पृष्ठको पासपोर्टलाई पाँच हजार लिने गरेको छ । तर, एसियाली मुलुकका अन्य राष्ट्रहरू भारत र पाकिस्तानमा ३० डलर, बंगलादेश र श्रीलंकामा २५ डलर र माल्दिभ्समा ३६ डलर तथा भुटानमा १८ डलर प्रतिएमआरपी तोकिएको पाइन्छ ।
कम पृष्ठको, त्यसमाथि पनि चर्को मूल्य तिरेर २०१० डिसेम्बर २६ देखि वितरण सुरु भएको एमआरपी पासपोर्ट अझै सजिलै पाउन सक्ने अवस्था छैन । पासपोर्ट लिनका लागि अनेक समस्या झेल्नुपर्ने गुनासो छ । विभिन्न जिल्लाबाट पासपोर्टको फारम सङ्कलन गरी केन्द्रमा पठाउने गरे पनि छिटो एमआरपी राहदानी लिन एमआरपीको केन्द्रीय विभाग नारायणहिटी परिसरमा बिहान ५ बजेदेखि सर्वसाधारणको भीड देखिन्छ । उनीहरूमा कागजात प्रमाणीकरण र आधिकारिकता पहिचानका समस्याले सताएको छ । २०१५ नोभेम्बर २४ देखि हस्तलिखित पासपोर्टको मान्यता नहुने भएकोले कम पृष्ठको भए पनि यतिबेला एमआरपी बनाउनेहरूको भीड लाग्ने गरेको छ ।

बेग्लै भिडन्तको तयारी
द्वन्द्वकालका बीभत्सकारी आपराधिक घटनामा संलग्न व्यक्तिहरूमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाएपछि एमाओवादीले निहुँ खोज्न थालेको छ । द्वन्द्वकालमा भएका सबै अपराध र घटनाका निम्ति आफू जिम्मेवार रहेको स्वीकारोक्तिसहित एमाओवादी अध्यक्ष प्रचण्डले हिम्मत भए आफूलाई पक्राउ गर्न चुनौती दिएलगत्तै एमाओवादीको युवा सङ्गठन वाईसीएलले द्वन्द्वकालका आफ्नाविरोधीहरूको खोजी सुरु गरेको छ । द्वन्द्वकालमा आफ्ना साथीहरूको मृत्यु भएका घटनामा संलग्न रहेका व्यक्तिहरूको खोजी कार्य वाईसीएलले पार्टी अध्यक्ष प्रचण्डकै निर्देशनमा अघि बढाएको हो ।
वाईसीएलले द्वन्द्वकालका आफ्नाविरोधीहरूको खोजी गरी कारबाहीका लागि सङ्गठित रूपमा सङ्घर्ष गर्ने तयारीसमेत गरेको छ । उनीहरूले दोषीलाई कारबाहीका लागि सडकसङ्घर्षदेखि न्यायालयको ढोकासम्म पुग्ने जानकारीसमेत दिएका छन् । वाईसीएलका अध्यक्ष गणेशमान पुनले भने, ‘द्वन्द्वकालमा राज्यद्वारा गरिएको सबै गैरन्यायिक हत्या घटनाको विवरण तयार गरी कारबाहीका लागि दबाबमूलक भूमिका खेल्नेछौँ ।’ राज्यले शान्तिसम्झौताविपरीत द्वन्द्वकालका घटनालाई लिएर एमाओवादी कार्यकर्तालाई हिरासतमा लिन थालेकोले आफूहरूले पनि राज्यबाट गराइएका गैरन्यायिक हत्या घटनाको सूची तयार पारी न्यायिक आन्दोलनमा उत्रने तयारी गरेको उनको कथन थियो ।
उनका अनुसार वाईसीएलले सबैभन्दा पहिले पत्रकार कृष्ण सेन, खारा र दोरम्बा हत्याकाण्डको सूची तयार गरी दोषीलाई कारबाहीका लागि दबाबमूलक आन्दोलनका कार्यक्रम अघि बढाउने तयारी गरेको छ । एमाओवादी अध्यक्ष प्रचण्डले यसअघि नै गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको घटनाका दोषी देखाइएका आफ्ना कार्यकर्तालाई कारबाही प्रक्रिया अघि बढाए द्वन्द्वकालमा हत्या भएका पार्टीका सबै नेता–कार्यकर्ताको सूची तयार गरी आन्दोलनमा उत्रन निर्देशन दिइसकेका छन् । तर, राज्यले प्रचण्डको चेतावनीलाई वास्ता नगरी अधिकारीको हत्यामा संलग्न रहेको भनिएकालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएपछि माओवादीले पनि द्वन्द्वकालमा मृत्यु भएकाहरूको खोजी गरी त्यसमा संलग्न भएकालाई कारबाहीका लागि कडा सङ्घर्ष गर्ने तयारी गरेको हो ।
यसैबीच माओवादीपीडित सङ्घको केन्द्रीय समितिले भने अधिकारीको हत्यामा संलग्न भएका व्यक्तिलाई नियन्त्रणमा लिँदै कारबाही प्रक्रिया अघि बढाएपछि अन्य पीडितहरूले पनि न्याय पाउने आसा जागेको बताएको छ । ‘युद्धको नाममा तत्कालीन माओवादीले खेतमा काम गरिरहेका, घरमा परिवारसँग बसिरहेका तथा विद्यालयमा पढाइरहेका व्यक्तिलाई आफ्नो पार्टीमा नलागेको भन्दै पासविक रूपमा हत्या गरिएको थियो । माओवादी पीडित सङ्घ केन्द्रीय समितिका अध्यक्ष भोजराज तिमिल्सिनाले भने, ‘उनीहरू राज्य कब्जा गर्न आन्दोलनमा हिँडेका थिए, आन्दोलनका क्रममा राज्यले आफ्नो शत्रु ठान्यो, कारबाही ग-यो । त्यसबापत उनीहरूले क्षतिपूर्ति पनि पाइसकेका छन्, शहीद घोषणा भएका छन्, राहतका नाममा राज्यबाट लाखौँ पैसा बुझेका छन्, युवा स्वरोजगारका नाममा राज्यबाट पनि पैसा लगेका छन्, खै हामीले के पाएका छौँ ।’ ‘त्यतिबेला न हामी राज्यसँग मिलेका थियौँ न उनीहरूको विरुद्धमा आन्दोलन गर्न हिँडेका थियौँ,’ तिमिल्सिनाले भने, ‘उनीहरूले उठाएका मुद्दा र हामीले उठाएका मुद्दामा धेरै अन्तर छ । तर, यसलाई समान ठानी आन्दोलनमा उत्रन्छन् भने हामी पनि चुप लागेर बस्दैनौँ, सशक्त प्रतिकारमा उत्रन्छौँ ।’
माओवादीपीडितहरू अहिले पनि बेवारिसे अवस्था छन्, अझै आफ्नो घर जान सकेका छैनन्, यसतर्फ राज्यले कुनै चासो देखाएको छैन,’ अध्यक्ष तिमिल्सिनाले थपे, ‘राहतका नाममा हामीले राज्यबाट भत्किएका घर निर्माणका लागि भन्दै जम्मा पाँच हजार मात्र पाएका छौँ, अरू हामीले के पाएका छौँ ।’ युद्धका नाममा हत्या भएका धेरै पीडित परिवार न्यायका लागि अदालतमा पुगे पनि न्याय पाउन नसकिरहेको अवस्थामा गोर्खा फुजेलको घटनालाई उदाहरणका रूपमा लिँदै आन्दोलनका नाममा सर्वसाधारण नागरिक हत्यामा संलग्नका लागि सामूहिक रूपमा न्यायालय पुग्ने तिमिल्सिनाले जानकारी दिए ।

ललितपुर काङ्गे्रसमा नेताहरूको बाढी
ललितपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या यसपटक अधिक देखिएको छ । जिल्लाका केही लोकप्रिय र वरिष्ठ नेताहरूसँगै कतिपय कनिष्ट कार्यकर्ताले पनि उम्मेदवार बन्ने रुचि देखाएपछि सम्भावित उम्मेदवारको सङ्ख्या ह्वात्तै बढेको हो । ललितपुरको क्षेत्र नं. १ बाट त्यहाँका लोकप्रिय नेता मथुराप्रसाद घिमिरेको नामलाई उच्च प्राथमिकतामा राखेर सिफारिस भएको छ । काङ्गे्रसमा लामो योगदान रहेका घिमिरेले उम्मेदवारी पाए यसपालि काङ्गे्रस विजयी बन्ने विश्वास गरिएको छ । त्यसैगरी ग्रामीण भेकमा लोकप्रिय रहेका केवलबहादुर लामा र अर्का लोकप्रिय युवा नेता मीनकृष्ण महर्जनको नाम पनि प्राथमिकताका साथ सिफारिसमा परेको छ । मीनकृष्ण महर्जनलाई पनि त्यस क्षेत्रमा बलिया उम्मेदवारका रूपमा लिइन्छ । घिमिरे र महर्जनबीच आपसी समझदारी भएमा दुईमध्ये एकले उम्मेदवारी पाउने र विजयी पनि बन्ने चर्चा स्थानीय बासिन्दाबीच चलेको छ । यसअघिका उम्मेदवार उदयशमशेर राणाको नाम चौथो नम्बरमा सिफारिस भएको भए पनि उनलाई पनि कमजोर मानिएको छैन । तर, राणालाई उम्मेदवार बनाइएमा काङ्गे्रसभित्रैबाट असहयोग पुग्ने चर्चा सो क्षेत्रमा चलिरहेको छ । राणासहित खोमप्रसाद घिमिरे, दिलीप कर्माचार्य, विमल विष्ट, पुरुषोत्तम सिलवाललगायतको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । सो क्षेत्रबाट समानुपातिकतर्फ कुलचन्द्र सुवेदी, डीबी परियार, वीरबहादुर लोपचन, गौरीशंकर पहरी र ऋषिराम घिमिरेलगायतको नाम सिफारिसमा परेको छ । ललितपुरको क्षेत्र नं. २ बाट चन्द्र महर्जन, रामकृष्ण चित्रकार र गणेश सिलवाललगायतको नाम सिफारिसमा परेको छ । चन्द्र महर्जन स्थानीय बासिन्दाबीच निकै लोकप्रिय मानिन्छन् र गत निर्वाचनमा माओवादीको व्यापक धाँधलीबीच पनि महर्जन झिनो मतान्तरले मात्र पराजित भएका थिए । रामकृष्ण चित्रकार पनि सो क्षेत्रका लोकप्रिय युवा नेताको कोटीमा पर्छन् । यसअघि समानुपातिकतर्फबाट सभासद् रहिसकेका चित्रकारको नाम यसपटक प्रत्यक्षतर्फ सिफारिस भएको छ । सो क्षेत्रमा रुद्र शर्मा, सीताराम दाह्री, फरिन्दा महर्जनलगायतको नाम समानुपातिकतर्फको सिफारिसमा परेको छ । क्षेत्र नं. ३ मा पार्टी सभापति मदनबहादुर अमात्य, प्रमोद राजोपाध्याय, जितेन्द्र मलेगो र राजीव पौडेललगायतको नाम प्रत्यक्षतर्फको सिफारिसमा परेको छ । त्यसैगरी समानुपातिकतर्फ दिनेश शर्मा पोखरेल, विजया केसी, भगवती शाही, शिवराम बानियाँ, जितजंग बस्नेत र रमेश रिसाललगायतको नाम सिफारिस भएको छ । सिफारिस भएकामध्ये २०३२ सालको आन्दोलनबाट राजनीतिमा सहभागी भएका दिनेश शर्मा सबभन्दा वरिष्ठ मानिन्छन् । २०३२ सालयताका हरेक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका ५९ वर्षीय शर्मा पार्टीमा लामो योगदान भएर पनि जिम्मेवारी प्राप्त गर्न नपाएका व्यक्तिका रूपमा चिनिन्छन् भने पार्टीमा रिसालको योगदान पनि चर्चाको विषय बन्ने गरेको छ । प्रत्यक्षतर्फ सिफारिसमा परेका अधिकांश व्यक्ति योग्यता र क्षमताका दृष्टिले उपयुक्त ठानिए पनि मदन अमात्य नै बलिया उम्मेदवार बन्नसक्ने विश्वास गरिएको छ ।

सभापतिलाई जहाँतहीँ कोही नेता कहीँ न कहीँ
नेपाली काङ्गे्रसमा सबैभन्दा धेरै स्थानबाट निर्वाचनमा उम्मेदवार बन्न पार्टी सभापति सुशील कोइरालाको नाम सिफारिस भएको छ । आगामी निर्वाचन कोइरालाकै नेतृत्वमा लड्ने तयारी काङ्गे्रसले गरिरहेका बेला उहाँलाई बाँकेको क्षेत्र नं. १ र ३ तथा नवलपरासीको सबै क्षेत्रबाट उम्मेदवार बन्नसक्ने गरी सिफारिस गरिएको छ । कोइराला बाँके र परासी दुवै जिल्लाबाट उम्मेदवार बन्नुहुने सम्भावना रहेको छ । काङ्गे्रसका नेताहरूमध्ये महामन्त्री प्रकाशमान सिंह (काठमाडौं), पूर्णबहादुर खड्का (सुर्खेत) र डा. अमरेशकुमार सिंह (सर्लाही) को नाम आ–आफ्नो क्षेत्रबाट एकल सिफारिसमा परेको छ । आ–आफ्ना निर्वाचन क्षेत्रमा उहाँहरू निकै बलियो मानिनुहुन्छ । काङ्गे्रस नेता ओमकारप्रसाद श्रेष्ठको नाम ललितपुरबाट सिफारिसमा पर्न सकेन । त्यस्तै केन्द्रीय सदस्य मनमोहन भट्टराईको नाम काठमाडौं र भक्तपुर दुवै जिल्लामा अटाएन । भक्तपुर काङ्गे्रसले भट्टराईलाई उम्मेदवार बन्ने चाहना खुलाएर निवेदन दिए सिफारिस गर्न सकिने बताएको थियो, तर, भट्टराईले निवेदन दिएर सिफारिसमा पर्न चाहनुभएन । त्यसैगरी कतैबाट पनि सिफारिस नहुनेमा भट्टराई पर्नुभएको छ । केन्द्रीय सदस्य बलबहादुर केसीलाई सोलुखुम्बु जिल्ला काङ्गे्रसले उम्मेदवारका रूपमा सिफारिस गरेन । जिल्ला कार्यसमितिले आङ गेलु शेर्पाको नाम सिफारिस गरेपछि पार्टी सचिवको अध्यक्षतामा शेरबहादुर देउवा समर्थकको बेग्लै बैठक बसी बलबहादुर केसीको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । पूर्वजलस्रोतमन्त्री बलदेव शर्मा मजगैयाको नाम दाङको कुनै पनि क्षेत्रबाट समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस भएन । दाङमा फेरि पनि नेता खुमबदुर खड्काकै प्रभाव अधिक देखिएको छ । उहाँले चुनावमा उम्मेदवार बन्न नपाउने स्थिति बनेपछि उहाँकी धर्मपत्नी शिला खड्कालाई उम्मेदवार बनाउन जिल्लाबाट सिफारिस भएको छ । तर, कुनै बेला नेता खड्काका विरुद्ध अघि सारिएका मजगैया भने कार्यकर्ताका दृष्टिमा नालायक देखिन पुगेका छन् । केन्द्रीय सदस्य मीन विश्वकर्माको नाम उहाँको गृहजिल्ला सुनसरीको कुनै पनि निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिसमा पर्न सकेन । काङ्गे्रसका पुराना नेता शेषनाथ अधिकारी चितवनको कुनै पनि क्षेत्रबाट सिफारिसमा पर्न सक्नुभएन । राष्ट्रपति डा. रामवरण यादवका प्रिय पुत्र डा. चन्द्रमोहनलाई पनि धुनषामा निषेध गरिएको छ । डा. रामवरण यादवको क्षेत्र (५) मा यसअघिको निर्वाचनमा उम्मेदवार बनाइएका चन्द्रमोहन त्यसबेला पराजित भएका थिए । यसपटक उनलाई उम्मेदवारका रूपमा जिल्ला र क्षेत्रले सिफारिससमेत गरेन । अर्थविद् एवम् नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर डा. तिलक रावल बर्दिया क्षेत्र नम्बर तीनबाट सिफारिसमा पर्नुभएको छ भने पूर्वअर्थसचिव रामेश्वर खनाललाई क्षेत्रले सिफारिस नगरे पनि जिल्ला कार्यसमितिले पार्टी केन्द्रीय समितिलाई खनालबारे निर्णय लिन आग्रह गरेको छ ।

रामबहादुर बने उदाहरण
हरेक अवसर आफैँले पाउनुपर्छ भन्ने प्रवृत्तिले नेपाली राजनीतिलाई गाँजिरहेका बेला लमजुङ काङ्गे्रसका नेता रामबहादुर गुरुङले उदारताको नयाँ दृष्टान्त प्रस्तुत गरेका छन् । ०४८, ०५१ र ०५६ का आमनिर्वाचनमा विजयी भएर तीनपटक राज्यमन्त्रीसमेत बनिसकेका नेता गुरुङ यसपटक लमजुङको दुवै क्षेत्रबाट उम्मेदवार बन्न चाहेनन् र समानुपातिकतर्फ पनि सिफारिसमा पर्ने चाहना राखेनन् । उम्मेदवार चयनका निम्ति लमजुङ काङ्गे्रसले औपचारिक पहल सुरु गरेपछि आफ्ना साथीहरूलाई सन्देश पठाउँदै गुरुङले भने, ‘काङ्गे्रसमा काम गरेर मैले देशमा केही गर्ने मौका पाएँ । पटकपटक मैले मात्रै खानुभएन भन्ने मलाई लागेको छ, अब नयाँ मानिसले मौका पाउनुपर्छ, यसपटक म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवार बन्न चाहन्न, नयाँ साथीहरूले मौका पाऊन् ।’ गुरुङकै आग्रहका कारण यसपटक लमजुङबाट उनको नाम सिफारिस भएन । यसरी रामबहादुर गुरुङले नयाँ पुस्तालाई मौका दिन आफू पछि हटिरहेका बेला अर्का पुराना नेता दिलबहादुर घर्ती भने बेग्लै रूपमा प्रस्तुत भए । लमजुङको २ नम्बर क्षेत्रलाई आफ्नो कर्मथलो ठान्ने घर्तीको स्थानीय जनता र कार्यकर्तासँग सम्पर्क पूरै टुटेको भए पनि उनले प्रत्यक्षतर्फ पुन: उम्मेदवार बन्ने लोभ त्याग्न सकेनन् । यो क्षेत्रबाट अधिकांश गाउँ समितिले घर्तीलाई समानुपातिकतर्फको उम्मेदवार बन्न गरेको आग्रहलाई उनले टेरेनन् र प्रत्यक्षतर्फकै उम्मेदवार बन्ने इच्छा जाहेर गरे । केही नलागेपछि घर्तीको पनि नाम लमजुङ २ बाट उम्मेदवारका रूपमा सिफारिस भएको छ । काङ्गे्रस कार्यकर्ता, क्षेत्रीय र गाउँ समितिका पदाधिकारी एवम् सदस्यहरूको चाहनाबमोजिम २ नम्बर क्षेत्रबाट युवा नेता गमप्रसाद गुरुङको नाम प्राथमिकतामा राखेर सिफारिस भएको छ । भनिन्छ, सो क्षेत्रबाट काङ्गे्रसलाई विजयी गराउन सक्ने एकमात्र व्यक्ति गमप्रसाद गुरुङ हुन् । लमजुङ २ नम्बर क्षेत्रबाट गमप्रसादसँगै दिलबहादुर घर्ती, कृष्णप्रसाद कोइराला, चन्द्रबहादुर कुँवर, रमेश पाण्डे र लक्ष्मीकान्त पौडेलको नाम पनि प्रत्यक्षतर्फ सिफारिसमा परेको छ । एक नम्बर क्षेत्रमा विष्णु धिताल, शंकरकान्त जोशी, तुल्सीनारायण श्रेष्ठ, टकराज गुरुङ, गर्जबहादुर गुरुङ, खुसीमान गुरुङ, गोविन्द धिताल र डिकेन्द्र कँडेलको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । प्रस्तुत उम्मेदवारमध्ये योग्यता र क्षमताका दृष्टिले आपसमा ठूलो अन्तर भए पनि त्यहाँ विष्णु धिताललाई बलियो उम्मेदवारका रूपमा लिइन्छ । धिताललाई उम्मेदवार बनाइएमा काङ्गे्रस विजयी बन्न सक्ने विश्वास स्थानीय जनताले गरेका छन् ।

राजदूतको प्रतिबद्धता
नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारतले नेपालमा जारी सङ्क्रमणकालको अन्त्य गरी आर्थिक विकासको बाटोमा छिट्टै अघि बढेको हेर्न चाहेको र त्यसका लागि नेपाललाई आवश्यक सहयोग गर्नसमेत तत्पर रहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा राजदूत रेले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन र आपसी सहयोग एवम् समझदारी अभिवृद्धि गर्न आफू प्रतिबद्ध रहेको जनाउनुभयो । हालै मात्र नेपालका लागि नयाँ राजदूतको रूपमा नेपाल आउनुभएका रेले हिजो मंगलबार बिहान पूर्वप्रधानमन्त्री नेपालको निजी निवास कोटेश्वरमा शिष्टाचार भेट गर्नुभएको हो ।
भेटका अवसरमा उहाँहरूबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, आसन्न संविधानसभाको निर्वाचन तथा नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको बुझिएको छ । पूर्वप्रधानमन्त्री नेपालले नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हाल्नुभएकोमा रेलाई हार्दिक बधाईका साथ कार्यकालको सफलताको शुभकामना दिँदै कुराकानी आरम्भ गर्नुभएको थियो । नेपाल र भारतबीचका द्विपक्षीय हितका विविध विषयमा चर्चा गर्दै उहाँले भएका सहमतिअनुरूप विकासका परियोजनालाई अगाडि बढाउन रेको महत्वपूर्ण पहलकदमीको अपेक्षा गर्नुका साथै सीमा क्षेत्रलगायत अन्य क्षेत्रमा देखिएका समस्याको सम्बोधन जरुरी रहेको र यसलाई द्विपक्षीय छलफलद्वारा निर्माण हुने समझदारीका आधारमा हल गर्नुपर्ने कुरा उल्लेख गर्नुभएको थियो । उहाँले नेपालमा दलहरूबीच विकसित समझदारी तथा संविधानसभाको आसन्न निर्वाचनको तयारीका सन्दर्भमा भएका प्रयत्नहरूबारे जानकारी गराउँदै राजदूत रेको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्धले थप उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रत्युत्तरमा भारतीय राजदूत रेले आफ्नो स्वागतका लागि नेता नेपाललाई धन्यवाद ज्ञापन गर्दै नेपालमा राजदूतको रूपमा काम गर्न आउँदा आफू अत्यन्तै खुसी एवम् उत्साहित भएको बताउनुभएको बुझिएको छ । उहाँले पूर्वप्रधानमन्त्री नेपालले हालै सम्पन्न गर्नुभएको भारत भ्रमण अत्यन्तै सकारात्मक एवम् सफल रहेको कुरा स्मरण गर्दै नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउन नेता नेपालले निर्वाह गर्नुभएको भूमिकाको समेत प्रशंसा गर्नुभयो । दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन र आपसी सहयोग एवम् समझदारी अभिवृद्धि गर्न आफू प्रतिबद्ध रहेकोसमेत उहाँले व्यक्त गर्नुभएको बताइएको छ ।

संसदीय बोर्डले पूर्णता नपाए पनि उम्मेदवार चयन हुने
उम्मेदवारहरूको सिफारिस भई देशका सबैजसो क्षेत्रबाट पार्टी केन्द्रमा प्रतिवेदन आइसकेको भए पनि नेपाली काङ्गे्रसको उम्मेदवार चयन गर्ने संसदीय बोर्डले पूर्णता नपाउँदा पार्टीका प्रमुख नेताहरूको निवासस्थानमा थामिनसक्नुको भीड लाग्न थालेको छ । संसदीय बोर्ड गठन भएको भए प्रमुख नेताहरू कहाँ लाग्ने भीड बाँडिने निश्चित थियो । बोर्ड गठनमा भएको ढिलाइले प्रमुख नेताहरू सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवाको निवासस्थानमा दिनहुँ हजारौँ टिकटार्थीहरूको ‘मेला’ लाग्ने गरेको छ । काङ्गे्रस संसदीय बोर्डमा पदाधिकारीबाहेक केही सदस्यसमेत गरी एघारजनासम्म रहने प्रावधान छ । यसअनुसार सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा कोषाध्यक्ष चित्रलेखा यादव संसदीय बोर्डमा रहनुहुने निश्चित छ । मूल पदमध्ये सहमहामन्त्री पद रिक्त रहेकोले केन्द्रीय समितिका वरिष्ठ सदस्यहरूमध्ये कसैले उक्त स्थान पाउने बुझिएको छ । सहमहामन्त्री चयन गर्न वरिष्ठ नेता शेरबहादुर देउवासँग सभापति कोइरालाले महिनौँअघि नाम माग्नुभएको भए पनि देउवाले नाम दिन नसक्नुभएकोले उक्त पद अहिलेसम्म रिक्त रहन पुगेको हो । महामन्त्रीका लागि सम्भावित मानिएका नेताहरू पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीमध्ये एकको नाम सिफारिस गर्दा त्यसले आफैँलाई नकारात्मक असर गर्ने भएकोले देउवाबाट सहमहामन्त्रीमा कसैको पनि नाम सिफारिस नगरिएको बताइन्छ । बोर्डमा कुलबहादुर गुरुङ, डा. रामशरण महत, गोपालमान श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, डा. शशांक कोइराला, डा. शेखर कोइराला र अर्जुननरसिंह केसीमध्येबाट मनोनयन हुनसक्ने अनुमान गरिए पनि त्यससम्बन्धी प्रक्रिया नै सुरु नभएकोले निर्वाचनअघि बोर्डले पूर्णता पाउनेमा आशङ्का छ । स्वत: बोर्डमा सदस्य रहेका पदाधिकारी तथा वरिष्ठ नेता शेरबहादुर देउवासमेतको संलग्नतामा उम्मेदवार चयन गरिने सम्भावना रहेको एकथरीको अनुमान छ भने उम्मेदवार चयन गर्नुभन्दा केहीअघि मात्र बोर्डलाई पूर्णता दिइनसक्ने सम्भावना पनि रहेको छ । यसअघि बोर्डमा रिक्त ६ मध्ये चार स्थानमा देउवाले दाबी गर्दै आउनुभएको थियो भने संस्थापन पक्ष बढीमा तीन सदस्य मात्र देउवालाई दिन तयार भएको थियो ।
आगामी निर्वाचन कसको नेतृत्वमा लड्ने भन्ने विषयलाई पनि छलफलमा ल्याउने चाहना देउवा पक्षले राखेको बुझिन्छ । सभापति सुशील कोइराला आफैँ चुनावी अभियानको समेत नेतृत्व गर्न तयार हुनुभएकोले देउवाको उक्त चाहना पूरा हुन नसक्ने देखिएको छ ।

मीनेन्द्र कि महेश ?
नेपाली काङ्गे्रसका लोकप्रिय नेता डा. मीनेन्द्र रिजाल र पूर्वअर्थमन्त्री महेश आचार्यको नाम मोरङको एउटै निर्वाचन क्षेत्रबाट सिफारिस भएपछि उक्त क्षेत्रबाट कसले टिकट पाउलान् भन्ने रोचक जिज्ञाशा पैदा भएको छ । गिरिजाप्रसाद कोइरालाको शासनकालमा भारी अवसरबाट सुसज्जित महेश आचार्य पछिल्लो एक दशकमा पार्टी र जनताका कामहरूप्रति उदासीन रहेको र पार्टी काममा भन्दा साईभक्तिमा धेरै समय लगाउन थालेकोले मोरङ ६ नं. क्षेत्रका काङ्गे्रस कार्यकर्ताहरू योग्य नेताको खोजीमा थिए । यस क्रममा युवा नेता डा. रिजालले प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तत्परता लिनुभएपछि स्थानीय कार्यकर्ता र जनतामा नयाँ उत्साह थपिएको छ । यसअघिको निर्वाचनमा सो क्षेत्रबाट महेश आचार्य उम्मेदवार बन्नुभएको थियो भने डा. मीनेन्द्र रिजाल समानुपातिकतर्फबाट सभासद् हुनुभएको थियो । यसपटक महेश आचार्य समानुपातिकतर्फबाट उम्मेदवार बनी राष्ट्रिय चुनाव अभियानमा सरिक हुनुभए त्यसबाट पार्टीले ठूलो लाभ हासिल गर्ने र डा. रिजाल प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएमा पार्टीले चुनाव जित्ने विश्वास स्थानीय नेता–कार्यकर्ताहरूले गरेका छन् । स्थानीय जनताको भावना र पार्टीको आवश्यकतालाई दृष्टिगत गरी नेतृत्वले तत्कालै यस सम्बन्धमा उपयुक्त निर्णय लिन सके अन्योल समाप्त हुने र पार्टी लाभान्वित हुने विश्वास गरिएको छ ।

काठमाडौं क्षेत्र नं. दुईले राख्यो बेग्लै कीर्तिमान !
उम्मेदवारहरूको सिफारिस गर्ने क्रममा काठमाडौं जिल्ला क्षेत्र नंं. दुईले अनौठो कीर्तिमान कायम गरेको छ । गत १८ गते क्षेत्रीय कार्यसमितिले स्थानीय समितिहरूको समेत रायसल्लाह लिई प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी जिल्ला कार्यसमितिमा प्रतिवेदन बुझाएर सञ्चारमाध्यमलाई समेत जानकारी गराएको थियो । निर्णयअनुसार दीपकप्रसाद कुइँकेल, उपेन्द्र कार्की, लोकेश ढकाल, हरिश्चन्द्र श्रेष्ठ, अर्जुन पराजुली र जयराम पुडासैनी प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका थिए । त्यसैगरी समानुपातिकतर्फ राजाभाइ श्रेष्ठ, प्रदीप पराजुली, जीवनाथ दङ्गाल, शिवप्रसाद घिमिरे, शंकर मल्ल ठकुरी, गोविन्दप्रसाद गजुरेल, लक्ष्मी थापा, गीता कोइराला, उर्मिला आचार्य र कान्छाबहादुर दुलालको नाम सिफारिस गरिएको थियो । तर, त्यसको पर्सिपल्ट भदौ २० गते क्षेत्रीय कार्यसमितिका अध्यक्ष उपेन्द्र कार्कीले कृत्रिम बैठक रची बेग्लै ढाँचाको नामावली तयार गरेर छुट्टै प्रतिवेदन जिल्लामा बुझाएका छन् । सो कृत्रिम बैठकले प्रत्यक्षतर्फ सिफारिसमा परेका लोकप्रिय युवा नेता अर्जुन पराजुलीको मात्र नाम हटाएको बुझिएको छ । क्षेत्रका नौवटा एकाइको रोजाइमा परेका अर्जुन पराजुलीको नाम हटाई समानुपातिकतर्फ अठारजनाको नाम सिफारिस गरेपछि युवा नेता पराजुलीले पार्टीको माथिल्लो निकायमा उजुरी दिनुभएको बुझिएको छ ।

सप्तरीमा काङ्गे्रसको पल्ला भारी
प्रजातान्त्रिक शक्तिको बलियो किल्ला मानिने सप्तरी जिल्लामा काङ्गे्रसले सम्भावित उम्मेदवार सिफारिसको कार्य कुशलतापूर्वक सम्पन्न गरेको छ । जिल्लाका ६ निर्वाचन क्षेत्रमध्ये चारवटामा काङ्गे्रसको स्थिति सुदृढ मानिन्छ भने चार र ६ नम्बर निर्वाचन क्षेत्रमा तीव्र प्रतिस्पर्धाको स्थिति रहेको छ । काङ्गे्रसले क्षेत्र नम्बर एकमा प्रत्यक्षतर्फ हेमनारायण चौधरी, आशाराम चौधरी र वैजनाथ साहको नाम सिफारिस गरेको छ भने क्षेत्र नं. २ मा बद्रीमहात्मा यादव र रामदेव साहलगायतको नाम अगाडि ल्याएको छ । त्यसैगरी क्षेत्र नं. तीनमा रामकुमार यादव, गुलाव अन्सारी र धु्रवदेव, चार नं. क्षेत्रमा दिनेश यादव, पवनप्रसाद सिंह र शिवनारायण चौधरी, पाँच नं. क्षेत्रमा श्रीप्रसाद राउत, मुक्तिनाथ चौधरी र तेजुलाल चौधरी तथा छ नंं. क्षेत्रमा सुरेन्द्र यादव, रमु यादव र धु्रवनारायण चौधरीको नाम सिफारिस भएको छ । काङ्गे्रसका निम्ति सर्वाधिक सुरक्षित मानिएका पाँच, तीन, एक र दुई नं. क्षेत्रमध्ये तीनका रामकुकमार यादव र पाँचका श्रीप्रसाद राउत सबभन्दा बलिया उम्मेदवारका रूपमा देखापरेका छन् । पाँच नं. क्षेत्रमा फोरम लोकतान्त्रिकले छेदीलाल चौधरी, एमाओवादीले दानालाल चौधरी र एमालेले महेश चौधरीलाई उम्मेदवार बनाउने पक्कापक्की भइसकेको छ । सो क्षेत्रमा काङ्गे्रसले पनि चौधरीलाई नै उम्मेदवार बनाएको अवस्थामा भने चुनाव परिणाम अप्रत्यासित हुनसक्ने सम्भावना रहेको छ । त्यसैगरी क्षेत्र नं. तीनमा रामकुमार यादवबाहेक अरू कसैले उम्मेदवारी पाएमा काङ्गे्रसका निम्ति प्रत्युपादक हुनसक्ने अनुमान स्थानीय काङ्गे्रस कार्यकर्ताहरूले गरेका छन् ।

कसले गर्दै छ गोरखामा डा. भट्टराईको सामना ?
गोरखा/ आगामी मङ्सिर ४ गते हुने भनिएको संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा यतिबेला टोलटोलमा उम्मेदवारकै चर्चा सुनिन्छ । सभासद् हुनका लागि यतिबेला केन्द्रीय नेतादेखि जिल्ला तथा क्षेत्रीय नेताहरूलाई समेत निद्रा पर्न छोडेको छ । नेताहरूमा सबै कुरा त्यागेर भए पनि सभासद्को टिकट पाउने आशा छ, त्यहीअनुरूप नेताहरूले आन्तरिक तयारीसमेत गर्न थालेका छन् ।
जिल्लामा अन्तरपार्टीबीच हुने चुनावी प्रतिस्पर्धा त छँदै छ तर कतिपय पार्टीमा टिकटका लागि नै अन्तरप्रतिस्पर्धासमेत हुने गरेको पाइएको छ । पछिल्लो समय प्राय: सबै पार्टीमा पुराना नेतासँगै सभासद् उम्मेदवारका लागि युवा पुस्ताले पनि चासो देखाएको पाइएको छ ।
तीनवटा निर्वाचन क्षेत्र रहेको गोरखाबाट यसअघिको निर्वाचनमा एमाओवादीले तीनै क्षेत्रबाट विजय प्राप्त गरेको थियो । तर, यसपटक भने तीनै राजनीतिक दल एमाओवादी, काङ्ग्रेस र एमाले सबैले तीनैवटा निर्वाचन क्षेत्रबाट विजय प्राप्त गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिन थालेका छन् । यसअघिको निर्वाचनमा तीनैवटा निर्वाचन क्षेत्रबाट हार व्यहोरेका काङ्ग्रेस र एमाले चुनाव जित्न सक्ने उम्मेदवारको खोजीमा भौँतारिरहेका छन् ।
एनेकपा माओवादीले एमाले र काङ्ग्रेसलाई पराजय गराउने गरी क्षेत्र नम्बर १ बाट हरि अधिकारी, लेखबहादुर थापामगर, हितमान सुर्खेती, भगवती तिवारी र यानप्रसाद भट्टको नाम सिफारिस गरेको छ । त्यस्तैगरी क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चूडामणि खड्का र कमला नहर्कीको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर ३ बाट कृष्ण धिताल, अमर तमु, सुशीला सिंखडा, लोकप्रसाद बन्जरा र छमबहादुर तमुको नाम सिफारिस गरेर पठाएको माओवादी स्रोतले जनाएको छ ।
गोरखामा अघिल्लो निर्वाचनमा बाहेक अन्य चुनावमा पराजय नव्यहोरेको नेपाली काङ्ग्रेस तीनवटै क्षेत्रबाट एमाओवादीलाई हराएर चुनाव जित्ने खेलमा लागेको बताइएको छ । त्यसैले क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसले प्रत्यक्षतर्फ ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ, जीवनप्रेम श्रेष्ठ, जनार्दन अर्याल, हरि गान्धारी, रेशम गुरुङ, भूगोल थापा र विश्वदेव श्रेष्ठको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ अलिउल्लाह मियाँ, मीरा पाण्डे, टीका श्रेष्ठ, चेतबहादुर रानामगर रहेका छन् ।
क्षेत्र क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ एमाओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उठ्ने लगभग पक्कापक्की भइसकेको अवस्थामा काङ्ग्रेसबाट जसले प्रत्यक्षतर्फ बाजी मार्छ उसले डा. भट्टराईको सामना गर्नुपर्नेछ । भट्टराईको सामना गर्न प्रत्यक्षतर्फ केन्द्रीय सदस्यद्वय कमला पन्त र सुरेन्द्रराज पाण्डे, रविकला खनाल, फणीन्द्रप्रसाद धिताल, मोहन पोखरेल, चेतमान श्रेष्ठ, सीपी पोखरेल, प्रदीपबाबु ढकाल र टीकादत्त पोखरेलको नाम सिफारिस गरेको छ । साथै समानुपातिकतर्फ अघिल्लो चुनावमा भट्टराईसँगको प्रतिस्पर्धामा पराजय व्यहोरेका चन्द्रप्रसाद न्यौपाने, मनकुमारी गुरुङ, अम्बिका न्यौपाने, ईश्वर परियारको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फको उम्मेदवारको सिफारिस गर्ने क्रममा क्षेत्र नं. ३ बाट नेपाली काङ्ग्रेस गोरखाका सभापति हरिबहादुर घले, ठाकुरप्रसाद पुडासैनी, बुद्धिप्रसाद श्रेष्ठ, डिल्लीराम तिमिल्सिना, राजेन्द्र बजगाईं, सन्तबहादुर गुरुङ (सन्तोष), डा. टीकाप्रसाद पोखरेल, कृष्णप्रसाद भट्ट, कृष्णबहादुर बानियाँ, जीवनराज वन्तको नाम सिफारिस गरेको छ । यीमध्ये क्षेत्र नम्बर ३ मा कार्यकर्ताको माया र सामाजिक कार्यमा भिजेका नेताका रूपमा गोरखाका सभापति हरिबहादुर घले, महाधिवेशन प्रतिनिधि ठाकुरप्रसाद पुडासैनी, बुद्धिप्रसाद श्रेष्ठ र कृष्णप्रसाद भट्ट रहेका छन् । यसैगरी क्षेत्र नं. ३ को समानुपातिकतर्फका लागि चिनकाजी श्रेष्ठ, भरतप्रसाद भट्ट, जगतबहादुर बरामल, युवराज बस्ताकोटीलगायतको नाम सिफारिस गरेको जनाइएको छ ।
त्यस्तै नेकपा एमालेले पनि आफ्नो चुनावी मैदानलाई फराकिलो बनाउँदै अघि बढेको छ । क्षेत्र नम्बर १ बाट एमालेले प्रत्यक्षतर्फ रामशरण बस्नेत, बाबुराम थापा र सानुमाया बस्नेतको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ बाट हरि काफ्ले, बाबुराम अधिकारी र पूर्णाकुमारी देवकोटा तथा क्षेत्र नम्बर ३ बाट कृष्ण नेपाली, तेजबहादुर धमला र शर्मिला वन्तको नाम सिफारिस गरी क्षेत्रीय कमिटीमा पठाएको एमाले जिल्ला अध्यक्ष रामशरण बस्नेतले बताए । यसैगरी नेकपा एमालेले समानुपातिक उम्मेदवारका लागि तीनवटै निर्वाचन क्षेत्रबाट ५/५ जनाको नाम पठाएको छ ।

डा. प्याकु-याल पुरस्कृत
प्रजातान्त्रिक प्राध्यापक सङ्घ नेपालकी उपसभापति एवम् त्रिवि कीर्तिपुर सङ्गीत विषयकी सहप्राध्यापक डा. ज्योति भण्डारी प्याकु-याल वि.सं. २०७० को विद्याभूषण तथा शिक्षा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । काठमाडौं उपत्यकाको आदिवासी जनजाति नेवारहरूको पर्व–सङ्गीत तथा संस्कृतिको सर्भेक्षणात्मक सङ्गीतमा विद्यावारिधि गर्नुभएकी डा. प्याकु-याललाई सरकारले बिर्संदै गएको संस्कृति–सम्पदाबारे शोध गरी उत्थानमा महत्वपूर्ण कार्य गरेकोमा पुरस्कृत गरिएको बताइएको छ ।

कालजयी गीत गायकको महाप्रस्थान
ठिक एक वर्षअघि वरिष्ठ गायक गायक फत्तेमानले कुराकानीका क्रममा भन्नुभएको थियो– ‘आयु जति छोटिँदै जान्छ म उति नै रमाइलो गर्दै जानेछु, सबैले फत्तेमान बूढो भो भनेको सुन्छु, तर म आफूलाई जवानै भएको देखाउन चाहन्छु । उमेर बूढो हुँदैमा केही फरक पर्दैन ।’
कालजयी गीतहरु गाएर नेपाली संगीत क्षेत्रलाई समृद्ध बनाउन अतुलनीय भूमिका निर्वाह गर्नुभएका र ७७ वर्षको उमेरमा पनि आफूलाई जवान ठान्दै गीत–संगीतकै लागि मरिमेटेका फत्तेमान राजभण्डारी अब हामीमाझ रहनुभएन । फोक्सोको क्यान्सरबाट थलिनुभएका उहाँको मंगलबार बजे चाबहिलस्थित ओम अस्पतालमा निधन भएको छ ।
चार सयभन्दा बढी गीतमा स्वर र संगीत दिएर असंख्य नेपाली गीत–संगीतप्रेमीका हृदयमा अमीट स्थान बनाएका फत्तेमान बिरहका गीतका लागि बढ्ता चिनिनुभए पनि उहाँ जहिल्यै पनि रमाइलो मुडमा रहनुहुन्थ्यो । उमेरले बुढो हुँदा पनि सांगीतिक हिसाबले तरुनै छु भन्ने जिउँदा दिलका गायकको भौतिक शरिर हामी माझ नरहे पनि आफ्ना अजरअमर सांगीतिक सिर्जनासँगै उहाँ करोडौँ नेपालीको हृदयमा बाँचिरहनुहुने छ । हाम्रो हार्दिक श्रद्धाञ्जली ।

कोसीको बाढी–पहिरोले धनकुटामा व्यापक क्षति
धनकुटा/ अविरल वर्षापछि गत साता शुक्रबार साँझ गएको पहिरोले धनकुटाका तीन गाविसमा गरी २५ वटा घर बगाएको छ भने दुई दर्जन घर अझै पहिरोको जोखिममा छन् । पहिरोले बगाएर बुढीमोरङ गाविस–८ तेम्वाङकी ३५ वर्षीया थममाया राई गम्भीर घाइते भएकी छिन् । उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको बुझिएको छ । जिल्लाको बुढीमोरङ, महाभारत र भेडेटार गाविसमा कोसी राजमार्गछेउका घरहरू पहिरोले बगाएको हो । गर्जुवा, घन्टे र खराने खोलाछेउका घर बगाएको प्रहरीले जनाएको छ । पहिरोले घर बगाउँदा एक सय ५० जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । उनीहरूलाई खान र बस्नकै समस्या भएको छ । शुक्रबार साँझ अचानक पहिरो झरेपछि कोसी राजमार्गछेउ भएर बग्ने नदीकिनारका स्थानीयहरू ज्यान जोगाएर भागेका थिए ।
पहिरोले महाभारत गाविस–४ का गोरखमान राई, उपेन्द्र यादव, लीला मगर, सीताराम दास, महेश राई, पुष्पलाल राई, जस्तमान राई, बालिक राई, बली राई, दीपक राई, विकास राईको घर बगाएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष उपाध्यायले जानकारी दिए । यस्तै घन्टेस्थित नीलकुमार राई, वासु राई, थामेश्वर राई र फूलमाया लिम्बूको घर पनि पहिरोले बगाएको छ । यसैगरी भेडेटार गाविस– ३ सिम्सुवास्थित महिला विकास केन्द्र र तरकारी सङ्कलन केन्द्रको भवन पनि पहिरोले बगाएको सशस्त्र प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिए ।
यस्तै, मुसलधारे वर्षात्पछि धनकुटा जिल्लाको लेउतीखोलामा आएको बाढीले पाँच सय मिटर सडक बगाएको छ भने धनकुटा जिल्ला सीधा सडक सम्पर्कबाट विच्छेद भएको छ । बाढीले कोसी राजमार्गको लाबरबोटेमा सडक बगाएको हो । खोलामा ठूलो बाढी आइरहेकाले सडक निर्माण गरी यातायात खुलाउन नसकेको धनकुटाका प्रमुख जिल्ला अधिकारी रामेश्वर दंगालले बताउनुभयो । सडक भत्किएकाले मान्छेहरूलाई आवतजावत गर्नसमेत समस्या भएको छ । सुरक्षाकर्मीले जङ्गल र भिरालो ठाउँमा डोरीको सहयोगले मान्छेहरूलाई आवतजावतको व्यवस्था मिलाएका छन् । तर, यो अस्थायी र जोखिम रहेको सुरक्षाकर्मीहरूले बताएका छन् ।
घटनाको भोलिपल्ट बिहानै घटनास्थलमा पुगेका प्रजिअ दंगाल, जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराई र सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सुदर्शन कार्की घटनास्थलको निरीक्षण गरेर फर्केका छन् । सडक खुलाउन अझै केही दिन लाग्न सक्ने सडक डिभिजन कार्यालयका निमित्त प्रमुख कार्कीले बताए । लेउतीखोला किनारमा रहेको मूलघाटदेखि घन्टेखोलासम्मको करिब तीन किलोमिटर सडकमा पहिरोले पुरेर अवरुद्ध भएको छ । राजमार्गको दर्जनभन्दा धेरै ठाउँ पहिरो झरेको छ । साँझ एकैपटक पहिरो झरेकाले एक दर्जन गाडीबीच सडकमै रोकिए । पहिरोले पुरिने डरले यात्रु र सवारी चालकहरू सुरक्षित स्थानमा गएर बसेको गाडीमा यात्रा गरिरहेका यात्रुहरूले बताए ।
गाडी छाडेर हिँडेका यात्रु र चालक जङ्गलमा बास बस्नुपरेको थियो । ती यात्रुहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षित स्थानमा पुग्न सहयोग गरेका थिए । सडकमा झरेको पहिरो डोजरले पहिरो फाल्ने कार्य थाले पनि तेल सकिएकाले काम हुन सकेको छैन । सडक भत्किएपछि यात्रु, तरकारी र अन्य सामग्री लिएर गएका सयौँ गाडी मूलघाट, घन्टेखोला र सिम्सुवामा रोकिएका छन् । सडक नखुले करोडाँै रुपैयाँको तरकारी कुहिने अवस्था रहेको छ । धनकुटाबाट दैनिक ५० लाखबराबारको तरकारी निकासी हुँदै आएको छ । शुक्रबार धनकुटाबाट लैजाँदै गरेको दूध फाटेपछि कामधेनु डेरीले चार हजार लिटर दूध सडकमा पोखाएको छ ।
सडक भत्किएपछि अवरुद्ध भएको कोसी पहाडी क्षेत्रको विद्युत् सेवा र धनकुटाको टेलिफोन र मोबाइल सेवा साँझदेखि सुचारु भएको छ । त्यस्तै लेउती खोलामा आएको बाढीले सिम्सुवा र लेउतीटार जोड्ने झोलुङ्गे पुल निर्माणका लागि ल्याइएको १७ लाखभन्दा बढीको सामग्रीसमेत बगाएको छ । सिम्सुवामा रहेको तरकारी सङ्कलन केन्द्र र महिला विकास केन्द्रको भवनसमेत बाढीले बगाएको स्थानीयवासीले बताए ।

एमाले धनकुटाका उम्मेदवार नाम सिफारिस
संविधानसभाको निर्वाचनका लागि धनकुटाबाट नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ । धनकुटा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ टीकाराम चेम्जोङ, दुर्गा लिंखा र विना राईको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ निरन राई, जिपप्रसाद पोखरेल, चिन्तन तामाङ, मानबहादुर चेम्जोङ र यज्ञकुमारी रुचालको नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ राजेन्द्र राई, इन्द्रमणि पराजुली र मधुमालती श्रेष्ठ र समानुपातिकतर्फ पूर्वकानुनसचिव उदय नेपाली श्रेष्ठ, चन्द्र बस्नेत, बंगला राई, डिल्लीश्वर दर्नाल, दिलबहादुर राई र दीपक बुढाथोकीको नाम पठाइएको छ । अघिल्लो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा लडेका धर्मराज पौडेल र पूर्वसांसद गोपाल गुरागार्इं भने सिफारिसमा परेनन् ।

सीतापाइलामा शुभेक्षाको सेवा
राजधानीको सीतापाइला चोकमा रहेको शुभेक्षा हस्पिटलमा अर्थोस्कोपी सर्जरी सुरु भएकोे छ । उच्च प्रविधिबाट गरिने हाडजोर्नी शल्यक्रियाहरूमध्ये जोर्नीभित्र दूरबिन प्रयोग गरेर गर्ने शल्यक्रियालाई चिकित्सकीय भाषामा अर्थोस्कोपी सर्जरी भनिन्छ । उक्त विधिबाट जोर्नीभित्रका हड्डी खिइने, कुरकुरे हड्डीको समस्या, जोर्नीभित्रका मासु, लिगामेन्टहरूको समस्या, जोर्नी इन्फेक्सनलगायत हड्डीसम्बन्धी समस्यालाई विशेष उपकरण प्रयोग गरी स–साना प्वाल बनाएर दूरबिनको माध्यमबाट उपचार गरिन्छ । यसबाट बिरामीको घाउ चाँडो र राम्रोसँग निको हुने हुनाल बिरामीको अस्पताल बसाइ अत्यन्त कम हुने यस प्रविधिबाट मानव शरीरको घँुडा, कुमको जोर्नी, एङ्कल (गोलीगाँठा), कुर्कुुच्चा, हिप (कम्मर), कुहिनाको जोर्नीजस्ता भागमा शल्यक्रियाको सेवा उपलब्ध हुँदै आएको हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रूपेशकुमार वैद्यले जानकारी गराउनुभयो ।
यसबाहेक शुभेक्षा हस्पिटलले दूरबिनबाट गरिने अन्य शल्यक्रियाहरू ल्याप्रोस्कोपिक र इन्डोयुरो शल्यक्रिया पनि सुरु गर्दै छ । अस्पताललाई व्यावसायिकभन्दा पनि सेवामुखी भावनाबाट सञ्चालन गर्ने तथा सर्वसाधारणको हितप्रति विशेष ध्यान केन्द्रित रहेकाले आमजनताको पहुँच पुग्नेगरी सुपथ मूल्यमा आईसीयू, वार्ड, आकस्मिक सेवा, प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्स रे, फिजियोथेरापी, दन्त सेवा तथा सम्पूर्ण विशेषज्ञ सेवाहरू दिँदै आइरहेको उल्लेख गर्दै अन्य अस्पतालको दाँजोमा सस्तो र सुलभ रहेको दाबी अस्पतालका मेडिकल डाइरेक्टर डा. अञ्जना शाक्यले जानकारी गराउनुभयो ।
यसका साथै सम्पूर्ण हाडजोर्नी तथा नसा रोगसम्बन्धी, स्त्री तथा प्रसूतिसम्बन्धी शल्यक्रिया र जनरल सर्जरीका सम्पूर्ण सेवाहरूसमेत दिँदै आएको शुभेक्षा अस्पतालले जनाएको छ । हाल यस अस्पतालले क्यान्सर रोगसम्बन्धी विशेषज्ञद्वाराकेमोथेरापी सेवाका साथै इण्डोक्रिनोलोजी सेवा पनि विस्तार गरेको छ ।

हाब्रेको छाला तस्करी गर्ने ६ जना पक्राउ
दुर्लभ जनावर हाब्रे अर्थात् रेडपाण्डाको छाला तस्करी गर्ने गिरोहका सदस्यलाई केन्द्रीय अनुसन्धान ब्युरोले यसै साता पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी स्थायी घर भएका ३५ वर्षीय सिंहबहादुर तामाङ, ३८ वर्षीय अक्कलबहादुर खम्बा, काभ्रेपलाञ्चोक जिल्ला घर भएका ४१ वर्षीय रामसुन्दर थापा, गोरखा घर भएका ५४ वर्षीय मीनबहादुर थापा र नुवाकोट घर भएका ६२ वर्षीय राधाकृष्ण पाण्डे रहेका छन् । प्रहरीले उनीहरूलाई सामाखुसीबाट तीन थान हाब्रेको छालासहित पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका व्यक्तिहरूको माध्यमबाट तस्करको गिरोहसम्म पुग्ने प्रयास भइरहेको सीआईबीले जनाएको छ । पक्राउ परेको व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा साइटिस महासन्धि १९७५ विरुद्धको अपराधमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ । यस्तो अपराध गर्नेलाई नेपालको कानुनमा पाँच वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाखसम्म जरिवाना गराउन सकिने प्रावधान छ ।

लागूऔषध ब्युरोद्वारा अस्ट्रियन नागरिक पक्राउ
लागूऔषध नियन्त्रण ब्युरोले नेपाललाई ट्रान्जिट बनाएर स्वीट्जरल्याण्ड लागूऔषध निर्यात गर्दै गरेको अवस्थामा एक अस्ट्रियन नागरिकलाई पक्राउ गरेको छ । गत २० गते एयर इन्डियाको फ्लाइट नं. २१६ को उडानद्वारा दिल्ली हुँदै स्वीट्जरल्याण्डको जुरिच जान लागेका पासपोर्ट नं. ५९७४९७४ वाहक वर्ष ५३ वर्षीय अस्ट्रियन नागरिक एङ्गेहोफेर लाउसलाई पक्राउ गरेको हो । प्रहरीले उसको साथबाट एक किलो एक सय ८० ग्राम लागूऔषध चरेस बरामद गरेको हो । उसलाई पहेँलो रंगको खामभित्र प्याक गरी सुट्केसमा लुकाइछिपाई अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानकक्षबाट बाहिर जाने क्रममा प्रस्थानकक्षमा शङ्का लागी चेक–जाँच गर्ने क्रममा प्रमाणसहित पक्राउ गरेको थियो ।

राजदूत रेको उपस्थितिमा बीपीका कृतिमाथि प्रवचन
बीपी कोइराला भारत–नेपाल फाउन्डेसन र नेपाली लेखक सङ्घको आयोजनामा गत सोमबार नेपाल–भारत पुस्तकालयमा ‘बीपी कोइराला प्रवचन माला’को प्रथम संस्करण आयोजना गरिएको छ ।
कार्यक्रममा भारतीय राजदूत रञ्जित रेले साहित्य र राजनीतिमा बीपी कोइरालाको योगदानबारे चर्चा गर्दै उहाँको विचार–दर्शन स्वतन्त्रता, मानवाधिकार र सामाजिक न्यायमा आधारित रहेको उल्लेख गर्नुभयो । बीपी कोइरालाको जीवनका कतिपय सन्दर्भबारे स्मरण गर्दै राजदूत रेले भन्नुभयो, ‘बीपीको घतलाग्दो पक्ष के हो भने उहाँको लेखाइमा राजनीतिको प्रभाव भेटिन्न । विद्रोही राजनीतिज्ञ भए तापनि समाजका स्थापित मूल्य–मान्यताका परिधिभित्र उहाँ बाँधिनुभएको प्रतीत हुन्थ्यो ।’
सोही अवसरमा प्रा.डा. जयराज आचार्यले बीपी कोइरालाको जीवन र कृतिहरूमाथि प्रवचन दिनुभयो । प्रा.डा. आचार्यले बीपीको साहित्यिक सीप र कौशलताबारे प्रकाश पार्दै उहाँका कृतिहरू मोदी आइन, एक रात, तीन घुम्ती, नरेन्द्रदाइ आदिमा सारगर्वित मन्तव्य दिनुभयो । उहाँले राजनीतिक योगदानबाट मात्र नभई साहित्यिक सिर्जनाबाट समेत बीपीले नेपाली समाजको उत्थानमा सहयोग पु-याएको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै प्राध्यापक गोविन्दराज भट्टराईले बीपीले आफ्नो जीवनका ६३ वर्षमा ३८ वर्ष भारतमा र २५ वर्ष नेपालमा बिताउनुभएको स्मरण गर्नुभयो । उहाँले बीपी कोइरालाको जन्मशताब्दी नेपाल, भारत, दक्षिण एसिया र युरोपका विभिन्न भागमा हरेक महिना यस वर्षभरि मनाइने जानकारीसमेत दिनुभयो । कार्यक्रम प्रा. आचार्य र श्रोताबीच अत्यन्तै उत्साहपूर्ण तथा उपलब्धिमूलक अन्तरक्रिया पनि भएको थियो ।

मित्रराष्ट्रको सहयोगमा प्रज्ञा–प्रतिष्ठानमा सुविधासम्पन्न पुस्तकालय
नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय भवन निर्माणका लागि मित्रराष्ट्र भारतले चार करोड ४१ लाख अनुदान सहयोग प्रदान गर्ने भएको छ । नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत प्राप्त हुने सो रकमबाट एकेडेमीको तीनतले पुस्तकालय भवन निर्माण हुनेछ । यससम्बन्धी सम्झौतापत्रमा यही भदौ ४ का दिन भारतीय राजदूतावास, शहरी विकास तथा भवन निर्माण समिति र नेपाल प्रज्ञा–प्रतिष्ठानबीच हस्ताक्षर भइसकेको छ ।
सन् १९५७ मा स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमार्फत भाषा, साहित्य, संस्कृति, दर्शन, अनुसन्धानको प्रवद्र्धनसहित सम्पूर्ण सांस्कृतिक तथा बौद्धिक क्षेत्रको विकासमा प्रतिबद्ध मुख्य राष्ट्रिय प्रतिष्ठान हो । यस प्रतिष्ठानमा अहिलेसम्म स्तरीय पुस्तकालय सुविधा छैन । भारत सरकारको सहयोगमा बन्ने नयाँ पुस्तकालय भवनले नेपालका अनुसन्धानकर्ता तथा शिक्षाविद्हरूलाई अनुसन्धान र सन्दर्भ पुस्तकमा अमूल्य योगदान गर्ने विश्वास लिइएको छ ।
पुस्तकालय निर्माण परियोजना सहरी विकास तथा भवन निर्माण समितिद्वारा नेपाल सरकारको विद्यमान नीति–नियमअनुसार कार्यान्वयन गरिनेछ र यी निकायहरू परियोजनाको गुणस्तरीयता र समयमै समापनका लागि समेत जिम्मेवार रहने सम्झौतापत्रमा उल्लेख छ । यस पुस्तकालयको अतिरिक्त भारतीय सहयोगमा काठमाडौंमा अन्य पाँच परियोजना सम्पन्न भइसकेका छन् । काठमाडौंमा चार करोड २७ लाख लागतमा १२ ओटा साना विकास परियोजना सुचारु हुनुका साथै विभिन्न संस्थालाई ३१ वटा एम्बुलेन्स, २६ वटा स्कुलबस र तीनव विशेष मेडिकल भ्यानसमेत उपहारस्वरूप प्रदान गरिएको छ भने एक करोड ६० लाखको अनुमानित लागतमा मित्रराष्ट्र भारतले काठमाडौंको ट्रमा सेन्टरसमेत निर्माण गरिदिएको छ ।