अर्बपति’ प्रचण्डको कुरै नगरौँ !

अर्बपति’ प्रचण्डको कुरै नगरौँ !


laxman– लक्ष्मणलाल कर्ण (सहअध्यक्ष, सद्भावना पार्टी)
० मधेसमा चुनावको चहलपहल कत्तिको छ ?
– एकदम चहलपहल बढेको छ । मधेस सुगम ठाउँ भएकाले पनि मधेसवादी दलका अलावा अन्य दलका नेताहरू पुग्ने गरेका छन् । यसले चुनावी चहलपहल र चुनावी चर्चा–विचर्चा अलिक बढी नै छ मधेसमा ।
० यस्तो अवस्थामा पनि मधेसी दल तथा नेताहरूबीच त कटुता, झगडा र विभाजनको मानसिकता देखिन्छ, यस्तोमा मधेसवादी दलहरूलाई जनताले किन मत दिने ?
– पार्टी अलग–अलग भएपछि आ–आफ्नो नीति–रणनीति त हुन्छ नै, रस्साकस्सी त चल्छ नै । तर, चुनावका लागि मधेसी दलहरू आपसमा मिल्छन्, मिलिरहेका पनि छन् । मधेसवादी दलहरू मोर्चाबन्दीका लागि तयार छन् । आन्तरिक कुराकानी वा छलफल जारी छ । मधेसी दलहरूको सिद्धान्त, उद्देश्य, नीति र कार्यदिशामा खास अन्तर नभएकाले मिलेर अघि बढ्ने कुरा असम्भव पटक्कै छैन । सैद्धान्तिक रूपबाट मधेसका उत्पीडन र शोषण हटाउने मधेसवादी पार्टीहरूको अभियान हो । यही अभियानअन्तर्गत नै मधेसी जनताले पनि एउटा सशक्त राजनीतिक दल खोजिरहेको अवस्था छ । यस यथार्थका कारण मधेसी दलहरू मिलेर अघि बढ्नैपर्छ । आगामी निर्वाचन मधेसी दलहरूले एउटा सिङ्गो मोर्चाकै रूपबाटै लड्नेछन् । एक साताभित्रै यसको परिणाम सार्वजनिक हुनेछ ।
० मधेसी दलहरूबीच सहकार्य कसरी हुन्छ त, बताइदिनुस्न ?
– निर्वाचनको उद्देश्य लिएर बिल्कुल सहकार्य हुन्छ । कसको कहाँ कति पकड छ भन्ने विश्लेषण गरीकन सिट मिलाएर सहकार्य र मोर्चाबन्दी हुन्छ । मधेसी जनताले पनि मधेसी दलहरूलाई एकताबद्ध हेर्न चाहिरहेका छन् । भरसक एउटै दल भएर आउनुस्, नसके एक क्षेत्रमा मधेसको एउटा मात्र उम्मेदवार दिनुस् भनेर जनताले भनिरहेका छन् । यस जनभावनाको मधेसी दलहरूले कदर गर्नैपर्छ, गर्नेछन् ।
० केही समयअघिसम्म त सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पार्टी एक्लै चुनावमा जाने दाबी गर्दै हुनुहुन्थ्यो, भनेपछि अब सद्भावना पनि मोर्चाबन्दीमै जाने भयो ?
– हो, पछिल्लो घटनाक्रम र परिस्थितिका आधारमा सद्भावना पार्टी पनि मोर्चाबन्दीमै जान्छ । यसको पहलकदमी हामीले लिइसकेका छौँ ।
० तपाईंको पार्टीभित्र पनि असन्तुष्टि र विवाद त तीव्र रहेछ नि होइन ?
– अलि–अलि विवाद, बहस, असन्तुष्टि नहुने अवस्था त रामराज्यमा पनि थिएन होला । चलायमान पार्टीमा यस्ता बहस चलिरहन्छन्, पार्टी गतिशीलताको यो प्रमाण पनि हो । तर, हाम्रो पार्टीमा व्यवस्थापन गर्नै नसकिने कुनै त्यस्तो विवाद र असन्तुष्टि छैन । जुन ठाउँमा जसले जित्ने सम्भावना देखिएको छ उसलाई विवाद नगरीकन टिकट दिनुपर्छ भन्ने मोटामोटी मान्यतामा सहमति भइसकेको अवस्था छ । यसले अन्तरपार्टी विवाद हल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यतिबेला सद्भावना पार्टीप्रति अन्य पार्टीका नेता तथा कार्यकर्ताको पनि आकर्षण बढ्दै छ ।
० एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी दल र मधेसी नेताहरूको इमानदारी र नैतिकताप्रति तीव्र प्रहार गरेका छन् नि, के भन्नुहुन्छ ?
– प्रचण्डजी भनेको प्रहार गर्ने पार्टीका प्रहार गर्न मात्र जानेका व्यक्ति न हुन् । नेपाली जनतामाथि प्रहार गरी–गरीकन सत्रौँ हजारको ज्यान लिएर आएका उनलाई प्रहारको धित अझै मरेको छैन भने हामीले के भन्ने ? उहाँको काम नै प्रहार गर्ने मात्र हो । उहाँ जे बोल्नुहुन्छ त्यो गर्नुहुन्न, जे गर्नुहुन्छ त्यो बोल्नुहुन्न भन्ने पनि सबैलाई थाहा छ । सङ्घीयताको नाममा सत्र हजार मान्छे मारे अनि अन्तरिम संविधानमा त्यो छोडिदिए । मधेस प्रदेश आफँैले सुरु गरेको विषय हो भनी डिङ हाँक्ने तर मधेस टुक्रा–टुक्रा गर्न सहमति जनाउने ! प्रचण्डको यस्तो चरित्र सम्पूर्ण मधेसी जनताले बुझिसकेका छन् ।
० शक्ति र पैसाका लागि मधेसीहरू जे पनि गर्छन् भन्ने प्रचण्डको आरोप सही होइन त ?
– हो, हो ! बिनापैसाको काम गर्ने त प्रचण्ड मात्र नै त हुन् यो मुलुकमा ! त्यसैले त उहाँ आज करोड होइन अर्बपति–खर्बपति बन्नुभएको छ । आफ्नो आङको जुम्रा नदेखेर अर्काको शरीरमा भैँसी खोज्दै हुनुहुन्छ प्रचण्ड । सत्रचोटि प्रयास गर्दा नसकेपछि मधेसीको सहारामा सरकार बनाउने अनि मधेसीलाई जथाभावी आरोप लगाउने ? प्रचण्डका कुरा बिल्कुल गलत र भ्रामक हुन् । मधेसी दलले नै यो देशको रक्षा गरेका छन्, प्रचण्डजस्ता भौँजाहा बाटोमा हिँडेका विद्रोहीलाई शान्तिको बाटोमा ल्याएको पनि हामी मधेसी दलकै बलमा हो । आज शान्ति र संविधानका कुरामा देश अघि बढ्नुमा पनि मधेसी दलकै अहम् भूमिका छ । यो जगजाहेर छ, अब प्रचण्डजस्ताले अर्काको विषयमा बोलेको कसले पत्याउला ?
० यसको मतलब आगामी चुनावमा माओवादीसँग तपाईंहरूको सहकार्य हुँदैन ?
– हामीले सुरुदेखि नै प्रस्ट भाषामा भनिरहेका छौँ कि कुनै पनि लेफ्ट पार्टीसँग हामी चुनावमा सहकार्य गर्दैनौँ । मधेसमा हामी न वामहरूलाई बोकेर जान्छौँ न वामहरूको बुई चढ्न नै तयार छौँ । देशलाई शान्ति र संविधान चाहिएको, मधेसलाई अधिकार चाहिएको र त्यसका लागि माओवादीलाई ठेगानमा ल्याउनैपर्ने भएकाले मात्र हामीले उसलाई शान्तिपूर्ण राजनीतिक धारमा ल्याउन मद्दत गरेका हौँ । उनीहरू अझै पनि सुध्रिएको व्यवहार देखाइरहेका छैनन् भने यस्ताहरूलाई बोकेर हामीले मधेसमा लैजाने त सवालै आउँदैन नि !
० एमाओवादीसँग सरकारमा जानेबेला तपाईंहरूले प्रस्तुत गरेको चारबुँदे प्रस्ताव त कार्यान्वयन भएन नि ? सरकारमा गएर तपाईंहरूले मधेस र मधेसीका लागि के गर्नुभयो ?
– बिल्कुल गरेका छौँ । नागरिकतासम्बन्धी निर्देशन हामीले नै जारी गराएका हौँ, सेनामा सामूहिक भर्नाका लागि प्रयास ग-यौँ । यो देशको जो चरित्र देखिँदै आएको छ, त्यसभित्र अदालत पनि पर्छ । अदालतले हाम्रा ती प्रयासमा बाधा हाल्ने काम ग-यो । तर, हामीले उठाएका मुद्दा त्यसै सेलाउने खालका छैनन्, एक न एक दिन यी मुद्दाको सम्बोधन त हुनैपर्छ ।
० तपाईंहरू एक मधेस प्रदेशको कुरा गर्नुहुन्थ्यो, तर अहिले त बहुप्रदेशमै सहमति जनाउन थाल्नुभयो नि, किन ?
– हामी आफ्ना नीति–नियम वा मुद्दाबाट पछि हटेका छैनौँ । सर्वप्रथम यो देशमा सङ्घीयताको मुद्दा उठाएर लड्ने हामी नै हौँ, जसका लागि हामी अझै पनि लडिरहेकै छौँ । जो हामीलाई विखण्डनकारी भन्दथे उनीहरू पनि आज सङ्घीयताको मुद्दा आवश्यक र उचित रहेछ भनी स्वीकार्न तयार भएका छन् ।
० सङ्घीयताको मुद्दा ठीक रहेनछ, यो मुद्दा बोकेर अगाडि जान सकिन्न भन्ने आवाज पनि त उठेका छन् नि ?
– यस्ता बेतुकका झिना–मसिना स्वरले केही लछारपाटो लगाउँदैन । यो दशमा मधेसी र जनजातिले बिनासङ्घीयता अधिकार पाउँदैनन्, बाँच्न सक्दैनन् भन्ने ध्रुवसत्य कुरा हो । त्यसकारण त्यो प्राप्त नहुँदासम्म हामी लड्न तयार छौँ र त्यो प्राप्त भएरै छोड्छ भन्ने विश्वास हामीलाई छ ।
० तपाईंहरू मोहन वैद्यले नेतृत्व गरेको माओवादी पार्टीलाई चुनावमा ल्याउन किन पहल गर्नुहुन्न नि ?
– हामीले के पहल गर्ने हो ? आउनुस्, चुनावमा जाऔँ, संविधानसभामा आफ्ना मुद्दा र एजेण्डाहरू राखौँ भनेर त भनिरहेकै छौँ नि । अब हात समातेर ल्याउने कुरा त भएन बच्चालाई जस्तो…।
० गोलमेच सम्मेलनका लागि तत्पर भइदिएको भए हुन्थ्यो नि ?
– के गर्ने त्यो गोलमटोल सम्मेलन गरेर ? मङ्सिर ४ गते चुनाव नगराउनका लागि मात्रै हो त्यो गोलमेच सम्मेलन भन्ने सबैले बुझ्नु आवश्यक छ । खिलराजको सरकार अहिले नै भङ्ग गरेर मङ्सिरमा चुनाव हुन्छ ? ११बुँदे खारेज गरेर कसरी मङ्सिरमा चुनाव हुन्छ ? अनि के विषयमा गोलमेच गर्ने ? आजका दिनमा गोलमेच सम्मेलनको कुनै औचित्य र सम्भावना छैन । गोलमेच सम्मेलन गर्ने नै हो भने संविधानसभा बनेपछि गर्दा हुन्छ, किनकि त्यतिबेला कसरी सर्वस्वीकार्य संविधान बनाउने भनी सहमति जुटाउनका लागि त्यस्तो सम्मेलन लाभकारी नै हुनसक्छ ।
० भनेपछि मङ्सिर ४ मै चुनाव हुनुपर्छ भन्ने तपाईंको आशय हो ?
– बिल्कुल ! त्यो मितिमा चुनाव भएन भने यो देशमा कहिल्यै चुनाव हुन सक्दैन भन्ने हेक्का रहोस् ।