अर्थहीन प्रचण्ड आक्रोश– विनोद नेपाल

अर्थहीन प्रचण्ड आक्रोश– विनोद नेपाल


bicharशान्ति सम्झौताका एकमात्र जीवित हस्ताक्षरकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालका एक प्रमुख नेता हुन् । यसै आधारमा उनले मुलुकलाई सङ्कटबाट मुक्त गर्नका लागि आफ्नो प्रमुख जिम्मेवारी भएको बताउने गरेका पनि छन् । तर, उनी बेलाबखत भड्किन्छन्, आक्रोशित हुन्छन् र असन्तुलित र अशोभनीय अभिव्यक्ति दिने गर्छन् । जसले उनलाई विवादित मात्र बनाउँदैन, उनको नेतृत्वक्षमता र नियतमाथि नै प्रश्नचिह्न लाग्दछ ।
प्रचण्ड कहिले आफूले विगतमा विभिन्न गल्ती गरेको स्वीकार गर्दै त्यसमा आत्मालोचना गर्न तयार भएको कुरा अभिव्यक्त गर्छन्, कहिले अर्कालाई गाली गरेर आफू साँचिलो बन्ने प्रयत्न गर्छन् । यस किसिमको उनको चरित्र र विरोधाभासका कारण उनी आफैँ विवादमा पर्छन् । यसै क्रममा उनले हालै आफ्नो युवा सङ्गठन वाईसीएलको एक कार्यक्रमको उद्घाटनका क्रममा अशोभनीय र अनुचित अभिव्यक्ति दिएका छन् जसले उनीमाथि धेरै प्रश्न उठेका छन् । सबैलाई उपयोग गर्ने र आफ्नो स्वार्थ पूरा भएपछि मिल्काउने बानी लागेका उनीे अहिले आएर खासगरी विगतमा आफँैलाई सत्तामा पु-याउने एमाले र मधेसी दलहरूमाथि खनिएका हुन् ।
उनकै भाषामा विगतका सहयोगीमध्ये एमाले ‘रूख चढ्न लगाएर फेद काट्ने’ भयो भने मधेसी दलहरू ‘टुप्पीदेखि पैतालासम्म बदनाम भएका’ ठहरिए । जसको टाउकोमा टेकेर सत्तामा सिँगौरी मार्ने प्रयत्न गरियो उनीहरू नै अहिले अर्घेला र बेठीक भए ? कस्तो आश्चर्य ? उनीहरूसँग सहमति गरेर र बाबुराम भट्टराई नेतृत्वको सरकार गठनको हकमा त वैध–अवैध उचित–अनुचित, जायज–नाजायज केही नहेरी सबैखाले हथकण्डा अपनाएर र उनीहरूले भनेजस्तै गरेर सरकारमा गएको र विधि, पद्धति र परम्पराको समेत वास्ता नगरी जबर्जस्ती शासन गरेको वास्तविकता सबैलाई जानकारी भएकै हो । ‘यसरी पनि सरकारमा बस्नु आफ्नो बाध्यता भएको’ भन्दै उनले ‘त्यसैकारण जनताले चाहेको अपेक्षा पूरा गर्न नसकेको’ भन्दै गोहीको आँसु झार्नु विडम्बनाको विषय हो ।
काम गर्नेभन्दा सत्ता कब्जा गर्ने र त्यसका लागि आधार तयार गर्न अरूलाई चारो हाल्ने एमाओवादी रणनीतिकै कारण नेपाली राजनीतिमा अविश्वासको खाडल झन्झन् गहिरो र फराकिलो हुँदै गएको हो । यो वास्तविकताको जतिसुकै ढाकछोप गर्न खोजे पनि सम्भव छैन । यसैले आफूले गरेका राम्रा काम देखाएर मत माग्ने अवस्था नभएपछि अरूलाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने धृष्टता भएको हो र यसलाई आमजनमानसले त्यसै रूपमा लिनेछ र लिनुपर्छ । निश्चय नै अर्काको वैशाखी टेकेर धेरै टिक्न सकिँदैन र राम्रा काम गर्न सकिँदैन भन्ने नजानेर वैशाखी टेकिएको पक्कै थिएन । मधेसी मोर्चासँगको सत्ता साझेदारी त झन् तिनलाई सबै कुरामा खुला छाडिदिएर जसरी पनि सत्तामा हालिमुहाली गर्ने, सत्ताकब्जा गर्ने रणनीति पो थियो भन्ने सबैले बुझेकै छन् । जहाँसम्म प्रचण्ड शासनको कुरा हो उनी राष्ट्रपति, सेनापति र पशुपतिसमेत तीन पतिका कारण सत्ताच्युत भएका हुन्, कसैको कारणले होइन भन्ने जगजाहेर छ र यिनमा आफूले गल्ती गरेको प्रचण्ड स्वयम्ले पटकपटक स्वीकार पनि गरेका छन् । नचाहिँदा काम गर्ने अनि अरूले काम गर्न दिएनन् भनेर आरोप लगाउने र यस्तो भ्रम फैलाएर दुईतिहाइको सपना देख्ने ? कस्तो विडम्बना ?
एमाओवादीले मात्रै मुलुकको नेतृत्व गर्न सक्ने र आफू नै राजनीतिको केन्द्र भएको दाबी गर्ने प्रचण्डजस्ता नेताले सन्तुलित र संयमित अभिव्यक्ति दिन सक्नुपर्छ । केन्द्र हुन त सबैलाई समेटेर सम्हालेर जाने क्षमता हुनुपर्छ । सिँढी उक्लँदा जसको सहारा लियो, सर्वत्र आलोचनाका बाबजुद कसैको नसुनी माथि चढ्न जससँग अनुचित र नाजायज सम्झौता गरियो उसैलाई सत्तोसराप गर्नेले कसरी नेतृत्वको दाबी गर्ने ? त्यो त अवसरवादी चरित्र हुन्छ । यस्तै ‘अरूको वैशाखी टेकेर सरकारमा जानुपरेकाले काम गर्न नसकिएको’ भन्ने भनाइमा पनि कुनै तुक छैन, किनकि त्यसो गर्न कसैले बाध्य पारेको थिएन । यसैले यस्ता अभिव्यक्तिले सहानुभूति प्राप्त गर्दैनन् ।
अहिलेको राजनीतिको समस्या र मुलुकको अन्योलको कारक अविश्वास र आशङ्का नै हो । यस्तै एमाओवादीजस्ता दलको नियत के भन्ने प्रस्ट नहुनुका कारण पनि राष्ट्रिय राजनीति दिशाहीन, गतिहीन र अन्योलग्रस्त भएको हो । एमाओवादी अध्यक्ष प्रचण्ड सबैले आफूलाई मानिदिऊन् भन्छन्, गिरिजाप्रसाद कोइरालासँगै बृहत् शान्तिसम्झौतामा हस्ताक्षर गर्ने व्यक्ति भएकाले उनको उत्तराधिकारी आफू नै भएको दाबी गर्छन् । गिरिजाप्रसादले सम्पन्न गर्न नसकेका कामको जिम्मेवारी आफूमा आएको धारणा पनि व्यक्त गर्छन् । तर, कहाँ लोकतन्त्रका पक्षपाती, आफ्नो विचार र सिद्धान्तमा अडिग स्पष्ट गिरिजाप्रसाद कहाँ ठाउँ र परिस्थितिअनुसार बोली फेर्ने अस्थिर र अस्पष्ट प्रचण्ड ? तुलनै हुन नसक्ने कुरा भएकाले गिरजाप्रसादसँग उनको तुलना हुनै सक्दैन । आफूलाई गिरिजाकै उचाइको ठान्नु प्रचण्डको महाभूल हो र त्यो उचाइमा पुग्न प्रचण्डले अझै धेरै गर्नु बाँकी छ । त्यसका लागि उनको चरित्र, स्वभाव आनीबानी आदिमा धेरै परिवर्तन आउनुपर्छ । गिरिजाका थुप्रै कमजोरी थिए । तिनका बाबजुद उनीसँग नेतृत्वक्षमता थियो, समस्या परे उनीबाट केही उपाय निस्कन्छ, समाधानको बाटो पहिल्याउन सकिन्छ भन्ने हुन्थ्यो, यसैले प्रचण्डहरू नै उनीसँग पुग्थे । तर, प्रचण्ड परिस्थितिलाई झनै जटिल बनाउँछन्, समाधानका सहयोगी बन्नुको साटो भड्काउने भूमिका खेल्छन् भने कसरी उनीसँग भर पर्ने ? कसरी उनलाई विश्वास गर्ने ?
पछिल्ला दिनमा प्रचण्ड अर्थहीन आक्रोश पोख्दै युवाहरूलार्ई ‘सिंह भएर गर्जन’ उकास्दै छन् । ‘फटाहाहरूलाई पराजित गर्न’ र ‘दुईतिहाइ स्थानसहित विजयी बनाएर आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गर्न’ निर्देशन दिँदै छन् । तर, उनको महत्वाकाङ्क्षा राम्ररी बुझेका युवाले गम्भीर भएर विचार गर्नुपर्ने अवस्था छ । किनकि युवाशक्ति कसैको व्यक्तिगत महत्वाकाङ्क्षा र अनुचित अस्वाभाविक चाहना पूर्तिका माध्यम होइन, मुलुक, राष्ट्रियता, लोकतन्त्र, मानवअधिकारजस्ता पक्षमा लाग्नुपर्छ । अक्षम एवम् गैरजिम्मेवार नेताका सस्ता आश्वासन र क्षणिक उत्तेजनात्मक अभिव्यक्तिमा आकर्षित नभई राष्ट्रवादी तथा लोकतन्त्रका पक्षपातीहरूको पक्षमा उभिनुपर्छ । यसो हुन सके मात्र आसन्न निर्वाचनले मुलुकलाई निकास र गति दिन सम्भव हुनेछ ।