०५३ कात्तिकको विशेष परिपत्र र ऐतिहासिक बेथान कारबाही

०५३ कात्तिकको विशेष परिपत्र र ऐतिहासिक बेथान कारबाही


historyनेपाली जनयुद्धमा ०५३ पुस १९ गते भएको बेथान प्रहरीचौकी आक्रमणको ऐतिहासिक महत्र्व छ । किनभने ०५२ फागुन १ गते जनयुद्धको सुरुवात भए पनि त्यस दिनदेखि बेथान चौकी कब्जाभन्दा अघिल्लो दिन करिब ११ महिनासम्म नेकपा (माओवादी)ले कुनै पनि सशस्त्र प्रहरी चौकी र हतियार कब्जा गर्न सकेको थिएन । फागुन १ गते तीनवटा चौकी कब्जा भए पनि हतियार कब्जा भएको थिएन । यस्तो परिस्थितिले गर्दा अब जनयुद्ध समाप्त भयो भनेर हल्ला गर्नेहरू पनि बढ्न थालेको स्थिति थियो । आन्तरिक रूपमा पनि यस्तो स्थितिले निराशा र पलायनका सङ्केतहरू जन्माइरहेको थियो । यस्तो सङ्कटको घडीमा यानप्रसाद गौतम ‘आलोक’को योजना र नेतृत्वमा बेथानमा रहेको प्रहरी चौकीमाथि ०५३ पुस १९ गते सफल आक्रमण भयो । यो नै जनयुद्धको पहिलो पूर्ण सफल कारबाही थियो ।
यस आक्रमणमा छापामारहरूतर्फ तीर्थ गौतम, दिलमाया योञ्जन, फत्तबहादुर इस्माली शहीद भए । चौकीमा भएका सबै हतियारहरू कब्जा भयो । यसले जनयुद्धको विकासलाइ तीव्र गति प्रदान ग-यो । जनयुद्ध समाप्त भयो भन्ने हल्ला र प्रचारलाई जवाफ दियो । जनयुद्धका नेता र कार्यकर्ता तथा समर्थकलाई ठूलो उत्साह प्रदान ग-यो । योद्धाहरूको छापामार युद्धकलाको विकासलाई स्पष्ट बनायो । यस घटनाको प्रभाव सत्ता पक्षमा नकारात्मक रूपले पर्नु स्वाभाविक थियो । सत्ता पक्षले जनयुद्ध समाप्त भयो, जनयुद्ध दबाइयो आदि भनेर आफूलाई र आफ्नो पङ्क्तिलाई अलि बढी नै विश्वस्त बनाएको स्थितिले गर्दा यो आक्रमणले धेरै ठूलो मनोवैज्ञानिक प्रहार ग-यो । देशभर पुनः एकपटक फेरि लाल आतङ्क छायो । यस कारबाहीमा शहीद भएका तीर्थ गौतम निम्नमध्यम किसान परिवारमा जन्मेका थिए । उनी आलोकभन्दा पनि अगाडि पार्टी सदस्य भइसकेका थिए र उनले नै आलोकलाई पार्टी सदस्यताको सिफारिस गरेका थिए । उनी सोझा, सीधा र हिम्मतिला थिए । उनले भनेका थिए–कारबाहीमा म मारिए पनि साथीहरूले कारबाही सफल बनाउनू, कारबाही सफल नपारी नफर्कनू । उनको यही निर्देशन साथीहरूले पालना गरे ।
०५३ मङ्सिर २७ गते नेकपा (माओवादी)को वैधानिक मञ्च संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको नामबाट घोषणा भएको नेपाल बन्द कार्यक्रमको सफलताले पनि जनयुद्धलाई ठूलो सहयोग भयो । राष्ट्रघाती महाकाली सन्धि, जनहत्या, गिरफ्तारी, महँगी आदि विषय राखेर भएको यस नेपाल बन्दले सरकारलाई अप्ठ्यारोमा पार्दै लग्यो भने जनयुद्ध गरिरहेको पार्टीलाई उत्साही बनाइदियो । फौजी कारबाहीहरू त्यति राम्रोसँग सफल हुन नसकोको स्थितिमा यस बन्दले जनयुद्धको फौजी तयारीलाई पनि राम्रो सहयोग ग-यो । यस पहिलो नेपाल बन्दको सफलतापछि प्रचण्डले गरेको निम्न संश्लेषणको विश्वव्यापी महत्र्व रहेको छ– ‘जनयुद्धको सर्वोच्च हितलाई केन्द्रबिन्दुमा राखी सङ्घर्ष र जनपरिचालनका कुनै एक रूपमा मात्र आफूलाई सीमित नराखी परिस्थितिको फेरबदल र मात्राअनुसार नयाँ–नयाँ रूप र विधि अपनाउने जुन प्रक्रिया सुरु भएको छ, त्यसलाई अझ गम्भीरताका साथ आत्मसात् गरी सिर्जनात्मक एवम् लचिलो ढङ्गले लागू गर्ने पद्धतिको विकास गरिएमा दुश्मनका जस्तासुकै दमन र षड्यन्त्र तथा अवसरवादीहरूका भ्रमजाललाई च्यातचुत पार्न सकिन्छ भन्ने कुराको स्पष्ट सङ्केत मिलेको छ ।’ (दस्तावेजहरू पृष्ठ ३७६)
बेथान सफल कारबाही र सफल नेपाल बन्दभन्दा अगाडि माओवादी पार्टी र जनयुद्ध सङ्कटको समयबाट गुज्रिरहेको बेला केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले ०५३ कात्तिक नौ गते एक विशेष परिपत्र जारी गरेका थिए जसको ऐतिहासिक महत्र्व रहेको छ । यस परिपत्र (निर्देशन)मा गरिएका वैचारिक संश्लेषणको पनि जनयुद्धमा महत्र्वपूर्ण भूमिका रहेको छ । त्यसमा भनिएको थियो– ‘जनयुद्ध सुरु भएपछिको अवधिमा जतिबेला प्रतिक्रियावादी सत्ताको चर्को दमन र तमाम संशोधनवादी तथा नवसंशोधनवादी गुट–उपगुटहरूको व्यापक विरोध एवम् सबै प्रकारको जनआन्दोलनबाट हामीलाई कटाउने षड्यन्त्र भइरहेको थियो, त्यतिबेला लचिलो ढङ्गले सबै क्षेत्र एवम् केन्द्रले जनपरिचालन गर्ने र जनआन्दोलन उठाउन ध्यान दिने पार्टीको निर्णय सही थियो । यसो गर्नको पार्टीको एक मात्र उद्देश्य जनयुद्धलाई बचाउनु र विकास गर्नु हो र थियो । तर, सुधारवादी मागका आधारमा वैधानिक र शान्तिपूर्ण आन्दोलनको विधिमा जोड गयो भने, जनयुद्धसँग आफ्नो कुनै सरोकार नरहेको प्रचारमा जोड गयो भने त्यसले जनतालाई क्रान्तिकारी होइन, सुधारवादी प्रशिक्षण हुन पुग्दछ । त्यो अवस्थामा जनआन्दोलन जनयुद्धको सेवक नभएर बाधक बन्ने खतरा उत्पन्न हुन्छ । …..वैधानिक मञ्चहरूले आफ्नो प्रस्तुति र कार्यक्रममा माओवादी जनयुद्धको ऐतिहासिक महत्र्व र अपरिहार्यता जनतालाई बुझाउन जोड गर्नुपर्दछ । आफू माओवादी नभएको र जनयुद्धसँग आफ्नो सरोकार नभएको भन्ने खालको प्रचार जनतामा गरिरहनु उपयुक्त हँुदैन ।’
त्यस परिपत्रमा स्पष्ट पारिएको अर्को विषय राष्ट्रिय युद्ध र गृहयुद्धबीचको सम्बन्ध पनि हो । त्यसबेला महाकाली सन्धिको विरुद्धमा जनमत बढ्दै गइरहेको थियो । तर, राष्ट्रिय युद्ध नै प्रधान बनिहालेको हो कि भन्ने प्रश्नको जवाफमा पार्टी केन्द्रले तत्काल गृहयुद्ध नै प्रधान रहेको अर्थात् आन्तरिक सत्तासँगको युद्ध नै प्रधान रहेको स्पष्ट ग-यो । यस परिपत्रले नेतृत्वको सुरक्षा र पार्टी कार्य सञ्चालनको अन्तरसम्बन्धबारे पनि अवधारणा प्रस्ट पार्ने काम ग-यो । नेतृत्वको सुरक्षाको प्रश्नमा देखापर्ने आत्मसुरक्षावाद र दुस्साहसवाद दुवैको विरोध ग-यो । आत्मसुरक्षावादले नेतृत्वलाई जस्तोसुकै परिस्थितिमा पनि बचाउने मात्र जोड दिएर नेतृत्वलाई आन्दोलनबाट अलग्याउने र कार्यक्रमहरू बनाउदा नेतृत्व सुरक्षालाई मात्र केन्द्रमा राख्ने गरेर आन्दोलनलाई सुधारवादी दिशा दिने गर्दछ । दुस्साहसवादले सबै कारबाहीहरूमा नेतृत्व जसरी भए पनि उपस्थित हुनैपर्ने माग गरेर नेतृत्व सधैँ दुश्मनसँगको मुठभेडमा भौतिक रूपले नै उपस्थित देख्न चाहन्छ जसले गर्दा नेतृत्व सुरुमै ध्वस्त हुने हुन्छ ।
त्यस परिपत्रको सबभन्दा महत्र्वपूर्ण निर्देशन फौजी पक्षका नीतिहरू हुन् । त्यसबेला हतियार नभएकोले चौकी कब्जा गर्न नसकिएको हो भन्ने विचार प्रबल थियो । त्यसबारे भनियो– ‘माओवादी जनयुद्धको सिद्धान्तअनुसार युद्धमा हतियार होइन मानिस नै निर्णायक तत्र्व हो । यदि हामीसँग लड्ने सर्वहारावादी क्रान्तिकारी स्प्रिट त भने न्यूनतम हतियार प्रकृति र मानव समाजमा जताततै छरिएर रहेका छन् । हतियार प्राप्त नभएकाले लड्न सकिएन भन्नु एउटा भ्रम हो । जनयुद्ध सामान्य रूपमा नै बिनाआधुनिक हतियारबाट सुरु भएर आत्मनिर्भरताको नीतिअन्तर्गत अगाडि बढ्दै गएर दुश्मनका आधुनिक हतियार कब्जा गर्दै जान्छ ।’ अर्को बुँदामा भनिएको छ, ‘कारबाहीको सन्दर्भमा कतिपय क्षेत्रमा अमूक स्थानमै कारबाही गर्नैपर्ने तर त्यसका लागि दुश्मनको तुलनामा आफ्नो साधन, स्रोत र शक्ति नपुग्ने भएकाले निस्क्रियतामा फस्ने खतरा देखापरेको छ । अबको स्थितिमा हामीले निश्चित कमाण्डअन्तर्गत क्षेत्रको कुनै पनि इलाकामा जहाँ दुश्मन कमजोर छ र हाम्रो लागि अनुकूलता छ, त्यहाँ कारबाही गर्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ । आफ्नो साधन, स्रोत र शक्तिले सक्ने कारबाही नगर्नु र नसकिने खालका योजना बनाएर निस्क्रियतामा फस्नु छापामार युद्धको नीतिविपरीत कुरा हो ।’ अर्को बुँदामा भनिएको छ, ‘शक्ति केन्द्रित गर्न पनि नसक्ने र आफ्नो शक्तिले पनि नभ्याउने स्थितिमा असफलता र निस्क्रियता नै हात लाग्छ ।’
यस परिपत्रमा लडाकुहरूको कामबारे माओवादी दृष्टिकोणलाई अंगाल्दै लागू गर्न जोड दिइएको छ । परिपत्रमा भनिएको छ, ‘हाम्रा लडाकु दलहरूको काम खालि लड्नु मात्र होइन, प्रचार र सङ्गठन तथा उत्पादन पनि गर्नु हो भन्ने कुरालाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्न जरुरी छ । कुनै पनि दलका लागि लगातार लड्न सम्भव हुन्न, जब लड्ने काम हुन्न, तब दललाई बेरोजगार हुने स्थिति आयो भने त्यो माओवादी जनयुद्धमा विडम्बना नै मान्नुपर्दछ ।’ यस निर्देशनले लडाकुहरू केवल योद्धामात्र नभई उत्पादन कर्ता, प्रचारकर्ता र सङ्गठनकर्ता पनि बन्नुपर्छ, तब मात्र जनयुद्ध सफल हुन्छ भन्ने माओको सिद्धान्तलाई नेपाली जनयुद्धमा लागू गर्न सक्रिय पहलकदमी लियो । पुरानो शाहीसेना र बन्दै गरेको नयाँ जनसेनाबीच यो आधारभूत फरक थियो । आधुनिक सेनालाई सानो र घरेलु हतियार मात्र भएको जनसेनाले कसरी पराजित गर्न सक्दछ भन्ने प्रश्नको यो एक महत्र्वपूर्ण जवाफ हो ।