जनयुद्धको पहिलो वर्षका आक्रमण र आन्दोलनहरू

जनयुद्धको पहिलो वर्षका आक्रमण र आन्दोलनहरू


history०५२ फागुन १ गते जनयुद्धको विद्रोहात्मक सुरुवातपछि करिब १५ दिन मात्रै नेकपा (माओवादी) का तर्फबाट आक्रामक कारबाहीहरू भए । त्यसपछि सरकारी दमनले तीव्रता लियो । पहिलो वर्ष मात्रै करिब ६ सय गिरफ्तार भए । पहिलो वर्षदिनमा नै करिब सयजना जनसमुदाय र कार्यकर्ताको सरकारी पक्षबाट हत्या भयो । नेकपा (माओवादी) का तर्फबाट भने फौजी आक्रमण कम र सरकारको दमन अभियानको भण्डाफोर तथा महाकाली सन्धिको विरोध र जनताका विभिन्न मागहरूलाई लिएर खुला र वैधानिक शहरीया जनआन्दोलनका कार्यक्रमहरू तीव्र र व्यापक रूपमा अघि बढ्यो ।
०५३ मङ्सिरसम्म नेकपा (माओवादी) का तर्फबाट ठूलो आक्रमण अर्थात् प्रहरीचौकीहरूमाथि आक्रमण गर्न सकेन । यो अवधि आक्रमणको तयारीमै बित्यो । यसले गर्दा नेकपा (माओवादी) को जनयुद्ध समाप्त भएको भनेर एकथरी मानिसले प्रचार गर्न थालेका थिए । तर, यो अवधिमा नेकपा (माओवादी) भने आक्रमणको तयारी, सरकारको भण्डाफोर, सङ्गठन सुदृढीकरण र विस्तार तथा सरकारविरुद्ध शहरीया आन्दोलनमा केन्द्रित भएर लागिरहेको थियो । युद्धलाई दीर्घकालीन बनाउने र छापामार युद्ध जारी राख्ने काममा लागिपरेको थियो । विद्रोहात्मक सुरुवातबाट आत्तिएको सरकारले गरेको भीषण दमनको प्रतिरोध गरिरहेको थियो ।
सरकारी दमनको प्रतिरोध र भण्डाफोरको पहिलो सशक्त पाइला ०५३ भदौ ५ गतेको उपत्यका बन्द कार्यक्रम थियो । संयुक्त राष्ट्रिय जनआन्दोलन समिति नामको वैधानिक मञ्च (जसका संयोजक भक्तबहादुर श्रेष्ठ हुनुहुन्थ्यो) को आह्वानमा भएको यस उपत्यका बन्दले एकातिर सरकारी दमनको भण्डाफोर गरेर सरकारलाई अप्ठ्यारो पा-यो भने अर्कोतिर राजधानीमै पनि माओवादी पार्टीको अस्तित्व र प्रभाव क्षमता प्रदर्शन गरेर जनयुद्धको निरन्तरतालाई जनताबीच स्पष्ट पार्ने काम ग-यो ।
यस उपत्यका बन्दका दुईवटा उल्लेखनीय घटना भए । पहिलो थियो– चाबहिल मालपोत कार्यालयप्रमुखमाथि मोसो दल्ने जनकारबाही । जनयुद्धमा जनताको पक्षमा कारबाही भएन भन्ने राजधानीका बौद्धिक समुदायको आलोचनालाई ध्यानमा राखेर यो कारबाहीको योजना बनेको थियो । गंगा लामाको नेतृत्वको सानो टिमले बट्टाभरि कालो मोबिल लिएर गई मालपोतप्रमुख कार्यालयबाहिर आँगनमा निस्कनेबित्तिकै टाउकोबाट खन्याइदियो र पत्रिकाहरूमा समाचार छापियो कि मालपोतप्रमुखलाई माओवादीले जनकारबाही गरेर मोसो दले । यसपछि जनयुद्धको विपक्षमा रहेका राजनीतिक विश्लेषक तथा तत्कालीन मूल्याङ्कन सम्पादक श्याम श्रेष्ठले पनि ‘यस्तो जनताको हितमा कारबाही गरे मात्र जनयुद्ध हुन्छ भनेको हो’ भन्ने आशयमा लामो लेख लेखे । रोल्पा–रुकुममा सयौँ गाउँले गएर फटाहा सामन्तलाई गरेको कारबाही जनकारबाही नदेखेर आतङ्कवाद देख्नेले तीनजना गएर गरेको चाबेली कारबाही भने वास्तविक जनकारबाही देख्न पुगे तथा यसरी जनयुद्धमा शहरीया बुद्धिजीवीहरू पनि आकर्षित हुन थाले ।
त्यस उपत्यका बन्दको अर्को उल्लेखनीय घटना पेट्रोल बमको प्रयोग थियो । करिबकरिब विघटनको स्थितिमा रहेको उपत्यकाको माओवादी पार्टी सङ्गठन पुनर्गठन र पुनर्संगठित गर्दै उपत्यका बन्द कार्यक्रम सफल पार्नु चुनौतीपूर्ण नै थियो । सानो शक्तिले उपत्यका बन्द सफल पार्न कठिन हुनु स्वाभाविक थियो । खुला अवधिमा अर्थात् जनयुद्ध सुरु हुनुभन्दा अगाडि हजारौँको जुलुस प्रदर्शन आदि तथा मसाल जुलुस र केही तोडफोडको कामबाट बन्द सफल हुने गर्दथे । तर, युद्ध सुरु भएपछि पचासजनाको जुलुस पनि उपत्यकामा सम्भव थिएन । तर, बन्द कुनै हालतमा सफल पार्नु थियो र पार्टीको प्रतिष्ठा जोगाउँदै देशभरि सकारात्मक र उत्साहपूर्ण सन्देश दिनु थियो । त्यसैले रवीन्द्र श्रेष्ठले बन्दको अघिल्लो दिन बेलुकी बन्दको दिन पेट्रोल बम प्रयोग गर्नुपर्ने प्रस्ताव राखे । केहीले यसको तीव्र विरोध गरे । तर, अन्त्यमा प्रयोग गर्ने निर्णय भयो र हेडक्वाटरले पनि स्वीकृति दियो । बन्दको दिन दिलकुमार प्रजापतिको नेतृत्वमा एक टिमले भोटाहिटीमा र त्रिपुरेश्वरमा पेट्रोल बम प्रयोग ग-यो । पत्रिकाहरूले ठूल्ठूला अक्षरमा पेट्रोलबम प्रयोग भएको समाचार छापे । आतङ्क यति तीव्र भयो कि बन्द सफल भयो । पेट्रोल बमआतङ्क पछिसम्म पनि यति गहिरो, व्यापक र तीव्र बन्यो कि शाहीसेना र प्रहरीले यो पेट्रोल बम भनेको बम नै होइन, खाली सिसीमा पेट्रोल र मट्टीतेल हालेर टुकीमा जस्तै कपडाको सलेदो राखेर बाली आगो लगाउने मात्रै हो भन्दा पनि जनताले पत्याएनन् र भन्दै गरे– पेट्रोल बम भनेको बम नै हो । तर, यथार्थ पेट्रोल बम भनेको बम होइन, केवल आतङ्कित पार्ने र आगो लगाउने तरिका मात्रै हो ।
यस उपत्यका बन्दको सफलताले फौजी तयारी र सरकारी दमनको प्रतिरोधमा ठूलो सहयोग पु-यो । अर्को महत्वपूर्ण कार्यक्रम नेकपा (माओवादी)को मङ्सिर २७ को नेपाल बन्द थियो । यस नेपाल बन्द पनि केही जनपरिचालन र कार्यकर्ता परिचालनबाट तथा मुख्यत बम र बन्दुकको आतङ्कबाट नै भव्यतापूर्वक सफल भयो । यसले जनयुद्धको र जनआन्दोलनको तथा ग्रामीण सङ्घर्ष र शहरीया सङ्घर्षको तालमेलको नयाँ स्वरूप नेपाली क्रान्तिमा देखाप-यो । शहरीया सङ्घर्षले ग्रामीण छापामार युद्धलाई सहयोग र सुरक्षा गर्दै अघि बढेको यो ऐतिहासिक अनुभव विश्वलाई नै काम लाग्ने खालको छ । भारतका माओवादीहरूले यस्तो गर्न सकेका छैनन् ।
माओवादीलाई पहिलो धक्का केन्द्रीय नेता देव गुरुङको गिरफ्तार थियो । मध्यक्षेत्रबाट नै दोस्रो योजनाको सुरुवाती फौजी आक्रमण गर्ने योजना बनेको थियो । एउटा चौकीमा आक्रमणको योजना बनाइरहेको बेला प्रहरीले चारैतिरबाट घेरेर देव गुरुङलाई पक्राउ गरेको थियो । प्रहरी त्यसतर्फ आइरहेको खबर पाएपछि पनि तुरुन्तै त्यहाँबाट नभाग्नु गुरुङकै गल्ती थियो । तीसजनाभन्दा बढी अरू कार्यकर्ता भने भाग्न सक्नु तर मुख्य नेतृत्व नै भाग्न नसक्नु वा भगाउन नसक्नु नेता–कार्यकर्ता दुवैथरीको गल्ती थियो । देव गुरुङसँगै दोस्रो योजनाका दस्तावेजहरू पनि प्रहरीको हातमा पर्नाले सरकारले दोस्रो योजना सबै थाहा पायो । सुरुवातमै यस्तो असफलता भएकोले दोस्रो योजनाअन्तर्गत चौकीहरूमा फौजी आक्रमणको योजना सफल भएन । यस घटनाले एकातिर कार्यकर्ताहरूको मनोबल घट्न गयो, अर्कोतिर सरकारले योजना थाहा पाएकोले सबै प्रहरी चौकीहरूलाई सतर्क राख्यो । नेकपा (माओवादी) योजना पुन: परिवर्तन र परिमार्जन गर्न बाध्य भयो ।
पहिलो योजनामा सफाया गर्ने (दुश्मनको हत्या गर्ने) सङ्घर्षको स्वरूप सामेल थिएन । पहिला आफ्नो पक्षले मान्छे नमार्ने भन्ने नीति माओवादीको थियो । सरकारले जनता मार्न थालेपछि भने दोस्रो योजनामा वर्ग दुश्मन सफाया कार्यक्रम पनि राख्यो । यस तरिका भने दोस्रो योजनामा व्यापक प्रयोग हुन थाल्यो । मुख्यगरी रुकुम–रोल्पामा स्थानीय तथा जिल्लास्तरका प्रतिपक्षी नेताहरूको हत्या गर्ने अभियान सुरु भयो र प्रहरीका सुराकीहरू पनि निशानामा परे । माओवादीका केन्द्रीय नेता रामवृक्ष यादवको हत्यामा संलग्न एक प्रहरी अधिकृतलाई धनुषाको सबेला बजारमा एक सार्वजनिक कार्यक्रममा नै एक सानो छापामार टुडकीले सफाया ग-यो । सार्वजनिक कार्यक्रम भइरहेको स्थलमा छापामार कमाण्डरले पछाडिबाट नजिकै गएर एकैपटक दुईवटा पेस्तोलले प्रहार गरी घटनास्थलमा नै उनको सफाया गरे । रुकुममा ६ जना खत्री दाजुभाइको हत्यामा संलग्न एक प्रहरी अधिकृतलाई सरुवा भएर नेपालगन्ज गए पनि त्यहीँ एक छापामार टुडकीले गोली हानी हत्या ग-यो ।
यस्ता सफायाका कार्यक्रमहरूले प्रहरीको र सत्तापक्षका नेता–कार्यकर्ताहरूले मनोबल गिर्न गयो भने जनयुद्धका समर्थकबीच उत्साह थप्ने काम ग-यो । साथै रुकुम–रोल्पालगायतका जिल्लाहरूमा सत्तापक्षका स्थानीय तथा जिल्ला नेता–कार्यकर्ताको सफाया गर्न थालेपछि गाउँहरूमा सत्ता रिक्तताको स्थिति देखा पर्दै गयो । पुरानो सत्ताका प्रतिनिधिहरू गाउँ छोडेर भाग्न थाले । गाउँमा माओवादी नेता–कार्यकर्ताको एकछत्र राज सुरु हुन थाल्यो । गाउँको सत्ता माओवादीको हातमा पुग्न थाल्यो । प्रहरीचौकीहरू आफूमाथि हुनसक्ने सम्भावित आक्रमणको प्रतिरोधको तयारीमा केन्द्रित हुन थाले अर्थात् उनीहरू आक्रमणबाट प्रतिरक्षात्मक मानसिकतामा पुगे ।
अर्को अक्रमणको स्वरूप कृषि बैंक र स्थानीय धनीमानीहरूको सम्पत्ति र अफिस कब्जा गरी लाखौँका तमसुक जलाउने अभियान थियो । यस अभियानले वर्षांैदेखि पीडित हजारौँ किसानमा खुसीको लहर छाउन थाल्यो । साथै स्थानीय धनीमानीहरूको घरमा भएका बन्दुकहरू कब्जा गर्ने लहर देशव्यापी रूपमै सुरु हुन थाल्यो ।