कपालचोरका कारण राष्ट्रपति दु:खी

कपालचोरका कारण राष्ट्रपति दु:खी


ramailoराष्ट्रपति भएपछि मुलुक र जनताबारे अनेक चिन्ता त लिनुपर्छ नै । तर, भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई यतिबेला अनौठो चिन्ताले दु:खी तुल्याएको छ । राष्ट्रपति मादुरोलाई दु:खी तुल्याउने विषय चोरीसम्बन्धी हो, तर कुनै रुपैयाँ–पैसा वा सुनहिराजस्ता सम्पत्तिको चोरीचकारीबाट उनी दु:खी बनेका होइनन् । वास्तवमा आफ्ना देशका महिलाको कपाल चोरी हुने गरेको र यस्तो घटना पछिल्ला दिनमा अत्यन्त बढेकोले उनी चिन्तित बनेका हुन् । उनले प्रहरीलाई कपालचोरहरूविरुद्ध सख्त कारबाहीमा उत्रन निर्देशन जारी गरेका छन् । देशका विभिन्न भाग र खासगरी भेनेजुयलाको दोस्रो ठूलो शहर माराकैवोका महिलाले कपालचोरलाई पक्रेर कारबाही गर्न एकपछि अर्को उजुरी दिन थालेपछि राष्ट्रपति गम्भीर बनेका हुन् । भेनेजुयलाका कपालमाफियाहरूले कपालका निम्ति महिलालाई बन्दुक तेस्र्याउनेसम्मको हर्कत देखाउन थालेका छन् । यसरी लुटिएको कपाल विभिन्न सैलुनमा बेचेर चोरहरूले नगद आर्जन गर्छन् भने उक्त कपाल विग बनाउन प्रयोग गरिने एजेन्सीहरूले उल्लेख गरेका छन् ।

पादरीले भनेपछि औषधि छोडेर प्रार्थना
रोगव्याधिले सताउँदा अस्पताल र चिकित्सककहाँ नगई अन्धविश्वासमा परेर धामी–झाँक्रीमार्फत उपचार गराउने प्रचलन हामीकहाँ अद्यापि यत्रतत्र पाइन्छ । तर, बेलायतजस्तो मुलुकमा पनि पादरीको कुरामा लागेर रोगीहरू ईश्वरको भर पर्न थाल्छन् भने त्यो साँच्चै उदेकको विषय बन्न पुग्छ । हो, बेलायती डाक्टरहरूबीच गरिएको एक सर्भेले गजबको खुलासा गरिदिएको छ । सर्भेक्षणबाट खुलासा भएअनुसार पेन्टेकोस्टल चर्चका पादरीहरूले आपत्ति जनाएपछि एचआईभीपीडित कैयन युवाले आफूले सेवन गर्दै आएको एचआईभी प्रतिरोधक औषधि त्यागेर ईश्वरसँग आफूलाई ठीक तुल्याइदिन प्रार्थना गर्न थालेका छन् । कतिपय पादरीले त औषधि प्रयोग नगर्न दबाब र चेतावनी नै दिने गरेकोसमेत पाइएको बेलायती चिकित्सा विभागका डाक्टरहरूले दाबी गरेका छन् । प्रार्थना र पवित्र जलकै भरमा एड्स ठीक हुन्छ भन्दै पादरीहरूले औषधि नखान सल्लाह दिएपछि आफूहरूले औषधि छोडेको कैयन एचआईभीपीडितले आफ्ना डाक्टरसमक्ष बताएका छन् । एक बोतलमा पानी भरेर ‘यो विशेष जल हो, यसको सेवनबाट केही दिनमै एड्स ठीक हुन्छ’ भनी पादरीले भनेको कुरामा विश्वास गरेर नियमित सेवन गर्दै आएको औषधि त्याग्ने बिरामी थुप्रै फेला परेपछि धार्मिक नेताहरूले मानिसलाई सोझै मृत्युको बाटोमा हिँडाएको भनी कतिपय चिकित्सकले आपत्ति जनाएका छन् ।

मोटीका सन्तानमाथि मृत्युको खतरा
ज्यादा तौलवाली महिला वा मोटी माउद्वारा जन्मने बच्चा हृदयरोगको सिकार हुने र चाँडै मृत्युको मुखमा पर्ने सम्भावना अत्यधिक रहने एक अध्ययनले देखाएको छ । स्कटल्यान्डमा गरिएको शोधबाट पत्ता लागेअनुसार गर्भावस्थाको दौरान जुन महिला मोटी हुन्छिन् तिनीबाट पैदा हुने बच्चाको मृत्यु ५५ वर्षभन्दा पहिले नै हुने सम्भावना ३५ प्रतिशतले बढ्न पुग्छ । २८ हजारभन्दा बढी महिलामाथि गरिएको यस अध्ययनले मोटी महिलाका बालबच्चा हृदयरोगी बन्ने अत्यधिक सम्भावनालाई उजागर गरेको हो । शोधको नेतृत्व गर्ने एडिनबर्ग युनिभर्सिटीकी प्रोफेसर रेवेका रेनाल्डसले गर्भावस्थाका बेला महिलाले आफ्नो वजनमाथि नियन्त्रण राख्न विशेष ध्यान दिनुपर्ने बताइन् ।

स्याल र छेपारो भोजन गरेर विश्वकै बुर्जुग †
विश्वकै सबभन्दा जीवित जेठो व्यक्ति को होला ? गिनिज बुक अफ वल्र्ड रेकर्डमा एक सय २२ वर्ष पाँच महिनाका एक व्यक्तिको नाम विश्वकै सबभन्दा वृद्ध व्यक्तिका रूपमा दर्ता छ । तर, बोलिभियाको सरकारी दस्तावेजमाथि विश्वास गर्ने हो भने त्यहाँका एक एक सय २३ वर्षका वृद्ध नै हाल संसारकै सबभन्दा पाका जीवित व्यक्ति हुन् । कारमेलो फ्लोरस लारा नामक ती व्यक्तिको जन्म सन् १८९० को जुलाई १८ मा भएको प्रमाणपत्र फेला परेको छ । मुखभित्र एउटा पनि दाँत बाँकी नभएका कारमेलो पर्वतबाट निस्केको स्वच्छ मूलको पानी पिउँदै भेडा–बाख्रा चराएर आफूले अत्यन्त विकट स्थानमा दु:खको जिन्दगी गुजारेकोले लामो आयु बाँच्न सकेको तर्क गर्ने गर्छन् । पहाडी उबडखाबडयुक्त स्थानमा अथक रूपमा हिँडेकोहिँड्यै गर्ने बानीले लामो आयु बाँच्न कारमेलोलाई सघाउ पु-याएको हुन सक्ने चिकित्सकको अनुमान छ । आफूले जीवनमा प्रसस्त मात्रामा सुङ्गुर, छेपारो र स्यालको मासु खाएको कारमेलो लाराले बताएबाट कतै ती जनावरका मासु नै उनका लागि दीर्घजीवन बाँच्ने अमृत सावित भएका त होइनन् भन्ने कोणबाट पनि अध्ययन गरिन थालिएको छ ।