मधेसी मोर्चाबारे चार कुरा

मधेसी मोर्चाबारे चार कुरा


bichar– शिवजी साह
सङ्क्षिप्त अवधारणा :
मानिस एक जनावर भए पनि ऊ सामाजिक प्राणी कहलिएको छ । यो उसको चेतनाका कारण भएको हो । असल चेतनाको विकास असल र गुणयुक्त विचारबाट उत्पन्न हुन्छ । विचार र चेतना गतिशील र प्रगतिशील हुनुपर्छ । मानिसमा विचार, चेतना, संवेदनशीलता, सहानुभूति र भावना हुनु पृथक विशेषता हुन् । ज्ञान र विद्वता भए पनि यी विशेषताको अनुपस्थिति र अभावमा मानिस विवेकहीन हुनसक्ने भएकोले आ–आफ्नो अन्तरआत्माको आवाज सुन्नुपर्छ । अन्तरआत्माको आवाजविहीन मानिस व्यक्तिगत रूपमा चेतनशील हुनसक्छ तर ऊ मानवसमाज र विशेष समुदायका लागि अन्यायी (पक्षपाती), अत्याचारी (निरङ्कुश) र स्वार्थी (लोभी) मात्र सावित हुन सक्छ । यसको अर्थ मानवताबिनाको भावना, भावनाबिनाको सहानुभूति, सहानुभूतिबिनाको संवेदनशीलता, संवेदनशीलताबिनाको चेतना र चेतनाबिनाको विचार सिर्जनशील हुन सक्दैन । यस्तो अवस्थामा ऊ सामाजिक प्राणी नभई जङ्गली जनावरसरह नै प्रतीत हुन्छ तथा सामाजिक एकत्व र यसको विन्यास भङ्ग भएर जाने निश्चित प्राय: हुन्छ । यस परिस्थितिको सामना र प्रतिफलको भागीदारी एक–एकले गर्नुपर्छ । एक राष्ट्र र त्यसको नागरिकका लागि एकमा सबै र सबैमा एक समाविष्ट हुनु गुणदायी, लाभदायी र फलदायी हुनसक्छ । सुगन्धित हावा मेरो उपलब्धि र दुर्गन्धित हावा तेरो भागमा भन्ने सोच केही दिनका लागि मात्र सम्भव छ, सधैँको लागि असम्भव ।
केही विवरण :
विश्वको घटनाक्रमलाई र त्यसको असरबारे अनि नेपालको घटनाक्रमलाई र त्यसको असरबारे इतिहासमा उल्लेख गरिएको छ । नेपालको प्राचीन, मध्ययुगीन, पञ्चायततन्त्र, राजतन्त्र र गणतन्त्रबारे इतिहासमा पढ्न पाइन्छ । त्यो पढेपछि सुखद र दु:खद दुवै ज्ञान आर्जन हुन्छ । सुखद भाव महसुस गर्नेले अझ त्यसै धारमा बग्न खोज्नु स्वाभाविक हुन सक्छ भने त्यसको विपरीत दु:खद भाव महसुस गर्नेले रोष प्रकट गर्न खोज्नु अकल्पनीय होइन । यसले समानता प्राप्तिका लागि समाज र राज्यभित्र कलह, नयाँ सङ्घर्ष र विभेदविरुद्ध विद्रोहकोे स्वस्फुर्त बाटो खोल्छ । एउटा प्रगतिशील देशका लागि यस्तो अवस्थाहरू असह्य हुनुपर्छ । यथास्थितिमा रहेर भावी पुस्ता सामञ्जस्यता (मेलमिलाप) साथ बाँच्न सक्दैन । विश्वपटलमा नेपाल र नेपाली नागरिकको लोकतान्त्रिक अस्तित्व र आस्था कायम गर्न युवापिंढी अगाडि बढ्नु अनिवार्य आवश्यकता बनिसकेको विचारणीय छ ।
अनावश्यक भेद–विभेद र अत्याचारको चक्रबाट बाहिर निस्कन गणतन्त्र उपयुक्त बेला हुन सक्छ । नेपाल देशको व्युत्पत्ति र एकीकरण तथा यहाँको भेष, भाषा, संस्कृति, संस्कार र धर्मबारे विस्तृत जानकारी बुझ्न इतिहास र वर्तमानलाई अध्ययन गर्नु जरुरी छ ।
प्राचीन इतिहासमा नेपालको शक्ति र सुन्दरताबारे उल्लेख गरिएको पाइन्छ । त्यसपछि १२औँ शताब्दीमा मध्ययुगीन मल्ल शासनको सुरुवात र अन्त्यपछि १८औँ शताब्दीको मध्यबाट गोर्खाका राजा पृथ्वीनारायण शाह र उनका सन्ततिले पूर्वमा टिष्टा, पश्चिममा काँगडा, उत्तरमा तिब्बतको तिङ्ग्री उपत्यका र दक्षिणमा गंगाको मैदानी भूभागसम्म बृहत् नेपालको सीमा पुनर्निर्धारण गरेको जानकारी प्रकाशमा छ । राणावंश र सुगौली सन्धिका कारकहरू नेपाललाई आजको अन्तर्राष्ट्रिय सीमामा सङ्कुचित गरिसकेको इतिहास जीवित छ । त्यसपछि पञ्चायतभरि कालरात्रि र अन्धो राष्ट्रवाद हावी रहेकोमा ०४६ मा त्यसको अवसान र संवैधानिक राजतन्त्र स्थापित भयो । त्यसपछिको कोसी र महाकाली सन्धिबारे सबैलाई अवगत छ । ०५२ देखि दीर्घकालीन माओवादी विद्रोह अल्पसमयमै जनयुद्धमा परिणत भयो, तब राजाविरोधी तमाम शक्तिहरू गोलबन्द भए, संवैधानिक राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना गर्न सफल भएको इतिहास कायम भएको छ । अपितु गणतन्त्रपछि पनि राज्यभित्र जनताले स्वतन्त्रतासाथ सामाजिक–आर्थिक परिवर्तन गर्ने चाहना प्राप्त गर्न नसकेको स्थिति विद्यमान छ ।
तराई, मध्यदेश, मधेस, मधेसिया, देशवालीजस्ता नाम र विशेषण बोकेका यी शब्दावलीले एक अखण्डित राज्यभित्र आधिकारिक पहिचान र आन्तरिक राष्ट्रियताको खोजी गर्दै आएको छ । पहिचान भनेको राष्ट्रिय पहिचान भन्ने बुझ्नुपर्दछ । राष्ट्रिय पहिचान भनेको नेपाली नागरिकता नै कुनै जनताका लागि अधिकारिक पहिचान हो । यति हुँदाहुँदै पनि नेपालको एकीकरणपश्चात् नागरिकहरूबीच मानवीय र भावनात्मक एकताको अभाव स्पष्ट नै देखिन्छ । त्यसैको परिणामस्वरूप नेपालमा सामाजिक आर्थिक परिवर्तनले गति लिन नसकेको हो ।
मधेसी मोर्चाको राजनीति नेपालको परिचय संयुक्त रूपले हिमाल (पहाड) र मधेस (तराई)बाट हुन्छ । दुवै एक–अर्काको परिपूरक हुन् र यसका आन्तरिक राष्ट्रियता मजबुत भएपछि भावनात्मक एकता बेजोड हुँदै जाने निश्चित हुन्छ तथा कुनै देशद्रोही वा षड्यन्त्रकारीले नेपालको अखण्डतालाई चुनौती दिन सक्दैन ।
इतिहास लामो छ । वेदानन्द झाले सन् १९५१ मा नेपाल तराई काङ्ग्रेस गठन गरेर मधेसमा स्वायत्तताको माग र खोजी सुरु गरे । समयक्रममा ०७ सालमा प्रजातन्त्र आयो । वि.सं. २०१५ को प्रजातान्त्रिक सरकार सत्र सालमा महेन्द्रबाट खोसियो । पञ्चायती व्यवस्था अस्तित्वमा आयो । सुधारिएको पञ्चायती व्यवस्थाले ०३६ मा विकसित रूप ग्रहण ग-यो । तर, नेपालभित्र, खास गरेर मधेसमा यसको दुस्प्रभाव बढ्दै गयो । मधेसीको जीवनमा कुनै स्वाभाविक सुधार आउन सकेन । तीतो सत्य यो पनि हो कि तत्कालीन मधेसी वर्चश्ववादीहरूले सर्वसाधारणको पक्षमा उभिने अठोट कहिल्यै गरेन । सामाजिक–आर्थिक रूपान्तरणमा अझ प्रतिकूल हुँदै गयो । केन्द्रीयता यसरी हावी हुँदै गयो कि मधेस र मधेसीको पहिचान जोगाउन स्वर्गीय गजेन्द्रनारायण सिंहले सन् १९८५ मा सङ्घीयतासहितको मुद्दा उठाएर नेपाल सद्भावना पार्टीको स्थापना गरेर अगाडिको लडाइँ शुभारम्भ गर्नुप-यो । संवैधानिक राजतन्त्रमा पनि मधेस र मधेसीको भाग्य उदय हुन सकेन । लगत्तै माओवादी आन्दोलन भड्किएपछि मधेसमा एक किसिमको अभिचेतना जागृत भयो । दोस्रो जनआन्दोलनपश्चात् १८ दिने मधेस (बन्द) विद्रोह १६ जनवरी २००७ मा खुलेआम सतहमा अवतरित हुँदा बाध्य भएर तत्कालीन नेपाल सरकारले २८ फेब्रुअरी २००८ मा मधेसी मोर्चासँग ८बुँदे सहमति गरेपछि नेपालको अन्तरिम संविधान २०६३ मा संशोधनसँगै सङ्घीय नेपालको अवधारणा समाविष्ट भयो ।
सुरुवातमा सद्भावना पार्टी र फोरम नेपालले संयुक्त मधेसी मोर्चा गठन गरेर नौबुँदे कार्यक्रममार्फत मधेस स्वायत प्रदेशको मागसँगै मधेसकेन्द्रित राजनीतिलाई अगाडि बढाइरहने प्रयास गरिरहे । यसैक्रममा ९ फेब्रुअरी २००८ मा सद्भावना पार्टी, फोरम नेपाल र तमलोपाले मोर्चालाई थप प्रभावकारी बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेर मधेस स्वायत्त प्रदेशसहित समानुपातिक प्रतिनिधित्व विधि अपनाउन ६बुँदे मागपत्र सरकारसामु पेस ग-यो । संविधानसभालाई प्रौढ र परिपक्व हुन नदिई अकाल मृत्यु गराउने वास्तविकताको प्रत्यक्ष साक्षी किनारामा निर्लज्ज उपस्थित हाल उक्त मोर्चा र मोर्चामा आबद्ध दलहरू पुन: गठन, विघटन र पुनर्गठन भई दोस्रो संविधानसभाको अनिश्चित निर्वाचनका लागि नयाँ ध्रुवीकरणमा व्यस्त रहेका छन् । तर, यिनीहरू पहिलो संविधानसभाअघि र संविधानसभाभित्रको गतिविधिलाई विश्लेषण, मूल्याङ्कन र समीक्षा नगरीकन मधेस र मधेसीलाई धोका दिन अग्रसर रहेको कुचेष्टा कसैसँग लुकेको छैन ।
मधेसमा राजनीतिक अवस्था :
मधेसमा राजनीतिक अवस्था सधैँ तरल रहँदै आएको छ । धारिलो राजनीति ठोस हुनहुन लाग्दा केन्द्रीय र क्षेत्रीय वर्चश्ववादीहरू आ–आफ्ना पुरानो धरातलहरू यथास्थितिमा राख्न कृतसङ्कल्पित हुने गरेको छ । केन्द्रीय वर्चश्ववादीहरू मधेसको विरुद्धमा नीति तथा कार्यक्रममार्फत भ्रष्टता र दूराचरण गर्ने गरेका छन् भने र क्षेत्रीय वर्चश्ववादी उक्त सिद्धान्तलाई तराई मधेसको उर्वर राजनीतिक भूमिमा निसङ्कोच क्रियान्वयन गर्छन् । वर्चश्ववादीहरू अन्धा हुन्छन् र तिनले दुवै हातमा लड्डु थाप्छन् । अहिले सबै दलको गिद्दे आँखा मधेसमा पुन: परेको छ । परापूर्वकालदेखि नै यथार्थ के छ भने मधेस मेरो हो, हाम्रो हो तर त्यहाँको विकास, प्रगति, उन्नति र समृद्धिका लागि कुनै सापेक्षिक कदम चाल्नु जरुरी ठानिँदैन । नेपाललाई एकातिर र त्यसको अवयव मधेसलाई एकातिर राखेर त्यहाँ निरपेक्ष रूपमा विकास असम्भव छ । राज्य तथा राजनीति कमजोर हुँदै जाँदा हत्या, हिंसा, अपहरण र सङ्क्रमणकाल लम्बिँदै छ । विकराल स्तरमा पुगिसकेको बेरोजगारीको स्थितिलाई राजनीतिले सम्बोधन गर्न सकेको छैन । बालमजदुरी चरम र निसहाय अवस्थामा छ भने महिलाहरू गएगुज्रेको अबलामा परिणत हुँदै गएको चाललाई राजनीतिज्ञहरूले आफ्नै घरआँगनमा अभिवृद्धि गर्दै छन् ।
नेपालको राजनीतिक अवस्था :
राजनीतिक अवस्था गुणस्तरीय नभएकाले विश्वसनीय छैन । विश्वसनीय नहुनुका पछाडि यथास्थितिवादी (वर्चश्ववादी)हरूको दिग्भ्रमित चिन्तनको साथै परिवर्तनकारी (अधैर्य)हरूको अनुभवहीनता मुख्य रूपले दोषी देखिन्छ । बाँकी कमी–कमजोरीको खाना पूर्ति गर्न मिडियाहाउसदेखि कर्मचारीहरू तम्तयार भएर बसेका छन् । यस परिस्थितिका लागि न्यायालय पनि कम जिम्मेवार छैन, अपवादमा छैन । जातिवाद, फरियावाद र ब्राह्मणवाद हटेको छैन । तर भेष, भाषा र संस्कृतिको क्षेत्रीयकरण अविरल छ । सङ्घीयताको अभावमा आफ्नो हक वा अधिकार, स्वाभिमान वा पहिचान र समाज वा देशको हित खोज्नेहरू बद्नाम हुने खतरा घट्नुको साटो बढ्दो छ । बाह्य र आन्तरिक कारणले सङ्क्रमणको बादल हट्ने सम्भावना न्यून छ ।
१) संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा (संलोममो) को सबल पक्ष –
क) मोर्चाको रूप–स्वरूप निरूपण र विस्तारीकरण हुनुभन्दा पहिले ०६२/६३ को दोस्रो जनअन्दोलनमा सक्रिय, सराहनीय र बलिदानपूर्ण सहभागिता रहेको ।
ख) ०६२/६३ को दोस्रो जनआन्दोलनपश्चात् मधेस ठगिएको चुनौतीसँग रुबरु भएपछि सम्पूर्ण तराई मधेसमा हरेक जातजाति, वर्ग र धर्मावलम्बीहरू भावनात्मक एकतामा एकसूत्र भई प्रकट भएको ।
ग) यसै भावनात्मक एकता र राजनीतिक ऐक्यबद्धता (परस्पर निर्भरता)को समायोजनले मधेस आन्दोलनले एक निश्चित धरातल प्राप्त गर्न सफल भएको ।
घ) यसै धरातलको आवरणमा नेपालको अन्तरिम संविधान २०६३ मा सङ्घीय नेपालको परिकल्पना पारित हुन सकेको र पहिलो संविधानसभाको चुनावमा प्रत्यक्षको साथसाथै समानुपातिक (अप्रत्यक्ष) प्रणाली लागू हुन सकेको यथार्थ छ ।
ङ) विगतमा मधेसको पहिचानका लागि प्राप्त गरेको उपलब्धिलाई अझ सशक्त बनाउँदै राष्ट्रिय पहिचान प्रदान गर्न भविष्यका लागि कोसेढुङ्गा सवित हुन सक्ने ।
२) संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा (संलोममो)को दुर्बल पक्ष –
क) नेपाल सद्भावना पार्टी र त्यसबाट विभक्त अंश पार्टीले मधेसको पहिचानका लागि खेलेको भूमिकालाई अवमूल्यन गरेको ।
ख) अरू दलसहित मजफो नेपाललाई एकजुट राख्न असफल रहेको ।
ग) सरकारमा समाविष्ट हुनु अन्यथा नभए पनि अन्य पार्टीसहित फोरमलाई पटक–पटक टुटाएर सरकारमा प्रतिनिधित्व भइराख्नु देश–मधेसको भावनाविपरीत रहेको । यसको सीधा असर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बनावट, उद्देश्य र भावी अस्तित्वमाथि परेको ।
घ) सरकारमा अत्यधिक समयसम्म र सङ्ख्यामा प्रतिनिधित्व पाउनुलाई गर्व गर्नु, यस मात्रात्मक रूपको प्रशंसामा मात्र लिप्त रहनु तर गुणात्मक प्राप्तिबारे चनाखो नहुनुलाई मधेसी नागरिकले विशेष रूपमा नोटिस (ध्यान दिएको) गरेको ।
ङ) मधेसमा अब पुन: पार्टीहरूबीच खिचातानी, ध्रुवीकरण र मतभेदको सिर्जना हुने तथा यी सबै तत्कालका लागि चुनावकेन्द्रित मात्र हुने दृष्टान्त राखेकाले मधेसको पहिचान, अपेक्षा र राजनीतिमाथि यसको भयावह, दूरगामी र प्रतिकूल असर पर्ने निश्चित छ ।
३) संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा (संलोममो)को लागि अवसर –
क) दूरगामी महत्व र प्रयोजनका लागि मुद्दामा आधारित दल एकीकरण, ध्रुवीकरण र मोर्चाबन्दी गर्नु आवश्यक रहेको ।
ख) विगतको कमी–कमजोरी हटाउन त्यस गतिविधिलाई सूक्ष्म दृष्टि, व्यापक दृष्टिकोण र पारदर्शी तवरले विश्लेषण, मूल्याङ्कन र समीक्षा गर्ने ।
ग) देश र राष्ट्रियता, मधेस र मधेसी तथा स्वाभिमान र पहिचानको जागरण गर्ने–गराउने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आवश्यक तर इमानदार भूमिका निर्वाह गर्ने ।
घ) संविधानसभाको दोस्रो निर्वाचनमार्फत सबै जाति, वर्ग र क्षेत्रको सहभागिता गरी–गराई मुलुकको समावेशी र समानुपातिक राज्य, शासन र सत्तामा आमजनताको प्रतिनिधित्व र पहुँच पु-याउने लक्ष्य हासिल गर्ने ।
ङ) देश र मधेसको राजनीतिमा प्रभाव पारीकन सामाजिक–आर्थिक परिवर्तनमा सकारात्मक असर पार्ने मौका । हिंसा, बालमजदुरी, महिला उत्पीडन, आधुनिक सिँचाइ खेती, युवा बेरोजगारी, स्वास्थ्यमा पहुँच र शान्तिसुरक्षालाई राजनीतिक रूपमा सम्बोधन गर्ने र समाजलाई वैश्विक गाउँसँग जोड्न हरेक प्रयत्न गर्ने ।
४) संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा (संलोममो)को चुनौती –
क) हालसम्म मधेसी दल र मोर्चाहरू क्षेत्रीय वर्चश्ववादीको रूपमा स्थापित भएको र केन्द्रीय वर्चश्ववादीहरूको पुच्छरको प्रतिरूपमा निष्ठावान सावित भएको ।
ख) यसरी देश र मधेसको भावनालाई कुण्ठित गरीकन अगाडि बढे देश र मधेसको राजनीति नै भद्रगोल, दिशाहीन र कमजोर हुने खतरा ।
ग) पहिलो संविधानसभाको सदनभित्र, व्यवस्थापिका संसद् र मन्त्रिपरिषद्मा विवेकहीन क्षमता प्रदर्शन गरेको भूमिका सर्वसाधारण मधेसीले अवलोकन गरिसकेकाले संविधानसभाको दोस्रो निर्वाचनमा त्यसको प्रत्यक्ष असर पर्ने निश्चित रहेको ।
घ) देश र मधेसभित्र विद्यमान असमान अवसरलाई कहिलेदेखि न्यून गर्ने, राष्ट्रघाती, देशद्रोही, अलगाववादी, विखण्डनवादीजस्ता अत्यन्त गम्भीर आरोपलाई कसरी खण्डन र व्यवस्थापन गर्ने, मधेसलाई हेर्ने नकारात्मक र हेपुवा प्रवृत्तिले मधेस हिंस्रक मनस्थितिमा रहेको तीतो सत्यलाई कसरी र कुन विधिले हल गर्ने, राज्यमा सम्पूर्ण हिस्सेदारीका लागि चेतनशील रूपमा सशस्त्र गतिविधिमा लागेका युवा र जेलमा सजाय भोगिरहेका जन शक्तिलाई कसरी न्यायनिसाफ दिलाउन सक्ने ।
ङ) नेपालको विदेशनीतिमा प्रत्यक्ष–अप्रत्यक्ष भूमिका खेल्न देश र मधेस, भारत र चीन तथा युरोप र अमेरिकासँग कूटनीति र सम्बन्ध स्थापित गर्न परिस्थितिको ठोस आँकलन गरेर ठोस अवधारणा बनाउने ।