फुटबलमा अर्को चार वर्ष थापाकै ‘तानाशाही’ चल्ने निश्चित

फुटबलमा अर्को चार वर्ष थापाकै ‘तानाशाही’ चल्ने निश्चित


sportएन्फामा ‘हिजडा’

अखिल नेपाल फुटबल सङ्घ एन्फामा गणेश थापाको तानाशाही’ चलेको अहिले दुई दशक भएको छ । ०५१ सालमा एन्फा अध्यक्षको कार्यभार सम्हाल्दा थापाले पाँच वर्षमा नेपाली फुटबलको कायापटल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । नेपाललाई दक्षिण एसियाको सर्वश्रेष्ठ फुटबल राष्ट्रको रूपमा चिनाउने र दबदबा कायम राख्ने शंकनाद गरेका थिए उनले । लोकप्रिय फुटबल खेलाडीसमेत रहेका थापाको त्यतिबेलाको उत्साह र प्रतिबद्धता देख्दा एक खेल पदाधिकारीका रूपमा पनि उनी उत्कृष्ट सावित हुनेछन् भन्ने सबैले विश्वास लिएका थिए । यो कुरामा खरो उत्रिन थापाले नयाँ परियोजनाअन्तर्गत एन्फा एकेडेमीको आरम्भ र लामो समयदेखि अवरुद्ध रहेको शहीद स्मारक लिगलाई सुचारु तुल्याएर वाहवाही बटुलेका थिए । छोटो समयमा थापाले गरेका यी उदाहरणीय कार्यबाट सिङ्गो खेलकुदमा उनी चर्चित बन्न पुगेका थिए । यसपछि मुलुकमा फुटबलका गतिविधिलाई तीव्रता दिएर थापा रातारात पदाधिकारीको रूपमा समेत ‘हिरो’ बन्न सफल भएकै हुन् ।
तर, सौभाग्य भन्ने कि दुर्भाग्य, थापाले एन्फामा राज गरेको अहिले दुई–पाँच वर्ष होइन, पूरै बीस वर्ष भइसकेको छ । यो अवधिमा समग्र नेपाली फुटबलको विकासमा थापाको प्रेरणादायी भूमिका रहे पनि परिणामको हकमा उपलब्धिहीन रह्यो । थापाको बीसबर्षे कार्यकालमा फुटबल, फुटबल खेलाडी, प्रशिक्षक, पदाधिकारी र स्वयम्को स्वार्थ पूरा भए पनि राष्ट्रको स्वार्थ भने पूरा भएन, यसमा थापा पूर्णरूपमा असफल रहे । राष्ट्रिय रूपमा फुटबलले जरा गाडे पनि अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रदर्शन फितलो रह्यो । दुई दशक लामो अवधिमा समेत नेपालले एउटै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेन जुन थापाको कार्यकालको सबैभन्दा ‘कालो’ धब्वाको रूपमा रहेको छ । यो कालो धब्वालाई थापाले कहिलेसम्म बोक्ने हुन् त्यसको अत्तोपत्तो छैन । र पनि, इमानदारीका साथ भन्नुपर्दा अन्तर्राष्ट्रियस्तरमा फुटबलको निराशाजनक प्रदर्शन रहे पनि ‘वरियता’ क्रममा भने नेपालले दक्षिण एसियाली मुलुकहरूलाई पछार्न सफल भएको थियो । ‘वरियता’ जुन आफैँमा अर्थहीन भए पनि थापाको चह-याइरहेको घाउमा नुन–खुर्सानी दल्नमा अहम् भूमिका निर्वाह गरेको छ ।
वर्तमान अवस्थामा एन्फाको चुनावी सरगर्मीले खेलकुदलाई तताएको छ । एन्फाअन्तर्गत रहेका ४५ जिल्ला फुटबल सङ्घको निर्वाचन भइसकेको अवस्था छ । जिल्ला सङ्घको निर्वाचन सम्पन्नसँगै पुन: अध्यक्ष पदमा उम्मेदवारी दिन हालै थापाले जिल्ला दौडाहा सम्पन्न गरेका छन् । विरोधी आवाजलाई दबाउन र आफ्नो पक्षमा माहौल तयार पार्न थापा अहिले युद्धस्तरमा लागेका छन् । अध्यक्ष पदमा उनको विकल्पको रूपमा अन्यको उपस्थिति कल्पनाबाहिरको कुरा हो । र पनि, थापाको नाटक भने जारी छ, उनी एकातिर आफूलाई सबै साथीहरूको समर्थन रहेको दाबी गरिरहेका छन् भने अर्कोतर्फ साथीहरूको भावनाअनुरूप उम्मेदवारी दिने बताउँदै आएका छन् । साँचो रूपमा भन्नुपर्दा थापा एन्फाको वागडोर अरूलाई सुम्पने पक्षमा छैनन् । थापा २४ वर्ष मात्रै होइन, जीवनपर्यन्त एन्फाको अध्यक्ष खान चाहन्छन् । यदि त्यस्तो मनसाय नहुँदो हो भने थापाले अवश्य पनि आफ्नो उत्तराधिकारीको चयन गर्थे होला । तर विडम्बना, यस्तो गरिएको छैन । उल्टै एन्फालाई ‘विरोधीहीन’ बनाइएको छ । सबै पदाधिकारी थापाका अगाडि मनमस्तक छन् । सवब ‘त्वमेव माता पिता त्वमेव’ भन्दै थापाको अगाडि छाँद हालेको अवस्था छ । थापाविरुद्धमा आवाज उठाउनु वा शिर ठाडो पार्नु फाँसीको सजाय पाउनुसरह भएको छ । किनकि यसो गरेमा एन्फाबाट सधैँका लागि हात धुनुपर्छ । तसर्थ अहिले पनि तैँ चुप मै चुपको अवस्था छ । कोही पनि थापाको समर्थनविरुद्धमा बोल्न चाहँदैनन् । यसबाट सोझै अड्कल लगाउन सकिन्छ– एन्फामा थापाको राज कसरी चलिरहेको छ भनेर ।
जहाँ विरोधी हुँदैन त्यहाँ विकल्प पनि हँुदैन । विकल्प नभए त्यहाँ तानाशाही जन्मिन्छ । जो गणेश थापामा हुबहु लागू हुन्छ । थापा पनि यसरी नै जन्मिएका एक तानाशाह हुन् । जसले एन्फालाई बाबुको बिर्ताभन्दा अर्को सम्झेका छैनन् । आफूभन्दा योग्य मान्छेलाई एन्फामा छिर्नै नदिने र छिरिहाल्यो भने पनि साम, दाम, दण्ड, भेद चारै नीति अवलम्बन गरेर टिक्न नदिने उनको रणनीति तानाशाही बन्ने सोचको उपज हो । यसो भन्दैमा थापालाई पूर्णरूपमा दोष दिनचाहिँ मिल्दैन । आफ्नो कुर्सी बचाउन जसले पनि जस्तोसुकै चाल चल्न सक्छ, यसमा थापा सफल भए, त्यो भिन्दै कुरा हो । तर, एन्फामा बसेका ‘हिजडा’हरूको फौज पनि थापालाई तानाशाही बनाउन उत्तिकै दोषी छ । उनीहरूले बिनामौसममा बजाउने तालीले गर्दा यस्तो स्थितिको सिर्जना भएको हो भन्दा अतिसयोक्ति नहोला । उनीहरूले सत्यतथ्यलाई आत्मसात् गर्नुभन्दा लोभीपापीको भूमिका निर्वाह गर्नुले थापालाई तानाशाह बनाएको कुरालाई नकार्न सकिँदैन । प्रजातान्त्रिक मुलुकमा ‘तानाशाही’ आफैँमा हास्यास्पद कुरो हो । कसैले तानाशाही लाद्न खोजे त्यसको विरोध र प्रतिवाद गर्न सक्नुपर्छ । तर, एन्फामा भने यसको ठीक उल्टो भएको छ । ती हिजडाहरूले थापाका गैरकानुनी क्रियाकलापका विरुद्ध ‘चु’सम्म गर्न सकेका छैनन् । एक लाख डलरको काण्ड त्यसै सेलाएर गएकोे छ । अहिले व्यक्तिगत लेनदेनमा सीमित भएको छ । यदि एन्फाका पदाधिकारीले समयमै त्यसको खोजीनिती र झण्डाफोर गरेका भए आज थापा अन्तै कतैबाट एन्फाको सपना देख्दै अफसोच गरिरहेका हुन्थे ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाको चारवर्षे कार्यकालका लागि यो वर्ष निर्वाचन हुँदै छ । उक्त निर्वाचनको मिति तोक्न एन्फाको केन्द्रीय समितिको बैठक यही भदौ ६ गते बस्दै छ । अहिलेसम्म निर्विरोध अध्यक्ष बन्दै आएका थापा निर्वाचनको मिति घोषणासँगै अर्को कार्यकालका लागि पनि अध्यक्ष हुने पक्कापक्कीजस्तै छ । यसका लागि एन्फाका पदाधिकारीहरूले हात उठाइसकेका छन् । थापाबिना फुटबल चल्न सक्तैन भन्ने मानसिकता बोकेका उनीहरू पहिले अध्यक्षको टुङ्गो लगाउने र त्यसपछि आफ्नो दुनो सोझ्याउने धुनमा छन् । अध्यक्षमा थापाको चयनपछि उनकै इसारामा एन्फाको कार्यसमिति बन्नेछ । जसको चयनमा थापाको प्रत्यक्ष संलग्नता रहने हुँदा थापाका सहयोगी अर्थात् हनुमानहरूको बाक्लो उपस्थिति रहने पक्का छ । उनीहरूलाई थापाले सानो–ठूलो ‘ललिपप’ दिएर वा देखाएर आफ्नो स्वार्थसिद्ध गर्नपट्टि लाग्नेछन् । यसरी सद्दाम हुसेनजस्तो तानाशाही हुने सपना देखेका थापालाई फुटबलको एक्लो नेता हुनबाट कसैले रोक्न सक्ने छैन ।
फुटबलमा आफ्ना विरोधीलाई प्रवेश निषेध गरेका थापाले गीता राणा र लोकबहादुर शाहीको कसरी पत्तासाफ गरे त्यो जगजाहेरै छ । पछिल्लो चुनावमा गीता राणाको पक्षमा खुलेर लागेका शाहीलाई थापाले अन्तिम समयमा कसरी गायब गरे र राणालाई प्रस्तावक र समर्थक पनि जुटाउन नदिई उम्मेवारी दिनबाट वञ्चित गराए सायदै त्यो कसैले बिर्सेको होला । जिल्लाका प्रतिनिधिलाई हप्तौँ कोठामा थुनेर त्यहीँबाटै प्रस्तावक वा समर्थनमा हस्ताक्षर गराएर थापाले उनीहरूलाई आफ्नो पक्षमा पारेका थिए । थापाले ७२ मध्ये ७१ लाई आफ्नो पक्षमा पारेका थिए भने बौद्ध क्लब मात्र उनको विपक्षमा रहेको थियो । त्यसपछि बौद्ध क्लबका अर्जुन लामाको हविगत के भयो त्यो बताइरहनु नपर्ला । तर, अहिलेको निर्वाचनको सिनारियो गत वर्षको जस्तो छैन । थापाको विरोधी र उनीविरुद्ध उम्मेदवारी दिने कोही छैन । अर्को कुरा थापाले अहिले जिल्लाका प्रतिनिधिलाई थुनछेक गरेर राख्नुपर्ने छैन । यसर्थमा कि थापाले उनीहरूलाई जिल्ला दौडाहाका क्रममा अग्रिम हस्ताक्षर गराइसकेका छन् । यसरी २० वर्ष फुटबलमा तानाशाही चलाएका थापाले अर्को चार वर्ष पुन: तानाशाही चलाउने पक्का भएको छ । जसका लागि थापा र उनका हनुमानलाई अग्रिम बधाई छ । तर, स्मरणका लागि के भन्न चाहन्छु भने तानाशाहीको पनि एक दिन अवश्य अन्त्य हुन्छ, जसरी सद्दाम हुसेनको भयो ।

खेल समाचार

एलए जुनियर खुला टेनिस हुने
लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा सातौँ एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता भदौ ९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा उपत्यकासहित विभिन्न ४० जिल्लाका तीन सय ५० खेलाडीको सहभागिता रहने पत्रकार सम्मेलनमा एलएका भाइस प्रिन्सिपल राजेश श्रेष्ठले जानकारी गराएका हुन् । प्रतियोगितामा ब्वाइज/गल्र्सको यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । यू–१४ तर्फ ब्वाइज र गल्र्सको सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ । अन्य उमेर समूहमा सिंगल्समा मात्र खेल हुनेछ । कार्यक्रममा भाइस प्रिन्सिपल श्रेष्ठले विद्यार्थीको चौतर्फी विकासका लागि स्कुलले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिइरहेको बताए । उनले स्कुलको करिब तीन सय रोपनी जग्गामध्ये दुई सय रोपनी खेलकुदका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको जानकारी गराए । अर्का भाइस प्रिन्सिपल मुकुन्दराज शर्माले विद्यालयकेन्द्रित खेलकुद गतिविधिले राष्ट्रिय खेलकुद परिषद्ले अघि सारेको विद्यालय खेलकुद अवधारणालाई सफल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । एलएका टेनिस प्रशिक्षक रामेश्वर थापाले पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीका टिमलाई निश्चित अङ्क प्रदान गरी समग्रमा टिम च्याम्पियनको चयन गरिने बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब पाँच लाख रुपैयाँ खर्च हुने बताइएको छ । प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कोर्ट र हात्तीवनस्थित एलएको कोर्टमा खेलाइनेछ ।

सिङ्गल ट्र्याकलाई इको च्यालेन्ज उपाधि
‘प्रथम टान अन्तर्राष्ट्रिय इको च्यालेन्ज’को उपाधि काठमाडौंको सिङ्गल ट्रयाक टिमले हात पारेको छ । हालै सम्पन्न प्रतियोगितामा नारायणगोपाल महर्जन, बुद्धिबहादुर तामाङ, आयामान थिङ तामाङ र जेबी लिम्बू सम्मिलित टिमले ६.५ किलोमिटरको दौड, १४.५ किलोमिटरको साइक्लिङ र ७.५ किलोमिटरको -याफ्टिङको दूरी दुई घन्टा ४३ मिनेट र ३७ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हात पारेको थियो । उक्त टिमको व्यवस्थापकमा धनजित राई रहेका थिए ।
पर्यटन खेलकुदको माध्यमले राष्ट्रलाई विश्वसामु पहिचान गराउने तथा खेलकुदको माध्यमबाट नेपालमा पर्यटन भित्याई अर्थतन्त्रलाई टेवा प्रदान गर्ने उद्देश्यले ट्रेकिङ एजेन्सी एसोसिएसन नेपालले प्रथमपटक आयोजनामा गरेको प्रतियोगिताको दोस्रो स्थान नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘बी’ टिमले हासिल गरेको थियो । पुष्पराज शाहीको व्यवस्थापनमा रहेको हिमाल टमटा, टीकाराम थापा, चित्र पौडेल र वसन्त चौधरीको टिमले उक्त दूरी दुई घन्टा ४६ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए ।
त्यस्तै ऐल याक टिम दुई घन्टा ४८ मिनेट र १६ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । दावा शेर्पाको व्यवस्थापनमा रहेको सो टोलीमा मंगलकृष्ण लामा, सुनिल लामा, राजन राजभण्डारी र रिचार्ड बुल रहेका थिए । प्रतियोगिता टिमको आधारमा खेलाइएको थियो । एक टिममा चार खेलाडीको सहभागिता रहने र उक्त टिमका खेलाडीले दौड, साइक्लिङ र -याफ्टिङ पूरा गरेपश्चात् खेल पूरा हुने व्यवस्था रहेको थियो ।
प्रथम हुने टोलीले नगद एक लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । विजेताहरूलाई युवा तथा खेलकुद एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । उक्त अवसरमा अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटको उपस्थिति रहेको थियो । प्राचीन सहर टोखाको भूतखेलमा राखेपका सदस्यसचिव युवराज लामा र अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए भने समापन गोकर्णमा भएको थियो । प्रतियोगितामा काठमाडौं, सेना र कास्कीका २१ टिमको सहभागिता रहेको थियो ।

अन्तरक्लब पौडीमा धुम्बाराहीको सनसनी
नेपाल प्रहरी क्लबका शिरीष गुरुङले प्रथम अन्तरक्लब पौडी प्रतियोगितामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । उनले पुरुषको दुई सय मिटर ब्याकस्ट्रोक दुई मिनेट ३९:०६ सेकेन्डमा पूरा गर्दै दुई मिनेट ४३:१० सेकेन्डको पुरानो कीर्तिमानमा सुधार गरेका हुन् । कीर्तिमानबापत शिरीषले पाँच हजार नगद पुरस्कार प्राप्त गरेका थिए । कीर्तिमानी स्वर्णसहित शिरीषले प्रतियोगितामा कुल आठ स्वर्ण जितेका थिए ।
पुरुषको ३५ वर्षमाथि एक सय मिटर ब्रेस्टस्ट्रोकमा बुल्स क्लबका सूर्य थापा, आर्मीका लालबहादुर महतो र आर्मीका महेन्द्र मन्दिप, ४५ वर्षमाथि ५० मिटर ब्रेस्टस्ट्रोकमा लिटिल एन्जल्स (एलए) स्कुल स्विम क्लबका वैकुण्ठ प्रधान, जयप्रकाश गुरुङ र स्टारफिस स्विम क्लबका प्रबल थापा तथा ३५ वर्षमाथि ५० मिटर फ्रिस्टायलमा एलएका चन्द्रराम चौधरी, बुल्सका सूर्य थापा र आर्मीका लालबहादुर महतो क्रमश: शीर्ष तीन स्थानमा रहे । पुरुषको एक सय मिटर ब्रेस्टस्ट्रोकमा बनिनसेन्सा श्रेष्ठ र ५० मिटर ब्याकस्ट्रोकमा ललितकृष्णका जयन्त पहिलो भएका थिए । ५० मिटर फ्रिस्टायलमा आर्मीका दिलीप थापामगरले बाजी मारे । महिलामा धुम्बाराहीकी ओसिन भारती सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनिन् । उनले जम्मा ६ स्वर्ण जितेकी थिइन् । ओसिनाले एक सय मिटर ब्याकस्ट्रोक, फ्रिस्टायल र बटरफ्लाईमा स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै यो प्रतियोगितामा ललितपुरकी शिला गुरुङले तीन स्वर्ण जितेकी थिइन् । महिलाको दुई सय मिटर ब्रेस्टस्ट्रोकमा अन्नपूर्णकी सोनिरा विष्टले बाजी मारेकी थिइन् । सोनिराले ५० मिटर ब्रेस्टस्ट्रोकमा पनि स्वर्ण जितेकी थिइन् । महिलाको ३५ वर्षमाथि ५० मिटर ब्रेस्टस्ट्रोकमा बुल्सकी नीता थापा पहिलो, प्रहरीकी कमला गुरुङ दोस्रो तथा बुल्सकी हेमकुमारी पुन तेस्रो भएका थिए ।
प्रतियोगितामा धुम्बाराही दुई सय १४ अङ्कका साथ पहिलो भएको थियो भने एक सय ७४ अङ्कका साथ आर्मी दोस्रो र तेस्रो भएको ललितकृष्णले एक सय ३९ अङ्क प्राप्त गरेको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालगायतले पुरस्कृत गरेका थिए । सो अवसरमा स्पेनको बार्सिलोनमा भएको १५औँ फिना विश्व पौडी च्याम्पियनसिपमा दुई कीर्तिमान बनाएकी सोफिया शाह र एक कीर्तिमान रचेकी श्रेया धिताललाई नगद पुरस्कार प्रदान गरिएको थियो । प्रत्येक कीर्तिमानका लागि पाँच हजारका दरले नगद प्रदान गरिएको थियो । पहिलोपटक आयोजित अन्तरक्लब पौडीमा विभिन्न २० क्लबका खुलातर्फ ७३ पुरुष र ४२ महिला तथा भेट्रान्समा १५ पुरुष र सात महिलाले प्रतिस्पर्धा गरेका थिए ।

अनाथ बालबालिकाको खेल महोत्सव
नेपालका अनाथ तथा असहाय बालबालिकाको क्षेत्रमा कार्यरत संस्था स्पेक जापानले ‘चौथो अनाथ बालबालिका खेल महोत्सव’को आयोजना गरेको थियो । जापानबाट आएका स्वयम्सेवकहरूको संयोजनामा महोत्सवमा अनाथ तथा असहाय बालबालिकालाई फुटबल, दौड, रिले र जापनिज सामुराई खेल खेलाइएको थियो । कपनस्थित माउन्ट एभरेष्ट स्कुलको खेलमैदानमा आयोजित महोत्वसमा काठमाडौंको सहारा इन्टरनेसनल नेपाल अनाथालय प्रथम भएको थियो । काठमाडौंको मानवीय सरोकार केन्द्र द्वितीय र भक्तपुरस्थित बालसुधार समाज तृतीय भएको थियो । प्रथम हुने संस्थाले नगद २० हजार पाँच सय, द्वितीयले १८ हजार पाँच सय र तृतीयले १४ हजार पाँच सय प्राप्त गरेका थिए । नवलपरासीको अहिंसावादी महाबौद्ध अनाथालयलाई सान्तना पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका संयोजक गणेशमान लामाले खेलकुदको माध्यमबाट बालबालिकाको मानसिक र शारीरिक विकास हुने बताए । स्पेक, जापनका युसुके योसोकावाले अनाथ आश्रममा बसेका बालबालिकालाई समाजमा घुलमिल गराउन र आपसी खुसी साट्न सो कार्यक्रम प्रभावकारी भएको बताएका थिए ।

चार खेलाडी युवा पुरस्कारबाट सम्मानित
क्रिकेटका पारस खड्का, करातेका सुनील लामा, उसुकी चाहना बम्जन लामा र फुटबलकी जमुना गुरुङ राष्ट्रिय खेलकुद युवा पुरस्कार– ०६९ बाट सम्मानित भएका छन् । आ–आफ्नो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गरेबापत उनीहरूलाई युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको हो । त्यस्तै नेपाल भलिबल सङ्घ सोही वर्षको उत्कृष्ट सङ्घ घोषित भएको छ । उनीहरूलाई समान १–१ लाख नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै ०५३ सालदेखि उच्चकोटिको साहित्यमा सक्रिय झमककुमारी घिमिरे, जुम्लाजस्तो विकट ठाउँमा स्वस्थ्य सेवामा समर्पित राधा पौडेल, पत्रकारितामार्फत पर्यटन प्रवद्र्धन गर्न योगदान पु-याएका पत्रकार सन्जोग आचार्य तथा कृषि क्षेत्रमा उदाहरणीय कार्य गरेका वेदप्रकाश सापकोटालाई युवा प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै साहित्य, गायन आदि क्षेत्रमा लागेका युवालाई प्रोत्साहन गर्ने संस्था राष्ट्रिय युवा सेवा कोष पनि पुरस्कृत भएको थियो । उनीहरूले पनि जनही १–१ लाख रुपैयाँ प्राप्त गरेका थिए । अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उनीहरूलाई नगद र प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रम युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठको सभापतित्वमा भएको थियो ।

विद्यालय कबड्डी सङ्घ गठन
निमा लामाको अध्यक्षतामा १८ सदस्यीय नेपाल विद्यालय कबड्डी सङ्घ गठन गरिएको छ । नवगठित सङ्घका ६ उपाध्यक्षमा संगीता हमाल, जगन्नाथ तिवारी, अनिलकुमार झा, पदम कार्की, सीताराम अवस्थी र सागर भुसाल रहेका छन् । त्यस्तै लक्ष्मीनारायण वैद्य महासचिव, हिमाल रन्जित सचिव तथा राजेश श्रेष्ठलाई कोषाध्यक्षमा चयन गरिएको छ । यसैगरी सङ्घको सदस्यहरूमा इन्दिरा याक्थुम्बा, मञ्जु कार्की लामिछाने, महेश श्रेष्ठ, प्रदीप महर्जन, विमल थापा, देवराज महर्जन, पशुपति प्रजापति र राखेप प्रतिनिधि छन् । राखेपामा एक सय ३६औँ रूपमा दर्ता भएको नवगठित सङ्घका पदाधिकारी र सदस्यलाई राखेप सदस्यसचिव युवराज लामाले मनोनयनपत्र प्रदान गरेका थिए ।