चुनाव हुन नदिए नेपाललाई भन्दा वैद्यजीहरूलाई ठूलो घाटा पुग्नेछ

चुनाव हुन नदिए नेपाललाई भन्दा वैद्यजीहरूलाई ठूलो घाटा पुग्नेछ


ashok mehta – अशोक मेहता, (भारतीय सेनाका पूर्वजनरल एवम् राजनीतिक विश्लेषक)
० नेपालमा संविधानसभाका लागि दोस्रो निर्वाचन हुने या नहुने संशय बाँकी नै छ, तपाईं नेपालको राजनीतिक मामलाबारे विशेष चासो राख्ने र विश्लेषणसमेत गर्ने व्यक्ति हुनुहुन्छ, तपाईंको नजरमा आगामी मङ्सिर ४ मा संविधानसभाको निर्वाचन होला कि नहोला ?
– जहाँसम्म मैले बुझेको छु नेपालमा दोस्रो संविधानसभाको निर्वाचन सम्भव छ । भएन भने त नेपालले ठूलो मौका गुमाउँछ, झन् पछि पर्ने अवस्था आउँछ । किनकि, संविधानसभाबाट संविधान बनाउने यो नै अन्तिम मौका हो भन्ने मलाई लाग्छ । पटक–पटक संविधानसभाको निर्वाचन भइरहन सम्भव हुँदैन, जनताले त्यो अवसर दिइरहन मुस्किल पर्छ । त्यसैले एक शुभचिन्तकका रूपमा म आग्रह गर्न चाहन्छु कि नेपालका सबै राजनीतिक दल मिलेर यो निर्वाचनमा सहभागी हुनुहोस् । चुनावको विरोध गर्दै आउनुभएका मोहन वैद्य पनि चुनावमा सहभागी हुनुहोस् भनी म अनुरोधात्मक सुझाव दिन चाहन्छु ।
० मोहन वैद्यजीले चुनावमा नजाने भन्नुभएको छ, अप्ठ्यारा–अप्ठ्यारा सर्त अघिसार्नुभएको छ, नेकपा–माओवादीजस्तो महत्वपूर्ण शक्ति नै सहभागी नभए कसरी चुनाव होला त ?
– मैले सुनेको छु कि मोहन वैद्य नेतृत्वको पार्टीले गोलमेच सम्मेलन, चुनावको मिति सार्ने र मन्त्रिपरिषद् अध्यक्षले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने भनी तीनवटा सर्त अघिसारेको छ, वार्ताबाट यसको समाधान निस्कन्छ । उहाँहरू वार्ताका लागि तयार रहेको सूचना मैले पाएको छु । मलाई लाग्छ कि मोहन वैद्यजीलाई यो निर्वाचन नेपालको हितमा छ, लोकतन्त्रको हितमा छ भन्ने राम्रो ज्ञान छ । त्यसैले उहाँ पनि सुरक्षित अवतरणको बाटो पाएमा निर्वाचनमा जानुहुन्छ । त्यसका लागि चुनावको मिति केही पछि सार्न र खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउन प्रमुख दलहरू तत्पर हुनुपर्ने अवस्था आउन सक्छ, जसले वैद्यजीलाई जितको अनुभूति गराउँछ र त्यसले अन्य पक्षलाई खास घाटा पनि गराउँदैन । यसरी अन्ततः सबै सहभागी भएर चुनाव हुने माहोल निर्माण हुनसक्छ ।
० मङ्सिर ४ गतेका लागि निर्धारण गरी सोअनुरूपको तयारी अघिबढिसकेको परिवेशमा नेकपा–माओवादीको चाहनाअनुरूप त्यो मिति सार्नुपर्छ भन्ने तपाईंको आशय हो ?
– बाधा अड्काउ फुकाउको सहारा लिएर राष्ट्रपतिद्वारा निर्वाचनको मिति २०–२५ दिनजति पर सार्नुमा त्यस्तो खास आपत्ति मान्नुपर्ने कारण म देख्दिनँ । तर, म जोड दिएर भन्न चाहन्छु कि मङ्सिरभित्रै चुनाव हुनुपर्छ, धेरै पछि सार्न खोज्नु घातक हुनसक्छ ।
० अनि गोलमेच सम्मेलन गर्न पनि दलहरू तयार हुनुपर्ने भयो होइन त वैद्यजीलाई चुनावमा लैजानका लागि ?
– हो, हो । दुईपक्षबीच कम्प्रोमाइज हुनुपर्छ यस्ता विषयमा । तर, चुनाव हुन नदिने प्रकारका बहानाबाजी गरिएचाहिँ वैद्यजीहरू चुनावमा नगए पनि चुनाव रोकिनुहुन्न, हुनैपर्छ । राम्रोचाहिँ यसैमा हुन्छ कि यथासम्भव वैद्यजी पनि निर्वाचनमा सामेल हुनुपर्छ । यसो हुन सके नेपालको दूरगामी हित हुनेछ ।
० वैद्यजी चुनावमा सामेल भए त राम्रै होला, नभएमा पनि चुनाव गर्नैपर्छ भने त त्यो चुनावले समस्या समाधान गर्नुको साटो झन् बल्झाउँदैन र ? संविधान प्राप्त होला र नेपालमा ? त्यसले भोलि फेरि द्वन्द्व निम्त्याउँदैन र ?
– द्वन्द्व निम्तने गरी असन्तुष्ट पक्षलाई भड्काउने होइन कि लोकतान्त्रिक प्रक्रियामा ल्याउन पहल गरिरहनुपर्छ । असन्तुष्ट पक्षको जायज कुराहरूको सुनुवाइ पनि गर्नुपर्छ राज्यले । यसो गरिएमा आक्रोश कम हुन्छ र विश्वास बढ्छ । तर, कुनै एउटा पार्टीले राजनीतिक प्रक्रियाबाट आफूलाई विमुख गराउँदैमा मुलुक यथास्थानमा रोकिएर बस्न भने सक्दैन, बस्दैबस्दैन, मिल्दैमिल्दैन ! मेरो भनाइको मतलब वार्ताको निम्ति सबै पक्ष लचकदार हुनु आवश्यक छ, यथासम्भव वैद्यजीहरूलाई चुनावका निम्ति तत्पर गराउनुपर्छ, भएभरको जोड लगाउँदा पनि भएन भने त उहाँहरूलाई उहाँहरूकै स्थानमा रहन दिएर अन्य सबै पक्ष निर्वाचन प्रक्रियामा होमिनुपर्छ ।
० भनेपछि भारत यसपटक नेपालमा जसरी पनि संविधानसभाको निर्वाचन भएको हेर्न चाहन्छ, होइन त ?
– भारत मात्र होइन चीन, युरोपियन युनियनलगायत सबै अन्तर्राष्ट्रिय निकायले यसको समर्थन गरेका छन् । नेपालमा चुनाव हुनु सार्कराष्ट्रको पनि हितमा छ, सबैभन्दा महत्वपूर्ण त वैद्यजीहरूको पनि हितमा छ । यो कुरा मोहन वैद्यजीले राम्रैसँग बुझ्नुपर्ने हो । यो बुझेर वैद्यजीले पनि यसपटकको संविधानसभा निर्वाचनको समर्थन गर्नैपर्छ ।
० यसपटक चुनावको समर्थन नगरे वैद्यजी र नेकपा–माओवादीको राजनीतिक भविष्य के होला ?
– यो चुनाव संविधान निर्माणका लागि हो, फेरि संविधानसभाबाट संविधान बनाउने कुरा त मोहन वैद्यजीकै एजेण्डा पनि हो । यस्तो महत्वपूर्ण चुनावमा भाग नलिनुको मतलब नेपालको भाग्य र भविष्य कोर्ने ऐतिहासिक अवसरबाट आफूलाई विमुख गराउनु हो । के वैद्यजी देशको संविधान बनाउने कार्यमा कुनै योगदान गर्न नचाहनुहोला र ?
० वैद्यजीको पार्टीका कतिपय नेताहरू आवश्यक परे फेरि हतियार उठाउने कुरा गर्छन्, यस्तो सम्भव होला ?
– आजको परिवेशमा फेरि सशस्त्र युद्धमा जाने कुरा अव्यावहारिक त छँदै छ असम्भव पनि होला भन्ने मलाई लाग्छ । हतियार उठाउँदा मोहन वैद्य र उहाँको पार्टीलाई मात्र होइन सिङ्गो नेपाललाई नै नोक्सान पुग्छ, नयाँ नेपाल निर्माणमा ठूलो धक्का पुग्छ । हतियार छोडेर एकपटक चुनावमा सहभागी भइसकेको पार्टी हो वैद्यजीको पार्टी । अब उल्टो कदम चाल्नुहोला भन्न त्यति सजिलो छैन ।
० भविष्यमा प्रचण्ड र वैद्यजीको मिलन हुन सक्ला कि नसक्ला ?
– नसक्ने कुरा छैन, राजनीतिमा कतिबेला के सम्भव हुन्छ भन्न सकिन्न । पहिले–पहिले प्रचण्डहरू लोकतान्त्रिक मार्गमा आउँदैआउँदैनन् भन्ने ठानिन्थ्यो, तर आज उहाँहरू लोकतान्त्रिक बाटो पहिल्याउन कसरतरत हुनुहुन्छ । यस्तै वैद्यजीहरू पनि लोकतन्त्रको मार्गमा आउनैपर्ने हुन्छ । त्यस अवस्थामा उहाँहरूको सबभन्दा नजिकको मित्र तत्कालका लागि प्रचण्डजीहरू नै हुनुहुनेछ । यसर्थ वैद्य र प्रचण्डजीहरूको मिलन सम्भव देख्छु म ।
० नेपालमा फेरि कतिपयले राजसंस्था पुनस्र्थापनाको माग गर्दै छन्, यस्तो सम्भव होला ?
– नेपाल लोकतान्त्रिक मार्गमा हिँड्ने कोसिस गर्दै छ, भावी निर्वाचनले यो कदमलाई अझै सबल तुल्याउँछ । त्यसैले म जोड दिएर भनिरहेको छु कि वैद्यजीहरू पनि निर्वाचनमा आएर लोकतन्त्रलाई बलियो बनाउने प्रयासमा सहभागी हुनु आवश्यक छ । लोकतान्त्रिक मार्गबाट मुख्य राजनीतिक दलहरू नै च्यूत हुने हो भने त जे पनि हुन सक्छ । मैले भने कि राजनीतिमा सम्भावनाहरू हुन सक्छन्, तर जहाँसम्म नेपालमा राजसंस्थाको पुनस्र्थापनाको प्रश्न छ यो त्यति सजिलै अब सम्भव हुने देखिन्न ।
० आवश्यक प-यो भने अबको चुनावमा नेपाली सेना परिचालित हुन सक्ला कि नसक्ला ?
– नेपालको सेना ‘सिभिलियन कन्ट्रोल’मा आइसकेको छ । त्यसैले ऊ सरकारको मातहत रही अह्राएबमोजिम काम गर्छ भन्ने मेरो बुझाइ हो । यसर्थ, चुनावको बेला सेनाको प्रयोग गर्न आवश्यक देख्यो भने सरकारले गर्न सक्छ, निर्देशनअनुरूप सेना परिचालित हुन सक्छ ।
० नेपालमा सैनिक शासनको सम्भावना तपाईं देख्नुहुन्छ कि देख्नुहुन्न ?
– त्यो सम्भावना म देख्दिनँ । त्यो असम्भव नै छ भन्दा हुन्छ ।
० नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको भारत भ्रमणलाई तपाईंले कसरी हेर्नुभएको छ नि ?
– भारतले नेपालका सबै महत्वपूर्ण नेताहरूलाई पालैपालो सद्भावना भ्रमणमा आमन्त्रण गरेअनुरूप कोइरालाजीको भारत भ्रमण भएको हो । प्रचण्डजी, देउवाजी, माधव नेपालजीले पनि भारतको औपचारिक भ्रमण गरिसक्नुभएको छ र कोइरालापछि अब मधेसी नेताहरूको पालो छ । छिमेकी देशका नेताहरूलाई सद्भावना भ्रमणमा आमन्त्रण गर्नु कुनै अस्वाभाविक विषय त होइन । यस्तै भ्रमणको निम्तो चीनले पनि गर्न सक्छ, गरिरहेको छ । यो स्वाभाविक प्रक्रियाअन्तर्गत नै पर्छ । वर्तमान सन्दर्भमा नेपालले गर्न लागेको संविधानसभाको निर्वाचन किन गर्नुप-यो, प्रक्रिया कहाँ पुग्यो, नजिकको छिमेकी हुनुको नाताले भारतले सघाउन सक्ने या सघाउनुपर्ने कुनै कुरा छन् कि भन्नेलगायतका सवालमा विचार–विमर्श गर्नका लागि मुख्य दलका शीर्ष नेताहरूको भ्रमण महत्वशाली हुन्छ ।