रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailoसमयमै नास्ता गरेर मुटु जोगाउने कि ?
तपाईंलाई आफ्नो मुटु स्वस्थ राख्ने कत्तिको चाहना छ ? पक्कै पनि हृदयरोगप्रति सचेत हुनुहुन्छ भने चिल्लो–चाप्लो खानेकुरा र विशेषगरी धुमपानबाट टाढै रहने कोसिस गरिरहनुभएकै होला । नियमित व्यायामलाई पनि जीवनशैली तुल्याइरहनुभएको होला । तर, अमेरिकी शोधकर्ताहरूको सुझाव मान्ने हो भने यतिले मात्र पनि मुटु स्वस्थ रहनेमा ढुक्क हुन नसकिने रहेछ । विज्ञहरूले मुटु स्वस्थ राख्न अर्को एउटा फर्मुला थपिदिएका छन् । अध्येताहरूका अनुसार यदि हृदय (मुटु) तन्दुरुस्त राख्ने हो भने नियमित नास्ता गर्न छुटाउनुहुँदैन । सर्कुलेसन नामक जर्नलमा प्रकाशित अमेरिकी शोध प्रतिवेदनमा एकपटकको खाना छोड्नुको मतलब दिमागमा ‘अतिरिक्त दबाब पैदा गर्नु हो’ भन्ने उल्लेख गरिएको छ । २७ हजार मानिसको जीवनशैलीमाथि अध्ययन गरेपछि अनुसन्धानकर्ताहरू यो निष्कर्षमा पुगेका हुन् । खासगरी बिहानको नास्ता नगर्नेहरूमा हृदय रोगको खतरा २७ प्रतिशतले बढ्न सक्ने अध्येताहरूको कथन छ । बिहान उठेपछि एक घन्टाभित्रै केही नास्ता गर्न अनुसन्धानकर्ताले सुझाव दिएका छन् । समयमा नास्ता र खाना नखाए रक्तचाप, मोटोपन र डाइबिटिजको खतरा बढ्ने र त्यसले सोझै मुटुमा असर गर्ने सम्बन्धित अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

केटाकेटीको उचाइमा स्वच्छ पानीको भूमिका
केटाकेटीले फोहोर पानी चलाउँछन् कि साबुनपानी– बालबालिकाको शारीरिक–मानसिक विकाससँग त्यसको के सम्बन्ध ? तर, विश्वव्यापी रूपमा सङ्कलन गरिएको आँकडा र त्यसको विश्लेषणले राम्रो सरसफाइको व्यवस्था भएको घरका पाँच वर्षमुनिका बालबालिकाको उचाइ तुलनात्मक रूपमा ०.५ सेन्टिमिटरसम्म बढी हुने देखाएको छ । यो अध्ययन लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिन र इन्टरनेसनल च्यारिटी वाटरएडको रेखदेखमा बंगलादेश, इथियोपिया, नाइजेरिया, चिली, ग्वाटेमाला, पाकिस्तान, दक्षिण अफ्रिका, केन्या, कम्बोडिया, नेपाललगायत राष्ट्रका करिब १० हजार बालबालिकामाथि गरिएको थियो । यतिबेला विश्वभरमा २६ करोड ५० लाख बालबालिका शारीरिक विकासको कमीबाट गुज्रिरहेका छन् । एउटा बच्चाको शारीरिक विकासमा साबुनपानीको प्रयोगले मात्रै पनि महŒवपूर्ण भूमिका खेल्न सक्ने दाबी अनुसन्धानकर्ताहरूको छ । फोहोर पानी पिउने बच्चामा बामपुड्के बन्ने सम्भावना १५ प्रतिशतले बढ्ने तथा जवानी र मृत्युसँग पनि फोहोर या सफा पानीको भूमिका रहने विज्ञहरूको ठहर छ ।

जलवायु र हत्याहिंसाबीच यस्तो छ सम्बन्ध
विश्वमा बलात्कार, हत्या, हिंसाका घनटा घट्नु या बढ्नुसँग जलवायु परिवर्तनको नाता होला ? अमेरिकी वैज्ञानिकहरू घन्छन्– हत्या, हिंसा, बलात्कार, विभिन्न समूहबीच आपसी टकराव, युद्धजस्ता घटनासँग जलवायु परिवर्तनको सोझो सम्बन्ध छ † अमेरिकी वैज्ञानिकहरूको एक समूहले गरेको अध्ययनले देखाएअनुसार तापमान घट्ने या वर्षा हुनेजस्ता जलवायु परिवर्तनको सामान्य अवस्थाले पनि उल्लेखित प्रकृतिका घटना बढाउन या घटाउन भूमिका निर्वाह गर्दोरहेछ । वैश्विक तापमानमा दुई डिग्री सेन्टिग्रेड वृद्धि हुँदा व्यक्तिगत हिंसामा १५ र सामूहिक हिंसामा ५० प्रतिशतसम्म वृद्धि हुने सम्भावना रहने अनुसन्धानकर्ताहरूको ठहर छ । जलवायु परिवर्तनको वर्तमान स्थितिका आधारमा सिङ्गो संसारमा झन् हिंसा बढ्ने सम्भावना विज्ञहरूले औँल्याएका छन् । उक्त सोधमा अकालका बेला भारतमा बढेको घरेलु हिंसा, अमेरिकामा लु चल्दाको बखत छिनाझपटी, बलात्कार र हत्याका मामलामा भएको बढोत्तरीलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ । यस्तै युरोपमा हुनेगरेको नश्लीय टकराव र अफ्रिकामा चल्ने गृहयुद्धको अन्तर्सम्बन्ध तापमानको वृद्धिसँग रहने पनि बताइएको छ ।

भीमकाय दूरबिनले ब्रह्माण्ड चियाउने
के तपाईंले कहिल्यै ब्रह्माण्ड कसरी बन्यो होला भनी सोच्नुभएको छ ? पहिलो तारा कहिले बन्यो र लाखौँ तारा समेट्न सक्ने आकाशगंगा कहाँबाट उत्पत्ति भयो होला ? भारतको मद्दतबाट बनिरहेको संसारकै सबभन्दा ठूलो दूरबिनले अब यस्ता रहस्यको पर्दा उघार्नेछ । थर्टी मिटर टेलिस्कोप (टीएमटी) नाम दिइएको एक महŒवपूर्ण अन्तर्राष्ट्रिय परियोजनामार्फत भारतीय वैज्ञानिकहरू संसारलाई अहम् योगदान दिन लागिपरेका छन् । हवाईमा स्थापना गर्ने यस दूरबिन–परियोजनाअन्तर्गत क्यानडा, चीन, भारत, जापान र अमेरिका संसारकै सबभन्दा ठूलो दूरबिन निर्माण गरिरहेका छन् । करिब एक खर्ब ४० करोड डलर लागतको यस परियोजनामा भारतले मात्रै १४ करोड डलर खर्च गर्दै छ । भारतले यो रकमको ७५ प्रतिशत योगदान दूरबिनको कलपुर्जा डिजाइन र यसका लागि सफ्टवेयर निर्माणमार्फत गर्नेछ भने बाँकी नगद नै भुक्तान गर्नेछ । हालसम्म बनेका दूरबिनको तुलनामा नौ गुणा बढी शक्तिशाली यस दूरबिनमार्फत हालसम्म चुनौतीपूर्ण ठानिएका ब्रमाण्डीय अनुसन्धान सम्पन्न गरिने वैज्ञानिकहरूको विश्वास छ । आगामी वर्षबाट निर्माण सुरु गरिने यस भीमकाय दूरबिन सन् २०२२ सम्ममा मात्र तयार हुनेछ ।