नियत नै ठीक नभएपछि नीति मात्र बनाएर के गर्ने ?

नियत नै ठीक नभएपछि नीति मात्र बनाएर के गर्ने ?


antarbichar– केशव मैनाली (पूर्वसभासद् एवम् चुरेभावर राष्ट्रिय पार्टीका अध्यक्ष)
० तपाईं अत्यन्त अप्ठ्यारो परिस्थितिमा शिरमा कफन बाँधेर भावर आन्दोलनको कमान्ड गर्दै राजनीतिमा सक्रिय बनेको व्यक्ति यतिबेला कहाँ हराउनुभयो ?
– जुन जोस–जाँगरका साथ राष्ट्र र राष्ट्रिय अखण्डताका लागि मैले काम गरेँ, सभासद् पनि भएँ । तर, आफूलाई मुलुकको भाग्यविधाता भन्न रुचाउने नेताहरूको चालचलन, तौरतरिका देख्दा मलाई वैराग छुट्यो । विक्षिप्तै भएँ म । नेपाल र नेपालीका लागि काम गर्ने स्वतस्फुर्त भावना र क्षमता नै रहेनछ कथित ठूला नेताहरूसँग । नेताहरूलाई देश होइन कुर्सी मात्र चाहिएको रहेछ, जनता होइन धन आर्जन मात्रै गर्नु रहेछ भन्ने मैले अत्यन्त नजिकबाट बुझ्ने अवसर पाएँ । यी नेताहरूले धर्मनिरपेक्षताको कुरा गरे, मुलुकलाई धर्मनिरपेक्षतामा लगे तर सँगसँगै फेरि जातीयताको कुरा पनि यिनैले उराले । धर्मनिरपेक्षताको माग गर्नेहरूले यसरी विरोधाभासपूर्ण कुरा गरेर जातीयतामा लगेर मुलुकलाई होम्नु कहाँसम्म सुहाउने कुरा हो ? यत्रो रगत बगाएर ल्याएको लोकतन्त्र यिनले सोझै सिध्याए । दुई दिनअघिसम्म कर्मचारीको हातमा सत्ता सुम्पन दिइँदैन भनेर कुर्लनेहरू कसले रातारात कान पुकिदियो कुन्नि, ‘देशलाई निकास त दिनैप¥यो नि’ भन्दै प्रधानन्यायाधीशको पोल्टामा सत्ता सुम्पन तयार भए । देश चलाउनुपर्ने त राजनीतिले नै हो, किनकि राजनीति मूल नीति हो । यो सबै देख्दा यस्तो वितृष्णा जाग्यो कि जीवनमा अलिकता शान्तिको खोजी त गर्नैप¥यो भनेर म एउटा आध्यात्मिक पथमा समर्पित भएँ र हराएजस्तो भएको हो । राजनीतिमा धर्म र इमानदारिता नै नरहेर नेपालको राजनीतिक परिस्थिति बिग्रिएको हो भन्नेमा विश्वस्त छु यतिबेला म । नैतिकतालाई तिलाञ्जली दिएर राजनीतिमा लाग्नेहरूको बिगबिगी बढ्यो ।
० राजनीतिलाई तिलाञ्जली दिएर धर्मकर्ममा लागेको हो त ?
– मैले राजनीतिलाई तिलाञ्जली दिएको होइन । तर, नैतिकताबिनाको राजनीति केको राजनीति ? राजनीतिमा नैतिकता नभएर देशको यो हविगत भएको छ । नैतिकता त्यागेर मात्र रजनीति गर्नेहरूको बिगबिगी बढ्यो यहाँ । त्यसैले राजनीतिमा धार्मिकता चाहियो । धर्म भनेर फेरि ढुङ्गो पूजा गर्ने धर्म होइन । मन्दिर गएर थर्डग्रेडका कथित भगवान् पुजेर धर्म हुने होइन । पूर्णपरमेश्वर सृष्टिका रचनाकारलाई पुज्नुपर्छ । पुजारीलाई पूजा गरेर धर्म हुने होइन । यो बुझेर म परम्सन्त रामपालजीको शरणमा पुगेँ । धर्मका नाममा अधर्मी क्रियाकलाप हामीले गरिरहेका रहेछौँ भन्ने मैले उनै गुरुको सान्निध्य पाएर बुझ्न सकेँ । जसरी कुनै शिक्षकले आउट अफ सिलेबस पढाउँछ भने त्यो शिक्षक विद्यार्थीको दुस्मन हुन्छ, त्यस्तै हाम्रा कथित धर्मगुरुहरू हाम्रा पथप्रदर्शक नभई दुस्मनसरह व्यवहार गरिरहेका रहेछन् भन्ने बुझेपछि म शान्त बन्न सकेको छु । खासमा धर्म गरेर पुन्य कमाउन चाहनेहरूको दुस्मन रहेछन् हाम्रा समाजमा छ्यास्छ्यास्ती भेटिने कथित गुरुहरू त !
० तपाईं सन्तरामपालबाट निकै प्रभावित हुनुभयोजस्तो छ, खास के रहेछ उहाँमा त्यस्तो गुण ?
– म विभिन्न रोगले सताइएको थिएँ । क्रोनिक ब्रोङकाइटिस, पायल्सजस्ता रोगबाट म यति धेरै पीडित थिएँ कि डाक्टरहरूले समेत दुनियाँको कुनै ठाउँमा गए पनि अब पूर्ण निको हुन सक्दैन भनेका थिए । जति बाँचिन्छ अब यो पीडा बोकेरै बाँच्नुपर्ने कुराले निराशा पनि जगाउँथ्यो मेरो मनमा । यसरी विदेश गएर उपचार गराउनका लागि कुनै डाक्टरले सिफारिस नै गरिदिएनन् मेरा लागि । यस्तै, मेरी श्रीमतीलाई पनि हड्डी खिइने रोगले अत्यन्त व्यथित तुल्याएको थियो । त्यसमाथि आँखाको जलबिन्दु भएको थियो उनलाई । तिलगङ्गा अस्पतालका डाक्टरले ‘अब तपाईंको आँखाले तीन वर्षपछि काम गर्न छोड्छ, अँध्यारोमा आँखा खुल्ला नगर्नुस्, निहुरिँदा आँखा बन्द गर्नुस्, अन्यथा चाँडै नै अन्धो बन्न सक्नुहुन्छ’ भनिदिएपछि मेरी श्रीमतीमा समेत निराशा बढ्यो । यसरी हामी दुवैलाई इलाज नै नहुने गरी रोगले गाँजेकाले मृत्यु कुर्नेबाहेक केही बाटो देखिरहेका थिएनौँ । यसपछि आफ्नो गाउँ हरिवन (सर्लाही) गएर दिन बिताउन थालेका थियौँ । यस्तैमा सन्तरामपालजीका एकजना चेला भेटिनुभयो । उहाँको शरणमा जानुहोस्, सबै ठीक हुन्छ भनेर ती भक्तले भन्दा अँधेरोमा बत्ती देखेजस्तो भयो । हामी बूढाबूढी नै इन्डिया गयौँ । त्यहाँ सन्तरामपालको आशीर्वाद पाइयो । अहिले मेरो पायल्स कहाँ गयो, क्रोनिक अवस्थामा पुगेर डाक्टर नै थाकिसकेको ब्रोङ्काइटिस कता भाग्यो, मेरी श्रीमतीको शरीरभरिको हड्डी दुख्ने व्यथा कसरी बेपत्ता भयो, चाँडै अन्धो बन्न सक्छ भनिएको उनको जलबिन्दु भएको आँखा अहिले यहाँ जँचाउँदा ती पुरानो डाक्टर नै छक्क परेका छन् कि उपचार नै नगरी कसरी आँखा तेजवान् बन्यो ? यस्तो चामत्कारिक घटना मेरो परिवारका सदस्यहरूमा मात्र नभई अन्य आफन्त तथा मित्रजनहरूमा समेत घटेको छ । हालै एकजना नेपाल प्रहरीका सबइन्स्पेक्टरको दुवै किड्नी खराब भएको पनि गुरुको आशीर्वादले पूर्ववत् अवस्थामा आई उनी आरामले यतिबेला वीरगञ्जको बसस्टप थानामा आफ्नो ड्युटी निर्वाह गरिरहेका छन् । जब कि उनलाई चार महिनामै दुवै किड्नी नफेरे बाँच्न सकिन्न भनिएको थियो । त्यसैले म यहाँनेर आग्रह गर्न चाहन्छु कि विश्वमै सन्त रामपालजी महाराज एउटै मात्र तŒवदर्शी सन्त हुनुुहन्छ, जसले जन्म–मरणको रोग कटाउन सक्नुहुन्छ । त्यसकारण उहाँको शरणमा गई आफ्नो भलाइ गराउनुहुन म सबैसँग अनुरोध गर्दछु ।
० वास्तवमा राजनीति गर्नु भनेको एकप्रकारले समाजसेवा गर्नु नै हो, तपाईंको बुझाइमा समाजसेवा र राजनीतिमा केही अन्तर छ कि ?
– अहिले हाम्रो परिवेशमा देखिएको राजनीति ‘सेवामूलक’ छैन । हो, राजनीति भनेको त विकासका लागि, शान्तिका लागि, जनअधिकारका लागि, दुःखी–असहायको भलाइका लागि, राष्ट्रको उत्थान तथा राष्ट्रिय अखण्डताका लागि हुनुपर्नेमा अहिले राजनीति भनेको त जसरी पनि पैसा कमाउ अनि कुर्सीमा बसेपछि भरसक छोड्दैनछोड भन्ने सिद्धान्तबाट प्रेरित देखिएको छ । नेताको परिभाषा हाम्रो सन्दर्भमा यति तल गि¥यो कि कसैलाई हियाउन या गिज्याउन प¥यो भने ‘नेपालका नेताजस्तो’ विशेषण दिन थालिएको छ । झुट र फट्याइँको पर्यायवाची शब्द बन्न पुगेको छ ‘नेता’ । देश र जनताप्रति पटक्कै इमानदारी र कुनै दायित्व नबोक्ने जन्तु सावित भएका छन् हाम्रो देशमा नेता । अर्थात्, हाम्रो राजनीति यति तल गिरेको छ । एउटा ताजा उदाहरण हेरौँ न, राजपाठ त्यागेर सर्वसाधारण नागरिक बनिसकेका ज्ञानेन्द्र शाहले बाढीपीडित नेपालीलाई आफ्नो गच्छेअनुसार राहत प्रदान गर्न लाग्दा भाँजो हाल्न खोजियो । शोषण र भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्तिबाट नेताहरू आफैँले राहत दिएको भए पनि के बिग्रिन्थ्यो र ? आफू पनि नगर्ने अर्कालाई पनि बाटो छेक्ने कुप्रवृत्ति यहाँ जो हुर्केको छ यो अहिलेको बिग्रेको राजनीतिकै उपज हो भन्ने मलाई लाग्छ । आफू नराम्रो हुने अनि अरू राम्रो देखिएकोमा पनि टाउको दुखाउने । कसैले राम्रो काम ग¥यो भने ऊभन्दा राम्रो हुन त आफूले त्योभन्दा बढी राम्रो काम पो गर्ने हो त, उल्टै अर्काको खुट्टा तान्न हिँड्ने ? त्यसकारण हाम्रो राजनीति सेवाको राजनीति भएन । राजनीति भनेको समाजसेवा हो भन्ने कुरालाई नै भ्रमित पारिएको छ, बिटुल्याइएको छ हामीकहाँ । राजनीति छोडेर शोषणनीति, चोरनीति, जनघाती र अराष्ट्रिय नीति अँगालेका छन् हाम्रा देशका नेताले ।
० यस्तो विकृत बनेको राजनीतिलाई सुधार्ने कसले त अब ?
– भगवान्के घर मे देर हे अँधेर नहीँ भन्ने एउटा हिन्दी उखान छ । जनतालाई आजका नेताहरूले जति लाटो ठानिरहेका छन् त्यति नै बढी सचेत छन् आजका जनता । जनता उम्लिन मात्रै ढिलो गर्छन् तर जनभेल उर्लिएपछि यिनले रुनका लागि आँसु पाउन्नन्, त्यो भेलमा बग्दा समात्ने एउटा त्यान्द्रो पाउँदैनन् । त्यो दिन आउँछ । तसर्थ, सहर पसेको स्यालकोजस्तो दुर्गती हुने दिन नेताहरूले ननिम्त्याएकै राम्रो ! यो देशमा त्यस्तो एउटा क्रान्ति हुन्छ जसले आज देखिएका समग्र राजनीतिक विकारहरू बगाएर एउटा स्वच्छ नयाँ नेपालको जग बसाउँछ । जहाँ धेरै काला कोइला थुप्रिएको हुन्छ त्यहाँ एउटा हीरा पनि कतै लुकेको हुन्छ भनिन्छ । त्यो हीरा यहाँ पनि प्रकट हुन्छ एउटा राजनेताको रूपमा भन्ने विश्वास छ मलाई । व्यवस्था फेरियो यहाँ नेता फेरिएनन् । उही भ्रष्ट आत्मा, उही लोभी मन । थोत्रो सोच बोकेका यी थोत्रा नेताले बदलिँदो नेपालको खाका कोर्न त सक्दै सक्दैनन् ।
० तपाईंले सबै नेतालाई बिग्रेको आरोप लगाउनुभयो, कोही त होलान् नि असल पनि ?
– खराब नै खराबको भीडमा पसेपछि एक–दुईवटा असल पनि खराब नै देखिन्छन् क्या ! भिखमग्गाहरूको भीडमा छि¥यो भने दानी व्यक्तिलाई पनि भिख माग्ने नै भन्ने ठान्छन् दुनियाँले । त्यसैले समग्र रूपमा भन्नुपर्दा यहाँ यतिबेला खराब र भ्रष्टहरूकै बाहुल्य छ ।
० तपाईंले खडा गरेको र स्थापना हुँदाहुँदै ऐतिहासिक भूमिका निर्वाह गरेको चुरेभावर पार्टी त अहिले टुक्रैटुक्रामा विभक्त भयो नि ? किन होला ?
– हरेक पार्टीमा दुई किसिमका मान्छे हुँदा रहेछन्, एकथरि– देशबारे सोच्ने र अर्कोचाहिँ देशलाई सक्दो सोस्ने । चुरेभावर पार्टीकै कुरा गर्नुपर्दा अरूको जन्मँदा सानो बच्चा जन्मिन्छन् तर मेरोचाहिँ जन्मँदै हात्ती जन्मिएछ । किनकि, मेरो पार्टी सिद्धान्तले जन्मिएन, सेन्टिमेन्टले जन्मायो । एउटा विकृत आँधीलाई थेग्नु थियो त्यतिबेला जन्मँदाजन्मिँदैको चुरेभावरले । भावर आन्दोलनमा यो या ऊ नभनी सबैलाई समेट्नुपर्ने अवस्था थियो । सोच्ने अवस्था थिएन बरु तत्काल काउन्टर एट्याक गर्नुपर्ने परिस्थिति थियो । टाउकोमा लट्ठी आइसकेको बेला सोचेर बस्ने समय थिएन बरु जे–जसरी हुन्छ प्रतिरोध गरिहाल्नुपर्ने थियो । तसर्थ, सबैखाले मान्छे पार्टीमा भित्रिए । बम हान्ने मान्छे पनि आए, ढुङ्गा हान्नेहरू पनि मिसिए, लाठी र मुड्की मात्रै उजाउनेहरू पनि थिए र सोचविचारबाट अघि बढ्न चाहनेहरू पनि त्यहाँ थिए । साधु–सन्त, महन्थ र लन्ठ सबै आए । त्यतिबेला ती सबै मानिस एकदम उपयोगी सावित पनि भए । यसरी एकैचोटि बृहत् आकार लिएको थियो चुरेभावर आन्दोलनले र पछि त्यसैलाई एउटा दलको रूप दिइएको थियो । राष्ट्रवादी आवाज सधैँ घन्किरहोस् भनेर दल दर्ता गरिसकेपछि त त्यसको एउटा सिद्धान्त, मूल्य–मान्यता र अनुशासनमा सबै बाँधिनु आवश्यक थियो । तर, चुरेभावर आन्दोलनसँग गाँसिएकाहरूमध्ये पनि कैयनले पछि त्यसको मर्ममा बाँधिएर रहन सकेनन् । चुरेभावरको गुडविल भजाएर कतिपयले अपराध गर्न थाले । उनीहरूमा आ–आफ्नै प्रकारका महŒवकाङ्क्षा जागे । पार्टीभित्रै भाँडभैलो मच्चाएर विभाजनको रेखा कोर्न उद्यत् भए । यसरी फुटेर अलग पार्टी बनाउन खोज्नेहरू आज कोही बैंक घोटलाको मुद्दामा जेल सजाय भोगिरहेका, कोही गम्भीर ठगीलगायतका अपराधमा मोसो दलिएका र लुकीलुकी हिँडेका, कोही विकृतिजन्य अनेक आरोप लागेर दिनदहाडै कुटपिटमा परेका सुन्छु । एक मधेस एक प्रदेश हुनु हुँदैन भनेर सुरु भएको भावर आन्दोलनको नेतृत्व तहमा रहेका कोही मन्त्री पदका लागि उनै मधेसवादी भनिएकाहरूको टाङमुनि छिरेको पनि देखियो । यता, मेरो राष्ट्रवादी सोचको राप सहन नसकेर माओवादी पनि मेरा विरुद्धमा भए, मधेसवादी यसै विरोधमा थिए, राष्ट्रवादको कुरा गरेर नथाक्ने अरूहरू पनि मेरो राष्ट्रिवादी सोचबाट पैदा भएको रापको ताप सहन नसक्ने अवस्थामा पुगेर षड्यन्त्रपूर्वक मेरो सभासद्को जिम्मेवारीसमेत खोस्न उद्यत् बने । यस्तै हो, आफ्नो कर्मअनुसारको फल त भोग्नै पनि पर्छ नि मानिसले ।
० जुन उद्देश्यले चुरेभावर पार्टी स्थापना भएको थियो, त्यो उद्देश्य बाँकी छ कि पूरा भयो ?
– भएको छैन । त्यसैले जेन्युइन साथीभाइ र जुझारू कार्यकर्तापङ्क्तिलाई साथ लिएर मैले चुरेभावर राष्ट्रिय पार्टी गठन गरेको छु । राष्ट्रप्रति माया भएकाहरू यसमा अटाएका छन्, अटाउनेछन् । बिजुलीको बल्व चुनावचिह्न रहेको चुरेभावर राष्ट्रिय पार्टीको माध्यमबाट मुलुकलाई पनि बिजुलीजस्तै उज्यालो दिशातिर लैजाने सोचले हामी काम गरिरहेका छौँ । घमण्ड गरेको अर्थ नलागोस्, अहिले पनि चुरेभावर भन्नेबित्तिकै केशव मैनालीको अस्तित्वसँग जोडिएको हुन्छ । केशव मैनाली नभएको चुरेभावर पार्टीलाई जनताले पत्याउँदैनन् । नेपाली आत्मसम्मानका साथ बाँच्न र बचाउन चुरेभावर पार्टीले धेरै काम गर्न बाँकी छ ।
० तपाईं त सभासद् पनि हुनुहुन्थ्यो, मुलुकमा फेरि संविधानसभाको चुनाव हुँदै छ, फेरि संविधानसभाको चुनाव तपाईं कति सान्दर्भिक ठान्नुहुन्छ ?
– नीति बनाएर मात्रै नहुने रहेछ जब नियत साफा छैन भने । मैले त पहिल्यै भन्दिएको थिएँ यहाँ संविधान बनाउने नियत मैले देखिनँ भनेर । आखिर चार वर्ष म्याद बढाएर पनि संविधान बनाइएन । संविधानसभा स्वचालित नभएर परचालित थियो र अहिले पनि अवस्थामा तात्विक भिन्नता आएको छैन । त्यही प्रकृतिको संविधानसभा, तिनै मानिसहरूको प्रतिनिधित्व, उही चालढाल, उस्तै चुनाव ! हिजो जातीयतामा लगेर कुरो अड्काए, अब त्यस्तै केमा लगेर अड्काउने हुन् । त्यसैले यही प्रक्रियाबाट फेरि पनि संविधान बन्न सक्दैन भन्ने मलाई लागिरहेको छ । जबसम्म सर्वपक्षीय स्वीकृतिमा सर्वसम्मत दस्तावेज बन्ने अवस्था निर्माण हुँदैन तबसम्म यो चुनावको कुनै सान्दर्भिकता रहने छैन । उच्चस्तरीय समितिमा रहेका दलका नेताहरू असन्तुष्ट पक्षलाई मिलाउनेभन्दा भड्काउने भाषा बोलिरहेका छन् । त्यसैले सबै पक्ष यतिबेला निर्वाचनमा जाने परिवेश नै देखिएको छैन भने यो चुनावको के अर्थ ? चुनाव भए पनि संविधान बन्दैन । म त भन्छु मुलुकमा गोलमेच सम्मेलन अपरिहार्य छ । अब राजनीतिभन्दा पनि जननीतिको खाँचो छ मुलुकमा ।
० वर्तमान सरकारबारे चाहिँ तपाईंको धारणा के छ नि ?
– प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ । न्यायपालिका र कार्यपालिका एकै ठाउँमा ठोसेर प्रजातन्त्रको मर्ममाथि लात हान्ने ? डेढ दशकदेखि स्थानीय निकाय सचिवहरूले चलाइरहेका छन्, अहिले आएर मुलुकको उच्च शासनको वागडोर पनि पूर्वसचिव वा कर्मचारीहरूको हातमा दिइएको छ । मलाई लाग्छ यसमा ठूलो षड्यन्त्र छ । लोकतन्त्र मास्ने षड्यन्त्रअन्तर्गत यो भइरहेको छ । जनताप्रति उत्तरदायित्व नभएका व्यक्तिहरू अन्ततः निरङ्कुश भएर जान्छन् ।
० त्यसो भए निर्वाचनकै लागि भनी गठन भएको रेग्मी सरकारले चुनाव नगराउला त ?
– धेरै सम्भावना त त्यही नै छ । विभिन्न बहानामा अन्ततः निर्वाचन नहुने नै देख्छु म, र यही प्रक्रियामा चुनाव भएर समस्याको समाधान पनि निस्किँदैन ।