विश्व पारा तेक्वान्दोमा यादव ‘हिरो’ सावित

विश्व पारा तेक्वान्दोमा यादव ‘हिरो’ सावित


sportमात्र १३ वर्षको उमेरमा तेक्वान्दोलाई आत्मसात् गरेका उनी त्यसबेला तेक्वान्दो खेलबारे अनविज्ञ थिए । नक्कल गर्दागर्दै उनको कलिलो मस्तिष्कले तेक्वान्दोलाई आत्मसात् गरेको थियो । तर, गिलो माटो जसलाई आकार दिने काम भने दाइ उद्धव कुँवरले गरेका थिए । तेक्वान्दो खेलाडी उद्धवले घरमै प्रशिक्षण गर्दा उनीसँगै हातखुट्टा चलाउन थालेका उनले पछि तेक्वान्दोसँग माया गाँस्न पुगेका थिए । ०४३ सालदेखि तेक्वान्दो खेल्न थालेका यादवलाई त्यसपछि तेक्वान्दोको नसाले यतिसम्म गाँज्यो कि उनले आफ्नो भविष्य तेक्वान्दोमै देख्न थाले । परिणाम, स्कुलको अन्तिम घन्टीसँगै उनी प्रशिक्षणमा व्यक्त हुन थाले । खेत, बारी, आली र फाँट उनको पसिना बगाउने स्थल बन्न पुग्यो । तत्कालीन समयमा उनले बगाएको पसिना अर्थहीन भए पनि अहिले त्यो उपलब्धिपूर्ण बनेको छ । उनी रातारात चर्चाको शिखरमा पुगेका छन् । एउटै सफलताले उनलाई ‘हिरो’ बनाइदिएको छ । उनी हुन्– चर्चित तेक्वान्दो खेलाडी यादव कुँवर ।
साथी अर्जुन सत्यालसँगै तेक्वान्दोको प्रशिक्षण लिएका यादवले केही वर्षको अन्तरालपछि भीमसेन शाही, पुष्प जोशी, रोशन खाँडजस्ता सिनियर खेलाडीसँग भरतपुर तेक्वान्दो डोजाङमा प्रशिक्षण गर्ने मौका पाएका थिए । तेक्वान्दोप्रतिको समर्पणको भावनाले नै होला केही समयपश्चात् नै यादवले प्रशिक्षक कृष्ण चौधरी, राम थापा, विष्णु दराई, सन्तोष प्रधान र तेजबहादुर गुरुङबाट प्रशिक्षण पाएका थिए । लामो समय आफूलाई प्रशिक्षणमा खारेका यादवले सात वर्षपछि मात्रै प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । ०५० सालमा प्रथम मध्यमाञ्चल क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका यादवको उक्त प्रतियोगिता अनुभवको पाटो मात्रै सिद्ध भयो । उक्त प्रतियोगितामा यादवले कुनै चमत्कार देखाउन सकेनन् । प्रतियोगिताको स्मरणबारे यादवको प्रतिक्रिया यस्तो थियो– ‘कहिल्यै खेलेको थिएन, पहिलोपटक खेल्दा रमाइलो लाग्यो, मलाई त पदक जित्नुभन्दा सहभागी हुनुमै आनन्द आयो ।’ सोही साल भएको मकवानपुर आमन्त्रित तेक्वान्दो डोजाङ च्याम्पियनसिपमा भने यादवले स्वर्ण पदक जितेर सनसनी फैलाएका थिए । यादवले ४०–४५ केजी जुनियर वेन्टमवेटतर्फ स्वर्ण जितेका थिए ।
आफ्नो एक दशक लामो खेलजीवनमा यादवले निकै थोरै प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसरमा पाएका छन् । कारण, त्यसबेला तेक्वान्दोका प्रतियोगिता निकै कम आयोजना हुन्थे । प्रतियोगिताको लामो खडेरीले गर्दा
०५१ सालमा दोस्रो मध्यमाञ्चल क्षेत्रीय तेक्वान्दो प्रतियोगिता खेलेपछि यादवले सक्रिय खेलजीवनलाई नयाँ मोड दिँदै प्रशिक्षणतर्फ लागेका थिए । पढाइमा अवरोध, निरन्तर प्रशिक्षण र प्रतियोगिताको अभावले गर्दा उनी प्रशिक्षणतर्फ ढल्केका थिए । प्रशिक्षणका लागि टाँढीबाट १४ किलोमिटर टाढा भरतपुर आउनुपर्ने अर्को बाध्यताले पनि उनले सक्रिय खेलजीवनलाई पूर्णविराम लगाउनुपरेको थियो । लामो दूरी र आर्थिक अभावले गर्दा त्यतिबेला यादवसँगै भीमसेन शाही, अशोक घिमिरे, मेघराज सापकोटा, राजेन्द्र चौधरी, मनोज पौडेल र लक्ष्मण श्रेष्ठले सक्रिय खेलजीवनलाई परित्याग गरेका थिए ।
०३० साल असोज ११ मा बुबा लेखबहादुर र आमा धनकुमारीका कोखबाट रत्ननगर–१ बकुलहर बिर्ता चितवनमा जन्मिएका यादवले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता दक्षिण कोरियामा खेलेका थिए । व्यापारको सिलसिलामा दक्षिण कोरिया गएको अवस्थामा यादवले यो प्रतियोगिता खेल्ने अवसर पाएका थिए । सन् २००९ मा हान्मादाङ तेक्वान्दो अन्तर्राष्ट्रिय प्रतियोगिताको (पुम्से)तर्फ यादवले सहभागिता जनाएका थिए । तर, यो प्रतियोगिता यादवका लागि नौलो अनुभवबाहेक अन्य बन्न सकेन । उनको मिहिनेतले सहभागिताभन्दा अर्को नाम पाउन सकेन । जसलाई उनले तीतो अनुभवको रूपमा समेटेका छन् । खेलसँगसँगै प्रशिक्षकको भूमिका पनि जिम्मेवारीपूर्ण तरिकाले निभाउँदै आएका यादवले सन् २००६ मा भियतनाममा सम्पन्न विश्व जुनियर तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यस्तै २००७ मा यादवले दक्षिण कोरियामा तेक्वान्दोको मास्टर्स कोचको प्रशिक्षण पनि लिएका छन् । २०१२ मा मलेसियामा अन्तर्राष्ट्रिय निर्णायक रेफ्री कोर्स (पुम्से र स्पाइरिङ विषयको) गरेका छन् । नेपालमा यो विषयमा कोर्स गर्ने नेपाल तेक्वान्दो सङ्घका महासचिव तथा मुख्य प्रशिक्षक दीपराज गुरुङ, नोर्बु लामा, मीन न्यौपाने, हीराबहादुर थापा, कुमार कार्की र राजु खड्का मात्र छन् ।
दक्षिण कोरियामा कामको सिलसिलामा कार्यरत हँुदा यादव ठूलो दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा यादवले आफ्नो बायाँ हातको चोरऔँला र बूढीऔँलासहित आधा हत्केला गुमाउनुपरेको थियो । तीन महिना उपचारको क्रममा अस्पताल बसेका यादवको त्यसबेला आठपटक अप्रेसन भएको थियो । अप्रेसनको क्रममा यादवको शरीरको विभिन्न ठाउँको मासु काटेर उनको हातमा जोडिएको थियो । उपचारको क्रममा ६५ लाख रुपैयाँ खर्च भएको बताउने यादवले यो आफ्नो दोस्रो जीवन भएको बताएका छन् । कोरियामा नभएको भए आफ्नो हात नै काटिने थियो भन्दै अहिलेको रूपमा पु¥याइदिएकोमा कोरियाली डाक्टर, शुभेच्छुक, सहयोगी र आफ्नो परिवारप्रति आभार प्रकट गरेका छन् । यो घटना सन् २०१० को हो । दुर्घटनापश्चात् आफ्नो खेलजीवन समाप्त भएको ठानेका यादवले वल्र्ड तेक्वान्दो रेफ्री डिभिजनका संयोजक किसाम किम (पष्कबm पष्m) लाई भेटेपछि नयाँ मोड लिएको थियो । भेटका अवसरमा किमले यादवलाई विश्व तेक्वान्दो फेडेरेसन (डब्लूटीएफ)ले पारा तेक्वान्दोको शुभारम्भ गरेको र त्यसमा खेल भनेका थिए । किमकै प्रेरणाले पारातर्फ आकर्षित भएका यादवलाई उनकी पत्नी श्वेता कुँवरले निकै प्रोत्साहित गरेकी थिइन् । यादवलाई पारातर्फ कदम बढाउन र मार्ग प्रसस्त गर्न श्वेताले विशेष भूमिका निर्वाह गरेकी थिइन् । आफ्नी पत्नीको प्रेरणादायी भूमिकाको प्रशंसा गर्दै यादवले भने, ‘आज म जुन स्थानमा पुग्न सफल भएको छु, त्यसमा श्वेताको विशेष भूमिका रहेको छ । उनकै प्रेरणा र आत्मबलले म पुनः खेलाडी बन्न सफल भएको हुँ । म काम गर्छु तिमी खेल, तिमी पारामा राम्रो गर्न सक्छौ भनेर प्रशिक्षणका लागि हौसला नदिएको भए सायद आज मेलै यो सफलता पाउन सक्ने थिइनँ । त्यसैले मेरो सफलतामा मेरी पत्नीको विशेष भूमिका रहेको छ ।’
संयोजक किम र पत्नी श्वेताको प्रेरणालाई आत्मसात् गर्दै पारातर्फ लागेका यादवको सुरुवाती अनुभव सुखमय बन्न सकेन । उनी सन् २०११ मा दक्षिण अमेरिकाको आरुवामा सम्पन्न तेस्रो विश्व पारा तेक्वान्दो प्रतियोगितामा प्राविधिक कारणले सहभागी हुन पाएनन् । कोरियामा आरुवाको राजदूतावास नहुनु र मलेसियाबाट भिसा लागेर आउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतर्फ ‘हेन्ड डिस्याबल’को डब्लूटीएफबाट प्रमाणित भएर आउनुपर्ने भएकाले उनको सहभागिता अन्योलमा परेको थियो । यी दुवैका लागि लामो प्रोसेस र समय पनि अधिक लाग्ने भएकाले तेस्रो पारा तेक्वान्दोमा यादवले सहभागिताबाट बन्चित हुनुपरेको थियो । यो प्रतियोगितामा सहभागिता जनाउन नपाउँदाको मलाल यादवले अहिलेसम्म पालेर बसेका छन् । तर, प्रतीक्षाको फल मीठो हुन्छ भनेझैं सन् २०१३ मा स्वीटजरल्यान्डको लुसानमा हालै सम्पन्न भएको चौथो विश्व पारा तेक्वान्दो प्रतियोगितामा यादवले सहभागिता दिने अवसर पाएका थिए । प्रतियोगितामा सहभागिता जनाउन दक्षिण कोरियामा सात महिना कठोर प्रशिक्षण गरेका यादवले स्वीटजरल्यान्ड जानुअघि चर्चित तेक्वान्दा खेलाडी तथा प्रशिक्षक संगीना वैद्य र दीपक विष्टसँग दश दिनको विशेष प्रशिक्षण लिएका थिए । यो प्रशिक्षणको चाँजोपाँचो मिलाउन भाइ तथा तेक्वान्दो खेलाडी कल्याण कुँवरले विशेष सहयोग गरेका थिए । खेल्न जानुअघि नेपाल तेक्वान्दो सङ्घ र राष्ट्रिय खेलकुद परिषद्ले यादवलाई बिदाइ गरेका थिए ।
पहिलो सहभागिता यादवको मनमा निकै कुतूहल जागे पनि उनले हिम्मत भने हारेनन् । आफूभन्दा निकै लामो कदका खाइलाग्दा खेलाडीसँग भिडन्त गर्नुपर्दा केही समय त उनी रनभुल्लमा परेका थिए । तर, अन्त्यमा उनी गोर्खालीको साहस देखाउँदै म्याटमा उत्रेका थिए । चौथो विश्व पारा तेक्वान्दो प्रतियोगितामा यादवको पहिलो भिडन्त ब्राजिलका अल्मेडा फ्लेवियोसँग भएको थियो । अग्लो खेलाडीसँग भिडन्त गर्नुपर्दा मनमा अलि त्रास आए पनि यादवले आफूलाई सम्हाल्दै भिडन्त गरेका थिए । परिणाम यादवले ब्राजिलका अल्मेडा फ्लेवियालाई ५–३ को अन्तरले पराजित गर्दै सनसनी फैलाएका थिए । पहिलो जितसँगै मेडल लिस्टमा परेका यादवको दोस्रो भिडन्त रसियाका इसाडिविरोभ मागोनेजागिरसँग भएको थियो । दुर्भाग्य, उक्त खेलमा उत्कृष्ट प्रदर्शनका बाबजुद पनि यादव पराजित हुँदा कास्य पदकमै चित्त बुझाउनुपरेको थियो । प्रतियोगितामा यादवको प्रशिक्षकको भूमिका जनार्जन केसीले निर्वाह गरेका थिए । यसरी विश्व पारा तेक्वान्दो प्रतियोगितामा पहिलो सहभागितामै कास्य पदक जितेर मुलुकलाई ऐतिहासिक सफलता दिलाउने यादव पहिलो नेपाली खेलाडी हुन् । यो सफलतालाई अविष्मरणीय क्षणको रूपमा व्याख्या गर्ने यादवले भविष्यमा नेपालमा पारा तेक्वान्दोको विकासमा लाग्ने बताएका छन् । मुलुकलाई ऐतिहासिक पदक दिलाएका यादवलाई अहिले विभिन्न सङ्घसंस्थाहरूले सम्मान गर्दै अझ उत्कृष्ट प्रदर्शन गर्नका लागि प्रेरित गरिरहेका छन् ।

१३ वर्ष पुरानो कीर्तिमान भङ्ग
१५औँ फिना विश्व पौडी च्याम्पियनसिपमा नेपाली पौडीवाजहरूले राष्ट्रिय कीर्तिमान राख्ने क्रमलाई निरन्तरता दिँदै नेपाली जलपरी सोफिया शाहले १३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी छिन् । उनले ५० मिटर फ्री स्टायलमा ३०ः१६ सेकेन्डका साथ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि उक्त दूरीको कीर्तिमान रुना प्रधानको नाममा रहेको थियो । रुनाले सिड्नी ओलम्पिकमा ३१ः२८ सेकेन्डको राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । प्रथमपटक अन्तर्राष्ट्रिय पौडी प्रतियोगितामा सहभागिता जनाइरहेकी शाहको यो दोस्रो राष्ट्रिय कीर्तिमान हो । उनले यसअघि दुई सय मिटर फ्री स्टायलमा पनि राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । त्यस्तै, अर्की खेलाडी श्रेया धितालले ५० मिटर बटरफ्लाईमा आफ्नै नाममा रकेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी थिइन् ।

प्रथम राष्ट्रिय किकबक्सिङ हुने
नेसनल किकबक्सिङ एसोसिएसन नेपालको आयोजनामा प्रथम राष्ट्रिय किकबक्सिङ प्रतियोगिता अर्को साता हुने भएको छ । प्रतियोगिता साउन २३ गतेदेखि हुने अध्यक्ष लोकेन्द्र कार्कीले जानकारी गराएका थिए । प्रतियोगितामा पाँच विकास क्षेत्रका एक सय २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरूले लाइट कन्ट्याक्ट, सेमिकन्ट्याक्ट र फुलकन्ट्याक्ट विधामा प्रतिस्पर्धा गर्नेछन् । फुलकन्ट्याक्टतर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । तीनदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमिकभर्डहलमा हुनेछ । प्रतियोगिता विश्व किकबक्सिङ महासङ्घ (वाको) का प्रमुख प्रशिक्षक सिहान इन्रिको क्याम्पोलीको उपस्थितिमा हुनेछ ।

आईटीएफ तेक्वान्दोको ग्रेडिङ
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो (आईटीएफ) महासङ्घले आफ्नो १६ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय ब्ल्याकबेल्ट गे्रडिङ आयोजना गरेको छ । चारदिने गे्रडिङमा दुई सय ५० जना खेलाडीको सहभागिता रहेको थियो । ग्रेडिङ प्रमुखल प्रशिक्षक अञ्जुनाथ श्रेष्ठ तथा सिनियर खेलाडीहरूले सञ्चालन गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिमल्सिनाले एक कार्यक्रमबीच
ग्रेडिङको उद्घाटन गरेका थिए । उक्त अवसरमा महासङ्घका उपाध्यक्ष चेतनराज गिरी, महासचिव रेवत रानालगायतको उपस्थिति थियो ।

सुवास विशिष्ट धनुर्धर
म्याग्दी मगर समाजका सुवास पाइजा दोस्रो खुला धनुषवाण प्रतियोगिताअन्तर्गत व्यक्तिगत स्पर्धाको अन्तिम दिन विशिष्ट धनुर्धर चुनिएका छन् । अन्तिम दिन उनले दुई अङ्क थप्दै कुल ११ अङ्क बनाउँदै शीर्ष स्थानमा रहेका थिए । म्याग्दीकै कुमार पाइजा नौ अङ्कसाथ दोस्रो भए । लक्ष्मी हुन्डाई मनाङमस्र्याङ्दी आर्चरी क्लबका चित्रलाल हिराचन सात अङ्कसहित तेस्रो भएका थिए ।

राखेपद्वारा अन्तर्राष्ट्रिय पदक विजेता पुरस्कृत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई गत साता नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्ष ०६९/७० मा भएका विश्व, एसियाली र दक्षिण एसियाली च्याम्पियनसिपअन्तर्गत विभिन्न १४ खेलमा पदक जित्न सफल ४५ खेलाडीले नगद पुरस्कार प्राप्त गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमिकभर्डहलमा भएको कार्यक्रममा राखेप उपाध्यक्ष पीताम्बर तिमल्सिना, सदस्यसचिव युवराज लामा, कोषाध्यक्ष इन्द्रबहादुर थिङलगायतले खेलाडीलाई नगद पुरस्कार प्रदान गरेका थिए । कुल चार लाख ४१ हजार तीन सय ५१ रुपैयाँ खेलाडीलाई प्रोसाहनस्वरूप प्रदान गरिएको थियो । मकाउमा भएको चौथो विश्व जुनियर उसुकी कास्य विजेता चाहना बमजन लामा, स्वीटजरल्यान्डमा भएको चौथो विश्व पारा तेक्वान्दोका कास्य विजेता यादव कँुवर, हङकङमा भएको १३औँ एसियाली प्यासिफिक करातेका स्वर्णधारीद्वय सुनील लामा र गंगादेवी अधिकारी, फिलिपिन्समा भएको एएसटीसी एसियाली ट्रायथलनका स्वर्ण विजेता राजीवकुमार गुरुङ तथा चीनमा भएको छिझाव आईटीयू ट्रेमियम एसियाली कप ट्रायथलनका स्वर्ण विजेता टीकाराम थापाले २० हजार तीन सय ७० रुपैयाँ प्राप्त गरेका थिए ।

सङ्घसंस्था अनुगमन निरीक्षण समिति गठन
राष्ट्रिय खेलकुद परिषद्ले सङ्घसंस्था अनुगमन निरीक्षण समिति गठन गरेको छ । राखेपका उपाध्यक्ष पीताम्बर तिमल्सिनाको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यमा राखेप कोषाध्यक्ष इन्द्रबहादुर थिङ, खेलकुद विकास विभाग प्रमुख प्रकाशचन्द्र घिमिरे, युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, आर्थिक प्रशासन शाखा प्रमुख वासुदेव आचार्य तथा कानुन शाखा प्रमुख नारायणराज अर्याल छन् । समितिको सचिवमा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनाल रहेका छन् ।
समितिले परिषद्मा दर्ता भएका र पछि दर्ता हुन आउने खेलकुदसम्बन्धी सङ्घसंस्था तथा क्लबहरूसमेतले त्यस्ता सङ्घसंस्था तथा क्लबहरूले आ–आफ्नो विधानबमोजिम खेलकुद गतिविधि सञ्चालन गरे/नगरेको, परिषद्बाट वा अन्य सरकारी वा गैरसरकारी निकायबाट खेलकुद गतिविधिका लागि प्राप्त अनुदान सही सदुपयोग गरे/नगरेको, प्रचलित कानुनबमोजिम लेखा राखे/नराखेको, खेलकुदसम्बन्धी संस्थाले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन परिषद्को स्वीकृति लिए/नलिएको, खेलकुदसम्बन्धी सङ्घसंस्थाले सञ्चालन गर्ने विविध खेलकुद गतिविधि, आर्थिक गतिविधि, पारदर्शिता र सङ्घहरूमा देखिएका आर्थिक बेरुजु र
फस्र्योट हुन बाँकी पेस्कीको अध्ययन, अनुसन्धान, अनुगमन र निरीक्षणलगायत परिषद्बाट दिइएको नीति निर्देशन र प्रचलित कानुनको बर्खिलाप काम गरेका सङ्घसंस्था तथा विधानबमोजिम खेलकुद गतिविधि सञ्चालन नगरेका खेलकुद सङ्घसंस्थालाई कारबाही (सजाय) को सिफारिससमेत गर्न सक्ने गरी खेलकुद विकास ऐन ०४८ को दफा ११ को उपदफा १ बमोजिम उक्त समिति गठन गरिएको हो ।
समितिले परिषद्को खेलकुद विकास ऐन ०४८, खेलकुद विकास नियम ०४९, प्रचलित नेपाल कानुन तथा परिषद्को नीति–निर्देशनविपरीत कार्य गर्ने तथा नीति–निर्देशन नमान्ने सङ्घ, संस्था तथा क्लबलाई भङ्ग गर्ने/विघटन गर्ने वा निलम्बन गर्नेसम्मको सिफारिस गर्नुका साथै सम्बन्धित सङ्घसंस्थाबाट आवश्यक कागजात माग गर्ने, स्पष्टीकरण माग्ने, बयान गर्ने–गराउनेलगायतका कार्य गरी समिति गठन भएको तीन महिनाभित्र परिषद्मा प्रतिवेदन पेस गर्नुपर्नेछ ।

गंगारामको संयोजकत्वमा समिति गठन
राष्ट्रिय खेलकुद परिषद्को स्वर्ण वार्षिकोत्सवलाई भव्य, व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न राखेप कर्मचारी सङ्घले सङ्घका वरिष्ठ उपाध्यक्ष गंगाराम महर्जनको संयोजकत्वमा २९ सदस्यीय मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । सङ्घको हालै बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो । मूल आयोजक समितिसँगै बैठकले विभिन्न ११ उपसमिति पनि गठन गर्ने निर्णय गरेको सङ्घका उपमहासचिव कुमार बस्नेतले जनाएका छन् ।
जसअन्तर्गत ११ उपसमितिको समारोहमा प्रचारप्रसार शाखा प्रमुख शम्भु विष्ट, खेलकुद प्रतियोगिता व्यवस्थापनमा एथलेटिक्स वरिष्ठ मुख्य प्रशिक्षक सुशीलनरसिंह राणा, खाना व्यवस्थापनमा सङ्घकी उपाध्यक्ष सरस्वती केसी भण्डारी, सरसफाइ व्यवस्थापनमा सामान्य प्रशासन शाखाका प्रकाश राई, दीपावलीमा कर्मचारी प्रशासन शाखा प्रमुख इन्द्रबहादुर कार्की, जिल्ला, क्षेत्र, केन्द्र समन्वय तथा सामान व्यवस्थापनमा सङ्घका महासचिव फणीन्द्र पौडेल, रक्तदान तथा स्वास्थ्यमा खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपाली, प्रचारप्रसारमा प्रचारप्रसार शाखाका लोकेन्द्रकुमार बस्नेत, प्रभातफेरी व्यवस्थापनमा सङ्घसंस्था समन्वय शाखा प्रमुख टेकप्रसाद कट्टेल, तान डोरी व्यवस्थापनमा केशवराज गौतम तथा आर्थिक व्यवस्थापनमा कपिलमणि पोखरेल संयोजक तोकिएका छन् । आगामी भदौ १३ देखि २० गतेसम्म विविध कार्यक्रम आयोजना गरी राखेपले आफ्नो स्वर्ण वार्षिकोत्सव मनाउँदै छ । धर्म निर्णायकमा मनोनीत
जुडो स्वयम्सेवक प्रशिक्षक एवम् नेपाल जुडो सङ्घका सचिव धर्मकुमार श्रेष्ठ चीनको नानजिङमा हुने दोस्रो युथ एसियाली गेमअन्तर्गत जुडोको निर्णायकमण्डलीमा मनोनीत भएका छन् । एसियाली जुडो महासङ्घ (जेयूए) ले श्रेष्ठलाई निर्णायकमण्डलीमा मनोनीत गरेको हो । अन्तर्राष्ट्रिय जुडो महासङ्घले लागू गरेको नयाँ नियममा खेल सञ्चालन गर्ने श्रेष्ठ पहिलो नेपाली निर्णायक हुन् । उक्त प्रतियोगिता अगष्ट १४ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ । त्यसमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन् । पुरुषमा हिमपर्व खत्री तथा महिलामा फुपु ल्हामु खत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । त्यस्तै अर्का जुडो स्वयम्सेवक प्रशिक्षक विमल केसी खत्रीले युनाइटेड नेसन्स अफिस फर डेभलोपमेन्ट एन्ड पिस (यूएनओएसडीपी) अन्तर्गत युथ लिडरसिप क्याम्पमा सहभागी हुन दक्षिण कोरियाको ग्वाङजु जाँदै छन् । क्याम्प अगष्ट २२ देखि सेप्टेम्बर ३ तारिखसम्म सञ्चालन हुनेछ ।

अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग
नेपाल इन्टरनेसनल तेक्वान्दो महासङ्घ (नेपाल आईटीएफ) ले नेपाल कल्याणकारी अपाङ्ग केन्द्रलाई हालै आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल आईटीएफको १६औँ वार्षिकोत्सवका अवसरमा आईटीएफका अध्यक्ष कुमार थापाले केन्द्रकी अध्यक्ष विनिता भण्डारीलाई १३ हजार तीन सय १३ रुपैयाँ हस्तान्तरण गरेका हुन् । यसअघि नेपाल आईटीएफले वार्षिकोत्सवकै उपलक्ष्यमा राष्ट्रिय ब्ल्याकबेल्ट ग्रेडिङ आयोजना गरेको थियो । ग्रेडिङमा सहभागी दुई सय ४२ मध्ये दुई सय ३० जना उत्तीर्ण भएको महासचिव रानाले जानकारी गराएका थिए ।

टान इको च्यालेन्ज हुने
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टीएएन) को आयोजनामा टान इन्टरनेसनल इको च्यालेन्ज अगष्ट १७ तारिखमा हुने भएको छ । च्यालेन्जमा दौड, साइक्लिङ र ¥याफ्टिङ स्पर्धा समावेश गरिएको कार्यक्रम संयोजक सरोज न्यौपानेले जानकारी गराएका छन् । दौड ६.५ किलोमिटर, साइक्लिङ १४.५ किलोमिटर र ¥याफ्टिङ ७.५ किलोमिटरको हुनेछ । १८ वर्षमाथिकाले सहभागिता जनाउन पाउनेछन् ।

राष्ट्रिय टेटे खेलाडी छनोट हुने
अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा दोस्रो राष्ट्रिय टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता आउँदो शुक्रबारदेखि हुने भएको छ । राष्ट्रिय टिम तयारी गर्ने उद्देश्यले छनोट प्रतियोगिता गर्न लागिएको सङ्घका महासचिव कुवेरप्रकाश सिंहले जनाएका छन् । राष्ट्रिय टिममा पर्ने खेलाडी राष्ट्रिय खेलकुद परिषद्द्वारा सञ्चालित विशेष प्रशिक्षण शिविरमा समावेश हुनेछन् । हाल टेबलटेनिसको राष्ट्रिय टिम छैन । दोस्रो राष्ट्रिय छनोट अगाडि साउन २३ र २४ गते प्रि. छनोट प्रतियोगिता
हुनेछ । त्यसमा २७ जिल्लाका तीन सय खेलाडीको सहभागिता रहनेछ । त्यसबाट शीर्ष १६ स्थानमा रहने १६–१६ पुरुष/महिला खेलाडी दोस्रो राष्ट्रिय छनोट प्रतियोगिताका लागि छानिनेछन् । उक्त १६–१६ पुरुष/महिला खेलाडी र धनगढीमा भएको ३५औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा अन्तिम १६ स्थानमा रहेका पुरुष/महिला खेलाडीले दोस्रो राष्ट्रिय छनोटमा भिड्नेछन् । दोस्रो राष्ट्रिय छनोटमा समान ३२–३२ पुरुष/महिला गरी ६४ खेलाडीको सहभागिता रहनेछ । दुईदिने प्रि छनोट र तीनदिने दोस्रो राष्ट्रिय छनोट लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ । दोस्रो राष्ट्रिय छनोटले खेलाडीको बरियताक्रमसमेत निर्धारण गर्ने टेबलटेनिस सङ्घले जनाएको छ ।