२०६७ को नेपाली चलचित्र, थोरै मख्ख धेरै हिस्स

२०६७ को नेपाली चलचित्र, थोरै मख्ख धेरै हिस्स


नेपाली सिनेमा क्षेत्रका लागि २०६७ साल सङ्ख्यात्मक रूपले सुखद नै रह्यो तर गुणात्मकलाई विचार गर्ने हो भने नराम्रो मात्र होइन फिल्मी भाषामा भन्दा ‘झुर’ नै सावित भयो ।
रहरे निर्माता, निर्देशक अनि कामभन्दा बढी हल्ला र ‘गफ’ दिनेहरूको सङ्ख्या पनि नबढेको होइन २०६७ सालमा । चलचित्रहरूको निर्माण बढी हुनाले कलाकारहरूले काम त टन्न पाए अनि दाम पनि सोचेभन्दा बढी नै कमाए । तर, उनीहरूको ‘क्यारियर’मा भने यस्ता सिनेमाहरूले खासै महत्त्व नराख्ने निश्चित छ । नेपाली सिनेमा उद्योगको इतिहासमा नै ७६ भन्दा बढी सिनेमाको रिलिज, त्यत्तिकै सङ्ख्यामा प्रदर्शन र सेन्सरको पक्षमा पनि उल्लेख्य प्रगति भएकै हो । तर, सिनेमाकर्मलाई जीवन मानेर अगाडि बढेकाहरू पछाडि हट्नु र खहरे खोलाझैं एकपटक बाढी आएर सुकिहाल्ने मनोबल बोकेका नयाँ फिल्मकर्मीहरूको आगमन साँच्चि नै नेपाली सिनेमा क्षेत्रको निम्ति दूरगामी असर थियो । शिव रेग्मी र तुलसी घिमिरेजस्ता निर्देशकको चलचित्रहरूले फिल्मी शैलीमा भन्नुपर्दा ‘पानी पनि पिउन नपाउनु’लाई अन्य चलचित्रकर्मीहरूले ‘ताली× र ‘नाम’को विषय बनाउनु साँच्चि नै समग्र सिनेमा उद्योगका लागि दुःखद् पक्ष थियो । ‘उनीहरूको फिल्म त चलेन हाम्रो फिल्म के चल्नु -‘ भन्नेजस्ता आफ्नो कमजोरीलाई पनि अर्काको टाउकोमा राख्ने जमातको सङ्ख्या पनि ठूलै देखियो २०६७ सालमा ।
लगानी बढी गरियो भने चलचित्र स्तरीय हुन्छ भन्ने ठूलो भ्रम पालेका केही नवप्रवेशी निर्माताहरू २०६७ सालमा नराम्ररी पछारिन पुगे । बाटोमुनिको फूल, कोही मेरो र ब्याच नं. १६ का निर्माताहरूको गफ र हल्ला कम थिएन तर व्यावसायिक रूपमा नराम्ररी चलचित्रहरू पछारिन पुगेपछि गफ दिने त के यिनीहरू केही समय सार्वजनिक कार्यक्रमतिर पनि देखिन छाडे लाजले । २०६७ सालमा प्रदर्शनमा नआए तापनि देशका विभिन्न सहरहरूमा च्यारेटी शो गरेकै भरमा चलचित्र ‘दशगजा’का निर्माता एवम् नायक नवल खड्काले लाखौँ उठाइदिए । गफ होइन काम गरौँ भन्ने नारा बोकेर हिँडेका नवललाई अहिले यो चलचित्रको च्यारिटी गर्न भ्याइभ्याई छ ।
आफूलाई फरक धार अनि फरक निर्देशक र निर्माताको रूपमा चिनाउन खोज्ने केही ‘अफ ट्रयाक’को चलचित्र बनाउनेहरू यसरी पछारिन पुगे कि अब उनीहरू चलचित्र निर्माणको कुरा सुन्नासाथ तर्सिने अवस्थामा पुगेका छन् । ठूलै कुरा गरेको चलचित्र ‘एक दिन एक रात’ हलमा एक दिन पनि टिक्न नसकेपछि यो चलचित्रमा काम गर्न पाएकोमा ‘गर्व’ छ भनेर फलाक्ने कर्मा, दिया मास्के र विनय श्रेष्ठको चुरिफुरी पनि झर्‍यो । मूलधारका कलाकार एवम् फिल्म क्षेत्रमा लाग्नेहरूलाई पटक्कै नगन्ने र उनीहरूको सम्मान गर्दा आफू घटिनेजस्ता सोच बोकेका यिनीहरूलाई दर्शकहरूले नराम्ररी बढारिदिए । बरु मूलधारलाई बिर्सन सकिन्न भन्नेजस्ता अभिव्यक्तिका कारण यतिबेला नायिका निशा अधिकारी सबैतिर भिज्न सफल भएकी छिन् । उनी ‘अफ ट्रयाक’ र ‘मूलधार’ दुबै खालका सिनेमातिर त्यत्तिकै व्यस्त हुन थालेकी छिन् ।
उमेर ढल्दै गए तापनि नायिका करिश्माको उपस्थिति पनि २०६७ सालमा बढी नै रह्यो ।
जे गरे तापनि उनी चर्चाबाट टाढा रहिनन् । यस कारणले पनि दर्शकहरूमाझ अझै राम्रो क्रेज जमाउन सफल करिश्मा २०६७ सालमा केही चलचित्रमा देखा परिन् । उनलाई सिनेमामा राख्दा सिनेमाकै बजार बढ्ने र सिनेमाको वजन बढ्ने विश्वास अझै सिनेकर्मीहरूमा छ । कुनै सामाजिक कार्य या समारोहमा जाँदा पनि अहिले ‘मै हुँ’ भन्ने थुपै्र नायिकालाई छायामा पार्न सक्ने क्षमताकी करिश्माले अरूको चलचित्र मात्र खेलिनन्, २०६७ सालमा आफैं सिनेमा निर्माण गर्ने घोषणासमेत गरिन् ।
चलचित्रहरूले जे-जस्तो बजार हात पारे तापनि राजेश हमाल र विराज भट्ट सबै निर्माताहरूको पहिलो छनोटमा परे । यिनीहरूको टाउको मात्र राख्दा पनि सिनेमाले ‘इनिसियल’ व्यापार गर्ने विश्वास उनीहरूमा भएका कारण २०६७ सालमा पनि राजेश र विराजकै वर्चश्व रह्यो । यता नायिका सञ्चिता लुइँटेल र निखिल उप्रेतीले नामभन्दा बढी बद्नाम कमाए २०६७ सालमा ।
यसरी सरसर्ती हेर्दा थोरै निर्माता मख्ख परेका छन् भने धेरै हिस्स परे २०६७ सालमा । गोर्खा पल्टन, कोही मेरो र कसले चोर्‍यो मेरो मनले लगानी उठाएको पाइएको छ भने अरूको लगानी बालुवामा पानी हालेजस्तै भएको छ २०६७ सालमा ।
काँचा व्यक्तिहरूको भीडका कारण पनि २०६७ साल त्यति शुभ देखिएन नेपाली सिनेमाका लागि । त्यसो त यसै क्षेत्रमा आफ्नो जीवन सुम्पिएका प्राविधिकहरूको अवस्था भने आर्थिक रूपमा टाटै भयो २०६७ सालमा । सिनेमाहरू नचले तापनि सिनेमा निर्माणमा आएको बाढीलाई हेर्दा लाग्छ २०६८ साल पनि सङ्ख्यात्मक रूपमा अगाडि देखापर्नेछ ।

भाग्यमानी रेखा
रेखा थापा २०६७ सालमा भाग्यमानी नायिकामा परिन् । उनले अभिनय गरेको चलचित्र कसले चोर्‍यो मेरो मनले अत्यधिक व्यापार गर्‍यो भने यसका कारण उनले आफूलाई सफल मेकरको रूपमा पनि प्रमाणित गरिन् ।, हरेक समय चर्चा र परिचर्चामा आइरहने रेखा निर्माताहरूको छनोटमा पर्ने पहिलो नायिका हुन् । नायिकामा हुनुपर्ने क्रेज, वजन अनि गतिलो उपस्थिति नै रेखाको पर्याय बन्न पुग्यो २०६७ सालमा । सिनेमा नै पूरै बोक्न सक्ने क्षमताकी रेखा यूटीएलको विज्ञापनमार्फत पनि चर्चामा आइन् । नायिकाहरूको भीडमा बलियो
बाजी मारिन् उनले ।

गरिमाको दुर्भाग्य
चलचित्रहरू धेरै पाए तापनि नाम धेरै कमाउन नसकेकी नायिकामा परि्छन् गरिमा पन्त । उनले सफल निर्देशकको मात्र होइन राम्रो ब्यानरको चलचित्र पनि हात नपारेकी होइनन् । तर, उनी हिरोइन भएको कुनै पनि चलचित्र चलेनन् २०६७ सालमा । सहकर्मीहरूसित असल व्यवहारका कारण मात्र उनले काम हात पारिरहेको ठान्छन् चलचित्रकर्मीहरू । हिरोइनमा हुनुपर्ने ‘वजनदार’ उपस्थिति अनि ‘चार्मनेस’को अभावका कारण भीडमा पृथक किसिमले छुट्टनि नसक्नु पनि उनको कमजोर पक्ष हो । सङ्ख्यात्मक रूपले चलचित्र थुपै्र पाइन् यिनले तर झट्ट नाम लिने एउटा पनि सिनेमा छैने । सङ्ख्यात्मक रूपले भाग्यमानी भए तापनि गुणात्मक रूपले भने गरिमा अभागी नै ठरिहन् ।