सुरु भयो देशमा नयाँ ध्रुवीकरणको खेती

सुरु भयो देशमा नयाँ ध्रुवीकरणको खेती


prachanda-kiran– जयप्रकाश
मङ्सिर ४ गते गर्ने भनिएको निर्वाचन बिथोल्न कटिबद्ध नेकपा–माओवादीले आफ्नो आन्दोलनलाई राष्ट्रघातविरुद्धको राष्ट्रवादी आन्दोलनको संज्ञा दिने जनाएको छ । माओवादीले पूर्वराजा ज्ञानेन्द्र सत्तापक्षीय दलहरूभन्दा राष्ट्रवादी भएकोले आवश्यक परे पूर्वराजा ज्ञानेन्द्रसँग समेत सम्झौता गरेर अघि बढ्ने आन्तरिक निर्णय गरेको छ । यही साउन १० गतेदेखि निर्वाचनविरुद्धको आन्दोलनको तयारीमा रहेको माओवादीले आफ्नो अभियानलाई तीन चरणमा सम्पन्न गर्ने तयारी गरेको छ । पहिलो चरणमा साउन १० देखि भदौसम्म प्रचारात्मक, दोस्रो चरणमा असोजदेखि प्रतिरोधात्मक र कात्तिकदेखि क्रियात्मक कारबाही सुरु गरिने सम्बद्ध पार्टी स्रोतले जनाएको छ । प्रचारात्मक कारबाहीको अवधिमा सत्तापक्षीय दल, सरकार र विदेशी दलालहरूको भण्डाफोर गरिने, त्यसक्रममा पर्चा, पोस्टरिङ र कोणसभाहरूको आयोजना हुने बताइएको छ । भण्डाफोर अभियानलाई देशव्यापी रूपमै प्रभावकारी तुल्याउन माओवादीले देशको दुई सय चालीस निर्वाचन क्षेत्रमा केद्रीय तहका नेताहरूलाई खटाउने निर्णय लिएको छ । भण्डाफोर अभियानको क्रममा दमन भए त्यसको सशक्त प्रतिरोध गर्ने तयारी पनि उक्त पार्टीले गरेको छ । राज्यले बल प्रयोग गरेमा असोजदेखि प्रतिरोधात्मक कारबाहीलाई व्यापक रूपमा अघि बढाउने योजना माओवादीले बनाएको छ । प्रतिरोधात्मक कारबाहीका क्रममा सुरक्षाचौकीहरूमाथि आवश्यक परे आक्रमण गरिने र दमनलाई निस्तेज तुल्याउन सबै प्रकारका सम्भव उपायहरू अवलम्बन गर्ने बुझिएको छ । प्रतिरोधात्मक कारबाहीपछि कात्तिकमा क्रियात्मक कारबाहीहरू सुरु गरिने बताइएको छ । यस अवधिमा विभिन्न दलका उम्मेदवारहरूलाई भौतिक कारबाही गर्ने, सुरक्षा फौजसँग भिड्ने, निर्वाचन आयोगका कर्मचारीहरूलाई भौतिक आक्रमण गर्ने, प्रचारप्रसारमा जुटेका पार्टी कार्यकर्ताहरूलाई प्रचारमा जान अवरोध सिर्जना गर्ने र मतदान केन्द्रहरू ध्वस्त पार्नेसम्मको योजना माओवादीले बनाएको छ । माओवादी केन्द्रीय समितिको एक सूत्रले जनाएअनुसार आवश्यक परेमा कतिपय उम्मेदवारहरूको शिर छेदनसम्म गरिनेछ । क्रियात्मक कारबाहीका निम्ति देशका बीस हजार मतदान केन्द्रहरूमा तालिमप्राप्त लडाकु कार्यकर्तालाई निश्चित सङ्ख्यामा खटाउने तयारीसमेत भइसकेको सम्बद्ध सूत्रको भनाइ छ ।
यसरी माओवादीले जसरी भए पनि चुनाव बिथोलिछाड्ने अठोटसहितको कार्यक्रम बनाएको छ भने अर्कोतिर चुनाव बहिष्कार आन्दोलनलाई राष्ट्रियताको आन्दोलनको संज्ञा दिने भएको छ । यसैबीच माओवादीका दुई प्रभावशाली नेताहरू मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवले राष्ट्रियताको निमित्त हुने आन्दोलनमा राजासँग समेत सहकार्य र सम्झौता हुनसक्ने धारणा सार्वजनिक गरेका छन् । राष्ट्रियताको आन्दोलनमा राजा, सेना र प्रहरीसहितको साथ रहने विश्वास माओवादी नेताहरूले गरेका छन् । विगतको सशस्त्र सङ्घर्षमा माओवादीविरुद्ध जाइलाग्ने सुरक्षाकर्मीहरूलाई खोजी–खोजीकन मानवअधिकार हननको कारबाही चलाएकोले वर्तमान सरकारले आदेश दिए पनि सुरक्षाकर्मीहरू आन्दोलनकारीलाई दमन गर्न अग्रसर नहुने विश्वास माओवादी नेताहरूले गरेका छन् । यद्यपी माओवादीलाई अहिलेसम्म देशको प्रभावकारी राजनीतिक शक्ति मानिएको छैन । माओवादी नेताहरूले जतिसुकै ठूला कुरा गरे पनि उनीहरूमा चुनाव बिथोल्न सक्ने सामथ्र्य ठ्याम्मै नरहेको सत्तापक्षको ठम्याइ छ । तर, पछिल्लो चरणमा माओवादीले जुन प्रकारको राजनीतिक धारणा अघि सारेको छ त्यसले मुलुकमा राजनीतिक धु्रवीकरणलाई तीव्र बनाउन सक्ने सम्भावना बढाएको छ । आफूहरूलाई राष्ट्रवादी दाबी गर्ने दक्षिणपन्थी तथा वामपन्थीहरूबीच राष्ट्रियताको नाममा गठबन्धन भए उत्तरको छिमेकी मुलुक चाइनाको समेत त्यसप्रति सहानुभूति रहने अनुमान गर्न सकिन्छ । तर, राजाबाट तत्कालै अर्को छिमेकी मुलुक सशङ्कित बन्ने प्रकारको गठबन्धनमा सामेल हुने विश्वास भने गरिएको छैन । राजा, दक्षिणपन्थी राष्ट्रवादी तथा वामपन्थी शक्तिबीच घोषित या अघोषित गठबन्धन बनेको अवस्थामा त्यसको प्रभाव नेपाली काङ्गे्रस र नेकपा एमालेमा समेत पर्न सम्भव छ । त्यसो भएमा देशको राजनीति तीव्र धु्रवीकरणमा जाने र मुलुकमा नयाँ ढङ्गको द्वन्द्व उत्पन्न हुनसक्ने खतरा बढेको छ । सत्तापक्षीय शक्तिहरू चुनाव सम्पन्न गरिछाड्ने आफ्नो अडानबाट पछि नहटे मुलुकमा निर्वाचन सम्पन्न हुन्छ कि नयाँ द्वन्द्व सुरु हुनेछ भन्ने जानकारी पाउन अझै केही महिना प्रतीक्षा गर्नुपर्नेछ । निर्वाचन भए पनि सहज वातावरणमा उक्त कार्य सम्पन्न हुन मुस्किल पर्नेचाहिँ अब निश्चित भइसकेको छ । माओवादीलाई सहमतिमा ल्याउन नसके बल प्रयोग गरी नियन्त्रणमा लिनुपर्ने हुनसक्छ । यी दुवै कार्य गर्न नसक्दा देशमा द्वन्द्व सुरु हुने स्पष्ट सङ्केतहरू देखा परिसकेका छन् । त्यसैले मुलुकमा राजनीतिक स्थिरता र शान्ति स्थापनाको सपना देखेका जनताले एकपटक फेरि धोका खानसक्ने स्थिति बनेको छ ।