प्रजातन्त्र नेताहरूलाई सुख दिन आएजस्तो छ : शान्ति मास्के

प्रजातन्त्र नेताहरूलाई सुख दिन आएजस्तो छ : शान्ति मास्के


० शान्तिजी तपाईं नेपाली काङ्ग्रेसको पुरानो नेतृ हुनुहुन्थ्यो । अहिले काङ्ग्रेससँग कस्तो सम्बन्ध छ ?
– कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा बधाई दिन गएका त उहाँले तिमी को ? किन आएकी ? चन्दा माग्न ? जेल बसेको प्रमाण ल्याए १–२ हजार दिइन्छ’ भनेजस्ता तुच्छ शब्द प्रयोग गरेकाले चित्त दुख्यो । र, मैले काङ्ग्रेसलाई थुकिदिएँ ।

० काङ्ग्रेसले पुराना कार्यकर्ताहरूलाई सम्मान गर्न नजानेको कि बिर्सिएको हो ?
– जान्दा पनि जानेन, सम्झँदा पनि सम्झेन । ७ सालताका वीरगन्ज क्याप्चर गर्ने बेलामा ९ महिनासम्म काङ्ग्रेसको सीआईडी भएर काम गर्ने म । पछि वीरगन्ज क्याप्चर गर्ने बताइएको नक्सा लिएर पटना सुवर्णशमशेरको हातमा पुऱ्याउने म एक्लो केटी । प्रजातन्त्र रेडियोमा पनि बीपीकी बहिनी इन्दिरासँग मिलेर काम गर्ने हामी । अहिले यिनीहरू प्रमाण खोज्ने ?

० राजनीतिक पीडितलाई दिइने राहतका लागि जानुभएन ?
– त्यतिबेला जे गऱ्यौं, देशका लागी गऱ्यौं । कुनै दुःख मनाउ छैन । नेताहरूको चरित्र देखेरै नफरत लाग्यो । उनीहरूले सम्झेनन् भने म किन भीख माग्ने भनेर गइनँ ।

० प्रजातन्त्र पुनर्स्थापनापछिको नेपाली राजनीति कस्तो लागिरहेको छ ?
– अहिलेका नेताहरू सब सत्यानाशी छन् । राजनीति घृणित बनेको छ । प्रजातन्त्र देश र जनतालाई सुख दिन होइन, नेताहरूलाई सुख दिन आएजस्तो छ । प्रजातन्त्रले इज्जत, बेइज्जत सब खत्तम पाऱ्या छ । नासिने बेला हो कि जस्तो लाग्दै छ ।

० बरु पञ्चायत नै ठीक थियो भन्न खोज्नुभएको त होइन ?
– बरु पञ्चायत धेरै राम्रो थियो । अहिले त शान्तिसुरक्षा छैन । नेताहरू आ–आफ्नै घर बनाउन, पाजेरो चढ्न लुछाचुँडी गर्दै छन् । बरु मरिचमानले इन्डियाले नाकाबन्दी गर्दा चाइनाबाट ल्याएर त खुवाएको थियो । देशलाई सुख दिने नेता को रहेछ त ?

० बहुदलीय व्यवस्था नै नराम्रो कि नेताहरू मात्रै नराम्रा ?
– व्यवस्था राम्रो भन्ने किन नराम्रो । चुनावमाथि चुनाव गरेर हाम्रो पसिना चुस्दै छन् । जनतालाई कंगाल बनाउँदै छन् । टाउकेहरूको आफ्नो भुँडी भर्दैमा ठिक्क छ ।

० केही समय पहिले तपाईं एमालेमा जाने कुरा थियो नि, के भयो ?
बरु एमालेले गर्छ कि जस्तो लागेर बीचमा झलनाथ खनालजीसँग कुरा पनि गरे । फेरि सोचे यी सबै एउटै ड्याङका मूला हुन् । कलाक्षेत्रमा लागेको मान्छे मन्त्री बन छैन, कमाउन छैन किन राजनीति गर्ने भनेर चुप बसे ।

० कला क्षेत्रतिर फर्कौँ, अहिले कलाकारहरू दुईवटा सङ्घमा विभक्त भएका छन् । किन होला ?
– पदको झगडा हो यो । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष म । अस्ति नीर शाहजीले उहाँको राष्ट्रिय कलाकार सङ्घमा आउनुहोस भन्दा मैले भन्दिएँ मैले जन्माएको छोरालाई मैले नै घाँटी थिचेर मार्दिनु ? आउन्न ।

० यसरी कलाकारहरूकै विभिन्न गुुट भएपछि कला क्षेत्र फस्टाउला त ?
– त्यही त, मिलिजुली अगाडि बढ्नुपर्नेमा फ्याट्ट अर्को सङ्घ खोलेर भाँडभैलो मच्चाउनुभयो, यो राम्रो भएन । कला क्षेत्रको उत्थान गर्न कलाकारहरू एक हुनैपर्छ ।

० अनि तपाईं आमकलाकारहरूलाई कला क्षेत्रमा के–कस्ता अप्ठ्यारा छन् ?
– नेताजस्तै निर्माताहरू पनि ठगाहा भएर गए । काम गरेको पैसा दिँदैनन । कलाकारको भविष्य राम्रो छैन । फेरि भ्याट लाइदिएर त कला क्षेत्रलाई स्वाहा नै पार्न आँटे ।

० हिजोआजका चलचित्रहरूमा नेपालीपनको खडेरी पर्दा पुरानो कलाकार भएको नाताले दुःख लाग्दैन ?
– दुःख लागेर के गर्ने ? मसला नभएको फिल्म जनता नै हेर्दैनन् । हिरोइन अर्धकट्टी लुगामा नाच्न थालिन् । यस्ता उताउलो भएपछि कहाँ रहन्छ नेपालीपन ।

० फिल्ममा नाँगिँदै जानुमा नायिकाहरू नै दोषी छैनन् र ?
– अहिलेको हिरोइनहरूले २ दिन पो फिल्म खेल्ने, पर्सि त कसैको स्वास्नी हुन्छ भन्ने कुरा भुले । चोखो भएर खेल न । कला पो प्रदर्शन गर्ने, जीउ प्रदर्शन गर्ने त होइन नि । पैसाको लागि छोप्नुपर्ने चिज पनि देखाइदिने ? पैसाकै लागि हो भने बजारमा गए भइगयो नि ।

० नायिकाहरू गन्हाएको चर्चा बरोबर सुनिन्छ, के भएर होला ?
– अनुशासन नभएपछि यस्तै हुन्छ । अहिले निर्माता, निर्देशकले हिरोइनलाई लिएर हिँड्दा पनि हुन्छ । हामीहरूको पालामा हामीदेखि निर्माता–निर्देशक डराउँथे । आनो इज्जतमा बस्थे । अहिले त निर्माता–निर्देशकले भन्या जति मान्यो उति मुखले बोलेको पैसा पनि पाउँछन् । फिल्म पनि खेल्न पाउँछन् ।

० फिल्ममा अभिनय कहिलेसम्म गरिरहनुहुन्छ त ?
– अहिले ७१ वर्षकी भएँ । बलिदानपछि यादव खरेल
जीले सम्झेर ‘नासोमा’ अतिथि भूमिका गर्दै छु । विधुवा बुढीको भूमिका मात्रै पाएमा गरिरहनेछु ।

० सन्तान फिल्मको छायाङ्कन गर्दा दुर्घटना भएर मुटुमा राखेको पेसमेकर’ फेर्ने बेला भएन अब ?
– ८ वर्ष भयो । अब २ वर्ष म्याद बाँकी छ । सबैतिरबाट वाक्क लागेर आइसक्यो । फेर्दैनफेरी मरौँ कि जस्तो लाग्न थाल्यो । – अमृत भादगाउँले

(घटना र विचार साप्ताहिक, ८ माघ २०५४)

(कलाकार शान्ति मास्के दिवंगत भइसक्नुभएको छ । -सं.)