माकुरा, मिडिया र षड्यन्त्रका जालोहरू

माकुरा, मिडिया र षड्यन्त्रका जालोहरू


– गोपाल पराजुली

हरक्षण षड्यन्त्रको जालो बुनिरहने माकुराले आहाराका लागि आफ्नो शिकारलाई कुनै पनि बखत त्यस्तो पासोमा फसाउन सक्छ । ठूला–ठूला जंगलमा त जंगली माकुराले किटपतङ्ग मात्र नभई स–साना जनावरहरूलाई समेत त्यस्तो जालोमा पार्ने गर्छन् । जंगली माकुराको यो शैलीलाई लाक्षणिक रूपमा आधुनिक समाजका मान्छेको षड्यन्त्रसँग पनि तुलना गर्न सकिन्छ । एउटा संयोग नै मान्नुपर्छ– मैले माकुरा र मान्छे दुवैको जालोको प्रत्यक्ष अनुभव गरेको छु ।

२०३१ सालतिर मैले ‘न्यू एरा’ नामक एउटा संस्थामा काम गरेको थिएँ । स्वास्थ्य सेवासँग सम्बन्धित मध्यावधि मूल्याङ्कनका लागि मलाई टीम लिडरको हैसियतमा तनहुँ, लमजुङ, मनाङ र पर्वत जिल्लाका केही स्वास्थ्य चौकीहरूमा सर्वेक्षण र स्थानीय जनप्रतिनिधिहरूको धारणा बुझ्नका लागि जानुपर्ने भयो । त्यो टोलीमा दयानाथ खरेल, पुरुषोत्तम सुवेदी लगायत ७ जना थियौँ । लमजुङको बीचौर, प्यार्जुङ, भोटेओडार, धनपोखरा, बेँसीशहर, सुन्दरबजार जानका लागि तनहुँको दमौलीमा पर्ने मादी नदीको तिरैतिर नरङ्गाको फाँटलाई काटेर रिस्ती खोलाको फाँट हुँदै लेखनाथ अधिकारी (जो प्रजातान्त्रिक खेमाका प्रखर सांसद पनि हुनुहुन्थ्यो) को गाउँ सूर्यपालमा पहिलो रात र तत्कालीन प्रतिबन्धित नेपाली काङ्ग्रेसका युवा नेता रामचन्द्र पौडेल (जो जेलमा हुनुहुन्थ्यो) को गाउँ बाहुनपोखरामा दोस्रो रात बास बस्यौँ ।

त्यसपछि लालध्वज गुरुङ (जसले १८ सालको क्रान्तिमा शाहदत प्राप्त गरेका थिए) को गाउँको बाटो हुँदै कुन्छा भन्ने ठाउँमा पुग्यौँ । लमजुङको सदरमुकाम बेँसीशहर हुनुभन्दा पहिले तनहुँसँग जोडिएको टाकुरामा पर्ने कुन्छामा सदरमुकाम थियो । कुन्छाको दाहिने भित्तामा मानेचौका पर्थ्यो जहाँ गोविन्दराज जोशीको घर थियो । त्यसपछि फाँटैफाँट हिँडेर सुन्दरबजार हुँदै भोटेओडार पुग्यौँ र त्यहीँ बास बस्यौँ ।

हामी मर्स्याङ्दी नदिको झोलुङ्गे पुल तरेर उकालो बाटो हुँदै प्यार्जुङ पुग्यौँ । करिव ४५०० फिट उचाईमा अवस्थित निकै रमणीय छ प्यार्जुङ । त्यो उचाईमा पनि एउटा पोखरी र वरिपरि खेतैखेत भएको निकै व्यवस्थित र उर्वर ठाउँ थियो । अनि मौरिया भन्ने ठाउँ थियो, अलिकति गग्र्यान तर उर्वर जमिन भएको । त्यो ठाउँमा भक्ति थापाका सन्तानले विर्तामा जग्गा प्राप्त गरेको भन्ने पनि थाहा भयो । उनकै सन्तान मीनबहादुर थापा सर्वोच्च अदालतको न्यायाधीश पदमा पुग्नुभएको थियो । मीनबहादुरका नाति अर्जुन थापा सार्क महासचिव जस्तो उच्च ओहोदामा पुग्नुभयो । अर्जुन मेरा सहपाठी हुनुहुन्थ्यो नेपाल ल क्याम्पसमा आई.एल. पढ्दा । पछि छात्रवृत्ति पाएर उहाँ पढ्नका लागि रुस जानुभयो ।

अर्जुन थापाले रुसबाट आफ्ना मित्र जगन्नाथ ढकाललाई लेखेको एउटा पत्र निकै मार्मिक तर क्लिष्ट छ । एकैपटकमा बुझ्न गाह्रो पर्छ । उहाँले म ६ वर्ष रुसको मस्कोमा बस्दैछु तर ३ वर्ष ‘क्यू’मा भनेर लेख्नुभएको रहेछ । त्यो ‘for three years in a queue’ भनेर रुस सरकारले वितरण गर्ने खाद्यान्नको अभाव र प्रत्येक मानिस खानाको लागि लाइनमा बस्नुपर्ने बाध्यात्मक व्यवस्थालाई इङ्गित गरिएको रहेछ ।

अर्जुन थापाले रुसबाट आफ्ना मित्र जगन्नाथ ढकाललाई लेखेको एउटा पत्र निकै मार्मिक तर क्लिष्ट छ । एकैपटकमा बुझ्न गाह्रो पर्छ । उहाँले म ६ वर्ष रुसको मस्कोमा बस्दैछु तर ३ वर्ष ‘क्यू’मा भनेर लेख्नुभएको रहेछ । त्यो ‘for three years in a queue’ भनेर रुस सरकारले वितरण गर्ने खाद्यान्नको अभाव र प्रत्येक मानिस खानाको लागि लाइनमा बस्नुपर्ने बाध्यात्मक व्यवस्थालाई इङ्गित गरिएको रहेछ ।

जगन्नाथ ढकाल मेरा सहपाठी हुनुहुन्थ्यो । जिल्ला न्यायाधीश भएपछि तीर्थयात्रामा गएका बेला भारतको कलकत्तामा भएको एउटा विभत्स सवारी दुर्घटनामा उहाँकी श्रीमती, दुई जना दाजुहरू विश्वनाथ ढकाल र कीर्तिनाथ ढकालसमेत परिवारसहित देहावसान भयो । उहाँहरू मेरो नाताकै व्यक्तिहरू हुनुहुन्थ्यो । विश्वनाथ ढकाल अधिकृत हुँदै शिक्षा सचिवसम्मको पदमा पुग्नुभएको थियो । उहाँले मलाई कानून विषय पढ्न दिनुभएको प्रेरणा र तिमी कुनै दिन यो राष्ट्रको नीति–निर्माण तहमा पुग्न सक्छौ भनी गर्नुभएको भविष्यवाणी मलाई स्मरण हुन्छ । त्यो भयानक दुर्घटनाबाट ढकाल परिवारमा अपुरणीय क्षति पर्यो । उनै जगन्नाथ ढकाललाई रुसबाट अर्जुन थापाले त्यो पत्र लेख्नुभएको थियो ।

प्यार्जुङको काम सकेर करिव ३ दिनको बसाइपछि उदिपु हुँदै बेँसीशहर पुगेर बास वस्यौँ । बेँसीशहर गाउँपञ्चायतको वडा नं. ६ मा प्रधानपञ्चको घर रहेछ । उहाँसँग केही प्रश्नहरू सोध्नुपर्ने काम सकेर हामी पुनः बेँसीशहर फर्केर बास बसेका थियौँ । बेसीँशहरको दुईदिने बसाइपछि मनाङको च्यामे जाने कार्यक्रम थियो । धनपोखरा पुग्नुअघि नै बिरामी परेर म बेसीँशहर नै फर्केँ । अरु साथीहरूलाई च्यामे पठाएको उहाँहरूले छलछाम गरेर धनपोखराबाटै फर्किनुभएछ । त्यसपटक च्यामे जान सकिएन । त्यहाँबाट फर्केर तनहुँको साभुङ हुँदै पोखरा र पोखरा–सुनौली सडकमा मोटर चढेर नाउडाँडासम्म र त्यसपछि पुतली (बजार) खेत हुँदै झारखोला र कार्कीनेटा पुगी बास बस्यौँ ।

त्यो यात्रामा साह्रै नै रमाइला उर्वर भूमि मर्स्याङ्दीको तिरैतिरका सबै फाँटहरू र कलेस्ती रिस्तीतर्फका सबै खोलाहरू, खेत र फाँटले त्यहाँको जनजीवनलाई व्यवस्थित गरेको छ । त्यो क्षेत्र सम्भवत कम बसाइँ सराई हुने क्षेत्र पनि हो । त्यहाँका मानिसहरूको चेतनास्तर, मेहनती र गरिखाने खालको आनीबानी हेर्दा केही पुरातन सोँचका अतिरिक्त चेतनाले जागृत गरेको, राजनैतिक रूपमा सचेत भएको पनि देखियो ।

जब कार्कीनेटा पुगियो अनि थाहा भयो त्यहाँको निरन्तर चल्ने तुफानी हावा र रातभरिको सिरेटो । होटेलको बास, एउटा कम्बललाई पट्टाएर ओढ्दा खुट्टातिर नढाक्ने, सग्लो ओढ्दा सिरेटोका कारण सुत्नै नसकिने । अलि–अलि उडुस उपियाँसमेतको अनुभवले त्यो कार्कीनेटाको होटलको बसाई पनि अविस्मरणीय छ । विहान सबेरै उठेर ओरालो बाटो लाग्यौँ । ठाउँ–ठाउँमा खोला खोली तर्दै ग्यादीफाँट पुग्यौँ । त्यहाँ २००४ सालमा बनेको नहर देख्दा, अग्लो झोलुङ्गे पुललाई हेर्दा राणाकालीन समयमा पनि त्यहाँका साहु महाजनहरूको राजधानीसँग पहुँच पुगेको देखियो । पछि त्यहाँको बारेमा बुझ्दा बाह्रै महिना आँप, कटहर फल्ने बगैँचा र दुई प्रतिभाहरू– कानूनची र ऐनची त्यहाँका न्याय सेवाका प्रसिद्ध व्यक्तिहरू भएको भन्ने ज्ञात भयो ।

ती दुईमध्ये ऐनचीलाई त्यसबेलाको सबै ऐनहरू कन्ठस्थ हुने र कानूनचीलाई ग्राहकसँग बोल्दाबोल्दै च्यादर ओढेर फिराद लेखिसक्ने क्षमता थियो भन्ने जानकारी पाइयो । तिनकै सन्तानमध्येका २ जना व्यक्ति प्रेम शर्मा र जगदिश शर्मा पौडेल सर्वोच्च अदालतको न्यायाधीश पनि हुनुभयो । त्यो रमाइलो ग्यादीफाँटपछि पर्वतको कुस्मा बजार पुगेर खाना खायौँ । त्यसपछि तेर्सै तेर्सो ठाउँ–ठाउँमा उकालो ओरालो बाटो हुँदै काली नदीको तिरैतिर मालुङ्गेको झोलुङ्गे पुल तरेर बाग्लुङको रातामाटा भन्ने ठाउँमा पुगेर बास बस्यौँ । जसोतसो रात गुजारेर भोलीपल्ट विहानै त्यहाँबाट हिलैहिलो खेतको आलीमा टेक्दै एउटा विकट यात्रा गरेपछि म्याग्दीको बेनीबजार पुगेर बास बस्यौँ ।

जीवनको यो कालखण्डमा आइपुग्दा शहरमा कान्तिपुर मिडिया कम्पनीले पनि त्यस्तै जालो थाप्दै आएको महसुस गरेको छु । पहिला उसले आफ्नो रुचिको आहारा माग्छ र जसले दिन सक्दैन उसलाई आफ्नो जालोमा लपेट्छ । जंगलयात्रामा त्यो माकुराको जालो र जीवनयात्रामा कान्तिपुरको जालो उस्तै–उस्तै रहेछन् । अहिले कान्तिपुरको जालोमा स्वयम् त्यसका सम्पादकद्वय नै पर्नुभयो भन्ने सुनेको छु ।

हामीलाई राम्चे भन्ने ठाउँमा पुग्नु थियो । त्यहाँ खानेकुराको समस्या हुन्छ भन्ने थाहा पाएपछि कालीनदीको झोलुङ्गे पुल तरेर मलाजको उकालो हुँदै केही दिनको लागि पुग्ने खाद्य सामाग्रीको जोहो गरी अघि बढ्यौँ । मलाज फाँट काटेपछि हरियाली र सुन्दर पहाडमा पुगियो । बाटोभरी जुकाको टोकाइ सहँदै साँझ राम्चे भन्ने ठाउँमा पुग्यौँ । पुन मगरहरूको बाहुल्यता रहेको राम्चेमा उवा, जौँ, आलु र मकै खेती हुने रहेछ । छिर्केबिर्के काला दानाहरू भएको मकै पातलो गरी छर्ने र मकैवारीभित्र छपक्कै आलु फल्ने रहेछ । ४–५ दिन जति हामीले त्यहाँ काम गर्नुपर्ने थियो । माथिपट्टी पुनहिल र तलपट्टी कालीनदी देखिने दक्षिण–पश्चिम फर्किएको करिव ९ हजार फिटको उचाईमा अवस्थित भिरालो पाखो जमिनमा राम्चे गाउँ रहेको छ । त्यहाँ निकै जाडो हुनाले पनि होला १० छाकका लागि भनेर लगेको खाना ६ छाकमै सकियो ।

त्यसपछि के खाने भन्ने समस्या आइलाग्यो । त्यहाँको लोकल खाना भनेकै भुटेको उवा, मकै, जौ र हाँडीमा बफाएको आलु र भेँडाको मासु थियो । १५० रुपैँयामा एउटा भेँडा किन्न पाइन्थ्यो । बाँकी दिन हामीले स्थानीय खानेकुराबाटै छाक टार्यौँ । त्यो उसिनेको आलु र भुटेको जौको परिकार निकै स्वादिलो र परिस्कृत थियो । कुनै वासमतीको भोजनभन्दा कम थिएन । त्यो खानाको स्वाद मेरो जिब्रोमा अझै ताजा छ । मलाई लाग्छ सायद त्यति अर्ग्यानिक र पोषिलो खानाको स्वाद लिने सौभाग्य विश्वमा कमै मानिसले मात्र प्राप्त गरेका छन् ।

राम्चेको काम सकेपछि हामी पुनहिल हुँदै घोडेपानीको यात्रामा अघि बढ्यौँ । तर बीचमा बाटो बिराएर घना जंगलमा फस्न पुग्यौँ र एउटा अविष्मरणीय अनुभव गर्यौँ । त्यो जंगलमा औले कस्तुरी पनि पाइने रहेछ । उसको पिसाब लागेको पातबाट बास्ना आउने रहेछ । विकट र बिरानो लेकको त्यो त्यात्रामा जुकाको टोकाइबाट त आक्रान्त भयौँ नै, त्योभन्दा डरलाग्दो झन जंगली माकुराको जालोको अल्झाइ हुने रहेछ । पहेँलो ठूलो खुट्टा र ठूलै जिउ भएको झण्डै आधा केजी जतिको त्यो माकुराले बनाएको जालोमा जंगलका ठूला–ठूला पुतली र किटपतङ्हरू अल्झिएको देखिन्थ्यो । हिँड्दा कतै झुक्किएर शरीरमा त्यो जालो लटपटियो भने त्यसलाई फाल्न मान्छेलाई समेत निकै कठीन हुने । कल्पनै नगरेको त्यो जालोसँग संघर्ष गर्दै अघि बढेका थियौँ ।

जीवनको यो कालखण्डमा आइपुग्दा शहरमा कान्तिपुर मिडिया कम्पनीले पनि त्यस्तै जालो थाप्दै आएको महसुस गरेको छु । पहिला उसले आफ्नो रुचिको आहारा माग्छ र जसले दिन सक्दैन उसलाई आफ्नो जालोमा लपेट्छ । जंगलयात्रामा त्यो माकुराको जालो र जीवनयात्रामा कान्तिपुरको जालो उस्तै–उस्तै रहेछन् । अहिले कान्तिपुरको जालोमा स्वयम् त्यसका सम्पादकद्वय नै पर्नुभयो भन्ने सुनेको छु । (क्रमशः)

यो पनि हेर्नुहोस् –

के देखेनन् र यी आँखाले ?
https://ghatanarabichar.com/107981